Saturday, May 30, 2020

धनकुटादरवार विशाल थियो, त्यही दरबारभित्र मन्त्रालयहरू चलायौँ – गुञ्जमान सुब्बा

धनकुटादरवार विशाल थियो, त्यही दरबारभित्र मन्त्रालयहरू चलायौँ

– गुञ्जमान सुब्बा, समाजसेवी


वसन्त यामको उत्तराद्र्ध, झापामा या तराईमा गर्मी निक्कै तरुनो थियो । अघिल्लो दिनको सल्लाहअनुसार करीव विहानको ७ वजे सोध्दैखोज्दै गुञ्जमान सुब्बाज्यूको डेरामा पुगेँ र ढोका ढकढकाएँ । ढोका खोल्नुभयो, ‘सेवारो’ भनेँ, शिष्टाचार आदानप्रदान भयो । उहाँ सेतो धोती, सेतै गञ्जी अनि तीलचामले कपाल र दारीको परिधानमा हुनुहुन्थ्यो । कोठा सारै सामान्य । घरको आकार पनि खै कस्तो हो ? पश्चिमोत्तरमा एउटा झ्याल जहाँबाट टाढाको क्षितिज, क्षितिजभित्र पातलो वस्ती, अनि वस्तीभित्र जहाँतही शिरिशका फूल, नरिवल र सुपारीका झ्याङ, ठाउँठाउँमा गाईगोठहरू । पूर्वोत्तरको झ्यालको दृष्य छिमेकी घरको भित्तामा टुँगिएको । अँ, गुञ्जमान जो आदरणीय व्यक्तित्व, दाइ भनेर बोलाउन मन लाग्छ, उहाँ सामान तह लगाउने काममा व्यस्त । दुई बेड, भूइँमा टिनका बाकस, बेडमाथि तह लगाएर राखिएका पुस्तकहरू, तख्ताले बारेको कोठाभरि भारतीय पत्रपत्रिकाले टालिएको तर धेरै उप्किएर बिफर झैँ टाटाटुटी मात्र बाँकी । यो साधारण वातावरणमा ज्ञानगुणका भव्य सन्त व्यक्तित्व गुञ्जमान । 



भित्री सेतो गञ्जीमाथि सेतो सर्ट थप्दै हुनुहुन्थ्यो र यतिकैमा कुराकानी सुरु ग¥यो – तपाईंको जन्म...? मेवा दोभान प्राइमरी स्कूलमा कखरा होइन एबीसीडीबाट पढाइ आरम्भ गर्नुभएका उहाँले भन्नुभयो – म अमाली सुब्बा लोकबहादुर आङबाहाङकी जेठी पत्नी धनलक्ष्मी तुम्बाहाम्फेको माइलो सन्तान हुँ र घर हाङपाङ हो । मिडिल स्कूल तेरथुम (हालको सिंहवाहिनी मा.वि.)मा पढ्दापढ्दै प्रजातान्त्रिक आन्दोलनमा सामेल उहाँले सातसालको क्रान्तिताका धनकुटामा बनेको सरकारमा सहायक स्वास्थ्य (स्थानीय स्वशासन मन्त्री) पनि हुनुभयो । ७ देखि ९ सालसम्म भानु मिडिल स्कूल (हालको भानु मा.वि.) अम्बिटारमा शिक्षण पेशा र नेपाली काङ्ग्रेसको जिल्ला सचिवको नाताले राजनीति पनि समानान्तर रूपमा अगाडि बढाउनुभयो । 

तत्कालीन नेपाली काङ्ग्रेसको महासमिति सदस्य समेत हुनुभएका उहाँले धरान पब्लिक हाइस्कूलबाट एसएलसी (२०१३) र महेन्द्र कलेज (हालको महेन्द्र बहुमुखी क्याम्पस) धरानमा उच्चशिक्षाको सुरुवात गर्दै २०१६ देखि तत्कालीन निर्वाचित सरकारका उपमन्त्री पे्रमराज आङदेम्बेको अनुर।ेधमा कृषिविभाग सिंहदरबारमा जागिरे जीवन सुरु गर्नुभयो । स्वछन्दपूर्वक बाँच्न चाहने उहाँको स्वभावले गर्दा शाखाअधिकृतको जागिरे पेनसन त्यागेर उहाँले स्वव्यवसाय अपनाउँदै हाल उहाँ जनजाति साहित्य त्यसमा पनि लिम्बु साहित्यको सेवाको यज्ञशाला सञ्चालनार्थ सुब्बा इम्पोरियम खोलेर विर्तामोडमा २०४० सालदेखि नयाँ पुस्ताका लागि भाषा साहित्यको नयाँ विर्ता निमाणर््ा गर्न अहोरात्र लागिरहनु भएको छ । 

विभिन्न कार्यक्रमहरूमा प्रमुख अतिथि र अतिथि हुनु नियमित रुटिङ जस्तै छ उहाँको । जिबी याक्थुम्बादेखि बिपी कोइरालासम्मका राजनैतिक व्यक्तित्व अनि इमानसिंह चेम्जोङदेखि वालकृष्ण समसम्मका साहित्यिक व्यक्तित्वसँगको भेटघाट र सरसङ्गतका रोमाञ्चक अनुभूतिका क्षणहरू र कहानीहरू छन् उहाँसँग । उहाँसँग समाज बनाउने, देश बनाउने, भाषा साहित्यको विकास गर्ने, साराका सारा विचार छ, व्यवहार छ तर उहाँ एउटै कुराबाट ठगिनुभएको छ – त्यो हो उहाँको आफ्नो पारिवारिक संसारको अन्त्य । आफ्नो प्राणजतिकै प्यारी जीवन सङ्गिनी र फूलजस्ता दुई छोरी नियतिले एकैसाथ उहाँबाट खोसेर लग्यो । दोस्रो पटकको वैबाहिक जीवन पनि दुर्भाग्यको डढेलोले स्वाहा पा¥यो । अव उहाँका साथीहरू केवल कितावका ठेलीहरू छन्– पसलमा, झोलामा, ओछ्यानमा अनि...। 

जीवनका उकाली र ओराली अनि घाम र छाया धेरै सङ्गालेका गुञ्जमान सुब्बा मूलतः समाज सेवीको रूपमा चिनिनुहुन्छ र त्यतिकै मात्रामा भाषा, संस्कृति, साहित्य सेवीको रूपमा पनि प्रख्यात हुनुहुन्छ । उहाँको योगदानलाई कदर गर्दै किरात याक्थुङ चुम्लुङ, याक्थुङ कलाकार सङ्घ, मगर सङ्घ नेपाल, सिरिजङ्गा शालिक निर्माण समिति आदि सङ्घसंस्थाले सम्मान एवम् अभिनन्दन गरिसकेका छन् भने तत्कालीन राजा श्री ५ वीरेन्द्रको राज्यभिषेकमा पुरस्कृत पनि हुनुभएको छ । यिनै उदाहरणीय र बहुआयामिक व्यक्तित्वका धनी गुञ्जमान सुब्बासँग गरिएको कुराकानी पाठकहरूसमक्ष प्रस्तुत छ ।

राणा शासन विरुद्धको आन्दोलनमा कसरी सरिक हुनभयो ?
–तेरथुम मिडिल स्कूलमा म पढ्दा त्यहाँ पढाउने धेरै जसो शिक्षकहरू काङ्ग्रेस पार्टीका समर्थकहरू थिए । उनीहरूले पढाउने क्रममा एकतन्त्रीय हुकुमी राणा शासनको कारणले देशमा आर्थिक, सामाजिक, शैक्षिक विकास नएको, मौलिक अधिकार हरू खोसिएको कुरा सुनाउनुहुन्थ्यो । यसले राणा शासन बेठीक रहेछ भन्ने मलाई लाग्यो र म राणशासन विरुद्धको आन्दोलनमा लागेँ ।

७ सालको जनआन्दोलनको सेरो फेरोमा काजी मान कन्दङवा, प्रेम बहादुर तुम्बाहाम्फे लगायतका हामीलाई तत्कालीन शासकहरूले शान्ति सुरक्षा कायम गर्न अनुरोध गरेर हामी गाउँगाउँमा गयौँ । यही समयमा जनताहरू मूलतः ब्रिटिस सेनामा कार्यरत बहालवाला र भूपू सैनिकहरू राणा शासनसँग ज्यादै रुष्ट पायौँ किनभने उनीहरूलाई सुबेदारभन्दा माथिको पदमा बढुवा नगर्न भनी ब्रिटिस शासकलाई राणाहरूले अनुरोध गरी चिठी लेखेका रहेछन् । त्यसैले हामीले शान्ति सुरक्षको लागि उनीहरूलाई अनुरोध गर्दा तपाईहरूले भनेको सबै मान्छौँ तर राणाहरूको विरुद्धमा हामी आन्दोलन गर्छौँगर्छौँ, हामी मार्न र मर्न तयार छौँ भनी उनीहरूले भने । यही क्रममा विभिन्न ठाउँमा नाराजुलुश र सभाहरू हुन थाल्यो । म पनि यही माहोलमा स्वतः सामेल भएँ ।

तत्कालीन नेपाली काङ्ग्रेस पार्टी ताप्लेजुङ जिल्ला कमिटिमा कसरी सचिव हुनुभयो ? 
– पछि त म पार्टीमा सम्मिलित भइहालेँ । पार्टीको आमसभामा भाषण गर्दै र गाउँगाउँमा सङ्गठन गर्दै हिंड्न थालेँ । त्यही बेला धनकुटाका बडाहाकिम प्रकाश समशेरले शान्ति कायम गर्न पार्टीका मानिसहरूसँग सहयोग मागे । तेरथुममा काजीमान कन्दङवा र ताप्लेजुङमा म खटिएँ । त्यो समयमा तत्कालीन ताप्लेजुङ अदालतका हाकिम हर्कजंग मादेनसँग चिनजान भयो र उहाँले ताप्लेजुङ बस्न अनुरोध गर्नुभयो अनि प्रकाश समशेरलाई पनि अनुरोध गर्नुभयो मेरो बसाइ ताप्लेजुङमा होस् भनेर । उहाँले भानु स्कुल अम्बिटारमा शिक्षक जागिर पनि दिलाउनुभयो । शिक्षण पेशासँगै काङ्ग्रेस पार्टीको जिल्ला कमिटि गठन गरियो र म सचिव भएँ । पछि म काङ्ग्रेस महासमितिको सदस्य पनि भएँ ।

ताप्लेजुङमा तत्कालीन समयमा काङ्ग्रेसबाट बढी लुटपाट भयो भन्ने आजभोलि पनि सुनिन्छ नि ? 
–त्यस्तो होइन । यसको कहानी छ । चार सालमा राणाहरूले गठन गरेको पञ्चायतमा आठराईका सिटौला, विमलीहरू पदाधिकारी भए । लिम्बूहरू चाहिँ पुरानो थीतिरीतिमा आँच आउँछ भनेर पञ्चायतमा वस्न स्वीकार गरेनन् । कुमाईंहरू मात्र गाउँको पदाधिकारी भएपछि लिम्बूहरूलाई तह लगाउनुपर्छ भनेर योजना बनाई उनीहरूको गोठाला खेतालाहरूलाई लिम्बूहरूको विरुद्धमा फर्जी उजुरी गर्न लाउँदै लिम्बूहरूलाई ठिङ्गुरोमा ठोक्न थाले । यसको साथै त्यसवेलाका कुमाईहरू विशेष गरी सिटौँला, विमली, मैनालीहरूले षडयन्त्र गरी लिम्बूहरूलाई तह लगाउन एक हुनु पर्ने गोप्यपत्र जारी गरे । त्यो पत्र खाम्लालुङका अमाली सुब्बा पूर्णहाङ लिम्बूले हात पारे । त्यसमा हामी काङ्ग्रेसमा लाग्नुपर्छ र लिम्बूहरूलाई तह लगाउनुपर्छ भन्ने कुरा थियो । पूर्णहाङले त्यो पत्र धनकुटाका सहायक बडाहाकिम लोचन समशेर थापालाई बुझायो अनि लोचन समशेरले त्यो पत्र छापेर लिम्बूवान भरि छरिदिए । त्यसले कुमाईहरूको गोप्य षडयन्त्रको पर्दाफास ग¥यो र लिम्बूहरूमा ठूलो उत्तेजना सिर्जना ग¥यो । त्यही समयमा कुमाईहरूले ४५ जना लिम्बूरूको विरुद्धमा डाका मुद्दा हाले । त्यसवेला ताप्लेजुङमा मायानाथ लप्टन भन्ने हाकिम थियो । कुमाईहरूले त्यो हाकिमलाई घुस खुवाई गाउँमा सरजिमिन गराए र लिम्बूहरूले डाका गरेकै हो भनेर मुद्दा हराए । एकातिर धनकुटे बडाहाकिमको उचालाइ अर्कोतिर कुमाईको षडयन्त्र । यसले गर्दा ती डाका मुद्दामा आरोपित युवाहरू आक्रोसित भए । त्यसवेला तेरथुमको आठराई सङ्क्रान्तिमा महिना महिना दिनमा ठूलो बजार लाग्ने गथ्र्यो । त्यहाँ कुमाईहरूले ठूलाठूला पसल थापेर बसेका थिए । ती लिम्बू युवाहरूले नगरेको कामको दोष कुमाईहरूले लगाई हाले अब यिनीहरूलाई यहाँबाट लेखेट्नुपर्छ भन्ने निर्णय गरेर दिन दाहाडै सङ्क्रान्ति बजार लुटपाट मच्चाए, पसल तोडफोड गरे । उनीहरू गाउँमा पसे र घरघरबाट कुमाईहरूलाई लखेटे । तर उनीहरूले लुटेको सम्पत्ति स्थानीय गरीवहरूलाई बाँडिदिए । सबै कुमाई विस्थापित भए । पछि ती सबै युवाहरू काङ्ग्रेसमा पसे ।

धनकुटामा गठित तत्कालिन जनसरकारको मन्त्रीमण्डलको सदस्य कसरी बन्नुभयो ? 
– जिबी याक्थुम्बा तत्कालीन जनक्रान्तिका पूर्वाञ्चल कमान्डर थिए । उहाँलाई जीओसी (जनरल अफिसर कमान्डिङ) भनिन्थ्यो । त्यतिखेर उहाँलाई जिबी सुब्बा भनेर चिनिनु हुन्थ्यो । पछि उहाँले सुब्बाको ठाउँमा याक्थुम्बा बनाउनुभयो । उनले राई, लिम्बूको भूपू सैनिकहरू हातमा लिएर जनमुक्ति सेना गठन गरी पहिला विराटनगर कव्जा गरे । विराटनगरमा उत्तमविक्रम बडाहाकिम थियो । त्यसबेलामा धनकुटामा खेम समशेर बडाहाकिम थिए । ललितबहादुर तुम्बाहाम्फे क्याप्टेन बाबुको छोराको नाताले राणहरूसँग नजिक थिए र उनीबाट राजनीतिक सल्लाह लिनु भनी केन्द्रबाटै धनकुटे बडाहाकिमलाई निर्देशन थियो । ललितबहादुर पनि तत्कालीन राजनीतिक स्थिति बुझ्न काठमाडौँ जाने तयारी गर्दै थिए । त्यही बेला गृहमन्त्रालयले धनकुटे बडाहाकिम खेम समशेरलाई ललितबहादुर तुम्बाहाम्फेसँग राजनैतिक सल्लाह लिई काम गर्नु भनी वायरलेस आयो । त्यो तार जिबी याक्थुम्बाले क्याच गरे । जिबी त्यसवेला विराटनगर कब्जा गरिसकेपछि धनकुटा हान्न धरान बस्दै थिए । ललितबहादुरको बारेमा वायरलेसबाट थाहा पाएपछि यो व्यक्ति को रहेछ भनेर जिबीले सीआईडी छोडेर ललितवहादुर काठमाडौँ जाँदै गर्दा बाटैमा पक्डिए । त्यसपछि जिबीले ललितबहादुरलाई भने – तपाईं दुई वटा विकल्प छ, कि तपाईंले धनकुटा क्याप्चर गर्न सहयोग गर्नुहोस् कि त गोली खान तयार हुनुहोस् । अन्त्यमा ललितवहादुरले म कसै न कसैको मारमा पर्ने नै भएँ त्यसैले म काङ्ग्रेसमा लागेर सहिद हुन तयार छु । यी सबै कुरा मलाई जिबीले भनेका हुन् ।

त्यतिखेर धनकुटामा साडे तीन सय भूपू सैनिकका पल्टन ललितबहादुरले नै खडा गरेका थिए । ललितवहादुर नै बडाहाकिमका सल्लाहकार पनि । त्यसपछि जिबी याक्थुम्बाले ललिबहादुरलाई भने – तपाईंले बिना हिंसा धनकुटा कब्जा गर्नु, म जनसेनाको एक टुकडी दिएर पठाउँछु । त्यसपछि उनी धनकुटातिर लागे, खबर पनि सेना र बडाहाकिमलाई पठाए, म काङ्ग्रेस भएर आउँदैछु, आत्मसमर्पण गर भनेर । त्यसबेला वडाहाकिमको भारतीय ज्वाइँलगायत अन्य नातेदारहरू करीव २२÷२३ जना धनकुटा दरबारमा आएका रहेछन् । फेरि विराटनगरको बडाहाकिमको छोरा, नातेदारहरू लगायत पाहुनाहरू पनि मरेको घटना पनि ताजै थियो । आफूलगायत पाहुनाहरू सबै मारिने छन् भन्ने डरका कारणले बडाहाकिमले अत्मसमर्पण ग¥यो । त्यसैले काङ्ग्रेसले विना हिंसा धनकुटा कब्जा ग¥यो ।

त्यसको लगतै धनकुटाको दरबारमा जिबी याक्थुम्बालाई भित्र्याइयो । भोलिपल्ट टुँडीखेलमा आमसभा भयो । त्यही आमसभामा अन्तरिम सामयिक सरकारको घोषणा जिबी याक्थुम्बाले गर्नुभयो । त्यसको प्रमुखमा ललितवहादुर तुम्बाहाम्फे घोषित हुनुभयो । काजीमान कन्दङवा र म तेरथुम र ताप्लेजुङमै थियौँ । तर हाम्रो नाम १२ जनाभित्र राखिएको थियो । यसरी हामी नेपालको जनक्रान्तिको क्रममा प्रथम जनसरकारको मन्त्रीमण्डलमा सामेल भयौँ ।

मन्त्री हुँदाको अनुभव कस्तो छ ? 
–बहुत आश्चर्य लाग्दो छ, त्यो जीवनको रोमाञ्चक क्षण थियो । धनकुटा दरवार विशाल थियो । त्यही दरबारभित्र मन्त्रालयहरू चलाएका थियौँ । स्टापहरू थिए । छापसाप काट्ने काम हुन्थ्यो । धनकुटा बजारमा तलमाथि हिँड्दा सडकका दुबैछेउबाट सलोट मार्थे, जनताहरू । त्यो सरकार स्वतन्त्र सरकार थियो । नोट जारी गर्ने तयारी भैरहेको थियो । त्यही समयमा केन्द्रीय सत्ता परिवर्तन भयो । समयपछि फेरि जिबी याक्थुम्बा आउनुभयो र केन्द्रीय सत्ता कब्जा भएकाले हाम्रो सरकार विघटन गर्नु पर्ने सल्लाह दिनुभयो । अनि त्यो सरकार विघटित भयो ।

तपाईं जागिरे पनि हुनुभयो । कहाँको नागरिक सरकारको मन्त्री कहाँको जागिरे व्यक्ति ? यो बेमेल भएन र ? 
–त्यसवेलाका पार्टीका साथीहरू विशेष गरी प्रेमराज आङदेम्बेको अनुरोध अनि हातमुख जोर्ने समस्याले जागीर खनुप¥यो । तर मभित्रको स्वाभिमानले पोलिरहयो, सिंहदरवारभित्र जागिर खाए पनि । त्यसैले मैले पेनसन पाके पनि पेनसन नखाने, कर्मचारीको विल्ला नभिर्ने निर्णय गरेर म जागिरबाट वाहिरिएँ ।

नेपाली काङ्ग्रेसले तपाईंजस्तो इतिहास बोकेको व्यक्तिलाई उपेक्षा गरे जस्तो लाग्दैन ? पहिला र अहिलेको काङ्ग्रेसमा के भिन्नता छ ? 
– बिपी ज्यादै दूरदर्शि, प्र्रभावशाली र उदार नेता थिए र उनीसँग मेरो सम्बन्ध राम्रो थियो । मेरो चिनजान मातृकासँग पनि त्यतिकै राम्रो थियो । अहिले गिरिजामा ती कुरा पाइदैनन् । पछि काङ्ग्रेस पार्टी नेताहरूको कारणले बाहुनवादी, परिवारवादी बन्दै गयो । जनजातिहरू उपेक्षित हुँदै गए । म त आफ्नो जातिप्रति मरिमेट्ने मान्छे । जेको लागि काङ्ग्रेसमा लागेँ त्यो त्यहाँ नपाएपछि मैले त्यो पार्टी छोडेँ । काङ्ग्रेसले मलाई होइन वास्तविक देश अथवा जानजातिहरू र उनीहरूको समस्यालाई उपेक्षा र तिरस्कार गरेको मैले पाएको छु । यसले काङ्ग्रेसलाई नै घाटा पार्छ । मेरो यही ठहरले गर्दा बहुदलपछि जनमुक्ति पार्टीमा लागेँ र राष्ट्रिय परिषद सदस्य पनि छु ।

जनजाति पुस्तक पत्रपत्रिकाको पसल कसरी सुरु गर्नुभयो ? 
–म विद्यार्थी हुँदादेखि नै जनजातिका अधिकार, भाषा, साहित्यबारेमा चासो राख्ने व्यक्ति थिएँ । धरानमा पढ्दाखेरी मेरा साथीभाइ बाहुन क्षेत्रीमात्र थिए । तर उनीहरूले मलाई जहिले पनि भन्ने गर्थे – तिमी लिम्बूहरूको मात्र वकालत गर्छौ तिमी लम्बूवादी छौ । म स्वतः जातिय प्रेम र जातिय स्वभिमान राख्ने स्वभाव थियो । यो प्रेरणा मैले ललितबहादुर तुम्बाहाम्फेबाट पाएको हँु र मेरो विशेषता पनि यही हो । त्यसले पछि गएर जनजातिय साहित्यको प्रवद्र्धन गर्ने निर्णय गरेँ र यतातिर लागेँ । यसवाट किरातलगायत अन्य जनजातिय सहित्यको सेवा र मेवा दुवै मिल्ने विचार गरी यो व्यवसाय अपनाएँ ।

सुरुमा मैले पसल खोल्दा र वर्तमान अवस्थामा व्यापक भिन्नता छ । जनजातिहरू अहिले आफ्नो भाषा, संस्कृति, इतिहासबारेमा धेरै सचेत छन् र भाषा साहित्यको विकास र संरक्षणमा व्यापक रूपले लागेका छन् । दिनानुदिन नयाँनयाँ जनजातिय पत्रपत्रिका र पुस्तकहरू प्रकाशित भैरहेका छन् । किन्ने र पढ्ने प्रवृति पनि निक्कै बढेको छ ।

पुरानो पुस्ताका लिम्बू साहित्यकारहरू कोकोसँग तपाईको सङ्गत थियो ? 
–लिम्बू साहित्यकारहरूमा प्रेमबहादुर माबुहाङ, जिबी याक्थुम्बा, रणधीर सुब्बा, इमानसिह चेम्जोङ अनि खस नेपाली साहित्यकारहरूमा वालकृष्ण सम, लेखनाथ पौडेल, शिद्धिचरण श्रेष्ठ, धमभक्त यमी, ताना शर्मा, बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल लगायतका लिम्बू र नेपाली साहित्यकार हरूसँग मेरो राम्रो संगत थियो ।

त्यसमा पनि इमानसिंहसँग काठमाडौँ वस्दा धेरै उठवस भयो । उहाँबाट धेरै कुरा सिक्ने अवसर पनि पाएँ । किरात साहित्यमा सबैभन्दा बढी चासो इमानसिंहमा थियो ।

उहाँ युमाका भक्त हुनुहुन्थ्यो । जव उहाँलाई केही चिन्ता हुन्थ्यो, कुनै किसिमको अपसोस हुन्थ्यो तव उहाँ बसेर युमाको उपासना गर्न थालिहाल्नु हुन्थ्यो । धार्मिक पो हुनुहुन्थ्यो इमानसिंह त !

