Wednesday, May 27, 2020

सफलताको शिखरमा पुगेको मान्छेले यात्रा सुरु गरेको फेदी भुल्नुहुन्न - फत्तेबहादुर लिम्बू

सफलताको शिखरमा पुगेको मान्छेले यात्रा सुरु गरेको फेदी भुल्नुहुन्न  

- फत्तेबहादुर लिम्बू, रथी(अप्रा) एवम् मानार्थ शाही पाश्र्ववर्ती


पूर्वनिर्धारित कार्यक्रमअनुसार मे. देउमान पक्खिम र म(अमर) काठमाडौँको विहानीको हुस्सुलाई चिर्दै झम्सीखेल पुग्यौँ, रथी(अप्रा) फत्तेबहादुर मेन्याङबो लिम्बूको निवासमा । आइडियल मोडेल स्कुलको हातासँगै रहेको उहाँको निवासमा पुग्दा हामीलाई लामलक्मा (स्वागत) गर्न बाहिर उभिइरहनुभएको थियो– ऊनीको टोपी, पाटे सर्टमाथि कालो झैँ लाग्ने गाढा नीलो ज्याकेट अनि ट्राउजर लाएको साधारण परिधानमा खाइलाग्दा जर्साप । हामी पस्यौँ, उहाँसँगै, उत्तरीभित्तामा ठूलो थाङ्का चित्र, दक्षिणीभित्तामा नवरङ्गी डाँफेको निक्कै ठूलो फ्रेमिङ फोटो र पूर्वीभित्तामा गाडीको बिकासक्रम झल्काउने तीन चारवटा चित्रहरू टाँसिएको अनि बेतका कुर्सीहरू राखिएको सामान्य देखिने तर सामान्यभित्र गहनताको पर्याप्त आभाष मिल्ने उहाँको कक्षमा । 

आफू जागिरमा प्रबेश गर्दाको रोचक संस्मरण जो उहाँले धेरै सुनाउने गर्नुहुन्छ  कि त्यसबेला कसैले, "लिम्बूहरू त मान्छे ख्यालख्यालमै चार इन्च काट्छन् रे, हो जिउदै मान्छे काट्छन् ?" भनेको र उहाँले त्यसको उत्तरमा  "हो  त नि काटेपछि मरेकोलाई काट्नु भएन ज्यूँदोलाई नै काट्ने हो नि ।" भनेको कुरा कुराकानीमा ठट्टा गर्दै सुनाउने उहाँ वि.सं. १९९६ कार्तिक १३ गते बाबा स्वर्गीय कप्तान देबवहादुर लिम्बू र आमा स्वर्गीय लक्षीमाया लिम्बूको माइलो सन्तानको रुपमा जन्मिनु भएको हो । 

उहाँले कप्पुरी क, पेतफारे ख ताप्लेजुङको सिगेजा जहाँ उहाँको जन्म भएको थियो त्यहाँ सुरु गर्नुभए पनि पछि उहाँ सिङ्गापुरमा ए लेवल अनि करीव ७ वर्षमा सिनियर क्यामम्ब्रीज गरेपछि सैनिक जीवन मै वातावरण शिक्षामा एम.एस्सी गर्नुभयो । १६ सालमा जागीर सुरु गरेका उहाँले तालिम एवम् शान्ति सेनाको क्रममा बेलायत, जर्मनी, भारत, लेवनान तथा औपचारिक भ्रमणको क्रममा स्वीडेन, हाइटी, अमेरिका, र हवाईमा भ्रमण गर्नुभएको छ । करीव ३८ वर्षे सैनिक जीवनबाट २०५४ कार्तिक १३ गते अबकास प्राप्त उहाँ श्री ५ महाराजाधिराज सरकारको शुभजन्मोत्सव(०५९ साउन २३) देखि मानार्थ पाश्र्ववर्ती हुनुहुन्छ । नेपालका आदिवासीहरूका तर्फबाट प्रथम मानार्थ पाश्र्ववर्ती पाउनु हुने उहाँ सुप्रवल गोरखा दक्षिणबाहु र विख्यात त्रिशक्ति पट्ट पदकबाट विभूषित हुनुहुन्छ । उहाँ आफ्नो आमालगायतका परिवारका सदस्यहरूलाई पहिरोले पुरेको घटनालाई सारै दुःखद क्षण मान्नु हुन्छ । लिम्बू, नेपाली, अङ्ग्रेजी, जर्मन, हिन्दी र मले भाषामा बोल्ने खुबी राख्ने उहाँ आफ्नो अवकाशपछिका दिन ट्रेकिङ, फोटोग्राफी, वातावरण संरक्षण जस्ता आफ्नो रुचिका विषयमा लागिरहनुभएको छ । यिनै वहुआयामिक व्यक्तित्वसँग लिईएको कुराकानीका महत्पूर्ण अंश तपाईंसमक्ष प्रस्तुत छ ।

