Saturday, May 30, 2020

धनकुटादरवार विशाल थियो, त्यही दरबारभित्र मन्त्रालयहरू चलायौँ – गुञ्जमान सुब्बा

धनकुटादरवार विशाल थियो, त्यही दरबारभित्र मन्त्रालयहरू चलायौँ

– गुञ्जमान सुब्बा, समाजसेवी


वसन्त यामको उत्तराद्र्ध, झापामा या तराईमा गर्मी निक्कै तरुनो थियो । अघिल्लो दिनको सल्लाहअनुसार करीव विहानको ७ वजे सोध्दैखोज्दै गुञ्जमान सुब्बाज्यूको डेरामा पुगेँ र ढोका ढकढकाएँ । ढोका खोल्नुभयो, ‘सेवारो’ भनेँ, शिष्टाचार आदानप्रदान भयो । उहाँ सेतो धोती, सेतै गञ्जी अनि तीलचामले कपाल र दारीको परिधानमा हुनुहुन्थ्यो । कोठा सारै सामान्य । घरको आकार पनि खै कस्तो हो ? पश्चिमोत्तरमा एउटा झ्याल जहाँबाट टाढाको क्षितिज, क्षितिजभित्र पातलो वस्ती, अनि वस्तीभित्र जहाँतही शिरिशका फूल, नरिवल र सुपारीका झ्याङ, ठाउँठाउँमा गाईगोठहरू । पूर्वोत्तरको झ्यालको दृष्य छिमेकी घरको भित्तामा टुँगिएको । अँ, गुञ्जमान जो आदरणीय व्यक्तित्व, दाइ भनेर बोलाउन मन लाग्छ, उहाँ सामान तह लगाउने काममा व्यस्त । दुई बेड, भूइँमा टिनका बाकस, बेडमाथि तह लगाएर राखिएका पुस्तकहरू, तख्ताले बारेको कोठाभरि भारतीय पत्रपत्रिकाले टालिएको तर धेरै उप्किएर बिफर झैँ टाटाटुटी मात्र बाँकी । यो साधारण वातावरणमा ज्ञानगुणका भव्य सन्त व्यक्तित्व गुञ्जमान । 



भित्री सेतो गञ्जीमाथि सेतो सर्ट थप्दै हुनुहुन्थ्यो र यतिकैमा कुराकानी सुरु ग¥यो – तपाईंको जन्म...? मेवा दोभान प्राइमरी स्कूलमा कखरा होइन एबीसीडीबाट पढाइ आरम्भ गर्नुभएका उहाँले भन्नुभयो – म अमाली सुब्बा लोकबहादुर आङबाहाङकी जेठी पत्नी धनलक्ष्मी तुम्बाहाम्फेको माइलो सन्तान हुँ र घर हाङपाङ हो । मिडिल स्कूल तेरथुम (हालको सिंहवाहिनी मा.वि.)मा पढ्दापढ्दै प्रजातान्त्रिक आन्दोलनमा सामेल उहाँले सातसालको क्रान्तिताका धनकुटामा बनेको सरकारमा सहायक स्वास्थ्य (स्थानीय स्वशासन मन्त्री) पनि हुनुभयो । ७ देखि ९ सालसम्म भानु मिडिल स्कूल (हालको भानु मा.वि.) अम्बिटारमा शिक्षण पेशा र नेपाली काङ्ग्रेसको जिल्ला सचिवको नाताले राजनीति पनि समानान्तर रूपमा अगाडि बढाउनुभयो । 

