Friday, May 29, 2020

साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ – धनहाङ सुब्बा

साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ

– धनहाङ सुब्बा, कथाकार



कथाकार धनहाङ सुब्बा, कलाकार धनहाङ सुब्बा, मलायान लाहुरे धनहाङ सुब्बा, प्रशासकीय अधिकृत धनहाङ सुब्बा, समाजसेबी धनहाङ सुब्बा, धेरै अनुहारयुक्त धनहाङ सुब्बा । यी सबै परिचयभन्दा हँसिलो, फुर्तिलो, सबैका साथी धनहाङ सुब्बा सर्वप्रिय धनहाङ सुब्बा हुन् । १९३५ मा दार्जिलिङको छोटा पूर्बोङ चिया कमानमा जन्मिएका धनहाङ सुब्बाको स्वभावमा दार्जिलिङको प्राकृतिक सौन्दर्यको प्रतिविम्ब स्पष्टतः देख्न सकिन्छ । पुख्र्यौली थलो ताप्लेजुङ भए पनि जन्म थलो दार्जिलिङ भएका धनहाङ धनकुटाको डाँडागाउँ र दार्जिलिङको घुमसम्म आजतक जीवनको तान लाइरहेका छन् । लाहुरे भएर मलाया, सिङ्गापुर, हङकङ, बोर्नियो, सारावक, ब्रुनाई, मकाउ, अमेरिका लाहुरे भएर घुम्दा अनि यसभन्दा बढी बेलायती सहयोगबाट परिचालित कोशी पहाडी ग्रामीण क्षेत्र विकास परियोजनामा प्रशासकीय अधिकृतको रूपमा काम गर्दा पूर्वाञ्चलको १६ जिल्ला, मध्यामाञ्चलका १९ जिल्ला र पश्चि, मध्यपश्चिम र सुदुर पश्चिम घुम्दाका रोचक प्रसङ्गहरू दार्जिलिङे बोल्यशैलीमा उनी एक स्वासमा भनिसिध्याउँछन् । "आफू त माता हर्कमाया खापुङ र पिता रत्नधोज मुदेनछङ सावाँको कान्छो छोरा परियो हो" भन्ने धनहाङ सुब्बा धनभन्दा विद्यासँग रमाउन आनन्द मान्नु हुन्छ । र त उहाँले ‘हसिमा’ र ‘सलामत जलान’जस्ता निबन्ध एवम् कथाहरू तपाईं हाम्रोसामु प्रस्तुत गरेका छन् उनको अनुपम उपहारको रूपमा । तर बीचमा ४५ वर्षसम्म कलमसँगको साइनो चटक्कै छुट्टिएकोमा आज उनी साह्रै पश्चताप गर्दछन् र भन्छन्, "के भयो, के भयो ? ४५ वर्षसम्म म कसरी सुतेर रहेँ ?" तर अब त्यो रचनाकालको शून्यता पूरा गर्ने अटोटका साथ भन्छन्, "तर अब म कछुवाको होइन खरायोको गतिमा अगाडि बढिरहेको छु ।" जनरल सर्भिस मेडल, दियालो पुरस्कारलगायतका आधा दर्जन बढी पुरस्कारको शान बोकेर यस पटक धनहाङ सुब्बा काठमाडौँमा सिर्जनशील अराजकताको साहित्यिक पाहुना हुन आएका थिए अनि ‘एउटा कथा’ चलचित्रका कलाकार बन्न पनि भ्याएका थिए । किरात याक्थुङ चुम्लुङका आजीवन सदस्यसमेत रहेका धनहाङ सुब्बासँग काठमाडौँ बसाइको यही मेलोमेसोको क्रममा ललितपुरको उहाँको अस्थाइ निवासमा पुगेर अमर तुम्याहाङ र इमाहाङ सेत्लिङले उहाँसँग गरेको अन्तरङ्ग कुराकानीको सार सङ्क्षेप ।