तपाईले प्रारम्भिक शिक्षा कहाँ पाउनुभयो ? 
– कप्पुरी क पेटफारे ख पढ्न सिगेजामा नै सुरु गरेँ । तर पछि सिङ्गापुरमा गएर सिनियर क्याम्ब्रिजसम्म पढेँ । पछि बुबा पेनसन आउनुभयो । म पनि उहाँसँगै नेपाल आएँ ।

सेना जागिरमा कसरी प्रवेश गर्नुभयो ? 
–त्यसबेला गोरखापत्रमा सेनामा भर्ती हुने सूचना आएको थियो । त्यहीअनुसार म गएँ तर म सम्पर्कमा ढिलो गएँ । तर मलाई तत्कालिन अफिसरहरूले ढिलो भए पनि सेनाभित्रै बस्ने र अङ्ग्रेजी सिकाउनु भनेपछि केही महिना त्यहीँ काम गरेँ । मेरो अङ्ग्रेजी राम्रो भएकाले सुरुमा अङ्ग्रेजी शिक्षकको रुपमा काम गरेँ । अर्को पटक फेरि भर्ती खुलेपछि म सेनाको जागिरे भएँ ।

तपाईंले वातावरण शिक्षामा जागिर सुरु गरेपछि कि अघि नै एम.एस्सी गर्नुभएको हो ? 
– त्यो त जागिर खान थालेपछि त्यो पनि बढुवाको अङ्क बढी आउने भएकोले पढेको हुँ । पछि त यो विषय ज्यादै मन पनि प¥यो ।

त्यसवेला जागिर खानलाई गाह्रो परेन ? 
–अ हँ, त्यस्तो भएन । हामी जागिरमा लाग्ने बित्तिकै बेलायतमा तालिममा जानलाई मौका मिल्यो । त्यहाँ धेरै कुराहरू सिक्ने अवसर पाएँ । त्यसले मलाई जागिरमा एडजस्ट गर्न ज्यादै सजिलो बनायो । घरमै काम गरे जस्तै लाग्यो । त्यस्तो कठिन लागेन । कोर्सहरू गर्नुपथ्र्यो । तर पनि पहिलै मानसिक रुपले तयार भएको हुन्थेँ । सायद त्यसैले होला, सधैँ रमाइलै लाग्थ्यो ।

३८ वर्षे जागिरे जीवन तपाईंलाई पट्यार लागेन? 
– समयअवधि हेर्दा त त्यस्तै लाग्छ । तर अचम्म लाग्छ लिल्ट्रीमा जागिर खाँदा सारै छिटो समय जाँदोरहेछ । नियमित रुटिङमा साथीहरूसँग ड्युटी गर्दागर्दै समय बितेको पत्तै नहुँदोरहेछ । मिल्ट्री जीवनले छुट्टै आनन्द दिन्छ, छुट्टै रमाइलो हुन्छ । दुःखभन्दा पनि तालिकाबद्ध कामले छुट्टै मजा लाग्छ, खाली दिमाग र कामविना बस्नु पर्दैन ।