उहाँसँग खुलमखुल्ला कुराकानी हुन्थ्यो । म उहाँलाई गुरु भन्थेँ । होइन गुरु, तपाईलाई त क्रिस्चियन पनि भन्दो रहेछन् नि त मलाई प्रष्ट भन्नोस् न हाउ भन्ने प्रश्न राखे एक दिन । उहाँले – “मेरो बाबु क्रिस्चियन, तर कसरी भने कलकत्तामा पढ्दाखेरी सारो विमारी हुनुभएछ, विमारी हु“दा त्यहाँ वंगाली साथीहरूसँग सहयोग माग्नु भएछ, विद्यार्थी जीवनमा । उहाँका पढ्ने साथीहरू क्रिस्चियनमा लागेको थिए । आपद पर्दा क्रिस्चियन भएर मेट्रिक पास गरेर आउनु भएछ । पछि आएर मेरो बुबा इतिहासकार पनि हुनुहुन्थ्यो । बाध्य भएर त्रिश्चियनमा लागेको थियो । तिमीहरू क्रिस्चियनमा नलाग्नू है । इतिहास खोज्नु, पहिला किरातहरू सभ्य थिए । धरान विजयपुरमा किरात राजाहरूको दरवार थियो । त्यहाँ हात्तीसार छ । त्यहाँ किरातहरू हात्ती पाल्थे र इतिहास खोज । तिमीले अरु होइन पहिला किरात इतिहास खोज र क्रिस्चियन नहुनु भन्ने बाबुको आदेश थियो मलाई ।” भनेर इमानसिंहले सुनाउनुभयो । त्यसैले म क्रिस्चियन बाबुको छोरा हुँ तर आफू क्रिस्चियन होइन भन्नुभयो । मत युमाको भक्त हुँ युमालाई मान्छु भन्नुहुन्थ्यो र जहिले भेट्दा पनि युमाकै कुरा गर्नुहुन्थ्यो ।

अरु केही भन्न चाहानुहुन्छ कि ?
–बैरागी काइलाले एकजना अङ्ग्रेज विद्वान्को भनाइ सुनाएका थिए । त्यो के भने नेपालमा अत्यन्त प्राचीन, अत्यन्त धनी र अत्यन्त सुन्दर एउटा भाषा मर्दैजादैं छ, त्यो लिम्बू भाषा हो, त्यो बचाउनु पर्छ भनेका थिए रे, ती विद्वान्ले । इमानसिंह पनि लिम्बू भाषाको बारेमा त्यसै भन्नुहुन्थ्यो । म यो भनाइसँग सहमत छु । त्यसले गर्दा हाम्रो समाजलाई यही मुन्धुम साहित्यबाट अगाडि बढाउनुपर्छ । यही साहित्यको आधारमा राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, वैज्ञानिक सबै कुरा मुन्धुममा खोज्नुपर्छ, अनुसुन्धान गर्नुपर्छ, विश्लेषण गर्नुपर्छ र आलेखन गर्नुपर्छ । यही कुरामा हाम्रो जाति समाजको विकास हुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।

तान्छोप्पा, वर्ष ८, अंक ६ विहिवार, ५ असार २०६०  (19 June 2003) ।

Friday, May 29, 2020

साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ – धनहाङ सुब्बा

साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ

– धनहाङ सुब्बा, कथाकार



कथाकार धनहाङ सुब्बा, कलाकार धनहाङ सुब्बा, मलायान लाहुरे धनहाङ सुब्बा, प्रशासकीय अधिकृत धनहाङ सुब्बा, समाजसेबी धनहाङ सुब्बा, धेरै अनुहारयुक्त धनहाङ सुब्बा । यी सबै परिचयभन्दा हँसिलो, फुर्तिलो, सबैका साथी धनहाङ सुब्बा सर्वप्रिय धनहाङ सुब्बा हुन् । १९३५ मा दार्जिलिङको छोटा पूर्बोङ चिया कमानमा जन्मिएका धनहाङ सुब्बाको स्वभावमा दार्जिलिङको प्राकृतिक सौन्दर्यको प्रतिविम्ब स्पष्टतः देख्न सकिन्छ । पुख्र्यौली थलो ताप्लेजुङ भए पनि जन्म थलो दार्जिलिङ भएका धनहाङ धनकुटाको डाँडागाउँ र दार्जिलिङको घुमसम्म आजतक जीवनको तान लाइरहेका छन् । लाहुरे भएर मलाया, सिङ्गापुर, हङकङ, बोर्नियो, सारावक, ब्रुनाई, मकाउ, अमेरिका लाहुरे भएर घुम्दा अनि यसभन्दा बढी बेलायती सहयोगबाट परिचालित कोशी पहाडी ग्रामीण क्षेत्र विकास परियोजनामा प्रशासकीय अधिकृतको रूपमा काम गर्दा पूर्वाञ्चलको १६ जिल्ला, मध्यामाञ्चलका १९ जिल्ला र पश्चि, मध्यपश्चिम र सुदुर पश्चिम घुम्दाका रोचक प्रसङ्गहरू दार्जिलिङे बोल्यशैलीमा उनी एक स्वासमा भनिसिध्याउँछन् । "आफू त माता हर्कमाया खापुङ र पिता रत्नधोज मुदेनछङ सावाँको कान्छो छोरा परियो हो" भन्ने धनहाङ सुब्बा धनभन्दा विद्यासँग रमाउन आनन्द मान्नु हुन्छ । र त उहाँले ‘हसिमा’ र ‘सलामत जलान’जस्ता निबन्ध एवम् कथाहरू तपाईं हाम्रोसामु प्रस्तुत गरेका छन् उनको अनुपम उपहारको रूपमा । तर बीचमा ४५ वर्षसम्म कलमसँगको साइनो चटक्कै छुट्टिएकोमा आज उनी साह्रै पश्चताप गर्दछन् र भन्छन्, "के भयो, के भयो ? ४५ वर्षसम्म म कसरी सुतेर रहेँ ?" तर अब त्यो रचनाकालको शून्यता पूरा गर्ने अटोटका साथ भन्छन्, "तर अब म कछुवाको होइन खरायोको गतिमा अगाडि बढिरहेको छु ।" जनरल सर्भिस मेडल, दियालो पुरस्कारलगायतका आधा दर्जन बढी पुरस्कारको शान बोकेर यस पटक धनहाङ सुब्बा काठमाडौँमा सिर्जनशील अराजकताको साहित्यिक पाहुना हुन आएका थिए अनि ‘एउटा कथा’ चलचित्रका कलाकार बन्न पनि भ्याएका थिए । किरात याक्थुङ चुम्लुङका आजीवन सदस्यसमेत रहेका धनहाङ सुब्बासँग काठमाडौँ बसाइको यही मेलोमेसोको क्रममा ललितपुरको उहाँको अस्थाइ निवासमा पुगेर अमर तुम्याहाङ र इमाहाङ सेत्लिङले उहाँसँग गरेको अन्तरङ्ग कुराकानीको सार सङ्क्षेप ।

तपाईंका कथाहरूको विषयवस्तु खासगरी के हुने गर्दछ ?
मेरो कथाको विषयवस्तु मेरो विगतका अनुभवहरू नै हुन् । मैले घुमेका पूर्वी एसिया, दक्षिण एसिया र युरोपका मुलुकहरूमा डुल्दा घुम्दाका देखेका विविध कुराहरू, भोगेका सुखदुःखहरू नै मेरा कथाका विषय वस्तुहरू हुन् । योबाहेक तत्कालीन मेरा पत्रमित्रहरूले पत्रमार्फत् पठटाएका जानकारीमूलक घटनाहरू  मलाई कथा लेख्नमा सहयोग पु¥याएका छन् । मेरो कथाहरू सैनिक जीवनसँग बढी नजिक छन् । म लाहुरे भएर हङकङबाट ब्रुनाई गए्ँ, ब्रुनाईबाट सिङ्गापुर आएँ । तत्कालीन मलाया अर्थात् अहिलेको मलेसिया पुगेँ । मलाई मलाया शब्दले सानो छँदा ज्यादै प्रभाव पारेको थियो । त्यसैले म मलेसियाको जनजीवन, रहनसहन, संस्कृति आदिले ज्यादै प्रभावित भएँ । मेरा कथाहरूमा पनि यिनै कुरा बढी मात्रामा भएका हुन् कि जस्तो लाग्छ ।

'सलामत जलान' मलेसियाको एउटी केटीको बारेमा छ । 'हसिमा' पनि यस्तै लेख हो । यी लेखहरू निकै पुराना हुन् । म १८/१९ वर्षको छँदा लेखिएका हुन् । भन्छन् नि बैंशमा स्याल पनि घोर्ले हुन्छ । म घोर्ले छँदै रचिएका हुन् ती रचनाहरू ।

त्यसो भए ‘हसिमा’ र ‘सलामत जलान’का पात्रहरू तपाईंका पूर्व प्रेमीहरू हुन् ?
आब्बुई, त्यसो त होइन । हुन त मान्छेको मन हो, कुनै पट्ठो युवकको मन कुनै जवान युवतीमाथि र कुनै युवतीको मन कुनै  युवकमाथि आकर्षित नहुने त कुरै भएन । तर भावनात्मक आकर्षण नै प्रेम कदापि हैन । यद्यपि उनीहरूको व्यवहार, शीलस्वभावले म सारै भ्रवावित भएँ । यतिसम्म कि नलेखी मेरो मनै मानेन ।

अनि प्रेम गर्नु भनेको आलिङ्गन, यौन तृप्ति मात्र होइन नि ! उनीहरू मेरा धेरै पत्रमित्रहरूमध्येका पत्रमित्रहरू पनि थिए । नेपालबाट श्यामप्रसाद शर्मा, स्वास्ती मान्छेको सम्पादिका शशिकला शर्मासँग पनि मेरो पत्रमित्रता थियो । अनि मैले कथा लेख्दा नेपाल र भारतको रहनहसहन, धर्म, संस्कृतिको बारेमा पनि कथाहरू लेखेँ । त्यति मात्र होइन, मैले मेरै पल्टने साथीहरूको जीवनमा आधारित भएर पनि कथा लेखेँ  । उदाहरणको रूपमा ‘रहर पुग्यो’ भन्ने कथा पश्चिमबाट आएको हर्कबहादुर भन्ने साथीको चिन्तन र जीवनमा आधारित कथा हो । ऊ पल्टन आउनुमा ठूलो पदमा पुग्नु, नाम कमाउनु, धेरै सम्मति कमाउन वा अरु केही गर्न आएको थिएनन् । उनी त फगत लाहुरे हुन आएका थिए ।

त्योभन्दा बाहेक उनको केही गर्ने प्रयत्न पनि गरेनन् र उनी कहिल्यै केहीमा सफल पनि भएनन् । टीबी लागेर उनी सिपाहीको सिपाही मेडिकल पेन्सन आए । उनी भन्थे, "नम्बरी, म त लाहुरे भएँ । मेरो जहानलाई लाहुरेनी भन्छन्, छोरालाई लाहुरेको छोरा भन्छन्, छोरीलाई लाहुरेको छोरी भन्छन् । मलाई यति भए पुग्यो । नम्बरी, तपाईं लप्टन कप्टन भएर आउनु है ।" त्यो मान्छे गजबको थियो । पढाइमा कहिल्यै पास हुन भएन । म क्लर्कमा थिएँ । ऊ पास होस् भनेर जाँचअघि प्रश्नहरू सुटुक्क ल्याएर दिन्थेँ । तर अहँ ऊ कहिल्यै पडाइमा पास भएन । केही मान्छे हर्कबहादुर जस्तै उद्देश्यहीन र सन्तोकी पनि हुँदारहेछन् ।

पछि म सिभिल लाइफमा धुन्चे र हेटौडातिर पनि नोकरी गरेँ । त्यहाँको आञ्चलिकता पनि मेरो रचनाहरूमा छन् ।
त्यसो भए तपाईंको कथाहरू कथिएका कथा नभएर यथार्थ घटनाहरू हुन् ? 
हो, मेरा कथाहरू कल्पनाको आधारमा कथिएका छैन । धेरै जसो कथाहरू यथार्थ घटनामा आधारित छन् । ती घटनाहरूको साँची म आफैं हुँ ।

त्यसो भए तपाईं आफूलाई यथार्थवादी कथाकार भन्नुहुन्छ ? 
"कतिपय समीक्षकहरूले कथाका पात्र लेखक स्वयम् हुन कि ?" पनि भनेका छन् । हो, मेरा कथाहरू बढी यथार्थ हुन् । योबाहेक केही कथाहरू संस्मरण प्रधान पनि छन् । तर फगत कल्पनामा लेखिएको कथा चाहिँ एउटा पनि छैन । अब आयो म यथार्थवादी कथाकार हुँ कि होइन ? यसबारेमा म आफैंलाई त के भन्नु ? यो त अरूले नै भन्नु पर्ने कुरो हो । होइन र ?

तपाईं लामो विश्रामपछि पुनः साहित्य रचनामा लागिरहनु भएको छ । यति लामो शून्यता के कारणले भयो ?
मैले सन् १९५९ मा ‘हसिमा’ प्रकाशित गरेँ । त्यसपछि सैनिक जीवन त छँदै थियो । म पछि लामो समयसम्म प्रोजेक्टमा काम गरेँ । तर लेखनको दृष्टिले त्यो शून्यता एक युगको शून्यता हो । ‘सलामत जलान’ २००४ मा मात्र प्रकाशित गरेँ । यो बीचमा म ४५ वर्ष सुतेर रहेछु, कलम थन्क्याएर बसेछु । किन भन्ने प्रश्नको जवाफ मसँग पनि छैन । मलाई कसले अल्छी बनायो ? केले निश्क्रिय तुल्यायो ? थाहा नै छैन । अहिले यसबारेमा सम्झिन्छु र आफैं छक्कै पर्छु । पछि आएर लेख्न त थालेँ तर ग्याप भएपछि ट्रयाकमा आउन नै गाह्रो हुँदोरहेछ । जे होस् अहिले आएर खरायोको गतिमा दौडिरहेको छु । म ४५ वर्षे शून्यताप्रति मलाई पश्चताप छ ।

‘सलामत जलान’ २००१ देखि २००४ सम्ममा पूर्व प्रकाशित र नयाँ कथाहरू सङ्कलन गरी प्रकाशनमा ल्याएको हुँ ।

अहिले कुन कथा लेखिरहनु भएको छ ? 
अहिले म कथा लेख्ने सुरमा छुइन । अहिले त म लिम्बू लोक कथाहरूको सङकलनमा पो लागिरहेको छु । मैले १८ भन्दा बढी लिम्बू लोक कथाहरूको नयाँ शिर्षकहरू पाएको छु । ती लोक कथाहरू कति पान्थरका छन्, कति छथरका छन् त कति तेहथुम र ताप्लेजुङका छन् । ती लोक कथाहरूलाई सम्बन्धित ठाउँमा गएर खोजेर प्रमाणित गरेर सङ्कलन एवम् प्रकाशन गर्ने योजनाका साथ काममा लागिपरेको छु । यो काम पूरा गर्न मलाई लामो समय लाग्ने छ । अहिलेको अवस्था पनि राम्रो छैन । त्यसैले गर्दा स्वतन्त्र रूपले घुमफिर गर्न पनि सकिन्न । तर पनि यी लोक कथाहरूलाई सङ्कलन गर्ने दृढ सङ्कल्पका साथ अगाडि बढिरहेको छु ।

अहिले नवराज वर्तमानले सङ्कलन गरेका लोक कथाहरू, शिवकुमार श्रेष्ठले सङ्कलन गरेका लोक कथाहरू, इमानसिंह चेम्जोङका लोक कथाहरू पनि सङ्कलन गरी म अध्ययन गरी रहेको छु । लोक कथाहरूमा पनि लिम्बू जातिसँग सम्बन्धित पौराणिक कथाहरू, मुन्धुमसँग सम्बन्धित कथाहरू, ठाउँहरूसँग सम्बन्धित लोक कथाहरूमाथि मेरो बढी चासो छ जस्तै छथरको साम्लो लुङ, तेरथुमको छाते ढुङ्गा, ताप्लेजुङको पावरुङ मावरुङ फक्कु आदि ।

यी लोक कथाहरू भावी सन्ततिहरूका लागि हो । ती लोक कथाहरू क्रमशः विर्सिँदै जाँदैछन् । दार्जिलिङतिरका बच्चाहरू लिम्बू भाषा जान्दैनन् । ती लोक कथाहरू त झन उनीहरूले सुनेकै छैनन् । त्यसैले उनीहरूका लागि ती अन्जान सन्तानहरूको लागि यी लोक कथाहरू सङ्कलन गर्न लागेको हुँ । यसका साथै ती लोक कथाहरूले हाम्रो समाजको विविध पक्षहरूमाथि पनि अध्ययन गर्न मद्दत गर्दछ।

तपाईंले सङ्कलन गर्न लाग्नुभएको लोक कथाहरू विलकुलै नयाँ हुन् त ? 
मैले सङ्कलन गर्ने लोक कथाहरू शिवकुमार श्रेष्ठ, नवराज वर्तमान, इमानसिंह चेम्जोङले नदेखेको, नसुनेको, नलेखेको र नयाँ हुनु नै प¥यो । यसको अर्थ लोक कथाहरू नै नयाँ बनाउने भन्ने होइन । यसको आसय सङ्कलित नभएका कथाहरू, नछापिएका कथाहरू मैले सङ्कलन गर्ने भन्ने हो । फेरि शिवकुमार, इमानसिंह र नवराजहरूले सङ्कलन गरेका लोक कथाहरू मैले सङ्कलन गरेर मेरो सङ्कलनका कथाहरूले त पहिचान पाउँदैनन् । पहिचान पाउनको लागि नयाँ हुनुप¥यो, फरक हुनुप¥यो।

मैले करिव १८ वटा शीर्षकहरू पाइसकेको छु । त्यसमध्ये ६/७ वटा लोक कथाहरू सङ्कलन गरी लेखिसकेको छु । तर पनि पुस्तकाकारमा आउन निकै समय लाग्छ नै ।

साहित्यमा कसरी लाग्नुभयो ? 
म स्कूल पढ्दा धेरै साहित्यिक पत्रिकाहरू पढ्थेँ । 'साहित्य', 'स्वास्नी मान्छे' पढ्थेँ । स्वास्नी मान्छे पत्रिका बेलायतमा छापिने वुमन पत्रिका जतिकै स्तरीय छ भनी शशिकलालाई पत्र लेखेको थिएँ । हुन पनि त्यो पत्रिका समयअनुसार स्तरीय नै थियो । त्यो मेरो पत्र सम्बन्धित पत्रिकामा छापिएको पनि थियो । त्यो वेला साहित्य र स्वास्नी मान्छे कमल पोखरीको साहित्य सदन ठेगानामा प्रकाशित हुन्थ्यो । ती पत्रिकाहरू बाइन्ड गरी राखेको छु । 'भारती', 'हाम्रो कथा', लैनसिंह वाङदेलको 'प्रभात', 'साथी', 'गोर्खा', कासीबाट 'उदय' जस्ता पत्रिकाहरू छापिने गर्थे । यही पत्रिकाहरूमा छापिएका कृतिहरूले नै मलाई लेख्न अभिप्ररित गरे । उदय पत्रिकामा महाकवि देवकोटा, वालकृष्ण सम, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्टहरूको रचनाहरू छापिन्थे।

त्यो समयमा दार्जिलिङ लेख्नको लागि मलिलो ठाउँ थियो । पारसमणि प्रधान, रामकृष्ण शर्मा, शिवकुमार राई, इन्द्रबहादुर राई, रुपनारायण सिंहलगायत थुप्रै राम्रा कवि तथा कथाकारहरू थिए । उनीहरू कै अभिप्रेरणाले पनि लेखियो ।

कविता पनि लेख्नुभयो कि ? 
कविता छन्दमा लेन्नुपर्छ भन्थे त्यो वेलाका भारतीका सम्पादक महोदय पारशमणि प्रधान । उनी भन्थे, "सिकारु कविले जहिल्यै पनि छन्दमा लेख्नु पर्छ ।" उनले समस्या पूति शीर्षक दिएर चार हरफ कविता छन्दमा लेख्न लगाउन पत्रिकामा सूचना प्रकाशित गर्थे । ताटक, मालिनी, शार्दुलविकृडित या अन्य जुनसुकै छन्दमा लेखे पनि हुन्छ तर झ्याउरे छन्दमा नलेख्नु भन्ने पारशमणि प्रधानको सल्लाह थियो । उनले एक पटक ‘कल्पना’ भन्ने विषय दिएको थियो र मैले १६, १२ को मात्रिक छन्दमा कविता लेखेँ । रातराजभरि प्रयास गरेर लेखेँ । त्यसरी लेखी पठाएको कविता छापियो पनि । तर त्यसपछि म कविता लेख्न सक्दिन रहेछु भन्ने लाग्यो र मैले कविता लेख्न छोडिदिएँ ।

तर पछि त जीवन नाम्दुङलगायत अन्य साथीहरूले उनीहरूको कविता सङ्ग्रह दिए । अनि यसो हेरेर सोधेँ, "भाइ हो, यो कुन छन्दमा लेखिएको हो ?" उनीहरूले भने, "दाइ, अचेल छन्दसन्द छैन ।" अनि पो म त खङ्ग्रङगै भएँ । भावना त पहिला पनि आउँथ्यो नि कविता लेख्नलाई, छन्द पो आउँदैनथ्यो त । अनि त मैले पनि छिटफुट कविता लेख्न थालेँ । मैले 'दार्जिलिङको पर्यटकलाई' र 'म भुल्ने थिएँ' लगायतका कविताहरू लेखेर दार्जिलिङ र सिक्किमका पत्रिकाहरूमा प्रकाशित गराएको छु । तर अब म अत्यन्तै ढिला भइसकेको छ ।

लाहुरमा साहित्यिक सङ्गत कस्तो थियो? 
राधिका राया, लक्ष्मीनाथ वस्नेत ‘पागल’ एबी गहतराज, मोहन थापालगायतका राम्रा साहित्यकारहरू मलायमा थिए । पर्वते पत्रिका पहिला रोमनमा निस्किन्थ्यिो । पछि त्यहाँ पनि देवनागरीमा छाप्न थाले । अनि क्रमशः मलायामा पनि साहित्य साधना र प्रकाशनको वातावरण बन्दै गयो ।

आधुनिक या उत्तरआधुनिक साहित्य भन्नाले के हो ? बताइदिनुहोस् न । 
साहित्य आधुनिक, उत्तरआधुनिक वा नयाँ पुरानो भन्ने कुरै भएन । साहित्य साहित्य हो । साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ । मोपासाको कथा ‘हिराको हार’, कहिल्यै पुरानो हुँदैन र भएन, जति पटक पढे पनि नयाँ नै लाग्छ । जर्ज वर्नाडसा कथाहरू, अस्कार वाइल्डका ‘ह्याप्पी प्रिन्स’, प्रेम चन्दको ‘बढी घरकी बेटी’ जस्ता कथाहरू सधै नयाँ लाग्छन् ।

आफ्नो साहित्यिक रचनाहरूबारेमा तपाईको के भनाइ छ ? 
साहित्य रचना गरिसकेपछि रचनाकारको हुँदैन, पाठकको सम्पत्ति  हुन्छ त्यो । त्यसको मूल्याङ्कन गर्ने, त्यसबारेमा केही भन्ने अधिकार त पाठकको हो, लेखकको होइन ।

कियाचुको आजीवन सदस्य पनि हुनुहुँदो रहेछ । लिम्बू साहित्य कस्तो पाउनुभएको छ ? 
म आफैले प्रत्यक्ष नापजोख त गरेको छुइन । तर मगर, राई, तामाङ साथीहरूको भनाइअनुसार लिम्बू साहित्यको अवस्था राम्रो छ । म पनि तान्छोप्पा, लुङा, नुमाफुङ, सेमि फक्ताङलुङ, तङसिङ पत्रिकाहरू हेर्छु । यी पत्रिकाहरू हेर्दा लिम्बू भाषा साहित्य निकै राम्ररी पस्टाएको पाएको छु । यो देखेर म ज्यादै हर्षित पनि छु । नव लेखक लेखिकाहरूलाई वधाई पनि दिन्छु ।

तपाईंको भोग्नुभएको कुनै अनुकरणीय घटना सुनाउनु होस् न । 
म सैनिकबाट अवकास लिएपछि बेलायती सहयोगमा चलेको कोशी पहाडी ग्रामीण क्षेत्र विकास परियोजनामा काम गर्दाको एउटा घटना छ । यो समय पालनासम्बन्धी घटना भन्दा हुन्छ होला अनि सौहार्दता वा कुनै पनि घटनालाई स्वभाविक रूपमा लिने बानी भन्दा पनि हुन्छ होला । एकदिनको कुरा हो । विराटनगरमा हाम्रो संस्थाको कार्यक्रम थियो । त्यहाँ तेरथुम, भोजपुर, सङ्खुवासभा लगायतका जेटिएहरूको भेला थियो र त्यहाँ हाम्रो संस्थाको सल्लाहकार जोनले लेक्चर दिने कार्यक्रम थियो । हाम्रो समय विहान ७ बजे  कार्यालयबाट हिँडिसक्नु पर्ने थियो । बिहान मेनेजर जोन उसको श्रीमती र म तयार भयौँ तर टोनी त आइपुगेन । ७ बज्यो । ऊ अझै आएन । जोनले ड्राइभरलाई भन्यो, "गाडी चलाऊ ।" गाडी अगाडि बढ्यो । गाडी भेडेटार, साँगुरीभञ्ज्याङ हुँदै अगाडि बढ्यो । म त छक्क परेँ। किनभने कार्यक्रममा सहभागीलाई पढाउने बताउने मान्छे नै छुट्यो । जोन वा मेनेजरले त त्यो कुरा जान्दैन । अब सहभागीहरूलाई कसरी पढाउने होला भनेर म छक्क परिरहेको थिए । उसले एकछिन पर्खौं पनि भनेन ।

हामी धरानको भानुचोकको गेटनिर पुगेका मात्र के थियौँ टोनी एउटा बाइक भाडामा लिएर हतारहतार आइपुगेछ, धुलोले मान्छे पनि नचिनिने भएर । मलाई लागिरहेको थियो, यी  दुवैजना एकआपसमा रिसाइरहेका होलान् । तर उनीहरू भेट हुने वितिकै "हेल्लो जोन ।" "हेल्लो टोनी ।" भनेर हाँसीखुसी सामान्य व्यवहार गरेको देखेर म छक्क परेँ ।

यसरी गोरेहरू समयलाई अति नै ख्याल गर्दारहेछन अनि त्यसरी ख्याल नगर्दा हुने त्यस्तो व्यवहारलाई सामान्य रूपमा लिँदा रहेछन् । हामी नेपाली भए "एकछिन पनि पर्खिन सक्दैनौ" भनेर कति रिसाइन्थ्यो होला, या झगडा गथ्यौँ होला । यो कुरा उनीहरूमा पाइन । ती गोरेहरू समय पालनसम्बन्धी बानी हामीले सिक्यौ भने राम्रो हुन्छ । राम्रो कुरा त जसको भए पनि त फाइदा नै गर्छ नि होइन र ?