तपाईंका कथाहरूको विषयवस्तु खासगरी के हुने गर्दछ ?
मेरो कथाको विषयवस्तु मेरो विगतका अनुभवहरू नै हुन् । मैले घुमेका पूर्वी एसिया, दक्षिण एसिया र युरोपका मुलुकहरूमा डुल्दा घुम्दाका देखेका विविध कुराहरू, भोगेका सुखदुःखहरू नै मेरा कथाका विषय वस्तुहरू हुन् । योबाहेक तत्कालीन मेरा पत्रमित्रहरूले पत्रमार्फत् पठटाएका जानकारीमूलक घटनाहरू  मलाई कथा लेख्नमा सहयोग पु¥याएका छन् । मेरो कथाहरू सैनिक जीवनसँग बढी नजिक छन् । म लाहुरे भएर हङकङबाट ब्रुनाई गए्ँ, ब्रुनाईबाट सिङ्गापुर आएँ । तत्कालीन मलाया अर्थात् अहिलेको मलेसिया पुगेँ । मलाई मलाया शब्दले सानो छँदा ज्यादै प्रभाव पारेको थियो । त्यसैले म मलेसियाको जनजीवन, रहनसहन, संस्कृति आदिले ज्यादै प्रभावित भएँ । मेरा कथाहरूमा पनि यिनै कुरा बढी मात्रामा भएका हुन् कि जस्तो लाग्छ ।

'सलामत जलान' मलेसियाको एउटी केटीको बारेमा छ । 'हसिमा' पनि यस्तै लेख हो । यी लेखहरू निकै पुराना हुन् । म १८/१९ वर्षको छँदा लेखिएका हुन् । भन्छन् नि बैंशमा स्याल पनि घोर्ले हुन्छ । म घोर्ले छँदै रचिएका हुन् ती रचनाहरू ।

त्यसो भए ‘हसिमा’ र ‘सलामत जलान’का पात्रहरू तपाईंका पूर्व प्रेमीहरू हुन् ?
आब्बुई, त्यसो त होइन । हुन त मान्छेको मन हो, कुनै पट्ठो युवकको मन कुनै जवान युवतीमाथि र कुनै युवतीको मन कुनै  युवकमाथि आकर्षित नहुने त कुरै भएन । तर भावनात्मक आकर्षण नै प्रेम कदापि हैन । यद्यपि उनीहरूको व्यवहार, शीलस्वभावले म सारै भ्रवावित भएँ । यतिसम्म कि नलेखी मेरो मनै मानेन ।

अनि प्रेम गर्नु भनेको आलिङ्गन, यौन तृप्ति मात्र होइन नि ! उनीहरू मेरा धेरै पत्रमित्रहरूमध्येका पत्रमित्रहरू पनि थिए । नेपालबाट श्यामप्रसाद शर्मा, स्वास्ती मान्छेको सम्पादिका शशिकला शर्मासँग पनि मेरो पत्रमित्रता थियो । अनि मैले कथा लेख्दा नेपाल र भारतको रहनहसहन, धर्म, संस्कृतिको बारेमा पनि कथाहरू लेखेँ । त्यति मात्र होइन, मैले मेरै पल्टने साथीहरूको जीवनमा आधारित भएर पनि कथा लेखेँ  । उदाहरणको रूपमा ‘रहर पुग्यो’ भन्ने कथा पश्चिमबाट आएको हर्कबहादुर भन्ने साथीको चिन्तन र जीवनमा आधारित कथा हो । ऊ पल्टन आउनुमा ठूलो पदमा पुग्नु, नाम कमाउनु, धेरै सम्मति कमाउन वा अरु केही गर्न आएको थिएनन् । उनी त फगत लाहुरे हुन आएका थिए ।

त्योभन्दा बाहेक उनको केही गर्ने प्रयत्न पनि गरेनन् र उनी कहिल्यै केहीमा सफल पनि भएनन् । टीबी लागेर उनी सिपाहीको सिपाही मेडिकल पेन्सन आए । उनी भन्थे, "नम्बरी, म त लाहुरे भएँ । मेरो जहानलाई लाहुरेनी भन्छन्, छोरालाई लाहुरेको छोरा भन्छन्, छोरीलाई लाहुरेको छोरी भन्छन् । मलाई यति भए पुग्यो । नम्बरी, तपाईं लप्टन कप्टन भएर आउनु है ।" त्यो मान्छे गजबको थियो । पढाइमा कहिल्यै पास हुन भएन । म क्लर्कमा थिएँ । ऊ पास होस् भनेर जाँचअघि प्रश्नहरू सुटुक्क ल्याएर दिन्थेँ । तर अहँ ऊ कहिल्यै पडाइमा पास भएन । केही मान्छे हर्कबहादुर जस्तै उद्देश्यहीन र सन्तोकी पनि हुँदारहेछन् ।