तत्कालीन नेपाली काङ्ग्रेसको महासमिति सदस्य समेत हुनुभएका उहाँले धरान पब्लिक हाइस्कूलबाट एसएलसी (२०१३) र महेन्द्र कलेज (हालको महेन्द्र बहुमुखी क्याम्पस) धरानमा उच्चशिक्षाको सुरुवात गर्दै २०१६ देखि तत्कालीन निर्वाचित सरकारका उपमन्त्री पे्रमराज आङदेम्बेको अनुर।ेधमा कृषिविभाग सिंहदरबारमा जागिरे जीवन सुरु गर्नुभयो । स्वछन्दपूर्वक बाँच्न चाहने उहाँको स्वभावले गर्दा शाखाअधिकृतको जागिरे पेनसन त्यागेर उहाँले स्वव्यवसाय अपनाउँदै हाल उहाँ जनजाति साहित्य त्यसमा पनि लिम्बु साहित्यको सेवाको यज्ञशाला सञ्चालनार्थ सुब्बा इम्पोरियम खोलेर विर्तामोडमा २०४० सालदेखि नयाँ पुस्ताका लागि भाषा साहित्यको नयाँ विर्ता निमाणर््ा गर्न अहोरात्र लागिरहनु भएको छ । 

विभिन्न कार्यक्रमहरूमा प्रमुख अतिथि र अतिथि हुनु नियमित रुटिङ जस्तै छ उहाँको । जिबी याक्थुम्बादेखि बिपी कोइरालासम्मका राजनैतिक व्यक्तित्व अनि इमानसिंह चेम्जोङदेखि वालकृष्ण समसम्मका साहित्यिक व्यक्तित्वसँगको भेटघाट र सरसङ्गतका रोमाञ्चक अनुभूतिका क्षणहरू र कहानीहरू छन् उहाँसँग । उहाँसँग समाज बनाउने, देश बनाउने, भाषा साहित्यको विकास गर्ने, साराका सारा विचार छ, व्यवहार छ तर उहाँ एउटै कुराबाट ठगिनुभएको छ – त्यो हो उहाँको आफ्नो पारिवारिक संसारको अन्त्य । आफ्नो प्राणजतिकै प्यारी जीवन सङ्गिनी र फूलजस्ता दुई छोरी नियतिले एकैसाथ उहाँबाट खोसेर लग्यो । दोस्रो पटकको वैबाहिक जीवन पनि दुर्भाग्यको डढेलोले स्वाहा पा¥यो । अव उहाँका साथीहरू केवल कितावका ठेलीहरू छन्– पसलमा, झोलामा, ओछ्यानमा अनि...। 

जीवनका उकाली र ओराली अनि घाम र छाया धेरै सङ्गालेका गुञ्जमान सुब्बा मूलतः समाज सेवीको रूपमा चिनिनुहुन्छ र त्यतिकै मात्रामा भाषा, संस्कृति, साहित्य सेवीको रूपमा पनि प्रख्यात हुनुहुन्छ । उहाँको योगदानलाई कदर गर्दै किरात याक्थुङ चुम्लुङ, याक्थुङ कलाकार सङ्घ, मगर सङ्घ नेपाल, सिरिजङ्गा शालिक निर्माण समिति आदि सङ्घसंस्थाले सम्मान एवम् अभिनन्दन गरिसकेका छन् भने तत्कालीन राजा श्री ५ वीरेन्द्रको राज्यभिषेकमा पुरस्कृत पनि हुनुभएको छ । यिनै उदाहरणीय र बहुआयामिक व्यक्तित्वका धनी गुञ्जमान सुब्बासँग गरिएको कुराकानी पाठकहरूसमक्ष प्रस्तुत छ ।

राणा शासन विरुद्धको आन्दोलनमा कसरी सरिक हुनभयो ?
–तेरथुम मिडिल स्कूलमा म पढ्दा त्यहाँ पढाउने धेरै जसो शिक्षकहरू काङ्ग्रेस पार्टीका समर्थकहरू थिए । उनीहरूले पढाउने क्रममा एकतन्त्रीय हुकुमी राणा शासनको कारणले देशमा आर्थिक, सामाजिक, शैक्षिक विकास नएको, मौलिक अधिकार हरू खोसिएको कुरा सुनाउनुहुन्थ्यो । यसले राणा शासन बेठीक रहेछ भन्ने मलाई लाग्यो र म राणशासन विरुद्धको आन्दोलनमा लागेँ ।