तान्छोप्पा, वर्ष १०, अङ्क ९, विहिवार, ९ भदौ २०६२ ९द्दछ ब्गन द्दण्ण्छ० ।

Wednesday, May 27, 2020

जनजाति, मधेसी, दलित र महिलाबाट ५१ % प्रतिनिधि संविधानसभामा सिधै ल्याइनुपर्छ - भक्तराज कन्दङ्वा

जनजाति, मधेसी, दलित र महिलाबाट ५१ ५ प्रतिनिधि संविधानसभामा सिधै ल्याइनुपर्छ

- भक्तराज कन्दङ्वा 
संयोजक, दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति किरात राष्ट्रिय मुक्ति मोर्चा, नेपाल

"पहिले म कम्युनिस्ट भएर काम गर्दा जातीय कुरो ग¥यो कि साम्प्रादायिक भन्थे ।" यसरी नै पस्किए इतिहासको तीतो स्वाद किरात राष्ट्रिय मुक्ति मोर्चाका संयोजक भक्तराज कन्दङ्वाले । अहिलेको अन्तरिम शान्तिपूर्ण राजनीतिक वातावरणमा राजनीतिक भेटघाटमा व्यस्त रहेको बताउने उनी राजधानी, ललितपुरमा आफन्तको घरस्थित भेटिएका थिए । आमा असारमाया लिम्बू र बुबा कालिस्वर लिम्बूका जेठा छोराका रूपमा वि.सं.२००१ सालमा लिम्बूवान आठराई थुममा जन्मेका कन्दङ्वा माओवादी केन्द्रीय सल्लाहाकार समितिका सदस्यसमेत हुन् । माओवादी भाषामा भन्ने हो बी.ए.बी.एल्.सम्मको ‘बुर्जुवा शिक्षा’ हासिल गरेका उनी कुनैबेला स्वास्थ्य मन्त्रालयका अस्थायी जागिरे थिए । राजनीतिक जीवनमा धेरै उत्तारचढाव पार गरेका उनी कसरी माओवादी जनयुद्धसँग नजिकिए त ? प्रश्नमा बुढ्यौलीले छपक्कै छोपेर होला, बेलाबेला "बुढ्यौली बक्बक" प्रस्तुत गर्दै जातीय मुक्तिका लागि वि.सं.२०५५/५६ सालतिर सशस्त्र जनयुद्धमा सामेल भएको बताए । 


उनी आफ्ना राजनीति गुरुका रूपमा आठराईका पुराना वामपन्थी सी.एम्.कन्दङ्वा र सूर्य कन्दङ्वालाई मान्दा रहेछन् । जातीय चेतना भने काजीमान कन्दङ्वाबाट पाएको बताए । उनको अनुसार निरङ्कुश पञ्चायतकालमा नेकपा पूर्वकोशीमा  सङ्गठित भएर उनको भूमिगत राजनीतिक जीवन सुरू भयो । उनले वि. सं. २०२८ देखि २०३१ सम्म विराटनगरमा तीन वर्ष जेल यात्रासमेत गरे । ‘वर्गीय मुक्ति’ नै थियो उनको त्यतिखेरको स्वप्न र कम्युनिस्ट पार्टीमा संलग्नताको कारक । तर उनी वि.सं.२०४६ पछि भने केही वर्ष राजनीतिकरूपमा निष्क्रिय रहे । यसको एउटै कारण थियो– पार्टी संसोधनवादको दलदलमा भासियो र निष्कर्ष निकालिहाले– अब वर्गीय मुक्ति सम्भव छैन । 

अगाडि थपे, "तर म चुप लागेर बसिनँ । जातीय पुस्तकहरूको अध्ययन गर्न थालेँ । कसरी जातीय मुक्ति सम्भव छ ?" वर्गीय मुक्तिप्रतिको मोहभङ्गसँगै जातीय मुक्तितिर मोह गाढा हुँदै थियो उनमा । त्यहिबेला माओवादीले २०५१ सालको प्रथम राष्ट्रिय सम्मेलनमा शोषित, उत्पीडित आदिवासी जनजातिको मुक्तिका लागि जातीय स्वशासन र आत्मनिर्णयको अधिकारको प्रस्ताव पारित ग¥यो र जनयुद्ध सुरू भयो । यसले कम्युनिस्ट आन्दोलनप्रतिको उनको निराशालाई धेरै हद पुनर्जिवित गरायो र माओवादीप्रति सहानुभूति पलायो । माओवादीले तान्ने उनको एउटै कुरा थियो– जातीय स्वशासन र आत्मनिर्णयको अधिकार । यसैको फलस्वरूप २०५६ सालतिर धरानमा उनको संयोजकत्वमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको गठन भयो । यसको राजनीतिक लक्ष्य थियो– लिम्बूवान स्वायत्त राज्य । पछि यो मोर्चा माओवादीको जातीय मोर्चाको रूपमा माओवादीमा सामेल भयो । र फेरि उनको भूमिगत राजनीतिक जीवन सुरु भयो । यसले उनको टुटेको राजनीतिक कडीलाई त जोड्यो तर कतिपयले भने– सुब्बाहरूले राजदरबारमा किपटको अधिकार बुझाएझैँ भक्तराजले लिम्बूवानलाई माओवादी हेडक्वाटरमा लगेर बुझायो । हुन पनि वि.सं. २०५८ सालमा तत्कालीन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र खम्बुवान राष्ट्रिय मुक्ति मोर्चालाई मिलाएर माओवादीले किरात राष्ट्रिय मुक्ति मोर्चा बनायो र किरात स्वायत्त प्रदेशको अवधारणा अघि सार्दै गोपाल किरातीको नेतृत्वमा किरात जनसरकारको गठन ग¥यो । र, माओवादीमा लिम्बुवानको सवाल ओझेल पर्दै आयो । यदि मुलुक सङ्घीय संरचनामा गएर पनि लिम्बुवान प्राप्त भएन भने भक्तराजहरूलाई लिम्बू र लिम्बुवानको इतिहासले नधिकार्ला भन्न सकिन्न । 

१० वर्षे जनयुद्ध तथा २०६२/६३ को जनआन्दोलनको बलले मुलुक राजनीतिक सङ्क्रमणको घडीमा गुज्रिरहेको छ । सरकार र माओवादी वार्तामा छन् र समस्याको निकास संविधानसभालाई मानिएको छ । अढाइसय वर्षदेखि एकात्मक राज्यव्यवस्थाद्वारा शोषित उत्पीडित नेपालका आदिवासी लिम्बूहरू पनि अब हुने भनिएको संविधानसभामा आफ्नो सहभागिता, बन्ने नयाँ संविधानमा आफ्ना अधिकारको ग्यारेन्टी तथा राज्य पुनर्संरचनामा आफ्नो थातथलो ‘लिम्बूवान’ हुनुपर्ने आवाज उठाइरहेका छन् । लिम्बूहरूको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङलगायत विभिन्न सङ्घसंस्थाहरू सङ्घीय संरचनामा लिम्बूवान स्वायत्त राज्य हुनु पर्ने आवाज उठाइरहेका छन् । यसमा किरात राष्ट्रिय मुक्ति मोर्चाको धारणा के छ त ? संयोजक कन्दङ्वाले भने– “किरात राष्ट्रिय मुक्ति मोर्चाको लक्ष्य भनेको सम्पूर्ण किराती प्रजातिहरूलाई जाति, राष्ट्र, राज्यमा परिणत गर्नु हो । किरात स्वायत्तता प्राप्त गर्नु हो ।” प्रस्तुत छ, लिम्बूवान स्वायत्ततासँगै विभिन्न विषयमा तान्छोप्पा र उनीसित भएको कुराकानी :

तपाईंहरू अहिले किरात स्वायत्तता, किरात मोर्चा भनिरहनु भएको छ, ‘किरात’ अवधारणा बारे बताइदिनोस्न ।
- किरात एउटा ऐतिहासिक जातिको नाम हो । अहिले यो भावनामा मात्र छ । इतिहासमा पनि किरात जातिहरूले राज्य गरेको पाइन्छ । यो ऐतिहासिक कडी हो । कालान्तरमा आएर राई र लिम्बूलाई मात्र किरात भनियो । तर हामीले किरात मोर्चाको भावना उठाएपछि १०/११ वटा जाति किराती हौँ भनेर आइरहेका छन् । किरात एउटा ऐतिहासिक जाति हो भने राई, लिम्बू, थामी, हायू, लेप्चा, मेचे, सुनुवार, याक्खा, लिम्बू, धिमाल, यिनीहरू किराती प्रजाति हुन् ।  ५/७ हजार वर्षको अन्तरालमा यिनीहरूबीचमा भाषा, संस्कृति, लवाइ–खाइमा फरक हुनु स्वभाविकै हो । यी जातिहरूमा पनि अन्तिम समयसम्म ‘इन्ज्वाय’ गर्ने त लिम्बू नै हो । भाषाको रूपमा, लिपिको रूपमा, साहित्यको रूपमा, हरेक रूपमा हेर्दा अरू किराती प्रजातिभन्दा जातिको रूपमा अलिक विकसित भएको जाति पनि लिम्बू नै हो ।

तपाईंले नै भन्नु भयो, किरात जाति अब भावनामा मात्र बाँचेको छ, यो अवस्थामा किरात मोर्चाको आवश्यकता र सान्दर्भिकता कतिको देख्नुहुन्छ ?
- अहिले त २१ औँ शताब्दी हो । सो¥हौँ शताब्दीमा एउटा जातिले आफ्नो साम्राज्य फैलाएजस्तो होइन । जस्तो चीनमा एउटै जातिका ६/७ वटा सम्राट बने । त्यतिखेर सञ्चार तथा यातायातको असुविधाले संसार फराकिलो थियो । २१ औँ शताब्दीमा विश्व एउटा गाउँ बनेको छ । अमेरिकामा घटेको घटना २/४ घण्टामा हामी यहाँ थाहा पाउँछौँ । यो बेला एउटै जातिले मात्र लडेर जातीय मुक्ति मिल्ने सम्भावना म देख्दिनँ । लिम्बूले एक्लै लडेर, गुरुङले एक्लै लडेर, मगरले एक्लै लडेर, राईले एक्लै लडेर मुक्ति सम्भव छैन । अहिलेको विश्व राजनीतिक सन्तुलनमा अमेरिका साम्राज्य– वाद नै छ ‘टप’, विश्वलाई हल्लाउने, उसले जे भन्यो त्यही गर्नु पर्ने । अब यस्तो स्थितिमा कुनै एउटा देशको २/४ लाख जनसङ्ख्या भएको कुनै एउटा जातिले एक्लै लडेर मुक्ति पाउँछ त ? स्थानीय सत्तासँग जुद्धाजुद्धै अमेरिकी साम्राज्यवाद त्यहाँ घुसिहाल्छ । जस्तो अहिले नेपालमा के हुँदैछ, सबैले देखिरहेका छौँ । त्यसैले लिम्बूहरूले मात्र लडेर यो सम्भव हुँदैन जस्तो लाग्छ । किरात मोर्चा बनिनुपर्छ भन्ने पनि यही हो । किराती भावना भएका हामी जो हौँ, जम्मै एक भएर, लडौँ, सबैलाई समेटेर जाऔँ, यतिले मात्र पुग्दैन, यो देशका तमाम आदिवासी जनजाति एक भएर, त्यसको सङ्गठन बनाएर अमेरिकी साम्राज्यवादको विरोधमा जानुपर्छ भन्ने हो । हामी जति जातीय मुक्तिको सफलतातिर जान्छौँ, उति भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद हामीलाई पछि धकेल्न लागि पर्छ भन्ने हामीले जो अनुमान गरेका थियौँ, त्यो ‘जस्ट’ देखिरा’छ ।

जुन स्वायत्तताको कुरा छ । विश्वको अरू जातिको सन्दर्भमा, युरोपियन इतिहासहरू हेर्ने हो भने जङ्गली युगवाट जातिमा विकसित भइसकेर, जातिबाट राष्ट्रमा विकसित भइसकेर, राष्ट्रबाट राज्यमा विकसित भइसकेर स्वायत्त भएको पाइन्छ । सम्राट अलेक्जेन्डरको पालामा  तमाम युनानीहरू एक भएका थिए तर पछि फेरि टुक्रिए । यो एक्काइसौँ शताब्दी, अहिलेको राजनीतिक परिवेशमा सबै एक हुनुपर्छ भन्ने हो । नेपालको त विशिष्ट किसिमको विशेषता छ । यो अन्तर्राष्ट्रिय स्थितिसँग जोडेर कुरो मिल्दैन । किनभने यहाँ त कतिपय जाति, जातिको रूपमै विकसित हुन सकेको छैन । कविला अवस्थामै छन् । जस्तो आफूलाई जो किराती भन्छन्, उनीहरूभित्रै विभाजन छ । किराती प्रजातिभित्र अलिक विकसित भनेको लिम्बू मात्र हो । किरात राष्ट्रिय मुक्ति मोर्चाको लक्ष भनेको सम्पूर्ण किराती प्रजातिहरूलाई जाति, राष्ट्र, राज्यमा परिणत गर्नु हो । किरात स्वायत्तता प्राप्त गर्नु हो ।

किरात स्वायत्तताभित्र लिम्बूहरूले लिम्बूवान स्वायत्तता, खम्बूहरूले खम्बूवान स्वायत्तता पाउँछन् त ?
- किरात स्वायत्तता जो, हामी किरात हौँ भन्नेहरू छन् उनीहरूको भावनामा रहने कुरा हो । जस्तै लिम्बू किराती र मेचे किरातीमा, दुवैको अवस्था मिल्छ त ? मिल्दैन । लिम्बूहरू त मेचेको तुलनामा धेरै अगाडि छन् । त्यसैले लिम्बू र मेचेलाई एउटा स्वायत्तता दिँदा जनसङ्ख्याको आधारमा, अन्य जातीय पहिचानका आधारमा मेचे त पछाडि पर्ने भो । त्यसले गर्दा स्वायत्तता हामीले मेचेलाई दिनु परेन त ? लिम्बूले पाउँदैनन् त ? खम्बूले पाउँदैनन् त ? तपाईं आफैँ भन्नोस् । (हाँसो) । तर एउटै कुरो भोलि संविधानसभा भयो, स्वायत्तता पाइने भो भने हामी किरातीभित्रको यो विविधतालाई कसरी समेट्ने, कति ठूलो कति सानो दिने भन्ने चुनौती छ । जस्तै मेचेहरू झापाको दुईवटा गा.वि.स.मा छन् । तर लिम्बूहरू अन्ठाउन्न सालको जनगणनामा ३ लखा ५९ हजार छन् अहिले त चार (लाख) भन्दा’नि माथि गए होलान् । अब लिम्बूहरूको ‘टेरिटोरी’ कति ? अब हिजोको पृथ्वीनारायण शाहले लेखिदिएको लालमोहरमा जस्तो खोज्न थालियो भने त समाज पछाडि पर्ने भो । मोर्चाले चाहिँ के गर्छ भने समाजलाई अगाडि बढाउने हो । अग्रगमनमा लाने हो । पछाडि धकेल्ने होइन । तर त्यसोभन्दा पृथ्वीनारायण शाहले दे’को लालमोहरको कुरै नगर्ने ? लालमोहरको कुरा पनि गर्ने हो । त्यो इतिहासमा रहन्छ । इतिहासलाई मध्यनजर गरेर समाजलाई कसरी अग्रगमनको दिशामा लाने ? ‘मेन’ कुरो  त्यो हो नि त ।


किरात स्वायत्तताभित्र लिम्बुवान, खम्बुवान या अन्य प्रजातिहरूलाई उपस्वायत्तता दिने हो मोर्चाको धारणा ?
होइन । यसलाई छलफलमा लैजाऔँ न । उपस्वायत्तता हो कि पूर्ण स्वायत्तता हो । कति जनसङ्ख्या भएकोलाई स्वायत्तता पाउने कति जनसङ्ख्या भएकोलाई उपस्वायत्तता पाउने, यो कुरा अगाडि बोलिदिएर भोलि जनताले मानेन भने हामी त ‘फेल’ हुन्छौँ । हामी जनताले जे निर्णय गर्छ, त्यसरी नै चल्ने हो ।

राज्यसँग किरात स्वायत्तताको ‘बार्गेनिङ’ कुन आधारमा गर्ने ? जाति, भाषिक, ऐतिहासिक, सांस्कृतिक, क्षेत्रीय...कुन आधारमा ?
- त्यो त सम्पूर्ण किरातीहरू बसेर गर्ने हो । कुन आधारमा जाने ? हामी यही हुनुपर्छ भन्ने पक्षमा छैनौँ ।

पहिला खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा बेग्लाबेग्लै थिए । पछि किरात राष्ट्रिय मुक्ति मोर्चा बन्यो । यो तपाईंहरूको मातृ पार्टी (माओवादी) को कार्यक्रम हो कि ? दुई मोर्चालाई नै किरात मोर्चा हुनुपर्छ भन्ने महसुस भएर निर्माण भएको हो ?
- उनीहरूले ल्याएको कार्यक्रम त नभनौँ । माओवादीको २०५१ सालको प्रथम राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेजमा नेपालका शोषित, उत्पीडित आदिवासी जनजातिको मुक्तिको लागि जातीय स्वशासन र आत्मनिर्णयको अधिकार दिने कुरा प्रष्टसँग आएको छ । यो कुरो अरू पार्टीमा त छैन ।

जातीय मोर्चाको रूपमा छुट्टाछुट्टै रहेका दुई मोर्चालाई मिलाएर २०५८ सालमा मेरो अध्यक्षतामा किरात राष्ट्रिय मुक्ति मोर्चाको गठन भएको हो ।

खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चालाई मिलाएर किरात राष्ट्रिय मुक्ति मोर्चा बनाउन लामो समय लागेको तथा  लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाको सुरक्षित मत धेरै थिए भन्ने छ । के थिए तिनीहरू ?
- लिम्बुवान मुक्तिमोर्चाका सुरक्षित मतहरू अहिले किरात याक्थुङ चुम्लुङले जेजे उठाएका छन् तिनै कुराहरू नै हुन् ।

कुनै फरक भाषामा सम्बोधन गर्नु भएको थियो होला नि ! 
- होइन, तिनै हुन् ।

फरक मत हुँदाहुँदै कसरी सहमत हुनु भयो त ?
- अहिले विश्व परिस्थिति ‘चेन्ज’ भएको छ । हामी त्यसमा ‘कन्भिन्स’ भयौँ । अब हिजोको जस्तो स्थिति छैन वन । अघि नै भनेँ नि, यो एक्काइसौँ शताब्दीमा विकासले, सञ्चारले  विश्व एउटा गाउँमा परिणत भइसकेको छ । विश्वको शक्तिशाली भनेको अहिले अमेरिकी साम्राज्यवाद छ । जुनसुकै सानातिना घरेलु झगडाहरूमा उसले हात हालिरहेको छ । यसले गर्दाखेरि छुट्टाछुट्टै भएर जानुभन्दा भोलि ऊसँग जुध्नको लागि एक भएर जानुपर्छ भन्ने भयो । तलबाट हेर्ने हो भने जातीय कुरो भो, माथिबाट हेर्ने हो भने सर्वहारा वर्ग, यो वर्ग र जाति जोड्दै लगेर ऊसँग हामी जुध्नको लागि एक हुनुपर्छ भनेर पार्टीका नेताहरूले पनि हामीलाई ‘कन्भिन्स’ गराए, हाम्रो अडान हुँदाहुँदै हामी पनि कन्भिन्स भयौँ ।

ती मतहरू अहिले पनि सुरक्षित नै छन् त ?
- सुरक्षित छन् ।


अहिले चुम्लुङले बोकेर हिँडेको लिम्बूवान स्वायत्तता र किरात राष्ट्रिय मुक्ति मोर्चाको किरात स्वायत्ततालाई परस्पर अन्तर्विरोधी ठान्नुहन्छ कि ?
- छैन, त्यस्तो ठानेका छैनौँ ।

गोपाल खम्बूका धेरै प्रतिक्रियाहरू बजारमा आइरहेका छन् नि ?
- त्यो उहाँको व्यक्तिगत कुरा होला । त्यो गोपाल भाइले नै जानून् । उहाँ कसरी लिनु हुन्छ । तर मेरो त्यो होइन ।

याक्थुङ चुम्लुङले र जनसाधारणले पनि लिम्बूवान छुट्टै हुनुपर्छ भनिरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?
- हामीले मान्नु पर्ने जनताको आवाज हो । हामी जो किराती हौँ भन्छौँ । हामी त्यसमा गौरव मान्छौँ । सबै किरात प्रजातिहरूको ‘स्टाटस’ एकै खालको छैन । उच्च विकास भएको किरात प्रजाति र त्यति विकसित नभएको किरात प्रजाति एकै ठाउँमा मिसायो भने त एउटा अन्यायमा पर्छ । यसलाई कसरी ‘एडजस्ट’ गरेर लाने भन्ने छलफल गरिनु पर्छ ।

अहिले तपाईंहरू किरात स्वायत्त सरकार भनेर जनसरकार लागू गरिरहनु भएको छ । क्षेत्रगत हिसाबले किरात क्षेत्र कहाँदेखि कहाँसम्म, लिम्बूवान कहाँदेखि कहाँसम्म हो सीमाङ्कन गर्नुभएको छ ?
- किरात जनसरकार भन्ने युद्धकालीन अवस्थामा भएको हो, जनतालाई जनयुद्धमा आकर्षण गर्न । भावनात्मक रूपमा परिवर्तन गर्न ल्याइएको कार्यनीति हो । कहाँदेखि कहाँसम्म किरात क्षेत्र, याक्खालाई यति, लिम्बूलाई त्यति भन्ने त भोलि छुट्टिएला ।

किरात क्षेत्रमा बसोबास गर्ने गैरकिराती क्षेत्रीबाहुनलाई चाहिँ कुटेर खेदाउने त ? उनीहरूलाई रैती बनाउने त ? त्यसो पनि होइन । उनीहरूलाई पनि सबै अधिकार दिनुपर्छ । यसलाई कसरी मिलाउने ? यो त ‘इन्टेलेक्च्युल’हरूको काम हो । तपाईंहरूबाट विचार आउनु प¥यो ।

तपाईं त युद्धकालीन अवस्थामा धेरै घुम्नु भयो होला । घुमाइमा यहाँदेखि यहाँसम्म लिम्बुवान उपयुक्त हुन्छ भन्ने कस्तो ‘चित्र’ आएको छ ?
- वर्तमान स्थितिमा लिम्बूहरूको बसोबासलाई हेर्ने हो भने अरूण नदीसम्म त नभनौँ सङ्खुवासभाको बा¥हविसेसम्म छ । तर तिनीहरू आफूलाई राई भन्दा रहेछन् । के थरीको  घर हौ भनेर सोध्दा राईको अरे, के राई हौ भन्दा चोङ्बाङ राई रे, वनेम राई रे । (हाँसो) । अव चोङ्बाङ, वनेम भनेपछि त लिम्बू हो भन्ने बुझ्नु प¥यो । त्यहाँदेखि उता त लोहोरुङहरू छन् । उनीहरू त आफूलाई राई पनि होइनौँ लिम्बू पनि होइनौँ भन्छन्, तर किराती हौँ भन्छन् । त्यहाँदेखि उता याम्फूहरू छन् उनीहरू पनि राई, लिम्बू होइन, किरातीचाहिँ हामी हौँ भन्छन् । त्यहाँदेखि झन् उता भोजपुर र सङ्खुवासभाको सीमानामा मेवाहाङहरू छन्, उनीहरू पनि त्यही भन्छन्, हामी राई पनि होइनौँ, लिम्बू पनि होइनौँ । तर किरातीचाहिँ हौँ ।

दक्षिण क्षेत्रमा चाहिँ कहाँसम्म लिम्बूहरूले दावी गर्न सक्लान् ?
- अस्ति चुम्लुङ (किरात याक्थुङ) को छैटौँ महाधिवेशनमा दमकमा चुम्लुङका साथीहरूले यो त लिम्बूको क्षेत्र भनेर भाषण गरेछन् । एउटा धिमाल साथीले “मलाई त रिस उठ्यो, यो लिम्बूको क्षेत्र हो भने धिमालको क्षेत्रचाहिँ कहाँ ?” भनेर मलाई सोध्यो । “के भक्तराजले यसो भन्यो ? भन्दा भक्तराजले होइन अरूले” भन्दै थिए । मैले यो तपाईंहरूकै क्षेत्र हो, साथीहरूले आक्कलझुक्कल भने होला भनेर भन्दिएँ ।

राज्य पुनर्संरचनाको हिसाबले तपाईंहरूले ९ वटा क्षेत्र प्रस्तावित गर्नु भएको छ, सङ्घीय संरचनामा त्यसको शक्ति र अधिकार क्षेत्र कति हो ?
- त्यो त युद्धको अवधिमा गठन भएको हो । जनजातिहरूलाई ज्यादा जनयुद्धमा आकर्षित गर्नका लागि, उनीहरूको ‘सेन्टिमेन्स’लाई अभिव्यक्त गरिएको हो । ९ वटै हुनुपर्छ भन्ने छैन । कतिवटा बनाउँदा उपयुक्त हुन्छ त्यो त छलफलको विषय हो ।

कतै माओवादीले जनजातिलाई प्रयोग मात्र गरेको त होइन ?
- होइन, होइन । कहाँ त्यसरी मान्छौँ । हामी अहिलेसम्म केको निम्ति लड्यौँ त ? पार्टीको अध्यक्ष हुन त लडेको होइन । जातीय मुक्तिका निम्ति लडेका हौँ । अब त्यो सबै ‘कट अप’ भयो भने त किन लड्ने ? जनजातिले किन रगत बगाउनु ?