पछि म सिभिल लाइफमा धुन्चे र हेटौडातिर पनि नोकरी गरेँ । त्यहाँको आञ्चलिकता पनि मेरो रचनाहरूमा छन् ।
त्यसो भए तपाईंको कथाहरू कथिएका कथा नभएर यथार्थ घटनाहरू हुन् ? 
हो, मेरा कथाहरू कल्पनाको आधारमा कथिएका छैन । धेरै जसो कथाहरू यथार्थ घटनामा आधारित छन् । ती घटनाहरूको साँची म आफैं हुँ ।

त्यसो भए तपाईं आफूलाई यथार्थवादी कथाकार भन्नुहुन्छ ? 
"कतिपय समीक्षकहरूले कथाका पात्र लेखक स्वयम् हुन कि ?" पनि भनेका छन् । हो, मेरा कथाहरू बढी यथार्थ हुन् । योबाहेक केही कथाहरू संस्मरण प्रधान पनि छन् । तर फगत कल्पनामा लेखिएको कथा चाहिँ एउटा पनि छैन । अब आयो म यथार्थवादी कथाकार हुँ कि होइन ? यसबारेमा म आफैंलाई त के भन्नु ? यो त अरूले नै भन्नु पर्ने कुरो हो । होइन र ?

तपाईं लामो विश्रामपछि पुनः साहित्य रचनामा लागिरहनु भएको छ । यति लामो शून्यता के कारणले भयो ?
मैले सन् १९५९ मा ‘हसिमा’ प्रकाशित गरेँ । त्यसपछि सैनिक जीवन त छँदै थियो । म पछि लामो समयसम्म प्रोजेक्टमा काम गरेँ । तर लेखनको दृष्टिले त्यो शून्यता एक युगको शून्यता हो । ‘सलामत जलान’ २००४ मा मात्र प्रकाशित गरेँ । यो बीचमा म ४५ वर्ष सुतेर रहेछु, कलम थन्क्याएर बसेछु । किन भन्ने प्रश्नको जवाफ मसँग पनि छैन । मलाई कसले अल्छी बनायो ? केले निश्क्रिय तुल्यायो ? थाहा नै छैन । अहिले यसबारेमा सम्झिन्छु र आफैं छक्कै पर्छु । पछि आएर लेख्न त थालेँ तर ग्याप भएपछि ट्रयाकमा आउन नै गाह्रो हुँदोरहेछ । जे होस् अहिले आएर खरायोको गतिमा दौडिरहेको छु । म ४५ वर्षे शून्यताप्रति मलाई पश्चताप छ ।

‘सलामत जलान’ २००१ देखि २००४ सम्ममा पूर्व प्रकाशित र नयाँ कथाहरू सङ्कलन गरी प्रकाशनमा ल्याएको हुँ ।

अहिले कुन कथा लेखिरहनु भएको छ ? 
अहिले म कथा लेख्ने सुरमा छुइन । अहिले त म लिम्बू लोक कथाहरूको सङकलनमा पो लागिरहेको छु । मैले १८ भन्दा बढी लिम्बू लोक कथाहरूको नयाँ शिर्षकहरू पाएको छु । ती लोक कथाहरू कति पान्थरका छन्, कति छथरका छन् त कति तेहथुम र ताप्लेजुङका छन् । ती लोक कथाहरूलाई सम्बन्धित ठाउँमा गएर खोजेर प्रमाणित गरेर सङ्कलन एवम् प्रकाशन गर्ने योजनाका साथ काममा लागिपरेको छु । यो काम पूरा गर्न मलाई लामो समय लाग्ने छ । अहिलेको अवस्था पनि राम्रो छैन । त्यसैले गर्दा स्वतन्त्र रूपले घुमफिर गर्न पनि सकिन्न । तर पनि यी लोक कथाहरूलाई सङ्कलन गर्ने दृढ सङ्कल्पका साथ अगाडि बढिरहेको छु ।