सैनिक अफिसरको रुपमा विदेश जाँदा कस्तो लाग्यो ? 
– ओहो ! त्यो त झन रमाइलो । बेग्ला बेग्लै भाषा, संस्कृति र परम्पराका मानिसहरू भेट हुँदा गजबै लाग्थ्यो । उनीहरूबाट नयाँ नयाँ कुरा सिक्न पाइन्थ्यो, आफ्नो अनुभव पनि बाँड्न पाइन्थ्यो ।

विदेशभ्रमणको क्रममा संगाल्नुभएको अविस्मरणीय अनुभवहरू केही छन् कि ? 
– धेरै छन् । त्यसमध्ये पनि बृटेनको यात्रा म बढी सम्झिने गर्छु । म सुरुमा जाँदा हाइपार्क र ग्रीनपार्कमा बृटिश साम्राज्यको जगजगी थियो । १५ वर्षपछि दोस्रोपटक जाँदा बृटिश साम्राज्यको प्रभाव सारै फिक्का भइसकेको थियो । त्यहाँ अन्य देश, जाति, भाषा र सं्रस्कृतिले टाउको उठाएको पाएँ । सूर्य नअस्ताउने देश भनेर गौरव गर्ने देशको त्यो अवस्था देखेर मैले सम्झे–सफलताको शिखर चढ्नेले तल ओर्लिनु पनि पर्दोरहेछ, शक्ति भनेको  सधैंको लागि नहुँदोरहेछ, सफल हुँदा हर्ष मान्ने र तल झर्दा दुःखी हुनु नहुँदोरहेछ ।

नेपालको चर्चित लिटिल एन्जेल्स स्कूल तपाईंको भन्छन् नि .....?
–नेपालमा मात्र हैन दार्जिलिङ सिक्किम जाँदा त्यहाँका मानिसहरूको मुखबाट अनि विदेशी च्यानलका टीभीहरूबाट प्रसारण र चर्चा भएबाट लिटिल एन्जेल स्कूलले ख्याति कमाएको रहेछ भन्ने मलाई पनि लागेको छ । तर खासमा यो स्कूललाई स्थापित गर्नै गराउनेमा मेरो केही पनि हात छैन । त्यो स्कूल स्थापना गर्ने हुर्काउने, ख्याति प्राप्त बनाउने सबै गर्नै मेरी श्रीमती विद्या लिम्बू र उमेश श्रेष्ठ हुन् । म त आर्मी मान्छे शिक्षामा मैले चासो र समय दिनै सकेको छैन । त्यसैले यो स्कूलको नाम र ख्याती मसँग जोड्नु सान्दर्भिक छैन भन्ने ठान्छु ।

तापनि यो स्कूल कसरी सफल भयो  बताइदिनुहोस् न । 
–अविभावकहरूको मागको कारणले यो स्कुलको सुरुआत भएको हो । नेपालमा पनि एउटा राम्रो र स्तरीय विद्यालयको खाँचो छ भन्ने कुरा चलेपछि यो स्कूलको सुरु भएको हो । यसको सफलताको कारण चाहिँ उमेश र विद्याले सिन्सियरली लाग्नु हो । उनीहरू आफ्नो सर्वस्व ठान्छन्–स्कुल र स्कुलका विद्यार्थीहरूलाई । उनीहरूले ब्याङ्कहरूबाट थुप्रै लोन लिएर चलाइएका छ र लोन पनि तिर्दै गरेको कुरा सुनाउछन् ।

त्यसो भए आइडियल मोडेलमा चाहिँ तपाईंको विशेष योगदान होला नि ?
–आइडियल मोडेल टिचरहरूको योजना हो । मैले त अघि नै भने नि शिक्षा क्षेत्रको म परिन, शिक्षाविद् पनि परिन, शिक्षा आवश्यक कुरा हो भन्ने चाहिँ ठानेको छु । तापनि मेरो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो यो । तर पनि शिक्षकहरूले भने जस्तै अत्यन्त आइडियल वा आदर्श  भएको स्कुलको रिजल्टले देखाउदै आएको छ । अँ म भन्दै थिएँ, शिक्षामा मेरो चासो कम छ । बरु मेरो रुचि ट्रेकिङ, फोटोग्राफीमा छ ।