ठूला राजनीतिक पार्टीहरूमा बाहुनहरूकै हालीमुहाली छ । उनीहरू व्यक्तिगत हिसाबले, पार्टीगत हिसाबले जातीय प्रश्नमा सङ्कुचित देखिन्छन् । माओवादी पार्टीमा के छ स्थिति ? 
- पार्टीगत हिसाबले जातीय सवालमा माओवादीमात्र प्रष्ट पार्टी हो । अब व्यक्तिगत हिसाबले माओवादीका केन्द्रीय तहका नेताहरू के छन् कसो छन्, त्यो त मलाई थाहा हुन्न । म त सल्लाहाकार समतिको मान्छे, के रे त्यो, राजाको राजसभा स्थायी समितिको सदस्यजस्तो । तिनीहरूले त भत्ता पनि पाउँथे तर यता त भत्ता पनि हुँदैन । केन्द्रीय समितिमा बैठक भागलिन पाउने कुरै भएन  । तर म पूर्वी कमान्डको बारेमा जान्दछु । त्यहाँ त्यस्ता मान्छे छैनन् । हामी जातीय मोर्चामा रहेकाहरूले आफ्ना कुरा पार्टीमा राख्दछौँ । त्यसको विरोध हुँदैन ।

नीति निर्माण तहमा बाहुन क्षेत्रीहरू नै अगाडि सर्न खोज्छन्, नेकपा (माओवादी) भित्र नीति निर्माणका कुरामा आदिवासी जनजातिको सहभागिता कस्तो रहेको छ ?
- अब समग्र त मलाई थाहा छैन । पूर्वी कमान्डमा चाहिँ हामी हाम्रा कुराहरू पार्टीमा राख्दै आएका छौँ । जातीय कुराहरू हामी नै ज्यादा उठाउँछौँ । हामीले लगेका कुराहरू उनीहरूले स्वीकार्नु पर्दछ । जातीय समस्या के छ, बाबुराम, प्रचण्डलाई के थाहा ? किरातीहरू कहाँ शोषित, उत्पीडित छन् भन्ने उनीहरूलाई त थाहा हुँदैन । अब यो कुरो त हामी मोर्चाकाले लगेर राख्नु पर्दछ ।

१० वर्षको जनयुद्धको दौरानमा मूलतः पश्चिममा तुलनात्मक रूपमा जनजातिहरू बढी मारमा पर्नुको कारण के होलाजस्तो लाग्छ तपाईंलाई ?
- अब यसलाई पार्टीले कसरी लिन्छ ? मलाई सिर्फ किरात प्रदेशको मात्र ज्ञान छ । पश्चिममा बढी मारमा परे भन्ने पनि छ । त्यसमा मगर, गुरुङ, थारूहरू बढी परेका छन् अन्यका तुलनामा । हुन त जनयुद्ध सुरू भएको पनि पश्चिमबाटै हो । यसले पनि होला ।

प्रचण्डपथले आदिवासी जनजाति महिला, मधेसीहरूको सवाललाई कसरी सम्बोधन गरेको छ ?
- आदिवासी जनजाति, महिला, मधेसीका सवाललाई २०५१ सालको सम्मेलनबाट पारित दस्तावेजले नै समेटेको छ । म पनि लेखहरू लेख्दा नेपालको सन्दर्भमा चाहिँ प्रचण्डपथले प्रतिपादन गरेको हो भनेर लेख्नेगर्छु । विश्वको सन्दर्भमा चाहिँ जातीय स्वशासन र आत्मनिर्णयको अधिकार सन् १९१७ को अक्टुबर क्रान्तिपछि रुसमा पहिलोपटक लागू भएको हो । नेपालमा पनि कम्युनिस्ट पार्टीहरू नभएका होइनन् तर जातीय प्रश्नलाई माओवादीले जसरी सम्बोधन गरेका छैनन् ।

पहिले म कम्युनिस्ट भएर काम गर्दा जातीय कुरो ग¥यो कि साम्प्रदायिक भन्थे कमल कोइरालाहरू तर अहिले बुझ्दा त साम्प्रदायिक नभइने र’छ । आफ्ना पीर मार्काहरू व्यक्त गर्न त पाइने र’छ ।

नेपालको सन्दर्भमा आदिवासी जनजाति हरेक हिसाबले बेग्लै शक्ति हो, यसलाई बेग्लै हिसाबले परिचालन गरेर मुक्ति आउन सक्दैन ? कि अरूले नै सम्बोधन गरेका पथमा हिँड्दा मात्र हुन्छ ?
उत्पीडनमा परेका, शोषणमा परेका जुन वर्ग, अथवा आदिवासी जनजातिहरू यो देशका शक्ति हुन् । यो सही हो । माओवादी पार्टीको विश्लेषण पनि त्यही हो । यो शक्तिलाई परिचालन गरिएन भने यहाँ हुने केही पनि छैन । जब उनीहरूको चेतना खुल्यो, अहिले देखियो नि त, देखिँदै छ । २००७ सालभन्दा उताको स्थिति, २००७ सालपछि या २०४६ साल अघिको स्थिति नै हेरौँ, राजा महेन्द्रको पञ्चायती व्यवस्था ३० वर्षसम्म गयो । यो वर्गको चेतना नखुलेको भए माघ १९ को ज्ञानेन्द्रको कदम पनि जान्थ्यो होला २०÷३० वर्ष । माओवादी पार्टीले पनि आदिवासी जनजातिहरू शक्ति हुन् भनेर नै प्रथम सम्मेलनमा जातीय मुक्तिको प्रस्ताव पास गरे होला ।

संविधानसभामा आदिवासी जनजातिलाई प्रतिनिधित्व गराउने सवालमा माओवादी पार्टीको कस्तो कार्यक्रम छ ?
अन्य संसदीय पार्टीहरू जातीय मुक्तिको पक्षमा छन् जस्तो मलाई चाहिँ लाग्दैन । एउटा रणनीतिको रूपमा पार्टीमा दस्तावेजमै पास गरेर ल्याउने त माओवादी पार्टी नै हो । अब यससम्बन्धी कसरी जानुपर्छ र भोलिको संविधानसभामा के हुनुपर्छ भन्नेचाहिँ पार्टीले माथि के निर्णय गरेको छ, त्यो मलाई थाहा छैन । हामीले मोर्चाबाट एउटा धारणाचाहिँ बनाएका छौँ, त्यो सुझावको रूपमा अन्तरिम विधान मस्यौदा समितिमा पनि बुझाएका छौँ ।

संविधानसभाको ‘सिट’ तोक्दा पुरानै संसदीय निर्वाचन क्षेत्रलाई आधार बनाइयो भने हाम्रो मोर्चालाई त्यो मान्य हुँदैन, किनभने त्यहाँ त तिनै जल्दोबल्दो, टाठाबाठा आइहाल्छन् नि । संविधानसभाको सदस्यहरूको जो क्षेत्र हुन्छ नि, त्यो भूगोलको आधारमा मात्र गरिनु भएन । अब जाति नै क्षेत्र हो । जस्तै लिम्बू एउटा क्षेत्र, राई अर्को क्षेत्र त्यस्तै, सुनुवार, महिला, दलित, मधेसी । अबचाहिं उत्पीडित वर्ग जोजो छन्, जस्तो आदिवासी, जनजाति, महिला, दलित, मधेसी, यिनीहरूलाई संविधानसभाको निर्वाचन क्षेत्र मानिनु पर्छ र यसबाट ५१ प्रतिशत प्रतिनिधि सिधै संविधानसभामा ल्याइनु पर्छ, एउटा सुचिकृत, समानुपातिक प्रतिनिधित्व प्रणालीद्वारा भन्ने हाम्रो मोर्चाको धारणा हो । अनि ४९ प्रतिशतचाहिं भूगोलमा क्षेत्र कटाऊ चुनाव लडाऊ, बहुमतीय आधारमा ल्याऊ, भन्ने हो ।

१० वर्षको जनयुद्धको दौरानमा तपाईंहरूले सघन या समान्यरूपमा स्थानीय स्तरमा जनसरकारको अभ्यास गर्नुभयो । त्यसले के परिवर्तन ल्यायो ? जो जनजातिहरू छन् उनीहरूले त बजार लाउने, पालाम गाउने, च्याब्रुङ बजाउने, बन्दुक पड्काउने संस्कृति विस्थापित भयो भनिरहेका छन् (बिच्चमा रोक्तै) यसो, यसो.... के हुँदो रहेछ भने नि, युद्धको अवधिमा विकास–सिकास हुँदैहुँदैन । त्यो नारा मात्र हो । जनसरकार पनि नारा मात्रै हो, त्यो कामयावी हुँदैन । हामीले भोगेकै कुरा हो । युद्धको ‘टाइम’मा युद्धलाई असर गर्ने कुराहरू ‘कन्ट्रोल’ नै गर्नुपर्दो रहेछ । अब त्यो हामीले चाहेर पनि होइन, नचाहेर पनि होइन, त्यो युद्धको नियम हो । अब बन्दुक नियन्त्रण गरिएन भने शत्रुले पड्काएको हो कि जनताले पड्काएको हो ? पड्केको आवाज त बेग्लै हुँदैन । त्यसैले बन्दुक त खोस्नै प¥यो । नत्र आफैँ बाँचिदैन, नबाँचेपछि के को युद्ध ? अब त्यहाँ धाननाच्दै छ, त्यहाँ दुस्मन धाननाच्न पनि आउँछ, पेस्तोल लुकाएर । अब धानननाच है त भन्नै प¥यो । 

अहिले त युद्धविराम छ, के अब फेरि त्यो पुनस्र्थापित हुन्छ त ?
- हुन्छ, हुन्छ । अहिले गाउँमा बन्दुक पड्काइरहेका छन् ।

जनसरकार गठनपछि भएका सकारात्म प्रभाव र नकारात्मक असरबारे बताइदिनोस्न ।
- म पनि ८–९ महिना अघिसम्म जनसरकारमै थिएँ । म मुद्दा मामिलाका कुरा हेर्थेँ । मेरो अनुभवमा, उता श्री ५ को सरकारमा मुद्दा गयो भने सानो मुद्दा मात्र भए पनि ५–१० हजार चाहिने, धाउनु पर्ने सदरमुकाम, यता हामीलाई भने एक रूपैयाँको टिकट पनि टाँस्नु नपर्ने, निवेदन पनि लेख्नु नपर्ने, मौखिक उजुरी ग¥यो, दुई पक्षलाई भेला ग¥यो, कसको के होचो अर्घेलो हो, छुट्ट्यायो, अलिकति अन्याय परेको छ भने जनता राखेर न्याय अन्याय छुट्ट््याएर लु यति भरपुर गर्, गरिनस् भने आउँछन् नि माओवादी सेना भनेर डर देखायो, भरपुर गरिहाल्छ । पैसा नि नलाग्ने, छिटो छरितो । एकैदिनमा सिद्धिने । पैसा पनि नलाग्ने । सही न्याय निसाफ पनि हुने । उता सरकारी अदालत धायो भयो भने २÷३ वर्ष लाग्ने, सही न्याय निसाफ पनि नहुने  । जनताले जनअदालतबाट धेरै राहत पाएका छन् ।

अन्त्यमा, किरात राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट लिम्बूहरूलाई के सन्देश दिनुहुन्छ ?
किराती प्रजाति सबै लिम्बूहरू र हामी सबै किराती प्रजातिहरू एक भएर जाऔँ, कमसेकम हामी जातीय मुक्तिका लागि नयाँ बन्ने संविधानमा हाम्रा कुराहरू लेखिनु पर्छ । यसको लागि हामी सचेत हुनु प¥यो । आदिवासी जनजाति उत्पीडितहरूलाई सिधै संविधानसभामा लगिनु प¥यो, आरक्षणजस्तै । ५१ प्रतिशत ‘सिट’ संविधानसभामा उत्पीडित आदिवासी जनजातिलाई सिधै लगिनु प¥यो । कहाँ हामी शोषित पीडितहरू चुनाब लड्न सक्छौँ ? हाम्रो क्षेत्रमा भोलि पैसा हुनेले लाखौँ रूपैयाँ खर्च गरेर आदिवासी जनजातिलाई हरायो भने । हाम्रा किरातीहरूले ‘एक ट्वाक’ पाए भने एक भोट त हाली हाल्छन्, जानेकै हो । यसमा पनि परिवर्तन त आउनै पर्छ । हामी शोषित पीडित किरातहरूलाई नयाँ संविधानबाट विशेष अधिकार दिइनु पर्छ ।

तान्छोप्पा, वर्ष ११,   अङ्क ७,  साउन २०६३  (July/August 2006) ।

सफलताको शिखरमा पुगेको मान्छेले यात्रा सुरु गरेको फेदी भुल्नुहुन्न - फत्तेबहादुर लिम्बू

सफलताको शिखरमा पुगेको मान्छेले यात्रा सुरु गरेको फेदी भुल्नुहुन्न  

- फत्तेबहादुर लिम्बू, रथी(अप्रा) एवम् मानार्थ शाही पाश्र्ववर्ती


पूर्वनिर्धारित कार्यक्रमअनुसार मे. देउमान पक्खिम र म(अमर) काठमाडौँको विहानीको हुस्सुलाई चिर्दै झम्सीखेल पुग्यौँ, रथी(अप्रा) फत्तेबहादुर मेन्याङबो लिम्बूको निवासमा । आइडियल मोडेल स्कुलको हातासँगै रहेको उहाँको निवासमा पुग्दा हामीलाई लामलक्मा (स्वागत) गर्न बाहिर उभिइरहनुभएको थियो– ऊनीको टोपी, पाटे सर्टमाथि कालो झैँ लाग्ने गाढा नीलो ज्याकेट अनि ट्राउजर लाएको साधारण परिधानमा खाइलाग्दा जर्साप । हामी पस्यौँ, उहाँसँगै, उत्तरीभित्तामा ठूलो थाङ्का चित्र, दक्षिणीभित्तामा नवरङ्गी डाँफेको निक्कै ठूलो फ्रेमिङ फोटो र पूर्वीभित्तामा गाडीको बिकासक्रम झल्काउने तीन चारवटा चित्रहरू टाँसिएको अनि बेतका कुर्सीहरू राखिएको सामान्य देखिने तर सामान्यभित्र गहनताको पर्याप्त आभाष मिल्ने उहाँको कक्षमा । 

आफू जागिरमा प्रबेश गर्दाको रोचक संस्मरण जो उहाँले धेरै सुनाउने गर्नुहुन्छ  कि त्यसबेला कसैले, "लिम्बूहरू त मान्छे ख्यालख्यालमै चार इन्च काट्छन् रे, हो जिउदै मान्छे काट्छन् ?" भनेको र उहाँले त्यसको उत्तरमा  "हो  त नि काटेपछि मरेकोलाई काट्नु भएन ज्यूँदोलाई नै काट्ने हो नि ।" भनेको कुरा कुराकानीमा ठट्टा गर्दै सुनाउने उहाँ वि.सं. १९९६ कार्तिक १३ गते बाबा स्वर्गीय कप्तान देबवहादुर लिम्बू र आमा स्वर्गीय लक्षीमाया लिम्बूको माइलो सन्तानको रुपमा जन्मिनु भएको हो । 

उहाँले कप्पुरी क, पेतफारे ख ताप्लेजुङको सिगेजा जहाँ उहाँको जन्म भएको थियो त्यहाँ सुरु गर्नुभए पनि पछि उहाँ सिङ्गापुरमा ए लेवल अनि करीव ७ वर्षमा सिनियर क्यामम्ब्रीज गरेपछि सैनिक जीवन मै वातावरण शिक्षामा एम.एस्सी गर्नुभयो । १६ सालमा जागीर सुरु गरेका उहाँले तालिम एवम् शान्ति सेनाको क्रममा बेलायत, जर्मनी, भारत, लेवनान तथा औपचारिक भ्रमणको क्रममा स्वीडेन, हाइटी, अमेरिका, र हवाईमा भ्रमण गर्नुभएको छ । करीव ३८ वर्षे सैनिक जीवनबाट २०५४ कार्तिक १३ गते अबकास प्राप्त उहाँ श्री ५ महाराजाधिराज सरकारको शुभजन्मोत्सव(०५९ साउन २३) देखि मानार्थ पाश्र्ववर्ती हुनुहुन्छ । नेपालका आदिवासीहरूका तर्फबाट प्रथम मानार्थ पाश्र्ववर्ती पाउनु हुने उहाँ सुप्रवल गोरखा दक्षिणबाहु र विख्यात त्रिशक्ति पट्ट पदकबाट विभूषित हुनुहुन्छ । उहाँ आफ्नो आमालगायतका परिवारका सदस्यहरूलाई पहिरोले पुरेको घटनालाई सारै दुःखद क्षण मान्नु हुन्छ । लिम्बू, नेपाली, अङ्ग्रेजी, जर्मन, हिन्दी र मले भाषामा बोल्ने खुबी राख्ने उहाँ आफ्नो अवकाशपछिका दिन ट्रेकिङ, फोटोग्राफी, वातावरण संरक्षण जस्ता आफ्नो रुचिका विषयमा लागिरहनुभएको छ । यिनै वहुआयामिक व्यक्तित्वसँग लिईएको कुराकानीका महत्पूर्ण अंश तपाईंसमक्ष प्रस्तुत छ ।

तपाईले प्रारम्भिक शिक्षा कहाँ पाउनुभयो ? 
– कप्पुरी क पेटफारे ख पढ्न सिगेजामा नै सुरु गरेँ । तर पछि सिङ्गापुरमा गएर सिनियर क्याम्ब्रिजसम्म पढेँ । पछि बुबा पेनसन आउनुभयो । म पनि उहाँसँगै नेपाल आएँ ।

सेना जागिरमा कसरी प्रवेश गर्नुभयो ? 
–त्यसबेला गोरखापत्रमा सेनामा भर्ती हुने सूचना आएको थियो । त्यहीअनुसार म गएँ तर म सम्पर्कमा ढिलो गएँ । तर मलाई तत्कालिन अफिसरहरूले ढिलो भए पनि सेनाभित्रै बस्ने र अङ्ग्रेजी सिकाउनु भनेपछि केही महिना त्यहीँ काम गरेँ । मेरो अङ्ग्रेजी राम्रो भएकाले सुरुमा अङ्ग्रेजी शिक्षकको रुपमा काम गरेँ । अर्को पटक फेरि भर्ती खुलेपछि म सेनाको जागिरे भएँ ।

तपाईंले वातावरण शिक्षामा जागिर सुरु गरेपछि कि अघि नै एम.एस्सी गर्नुभएको हो ? 
– त्यो त जागिर खान थालेपछि त्यो पनि बढुवाको अङ्क बढी आउने भएकोले पढेको हुँ । पछि त यो विषय ज्यादै मन पनि प¥यो ।

त्यसवेला जागिर खानलाई गाह्रो परेन ? 
–अ हँ, त्यस्तो भएन । हामी जागिरमा लाग्ने बित्तिकै बेलायतमा तालिममा जानलाई मौका मिल्यो । त्यहाँ धेरै कुराहरू सिक्ने अवसर पाएँ । त्यसले मलाई जागिरमा एडजस्ट गर्न ज्यादै सजिलो बनायो । घरमै काम गरे जस्तै लाग्यो । त्यस्तो कठिन लागेन । कोर्सहरू गर्नुपथ्र्यो । तर पनि पहिलै मानसिक रुपले तयार भएको हुन्थेँ । सायद त्यसैले होला, सधैँ रमाइलै लाग्थ्यो ।

३८ वर्षे जागिरे जीवन तपाईंलाई पट्यार लागेन? 
– समयअवधि हेर्दा त त्यस्तै लाग्छ । तर अचम्म लाग्छ लिल्ट्रीमा जागिर खाँदा सारै छिटो समय जाँदोरहेछ । नियमित रुटिङमा साथीहरूसँग ड्युटी गर्दागर्दै समय बितेको पत्तै नहुँदोरहेछ । मिल्ट्री जीवनले छुट्टै आनन्द दिन्छ, छुट्टै रमाइलो हुन्छ । दुःखभन्दा पनि तालिकाबद्ध कामले छुट्टै मजा लाग्छ, खाली दिमाग र कामविना बस्नु पर्दैन ।

सैनिक अफिसरको रुपमा विदेश जाँदा कस्तो लाग्यो ? 
– ओहो ! त्यो त झन रमाइलो । बेग्ला बेग्लै भाषा, संस्कृति र परम्पराका मानिसहरू भेट हुँदा गजबै लाग्थ्यो । उनीहरूबाट नयाँ नयाँ कुरा सिक्न पाइन्थ्यो, आफ्नो अनुभव पनि बाँड्न पाइन्थ्यो ।

विदेशभ्रमणको क्रममा संगाल्नुभएको अविस्मरणीय अनुभवहरू केही छन् कि ? 
– धेरै छन् । त्यसमध्ये पनि बृटेनको यात्रा म बढी सम्झिने गर्छु । म सुरुमा जाँदा हाइपार्क र ग्रीनपार्कमा बृटिश साम्राज्यको जगजगी थियो । १५ वर्षपछि दोस्रोपटक जाँदा बृटिश साम्राज्यको प्रभाव सारै फिक्का भइसकेको थियो । त्यहाँ अन्य देश, जाति, भाषा र सं्रस्कृतिले टाउको उठाएको पाएँ । सूर्य नअस्ताउने देश भनेर गौरव गर्ने देशको त्यो अवस्था देखेर मैले सम्झे–सफलताको शिखर चढ्नेले तल ओर्लिनु पनि पर्दोरहेछ, शक्ति भनेको  सधैंको लागि नहुँदोरहेछ, सफल हुँदा हर्ष मान्ने र तल झर्दा दुःखी हुनु नहुँदोरहेछ ।

नेपालको चर्चित लिटिल एन्जेल्स स्कूल तपाईंको भन्छन् नि .....?
–नेपालमा मात्र हैन दार्जिलिङ सिक्किम जाँदा त्यहाँका मानिसहरूको मुखबाट अनि विदेशी च्यानलका टीभीहरूबाट प्रसारण र चर्चा भएबाट लिटिल एन्जेल स्कूलले ख्याति कमाएको रहेछ भन्ने मलाई पनि लागेको छ । तर खासमा यो स्कूललाई स्थापित गर्नै गराउनेमा मेरो केही पनि हात छैन । त्यो स्कूल स्थापना गर्ने हुर्काउने, ख्याति प्राप्त बनाउने सबै गर्नै मेरी श्रीमती विद्या लिम्बू र उमेश श्रेष्ठ हुन् । म त आर्मी मान्छे शिक्षामा मैले चासो र समय दिनै सकेको छैन । त्यसैले यो स्कूलको नाम र ख्याती मसँग जोड्नु सान्दर्भिक छैन भन्ने ठान्छु ।

तापनि यो स्कूल कसरी सफल भयो  बताइदिनुहोस् न । 
–अविभावकहरूको मागको कारणले यो स्कुलको सुरुआत भएको हो । नेपालमा पनि एउटा राम्रो र स्तरीय विद्यालयको खाँचो छ भन्ने कुरा चलेपछि यो स्कूलको सुरु भएको हो । यसको सफलताको कारण चाहिँ उमेश र विद्याले सिन्सियरली लाग्नु हो । उनीहरू आफ्नो सर्वस्व ठान्छन्–स्कुल र स्कुलका विद्यार्थीहरूलाई । उनीहरूले ब्याङ्कहरूबाट थुप्रै लोन लिएर चलाइएका छ र लोन पनि तिर्दै गरेको कुरा सुनाउछन् ।

त्यसो भए आइडियल मोडेलमा चाहिँ तपाईंको विशेष योगदान होला नि ?
–आइडियल मोडेल टिचरहरूको योजना हो । मैले त अघि नै भने नि शिक्षा क्षेत्रको म परिन, शिक्षाविद् पनि परिन, शिक्षा आवश्यक कुरा हो भन्ने चाहिँ ठानेको छु । तापनि मेरो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो यो । तर पनि शिक्षकहरूले भने जस्तै अत्यन्त आइडियल वा आदर्श  भएको स्कुलको रिजल्टले देखाउदै आएको छ । अँ म भन्दै थिएँ, शिक्षामा मेरो चासो कम छ । बरु मेरो रुचि ट्रेकिङ, फोटोग्राफीमा छ ।

रिटायर जीवन कसरी विताइरहनु भएको छ ?  
– कहिले ट्रेकिङ जाने गर्छु । प्राकृतिक दृष्यहरूको फोटो लिन्छु । प्राकृतिमा रमाउँछु । यसरी नै आनन्दसँग समय विताइरहेको छु ।

फोटोग्राफीको कुरा गर्नुभयो । प्रदर्शनी पनि गर्नुभएको छ ? 
– अहँ, मैले फोटो प्रदर्शनी गरेको छुइन । म अमेचर फोटोग्राफर हुँ, प्रोफेशनल होइन ।

तपाईं जनजातिबाट प्रथम पाश्र्ववती हुनुहुन्छ भन्ने सुनिन्छ नि ? 
–हो । तपाईले सुन्नुभएको ठीकै हो । श्री ५ महाराजाधिराज सरकारको शुभजन्मोत्सबको उपलक्ष्यमा साउन २३ गते मानार्थ शाही पाश्र्ववर्ती बक्स भएको हो । यो मेरो ख्यालमा जनजातितर्फमा प्रथम हो ।

अनि तपाईं पाश्र्ववर्तीमा छानिनुको आधार के होला ? यो कति अवधिको हो ? 
–शाही पाश्र्ववर्तीमा छानिने आधारको बारेमा त श्री ५ लाई नै विन्ती गर्नुपर्ला । यसको अवधि चाहिँ आजीवन हो । म लेप्टिनेन्ट जनरलमा रिटायर भएको हुँ । त्यही दर्जाको युनिफर्म र व्याचहरू लगाएर आजीवन स्टेट फङसनहरूमा भाग लिन सकिन्छ, कहिले सरकारलाई एकम्पनी गर्नुपर्छ, कहिले एम्बासडोरहरूलाई रिसिभ (स्वागत) गर्न जानुपर्छ ।