७ सालको जनआन्दोलनको सेरो फेरोमा काजी मान कन्दङवा, प्रेम बहादुर तुम्बाहाम्फे लगायतका हामीलाई तत्कालीन शासकहरूले शान्ति सुरक्षा कायम गर्न अनुरोध गरेर हामी गाउँगाउँमा गयौँ । यही समयमा जनताहरू मूलतः ब्रिटिस सेनामा कार्यरत बहालवाला र भूपू सैनिकहरू राणा शासनसँग ज्यादै रुष्ट पायौँ किनभने उनीहरूलाई सुबेदारभन्दा माथिको पदमा बढुवा नगर्न भनी ब्रिटिस शासकलाई राणाहरूले अनुरोध गरी चिठी लेखेका रहेछन् । त्यसैले हामीले शान्ति सुरक्षको लागि उनीहरूलाई अनुरोध गर्दा तपाईहरूले भनेको सबै मान्छौँ तर राणाहरूको विरुद्धमा हामी आन्दोलन गर्छौँगर्छौँ, हामी मार्न र मर्न तयार छौँ भनी उनीहरूले भने । यही क्रममा विभिन्न ठाउँमा नाराजुलुश र सभाहरू हुन थाल्यो । म पनि यही माहोलमा स्वतः सामेल भएँ ।

तत्कालीन नेपाली काङ्ग्रेस पार्टी ताप्लेजुङ जिल्ला कमिटिमा कसरी सचिव हुनुभयो ? 
– पछि त म पार्टीमा सम्मिलित भइहालेँ । पार्टीको आमसभामा भाषण गर्दै र गाउँगाउँमा सङ्गठन गर्दै हिंड्न थालेँ । त्यही बेला धनकुटाका बडाहाकिम प्रकाश समशेरले शान्ति कायम गर्न पार्टीका मानिसहरूसँग सहयोग मागे । तेरथुममा काजीमान कन्दङवा र ताप्लेजुङमा म खटिएँ । त्यो समयमा तत्कालीन ताप्लेजुङ अदालतका हाकिम हर्कजंग मादेनसँग चिनजान भयो र उहाँले ताप्लेजुङ बस्न अनुरोध गर्नुभयो अनि प्रकाश समशेरलाई पनि अनुरोध गर्नुभयो मेरो बसाइ ताप्लेजुङमा होस् भनेर । उहाँले भानु स्कुल अम्बिटारमा शिक्षक जागिर पनि दिलाउनुभयो । शिक्षण पेशासँगै काङ्ग्रेस पार्टीको जिल्ला कमिटि गठन गरियो र म सचिव भएँ । पछि म काङ्ग्रेस महासमितिको सदस्य पनि भएँ ।