अहिले नवराज वर्तमानले सङ्कलन गरेका लोक कथाहरू, शिवकुमार श्रेष्ठले सङ्कलन गरेका लोक कथाहरू, इमानसिंह चेम्जोङका लोक कथाहरू पनि सङ्कलन गरी म अध्ययन गरी रहेको छु । लोक कथाहरूमा पनि लिम्बू जातिसँग सम्बन्धित पौराणिक कथाहरू, मुन्धुमसँग सम्बन्धित कथाहरू, ठाउँहरूसँग सम्बन्धित लोक कथाहरूमाथि मेरो बढी चासो छ जस्तै छथरको साम्लो लुङ, तेरथुमको छाते ढुङ्गा, ताप्लेजुङको पावरुङ मावरुङ फक्कु आदि ।

यी लोक कथाहरू भावी सन्ततिहरूका लागि हो । ती लोक कथाहरू क्रमशः विर्सिँदै जाँदैछन् । दार्जिलिङतिरका बच्चाहरू लिम्बू भाषा जान्दैनन् । ती लोक कथाहरू त झन उनीहरूले सुनेकै छैनन् । त्यसैले उनीहरूका लागि ती अन्जान सन्तानहरूको लागि यी लोक कथाहरू सङ्कलन गर्न लागेको हुँ । यसका साथै ती लोक कथाहरूले हाम्रो समाजको विविध पक्षहरूमाथि पनि अध्ययन गर्न मद्दत गर्दछ।

तपाईंले सङ्कलन गर्न लाग्नुभएको लोक कथाहरू विलकुलै नयाँ हुन् त ? 
मैले सङ्कलन गर्ने लोक कथाहरू शिवकुमार श्रेष्ठ, नवराज वर्तमान, इमानसिंह चेम्जोङले नदेखेको, नसुनेको, नलेखेको र नयाँ हुनु नै प¥यो । यसको अर्थ लोक कथाहरू नै नयाँ बनाउने भन्ने होइन । यसको आसय सङ्कलित नभएका कथाहरू, नछापिएका कथाहरू मैले सङ्कलन गर्ने भन्ने हो । फेरि शिवकुमार, इमानसिंह र नवराजहरूले सङ्कलन गरेका लोक कथाहरू मैले सङ्कलन गरेर मेरो सङ्कलनका कथाहरूले त पहिचान पाउँदैनन् । पहिचान पाउनको लागि नयाँ हुनुप¥यो, फरक हुनुप¥यो।

मैले करिव १८ वटा शीर्षकहरू पाइसकेको छु । त्यसमध्ये ६/७ वटा लोक कथाहरू सङ्कलन गरी लेखिसकेको छु । तर पनि पुस्तकाकारमा आउन निकै समय लाग्छ नै ।

साहित्यमा कसरी लाग्नुभयो ? 
म स्कूल पढ्दा धेरै साहित्यिक पत्रिकाहरू पढ्थेँ । 'साहित्य', 'स्वास्नी मान्छे' पढ्थेँ । स्वास्नी मान्छे पत्रिका बेलायतमा छापिने वुमन पत्रिका जतिकै स्तरीय छ भनी शशिकलालाई पत्र लेखेको थिएँ । हुन पनि त्यो पत्रिका समयअनुसार स्तरीय नै थियो । त्यो मेरो पत्र सम्बन्धित पत्रिकामा छापिएको पनि थियो । त्यो वेला साहित्य र स्वास्नी मान्छे कमल पोखरीको साहित्य सदन ठेगानामा प्रकाशित हुन्थ्यो । ती पत्रिकाहरू बाइन्ड गरी राखेको छु । 'भारती', 'हाम्रो कथा', लैनसिंह वाङदेलको 'प्रभात', 'साथी', 'गोर्खा', कासीबाट 'उदय' जस्ता पत्रिकाहरू छापिने गर्थे । यही पत्रिकाहरूमा छापिएका कृतिहरूले नै मलाई लेख्न अभिप्ररित गरे । उदय पत्रिकामा महाकवि देवकोटा, वालकृष्ण सम, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्टहरूको रचनाहरू छापिन्थे।