रिटायर जीवन कसरी विताइरहनु भएको छ ?  
– कहिले ट्रेकिङ जाने गर्छु । प्राकृतिक दृष्यहरूको फोटो लिन्छु । प्राकृतिमा रमाउँछु । यसरी नै आनन्दसँग समय विताइरहेको छु ।

फोटोग्राफीको कुरा गर्नुभयो । प्रदर्शनी पनि गर्नुभएको छ ? 
– अहँ, मैले फोटो प्रदर्शनी गरेको छुइन । म अमेचर फोटोग्राफर हुँ, प्रोफेशनल होइन ।

तपाईं जनजातिबाट प्रथम पाश्र्ववती हुनुहुन्छ भन्ने सुनिन्छ नि ? 
–हो । तपाईले सुन्नुभएको ठीकै हो । श्री ५ महाराजाधिराज सरकारको शुभजन्मोत्सबको उपलक्ष्यमा साउन २३ गते मानार्थ शाही पाश्र्ववर्ती बक्स भएको हो । यो मेरो ख्यालमा जनजातितर्फमा प्रथम हो ।

अनि तपाईं पाश्र्ववर्तीमा छानिनुको आधार के होला ? यो कति अवधिको हो ? 
–शाही पाश्र्ववर्तीमा छानिने आधारको बारेमा त श्री ५ लाई नै विन्ती गर्नुपर्ला । यसको अवधि चाहिँ आजीवन हो । म लेप्टिनेन्ट जनरलमा रिटायर भएको हुँ । त्यही दर्जाको युनिफर्म र व्याचहरू लगाएर आजीवन स्टेट फङसनहरूमा भाग लिन सकिन्छ, कहिले सरकारलाई एकम्पनी गर्नुपर्छ, कहिले एम्बासडोरहरूलाई रिसिभ (स्वागत) गर्न जानुपर्छ ।

त्यसो भए यो गौरवको विषय हो ? 
–मलाई त्यस्तै लाग्छ । यो लिम्बू जातिको लागि मात्र गौरवको विषय हैन सबै जनजातिको लागि गौरवको विषय हो । यो मानार्थ शाही पाश्र्ववर्ती पद जनजातिहरूलाई प्राप्त पहिलो हो  ।

चुम्लुङले भाषा, लिपि, धर्म, संस्कृतिको विकास, संरक्षण लगायत लिम्बूहरूबाट खोसिएको किपटको क्षतिपूर्तिको कुरा उठाएको छ । यसबारेमा तपाईं के भन्नु भुन्छ ? 
–चुम्लुङले जायज कुरा उठाएको छ । पहिलाका शासकहरूले गरेको कामले लिम्बू लगायत अन्य जनजातिलाई बढी नै हानी गरेको छ, यसबाट बेफाइदा गरेको नै भयो । जनजातिहरूलाई स्टेटले हेरेन तर चुम्लुङले भने जस्तै स्टेटले क्षतिपूर्ति दिए राम्रै हुन्छ । यो भूमिपुत्रहरूको या कसैको हारजीतको विषय हैन । एकले अर्कोलाई स्वीकार्ने प्रक्रिया मात्र हुन् ।

भाषा, संस्कृतिको जगेर्नाका कुरा उठेका छन् । भाषा संस्कृति लोप हुने कुरा उठेको छ । के यस्तै अबस्था छ त ? 
–अहिले धेरै जाति जनजातिहरूको भाषा संस्कृति जोगाउने आन्दोलनमा लागेको देखिन्छ । उनीहरू सचेत भएको देखिन्छ । यो राम्रो कुरा हो । वास्तवमा भाषा संस्कृति लोप हुने कुरा विश्वव्यापी रुपमा आएको छ । अङ्ग्रेजीले सबै भाषालाई उतिकै मारमा पारेको छ । म हावाईमा एकपटक गएको वेलाको कुरा सम्झिरहन्छु । त्यसबेला एकजना अङ्ग्रेजी वोल्न नजान्ने रसियन अफिसर थिए । उनले आफ्नो दोभासेमार्फत् अङ्ग्रेजी बोल्न नजानेकोमा पश्चताप गरेका थिए । अनि आफ्नो देशमा गएर सरकारलाई अङ्ग्रेजी सिकाउन अनुरोध गर्ने कुरा गरेका थिए । अ्रग्रेजी भाषा महत्वपूर्ण भएको बताएको थियो । सबैमा यही मनोविज्ञानले काम गरेको छ । यसैले गर्दा अङ्ग्रेजी दिनदिनै विस्तार भइरहेको छ भने अन्य भाषा लोप हुँदै गइरहेका छन् । यो दुखदायी कुरा हो । यो प्रकोपबाट आआफ्नो भाषा, संस्कृति बचाउनु पर्छ । विविधता हुनु राम्रो कुरा हो । यसको संरक्षणमा लाग्नु राम्रो क्ुरा हो । 