ताप्लेजुङमा तत्कालीन समयमा काङ्ग्रेसबाट बढी लुटपाट भयो भन्ने आजभोलि पनि सुनिन्छ नि ? 
–त्यस्तो होइन । यसको कहानी छ । चार सालमा राणाहरूले गठन गरेको पञ्चायतमा आठराईका सिटौला, विमलीहरू पदाधिकारी भए । लिम्बूहरू चाहिँ पुरानो थीतिरीतिमा आँच आउँछ भनेर पञ्चायतमा वस्न स्वीकार गरेनन् । कुमाईंहरू मात्र गाउँको पदाधिकारी भएपछि लिम्बूहरूलाई तह लगाउनुपर्छ भनेर योजना बनाई उनीहरूको गोठाला खेतालाहरूलाई लिम्बूहरूको विरुद्धमा फर्जी उजुरी गर्न लाउँदै लिम्बूहरूलाई ठिङ्गुरोमा ठोक्न थाले । यसको साथै त्यसवेलाका कुमाईहरू विशेष गरी सिटौँला, विमली, मैनालीहरूले षडयन्त्र गरी लिम्बूहरूलाई तह लगाउन एक हुनु पर्ने गोप्यपत्र जारी गरे । त्यो पत्र खाम्लालुङका अमाली सुब्बा पूर्णहाङ लिम्बूले हात पारे । त्यसमा हामी काङ्ग्रेसमा लाग्नुपर्छ र लिम्बूहरूलाई तह लगाउनुपर्छ भन्ने कुरा थियो । पूर्णहाङले त्यो पत्र धनकुटाका सहायक बडाहाकिम लोचन समशेर थापालाई बुझायो अनि लोचन समशेरले त्यो पत्र छापेर लिम्बूवान भरि छरिदिए । त्यसले कुमाईहरूको गोप्य षडयन्त्रको पर्दाफास ग¥यो र लिम्बूहरूमा ठूलो उत्तेजना सिर्जना ग¥यो । त्यही समयमा कुमाईहरूले ४५ जना लिम्बूरूको विरुद्धमा डाका मुद्दा हाले । त्यसवेला ताप्लेजुङमा मायानाथ लप्टन भन्ने हाकिम थियो । कुमाईहरूले त्यो हाकिमलाई घुस खुवाई गाउँमा सरजिमिन गराए र लिम्बूहरूले डाका गरेकै हो भनेर मुद्दा हराए । एकातिर धनकुटे बडाहाकिमको उचालाइ अर्कोतिर कुमाईको षडयन्त्र । यसले गर्दा ती डाका मुद्दामा आरोपित युवाहरू आक्रोसित भए । त्यसवेला तेरथुमको आठराई सङ्क्रान्तिमा महिना महिना दिनमा ठूलो बजार लाग्ने गथ्र्यो । त्यहाँ कुमाईहरूले ठूलाठूला पसल थापेर बसेका थिए । ती लिम्बू युवाहरूले नगरेको कामको दोष कुमाईहरूले लगाई हाले अब यिनीहरूलाई यहाँबाट लेखेट्नुपर्छ भन्ने निर्णय गरेर दिन दाहाडै सङ्क्रान्ति बजार लुटपाट मच्चाए, पसल तोडफोड गरे । उनीहरू गाउँमा पसे र घरघरबाट कुमाईहरूलाई लखेटे । तर उनीहरूले लुटेको सम्पत्ति स्थानीय गरीवहरूलाई बाँडिदिए । सबै कुमाई विस्थापित भए । पछि ती सबै युवाहरू काङ्ग्रेसमा पसे ।

धनकुटामा गठित तत्कालिन जनसरकारको मन्त्रीमण्डलको सदस्य कसरी बन्नुभयो ? 
– जिबी याक्थुम्बा तत्कालीन जनक्रान्तिका पूर्वाञ्चल कमान्डर थिए । उहाँलाई जीओसी (जनरल अफिसर कमान्डिङ) भनिन्थ्यो । त्यतिखेर उहाँलाई जिबी सुब्बा भनेर चिनिनु हुन्थ्यो । पछि उहाँले सुब्बाको ठाउँमा याक्थुम्बा बनाउनुभयो । उनले राई, लिम्बूको भूपू सैनिकहरू हातमा लिएर जनमुक्ति सेना गठन गरी पहिला विराटनगर कव्जा गरे । विराटनगरमा उत्तमविक्रम बडाहाकिम थियो । त्यसबेलामा धनकुटामा खेम समशेर बडाहाकिम थिए । ललितबहादुर तुम्बाहाम्फे क्याप्टेन बाबुको छोराको नाताले राणहरूसँग नजिक थिए र उनीबाट राजनीतिक सल्लाह लिनु भनी केन्द्रबाटै धनकुटे बडाहाकिमलाई निर्देशन थियो । ललितबहादुर पनि तत्कालीन राजनीतिक स्थिति बुझ्न काठमाडौँ जाने तयारी गर्दै थिए । त्यही बेला गृहमन्त्रालयले धनकुटे बडाहाकिम खेम समशेरलाई ललितबहादुर तुम्बाहाम्फेसँग राजनैतिक सल्लाह लिई काम गर्नु भनी वायरलेस आयो । त्यो तार जिबी याक्थुम्बाले क्याच गरे । जिबी त्यसवेला विराटनगर कब्जा गरिसकेपछि धनकुटा हान्न धरान बस्दै थिए । ललितबहादुरको बारेमा वायरलेसबाट थाहा पाएपछि यो व्यक्ति को रहेछ भनेर जिबीले सीआईडी छोडेर ललितवहादुर काठमाडौँ जाँदै गर्दा बाटैमा पक्डिए । त्यसपछि जिबीले ललितबहादुरलाई भने – तपाईं दुई वटा विकल्प छ, कि तपाईंले धनकुटा क्याप्चर गर्न सहयोग गर्नुहोस् कि त गोली खान तयार हुनुहोस् । अन्त्यमा ललितवहादुरले म कसै न कसैको मारमा पर्ने नै भएँ त्यसैले म काङ्ग्रेसमा लागेर सहिद हुन तयार छु । यी सबै कुरा मलाई जिबीले भनेका हुन् ।