त्यो समयमा दार्जिलिङ लेख्नको लागि मलिलो ठाउँ थियो । पारसमणि प्रधान, रामकृष्ण शर्मा, शिवकुमार राई, इन्द्रबहादुर राई, रुपनारायण सिंहलगायत थुप्रै राम्रा कवि तथा कथाकारहरू थिए । उनीहरू कै अभिप्रेरणाले पनि लेखियो ।

कविता पनि लेख्नुभयो कि ? 
कविता छन्दमा लेन्नुपर्छ भन्थे त्यो वेलाका भारतीका सम्पादक महोदय पारशमणि प्रधान । उनी भन्थे, "सिकारु कविले जहिल्यै पनि छन्दमा लेख्नु पर्छ ।" उनले समस्या पूति शीर्षक दिएर चार हरफ कविता छन्दमा लेख्न लगाउन पत्रिकामा सूचना प्रकाशित गर्थे । ताटक, मालिनी, शार्दुलविकृडित या अन्य जुनसुकै छन्दमा लेखे पनि हुन्छ तर झ्याउरे छन्दमा नलेख्नु भन्ने पारशमणि प्रधानको सल्लाह थियो । उनले एक पटक ‘कल्पना’ भन्ने विषय दिएको थियो र मैले १६, १२ को मात्रिक छन्दमा कविता लेखेँ । रातराजभरि प्रयास गरेर लेखेँ । त्यसरी लेखी पठाएको कविता छापियो पनि । तर त्यसपछि म कविता लेख्न सक्दिन रहेछु भन्ने लाग्यो र मैले कविता लेख्न छोडिदिएँ ।

तर पछि त जीवन नाम्दुङलगायत अन्य साथीहरूले उनीहरूको कविता सङ्ग्रह दिए । अनि यसो हेरेर सोधेँ, "भाइ हो, यो कुन छन्दमा लेखिएको हो ?" उनीहरूले भने, "दाइ, अचेल छन्दसन्द छैन ।" अनि पो म त खङ्ग्रङगै भएँ । भावना त पहिला पनि आउँथ्यो नि कविता लेख्नलाई, छन्द पो आउँदैनथ्यो त । अनि त मैले पनि छिटफुट कविता लेख्न थालेँ । मैले 'दार्जिलिङको पर्यटकलाई' र 'म भुल्ने थिएँ' लगायतका कविताहरू लेखेर दार्जिलिङ र सिक्किमका पत्रिकाहरूमा प्रकाशित गराएको छु । तर अब म अत्यन्तै ढिला भइसकेको छ ।

लाहुरमा साहित्यिक सङ्गत कस्तो थियो? 
राधिका राया, लक्ष्मीनाथ वस्नेत ‘पागल’ एबी गहतराज, मोहन थापालगायतका राम्रा साहित्यकारहरू मलायमा थिए । पर्वते पत्रिका पहिला रोमनमा निस्किन्थ्यिो । पछि त्यहाँ पनि देवनागरीमा छाप्न थाले । अनि क्रमशः मलायामा पनि साहित्य साधना र प्रकाशनको वातावरण बन्दै गयो ।

आधुनिक या उत्तरआधुनिक साहित्य भन्नाले के हो ? बताइदिनुहोस् न । 
साहित्य आधुनिक, उत्तरआधुनिक वा नयाँ पुरानो भन्ने कुरै भएन । साहित्य साहित्य हो । साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ । मोपासाको कथा ‘हिराको हार’, कहिल्यै पुरानो हुँदैन र भएन, जति पटक पढे पनि नयाँ नै लाग्छ । जर्ज वर्नाडसा कथाहरू, अस्कार वाइल्डका ‘ह्याप्पी प्रिन्स’, प्रेम चन्दको ‘बढी घरकी बेटी’ जस्ता कथाहरू सधै नयाँ लाग्छन् ।

आफ्नो साहित्यिक रचनाहरूबारेमा तपाईको के भनाइ छ ? 
साहित्य रचना गरिसकेपछि रचनाकारको हुँदैन, पाठकको सम्पत्ति  हुन्छ त्यो । त्यसको मूल्याङ्कन गर्ने, त्यसबारेमा केही भन्ने अधिकार त पाठकको हो, लेखकको होइन ।