त्यसो भए यो गौरवको विषय हो ? 
–मलाई त्यस्तै लाग्छ । यो लिम्बू जातिको लागि मात्र गौरवको विषय हैन सबै जनजातिको लागि गौरवको विषय हो । यो मानार्थ शाही पाश्र्ववर्ती पद जनजातिहरूलाई प्राप्त पहिलो हो  ।

चुम्लुङले भाषा, लिपि, धर्म, संस्कृतिको विकास, संरक्षण लगायत लिम्बूहरूबाट खोसिएको किपटको क्षतिपूर्तिको कुरा उठाएको छ । यसबारेमा तपाईं के भन्नु भुन्छ ? 
–चुम्लुङले जायज कुरा उठाएको छ । पहिलाका शासकहरूले गरेको कामले लिम्बू लगायत अन्य जनजातिलाई बढी नै हानी गरेको छ, यसबाट बेफाइदा गरेको नै भयो । जनजातिहरूलाई स्टेटले हेरेन तर चुम्लुङले भने जस्तै स्टेटले क्षतिपूर्ति दिए राम्रै हुन्छ । यो भूमिपुत्रहरूको या कसैको हारजीतको विषय हैन । एकले अर्कोलाई स्वीकार्ने प्रक्रिया मात्र हुन् ।

भाषा, संस्कृतिको जगेर्नाका कुरा उठेका छन् । भाषा संस्कृति लोप हुने कुरा उठेको छ । के यस्तै अबस्था छ त ? 
–अहिले धेरै जाति जनजातिहरूको भाषा संस्कृति जोगाउने आन्दोलनमा लागेको देखिन्छ । उनीहरू सचेत भएको देखिन्छ । यो राम्रो कुरा हो । वास्तवमा भाषा संस्कृति लोप हुने कुरा विश्वव्यापी रुपमा आएको छ । अङ्ग्रेजीले सबै भाषालाई उतिकै मारमा पारेको छ । म हावाईमा एकपटक गएको वेलाको कुरा सम्झिरहन्छु । त्यसबेला एकजना अङ्ग्रेजी वोल्न नजान्ने रसियन अफिसर थिए । उनले आफ्नो दोभासेमार्फत् अङ्ग्रेजी बोल्न नजानेकोमा पश्चताप गरेका थिए । अनि आफ्नो देशमा गएर सरकारलाई अङ्ग्रेजी सिकाउन अनुरोध गर्ने कुरा गरेका थिए । अ्रग्रेजी भाषा महत्वपूर्ण भएको बताएको थियो । सबैमा यही मनोविज्ञानले काम गरेको छ । यसैले गर्दा अङ्ग्रेजी दिनदिनै विस्तार भइरहेको छ भने अन्य भाषा लोप हुँदै गइरहेका छन् । यो दुखदायी कुरा हो । यो प्रकोपबाट आआफ्नो भाषा, संस्कृति बचाउनु पर्छ । विविधता हुनु राम्रो कुरा हो । यसको संरक्षणमा लाग्नु राम्रो क्ुरा हो । 

चुम्लुङले लिम्बू भाषा आई.ए. कक्षा सञ्चालन गर्ने सम्भावना छ । चलायो भने के तपाईं सहयोग गर्न सक्नुहुन्छ ?
– आफ्नो भाषाको विकास हुनु, पढाइ हुनु राम्रो कुरा हो । भ्याएसम्म, सकेसम्म सहयोग त गरिन्छ नि । तर लिटिल एन्जेलस् स्कुलको आधारमा यो कुरा उठाउनुभएको हो भने त्यो त मेरो श्रीमतीले चलाएको कुरा प्रस्टाई सकेँ ।

तपाई सैनिक क्षेत्रमा सफल व्यक्तित्व हुनुहुन्छ । जीवन सफल बनाउन नया पुस्तालाई के सल्लाह दिनुहुन्छ ? 
– लगानशीलता नै यसको मुख्य कडी हो । समयलाई चिन्नु प¥यो । निरन्तर परिश्रम गर्नुप¥यो । भरसक निश्चित एउटा क्षेत्र रोजेर त्यसमा विशिष्टीकरण गरेर काम गर्नु राम्रो हुन्छ । महासागर बन्नलाई पनि थोपथोपा पानी चाहिन्छ । कुनै काममा सफल हुन  पनि सानोसानो कामको योगफल जोडिएर अन्तिम परिणाम देखिने हो । मान्छेले अन्तिम परिणाम मात्र हेर्दछन् तर त्यसअघिको लामो प्रक्रियालाई भुल्छन् । तर हामीले त्यसो गर्नु हुन्न । मेरो ताप्वर्य लगनशीलताको निरन्तरला र समयको उचित प्रयोग नै सफलताको आधार हुन् ।

अन्त्यमा तपाईंका शुभचिन्तक र पाठकहरूलाई के भन्न चाहानुहुन्छ ? 
–हामी शिक्षामा पछाडि छौँ । शिक्षामा बढी ध्यान दिनु प¥यो । पढाइमा बढी बल गर्नु प¥यो । हामीमा झोक भनौँ कि रिस भनौँ त्यो कताकता बढी भए जस्तो लाग्छ । भन्छन् नि, ‘रिस खा आफू बुद्धि खा अर्का ’ । त्यस्तै हामीले  जाँडरक्सी बढी खाए झै लाग्छ । त्यसले हाम्रो दिमागमा असर पु¥याइरहेको हुन्छ । सकेसम्म नखाने खाए पनि कम खाने । यसो गरेमा हामी हाम्रो क्षमतालाई प्रयोग गर्न सक्छौँ । मङ्गोलियन जाति जनजातिहरू जेन्टिल छन् , क्षमतावान छन् । तर जाँड रक्सीलाई असल नोकर बनाउनु प¥यो, खराब मालिक हैन । किनभने त्यो क्षमता र भद्रपनालाई कताकता रिस र जाँडरक्सीले खाएजस्तो लाग्छ । यसमा हामी चनाखो हुनुपर्छ । हामी सियो बनेर पस्नु प¥यो फाली बनेर निस्कनु प¥यो ।

तान्छोप्पा, वर्ष ८, अङ्क १, बिहिबार, २ माघ २०५९ (16 January 2003)  ।

Tuesday, May 26, 2020

काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिका रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून् - खेलराज योङहाङ

काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिका रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून् 

- खेलराज योङहाङ


शिरमा ढाका टोपी, जिउमा कालो कोटको आवरण, गोडामा कालो पेन्ट अनि यी सबैलाई थाम्ने कालो जुत्ता । पुड्कोपुड्को कद । पिठ्युँमा निकै ठूलो खकने झोला । यी महानुभाव कुनै नाटकका सजिसजाउ पात्र होइनन् । उनी त हुन् नेपालका विभिन्न गाउँहरू, दार्जिलिङ, घुम, कालेबुङ, डुबर्स, सिक्किमको माङसिला, नामची, गेजिङ, उत्तरे, गान्तोकलगायत विभिन्न गाउँ र सहरहरू डुलिरहने व्यक्ति हुन् – खेलराज योङहाङ । उनी त्यो ठूलो झोलामा कुनै लत्ताकपडा, बालबच्चाका लागि काबुलीवालाजस्तै खेलौना वा अन्य कुनै अलौकिक वस्तुहरू बोकेर हिँडिरेका हुँदैनन् । त्यो झोलामा त अक्षरका मोती छापिएका ज्ञानका पुस्तकहरू उरुङ चाङ लागेका हुन्छन् । त्यहाँ त किरात सिरिजङ्गा लिपिका कितावहरू, मुन्धुमका ठेलीहरू, किरात इतिहास र संस्कृतिका ग्रन्थहरू, राई भाषा भाषीका पुस्तकहरू, गुरुङ भाषाका कृतिहरू, मगर भाषाका रचनावलीहरू, जातीय चेतनाबोधले परिपूर्ण पत्रपत्रिकाहरू खातकाखात हुन्छन् जसले सुस्ताएकाहरूलाई ब्युझाउँछ, व्युँझिएकाहरूलाई उठाउँछ र उठेकाहरूलाई गति प्रदान गर्दछ । चेतनाको उज्यालो जुनकिरीजस्तै कति पनि झञ्जट नमानी बाँडिहिँड्ने खेलराज योङहाङको यो काम गर्दाका प्रेरणा सोत या उर्जा दिने व्यक्तित्वहरूमा त्येअङ्सी सिरिजङ्गा, लालसोर सेन्दाङ र इमानसिंह चेम्जङ हुन् । यही काम गर्दागर्दै आफ्नो शिरको ढाका टोपीजस्तै आफ्नो उमेर आधाउदी ढल्केको पनि पत्तै पाएका छैनन् ।

नागी–६, चित्यक पान्थरमा २०१३ साल माघ १७ गते बुधबारका दिन हर्कजङ योङहाङका जेठा सन्तानका रूपमा पदममाया थुपुको थेबेको गर्भबाट जन्मिएका खेलराज योङहाङका कलकलाउँदा ४ भाइको मृत्य भएपछि विरहको पोको पुन्तुरो बोकेर आमाबाबु झापाको शिवगञ्जमा झरेपछि उनी पनि आफ्नो आमाबाबाको फेरो समाएर मधेसिए । २०२७ साल पुस ५ गतेको त्यो बसाइ हिँडाइले खेलराजलाई शिवगञ्जको घना जङ्गलमा पु¥यायो जहाँ खेतीपाती बचाउन सधैं बाँदरसँग घम्साघम्सी गर्नुपथ्र्यो । सुकुम्बासी बस्तीछेउको वनजङ्गलका बाँदरसँगको लुकामारीले तकिम्बा नागीको गणेश प्रा.वि.(हालको गणेश मा.वि.)को कक्षा ५ सम्मको पढाइ सदालाई पूर्णविराम लाग्न पुग्यो । तत्कालीन पञ्चयती शासकहरूले सुकुमवासी वस्तीमा हात्ती लगाएर घरहरू लडाएको, आगो लगाएर बस्ती सखाप पारेको घटनाले उनमा विद्रोहको आगो सल्कायो जस्ले गर्दा तत्कालीन नेकपा मालेको भातृ सङ्गठन अखिल नेपाल किसान सङ्घको सदस्य भएर २०३६ तिर राजनीतिमा प्रवेश गरे । पछि उनी सो पार्टीको लागि बालुवाडी गाउँ कमिटीको सदस्यको रूपमा २०३९ साल देखि २०४९ सम्म काम पनि गरे । ४६ सालपछिका राजनैतिक पार्टीका नेताहरूको खस्कँदो छविले अरुहरूलाई जस्तै उनलाई पनि पार्टी राजनीतिप्रति वितृष्णा जगायो र औपचारिक रूपमा पार्टीबाट राजीनामा दिएर ह्वात्तै हामफाले उनी जाति, भाषा, लिपि, साहित्य र सांस्कृतिक योद्धाको रूपमा समाजसेवातिर । 

त्यसपछि उनको यो समाजसेवाको यात्रा निरन्तर अगाडि बढ्दो छ । उनको भनाइमा "मेरो जीउलाई यी मेरा दुई गोडाले डो¥याउञ्जेल म यो भाषा, लिपि प्रचारको अभियानमा लागिरहनेछु ।" उनी अरुले लेखे, छापेका पुस्तक र पत्रपत्रिका मात्र प्रचारप्रसार गर्दैनन् । उनी आफैले पनि २०५२ सालमा लिम्बू भाषाको शब्दकोश सङ्कलन, सम्पादन र प्रकाशन गरी प्रचारप्रसार गरेका छन् । उनी आफै एक गायकी भएका र लिम्बू गीत सङ्गीतको राम्रो भेउ पाएका सङ्गीत मर्मज्ञ पनि हुन् । उनले २०३६ सालदेखि नै लिम्बू भाषामा गीत गाइहिँडेका थिए त्यो जमानामा नेकपा मालेको राजनीतिक क्रान्तिको ज्वाला दन्काउने सिलसिलामा । यसकै सवल प्रतिफलको रूपमा उनले २०५४ सालमा ‘मुक्कुम्बा इक्ला’ नामक लिम्बू गीति क्यासेट निकाली त्यो समयमा ठूलै तहल्का मच्चाएका थिए । २०४९ सालमा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला कार्य समितिका सदस्य बनेर उनले औपचारिक रूपमै आफ्नो कामलाई अगाडि बनाएका थिए । उनी आफ्नो मातृभाषा भने पछि हुरुक्कै हुन्छन् । उहाँ आफ्नो अभियानकै क्रममा काठमाडौँ आउनुहुँदा के.बी. चेम्जङ र अमर तुम्याहाङले संयुक्त रूपमा विविभन्न विषयमा २०६२ साल जेठ २१ गते शनिवार यो अन्तरवार्ता लिइएको थियो । उहाँको अन्तरवार्ता उहाँको इच्छाबमोजिम लिम्बू भाषामै लिइको थियो । तर पाठकीय अवस्थालाई ध्यानमा राखी लिम्बू भाषामै लिइएको उहाँको लामो अन्तरवार्ताको सारसङ्क्षेप खसभाषामा अनुवाद गरी पाठकहरूसमक्ष प्रस्तुत गरिएको छ ।

किरात समुदायसँग सम्बन्धित पुस्तकदेखि लिएर पत्रपत्रिकाहरूका प्रचारप्रसारमा तपाई निरन्तर लागिपर्नु भएको छ । यो काम गर्नुको सहस्य के छ ? 
– पहिला त लिम्बूहरू जग्गा जमीनका मालिकहरू हुन् । तर सरकारको लिम्बूहरूप्रतिको कुदृष्टिले गर्दा हिजोका ती जग्गा जमीनका मालिकहरू आज आएर सुकुम्बासी सोसरह भएका छन् । उनीहरूको आर्थिक अवस्था नाजुक छ । घुम्दाफिर्दा मैले लिम्बूलगायत अन्य किरात समुदायका अन्य जातिका मानिसहरूको पनि उही हालत देखेको छु। यसरी हामी पछाडि पर्नुको कारण के हो ? भनेर विचार मन्थन गर्दा अशिक्षा नै एक हो भन्ने निस्कर्षमा म पुगेँ । अनि अशिक्षाबाट उनीहरूलाई शिक्षाको उज्यालोतिर डो¥याउने माध्यमको काम पत्रपत्रिका र अन्य कितावहरूले गर्नेछ भन्ने सोचले यो काम गरिरहेको छु । योबाहेक नेपाल, सिक्किम, कालेबुङ, दार्जिलिङ, डुवर्स, भूटानलगायतस स्थानमा बस्ने किरात समुदायभित्रका जातिहरू राई, लिम्बू, याक्खा वा देवान र सुनुवारहरूबीच अनुभव आदानप्रदान होस् भनेर पनि यता प्रकाशित भएका पुस्तक र पत्रपत्रिकाहरू उत्ता लैजाने र उत्ता प्रकाशित भएका यता ल्याउने काम गरिरहेको छु।

पाठकहरूको चासो कस्तो पाउनुभो त ?
नेपालका विभिन्न जिल्ला र गाउँघरमा पत्रपत्रिका र कितावहरू लिएर डुल्ने गरेको छु । यसरी नै दार्जिलिङ, घुम, कालेबुङ, डुवर्स, सिक्किम विभिन्न गाउँठाउँहरू र भूटानसम्म घुम्ने गरेको छु । आफ्नो जाति, भाषासँग सम्बन्धित पत्रपत्रिका र प्रकाशित भएका अन्य पुस्तकहरूप्रति पाठकहरूको धेरै चासो रहेको पाएको छु । तर प्रकाशन संस्थाहरूले प्रकाशन गरेका पत्रपत्रिका र कितावहरू ती पाठकहरूसम्म नपुगेको पाइयो । पाठक र लेखक– प्रकाशक बीचमा यस्तो सम्बन्धको खाल्डो परेको अवस्थामा आफूले हल्काराको रूपमा काम गरेको छुजस्तो लागेको छ ।

लिम्बू संस्कृति प्रवासमा कस्तो पाउनुभयो ?  
केलाङ, या?लाङ, ताम्केलाङहरू सिक्किम, दार्जिलिङतिर घुम्दा विभिन्न कार्यक्रमहरूमा देख्ने अवसर पाएँ । त्यतातिरका गाइनेहरूले पनि हाक्पारे, पालामहरू गाएको पाएको छु । यी घटनाहरूले हाम्रो संस्कृति जिउँदै छ भन्ने लागेको छ । बरु यता नेपालमा पो द्वन्द्व सुरु भएपछि हाटबजारहरू बन्द भए, ती हाटबजाहरूसँगै यस्ता धान नाच, केलाङ आदि लोप हुँदै  गएका छन् ।

पहिला पनि दार्जिलिङ सिक्किमतिर घुम्नुभयो? 
म राजनीतिक क्रियाकलापमा संलग्न भएको वेला पञ्चायतकालमा त्यतातिर घुमेको थिएँ । त्यही समयमा सिक्किममा लिम्बू भाषा स्कूलमा पठनपाठन भएको देखेको थिएँ । त्यसले मलाई हाम्रो भाषा लिपिप्रति काम गर्ने प्रेरणा दियो । त्यो समयमा नेपालमा लिम्बू भाषा र लिपिमा लेखपढ गर्न सरकारले अनुमति दिँदैनथ्यो । त्यो समयमा नेपालका लिम्बू लगायतका जात जातिले पनि आफ्नो  भाषा लिपिमा पढ्न पाउनुपर्छ भन्ने लाग्यो र त्यही सोचअनुसार आफ्नो क्षमताले भ्याएसम्म भाषा लिपिका कितावहरू प्रचारप्रसार गर्न थालेको हुँ ।

तपाईं राजनीतिमा कसरी लाग्नुभयो ? 
 हामी २०२७ सालमा मधेसतिर झ¥र्यौं । त्यो समयमा हामी जस्तै अन्य सुकुम्वासीहरूको वस्तीमा डीएफओहरू आउँथे । उनीहरूले हाम्रो वस्तीमा हात्ती ल्याएर घरहरू भत्काउन लगाए, हाम्रो घरहरू आगो लगाएर खरानी भए । यो देखेर मेरो चित्त सारै दुख्यो । रिस पनि सारै उठ्यो । यसको वदला लिन पाए त हुन्थ्यो भन्ने लाग्यो । पछि हामीलाई सरकारले नै शिवगञ्जबाट बालुबाडीमा सा¥यो । त्यहाँ पनि हामी सरकारी मानिसहरूबाट उतिकै पीडित भयौँ । त्यही क्रममा २०३५÷३६ सालतिर अखिल नेपाल किसान सङ्घको सदस्य भएर राजनीतिमा लागेको हुँ । हाम्रा दुःखहरू सकियून्, हाम्रा आवश्यकताहरू नयाँ बन्ने सरकारले पूरा गरोस्, हामीले लेख्न, पढ्न, बोल्न पाउने अवस्था नयाँ सरकारले ल्याओस् भनेर राजनीतिमा लागेको हो। तर प्रजातन्त्र आएपछि पनि हाम्रा सपनाहरू विपना भएनन् । हाम्रो अवस्थामा कुनै सुधार भएन । म राजनीतिमा लाग्दा तारा समयङया, रत्न इङनाम, नारयाणसिंह राजवंशी, अर्जुन राईलगायत थुप्रै चिनेजानेका साथीहरू थिए । तर प्रजातन्त्र आएपछि सांसद नेताहरूले आफ्नो दुनो सोझ्याउने, आफू र आफ्नो नातेदारहरूलाई बनाउने काम मात्र गरे । हामीजस्ता हजारौँ मानिसको त्याग, तवस्या र वलिदानले प्राप्त भएको प्रजातन्त्र “बाँदरको हातमा नरिवल” भयो । प्रजातन्त्रको लडाइँमा कतिका छोराछोरी टुहुराटुहुरी भए, कति विधुवा भए । सत्ता पाएपछि नेताहरूले ती सबै बिर्सिए । यो देखेर अरूजस्तै म पनि निरास भएँ । अनि पार्टीबाट राजीनामा दिएर यता आफ्नै जाति, भाषा, लिपि, संस्कृतिको काममा लागेँ ।

राजनीतिमा रहँदा विशेष के काम गरियो? 
त्यो समयमा मैले सांस्कृतिक फाँट सम्हालेको थिएँ । विभिन्न अवसरमा पार्टीको तर्फबाट सांस्कृतिक कार्यक्रमहरूको तयारी गर्ने, सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने, पार्टीको विचार र नीतिलाई गीत सङ्गीतको माध्यमबाट प्रचार गर्ने काममा म बढी लागेँ, विशेष गरेर आफ्नो क्षेत्रमा।

त्यो वेला पुलिस–प्रशासनले साह्रै दुःख दिन्थे। सांस्कृतिक कार्यक्रम गर्दा, पर्चापम्प्लेट टाँस्दा जुनसुकै अवस्थामा पनि मलगायतका साथीहरूको नाममा वारेन्ट काट्थे । पुलिसहरू भेष बदलीबदली आउँथे। हामी सधैं वनवास हुन्थ्यौँ । घरमा सञ्चले कहिल्यै बस्न पाइएन । तर खुशीको कुरा के भने म पुलिसको फन्दामा फस्नबाट सधैं बच्न सफल भएँ ।

तपाई आफ्नो जाति, भाषा, लिपि, संस्कृति र धर्मपति कसरी आकर्षित हुनुभयो ? 
राजनीति गर्ने सिलसिलामा नै हामीलाई लिम्बू भएकै कारणले धेरै अवसरबाट बञ्चित हुनुपरेको, अगुवा हौँ भन्ने छेत्रीबाहुनहरूले जानीजानी हामीलाई पछाडि पारेको कुराले मलाई चोट पु¥यायो । हामी लिम्बू भएर जन्मनु कुनै अपराध होइन । हामी पनि मान्छे नै हो । हामी पनि यो देशको नागरिक हौँ । यो देशमा उनीहरूको जति हक लाग्छ हाम्रो पनि उति नै हक लाग्छ । उनीहरूको मात्र होइन, हाम्रो पनि आफ्नै भाषा छ, लिपि छ, संस्कार छ, संस्कृति छ, धर्म छ, भेषभूषा छ । उनीहरूभन्दा हामी के कम ? हामीले आफ्नै भाषा, लिपि, सहित्य, संस्कार, संस्कृतिलाई अझ धनी बनाउनुपर्छ भन्ने सोच ममा आयो । आफू र आफ्नो कुरा हामी आफैंले गर्नुपर्छ भन्ने लाग्यो र नै म यतातिर ढल्किएँ। र, अझसम्म पनि म निरन्तर लागिरहेको छु ।

म यतातिर लाग्नुमा हाम्रो जिउँदो जाग्दो इतिहासले पनि उक्सायो । कुनै जमानामा हाम्रा पुर्खाहरूले यो मुलुकमा शासन गरेको कुराले मलाई शक्ति दियो । हाम्रो पुर्खाले त त्यत्रो गरे भने हामीले किन गर्न सक्दैनौँ ? आफ्नो गच्छेअनुसारका समाजलाई हितकारी हुने काम भन्ने लाग्यो ।

तर यसको लागि हामीले हाम्रो अस्तित्व र पहिचान बुझ्नुपर्छ अनि हामी शिक्षित हुनुपर्छ । हामी अशिक्षित हुनु भनेको असक्षम हुनु हो । यसको लागि त हामीले आफ्नो बारेमा खोजअनुसन्धान गर्नुप¥यो, हामीले पढ्नु, लेख्नुप¥यो।

यही क्रममा मैले लिम्बू भाषाको शब्दकोश पनि सङ्कलन, सम्पादन र प्रकाशन गरेँ । शब्दकोश निकाल्नुको कारण हाम्रो भाषाको रेकर्ड राख्नु हो । शब्दकोश भएमा भाषा सिक्न पनि सहज हुन्छ । चाहिने शब्दहरू चाहिने वेलामा पाउन पनि सजिलो हुन्छ भन्ने पनि हो । यो शब्दकोशले राम्रै बजार पायो । निकालेको केही समयमा नै विक्री भई सकियो । अब यसको दोसो संस्करण निकाल्ने सोचमा छु । यसको दोस्रो संस्करणमा अङ्ग्रेजी भाषा सम्पादनको लागि दान खालिङ, लिम्बू र खस भाषाको सम्पादनको लागि तिलबिक्रम कन्दङवा लगायतका साथीहरूसँग मिलेर हामी काम गरिरहेका छौँ । मैले ‘मुक्कुम्बा इक्ला’ नामक गीति सङ्ग्रह पनि निकालेको थिएँ । यसले पनि सबै लिम्बू स्रोतहरूले मन पराइदिए ।

यो गीति सङ्ग्रह निकाल्नुमा हाम्रो समाजमा चेतना जगाउन र हाम्रो परम्परागत लयहरूलाई संरक्षण अनि प्रचार गर्न पनि हो ।

‘मुक्कुम्बा इक्ला’पछि अर्को गीति सङ्गालो निकाल्न सकिएन । हल्काफुल्का गीतहरू निकाल्यो भने त्यसले राम्रो सन्देश दिँदैन। मान्छेहरूले पनि मन पराउँदैनन् । फेरि म पछिल्लो समयमा हाम्रो भाषा, संस्कृतिसम्बन्धी पुस्तक पत्रपत्रिकाहरू झोलाझोलामा बोकेर प्रचारप्रसार गर्दै डुलाउँदै हिँडिरहेको छु । यसलाई मैले एउटा जनचेतना जगाउने अर्को अभियानको रूपमा लिएको छु । मेरो धेरै समय यसले खाएको छ ।

पाठकहरूले चाहिँ तपाईका कामलाई कसरी मूल्याङकन गरेका छन् ? 
समय यस्तो विकराल छ । घरबाहिर निस्केर हिँडिसक्नु छैन । सबैले बुझेकै कुरा हो । तर पनि म घर परिवार छोडेर यो काम गरिरहेको छु । यो काम गर्दाको व्यक्तिगत दुःखका कुराहरू त छँदैछन्। यसरी किताव पत्रपत्रिका बिक्रीवितरण गर्दै हिँड्दा बुझ्नेले त राम्रै मान्छन् । नबुझ्नेहरूले किताब बेचेर चयन गरेर हिँड्छ पनि भन्दा हुन् ।