त्यतिखेर धनकुटामा साडे तीन सय भूपू सैनिकका पल्टन ललितबहादुरले नै खडा गरेका थिए । ललितवहादुर नै बडाहाकिमका सल्लाहकार पनि । त्यसपछि जिबी याक्थुम्बाले ललिबहादुरलाई भने – तपाईंले बिना हिंसा धनकुटा कब्जा गर्नु, म जनसेनाको एक टुकडी दिएर पठाउँछु । त्यसपछि उनी धनकुटातिर लागे, खबर पनि सेना र बडाहाकिमलाई पठाए, म काङ्ग्रेस भएर आउँदैछु, आत्मसमर्पण गर भनेर । त्यसबेला वडाहाकिमको भारतीय ज्वाइँलगायत अन्य नातेदारहरू करीव २२÷२३ जना धनकुटा दरबारमा आएका रहेछन् । फेरि विराटनगरको बडाहाकिमको छोरा, नातेदारहरू लगायत पाहुनाहरू पनि मरेको घटना पनि ताजै थियो । आफूलगायत पाहुनाहरू सबै मारिने छन् भन्ने डरका कारणले बडाहाकिमले अत्मसमर्पण ग¥यो । त्यसैले काङ्ग्रेसले विना हिंसा धनकुटा कब्जा ग¥यो ।

त्यसको लगतै धनकुटाको दरबारमा जिबी याक्थुम्बालाई भित्र्याइयो । भोलिपल्ट टुँडीखेलमा आमसभा भयो । त्यही आमसभामा अन्तरिम सामयिक सरकारको घोषणा जिबी याक्थुम्बाले गर्नुभयो । त्यसको प्रमुखमा ललितवहादुर तुम्बाहाम्फे घोषित हुनुभयो । काजीमान कन्दङवा र म तेरथुम र ताप्लेजुङमै थियौँ । तर हाम्रो नाम १२ जनाभित्र राखिएको थियो । यसरी हामी नेपालको जनक्रान्तिको क्रममा प्रथम जनसरकारको मन्त्रीमण्डलमा सामेल भयौँ ।

मन्त्री हुँदाको अनुभव कस्तो छ ? 
–बहुत आश्चर्य लाग्दो छ, त्यो जीवनको रोमाञ्चक क्षण थियो । धनकुटा दरवार विशाल थियो । त्यही दरबारभित्र मन्त्रालयहरू चलाएका थियौँ । स्टापहरू थिए । छापसाप काट्ने काम हुन्थ्यो । धनकुटा बजारमा तलमाथि हिँड्दा सडकका दुबैछेउबाट सलोट मार्थे, जनताहरू । त्यो सरकार स्वतन्त्र सरकार थियो । नोट जारी गर्ने तयारी भैरहेको थियो । त्यही समयमा केन्द्रीय सत्ता परिवर्तन भयो । समयपछि फेरि जिबी याक्थुम्बा आउनुभयो र केन्द्रीय सत्ता कब्जा भएकाले हाम्रो सरकार विघटन गर्नु पर्ने सल्लाह दिनुभयो । अनि त्यो सरकार विघटित भयो ।

तपाईं जागिरे पनि हुनुभयो । कहाँको नागरिक सरकारको मन्त्री कहाँको जागिरे व्यक्ति ? यो बेमेल भएन र ? 
–त्यसवेलाका पार्टीका साथीहरू विशेष गरी प्रेमराज आङदेम्बेको अनुरोध अनि हातमुख जोर्ने समस्याले जागीर खनुप¥यो । तर मभित्रको स्वाभिमानले पोलिरहयो, सिंहदरवारभित्र जागिर खाए पनि । त्यसैले मैले पेनसन पाके पनि पेनसन नखाने, कर्मचारीको विल्ला नभिर्ने निर्णय गरेर म जागिरबाट वाहिरिएँ ।

नेपाली काङ्ग्रेसले तपाईंजस्तो इतिहास बोकेको व्यक्तिलाई उपेक्षा गरे जस्तो लाग्दैन ? पहिला र अहिलेको काङ्ग्रेसमा के भिन्नता छ ? 
– बिपी ज्यादै दूरदर्शि, प्र्रभावशाली र उदार नेता थिए र उनीसँग मेरो सम्बन्ध राम्रो थियो । मेरो चिनजान मातृकासँग पनि त्यतिकै राम्रो थियो । अहिले गिरिजामा ती कुरा पाइदैनन् । पछि काङ्ग्रेस पार्टी नेताहरूको कारणले बाहुनवादी, परिवारवादी बन्दै गयो । जनजातिहरू उपेक्षित हुँदै गए । म त आफ्नो जातिप्रति मरिमेट्ने मान्छे । जेको लागि काङ्ग्रेसमा लागेँ त्यो त्यहाँ नपाएपछि मैले त्यो पार्टी छोडेँ । काङ्ग्रेसले मलाई होइन वास्तविक देश अथवा जानजातिहरू र उनीहरूको समस्यालाई उपेक्षा र तिरस्कार गरेको मैले पाएको छु । यसले काङ्ग्रेसलाई नै घाटा पार्छ । मेरो यही ठहरले गर्दा बहुदलपछि जनमुक्ति पार्टीमा लागेँ र राष्ट्रिय परिषद सदस्य पनि छु ।

जनजाति पुस्तक पत्रपत्रिकाको पसल कसरी सुरु गर्नुभयो ? 
–म विद्यार्थी हुँदादेखि नै जनजातिका अधिकार, भाषा, साहित्यबारेमा चासो राख्ने व्यक्ति थिएँ । धरानमा पढ्दाखेरी मेरा साथीभाइ बाहुन क्षेत्रीमात्र थिए । तर उनीहरूले मलाई जहिले पनि भन्ने गर्थे – तिमी लिम्बूहरूको मात्र वकालत गर्छौ तिमी लम्बूवादी छौ । म स्वतः जातिय प्रेम र जातिय स्वभिमान राख्ने स्वभाव थियो । यो प्रेरणा मैले ललितबहादुर तुम्बाहाम्फेबाट पाएको हँु र मेरो विशेषता पनि यही हो । त्यसले पछि गएर जनजातिय साहित्यको प्रवद्र्धन गर्ने निर्णय गरेँ र यतातिर लागेँ । यसवाट किरातलगायत अन्य जनजातिय सहित्यको सेवा र मेवा दुवै मिल्ने विचार गरी यो व्यवसाय अपनाएँ ।

सुरुमा मैले पसल खोल्दा र वर्तमान अवस्थामा व्यापक भिन्नता छ । जनजातिहरू अहिले आफ्नो भाषा, संस्कृति, इतिहासबारेमा धेरै सचेत छन् र भाषा साहित्यको विकास र संरक्षणमा व्यापक रूपले लागेका छन् । दिनानुदिन नयाँनयाँ जनजातिय पत्रपत्रिका र पुस्तकहरू प्रकाशित भैरहेका छन् । किन्ने र पढ्ने प्रवृति पनि निक्कै बढेको छ ।

पुरानो पुस्ताका लिम्बू साहित्यकारहरू कोकोसँग तपाईको सङ्गत थियो ? 
–लिम्बू साहित्यकारहरूमा प्रेमबहादुर माबुहाङ, जिबी याक्थुम्बा, रणधीर सुब्बा, इमानसिह चेम्जोङ अनि खस नेपाली साहित्यकारहरूमा वालकृष्ण सम, लेखनाथ पौडेल, शिद्धिचरण श्रेष्ठ, धमभक्त यमी, ताना शर्मा, बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल लगायतका लिम्बू र नेपाली साहित्यकार हरूसँग मेरो राम्रो संगत थियो ।

त्यसमा पनि इमानसिंहसँग काठमाडौँ वस्दा धेरै उठवस भयो । उहाँबाट धेरै कुरा सिक्ने अवसर पनि पाएँ । किरात साहित्यमा सबैभन्दा बढी चासो इमानसिंहमा थियो ।

उहाँ युमाका भक्त हुनुहुन्थ्यो । जव उहाँलाई केही चिन्ता हुन्थ्यो, कुनै किसिमको अपसोस हुन्थ्यो तव उहाँ बसेर युमाको उपासना गर्न थालिहाल्नु हुन्थ्यो । धार्मिक पो हुनुहुन्थ्यो इमानसिंह त !

उहाँसँग खुलमखुल्ला कुराकानी हुन्थ्यो । म उहाँलाई गुरु भन्थेँ । होइन गुरु, तपाईलाई त क्रिस्चियन पनि भन्दो रहेछन् नि त मलाई प्रष्ट भन्नोस् न हाउ भन्ने प्रश्न राखे एक दिन । उहाँले – “मेरो बाबु क्रिस्चियन, तर कसरी भने कलकत्तामा पढ्दाखेरी सारो विमारी हुनुभएछ, विमारी हु“दा त्यहाँ वंगाली साथीहरूसँग सहयोग माग्नु भएछ, विद्यार्थी जीवनमा । उहाँका पढ्ने साथीहरू क्रिस्चियनमा लागेको थिए । आपद पर्दा क्रिस्चियन भएर मेट्रिक पास गरेर आउनु भएछ । पछि आएर मेरो बुबा इतिहासकार पनि हुनुहुन्थ्यो । बाध्य भएर त्रिश्चियनमा लागेको थियो । तिमीहरू क्रिस्चियनमा नलाग्नू है । इतिहास खोज्नु, पहिला किरातहरू सभ्य थिए । धरान विजयपुरमा किरात राजाहरूको दरवार थियो । त्यहाँ हात्तीसार छ । त्यहाँ किरातहरू हात्ती पाल्थे र इतिहास खोज । तिमीले अरु होइन पहिला किरात इतिहास खोज र क्रिस्चियन नहुनु भन्ने बाबुको आदेश थियो मलाई ।” भनेर इमानसिंहले सुनाउनुभयो । त्यसैले म क्रिस्चियन बाबुको छोरा हुँ तर आफू क्रिस्चियन होइन भन्नुभयो । मत युमाको भक्त हुँ युमालाई मान्छु भन्नुहुन्थ्यो र जहिले भेट्दा पनि युमाकै कुरा गर्नुहुन्थ्यो ।

अरु केही भन्न चाहानुहुन्छ कि ?
–बैरागी काइलाले एकजना अङ्ग्रेज विद्वान्को भनाइ सुनाएका थिए । त्यो के भने नेपालमा अत्यन्त प्राचीन, अत्यन्त धनी र अत्यन्त सुन्दर एउटा भाषा मर्दैजादैं छ, त्यो लिम्बू भाषा हो, त्यो बचाउनु पर्छ भनेका थिए रे, ती विद्वान्ले । इमानसिंह पनि लिम्बू भाषाको बारेमा त्यसै भन्नुहुन्थ्यो । म यो भनाइसँग सहमत छु । त्यसले गर्दा हाम्रो समाजलाई यही मुन्धुम साहित्यबाट अगाडि बढाउनुपर्छ । यही साहित्यको आधारमा राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, वैज्ञानिक सबै कुरा मुन्धुममा खोज्नुपर्छ, अनुसुन्धान गर्नुपर्छ, विश्लेषण गर्नुपर्छ र आलेखन गर्नुपर्छ । यही कुरामा हाम्रो जाति समाजको विकास हुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।

तान्छोप्पा, वर्ष ८, अंक ६ विहिवार, ५ असार २०६०  (19 June 2003) ।

No comments:

Post a Comment