कियाचुको आजीवन सदस्य पनि हुनुहुँदो रहेछ । लिम्बू साहित्य कस्तो पाउनुभएको छ ? 
म आफैले प्रत्यक्ष नापजोख त गरेको छुइन । तर मगर, राई, तामाङ साथीहरूको भनाइअनुसार लिम्बू साहित्यको अवस्था राम्रो छ । म पनि तान्छोप्पा, लुङा, नुमाफुङ, सेमि फक्ताङलुङ, तङसिङ पत्रिकाहरू हेर्छु । यी पत्रिकाहरू हेर्दा लिम्बू भाषा साहित्य निकै राम्ररी पस्टाएको पाएको छु । यो देखेर म ज्यादै हर्षित पनि छु । नव लेखक लेखिकाहरूलाई वधाई पनि दिन्छु ।

तपाईंको भोग्नुभएको कुनै अनुकरणीय घटना सुनाउनु होस् न । 
म सैनिकबाट अवकास लिएपछि बेलायती सहयोगमा चलेको कोशी पहाडी ग्रामीण क्षेत्र विकास परियोजनामा काम गर्दाको एउटा घटना छ । यो समय पालनासम्बन्धी घटना भन्दा हुन्छ होला अनि सौहार्दता वा कुनै पनि घटनालाई स्वभाविक रूपमा लिने बानी भन्दा पनि हुन्छ होला । एकदिनको कुरा हो । विराटनगरमा हाम्रो संस्थाको कार्यक्रम थियो । त्यहाँ तेरथुम, भोजपुर, सङ्खुवासभा लगायतका जेटिएहरूको भेला थियो र त्यहाँ हाम्रो संस्थाको सल्लाहकार जोनले लेक्चर दिने कार्यक्रम थियो । हाम्रो समय विहान ७ बजे  कार्यालयबाट हिँडिसक्नु पर्ने थियो । बिहान मेनेजर जोन उसको श्रीमती र म तयार भयौँ तर टोनी त आइपुगेन । ७ बज्यो । ऊ अझै आएन । जोनले ड्राइभरलाई भन्यो, "गाडी चलाऊ ।" गाडी अगाडि बढ्यो । गाडी भेडेटार, साँगुरीभञ्ज्याङ हुँदै अगाडि बढ्यो । म त छक्क परेँ। किनभने कार्यक्रममा सहभागीलाई पढाउने बताउने मान्छे नै छुट्यो । जोन वा मेनेजरले त त्यो कुरा जान्दैन । अब सहभागीहरूलाई कसरी पढाउने होला भनेर म छक्क परिरहेको थिए । उसले एकछिन पर्खौं पनि भनेन ।

हामी धरानको भानुचोकको गेटनिर पुगेका मात्र के थियौँ टोनी एउटा बाइक भाडामा लिएर हतारहतार आइपुगेछ, धुलोले मान्छे पनि नचिनिने भएर । मलाई लागिरहेको थियो, यी  दुवैजना एकआपसमा रिसाइरहेका होलान् । तर उनीहरू भेट हुने वितिकै "हेल्लो जोन ।" "हेल्लो टोनी ।" भनेर हाँसीखुसी सामान्य व्यवहार गरेको देखेर म छक्क परेँ ।

यसरी गोरेहरू समयलाई अति नै ख्याल गर्दारहेछन अनि त्यसरी ख्याल नगर्दा हुने त्यस्तो व्यवहारलाई सामान्य रूपमा लिँदा रहेछन् । हामी नेपाली भए "एकछिन पनि पर्खिन सक्दैनौ" भनेर कति रिसाइन्थ्यो होला, या झगडा गथ्यौँ होला । यो कुरा उनीहरूमा पाइन । ती गोरेहरू समय पालनसम्बन्धी बानी हामीले सिक्यौ भने राम्रो हुन्छ । राम्रो कुरा त जसको भए पनि त फाइदा नै गर्छ नि होइन र ?

तान्छोप्पा, वर्ष १०, अङ्क ९, विहिवार, ९ भदौ २०६२ ९द्दछ ब्गन द्दण्ण्छ० ।

No comments:

Post a Comment