तर पुस्तक वा पत्रपत्रिका प्रकाशक– हरूबाट किताव किन्यो, कितावहरू ढाड कटक्क खाँदै बोकेर हिँड्यो। यसरी बोकेर विक्रीवितरण गरेको पैसाले के हुन्छ र ? गाडी चढ्नै प¥यो, खाना खानै प¥यो । यसबाट मलाई पैसाको हिसावले फाइदा त केही हुन्न । तर पनि हाम्रो जाति, समाजको उत्थान हुन्छ कि भनेर अनेक दुःख खेप्दै यो काम गरिरहेको छु ।

यो काम गर्दा सधैं म त्येअङ्सी सिरिजङ्गा, लालसोर सेन्दाङ, इमानसिंह चेम्जोङहरूको त्यागलाई सम्झिन्छु र चित्त बुझाउँछु अनि फेरि काममा जुट्छु । दुःख भए पनि हाम्रो जाति र समाजको उज्यालो भविष्यको आशाले त्यस्ता दुःख, थकान, घरीघरी हुने दुःखद घटनाहरूलाई विर्सने गर्दछु ।

लिम्बूहरू नेपालमा बसून् कि भूटानमा बसून् अथवा सिक्किममा बसून् कि संसारको कुनै ठाउँमा बसून् । हामी सबैको पुग्ने ठाउँ त उही हो – हामी शिक्षित बन्ने, सभ्य बन्ने, सुसंस्कृत हुने तर हाम्रो पहिचान कायम राखेर नै यी सब गर्ने हो अनि हाम्रो भाषा, साहित्य, संस्कृति र धर्मलाई युगौयुगसम्म बचाइराख्ने । यसमा मैले भेटे देखेका लिम्बूहरूमा एउटै विचार र व्यवहार पाएको छु।

लिम्बू साहित्यको बारेमा तपाईको कस्तो अनुभूति छ ? 
कालेबुङ, दार्जिलिङतिर मूलरूपमा सिक्किमतिर लिम्बू भाषा साहित्यको विकास पहिला भयो । नेपालमा २०४६ सालपछि मात्र यस्तो काम सुरु भयो । तर जता, जहिले, जसले, जसरी गरे पनि यी कामहरू राम्रोको लागि भएका हुन् । त्यसैले मलाई त भाषा, साहित्य, संस्कृतिमा भएका काम सबै राम्रा लाग्छन् ।


अहिले आएर भाषा, साहित्य मात्र होइन थुप्रै गीति सङ्गालोहरू निस्किरहेका छन् । तरेबा, थःत्थामा, मासेमी, लुङ्मा तुक्किल्ले, नुमाफुङलगायतका चलचित्रहरू लिम्बू भाषामा बनिरहेका छन् । यी सबै कामले लिम्बू सभ्यतालाई धनी बनाइराखेको छ ।

नयाँ पुस्तालाई तपाईको सुझाव के छ? 
यलम्बर हाङले नेपाल राज्य स्थापना गर्दाको दुःखलाई हाम्रा सन्तानहरूले सम्झून्, काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिको रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून्, थाकथाकु माबुहाङका उपदेशलाई व्यवहारमा उतारून्, बाजाहाङको प्रजातन्त्र प्रेमलाई आत्मसाथ गरून्, त्येअङ्सी सिरिजङ्गा अनि इमानसिंह चेम्जोङको त्यागलाई नविर्सून् । नयाँ पुस्ता हाम्रा पुर्वजहरूले देखाएको बाटो हिँडून् ।

तपाईले धेरै त पढ्नु भएन छ नि ? 
मेरा चारजना भाइहरू पहाडमै मरे । म घरको जेठो, घरमा काम गर्ने भने कै म आफैं थिएँ । हाम्रो परिवार विरक्तिएर मधेसतिर झरेपछि पनि सानोमा म बाँदर रुँग्दै ठीक्क भयो । हामी जङ्गलको बीचमा बसेकाले स्कूल टाढा थियो । त्यसैले मले पढ्न सकिनँ । पहाडमा कक्षा ५ सम्म पुगेको मेरो पढाइ नै मेरो जीवनभरिको औपचारिक शिक्षाको अन्तिम खुड्किलो हुन पुग्यो ।

तान्छोप्पा, वर्ष १०, अङ्क ११, विहिवार, ९ कात्तिक २०६२ (26 Oct. 2005) ।

Monday, May 25, 2020

'रिक्सा' देखि 'यू–की'सम्मको यात्रा ! सिङ्गापुरका प्र.म. लि क्वान यू – "गुड–मर्निङ" भन्थे ! –के.बी. खोयाहाङ

'रिक्सा' देखि 'यू–की'सम्मको यात्रा ! सिङ्गापुरका प्र.म. लि क्वान यू – "गुड–मर्निङ" भन्थे !
–के.बी. खोयाहाङ

के.बी. खोयाहाङ अर्थात् खड्ग बहादुर खोयाहाङ । २०१५ असार १९ मा जन्म । जन्मस्थान हो डुम्रिसे–४, सेक्रे, ताप्लेजुङ । पाको नाम पदमधोज खोयाहाङ लिम्बू र माको नाम  हाङमा खोयाहाङ (काम्बाङ) लिम्बू । २०२२ देखि डुम्रिसे प्रा.वि.मा  शिक्षा आरम्भ । २०३२ मा सिङ्गापुर पुलिसमा जागिर प्रवेश र त्यहीं उच्चशिक्षा अध्ययन । छ वर्षपछि सिङ्गापुर पुलिस सेवाबाट अवकाश । बहरेनमा २ वर्ष सेक्युरिटी गार्डको जागिरे जीवन । ४ वर्ष जापानमा व्यतित । २०४६ देखि Subba Shree K.B. Trade Concern नामक संस्था मार्फत व्यापार व्यवसायमा प्रवेश गरी २०४९ मा Nepal East-West Travel को स्थापना । २०५१ मा Subba Nepal Trading Pvt. Ltd.  को स्थापना । सन् १९८८ देखि १९९८ सम्म जर्मनमा व्यापार । सन् १९९८ देखि नेपाली उत्पादनको Show Room क्यानाडामा सञ्चालन । बागमती गेष्ट हाउस मार्फत् होटल व्यवसायको अनुभव मात्र होइन जीवन बाँच्न एक समयमा रिक्सा चालकसम्म भएका खोयाहाङ हाल नेपालमै सबभन्दा बढी नुडल्स उत्पादन क्षमता भएको Kanchenjunga Processed Foods Pvt. Ltd. स्थापना गरी यू–की तयारी चाउचाउ बजारमा ल्याउन सफल हुनुभएको छ । किरात याक्थुङ चुम्लुङ र किरात धर्म तथा साहित्य उत्थान सङ्घका आजीवन सदस्य रहनुभएको र जीवनको छोटो समयमा ज्यादै उकाली ओराली खेप्दै एक उदीयमान उद्योगपतिको रुपमा अगाडि बढिरहनुभएका के.बी. सुब्बासँग तान्छोप्पा साप्ताहिकका लागि अमर तुम्याहाङ र अइन्द्रसुन्दर नेम्बाङले लिनुभएको अन्तर्वाताको सार सङ्क्षेप ।

ता– चाउचाउको ज्यादै प्रतिस्पर्धाको वर्तमान बजारमा यू–की तयारी चाउचाउ ल्याउनुभएको छ । उपभोक्ता बीचमा यू–कीलाई कसरी स्थापित गर्ने योजना बनाउनुभएको छ ?
के.बी.– नेपालमा तपाईंले भनेजस्तै नुडल्सको बजारमा ज्यादै प्रतिस्पर्धा छ किनभने नेपालमा निक्कै सङ्ख्यामा नुडल्स उद्योगहरू स्थापना भएका छन् र हुँदै पनि छन् । यही नुडल्सको भिडमा यू–की चाउचाउ लिएर कञ्चन्जङ्घा नुडल्स उद्योग उपभोक्ताहरू माझमा आएको छ । तर हामी प्रतिस्पर्धामा खरो उत्रिने कुरामा विश्वस्त भएर आएका छौँ । हामीले यु–की चाउचाउ उत्पादन गर्नु अघि बजारको लामो अध्ययन समयसम्म गरेका छौँ । यो अध्ययनबाट चाउचाउको बजारमा गुणात्मक चाउचाउको अभाव देख्यौँ । त्यही गुणात्मक चाउचाउको अभावलाई पूर्ति गर्ने हाम्रो प्रथम लक्ष्य हो । जब हामी गुणात्मक चाउचाउ उपभोक्ताहरूलाई दिन्छौँ तब हामी स्थापित नहुने त कुरै छैन । यू–की गुणात्मक चाउचाउको एउट उत्तम नमूना हो । यही कुरा उपभमेक्ताहरूलाई महसुस गराउँछौँ । थप कुरा यु–की चाउचाउ नेपाली नुडल्स उद्योगमा पहिलो पटक मेटालिक ¥यापरमा आएको छ ।
Image source: Google.com


ता– कञ्चन्जङ्घाको यु–की चाउचाउको उत्पादन प्रविधि कुन देशको हो ?
के.बी.– मेसिनहरू जापान र चीनबाट आयात गरिएका हुन् । प्रविधि चाहिँ नेपाली नै भन्दा अत्तियुक्ति नहोला किन भने हामीले प्रविधिको लागि कुनै देशको उद्योगको सहयोग लिएका छैनौँ तर संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा तोकिएको गुणस्तर कायम गरेका छौँ । कच्चा पदार्थ र श्रमशक्ति सबै नेपाली हो । नेपाली प्रविधिलाई कायम राख्न हामीले ध्यान दिएका छौँ । यसको लागि कम्पनीको मेसिनहरू नेपाली प्रविधि अनुसार बदल्न (modification) कम्पनीको प्रबन्धक रमेश घिमिरेजी चीन जानुभएको थियो । हाम्रो कम्पनीको मेसिन नेपाली नुडल्स उद्योगको सबैभन्दा बढी उत्पादन क्षमता भएको मेसिन पनि हो ।

ता– हिजो–आज नेपालका उद्योगहरू धमाधम बन्द भइरहेका छन् । यस अवस्थामा तपाईंको नयाँ कञ्चन्जङ्घा नुडल्स उद्योग कसरी टिकाउनु हुन्छ ?
के.बी.– देशको वर्तमान राजनीतिक स्थितिलाई हेर्दा यो प्रश्न ज्यादै स्वाभाविक छ । देशमा हिजो जुन किसिमको राजनीतिको स्थिति सिर्जना भएको थियो आज त्यो स्थिति छैन । अर्थात् सुध्रिएको छ जस्तो लाग्छ । तर सत्य कुरा के हो भने देशको राजनीतिक कारणले कतिपय उद्योग बन्द भए, हुँदैछन् र हुनेछन् । तर कञ्चन्जङ्घा नुडल्स उद्योग गुणमा विश्वास गर्छ । यसो भएकोले उपभोक्ताहरूले युकी चाउचाउको गुणको सही मूल्याङ्कन गरिदिनुभयो भने हामी सफल हुने कुरामा कुनै शंका छैन । मेरो भनाइको अर्थ हो हाम्रो उद्योगको भविष्य उपभोक्ताको हातमा छ । अन्य कारणले चाहिँ यो उद्योग बन्द हुँदैन ।

ता– लिम्बूहरू विदेश या लाहुर गएर पैसा कमाउने तर उद्योगधन्दामा नलाग्ने सामान्य चलन विपरित तपाईं कसरी यतातिर लाग्नु भयो ?
के.बी.– शुरुमा तपाईले भनेजस्तै म पनि लाहुर नै गएको हुँ । तर पछि हाम्रो जातिको सामान्य ट्रेन्ड विपरित म यतातिर लागेँ । यसको प्रथम कारण साथीहरूको कारणले भन्नुपर्ला । दोस्रो चाहिँ अवसरले पनि हो । म जुन बेला जर्मनमा थिएँ त्यसबेला एउटा जर्मनी कम्पनीबाट मखमली (velvet) टुरिस्ट क्यापको असीमित सङ्ख्याको अर्डर पाएँ । त्यसमा उत्साहजनक फाइदा भयो । त्यसले अगाडि बढ्न ठूलो उत्साह दियो ।

ता–तपाईंको शुरुको लगानी कति थियो ?
के.बी.– शुरुको लगानी २५/२६ लाख जति थियो ।

ता–सरकारले पर्यटन विकासको लागि विभिन्न सुविधाका प्याकेजहरू ल्याएको छ । सङ्कटकाल पनि यही समयमा घोषणा भएको छ । यी दुवैको प्रभाव पर्यटन व्यवसायमा कस्तो छ ?
के.बी.– सङ्कटकाल लाग्नु अघिभन्दा त्यसपछि केही पर्यटक समुहहरू फाटफुट आएका छन् । सरकारले पर्यटकहरूका लागि नयाँ हिमाल र क्षेत्रहरू खोल्नुका साथै सुविधाहरू दिने घोषणा गरेको छ । चाइना र भारतको लागि विशेष प्याकेज अगाडि सारिएको छ । तर आशातीत प्रगति हुन सकेको छैन ।

ता– सुब्बा के.बी. कन्सर्न र सुब्बा नेपाल ट्रेडिङ कम्पनीमा के फरक छ ?
के.बी.– सुब्बा श्री के.बी. कन्सर्न प्रोप्राइटरसीप संस्था हो जसबाट मैले मेरो व्यवसाय आरम्भ गरेँ । तर सुब्बा नेपाल ट्रेडिङ कम्पनी भनेँ फ्लोरिङ र फर्निसिङ निर्यात आयात गर्ने संस्था हो ।

ता– क्यानाडाको शो रुम कसरी चलेको  छ?
के.बी.– राम्ररी नै चलेको छ । यसले नेपाली उत्पादन विदेशमा पु¥याउने काम गरेको छ । नेपालको छवि व्यापारिक कोणबाट उठाएको छ । यसको सकारात्मक पक्ष के भने त्यहाँ पनि नेपालीहरूलाई नै कर्मचारीको रुपमा नियुक्त गरिएको र रोजगारी दिइएको छ ।

ता– सिङ्गापुर बसेको र पढेको कुरा गर्न‘भयो ? तपाईं त्यहाँ कसरी र किन जानुभयो ?
के.बी.– सिङ्गापुर पुलिस फोर्समा भर्ती भएर म सिङ्गापुर पुग्ने अवसर पाएको हुँ । म २०३२ सालमा सिङगापुर पुगेको थिएँ । त्यहाँ हामीले पुलिस ड्रेसमै ड्युटी गर्नुपथ्र्यो । यही मौकामा मैले त्यहाँको तत्कालीन प्रधानमन्त्री लि क्वान यूको घरमा पुरापुरी तीन वर्ष ड्युटी गरेँ । त्यसबेला मैले लि क्वान यु सारै स्थिर स्वभावको व्यक्तित्व पाएँ । मैले लि क्वान यु कहिल्यै हाँसेको पनि पाइनँ र कहिल्यै रिसाएको पनि पाइनँ । उहाँको त्यो स्वभाव देखेर अहिले पनि सम्झन्छु,– कस्तो आश्चर्य लाग्दो व्यक्तित्व होला भनेर । तर हामीले Good Morning भनेर सलोट गर्दा उहाँ पनि Good Morning चाहिँ भन्नुहुन्थ्यो । सिङ्गापुरे नागरिकहरू सिभिल ड्रेसका पुलिस हुन्थे तर नेपालीहरू चाहिँ डे«ससहित हुन्थे । तिनै नेपाली जो ड्रेसमा हुन्थे ती पुलिसहरूले लि क्वान यु सवारीमा ट्राफिक क्लियर गर्थे ।

पढाइको सम्बन्धमा त्यहाँ हामीले ड्युटीपछि एक दिन छुट्टी पाउँथ्यौँ । त्यही छुट्टीमा पढ्न चाहनेहरू पढ्न जान पाउने नियम थियो । यसैले गर्दा मैले पनि पढ्ने मौका पाएँ । गोरखा क्याम्पमा पनि पढ्न पाइन्थ्यो । तर मैले चाहिँ बाहिर पढेँ । यही पढाइकै क्रममा स्पोर्टस्तिर पनि ष्लतभचभकत दिएँ । यही क्रममा म संलग्न भएको समुहले भलिबल, बास्केट बल र रस्सी तान्नेमा पुरस्कार पाएको थियो । यसमा भलिबल र रस्सी तान्नेमा प्रथम र बास्केटबलमा दोस्रो भएको थियो । यिनै खेलमा पाएका कप र प्रमाणपत्रहरू सिङ्गापुरको सक्झनाको रुपमा सजाएर राख्ने गरेको छु ।

ता– किन तपाईं छ वर्षमै सिङ्गापुरबाट फर्किनुभयो ? यसमा तपाईंलाई दुःख लागेको छ कि ?
के.बी.– शुरुको कुरा भनौँ कि समस्या भनौँ, त्यो सामान्य थियो । सेवा गरेपछि प्रोमोशनको कुरा हुन्छ । प्रोमोशन सिनियरिटीको आधारमा हुन्छ । तर प्रोमोशन भएन भने निवेदन दिन पाउने नियम छैन । तर एक पटक मेरो पल्टनमा यस्तै घटना घट्यो । यो नेपालको पूर्व र पश्चिमको क्षेत्रीय कुराले भएको थियो । पूर्वको एक जना साथी सिनियर थियो । दुःखको कुरा पश्चिमको जुनियर साथीको प्रोमोशन भयो । यसमा प्रोमोशनमा नपरेको पुर्वको साथीले असन्तोष प्रकट गर्दै निवेदन दियो । पुर्वको भनेपछि म लगायत ८६ जना थियौँ । यही सन्दर्भमा एक दिन ड्युटी गइएन । ड्युटी नगएपछि सिङ्गापुर पुलिस फोर्सको नियम के छ भने ड्युटी नजानेले राजीनामा दिनुपर्छ र युनिटबाट डिस्चार्ज हुनुपर्छ । यही प्रक्रियाम हामी प¥यौँ । तर मलाई यो घट्नामा कुनै दुःख छैन । यसपछि मैले धेरै सङ्घर्ष गरेको छु र यो अवस्थामा आइपुगेको छु ।

ता– जीवन बाँच्न धरानमा रिक्सा पनि चलाउनु भयो भन्छन् नि ?
के.बी.– जीवन बाँच्ने क्रममा मैले सामान्य नागरिकले जे जे काम गर्छन् ती सबै काम गरेको छु । ताप्लेजुङ जिल्लाको डुम्रिसेको सेक्रे भन्ने दुर्गम ठाउँमा जन्मेको मैले के गरिन र ? हलो जोतिन कि, घाँस–दाउरा गरिन कि ? भारी बोकिन पो कि ? म १३ वर्ष छँदाको कुरो हो । त्यतिबेला गोपेटारको सडक बनेको थिएन । त्यस बेला नुन तेल लिन बिजनबारी या दार्जीलिङ जाने चलन थियो । म पनि गाउँलेहरूको साथ लागेर बिजनबारी नुन बोक्न हिडेँ । ४० के.जी. नुन बोकेको थिएँ । १३ वर्षको बिचरो ठिटो न परेँ । नुनको भारी लिएर आउँदा आउँदै फालेलुङमा हिउँ पर्न‘का साथै हावा पनि चल्न थाल्यो । म त रुन थालेछु । जाडोले रोएपछि साथीहरूले जिस्काए अनि रुन छोडेँ । तर त्यो घट्ना मेरो दिमागमा कहिल्यै नमेटिने गरी बसेको छ । यसपछि सिङ्गापुर गएँ । सिङ्गापुरपछि  बहराइन र जापान गएर फर्केपछि रेष्टुराँ चलाएँ । तर भविष्य नदेखेर छोडेँ । त्यसपछि शुरु भयो रिक्सासँगको जीवनयात्रा । मैले पाँचवटा रिक्सा किनेँ । अरुलाई पनि चलाउन दिएँ र आफैले पनि चलाएँ । त्यस बेला धरानमा रिक्सा चलाउने सबै मेरा साथी थिए । अहिले पनि धरान जाँदा उनीहरू पुरानो कुरा झिकेर मलाई जिस्काउँछन् । मलाई कस्तो आनन्द लाग्छ भने म त्यो आनन्द शब्दमा व्यक्त गर्न सक्दिन । छुट्टिने बेलामा उनीहरू मलाई भन्छन्–तपाईं त साहुजी हुनुभयो हामी चाहिँ रिक्साको टायरसँगै खिइरहेका छौँ ।

ता– त्यसो भए जीवनको त्यो मोडसँग तपाईंको भावुक सम्बन्ध रहेछ हैन ?
के.बी.– जीवनको त्यो मोडसँग इष्र्या लाग्छ । तर अब त्यो स्मृतिमा मात्र सजाउन र रमाउन सक्छु ।

ता– त्यस बेला अहिलेको अवस्थामा आइपुग्छु होला भनेर कहिल्यै सोच्नु भएको थियो ?
के.बी.– उद्योगपति नै हुन्छु भनेर चाहिँ मैले त्यस बेला सोचेको थिइनँ । तर ममा एउटा अहम् चाहिँ जहिल्यै पनि जागिरह्यो र जागिरहेकै छ । त्यो के भने ठूल्ठूलो सफलता पाउने व्यक्तिहरू अन्य ग्रहबाट आएका छैनन् । उनीहरू यही परिश्रम गरेर सफल भएका हुन् । शायद यो अहम्ले पनि मलाई यहाँ पु¥यायो होला । तर योभन्दा साथीहरूको सहयोग र आमा, बाबु अनि दाजुको आशीर्वादको बढी महत्व छ म यहाँ पुग्नुमा ।

ता– नेपाल बाहिर पनि यू–की चाउचाउ लाने तयारीमा हुनुहुन्छ ?
के.बी.– अँ, नेपाल बाहेक अन्य देशमा पनि यू–की चाउचाउ लाने तयारीमा छौँ । हामीले भारत, भुटान, बङगलादेश र हङकङमा बजार विस्तार गर्दैछौँ । यसपछि क्यानाडामा पनि बजार विस्तार गर्नेछौँ । यी देशहरूको बजार अध्ययन गरी आवश्यक तयारी गरिरहेका छौँ ।

ता– सरकारले उद्योगीहरूलाई के सहयोग गर्नुपर्छ ?
के.बी.– नेपालका उद्योगीहरूको उद्योग वाणिज्य सङ्घ छ । उद्योग वाणिज्य सङ्घ र सरकारको बीच सहयोगात्मक सम्बन्ध हुनुपर्छ । सरकारले नेपालको उद्योग क्षेत्रलाई आवश्यक सुविधा उपलब्ध गराउनुपर्छ ।

ता– हालसालै सरकारले सुरक्षा कर बढाएको छ । यसले उद्योग क्षेत्रमा कस्तो असर पारेको छ ?
के.बी.– यसले उद्योग क्षेत्रलाई नकारात्मक असर पारेको छ ।

ता– तपाईं उद्योगपतिको नाताले सरकारलाई के सुझाव दिनुहुन्छ ?
के.बी.– नुडल्सकै सन्दर्भमा भन्ने हो भने कृषि उत्पादनमा भ्याट नलगाउने भन्ने थियो । अहिले आएर सरकारले अचानक कृषि उत्पादनमा पनि भ्याट लगाइदियो । यसले सरकारी नीतिको उल्लंघन त भयो नै । त्यति मात्र हैन, यसबाट कृषकहरू मात्र हैन कृषि उत्पादित कच्चा पदार्थमा आधारित उद्योगहरूलाई पनि मार परेको छ  त्यसैले यसमा सरकारले पुनः विचार गर्नु‘पर्छ ।

ता– तपाईंको कम्पनीबाट अन्य ब्राण्डका नुडल्सहरू पनि आउँदैछन् ?
के.बी.– अँ, आउँदैछन् । स्न्याक्समा "मिक्की स्न्याक्स" ५० ग्राम र ३५ ग्राम पनि आउँदैछ । अहिले चिकेन बेसमा यू–की आएको छ । अब यसलाई भेज बेसमा पनि ल्याउँदैछौँ ।

ता– यो सङ्कटकालको सन्दर्भमा सरकार र आतंककारी घोषित माओवादीहरूलाई के सुझाव छ ?
के.बी.– माओवादीको आतंक र सङ्कटकालले धेरथोर सबै नेपालीहरूलाई असर गरेको छ । यो पीडादायी अवस्थालाई सरकारले अन्त्य गर्नुपर्छ । जनता र उद्योगहरूको सुरक्षा प्रदान गर्नुपर्छ । माओवादीहरू शान्तिपूर्ण बाटोमा आउनुपर्छ । उद्योग व्यावसायीहरूले सुरक्षित महसुस गर्ने वातावरण तयार बनाउनु पर्छ । उद्योगहरू आक्रमणमा परेमा बेरोजगारी बढ्नेछ र देशको आर्थिक स्थिति नै डामाडोल हुन्छ । यतातिर सबैले ध्यान दिनुपर्छ ।

ता– तपाईंलाई ज्यादै दुःख लागेको र खुशी लागेको क्षण बताइदिनु हुन्छ कि ?
के.बी.– १७/१८ वर्ष अघिको कुरो हो ।  बहराइनबाट आएपछि बागमती पुल छेउमा बागमती गेष्ट हाउस चलाएर बसेको थिएँ । त्यस बेला मेरो एक जना साथीले ठूलो रकम फसाइदियो जसको कारण करिब म जिरो अवस्थामा पुगेँ । त्यस बेला म लोग्ने मान्छे भएर पनि सारै धेरै रोएको थिएँ । मन थाम्नै नसकेर धेरै दिन रोएँ । यो नै मेरो जीवनको दुःखद क्षण मानेको छु । अब खुशीको सन्दर्भमा चाहिँ सपरिवार बसेर गफगाफ गर्दै खानपान गर्दा जुन आनन्द र सन्तुष्टी पाउँछु त्यसको तुलना अन्य मेरा खुशीसँग हुन सक्दैन ।

ता– हामीले त धेरै प्रश्नहरू सोध्यौँ ।  तान्छोप्पा मार्फत्  तपाईंले भन्नै पर्ने केही  कुरा छुट्यो कि ?
के.बी.– यस पटक यू–की चाउचाउ बजारमा ल्याउँदा आयोजना गरिएको मोटरसाइकल ¥यालीको लागि किरात याक्थुङ चुम्लुङ काठमाडौँ र ललितपुर, किरात धर्म तथा साहित्य उत्थान सङ्घसँग सहयोग मागेका थियौँ । त्यो कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । यो सफलता उहाँहरूकै सहयोगबाट सम्भव भएको हो । यो उहाँहरूकै सफलता हो । उहाँहरूको यो सहयोगको लागि म आभार व्यक्त गर्दछु ।
तान्छोप्पा, वर्ष ७, अङ्क २,   बिहिबार, ९ फागुन २०५८ (21 Feb. 2001) पेज ५

Thursday, May 21, 2020

लिम्बु लोक बाजा तथा लोकभाकाहरू

– अमर तुम्याहाङ/भीमा खजुम 'मुसुम'  

१. विषय प्रवेश

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक (नेपालको अन्तरिम संविधान, २०६३ः २) मुलुक हो । राष्ट्रिय जनगणना २०५८ आनुसार ९२ भाषा बोल्ने १०३ जातजाति (SY Book of Nepal 2009: 25-34) बसोबास गरेबाट नेपाल मुलुक आकारमा सानो भए पनि वैविध्यताले विशाल तर एकताको भावनात्मक सुन्दर मालामा गाँसिएर हिमाल, पहाड र तराई–मधेसको भौगोलिक तरेलीमा शोभायमान छ । हरेक जातिको आआफ्नै रहनसहन, पहिरन, गहनापात, लोकविश्वास, लोकबाजा, लोकसाहित्य, लोकगीत, लोकभाका, परम्परा, संस्कृति, धर्म आदि रहेका छन् । ती जातिहरूमध्ये विभिन्न सांस्कृतिक सम्पदाले सम्पन्न लिम्बू जाति एक हो ।

लिम्बु समामा विविधअवसरमा बजाइने, गाइने, नाचिने विभिन्न प्रकारका लोकबाजा, लोकगीत र लोकभाकाका साथै लोकनृत्यले लिम्बु सामाजिक जीवन मनोरञ्जनपूर्ण बनाएको छ भने लिम्बू समाजमा विद्यमान धार्मिक, सांस्कृति तथा अनुष्ठानिक महत्व बोकेको मुन्धुमले त लिम्बू जातिको गहन दार्शनिकता अभिव्यञ्जित गरेको छ ।

यस कायपत्रमा किरात र लिम्बू जातिको सम्बन्ध, लिम्बू जाति, लिम्बू संस्कृति, लिम्बुलोक बाजा, लिम्बू लोकभाका सङ्क्षिप्त छलफल गरिनुका साथै लोकबाजा तथा भाकाहरूको सम्भावना र चुनौतिबारेमा चर्चा गरिने छ ।

२ किरात जाति

ऋगवेद, अजुर्वेद, महाभारत र प्राचीन ग्रिक इतिहास (किर्हदायी/किर्हादी) मा उल्लेख भएको किरात विश्वका प्राचीनतम जातिहरूमा एक हो (काइँला, २०६०ः १८)। गोपालराज वंशावलीअनुसार ३२ पुस्ता (गोपालराजवंशावली, पृ.३२), कर्कपेट्रिकका अनुसार २७ पुस्ता (कर्कपेट्रिक, १८११ः २५९–२६०), भेन्सिटार्ट (Vansittart, 1906: 21) र राइटका अनुसार २९ पुस्ता (वालचन्द्र शर्मा २०३३ः ६४), प्रेमबहादुर माबोहाङका अनुसार ३३ पुस्ता (सुब्बा र ढुङ्गेल, २०४७ः ४८ र ७५) किरात राजाहरूले नेपाल उपत्यकामा शासन गरेका थिए (तुम्याहाङ, २०१०ः २३१) । लिच्छविहरूबाट पराजित भएपछि किरातहरू यत्रतत्र लागे । नेपाल खाल्डोबाट विस्थापनपछि पूर्वी पहाडै पहाड लागेका किरातीहरू मध्ये लिम्बू जाति एक हो । इतिहासको पछिल्लो कालखण्डको किरात प्रदेश बारेमा नारायणप्रसाद सङ्ग्रौला डा. चैतन्य सुब्बालाई उधृत गदै लेख्छन्, ‘काठमाडौँ पूर्वमा किरातहरू बसोबास गरेको क्षेत्रलाई काठमाडौँ उपत्यका पूर्व बनेपादेखि लिखु खोलासम्मको सम्पूर्ण पहाडी क्षेत्रलाई ‘वल्लो किरात’, लिखुखोलादेखि अरुण नदीसम्मको भागलाई ‘माझ किरात’ र अरुणनदीदेखि मेची नदी एवम् सिंगिलिला पर्वतको पश्चिमी पानी ढलोसम्मको भागलाई ‘पल्लो किरात’ भनिन्छ (सङ्ग्रौला, २०६७ : ११) ।’ किरात जातिअन्र्तगत वल्लो किरातमा कोँइत या सुनुवाुर, हायु, जिरेल, सुरेल आदिको बसोबास रहेको छ भने, माझ किरातमा विभिन्न खम्बु राईहरूको बसोबास रहेको छ अनि पल्लो किरातमा भने लिम्बू र याक्खाहरूको बसोबास रहेको छ ।

३ लिम्बू जाति 

भूगोलको आधारमा अरुणपूर्व आदिमकालदेखि बसोबास गर्ने भूमिपुत्रहरू नै लिम्बू जाति हुन् । लिम्बू जातिहरूले आफूलाई याक्थुङ् र आफू बसोबास गरेको भूमिलाई याक्थुङ लाजे (याक्थुङ देश) भनेको पाइन्छ । भवानी बराल र कमल तिगेला लिम्बू जातिको उदयको बारेमा लेख्छन् – ‘...लालमोहर र लिखित कागजातहरूमा शाही राजतन्त्र र तिनका भारदारहरूले लिम्बू र राई लेख्न सुरु गरे । विस्तारै अरुणपूर्वका किरातहरूले आफू याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताउँदै राय वा राई लेख्न छोडेर सबैले लिम्बू लेख्न थाले फलस्वरुप लिम्बू जातिको रुपमा उदय भयो (बराल र तिगेला, २०६४ः २७) ।’ २०५८ को राष्ट्रिय जनगणना अनुसार लिम्बूहरूको जनसङ्ख्या ३,५९,३७९ रहेको छ भने मुलुकको समग्र जनसङ्ख्यामा यसले १.५८% ओघट्दछ । समग्र लिम्बू जनसङ्ख्याको ३,३३,६३३ अर्थात् ९३.५७% प्रतिशतले आफ्नो मातृभाषा बोल्ने तत्याङ्ख रहेको छ ।

४. लिम्बू संकृति

‘कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टि’ (नेपाली वृहत् शब्दकोश, २०६७ः १२०९) नै संस्कृति हो । यस अर्थमा संस्कृतिको अर्थ ब्यापक रहेको प्रतीत हुन्छ । ब्राउन र हुडका अनुसार संस्कृति ‘विशिष्ठ मानव समुदायमा रहेका प्रतीकहरूको प्रणाली, अर्थ र विश्वदृष्टि हो (culture refers to the systems of signs, meanings and worldviews of particular groups of human beings), (2005: 183)। यसप्रकार संस्कृति भनेको समाजमा प्रचलित प्रणाली जसबाट मानव समुदाय दिशानिर्देशित हुने विषयवस्तुहरू हुन् भन्ने बुझिन्छ । हारालम्बसले राल्फलाई उधृत गरेअनुसार ‘सामुहिक जीवन पद्दति हो जुन सामुहिक रुपमा सिकिन्छ, आदान प्रदान गरिन्छ र एकपुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिन्छ (The culture of a society is the way of life of its members; the collections of ideas and habits which they learn, share and transmit from generation to generation)' (2010: 3)। संस्कृति स्थिर होइन, स्थानान्तरणीय हुन्छ । यी भनाइबाट संस्कृति क्षेत्रगत हिसाबले व्यापक, सामुहिक, मूर्त र अमूर्त (tangible and intangible) दुवै प्रकारका हुन्छन् । लिम्बु सांस्कृतिक विषयले पनि यसबाटा पार्थक्य राख्दैन । लिम्बू जातिको कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन, खानपान, लवाइखुवाइ, जीवन पद्दति, लोक विश्वास, लोकनृत्य, लोकसाहित्य, लोकबाजा, लोकगीत आदि नै लिम्बू संस्कृति हो भनी बुझ्नु सान्दर्भिक नै हुन्छ । यसो भए पनि यस पत्रमा लिम्बू समाजमा प्रचलनमा रहेका लोकबाजा र लोकगीतहरूको बारे मात्रै सङ्क्षिप्त चर्चा गरिने प्रयास गरिनेछ ।

५. लिम्बू सामाज पाइने लोकबाजाहरू

लिम्बु समाजमा पाइने लोकबाजाहरूमा च्याब्रुङ्, बिनायो, मुर्चुङ्गा, नगरा, थाल, बाँसुरी, मुरली, पातबाजा, झ्याम्टा, एकतारे, घन्टी, घँगला आदि हुन् (वैरागी, २०६०ः १४) । येहाङ लाओतीका अनुसार लिम्बू बाजाहरूमा के÷च्याब्रुङ, चेत्थ्या (थाल), कोम (बिनायो), मुफ्रो (मुरली), मेःप्प्राङ (बासुरी) र यलम्बर मुङ्ला (यलम्बर बाजा) आदि हुन् (२०६२ ः९०)। यस प्रकार लिम्बू लोक बाजाहरूमा च्याब्रुङ (के), ताङ्के या नेग्रा (नगरा), चेत्थ्या (थाल), पङ्गे, ताः, तुङ्गे, किङ्ना, कोम (बिनायो र मुर्चुङ्गा), मुफ्रो (मुरली), मेफ्राङ् (बासुरी), फेदुङ्ना (यलम्बर बाजा), तेत्लाभेक्वा, आदि रहेको पाइन्छ । यी बाजाको छोटो जानकारी निम्न अनुसार प्रस्तुत गरिएको छ । 

५.१ च्याब्रुङ (के)

‘के’को शाब्दिक अर्थ बाघ हो । आख्यानको आधारमा हङसिङ (खमारी रुख) को गिँडको बीच भाग खोली दुवैतिर बाघको छालाले मोरेर बनाइने एक प्रकारको बाजा हो । यसको आवाज सुरिलो बनाउनका लागि च्याब्रुङ काठको बीचमा सानो प्वाल पारी बेत या मलिबाँस खिपेको सानो सुइरो (पछिल्लो समयमा फलामको तार) घुसारेर त्यसको टुप्पामा पाङ्ग्रो अडाइएको हुन्छ जसलाई ‘लाइक्पा’ भनिन्छ । च्याब्रुङको एकापट्टि पञ्जाखोली हातले र अर्कोतिर पङ्गे (मसिना चाँप आकारको घन्टी भुन्डाइएको) काठको टुक्रा या गजोले बजाइने भएकाले च्याब्रुङ भित्रको राखिएको पाङ्ग्रोले पञ्चाले बजाउने पट्टि छुवाएर राखिन्छ र त्यसले आवाजमा परिर्वतन् ल्याउँछ । ‘के’लाई यसबाट निस्किने आवाजको अनुकरणत्मक शब्द ‘च्याङ्’ र ‘भुङ या भ्रुङ’ को संयोजनबाट च्याब्रुङ पनि भनिन्छ ।
Image source: google.com

मुन्धुम अनुसार तिगेन्जोङ्नाका छोराहरू नाम्सामी (मानव) केसामी (बाघ) बीच भएको युद्ध र केसामीको पराजय तथा मृत्युपछि उसको छालाबाट च्याब्रुङ बनाइएको आख्यान मुन्धुममा पाइन्छ । अर्को मुन्धुमी कथाअनुसार सोधुङ्गेन लेप्मुहाङका छोरा पाजाइबाले प्रथम घर बनाएपछि घुन लागी भत्कन थाल्यो र त्यो समस्या समाधानका लागि च्याब्रुङ बनाइएको (हाङ्वासाङ याक्थुम्बा, २०५८) हो । च्याब्रुङ्को उत्पत्ति ‘केदेम’ थरी लिम्बू जातिको उत्पत्तिसँग पनि जोडिएको पाइन्छ (पूर्ववत) ।

च्याब्रुङ धार्मिक कार्य जस्तै येबा–येमा, साम्बाको गुरुपूजा या याग्राङ्सिङ गाडेर गरिने अनुष्ठानहरूमा च्याब्रुङ याग्राङसिङमा अनिवार्य झन्ड्याई सुरुमा बजाउने गरिन्छ । कार्यहरू जस्तै घरपैँचो, विबाह, स्वागत्सत्कार आदिमा मात्र हुनेगर्दछ । च्याब्रुङ महिला र पुरुष दुवैले नाच्ने गर्दछन् ।

५.२ ताङ्के या नेग्रा (नगरा)

यो ‘ताङ्के’ (नगरा) तामाको भाँडामा गोरुको छालाको बनाइन्छ । नगरा तुङ्दुङ्गे साम्माङ (लिम्बु कुलदेवतामध्ये एक देवता) गर्दा बजाइन्छ । यसलाई अवस्था अनुसार एउटा गजो वा दुइटा गजोले बजाउने गरिन्छ । येहाङ लाओतीका अनुसार यो बाजा पहिलेपहिले ‘युद्ध घोषणा गर्दा र युद्ध समाप्त भएको घोषणा गर्दा सङ्केतस्वरुप बजाइने गरिन्थ्यो ।’ उहाँ उल्लेख गर्नुहुन्छ – यो पूर्णतः राजकीय बाजा हु“दा सेन राजा, शाह राजा र सिक्किमका भोटे राजाले पनि यो नगरा ‘राख्नु र बजाउनु’ भनी नेपाल र सिक्किमका लिम्बूहरूलाई पटकपटक लालमोहर र रूक्का गरिदिए (२०५८ः ९१–९२)। बिबि मुरिङ्ला (कुराकानी, २७ अक्टोबर २०११) को भनाइ अनुसार ‘दिमतेन तेसहाङ’ भन्ने लिम्बु अगुवाले सन् १८६० मा मनोरञ्जनात्मक नगरा बजाइको थप विकास गरेका थिए र त्यसलाई उनकै नामबाट ‘दिमतेन् तेसहाङ’ तालको नामले चिनिन्छ । लिम्बु समुदायमा धार्मिक कार्य, माङ्हिम (मन्दिर) को पूजापाटमा, विवाह (मूलतः सिक्किम)मा र मृत्युमा पनि नगरा बजाइन्छ । तर शुभ काम र अशुभ काममा बजाइने नगरको तालमा फरक पर्दछ ।

५.३ चेत्थ्या (थाल)

यो कुनै विशेष प्रकारको बाजा होइन । तर पनि लिम्बू समुदायका पुरोहितहरूमध्येका येबा (पुरुष बिजुवा)–येमा (महिला बिजुवा), साम्बा आदिले अनुष्ठान गर्दा बजाउनका लागि पातलो एक प्रकारको काँशको थाल प्रयोग गर्दछन् । काँशको थालको बीटमा सानो प्वाल पारी त्यसमा धागोले उनेर बाँधी त्यो धागो मूलतः चोरी औलामा सिउरिएर थालको अग्रभाग हत्केलामा पर्ने गरी झुन्डाइ बजाउने गरिन्छ । थाल बजाउनको लागि चारपाटे सानो काठको गजो बनाइ त्यसको टुप्पामा रङ्गी विरङ्गी धाजोको फुर्का झुन्डाइएको हुन्छ । यसको प्रयोगको आरम्भ येबा–येमा वा साम्बाको उत्पत्तिसँगै भएको मानिन्छ । तन्त्रमन्त्र गर्दा प्रयोग हुने बाजा हो तथापि आजकल कतिपयअवस्थामा गीत गाउँदा पनि सहायक बाजाको रुपमा प्रयोग गरिएको पाइन्छ ।

५.४ पङ्गे (घन्टी)

पङ्गेको सम्बन्ध पनि येबा–येमासँग नै रहेको छ । येबा–येमाले मालाको रुपमा यो पङ्गे लगाउने गर्दछन् । यी पङ्गेहरूको मूल पङ्गे भने येबा–येमा अन्तिम् तिम्सिङ्मा (येबा–येमा या साम्बा निस्किएको अन्तिम घोषणा समारोह) कार्यक्रममा गुरुले पारोबाट झारेर दिएको पङ्गे हुने विश्वास गरिन्छ । पूजापाठ गर्दा अनि गीत गाउँदा पनि सहायक बाजाको रुपमा पङ्गेको झुप्पा बजाउने गरिन्छ । पङ्गे मूलतः भित्री खोक्रो भएको गोलाकार स्वर्ण रङ्गको धातुभित्र आवाज निकाल्ने गोलो वस्तु राखिएको बनावटको हुन्छ । पङ्गेका श्रेणीहरू भिवन्न छन्ः करङ पःङ्गे, सिरिपःङ्गे, सिरिङ्पःङ्गे, घङ्घङ्ला पङ्गे (ठूलो आवाज दिने आकारमा पनि ठूलो घन्टी) आदि ।

५.५ ताः

ताः भनेको झ्याम्टा या झ्याली हो । ताःलाई लिम्बूहरूले यसबाट निस्कने आवाजको अनुकरणबाट ‘छेरेङमुक्’ र ‘साप्फङ्गा’ भनेर पनि नाम राखेको पाइन्छ । यो बाजा युमामाङको बाजाको रुपमा विश्वास गरिन्छ । ‘ताः’ च्याब्रुङ् नाच, हाङ्साम्लाःङ् र ‘माङ्लाःङ्’मा च्याब्रुङ अथवा ताङ्के (नगरा) का साथमा बजाएको पाइन्छ भने माङहिम्मा पूजा गर्दा पनि यसको प्रयोगमा भएको पाइन्छ ।

५.६ तुङ्गे

यो बाजा एकतारेजस्तै तर सानो आकारको हुन्छ । यो बाजा पनि युमासामको बाजाको रुपमा विश्वास गरिन्छ । यसको प्रयोग सत्यहाङ्मा पन्थीले बढी प्रयोग गरेको पाइन्छ । भजन गीतहरूमा यसको धून या सङ्गीत प्रयोग भएका छन् ।

५.७ किङ्ना

किङ्ना एक प्रकारको घन्टी नै भने पनि हुन्छ । यसको नामाकरण आवाजको आधारमा भएको देखिन्छ । यो फलम, काँश वा तामाको पातालाई गोलो आकार दिएर कुनै एक छेउमा प्वाल पारी झुन्डाएर गजोले बजाउने गरिन्छ । यो मूलतः सन्देश प्रवाह गर्न प्रयोग गरिने गरिन्थ्यो भन्ने भनाइ छ भने व्यवहारमा नगरासँग तालमा ताल मिलाएर बजाउने गरिन्छ । हाल आएर यसको बढी प्रयोग सिक्किमको लिम्बु समुदायमा रहेको पाइन्छ । शुभकार्य वा दुःखान्त दुवै अवस्थामा यसको प्रयोग भएको पाइन्छ तर बजाउने तरिकामा भने फरक हुने गर्दछ ।

५.८ कोम (बिनायो)

कोम अर्थात् विनायो लिम्बु जातिमा मालिङ्गोबाट बनाउने चलन रहेको छ । त्यसैले मालिङ्गोबाट बनेको कोमलाइ बिनायोको रुपमा फलामबाट बनेको कोमलाई भने लिम्बुहरूले मुर्चुङ्गाको रुपमा लिने गरेको पाइन्छ । पहिला पहिलाका तरुनी तन्नेरीले फुर्केदार डोरीको सहायताले तुनामा बाँधरे विनायो झुन्डाएर राख्ने गर्दथे । यसको बनावट र प्रयोगको बारेमा येहाङ् लाओती यसप्रकार उल्लेख गर्दछन् – भाटा (मालिङ्गोको फब्लेटो) को बीच भागलाई विशेष किसिमले खोपेर निकाली फेदपट्टि हातले समाउने र चुल्ठोमा बाँधिएको धागोलाई तान्दै दुई ओठबीचमा राखी ओठ र जिभ्रोको चालले विभिन्न आवाज निकाल्दै बजाइने किरात क्षेत्रमा प्रसिद्धि पाएको एक प्रकारको मुख बाजा हो । 

५.९ मुःप्फ्रो र मेःप्फ्राङ्

लिम्बू समाजमा मुःप्फ्रो (मुरली) र मेःप्फ्रा (बासुरी) निकै चलनमा रहेको बाजा हो । यी बाजाहरू विशेष युवा पुस्तका केटाहरूले आफू चाहेअनुसारको मुरली र बासुरी मूलतः गोपे बाँसबाट बनाएर बजाउने गर्दछन् । पाँचवटा मुरलीहरू लाइनै जोडेर बजाइने ‘काम्मुःप्फ्रो’ बाजा पनि लिम्बु समाज रहेको छ ।

५.१० फेदुङ्ना

लिम्बु सामाजमा प्रयोगमा रहेको अर्को बाजाको नाम हो ‘फेदुङ्ना’ । विशेष गरी हिउँदको समयमा भालुबाँसको लामो आँख्ला दुबैतिर आँखा पर्ने गरी काटेर दुई आँखाबीच तासेर बीचमा पर्ने गरी आयातकार प्वाल पारिन्छ भने तासेको दुई किनाराबाट दुइटा सानासाना केस्रा उठाई दुईतिर फेसाले उठाएर तान्काइन्छ । त्यसपछि बाँसको चोइटो राम्ररी खिपेर आयातकार प्वालको ठीक माथि क्रस हुने गरी राखिन्छ र बजाइन्छ । आवश्यकता फेदुङ्नामा रङ्ग या झिर आदिले रेखा कोरेर बुट्टेदार बनाई सजाइन्छ पनि । यसै बाजालाई यलम्बर बाजा पनि भनेको पाइन्छ ।

५.११ फेक्वामुङ (पातबाजा)

रुखपात पाउलो फेरेको बेलामा पाउलो पात बजाई विभिन्न आवाज निकालिन्छ । त्यसैलाई लिम्बु समाजमा फेक्वामुङ भनिन्छ । यसका साथै गहुँको डाँठबाट मुरलीजस्तै पिपिरि आवाज निकालिने गरिन्छ ।

६. लिम्बू समाजमा प्रचलित भाका तथा गीतहरू 

लिम्बू जाति प्रकृति पुजक हुन् । ‘विश्व व्रहमाण्ड तथा जलचर÷थलचर, किटपतङ्ग, चराचर सम्पूर्ण तागेरानिङ्वाफुमाङकै सृष्टि भएको र उन्नति÷अवनति गर्ने पनि तागेरानिङ्वाफुमाङ नै भएको हुँदा किरात – लिम्बू जातिहरूले तागेरानिङ्वाफुमाङ्को नाममा प्रकृतिलाई पुज्दै÷मान्दै आएका हुन् । लिम्बु जातिको जीवन सार मुन्धुम हो (लक्ष्मी सेर्माद्वारा तेजबहादुर मेन्याङ्बोलाई उधृत २०५८ः १)।’ यसको मतलब लिम्बू नाति प्रकृतिपुजक हुँदाहुँदै पनि उनीहरूसँग मुन्धुम शास्त्र पनि छ । मुन्धुममा उल्लेख भए अनुसार लिम्बू समाजमा गीत गाउने परम्पराको थालनी गर्ने आदिपुरुष सामकेलो–केलो केवाफुङवालाई मान्ने गरिन्छ ।

लिम्बू समाजमा प्रकृतिपुजनका तौरतरिका, भाखा, लय, मुन्धुम वाचनको छन्द र भाका पनि रहेकै हुन्छ । जनकलाल शर्माका अनुसार लिम्बूहरू ‘धार्मिक र तान्त्रिक कृत्यमा विश्वास राख्दछन् । जन्मदेखि मृत्युसम्मका धार्मिक कृत्य गराउने पुरोहितलाई उनीहरू ‘फेदाङ्मा’ भन्दछन् । ... फेदाङ्मा बाहेक ‘साम्बा’ ‘माङ्बा’ ‘येबा’ र ‘येमा’ पनि लिम्बू समुदायहरूको आफ्नै समुदायमा पुरोहित हुन्छन् जसले धार्मिक कृत्यबाहेकका तान्त्रिक कृत्य गराउँछन् । ... लिम्बूहरूका अरु देव, देवी, हंस, आत्मा र पुरोहितका सृष्टि कर्ता पनि ‘तागेरानिङ्वाफुमा’ नै मानिन्छन् (२०५८ः २७३)।’ यस्ता धार्मिक तथा तान्त्रिक कृत्य सम्पादन गर्ने क्रममा पुरोहितहरू विभिन्न भाकाहरू प्रयोग गर्दछन् । यस अर्थमा ती उल्लेखिन पुरोहितहरू पनि लिम्बू समाजमा रहेका भाखाहरूका प्रवर्तक हुन् । यसका साथै लिम्बू जाति ‘कृषिमा आधारित जीवनशैली अपनाउने जाति’ (अर्जुन लिम्बू र अन्य, २०५९ः १५) हो । यसर्थ कृषिजन्य मनोरञ्जनात्मक ङविभिन्न पर्व, उत्सवहरूका क्रममा हुने गायनमा पनि भाखाहरू आउने नै भए । लिम्बु समाजमा प्रचलनमा रहेका विभिन्न परिवेश र अवस्थामा प्रयोगमा आउने भाकाहरूमा माङ्घ, मुन्धुम्, तुवा, खाहुन्, नुवाप्मा, पालाम, ख्याली, हाक्पारे, पाङ्साम्लो, केसाम्, लालिङगे÷नामलिङ्गे, हामलाक्वा रहेका छन् । उल्लेखित भाखाहरूको प्रयोगात्मक विशेषताको आधारमा शास्त्रीय भाखा, लोक भाका, पर्वविशेषको भाका, वियोगान्त भाकाको रुपमा विभाजन गरी हेर्न सकिन्छ ।

६.१ शास्त्रीय भाका

शास्त्रीय भाका अन्तर्गत माङ्घ, मुन्धुम, तुवा, खाहुन आदि पर्दछन् ।

६.१.१ माङ्घ भाका

माङ्घ भन्नाले लिम्बू जातिले घरभित्र पुज्ने १५ वटा र घरबाहिर पुज्ने ३९ वटा विभिन्न माङ साम्माङ या देवीदेवता (काइँला, २०११ः १२) लाई पूजापाठ, सेवा अर्चना गर्नका लागि प्रयोग हुने लय वा भाका हो । यस्तो भाका देवताअनुसार फरकफरक हुन्छन् । यसरी नै सेवा अर्चनाको उठान, मध्य र वैठानमा लय या भाकाहरू पनि फरकफरक हुन्छन् । तर पनि यसको छन्दमा सामान्यतय फरक पर्दैन । माङ्घ छन्दको हरेक हरपमा ४ मात्राका हुन्छन् । जस्तै युमामाङ (बुढीबोज्यू) को आराधना गर्दा प्रयोग हुने भाकाको छन्दको नमुना ः
...सिजोराग
केÞइङ्मे सान्
पेलि थाङाङ्
पाःन्जाङ् थाङाङ् ...।। (अकिञ्चन, तिम्रो दूत, विन्ति विन्ति गर्न आएँ ।)

६.१.२ मुन्धुम भाका

Image source: google.com
मुन्धुम भनेको श्रुति परम्परामा आधारित धर्म शास्त्र हो । यहाँ मुन्धुम भाकाको प्रसङ्ग त्यही शास्त्र वाचन गर्दा प्रयोग हुने लय वा भाकासँग सम्बन्धित छ । थाम्सुहाङ पुष्प सुब्बा लेख्छन् – मुन्धुमको अनुप्रासयुक्त वाचन, लय आदिले गर्दा मुन्धुमले छन्दोवद्ध रुपमा लिम्बू लोक वाङमयको नेतृत्व गर्दै ल्याएको छ (२०५८ः २५)। मुन्धुम र यसको वाचन भाकाको प्रवर्तन मानवजातिको उत्पत्तिपछि बढ्दै गएको असभ्यता र पशुत्वपनलाई निराकरण गर्न येहाङले थुङसाप (वाच्यशास्त्र) र पेसाप मुन्धुम (लेख्य शास्त्र) प्रवर्तन गरेसँगै भएको विश्वास गरिन्छ । तीनराते देखि सात रातेसम्मको तङ्सिङ (अनुष्ठान) गर्दा निरन्तर मुन्धुम वाचन गरिने लय या भाकाको छन्द ५ अक्षरको हुने गर्दछ । सृष्टिसम्बन्धी मुन्धुममा आउने प्रसङ्ग यहाँ मुन्धुम भाखाको छन्द नमुनाको रुपमा प्रस्तुत छः 
...ताङ्साङ्ङाङ् होःप्तेÞ
इक्साआङ् होःप्तेÞ 
मुहङ्लिङ् नेÞस्सेÞ
खेÞहङ्लिङ् नेÞस्सेÞ ...।। 
(...आकास थिएन, धरती थिएन, तल शून्य थियो, माथि पनि शून्य थियो ।)

६.१.३ तुवा भाका

तुवा भनेको प्रार्थना हो । लिम्बू समाजमा तुवाको आरम्भ मुन्धुमको प्रथम मन्त्रद्रष्टा महात्मा येहाङको पालामा तागेरानिङ्वाफुमा माङको प्रार्थना गरेपछि सुरु गरेको विश्वास गरिन्छ । यसलाई निरन्तरता दिने महापुरुषहरूमा सोधुङ्गेन लेःप्मुहाङ, कान्देन्हाङ, माबोहाङ, सिरिजङ्गाहाङ, योङजङ्गाहाङ, त्यअङ्सी सिरिजङ्गा, फाल्गुनन्द आदिलाई लिने गरिन्छ । तुवा भाका १०÷१० मात्राको ३ हरप र ५ मात्राको १ हरप हुने गर्दछ । नमुनाको रुपमा येहाङको तुवा मानिएको यहा नमुनाका लागि प्रस्तुत छः
ओ ... सेसे माङ् साङ्साङ् माङ् तागेÞरा माङ् 
हिङ्सिगत् केजोःक्मा निङ्वाफु माङ् 
सिवादाङ्मा सिक्कुम् निङ्वा माङ्ङे
निङ्वा आबिरो ।।  
(सर्व पवित्र भगवान्, सृष्टिकर्ता तथा संहारक निङ्वाफुमाङ् सद्बुद्धि देऊ)।

६.१.४ खाहुन भाका

महात्मा येहाङ, लेप्मुहाङ, कान्देन्हाङ, माबोहाङ आदिले आफ्ना शिष्य र सकल मनुष्यहरूलाई उपदेश दिनेगर्दथे । त्यसरी उपदेश दिँदा सबैले ७ वर्णमात्रिक सूत्रमा आबद्ध भाकामा दिने गरिको पाइन्छ । यस प्रकारको अर्ती तथा दिव्योपदेशलाई नै यहाँ खाहुन भनिएको हो । येहाङ खाहुनको रुपमा विश्वास गरिएको खाहुन भाकाको वणमात्रिक छन्द नमुनाको रुपमा प्रस्तुत छः
खुःम्मा नाप्मा मेÞनु?नेÞन्
खेमा नाःप्मा मेÞनु?नेÞन् ।।
इल्लेÞक् चोःक्मा मेÞनु?नेÞन् 
आङ्दिङ् ल?मा मेÞनु?नेÞन् ।। 
(चोर्नु खोस्नु हुँदैन, बाझ्नु झुज्नु हुँदैन, मिथ्या बोल्नु हुँदैन, अहम गर्नु सुहाउँदैन ।)

६.२ लोकभाका

लोक भाकाहरूमा नुवाःप्मा, पालाम, ख्याली, हाक्पारे, सेसाम, पाङ्साम्लो आदिलाई राख्न सकिन्छ । यिनीहरूको बारेमा सङ्क्षिप्त विवरण निम्नअनुसार छन्ः

६.२.१ नुवाःप्मा भाका

नुवाःप्मा लिम्बु समाजमा शिशुलाई आमाले काखमा लिएर वा कोक्रोमा सुताएर नानीको निद्रा आओस् भनेर लिम्बू भाषामा गाइने लोरी गीत हो । यसको आफ्नै प्रकारको भाका हुन्छ । नुवाःप्मा लोक अर्थात् सर्वसाधारणले अधिक व्यवहार गर्ने भए पनि लिम्बु समाजमा यसको शास्त्रीय रुप पनि चिरस्थापित रहेको छ । साप्पोक् चोमेन् (कोक पूजा) र ससिक मुन्धुम (मोच मार्ने मुन्धुम) मा यसको प्रयोग हुने गर्दछ । नुवाःप्मा भाका ६ अक्षर वा वर्णमात्रिक सूत्रमा बाँधिएको हुन्छ । यसको नमुनाः
आओ मामु आओ
सुसु मिक्यु नाओ
नुनु लाजा मिक्को  
लाबा खेसे थारो ।। 
(आओ नानी आओ, निद चढ्यो मुहारमा, निदरी यो आँखामा, ताराजून साथमा ।)

६.२.२ पालाम भाका

Image source:google.com

युवायुवीहरू धाननाच नाच्दा गाउँने गीतलाई पालाम भनिन्छ र सो गीत गाउँदा गाइने पालामको भाकालाई भालामको भाका भनिन्छ । लिम्बू लोकगीत परम्परामा सबैभन्दै धेरै भाका भएको गीत पालाम नै हो । पालाम गीति भाकासँग सम्बन्ध राख्ने धाननाचको उत्पत्ति कृषि युगमा भएको विषण अनिकालका कारण धानको विउ सखाप भएपछि माक्चेरेपु (भँगेरी चरी) र अनिकाल पीडित मानवबीच भएको बाचा (पाकेको अन्नबाली भँगेराका भावी सन्तानले खाएमा मानिसबाट लखेट्न, मार्न नपाइने) पछि सुरुभएको मानिन्छ । भँगेरा अधिकमात्रामा बढेपछि भँगेराबाट मानिसहरूले या? (धान) को रक्षा गर्न धान बीचमा थुपारी वरिपरिबाट पङ्क्तिवद्ध भई माड्दै हाऽऽ हाऽऽ भनी भँगेरा धपाउने विधि कालान्तरमा धाननाचमा परिणत भएको लोकोक्ति रहेको छ । भँगेराबाट धानको बचाउको लागि सुरुभएको यो नाच र गायन हाल आएर प्रेमी प्रेमिकाबीचको पे्रमिल संवादको रुपमा विकास भएको छ । साइनो नलाग्ने युवायुवतीबीच मात्रै पालाम्को विभिन्न भाकामा धाननाच नाच्ने चलन छ । पालाम् भाकाको छन्दात्मक सूत्र प्रत्येक श्लोकमा ९ वर्ण वा अक्षरमा बाँधिएको हुन्छ । उदाहरणार्थः
सेÞन्छे्रÞङ्लालाग चादुमेÞल्लेÞ 
साङ्साङ्बा तेÞन्नो आदुमेÞल्लेÞ
तुम्मुइ इबिप्पा हेÞना रो
हुक्सोगेÞन्चिभाक्काङ सेÞवा रो ।। 
(मङ्सिरै महिना सहकाल, पवित्र थलमा भेटघाट, मिलनको खुशी अवसर, करकमल जोडी नमस्कार ।)

६.२.३ ख्याली भाका

ए– फक्ताङ्लुङ् पयम् फयेÞम्बा हाङ्से
सेसेलुङ् चम्जम् चङ्धोबा फुङ्से ।।१।। 
(उतुङ् कुम्भकर्ण हिमालझैँ गोरा हजुरहरू, कञ्चनजङ्घा माथिका पवित्र फूलहरू ।।)
यी लोक प्रचिलत ख्यालिका पङ्तिहरू लिम्बू जातिमा पाहुनालाई भोजन गराउँदा गरिने हेना (सत्कार) मा भनिने ख्यालिको क्रममा सम्भोधन गरिने श्लोकको नमुना हो । ख्यालि पद्यात्मक वातचित (काइँला, २०५९ः ११४) अथवा चुड्के ओठे जवाफ (मिक्वा, २०५८ः ६७) हो ।। धाननाच नाच्नुभन्दा पहिला तरुनी तन्नेरीहरूले एकआपसमा साइनो लाग्छ लाग्दैन भनेर सम्बन्ध केलाउँदा पनि ख्याली कै प्रयोग हुन्छ । ख्यालीको सन्दर्भ र विषयवस्तुका बारेमा थाम्सुहाङ पुष्प यसप्रकार उल्लेख गर्दछन्– ‘अवसरवस जहाँ जुन कार्यक्रममा जुन प्रसङ्ग उठ्यो यसले त्यसैलाई महत्व दिएर त्यसैको सेरोफेरोको प्रवाहमा बग्ने गर्छ । त्यसर्थ ख्यालीबाट मुन्धुम, आख्यान, उपदेश, माया पीरति, उल्लास, हीनताबोध आदि अनेक विषय वस्तुहरू र विविध अङ्कार एवम् रसयुक्ता आदर, सत्कारका गम्भीर र सरल अर्थात्मक विचारहरू व्याक्त गर्न सकिन्छ (थाम्सुहाङ, पूर्ववत्)।’ क्यालि भाकाको छन्द विधान १० अक्षरमा बाँधिएको हुन्छ ।


हाक्पारे भाका
ओऽऽ रिल्लो
एऽऽ तुत्तुगेÞन्गर ए तुम्म्याङ्हाङ् सासे !
एऽऽ याक्लागेÞन्गर ए सुहाङ्मा सासे !
एऽऽ उन्छोःन्ग उःन्छोःन् ए उनाबा उन्छोःन् 
एऽऽ मुरेÞङ्मु नेÞस्सेÞ खेÞरेÞलक् नÞेस्सेÞमु 
ओऽऽ रिल्लो

भावार्थ
ओऽऽ रिल्लो
एऽऽ आदरणीय भद्र भलाद्मीहरू हो !
एऽऽ आदरणीय महामान्वरहरू हो !
एऽऽ उहिलेमा उहिले धेरै नै पहिले
एऽऽ केवल सुनसान मात्र थियो रे । 
ओऽऽ रिल्लो

यहाँ आएको ‘एऽऽ’ बाट सुरु भएका पङ्क्तिहरू हाक्पारेको सहभागी पक्ष (पक्ष क वा ख) को मुख्य व्यक्तिले भन्ने गर्दछ भने ‘ओरिलो’ सामुहिक रुपमा भनिन्छ । काक्पारे गीत दुईपक्षबीच लामो स्वर तानेर गाइने पिशेषतः विरह वा सृष्टिसित सम्बद्ध गीत हो ।  दुईपक्ष पुरुष–पुरुष, महिला–महिला या महिला–पुरुष हुन सक्छन् । तुङ्दुङ्गे माङ थेप्मा (तुङ्दुङ्गे देवाताको आराधना) को आख्यान (याक्थुङ्बा, २०५८ः ८१) का साथै सोधुङहाङ (सोधुङ्गेन लेप्मुहाङ) की कान्छी छोरी इरेरे इधुक्नामाको देहावसानपछि उनी आकुलव्याकुल भएर विलाप गरे तर प्रजाहरूले भने त्यसलाई आलङ्कारिक रुपमा हाङ  पारे (राजा वाणी आयो) भनी राजाको लयात्मक रोदनलाई गीति लयको रुपमा अनुसरण गरे र कालान्तरमा त्यही हाङ पारे अपभ्रङ्स भएर हाक्पारे भएको (आङ्बुहाङ २०५८ः ४) प्रसङ्ग हाक्पारेको उत्पत्तिसँग जोडिएर आउँछ । यसका साथै इको वा प्रतिध्वनि गुञ्जिने लिम्बुवानको हाक्पारा ठाउँसँग पनि हाक्पारे गीत र भाकाको उत्पत्तिसँग जोडिन आउने अर्को प्रसङ्ग लोकमा प्रचलित छ । सन्तान वरदानको आराधना, फुङ्व चाङ्मा (तरुनी तन्नेरीको सिर उठाउने), दुलहादुलहीप्रति आशीष प्रदान, तङ्सिङ् मुन्धुमको हरेक खण्डखण्डको मुन्धुम वाचनको अन्यान्त सङ्केत आदिमा हाक्पारे भाका प्रयोग गरी गाइन्छ ।

६.२.४ केसाम भाका 

केसाम भाका च्याब्रुङ नाच नाच्दा गाइने गीतको भाका हो । केसाम भाकामा प्रयोग हुने गीतको नमुनाः
केसाम्ले लाःङ्ङिन् केसुम्लो 
नावासिङ् मिङ्सो तक्तुम्लो सरलै सरऽऽ, सरलै सरऽऽ ।।
(केसामको नाच नाचौँ है, सृष्टिको रीत थामौ है, सरलै सरऽऽ, सरलै सरऽऽ ।)
यो केसाम भाकामा गीत गाउँदा सामान्यतय च्याबु्रङ् नाच नाच्ने समूहको नाइकेले सुरु गर्ने र अन्यले पछ्याउने चलन हुन्छ । केसाम भाकामा गाइने गीतको मूल अंश ८ अक्षरको हुन्छ भने ‘सरलै सर सरलै सर’ चाहिँ गीतको पछि गाइने स्थायी अंश हो । 

६.२.५ पाङ्साम्लो भाका

पाङ्साम्लो भाका लिम्बू समाजमा परापूर्व कालदेखि मेलापत, घाँस, दाउरा गर्दा आफ्ना मनका बह अभिव्यक्त गर्दै गीतहरू क्रममा विकास भाएको भाका हो । यो १६ अक्षरको हुने गर्दछ । यसको नमूना यस प्रकार छ (तावा २०५८ः १०७) :
तक्सङ् नु तेम्भो सेमेक्वा पुइन् साम्लोइ हाःप्ल वा 
खामिक्पेल्ले तेप्तु इक्सा नु खाम्बेक् केनारा आत्तन वा ? 
(नेहुली चरी विरह गाउँदै लेख र औल धाउँदछ; बादलले छोप्यो पृथ्वी सारा, अनुहार तिम्रो कता छ ?)

६.३ पर्वविशेष भाका

पर्व विशेषमा गाइने भाकामा धेरै प्रचलित भाका लारिङ्गेक् नाम्लिङगेक (लालिङ्गेत नम्लिङ्गेत) हो । यो भाका विशेष गरी लिम्बु समुदायमा मानिने बलिहाङ तङ्नाम (बलिराजाको नाममा मानिने पर्व) सँग सम्बन्धित छ । यसमा बलि हाङ अर्थात् बलिराजा मृत्युको मुखबाट बचेको सन्देश देशवासीलाई सुनाउने सन्देशगीत गाउने भाका हो । यसको नमुना यस प्रकार छ ः
पासे मासे
नाम्लिङ्गेÞत्
तुम्म्याङ् हाङ्से
नाम्लिङ्गेÞत्, आदि ।।
(आमा–बाबा– नाम्लिङ्गेÞत्; सज्ज्न वृन्द– नाम्लिङ्गेÞत् आदि ।)
यस भाकाको मूल गायनमा आउने गीत ४ अक्षरको हुन्छ भने नाम्लिङ्गेÞत् या लागिरङ्गेÞत् स्थायी अन्तरा हो ।

६.४ घटना (वियोग) विशेष भाका

घटना (वियोग) विशेष भाकाको रुपमा हामलाक्वालाई लिन सकिन्छ । यो भाका वियोग वेदना अभिव्यक्त गर्ने भाका हो । लिम्बू समुदायमा कुनै पनि व्यक्तिको मृत्यु भएमा उसका आफन्छ (मूलतः महिला) ले सम्बन्धित मृतकसँग विभिन्न समयमा भएका अन्तरङ्ग कुराकानी, योजना भए पनि असामयिक मृत्यु आदिको प्रसङ्ग उल्लेख गर्दै रोदन गरिने भाका हो । यो वियोगान्त गीत गायनमा पनि प्रयोग हुने गर्दछ । आमाको देशवसान हुँदा अभिव्यक्त हुने हाम्लाक्वाको नमुना :
आमो मामो मामो आत्तान्नेÞ केÞबेबे।। एऽऽ एऽऽ एऽऽ ।।
आमो मामो ए पाःन्थिक्काङ् केब्बाःत्नेन्ने ।। एऽऽ एऽऽ एऽऽ ।। 
(आमा कता पो जानु भयो ? एक बात् पनि बोल्नु हुन्न नि ।)
हामलाक्वा भाका गाइने मूल गीतमा १२ अक्षर र रोधन अधिव्यक्त गर्ने तीन अक्षर स्थायीको रुपमा आउने गर्दछ ।

७ बाजा र भाकाहरूको सम्मिलन

लिम्बू लोक बाजासँग भाका वा भाकासँग बाजाको प्रयोग निम्नअनुसार हुने गरेको पाइन्छ ।
७.१ बाजासँग भाकाको प्रयोग

७.२ भाकासँग बाजाको प्रयोग



८ युगिन प्रतिध्वनि

लिम्बु समुदायमा प्रचलित यी बाजाहरूमध्ये कतिपय लिम्बू जातिको दर्शन मुन्धुमसँग सम्बन्धित रहेको देखिन्छ भने कतिपय विभिन्न संस्कारसँग सम्बन्धित देखिन्छन् अनि कतिपय भने लोकजीवनको उपजका रुपमा देखिन्छन् । यी लोक बाजाहरूको उत्पत्तिको खुट्याउन त्यति सहज भने देखिँदैन । यद्यपि यी लिम्बू जातिको सभ्यताका अभिन्न अङ्ग हुन भन्नुमा अतियुक्ति नहोला ।

९ सङ्कटापन्न वर्तमान 

लिम्बुवान नेपालको सहराज्य (नेम्बाङ, २०१०ः १६) भएर एकीरकणको क्रममा नेपालको अभिन्न भूभाग भएपछि लिम्बुवानका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिकलगायत यहाँका लोक बाजा र लोकभाकाहरू गोर्खाली नेतृत्वको केन्द्रीय सत्ताको हेजेमोनीमा प¥यो । राणाकालीन दोरुम्बे जाँतोले पिसेर बाँकी रहेको लिम्बू जातिको विभिन्न पक्षका साथैसाथै लोकबाजा र भाकाहरू राजा महेन्द्रले जारी गरेको मुलुकी ऐन, निर्दलीय पञ्चायती लौरी र माओवादी जनयुद्ध कालीन दोहोरो (राज्य र विद्रोही पक्ष) कोलमा पेलिएपछि अनि कथित पाश्चात्य आधुनिकताको सुनामीले बगाएपछि कतिपय यी अनमोल सम्पदाहरू करिब करिब व्यावहारबाट अदृष्य भएका छन् र स्मृतिमामात्र कैद भएका छन् । सङ्कटापन्न यी मूर्त र अमूर्त सम्पदाहरू जो लिम्बू जातिको मात्र होइन सिङ्गै मानव समुदायको सम्पदा हो, लाई बचाउने कुनै उपाय होला ? यो हामीसामू खडा भएको गम्भीर सवाल हो ।

१० धुमिल भविष्यमा उज्यालो आउला त ? 

एउटा सभ्याताको जीवन दर्शन बोकेको लिम्बु समुदायमा रहेका लोकबाजा र लोकभाकाको भविष्य शनैः शनैःका लागि धुमिल र अध्यारो हो त ? प्रयास भएमा अँध्यारो बादललाई फटाउन सकिन्छ । यसका लागि सम्बन्धित समुदायमात्र लागेर हुन्न । न त राज्य मात्र जिम्मेवार भएर हुन्छ । राज्य र समुदाय वा समुदाय र राज्य समानान्तरमा अगाडि बढेभने अवश्यमेवः यस्ता सम्पदाहरू जिवन्त राख्न सकिन्छ ।

सन्दर्भ सामग्री

खसनेपाली खण्ड

आङबुङ, गोविन्द । याक्थुङहरूमा हाक्पारे साम्लो । तान्छोप्पा वर्ष ६, अङ्क ६, भदौ २०५८, पृ. ४ ।
काइँला, वैरागी । २०५९ । लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश । प्रकाशक : नेपाल राजकीय प्रज्ञा–प्रितिष्ठान, कमलादी, काठमाडौँ । 
काइँला, वैरागी । लिम्बू सामाज र संस्कृति (१४०–१६३)। सयपत्री, पूर्णाङ्क १८, कात्तिक–चैत्र, २०६० । प्रकाशक : नेपाल राजकीय प्रज्ञा–प्रितिष्ठान, कमलादी, काठमाडौँ ।
तावा, भवानी । २०५८ वि.सं. । पाङ्साम्लो (१०५–१०९) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती ।
तुम्याहाङ, अमर । किरात येले संवत् कालगणना अध्ययन सन्दर्भ । किरात येले संवत् अभिलेख । प्रकाशक : किरात येले संवत् अध्ययन समन्वय समिति, काठमाडौँ । 
नेपालको अन्तरिम संविधान, २०६३  (छैटौँ संशोधन) । प्रकाशकः कानुन किताब व्यवस्था समिति, कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालय, नेपाल सरकार । 
नेम्बाङ्, वीर । सन् २०१० । लिम्बुवान भूभाग अलपत्र । मकरध्वज वनेमलगायत । 
बराल, भवानी र लिम्बू, कमल तिगेला । २०६४ । लिम्बुवानको राजनीति (इतिहास, वर्तमान र दस्तावेज) । प्रकाशकः भानेन्द्र कुमार लिम्बू, धरान । 
मिक्वा, थाम्सुहाङ यलम्बर । २०५८ वि.सं. । ख्याली (६७–७५) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती ।
याक्थुङ्बा, हाङ्वासाङ । २०५८ वि.सं. । हाक्पा¥या (८१–८६) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती । 
लाओती, येहाङ । २०६५ । आदिवासी लिम्बू जातिको संक्षिप्त परिचय । प्रकाशक दिलबहादुर लाओती । 
लिम्बू, अर्जुन तथा अन्य । वि.सं. २०५९ । किरात चाडः चासुवा, फोलष्याँदर, चासोक तङ्नाम र उधौली साकेला । किरात याक्थुङ चुम्लुङ । 
शर्मा, जनकलाल । २०५८ वि.सं. । हाम्रो समाजः एक अध्ययन, तेस्रो संस्करण । साझा प्रकाशन ।
ङ्ग्रौला, नारायणप्रसाद । २०६७ । पल्लो किरातको किपट व्यवस्था । प्रकाशक : श्रीमती अम्बिका देवी सङ्ग्रौला । काठमाडौँ ।
सुब्बा, थाम्सुहाङ पुष्प । २०५८ वि.सं. । मुन्धुम (२४–३५) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती । 
सेर्मा, लक्ष्मी । २०५८ वि.सं. । माङ्घ (१–१४) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती । 

अङ्ग्रेजी खण्ड


Brown, Kristine and Hood, Susan. 2005. Academic Encounters, Life in Society. Cambridge University Press.
Haralambas, M and Heald, R M. 2010. Sociology Themes and Perspectives. Oxford University Press.
Kainla, Bairagi. Comparative Study of the Limbu Folk Deities. Jounal of Nepalese Literature, Art and Culture. Vol.6, N0. 2, 2011. Pub. Nepal Academy.
Statistical Year Book of Nepal, 2009. Cental Bureau of Statistics, Kathamandu.