चुम्लुङले लिम्बू भाषा आई.ए. कक्षा सञ्चालन गर्ने सम्भावना छ । चलायो भने के तपाईं सहयोग गर्न सक्नुहुन्छ ?
– आफ्नो भाषाको विकास हुनु, पढाइ हुनु राम्रो कुरा हो । भ्याएसम्म, सकेसम्म सहयोग त गरिन्छ नि । तर लिटिल एन्जेलस् स्कुलको आधारमा यो कुरा उठाउनुभएको हो भने त्यो त मेरो श्रीमतीले चलाएको कुरा प्रस्टाई सकेँ ।

तपाई सैनिक क्षेत्रमा सफल व्यक्तित्व हुनुहुन्छ । जीवन सफल बनाउन नया पुस्तालाई के सल्लाह दिनुहुन्छ ? 
– लगानशीलता नै यसको मुख्य कडी हो । समयलाई चिन्नु प¥यो । निरन्तर परिश्रम गर्नुप¥यो । भरसक निश्चित एउटा क्षेत्र रोजेर त्यसमा विशिष्टीकरण गरेर काम गर्नु राम्रो हुन्छ । महासागर बन्नलाई पनि थोपथोपा पानी चाहिन्छ । कुनै काममा सफल हुन  पनि सानोसानो कामको योगफल जोडिएर अन्तिम परिणाम देखिने हो । मान्छेले अन्तिम परिणाम मात्र हेर्दछन् तर त्यसअघिको लामो प्रक्रियालाई भुल्छन् । तर हामीले त्यसो गर्नु हुन्न । मेरो ताप्वर्य लगनशीलताको निरन्तरला र समयको उचित प्रयोग नै सफलताको आधार हुन् ।

अन्त्यमा तपाईंका शुभचिन्तक र पाठकहरूलाई के भन्न चाहानुहुन्छ ? 
–हामी शिक्षामा पछाडि छौँ । शिक्षामा बढी ध्यान दिनु प¥यो । पढाइमा बढी बल गर्नु प¥यो । हामीमा झोक भनौँ कि रिस भनौँ त्यो कताकता बढी भए जस्तो लाग्छ । भन्छन् नि, ‘रिस खा आफू बुद्धि खा अर्का ’ । त्यस्तै हामीले  जाँडरक्सी बढी खाए झै लाग्छ । त्यसले हाम्रो दिमागमा असर पु¥याइरहेको हुन्छ । सकेसम्म नखाने खाए पनि कम खाने । यसो गरेमा हामी हाम्रो क्षमतालाई प्रयोग गर्न सक्छौँ । मङ्गोलियन जाति जनजातिहरू जेन्टिल छन् , क्षमतावान छन् । तर जाँड रक्सीलाई असल नोकर बनाउनु प¥यो, खराब मालिक हैन । किनभने त्यो क्षमता र भद्रपनालाई कताकता रिस र जाँडरक्सीले खाएजस्तो लाग्छ । यसमा हामी चनाखो हुनुपर्छ । हामी सियो बनेर पस्नु प¥यो फाली बनेर निस्कनु प¥यो ।

तान्छोप्पा, वर्ष ८, अङ्क १, बिहिबार, २ माघ २०५९ (16 January 2003)  ।

1 comment: