Saturday, March 28, 2020

नेपाली मातृभाषामा लेखिएका नेपाली साहित्यः एक सिंहावलोकन

नेपाली मातृभाषामा लेखिएका नेपाली साहित्यः एक सिंहावलोकन 

- प्राज्ञ अमर तुम्याहाङ

पृष्ठभूमि

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक (धारा ३, नेपालको अन्तरिम संविधान, २०६३, छैटौँ संशोधन) मुलुक हो तर नेपाल राष्ट्रको यसप्रकारको पहिचानलाई दमित गरी राखियो । नेपाल एकीकरणको अभियानले लिच्छवि र मल्ल कालमा समृद्ध भएको नेपाल भाषालाई मात्र दबाएन खम्बुवान, लिम्बुवानमा भएका लिखित कागजातहरू सबै आगो लगाउने र लेखपढ गर्न नै प्रतिबन्ध लगाउने काम भयो । यो प्रक्रिया तत्कालीन अन्य राज्यरजौटाहरूमा पनि लागू भयो । वि.सं. १९०३ मा राणाशासन आरम्भ भएपछि यसले अझ चर्को रूप लियो । हिन्दू धर्म राज्यधर्म, हिन्दू संस्कृति राज्यको संस्कृतिको रूपमा जबर्जस्त लाद्ने काम भयो । आफ्नो मौलिक धर्म, संस्कृति, भाषा, साहित्यको पक्षमा काम गर्नेहरूले जेलनेल मात्र भोग्नु परेन कतिले त ज्यान नै गुमाउनु प¥यो ।

जहानीय निरङ्कुश राणा शासन विरुद्ध भएको वि.सं. २००७ सात सालको क्रान्तिसँगै विराटनगरबाट आरम्भ भएको रेडियो नेपालमा खस नेपाली र नेपाल भाषामा समाचार प्रसारण भए पनि प्रजातन्त्रको अपहरण भई निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्था लागू भएपछि वि.सं. २०२२ सालदेखि नेपाल भाषामा प्रसारित हुने समाचार, कार्यक्रम र विज्ञापन समेत प्रसारण गर्न राजा महेन्द्रले प्रतिबन्ध लगाए (प्रा. माणिकलाल श्रेष्ठसँगको कुराकानीमा आधारित) । त्यसपछि पञ्चायती राष्ट्रवादले हिन्दीलाई सञ्चार माध्यममा प्रचारप्रसार गर्ने तर मुलुकका भाषाहरूलाई बन्देज लगाउने कुकृत्य ग¥यो । यसको परिणाम स्वरूप सन् १९६० को दशकपछि एक जात, एक भाषा र एक धर्मको नारा चर्को पारियो र आदिवासी जनजाति, मधेसी, अल्पसङ्ख्यकहरूको अस्तित्व र पहिचानको आन्दोलनलाई नकारात्मक रूपमा साम्प्रदायिक र विखण्डनकारीको आरोप लाग्नथालेपछि उनीहरूको भाषा, लिपि लेखपढ गर्ने, पत्रपत्रिका छाप्नेजस्ता काम पूर्ण रूपमा रोकियो । राज्यको यस प्रकारको एकात्मक दलनमलनले गर्दा मधेसी, आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक, गैरहिन्दूहरू निर्मम विभेदको शिकार भए । यसबाट मुक्ति पाउनको लागि भएको २०४६ सालको जनआन्दोलनले नेपालमा प्रजातन्त्रको पुनःस्थापना ग¥यो । वि.सं. २०४६ को जनआन्दोलनपछि २०४७ मा जारी गरिएको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक राष्ट्रका रूपमा अङ्गीकार गर्न सकेन, देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा र मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू राष्ट्रिय भाषा (धारा ६, उपधारा १ र २, नेपाल अधिराज्यको संविधान, २०४७) भनी पहिलाको एकभाषा नीतिको दाँजोमा अलि प्रगतिशील देखिए पनि विभेद कायमै राख्यो । यसो भए पनि जनआन्दोलनपछि मैथिली, नेवारी र हिन्दीमा समाचार रेडियो नेपालबाट प्रसारण गर्न थालियो ।

यसैबीच वि.सं. २०५० जेठ १४ गते गठित राष्ट्रियभाषा नीति सुझाव आयोगले विभिन्न राष्ट्रियभाषाहरूमा टेलिभिजनको माध्यमद्वारा समाचार आदि कार्यक्रमहरू क्रमशः प्रसारित गर्दै जानुपर्ने, रोडियो तथा टेलिभिजनबाट विभिन्न विषयसँग सम्बन्धित सूचना, विज्ञापन आदि विषयहरूलाई राष्ट्रिय भाषाहरूमा प्रसारण गर्ने व्यवस्था गर्नु पर्नेछ, विभिन्न राष्ट्रियभाषाहरूमा पत्रपत्रिका र अन्य पाठ्यसामग्रीहरूको प्रकाशनतर्फ विशेष ध्यान दिनु आवश्यक छ (राष्ट्रियभाषा नीति सुझाव आयेगको प्रतिवेदन, २०५०, पृ. ३१) भनी सुझाव दिएपछि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रमार्फत् केही भाषाहरूमा समाचार र कार्यक्रमहरू प्रसारण आरम्भ भए पनि सरकारी पत्रिकाको हकमा यो सुझाव कार्यन्वयन हुन सकेन (तुम्याहाङ र सलामः २०११) ।

यद्यपि २०४७ सालको संविधान निर्माणपछि तत्कालीन सरकारले रेडियो नेपालबाट मातृभाषामा समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन, तत्कालीन नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठानले मातृभाषा साहित्यको लागि गरेको प्रयास, राष्ट्रिय जनजाति विकास समिति (हालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान) को स्थापना, २०५४ देखि पाठ्यक्रम विकास केन्द्रले विभिन्न मातृभाषा ऐच्छिक विषयका रूपमा प्राथमिक तहका पाठ्यपुस्तकहरूको लेखन तथा प्रकाशनको थालनीले मातृभाषा साहित्य सृजनाको पूर्वाधार खडा ग¥यो । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि मुलुक गणतान्त्रिक युगमा प्रवेश गरेपछि सरकारी सञ्चार माध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, मुलकभरि खुलेका एफ.एम.हरू, आधुनिक विज्ञान र प्रविधिले सञ्चार क्षेत्रमा भित्राएको माध्यम (वेभसाइट, ब्लग स्पट, स्काइप आदि) हरू, स्वतस्फूर्त रूपमा विभिन्न भाषिक समुदायको पहल र प्रयत्नमा सञ्चालित पत्रपत्रिका आदिका कारण नेपाली मातृभाषाहरूको नेपाली साहित्य रचनाको नवीन क्षितिज खुल्यो ।


यही परिप्रेक्ष्यमा यहाँ नेपालमा बोलिने मातृभाषाहरूमा लेखिएको साहित्यको विहङ्गम चर्चा गरिने छ । यहाँ नेपाली साहित्य भन्नाले नेपाल उद्भवका भाषाहरूमा लेखिएको साहित्य भन्ने अर्थमा चर्चा गरिएको छ । यसरी चर्चा गर्दा मूलतः २०६८ को जनगणनाको आधारमा मुलुकको भौगोलिक परिवेश हिमाल, पहाड र तराईमा बोलिने भाषा समूहको आधारमा चर्चा गरिने जमर्को गरिएको छ ।

नेपालको जनगणनाहरू र भाषा सङ्ख्याहरू

नेपालमा जनगणनाको सुरुवात वि.सं. १९६८ (ई.सं. १९११) मा सुरु भई आठौँ जनगणना २०६८ मा सम्पन्न भएको छ । उक्त जनगणनामा उल्लेख भएका भाषाहरूको विवरण निम्न अनुसार रहेका छन् ।



नेपालमा बोलिने भाषाका भाषा परिवार र वक्ता प्रतिशत 

२०६८ को जनगणना अनुसार नेपालमा बोलिने भाषाहरू पाँच भाषा परिवारमा समेटिएका छन् । ती भाषा परिवार र वक्ता प्रतिशत निम्न अनुसार रहेका छन् ।



भौगोलिक आधारमा भाषाहरू 

भौगोलिक आधारमा कतिपय भाषाहरूलाई बाँध्नु गाह्रो देखिन्छ । तर पनि बहुसङ्ख्यक वक्ताहरूको बसोबासको आधारमा यहाँ भाषाहरूलाई विभाजन गर्ने जमर्को गरिएको छ । मूलतः खसनेपाली भाषा सबै भौगोलिक क्षेत्रमा बोलिने भाषामा पर्दछ । यसरी नै साङ्केतिक भाषालाई पनि भौगोलिक आधारमा बाँध्न सकिन्न । २०६८ को जनगणनाको आधारमा अन्य भाषाको भौगोलिक वितरण निम्न अनुसार रहेको छ ।


नेपालमा प्रयोगमा रहेका केही लिपिहरूको विवरण निम्न अनुसार रहेका छन् ।





मातृभाषामा सहित्यको विकास 

नेपाली मातृभाषा साहित्यको विकासलाई यहाँ निम्न समय सीमाको आधारमा विभाजन गरिएको छः (क) २०४६ साल पूर्व (ख) २०४६ देखि २०६१ सम्म र (ग) २०६२/६३ पछि ।

(क) २०४६ साल पूर्व मातृभाषा साहित्यको अवस्था 

२०४६ साल पूर्व मातृभाषा साहित्यको क्षेत्रमा भएका कामको अवस्थालाई पनि विभिन्न कालखण्डमा विभाजन गरी हेर्न सकिन्छ । लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल, प्रजातन्त्रकाल र पञ्चायत कालमा भएका मातृभाषा साहित्य विकासका कामहरूको पनि अवलोकन गर्न सकिन्छ । तर यी कालावधिमा थोरै भाषाहरूमा मात्र साहित्य लेखनको काम भएको थियो । वर्तमान अवस्थामा राष्ट्र भाषाअन्तर्गत मातृभाषाका रूपमा लिइने भाषाहरू जस्तै नेवारी, मैथिली, लिम्बू, भोजपुरी, अवधी आदि सीमित भाषामा उसबेला साहित्य लेखनका काम भएका थिए । भौगोलि आधारमा सो भाषाहरूमा भएको साहित्यको जानकारी निम्न अनुसार छन् :

पहाडी भाषा समूह

नेवारी वा नेपाल भाषाको साहित्य 

पहाडी भाषा समूह अन्तर्गत मूलतः नोवरी अर्थात् नेपाल भाषामा लेखिएको साहित्यको प्रसङ्ग आउँछ । लिच्छवीकाल र मल्ल कालमा नै साहित्यमा समृद्धि हासिल गरेको नेवारी भाषा खासमा त्यसबेला राज्य भाषा थियो । प्रेम शान्ति तुलाधरका अनुसार नेपाल भाषा साहित्यको कालविभाजन अनुसार प्राथमिक काल (१५०५—१८४७ ई.सं.) मा नै कथा, काव्य, नाटक लेखिएका थिए भने माध्यामिक काल (ई.सं. १८४८—१९४०) कै अवधिमा नेवारी भाषाका महाकवि सिद्धिदास अमात्यले ४४ भन्दा बढी पुस्तक कृतिहरू लेखेका थिए । नेवारी साहित्यको आधुनिक काल सन् १९४१ मा सुरु भएको मानिन्छ । त्यसपछि विभिन्न विधामा सयौँ कृति नेपाल भाषामा प्रकाशित भएका छन् ।

लिम्बू साहित्य

लिम्बू भाषा साहित्यको काल विभाजन प्रथमिक काल (ई.सं. १७०४—१९२४), माध्यमिक काल (ई.सं. १९२५—१९५५) र ई.सं. १९५६ देखि आधुनिक काल (काइँला र तुम्याहाङः २०६४) रहेको पाइन्छ । प्राथमिक, माध्यमिक र आधुनिक कालको पूर्वाद्धमा नेपालको प्रतिकूल राजनैतिक अवस्थाका कारण लिम्बू साहित्य नेपालमा भन्दा पनि सिक्किम र पश्चिम वङ्गालतिर मौलाउने अवसर पायो । प्रजातन्त्र स्थापना भएको २००७ को दशकमा लिम्बू भाषामा सिर्जनात्मक साहित्य रचनामा इमानसिंह चेम्जोङ, काजीमान कन्दङ्वा आदिको मत्वपूर्ण योगदान गरेको थियो । ई.सं. १९३८ मा कालेबुङमा लिम्बू पाठशाला निसाम—हिम औपचारिक रूपमा स्थापना भएपछि लिम्बू भाषामा विभिन्न विधागत साहित्यको रचना गर्न थालनी भयो भने ई.सं. १९६८ तत्कालीन सिक्किम मुलुकमा लिम्बू भाषा प्राथमिक शिक्षामा पठनपाठन सुरु भएपछि यसले अझ तीब्र गति लियो ।

जिरेल साहित्य

वि.सं. २०२९ सालमा सुमनकृष्ण जिरेलको जिरेल भाषामा ‘बाँकी दुक’ शीर्षकमा कविता रच्नु भएको थियो । यो कविता दोलखा चरिकोटबाट इन्द्रबहादुरको सम्पादकत्वमा प्रकाशित च्योर्दुङ पत्रिकामा प्रकाशित भएको थियो ।

तराई भाषा समूह

मैथिली साहित्य

तराईमा सबैभन्दा लामो साहित्यिक परम्परा भएको भाषामा मैथिली भाषा पर्दछ जुन राज्य भाषा भई कुलीन भाषाको रूपमा रहेको थियो । डा. गङ्गाप्रसाद अकेला (२०६४) का अनुसार मैथिली साहित्य इतिहासको कालविभाजनको प्राथमिक काल ई.सं. ७०० मा सुरु भई १३२५ मा अन्त हुन्छ र मध्यकाल १३२५ मा सुरु भई १८६० मा अन्त हुन्छ । यसरी नै मैथिली साहित्यको आधुनिक काल १८६० ई.सं.मा नै सुरु भएको मानिन्छ । ज्योतिरीश्वर ठाकुर, कवि कोकिल महाकवि विद्यापति जस्ता विराट कवि व्यक्तित्वहरू मैथिल साहित्याकाशका ध्रुवतारा हुन् । मैथिली साहित्यले तत्कालीन काठमाडौँ उपत्यका भित्रका तिन वटै राज्यहरूमा राम्रो प्रभाव पारेको थियो ।

थारु साहित्य 

महेश चौधरी (२०६४) का अनुसार थारु भाषा साहित्य विकासको आरम्भ वि.सं. २०२८ मा भएको हो । वि.सं. २०११ मा जीवराज आचार्यको काव्य ‘हम्र ओ हमार बन्न’, २०१६ मा रूपलाल महतोको ‘दङ्गीशरण कथा, बरकिमार ओ गुरुबाबाकि जमौती’, २०१९ मा रामप्रसाद रायको गीति नाटक ‘बहुवा ओर बहुरिया’ प्रकाशन भएका थिए भने २०३९ मा महेश चौधरी र सीताराम चौधरीको महाकाव्य ‘बर्किमार’ र सोही साल महेश चौधरीकै महाकाव्य ‘गुरु बाबक् जलमौती’ प्रकाशन भएको पाइन्छ ।

अवधी साहित्य

विश्वनाथ पाठक तथा विक्रममणि त्रिपाठी (२०६४) का अनुसार अवधि साहित्यको इतिहास चार कालमा विभाजन गर्न सकिन्छ । ती यस प्रकार छन् : (क) वीर गाथा काल (वि.सं. ८२६—१४७५), (ख) भक्ति काल (वि.सं. १४७५—१७००), (ग) शृङ्गार काल (वि.सं. १७००—१९००) र आधुनिक काल (वि.सं. १९००—आजसम्म) । यस प्रकारका काल विभाजनले अवधी साहित्यको लेखन परम्परा पनि लामै रहेको देखिन्छ ।

(ख) २०४६ देखि २०६१ सम्म

यस अवधिमा हिमाली क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०५० मा मोहन कोइरालाले सम्पादन गरेको नेपाल राजकीय प्रज्ञा—प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘राष्ट्रिय भाषाका कविताहरू’ पुस्तकमा हिमाली भाषाहरू मध्ये शेर्पा, खालिङ, थुलुङ भाषाका कविताहरू परेका छन् ।

वि.सं. २०५६ मा वैरागी काइँला र अमृत योञ्जनले सम्पादन गरेका राष्ट्रिय जनजाति विकास समितिले प्रकाशन गरेको राष्ट्रिय भाषाका कविता सङ्गालोमा हिमाली भाषाहरूमा शेर्पा, थामी, जिरेल, थुलुङ, ह्योल्मो भाषाका कविताहरू प्रकाशित रहेका छन् ।
वि.संं. २०६० मा बमकुमारी बुढामगर र रामकुमार मादेनले सम्पादन तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरेको राष्ट्रिय भाषाका कविता सङ्गालोमा हिमाली भाषाहरूमा थामी, कुमाल, कुलुङ, ह्योल्मो र डोल्पाली (डोल्पो) भाषाका कविताहरू प्रकाशित भएका छन् ।

यस समयावधिमा पहाडी क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०५० मा मोहन कोइरालाले सम्पादन गरेको पूर्व उल्लिखित पुस्तकमा पहाडी भाषाहरू तामाङ, नेवार, मगर, वान्तावा, गुरुङ, लिम्बू भाषाका कविताहरू प्रकाशित भएका छन् ।
वि.सं. २०५६ मा वैरागी काइँला र अमृत योञ्जनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा पहाडका गुरुङ, तामाङ, नेवार, मगर, मगर खाम, वान्तावा, लिम्बू, चाम्लिङ, सुनुवार, याक्खा, थकाली, छन्त्याल, वाम्बुले, कोयी (कोयु), दुरा भाषाका कविताहरू परेका छन् ।
वि.संं. २०६० मा बमकुमारी बुढामगर र रामकुमार मादेनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा पहाडका चेपाङ, लिम्बू, नाछिरिङ, तामाङ, चाम्लिङ, वान्तावा, मगर, याक्खा, अथार मगर, माझी, दुरा, सुनुवार, गुरुङ, नेवार, वाम्बुले, कोयी (कोयु) भाषाका कविताहरू प्रकाशित भएका छन् ।

यस समयावधिमा तराई क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०५० मा मोहन कोइरालाले सम्पादन गरेको पूर्व उल्लिखित कविता सङ्ग्रहमा तराई भाषाहरू थारु, भोजपुरी, मैथिली भाषाका कविताहरू समेटिएका छन् ।
वि.सं. २०५६ मा वैरागी काइँला र अमृत योञ्जनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा तराईका थारु, धिमाल, राजवंशी, सन्थाल भाषाका कविताहरू प्रकाशित भएका छन् ।
वि.संं. २०६० मा बमकुमारी बुढामगर र रामकुमार मादेनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा तराईका थारु, राजवंशी, बोटे र सन्थाल भाषाका कविताहरू प्रकाशित भएका छन् ।

(ग) २०६२/६३ पछि

यस अवधिमा हिमाली क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०६८ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा नेपाल प्रज्ञा—प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘मातृभाषा दिवस—२०११, सङ्गोष्ठी पत्र तथा मातृभाषा कविता सँगालो’ पुस्तकमा हिमाली भाषाहरू मध्ये थामी, जिरेल, शेर्पा, डोल्पो भाषाका कविताहरू परेका छन् ।
वि.सं. २०६९ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा नेपाल प्रज्ञा—प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘मातृभाषा दिवस—२०१२, कविता सँगालो’ पुस्तकमा हिमाली भाषाहरू मध्ये शेर्पा, ल्होमी, खालिङ, कुलुङ, मेवाहाङ, थामीसहितका भाषाका कविताहरू प्रकाशित रहेका छन् ।
वि.संं. २०६९ मा डा. लाल—श्याँकारेलु रापचाको सम्पदकत्व तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशनमा आएको थुँगा (राष्ट्रिय भाषाका कविता सङ्गालो) मा हिमाली भाषाहरूमा शेर्पा, किराती थुलुङ, थामी, ल्होमी, लोहोरुङ, कुमाल भाषाका कविताहरू प्रकाशित भएका छन् ।

यस अवधिमा पहाडी क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०६८ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखिन कविता सँगालोमा गुरुङ, नेवार, राई वान्तावा, लिम्बू, वाम्बुले, सुनुवार (किरात कोइँच), तामाङ, मगर, कुमाल पहाडी भाषाका कविताहरू परेका छन् ।
वि.सं. २०६९ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सँगालोमा माझी, तामाङ, गुरुङ, अछामी, नेवार, बाहिङ, वान्तावा, वाम्बुले, दनुवार, लिम्बू पहाडी भाषाका कविताहरू प्रकाशित छन् ।

वि.संं. २०६९ मा डा. लाल—श्याँकारेलु रापचाको सम्पादकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सङ्गालोमा लिम्बू, गुरुङ, कोयी (कोयु), बाहिङ, खाम (मगर), पुमा, तामाङ, याक्खा, लाप्चा, वाम्बुले, बराम, मगर (ढूट), चाम्लिङ, नेवार, सुनुवार, दनुवार, वान्तावा पहाडी भाषाका कविताहरू प्रकाशित भएका छन् ।

यस अवधिमा तराई क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०६८ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखिन कविता सँगालोमा तराईका अवधी, भोजपरी, किसान, ताजपुरिया, राजवंशी, उराँव, थारु, सन्थाल, धिमाल, डोटेली, उर्दू, मैथिली भाषाका कविताहरू परेका छन् ।

वि.सं. २०६९ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सँगालोमा तराईका मैथिली, राजवंशी, खस (कर्णाली खस), ताजपुरिया, उराँव, भोजपरी, किसान, अवधी, थारु, बज्जिका, धिमाल भाषाका कविताहरू प्रकाशित रहेका छन् ।
वि.संं. २०६९ मा डा. लाल—श्याँकारेलु रापचाको सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सङ्गालोमा तराईका उराँव, अवधी, धिमाल, ताजपुरिया, राजवंशी, थारु भाषाका कविताहरू प्रकाशित भएका छन् ।

जनगणनामा उल्लेख भएका तर साहित्य आप्राप्य भाषाहरू

जनगणनामा उल्लेख भएका सबै भाषाका साहित्य प्रकाशनमा आउन सकेको छैनन् । माथि उल्लेख भएका विवरणका आधारमा निम्न तालिकाले सो कुरा पुष्टि गर्दछ ।


माथिको तालिकालाई हेर्दा १७ वटा हिमाली भाषामध्यै ११ वटाको साहित्य भएको देखिन्छ भने पहाडी क्षेत्रका ६१ भाषा मध्ये २५ वटा भाषाको मात्रै साहित्य प्रकाशित छ भने बाँकी ३६ वटा भाषाको साहित्यिक उपस्थिति देखिँदैन । यसरी नै जनगणनाका आधारमा तराई क्षेत्रमा देखिएका ४२ वटा भाषामध्ये १५ वटा भाषामा साहित्य भेटिए भने २७ वटा भाषाको साहित्य भेटिएनन् । समग्रमा १२३ भाषामध्ये ५१ भाषामा मात्रै साहित्य भएको देखिन आउँछ । पहाड र तराई क्षेत्रमा उल्लेख भएका कतिपय भाषाहरू छिमेकी मुलुक या अन्य मुलुकमा ठूला वक्ता सङ्ख्या भएका र साहित्य समेत भएको तर नेपालमा भने तिनको साहित्यिक गतिविधि नभएको देखिन्छ । यी भाषाहरू नेपाल उद्भवका नभएकाले यिनलाई अन्य भाषा समूहका रुपमा लिन सकिन्छ ।

जनगणनामा उल्लेख नभएका तर साहित्य भएका भाषाहरू 

व्यवहारिक रूपमा भाािषक एवम् साहित्यिक अस्तित्वमा रहे पनि जनगणनामा उल्लेख नभएका पनि केही भाषाहरू रहेका छन् । यस्ता भाषामा मुगाली, भोटे लामा, केवरत, किराती दुमी र लोवा भाषा रहेका छन् ।

मुगाली भाषा गोरखापत्र नयाँ नेपाल पृष्ठमा निकै वर्षसम्म प्रकाशन हुँदै आएकाले विभिन्न साहित्यक विधाका रचनाहरू पनि प्रकाशन भएका छन् । यस भाषामा कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तकहरू पनि पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशनमा आइसकेको र पठनपाठन भइरहेको अवस्था छ । यस भाषाका कविताहरू नेपाल प्रज्ञा—प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित भएका कविता सँगालोहरूमा पनि प्रकाशित भएका छन् ।

केवरत भाषामा कविता सङ्ग्रह प्रकाशित भइसकेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कविता पत्रिकाका साथै मातृभाषा दिवसका कविता सँगालोहरूमा पनि यस भाषाको फुटकर कविताहरू प्रकाशित भएका छन् ।

यसरी नै भोटे लामा भाषा पनि गोरखापत्र नयाँ नेपाल पृष्ठमा सृङ्खलाबद्ध रूपमा प्रकाशित भएकाले यस भाषामा पनि पर्याप्त मात्रामा साहित्य सृजना भएका छन् । नेपाल प्रज्ञा—प्रतिष्ठानबाट २०६९ मा प्रकाशित मातृभाषा दिवस कविता सँगालोमा पनि यस भाषाको कविता प्रकाशित भएको छ ।

किराती दुमी राई भाषाको साहित्यिक रचना डा. लाल—श्याँकारेलु रापचा सम्पादिन थुँगा कविता सँगालोमा प्रकाशित भएको छ । यसरी नै नवीन भाषा लोवाको पनि कविता यसै कविता सँगालोमा प्रकाशित भएको छ ।

गोरखापत्र नयाँ नेपाल पृष्ठमा प्रकाशित हुँदै आएका भाषाहरू 

गोरपत्र संस्थानले गोरखापत्रमा समावेशीकरणको दिशामा एउटा फड्को नाराका साथ २०६४ साल साउन २४ गतेका दिन विश्व आदिवासी दिवसको अवसर पारेर विभिन्न भाषाको सामग्री प्रकाशन गर्न थाल्यो । सुरुमा नेवारी (नेपाल भाषा), लिम्बू, तामाङ, मैथिली र गुरुङ भाषामा प्रकाशन सुरु गरिएकोमा हाल आएर ३० वटा भाषाहरू निरन्तर रूपमा प्रकाशन हुँदै आएका छन् । ती भाषाहरू निम्न अनुसार रहेका छन्ः
१. नेपाल भाषा, २. मगर             ३. राई, ४. लिम्बू,        ५. तामाङ        ६. भोजपुरी
७. थारु ८. अवधी            ९. सुनुवार १०. गुरुङ         ११. बराम        १२. उराँव
१३. धिमाल १४. माझी            १५. थामी १६. मैथिली १७. उर्दू १८. जिरेल
१९. शेर्पा २०. ताजपुरिया    २१. किसान २२. दनुवार २३. मारवाडी २४. बज्जिका
२५. हिमाली भोटे २६. राजवंशी    २७. कुमाल २८. ल्होमी २९. दराई         ३०. मुगाली
यस प्रकारको प्रकाशनले माथि उल्लेखित भाषाहरूमा अधिकतम साहित्य सिर्जना एवम् प्रकाशनको अवसर जुटाइदिएको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट विभिन्न मातृभाषामा पाठ्यपुस्तकको प्रकाशन

पाठ्यक्रम विकास केन्द्रले २०५४ सालदेखि विभिन्न मातृभाषाहरूमा कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक लेखन तथा प्रकाशन गर्दै आएको छ । थैमिली, भोजपुरी, अवधी, तामाङ, लिम्बू, बान्तावा राई, चाम्लिङ राई, शेर्पा, गुरुङ, मगर, सुनुवार, राजवंशी र याक्खा भाषामा कक्षा कक्षा १ देखि कक्षा ५ सम्मका पुस्तकहरू प्रकाशित भइसकेका छन् भने मुगाली भाषामा कक्षा १ देखि ४ सम्म, तामाङ सम्भोटा लिपि, धिमाल र मगर (अथार मगरात) मा कक्षा १ देखि ३ सम्मका पुस्तकहरू प्रकाशित भइसकेका छन् । यसरी नै कुलुङ र बज्जिका भाषामा पनि कक्षा १ का किताबहरू प्रकाशन भएका छन् ।

यसरी नै प्रत्येक भाषामा कथा, जीवनी र संस्कृति विधाका ३/३ वटा बालसन्दर्भ सामग्रीहरू निर्माण गर्ने काम पनि पाठ्यक्रम विकास केन्द्रबाट भएका छन् । मैथिली, भोजपुरी, लिम्बू, थारु, अवधी, मगर, नेवार (नेपाल भाषा), डोटेली, थकाली, चाम्लिङ, गुरुङ, शेर्पा, बान्तावा राई, उर्दू र संस्कृतमा यस प्रकारका काम भएका छन् ।

यी भाषामा भएका यस प्रकारका पुस्तक लेखन तथा प्रकाशनका कार्यले पनि ती भाषाहरूमा साहित्यका विभिन्न विधामा साहित्य रचना गर्ने अवसर प्रदान गरेको छ ।

विभिन्न भाषामा लेखिएका प्रमुख विधागत कृतिहरू

नेपालको जनगणनाले १२३ वटा भाषा देखाए पनि ज्यादै थोरै भाषाहरूको मात्र सुदीर्घ साहित्यिक परम्परा रहेको विदितै छ । साहित्यिक परम्परा भएका भाषाहरूमा प्रचलित साहित्यका केही विधाहरूको अवस्था कस्तो रहेको छ भन्ने विषयमा सामान्य जानकारी तलको तालिकाले दिन्छ ।


भाषागत रुपमा साहित्य विकास भएका मातृभाषाहरूको अवलोकन गर्दा या त सत्ता सन्निकट अर्थात् सत्तारुपी बत्तीमुनि भएको भाषा (नेवारी भाषाका साथै प्रजातन्त्र र लोकतन्त्र प्राप्तिपछि राजधानीवरिपरि बोलिने तामाङ भाषा) कि त मुलुकको सीमा क्षेत्रमा बोलिने सीमानाका भाषा (लिम्बू, मैथिली, थारु, भोजपुरी) हरूमा साहित्यको विकास भएको पाइन्छ ।

टुङ्ग्याउनी 

नेपाल निरङ्कुशताको चपेटामा परेको अवस्थामा भन्दा स्वतन्त्रता र लोकतन्त्र वा गणतन्त्र अभ्यासको समयमा भाषाहरूको अस्तित्व उजागर भएको देखिन्छ । निरङ्कुतामा अधिकांश भाषाको साहित्यिक अवस्था दमित रहयो भने केही भाषाहरू कठाङ्ग्रिएर बाँचे, २०४६ को प्रजातान्त्रिक घाममा मातृभाषा साहित्यले झुल्ने साथै कोपिला हाल्ने थोरै मौका पायो भने २०६२÷६३ को गणतान्त्रिक युगमा मातृभाषा साहित्य निस्पिक्री फुल्ने र सुवासित हुने अवसर पाएको अनुभूत हुन्छ । तर अपेक्षाकृत सफलताको क्षितिज अझै दूर रहेको देखिन्छ ।
‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन् ।’ भन्ने नेपालको आन्तरिम संविधानले गरेको संवैधानिक व्यवस्थाको मर्मबमोजिम सबै भाषालाई समान व्यवहार गरिनु पर्छ । नेपाली उद्भवका भाषाहरूको सही पहिचान गरी तिनको साहित्यको विकासको भाषिक सर्वेक्षण गरिनुपर्छ । मुलुकका सम्पूर्ण भाषा साहित्यको समुचित विकासका लागि छुट्टै भाषा साहित्य प्रतिष्ठान गठन गरिनुपर्छ । नेपालका भाषाहरू ती भाषा बोल्ने जाति वा समूहको मात्र सम्पत्ति होइनन्, ती त समग्र मुलुककै अमूल्य निधि हुन्, विश्व मानव सम्पदा हुन् । त्यसैले समग्र भाषा बचाउनु र ती सबै भाषामा साहित्य विकास गर्नु आम नेपालीको परम कर्तव्य हो । 

सन्दर्भ सामग्रीहरू


  • अकेला, गङ्गाप्रसाद (२०६४), मैथिली भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १३३—१५०, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • काइँला, वैरागी र तुम्याहाङ, अमर (२०६४), लिम्बू भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ८५–९७, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • काइँला, वैरागी र योञ्जन, अमृत (सं.) (२०५६), राष्ट्रिय भाषाका कविता सङ्गालो, काठमाडौँः राष्ट्रिय जनजाति विकास समिति । 
  • कोइराला, मोहन (सं.) (२०५०), राष्ट्रिय भाषाका कविताहरू, काठमाडौँः नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान ।
  • चौधरी, महेश (२०६४), थारु भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १६१—१८२, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • ठाकुर, गोपाल र गुप्ता, दिनेश (२०६४), भोजपुरी भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १५१—१६०, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
  • तुम्याहाङ, अमर (२०७०), लिम्बु साहित्य निर्माणको इतिहास, काठमाडौँः याक्थुङ साप्सक् अकादमी ।
  • तुलाधर, प्रेमशान्ति (२०७०), नेपाल भाषा साहित्यको इतिहास, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
  • थापा मगर, लोक बहादुर (२०६४), मगर भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ९८—१०३, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • पाठक, विश्वनाथ र त्रिपाठी, विक्रममणि (२०६४), अवधी भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १८३—१९१, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • प्रधान, नर्मदेश्वर (२०६४), नेपालभाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ७५–८४, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • बुढामगर, बमकुमारी र मादेन, राम (सं.) (२०६०), राष्ट्रिय भाषाका कविता सङ्गालो, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
  • मानन्धर धिताल, सुलोचना र तुम्याहाङ, अमर (सं.) (२०६८), मातृभाषा दिवस — २०११ सङ्गोष्ठी पत्र तथा मातृभाषा कविता सँगालो, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
  • मानन्धर धिताल, सुलोचना र तुम्याहाङ, अमर (सं.) (२०६९), मातृभाषा दिवस — २०११ कविता सँगालो, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
  • यादव, योगेन्द्र प्रसाद (२०६९), नेपालमा बोलिने भाषाहरूः सन्दर्भ, सङ्कट र सम्भावना, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आयोजित अन्र्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा आयोजित ‘अन्र्राष्ट्रिय मातृभाषा सङ्गोष्ठी’मा प्रस्तुत कार्यपत्र ।
  • योञ्जन तामाङ, अमृत (२०६४), तामाङ भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १०४—१२३, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • योञ्जन¬ तामाङ, अमृत (२०६८), तामाङ साहित्यको इतिहास, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
  • रापचा, लाल—श्याकारेलु (सं.) (२०६९), थुँगा राष्ट्र मातृभाषाका कविता संगालो—३, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । 
  • रापचा, लाल—श्याकारेलु, यालुङ्छा, बाग—आयाग्यामी र तुम्याहाङ, अमर (२०६५), इन्डो—नेपाल किराँती भाषाहरू विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू, काठमान्डूः किराँत विज्ञान अध्ययन संस्थान ।
  • लेम गुरुङ, रत्नबहादुर (२०६४), गुरुङ भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ७०–७४, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान । 
  • Eppele, M. John, Paul Lewis, Dan Raj Regmi and Yogendra P. Yadav (eds.). 2012. Ethnologue: Languages of Nepal, Kathmadndu: Central Department of Linguistics and SIL International.
  • Central Bureau of Statistics. 2012. Natonal Population and Housing Census 2011 (Natonal Report), Kathmandu. Bureau of Statistics, National Planning Commission (NPC). 



Thursday, March 26, 2020

ख्यालीको मुखापृष्ठमा पालाम र हाक्पारे प्रयोगको अवस्था र उपादेयता

ख्यालीको मुखापृष्ठमा पालाम र हाक्पारे प्रयोगको अवस्था र उपादेयता*
— प्राज्ञ अमर तुम्याहाङ

१. लेख सार 
याक्थुङ जाति आफ्नो मौलिक भाषा, संस्कृति, जीवनदर्शन, जीवन बाँच्ने पृथक पद्दति भएको जाति हो । यस जातिमा मौलिक लोक भाका र गायकी पनि युगौदेखि प्रयोग भइआएका छन् । यिनको प्राचीनता याक्थुङहरूको शास्त्र मुन्धुम, कृषियुग, सिकारी युगआदिसँग जोडिने गरेको पाइन्छ । यस्तै धेरै लोक भाका परम्परामध्ये ख्याली, पालाम र हाक्पारेका बारेमा यस पत्रमा चर्चा गरिएको छ । यी तीन विधाको शब्दगत बनावट, तिनको अर्थ र प्रयोग हुने परिवेश, इतिहासको आँकलन, तिनको रूप, तिनको अवस्था र उपादेयताबारेमा चर्चा गरिएको छ ।

२. याक्थुङ परिचय (काव्यिक कोणबाट) 
याक्थुङ युवा युवतीहरू ख्यालीमा चिनारी गर्छन्, पालामा पिरती गाँस्छन् र हाक्पारेमा भद्रता प्रदर्शन गर्छन् । तरुनीको हात समातेर धान ननाचेको तन्नेरी या तन्नेरीको हात समाएर धान ननाचेको तरुनी याक्थुङ समाजमा अकल्पनीय छ । ख्याली, पालाम, हाक्पारे कुनै बनिबनाउ गायन नभएर तत्क्षण परिवेश अनुसार प्रस्तुत गरिने भावावेगयुक्त काव्यिक परिसंवाद् या मनोद्वेगीय अभिव्यक्ति हो जसमा साम्भाङ (छन्द)को लयमा कवित्व छङ्छङिएको हुन्छ, हेÞत्लुङ वाधामजस्तै । नबास्ने भाले र नचिर्विराउने चरी नभएजस्तै मुखमुखै पालाम नरच्ने र नगाउने याक्थुङ तरुनी तन्नेरी विरलै हुन्छन् । यसर्थ सबै याक्थुङ तरुनी तन्नेरी सबै कवि कवयित्री हुन् र सबै गायक गायिका पनि हुन् । ख्याल ठट्टा, प्रेमिल अनुभूति र प्रेमाभाव सञ्चार र गम्भीर चिन्तन मननका माध्यमका रूपमा ख्याली, पालाम र हाक्पारे प्रयुक्त हुन्छन् जहाँ सृष्टिको सिर्जनशीलता र मानवीय प्रेमाभाव प्रस्फुटित हुन्छ, त्यही अपरिमित सर्जकको रूप याक्थुङहरूको परिचय हो । यो सबैले अनुभूत गरेको मात्र होइन जीवन बचाइको अभिभाज्य लिम्बू परिचय पनि हो । 
यस पत्रमा याक्थुङ परिचयका अभिन्न पक्षगत विशेषताका रूपमा रहेका ख्याली—पालाम—हाक्पारेका बारेमा सामान्य चर्चा गरिने छ ।

३. ख्याली 
ख्यालीको चर्चा गर्ने क्रममा ख्यालीको शब्दको बनावट वा उत्भव र यसका रूपका बारेमा चर्चा गरौँ ।


क) ख्याली शब्दको बनावट 
याक्थुङ शब्द निर्माण पद्धतिलाई विश्लेषण गरेर हेर्दा एकभन्दा बढी शब्दहरू मिलेर एकल शब्दहरूजस्तै शब्दहरू बन्ने गरेको देखिन्छ जस्तै नाःङ् केÞनेÞबा कोःक्मारेÞ कुजङ = नाःङ्जङ्, पाङ् (हिम्) फेÞसिङ्बा = पाङ्फेÞ (पाङ्फे), नाम् केÞदक्पा = नाम्दक्, माङ्ङिल्लेÞ कुदःक् = माङ्दःक्, निङ्लेÞ कुघुरी = निङ्घुरी आदि । यस्तै प्रकारले नै के? (ख्याल/ठट्टा) पाःन् पेःल्ली = क्याली > ख्याली या खे? (आलङ्कारिक)पाःन् पेःल्ली = ख्याली बनेको हुन सक्छ । अथवा यदृच्छित शब्द निर्माण प्रक्रियाबाट सोझै ख्याली शब्द बनेको कुरालाई पनि नकार्न सकिन्न । खस नेपालीमा खेल मूल शब्दबाट ख्याल शब्दको उत्पत्ति (पराजुली : २९७) भएको मानिए पनि लिम्बु परिवेशमा यस बारेमा फरक बुझाइ, प्रयोग र प्रयोगको परिवेश रहेको पाइन्छ ।

ख) ख्यालीको अर्थ र प्रयोग परिवेश
गोबिन्दबहादुर तुम्बाहाङ (२०६८ः १६३)ले अमर तुम्याहाङ र भिमा खजुम (२०६८) लाई उदृत गर्दै लेखेका छन्, "काइँला (२०५९ः १४४) ले यसलाई ‘पद्यात्मक वातचित’ भन्दछन् भने मिक्वा (२०५८ः ६७) ले यसलाई ‘चुड्के ओठे जवाफ’ भनेका छन् ।"

येहाङ लाओती (२०६२) ले भनेजस्तै ख्यालीलाई याक्थुङ भाषामा सोरेÞक अर्थात् ठट्टा मात्र भनी सीमित गर्दा धेरै साँगुरिन पुगेको प्रतीत हुन्छ । ख्याली केही हदसम्म ठट्टा गर्नका लागि पनि प्रयुक्त हुन्छ । ख्याली धान नाच्नु पूर्व तरुनी तन्नेरीबीच साइनो केलाउन, किरिया कर्मको फराक्लो सकिएपछि पाहुनाको डेरा डेरामा गएर दुःखसुखका कुरा गर्न, हल्का ख्याल ठट्टा गर्न (तुम्याहाङ, २०७०ः २८) ख्यालीको प्रयोग हुने गर्दछ । ख्याली प्रयोगका बहुआयामहरू छन् भन्ने कुरा थाम्सुहाङ यलम्बर मिक्वाको यो भनाइले पुष्टि गर्दछ— "अवसरवश जहाँ — जुन कार्यक्रममा जुन प्रसङ्ग उठ्यो यसले त्यसैलाई महत्त्व दिएर त्यसको सेरोफेरोको प्रवाहमा बग्ने गर्छ । त्यसर्थ ख्यालीबाट मुन्धुम, आख्यान, उपदेश, माया पिरती, उल्लास, हीनताबोध आदि अनेक विषयवस्तु र विविध अलङ्कार एवम् रसयुक्त आदर, सत्कारका गम्भीर र सरल अर्थात्मक विचारहरू व्यक्त गर्न सकिन्छ" (२०५८ः ६९) ।

ग) ख्यालीको इतिहास 
ख्याली कति पुरानो हो भनेर साल संवत् नै किटान गर्ने अवस्था भने छैन । यसबारेमा यलम्बर मिक्वाले ख्याली “कृषि व्यवसायको आरम्भ कालदेखि चलिआएको ताम्के (ताम्अःक्के) लोक संस्कृतिबाटै कप्सा अन्तरगत विकास भएको (२०५८ः ६७) भनी बताएका छन् । यो कृषि युगमा सुरु भएको भन्ने कुरामा दुइमत छैन् । तर ताम्के अर्थात् तामअःक्के वा मकै गोड्दा कोदालो खन्नेक्रममा गाइने गीतबाट ख्यालीको सुरुवात भयो भनी विश्वास गर्न गाह्रो छ । यसको खाटी प्रयोग या?लाङसँग भएकाले यसको प्रयोग खेतको खलाबाट माक्चेÞरेÞ पु धपाउने प्रचलन जब या?लाङमा परिणत भयो तब ख्यालीको पनि आरम्भ भयो भनी विश्वास गर्न सकिन्छ । 

घ) ख्यालीका रूप
ख्यालीको रूपलाई मूलतः दुई रूपमा अभिव्यक्त गर्न सकिन्छः (अ) साम्भाङ (छन्द) का रूपमा (आ) सम्बन्ध र विषयवस्तुको सूत्रधारका रूपमा ख्याली ।

(अ) साम्भाङ (छन्द)का रूपमा ख्यालीः याक्थुङ साहित्यमा प्रयोगमा रहेका तीन प्रकारका साम्भाङ (छन्द)हरू (१) शास्त्रीय साम्भाङ (छन्द), (२) लोक साम्भाङ (छन्द) र (३) मुक्त साम्भाङ (छन्द) हुन् । ख्याली यी तीनमध्ये लोक साम्भाङ (छन्द)मा पर्दछ । यस साम्भाङ (छन्द)को प्रयोग गरेर काव्य—कविता रचना गर्न सकिन्छ । ख्याली साम्भाङ १० अक्षरले बन्नेको हुन्छ भने हरेक श्लोकको अघि ए... काप्फेÞक्वा आउने गरिन्छ । यस साम्भाङको एउटा नमुना निम्न अनुसार रहेको छ ।



ख्याली एक प्रकारको गायकी नै हो । यसर्थ कतिपय अवस्थामा ख्याली गाउने या भन्नेहरूले यसको लयलाई आधारमा मानेर कही ९ अक्षरमा पनि ख्याली भनेको पाइन्छ । इना क्यासेटको प्रस्तुति रहेको इमाहाङ सेत्लिङ र मनु नेम्बाङको स्वर रहेको ख्यालीको यो नमुना हेरौँ :

यसरी कतिपय अवस्थामा लयलाई पक्डिएर ९ अक्षर वा कहिँ कतै ११/१२ अक्षरसम्मका हरफहरू प्रयोग गरिए पनि धेरै अध्येता तथा विद्वानहरूको निष्कर्षमा ख्याली १० अक्षरको हुन्छ ।

(आ) सम्बन्ध र विषयवस्तुको सूत्रधारका रूपमा ख्यालीः ख्यालीले विषवस्तुलाई आलङ्कारिकता प्रयोग गरी काव्यिक रूपमा प्रस्तुत गर्न सहयोग गर्दछ । धाननाच नाच्नुअघि याक्थुङ तरुनी र तन्नेरीबीचमा सम्बन्ध केलाउँनका लागि सोझो संवादले पनि काम नहुने त होइन तर याक्थुङ तरुनी तन्नेरीहरू आलङ्कारिक शब्दचयन गरी लयात्मक रूपमा ख्यालीको प्रयोग गर्दछन् र संवाद गर्दछन् । यसरी नै मरोमराउ परेको घरमा गरिने बर्खन्तको फराक्लोपछि सुखदुःखको आदानप्रदान या हाक्पारे गाउनु पूर्व विषय प्रवेशका क्रममा ख्यालीको प्रयोग हुने गर्दछ । यसर्थ ख्याली एउटा त्यस्तो सूत्रधार हो जसले तरुनी तन्नेरी या भद्रभलाद्मीबीच प्रस्तुत हुने विषयवस्तु प्रस्तुतिको पूर्वाधार वा विषय प्रवेशको शालीन वातावरण निर्माण गर्दछ ।

४. पालाम
पालामको शाब्दिक बनोट वा उत्भव, इतिहास र यसको रूपका निम्नअनुसार भएको देखिन्छ ।



क) पाःल्लाम् शब्दको बनावट र अर्थ
पाःल्लाम् शब्दको उच्चारण फरक फरक ढङ्गले गरेको पाइन्छ । कसैले पाःल्लाम्, कसैले पालाम, कसैले पालम, कसैले पात्लाम आदि भनेको पाइन्छ । काइँला (२०६७ः २७०) ले "पाःल्लाम् १. धाननाच नाच्दा गाइने गीतविशेष,
२. मायाको गीत; प्रेमगीत" भनेका छन् भने पराजुली (२०४०ः ७७०) ले "पालम लिम्बु जातिले धाननाचमा जुहारीका रूपमा गाउने गीत" भनेका छन् ।
याक्थुङ भाषामा एकभन्दा बढी शब्दहरू मिलेर शब्द निर्माण हुँदा अघिल्लो वा पहिलो शब्दको अन्तिम ध्वनिको पछाडि जोडिन आउने अर्को शब्दको पहिलो ध्वनिले आफूभन्दा अगाडिको ध्वनिलाई आफूजस्तै रूपमा बदलिदिन्छ । याक्थुङ शब्द निर्माणको यही नियम अनुसार पाःन् + लाम् शब्द जोडिँदा पहिलो शब्द पाःन्को न् दोस्रो शब्द लाम्को ल्सँग जोडिएर उच्चारण हुँदा न् ध्वनि लमा परिवर्तन भई पाःन्लाम श्र पाःल्लाम् हुन गएको देखिन्छ । कतिपयले पाःत्—लाम् पनि भन्ने वा लेख्ने गरेको पाइन्छ । यहाँ पाःन् भन्नाले कुरा र लाम् भन्नाले बाटो हो अर्थात् पाःल्लाम् शब्दलाई शाब्दिक हिसाबले हेर्दा कुरा गर्ने बाटो अर्थात कुरा गर्ने माध्यम भनी बुझ्न सकिन्छ ।

ख) पाःल्लाम् प्रयोगको परिवेश
पाःल्लाम्को प्रयोग मूल रूपमा धाननाच नाच्दा साइनो नलाग्ने तरुनी र तन्नेरीले आफ्नो सवाल जवाफ वा संवादका क्रममा प्रयोग गर्दछन् । यसको मौलिक प्रयोगको आधारमा भन्ने हो भने यो खाँटी प्रेम गीत हो जसमा प्रेमी र प्रेमिका सात दिन सात रातसम्म अविश्रान्त समर्पित भई उभिएर धाननाच नाच्दै पाःल्लाम् भन्छन् अर्थात् गाउँछन् । सौहार्दताका लागि सुरुमा समूह पनि धाननाच्दै पाःल्लाम् भन्ने गरिए पनि सम्पूर्णतामा यसको पराकाष्टा युगल जोडीको धाननाचमा देखिन सकिन्छ । पाःल्लाम् र धाननाच सुन्ने र हेर्नेका लागिभन्दा सहभागीहरूले लागि बढी मनोरञ्जन लिने दिने गायन र नाच हो ।

ग) पाःल्लाम्को इतिहास 
पाःल्लाम् धाननाचसँग जोडिएर आउँने विशेष गीत हो । याक्थुङ जातिको विश्वास अनुसार धाननाचको उत्पत्ति कृषि युगमा भएको मानिन्छ । कृषि युगको एक कालखण्डमा अनिकालको महामारी मच्चियो । त्यस समयमा माक्चेÞरेÞ पु अर्थात् भँगेरी चरीले याक्थुङहरूलाई अनिकालबाट बचाउन धानको बीउ ल्याइदिने प्रतीज्ञा ग¥यो । तर उसले आफू र आफ्ना सन्ततिले उक्त धान खाँदा मान्छेले मार्न वा चोटपटक पुराउन नपाइने बाचाबन्धन गर्नु पर्ने कुरा उसले राख्यो अनि माक्चेÞरेÞ पु र याक्थुङ पुर्खाहरूबीच त्यही अनुसारको बाचाबन्धन भयो । सोही सम्झौता अनुसार माक्चेÞरेÞ पुले धानको बीउ ल्यायो । याक्थुङहरूले खेती गरे । धान पनि प्रसस्त फल्यो । धान पाकेपछि माक्चेÞरेÞ पु बथानका बथान आउन थाले । बाचा बन्धनअनुसार याक्थुङहरूले माक्चेÞरेÞ पुहरूलाई चोटपटक पुराउन वा मार्नु भएन । उनीहरूलाई ती चराबाट धान बचाउन हम्मे हम्मे प¥यो । एक जना याक्थुङको जुक्ति अनुसार सबै मिलेर धान खलामा जम्मा गरे र सबै मिलेर हातमा हात मिलाएर धानको थुप्रोलाई घेरेर हाऽऽऽ हाऽऽऽ भन्दै माक्चेÞरेÞ पुका बथानलाई भगाउन थाले । कालान्तरमा गएर यसरी चरा धपाएर धान बचाउने तरिका नै धाननाचको रूपमा विकास भयो । समाज विकास क्रममा पछि गएर साइनो नलाग्ने तरुनी तन्नेरीबीच धाननाच्ने चलनमा विकास भयो । अनि हाऽऽऽ हाऽऽऽ शब्द पाल्लामको पहिलो शब्द र लय बन्न पुग्यो । पछि गएर यो हाऽऽऽ हाऽऽऽ पाःल्लाम्को फुङ्फेÞक्वाको रूपमा प्रयोग हुन थाल्यो भने यसको अघि पाःल्लाम््को मूल भाग विकास भयो ।

घ) पालामका रूप
पाःल्लाम्को रूपलाई मूलतः दुई रूपमा अभिव्यक्त गर्न सकिन्छः (अ) साम्भाङ (छन्द) का रूपमा (आ) सम्बन्ध र विषयवस्तुको सूत्रधारका रूपमा ख्याली ।

(अ) साम्भाङ (छन्द)का रूपमा पाःल्लाम्: पाःल्लाम् भन्नका लागि प्रयोग गरिने सम्भाङ (छन्द)लाई पाःल्लाम्् साम्भाङ (छन्द) भनिन्छ । पाःल्लाम्को हरेक हरफको मुख्य खण्ड नौ अक्षरले बनेको हुन्छ । पाःल्लाम् भन्दा पहिला सवाल राख्ने वा जवाफ दिने जसको पालो हो उसैले पाःल्लाम् उठाउँछ । त्यसपछि पुनः त्यसको पछिल्लो अंश आफै वा पाःल्लाम्ले सम्बेधन गरेको व्यक्तिले उठाउँछ र एक साथ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ, हाऽऽऽ एऽऽऽ हाऽऽऽ, हाऽऽऽ हैऽऽऽ हाऽऽऽ या खोऽऽऽ खाइऽऽऽ खोऽऽऽ भनेर एउटा हरफ टुङ्ग्याउने गरिन्छ (तुम्याहाङ, २०७०ः ३०) । यसरी पाःल्लाम्को हरफको मुख्य भागपछि आउनेलाई फुङ्फेÞक्वा भनिन्छ । यसको नमुना निम्न अनुसार रहेको छ ।

सेÞन्छेÞङला लाग चादुमेÞल्लेÞ
चादुमेÞल्लेÞ हाऽऽऽ एऽऽऽ हाऽऽऽ
साङ्साङ्बा तेÞन्नो आदुमेÞल्लेÞ
आदुमेÞल्लेÞ हाऽऽऽ एऽऽऽ हाऽऽऽ
(तुम्बाहाङ, २०६८ः १६२)

(आ) प्रेम र ज्ञानको भूमिको रूपमा पाःल्लाम्ः पाःल्लाम् वास्तवमा मूलरूपमा प्रेमगीत नै हो । पाःल्लाम्को माध्यमबाट नै तरुनी तन्नेरी अर्थात् प्रेमी प्रेमिकाले प्रेमको प्रस्ताव राख्ने, प्रेमबारेमा संवाद गर्ने, प्रेमको महिमा गाउने, आजीवन सँगसँगै बाँच्ने सँगसँगै मर्न प्रतिज्ञा गर्ने गर्दछन् । यसर्थ पाःल्लाम् प्रेम अङ्कुराउने, बढ्ने, फुल्ने र फल्ने उर्वर माध्यम भूमि हो । पाःल्लाम्मा माया पिरतीका कुरामात्र हुँदैनन् । यसमा चराचर सृष्टि र प्रकृतिका कुनै पनि विषयमा सवाल जवाफ हुने हुनाले यो लिम्बु जीवनदर्शनका ज्ञान आर्जनको पाठशाला पनि हो भन्न सकिन्छ । 

ङ) पालामका प्रकार
पाःल्लाम् धाननाचको प्रकारका आधारमा निम्न प्रकारका हुने मानिन्छन् तर यिनको छन्दविधान कुनै फरक हुँदैन ।
(अ) सिर्धाम्बे पाःल्लाम्
(आ) केÞङ्जोली/केÞङ्जोरी पाःल्लाम्
(इ) कसरक्पा पाःल्लाम्
(ई) ताम्म्राङ्ग्या पाःल्लाम्
यीमध्ये कसरक्पा सबैभन्दा पुरानो र आधारभूत पाःल्लाम्् गीत मानिन्छ भने बाँकी आञ्चलिक नाचका आधारमा राखिएका नाम हुन् ।

५. हाक्पारे
हाक्पारेको शब्दको शाब्दिक बनोट वा उत्भव, इतिहास र यसको रूप निम्नअनुसार भएको पाउन सकिन्छ ।


क) हाक्पारे शब्दको बनावट र अर्थ
हाक्पारे साम्लो अर्थात् हाक्पारे गीतका बारेमा काइँला (२०६७ः ५३६) लेख्छन्, "लामो स्वर तानेर गाइने लिम्बुजातिको एक प्रकारको गीतविशेष (विशेषतः विरह र सृष्टिसित सम्वद्ध)" । यसको आधारमा हाक्पारे गीतलाई विरही भाव अभिव्यक्त गर्ने याक्थुङ विशेषतासहितको गीत भएको बुझ्न सकिन्छ । यसका साथै हाक्पारे मुन्धुम सम्प्रेसित गर्ने गीति माध्यम पनि हो भन्ने माथिको भनाइबाट स्पष्ट हुन्छ । लिम्बु जातिको बोली र गतिमा देखिने सुस्तता वास्वविक रूपमा सुस्तता होइन, यो त सौम्यता हो जुन हाक्पारेले निर्देश गरेको हुन्छ ।
हाक्पारे शब्द कसरी उद्भव भयो भन्ने विषयमा लिम्बुवानको दुई फरक फरक भूगोलमा रहेको दुईवटा आख्यानहरू निम्नअनुसार रहेकाछन् ।

आख्यान—१
तुम्याहाङ र खजुम (२०६८) लेख्छन्ः तुङ्दुङ्गेमाङ थेÞप्मा (तुङ्दुङ्गे देवताको पूजा आराधना) को आख्यान (याक्थुङ्बा, २०५८ः ८१) का साथै सोधुङहाङ (सोधुङ्गेÞन लेÞप्मुहाङ) की कान्छी छोरी इरेÞरेÞ इधुक्नामाको देहावसानपछि उनी आकुलव्याकुल भएर विलाप गरे तर प्रजाहरूले भने त्यसलाई आलङ्कारिक रूपमा हाङ पारेÞ (राजा वाणी आयो) भनी राजाको लयात्मक रोदनलाई गीति लयको रूपमा अनुसरण गरे र कालान्तरमा त्यही हाङ पारेÞ शब्द अपभ्रङ्स भएर हाक्पारे भएको (आङ्बुहाङ २०५८ः ४) प्रसङ्ग हाक्पारेको उत्पत्तिसँग जोडिएर आउँछ ।

आख्यान—२
मुन्धुमसाबा तथा साम्बा खाम्धाक रूपलाल याक्थुङ मेरिङ (२०१४) ले उल्लेख गर्नुभएको आख्यान यस प्रकार रहेको छः मानव जीवन सागरको मालिक फुङ्बोःक्को फुङ्दिवाबाको जीवनसङ्गिनी साम्केÞलो साम्लोदिवामा दोजिया भइन् र १० महिना पुग्नु चार दिनअघि एक नाबालकलाई जन्म दिइन् । न्वारान गर्ने चौथोदिनको बिहान भालेको डाकअघि चोसाप्लुङ्मा इमेःत्नामा आएर त्यो नाबालकको निधारमा उनको भाग्यजोग्य लेखिदिइन्— तिमी ९ वर्ष पुग्दा तिम्रो आधा शरीर पक्षघात हुन्छ । शिशु त देउता जस्तै हो । उसले यो कुरा थाहा पायो । उसले यो कुरा थाहा पाएपछि दुःखी भएर रातोदिन रुन थाल्यो । उसको रुवाइले गाउँ वस्ती, डाँडाकाँडा सबै गुन्जायमान भयो । त्यो बालकको रुवाइ यम्भामी पोरोक्मी लोक हुँदै तागेÞरा निङ्वाफु माङ्को आसनसम्म गन्जिन पुग्यो । अनि तागेÞरा निङ्वाफु माङ्ले भाग्यकी देवी चोसाप्लुङ्मा इमेःत्नामालाई बोलाएर आसिगो सिया पाङ्भे इक्सा खाम्बेःक्मेÞ?यो अर्थात् मत्र्य लोकमा के भयो ? एउटा नवजात शिशुले संसार थर्कमान हुने गरी रोइरहेको छ, गएर हेर्नुहोस् भनी निङ्वाफुमाले इमेःत्नामालाई भन्नुभयो । इमेःत्नामा मत्र्यलोकमा आएर हेर्दा त उनले भाग्य लेखिदिएको त्यही नवजात शिशु पो आफ्नो भाग्यका बारेमा थाहा पाएर रोइरहेको पाइन् । नवाजात शिशु र सुत्केरी आमाको कुरुवा बसेका मानिसहरू र सुत्केरी आमा इमेःत्नामाको शक्तिले सबै मस्त निद्रामा परे । शिशुभने रोई नै रहेको थियो । इमेःत्नामाले त्यो बालकलाई याङ्दाङ अर्थात् कोक्रोमा हल्लाउँदै निम्न लोरी गाउँदै सुताउन थाल्नुभयोः

आलोलो आलोलो लइ ... ...
फुङ्बोना साए केवाःप्मा साए
युन्छोरेÞ चिगेÞ तान्छोरेÞ नेÞगेÞ
पाःप्मेÞन्लो माङ्ङे फिकेÞमेÞन्लो हाङ्ङे ।।

आलोलो आलोलो लइ ... ...
सिदिरेÞ याङ्दाङ् मादिरेÞ याङ्दाङ्
इप्सुगेÞ इमा? नेÞस्सेÞओ माङ्ङे
तान्दिगेÞन् सेÞप्माङ् लोःक्खेÞओ हाङ्ङे ।।


आलोलो आलोलो लइ ... ...
ताःन्छो ताःत्तिल्लेÞ नाम्साङ् थाङ्ङिल्लेÞ
इप्लुङ् सोरेÞना इमा?लाम् सोरेÞना
केÞमिक्फुङ् फाःक्खेÞना चिदा?दा? पोरेÞना ।।

यसरी लोरी गाउँदै इमेःत्नामाले बालकलाई सुताउन थालेपछि विस्तारै त्यो बालक पनि निदायो । निदाएको शिशुको आमा र कुरुवाहरूले तन्द्रामा इमेःत्नमाको मधुरो विरह लाग्दो लोरी कता कता सुनेजसरी उनीहरूको कानमा थुरिन पुग्यो । बालक मस्त सुतिसकेपछि सबै बिउँझिए । उनीहरू बिउँझिँदा उज्यालो हुन लागिसकेको थियो । तर चोसाप्पि माङ् इमेःत्नामाको लोरी गीतले उनीहरू बसैको मन विरहले छपक्कै छोपेको थियो । यही विरहमा उनीहरूले सोधासोध गरे— आन्देÞन अङेÞक्वानु साम्लोनु हात् पारेÞ अर्थात् अघि बालकसँग गीत गाउँदै कसले कुरा ग¥यो । यही “हात् पारेÞ” शब्द कालान्तरमा अपभ्रंश भएर “हाक्पारे” भयो ।
यी दुई आक्ख्यान अनुसार हाक्पारे शब्द "हाङ् पारेÞ" र "हात् पारेÞ" शब्दहरूको संयोजन भएर बनेको हो ।

ख) हाक्पारे प्रयोगको परिवेश
तुम्याहाङ र खजुम (२०६८) अनुसार "सन्तान वरदानको आराधना, फुङ्वाचाङ्मा (तरुनी तन्नेरीको शिर उठाउने), दुलहा दुलहीप्रति आशीष प्रदान, तङ्सिङ् मुन्धुमको हरेक खण्ड–खण्डको मुन्धुम वाचनको अन्त्यको सङ्केत आदिमा हाक्पारे भाका प्रयोग गरी गाइन्छ ।" खाम्धाक (२०१४) अनुसार "(१) नवजात शिशुको न्वारान गर्दा या शिशुलाई कोक्रोमा सुताएर उपदेशसात्मक लोरी गाउँदै कोक्रो हल्लाउँदा, (२) साम्सामा गर्ने फेÞदाङ्मा नहुँदा हाक्पारे गाउँदै साम्सामा गर्न र (३) विहाबारीमा फुङ्वाचाङ्मा या फूल जगाउन" हाक्पारेको प्रयोग गरिन्छ ।

ग) हाक्पारेको इतिहास 
माथि उल्लिखित हाक्पारे शब्द उत्पत्तिको दुई वटा आख्यानलाई आधार मान्ने हो भने हाक्पारेको इतिहास मुन्धुमी युगमा अर्थात् हजारौ वर्षअघि भएको हो भनी अनुमान गर्न सकिन्छ ।

घ) हाक्पारेका रूप
हाक्पारेलाई दुई रूपमा अभिव्यक्त गर्न सकिन्छः (अ) साम्भाङ (छन्द) का रूपमा (आ) शास्त्रार्थ र अशीर्वचनका रूपमा ।
(अ) साम्भाङ (छन्द) का रूपमा हाक्पारेः हाक्पारे मौखिक गायनमात्र होइन मुन्धुम गायनको एक आदर्श भाका र छन्द पनि हो । हाक्पारे छन्दको प्रभाव लिम्बुवान लोक र आसपासमा पनि त्यतिकै धेरै रहेको छ अर्थात् पूर्वी नेपालको धेरै पहाडी जिल्लाहरूमा हाक्पारे प्रचलित रहेको छ । यो छन्द प्रचलित हुने क्रममा यसले आफ्नो शास्त्रीय छन्दको रूपमा केही बदलाब ल्याएको पाइन्छ तर यसको लयमा भने खासै बदलाब भएको पाइँदैन, कहीँ न कहीँ हाक्पारेको विशेषता टड्कारो रूपमा पाउन सकिन्छ । याक्थुङमा चलिआएको हाक्पारे साम्भाङ्को एउटा नमुना :

ओऽऽ रिल्लो
एऽऽ तुत्तुगेÞन्गर ए तुम्म्याङ्हाङ् सासे !
एऽऽ याक्लागेÞन्गर ए सुहाङ्मा सासे !
एऽऽ उन्छोःन्ग उःन्छोःन् उनाबा उन्छोःन्
एऽऽ मुरेÞङ्मु नेÞस्सेÞ खेÞरेÞङ्लक् नेÞस्सेÞमु
ओऽऽ रिल्लो


भावार्थ–
ओऽऽ रिल्लो
एऽऽ आदरणीय भद्र भलाद्मीहरू हो !
एऽऽ सम्माननीय महामान्यवरहरू हो !
एऽऽ उहिले उहिले धेरै नै पहिले
एऽऽ केवल सुनसान मात्र थियो रे ।
ओऽऽ रिल्लो
(तुम्बाहाङ, २०६८ः १६४)

यी हाक्पारे हरफहरूको आधारमा हाक्पारेमा ए भन्ने काप्फेÞक्वा र रोरिल्लो भन्ने स्वीकृतिवाचक फुङ्फ ेÞक्वा आउने गर्दछ । काप्फेÞक्वा र फुङ्फेक्वा बाहेक हरफको मूल खण्ड ११ अक्षरले बनेको हुन्छ ।
यसो भए पनि सिक्किमदेखि अरुण उपत्यकासम्म प्रयोग र प्रचलनमा रहेका हाक्पारे गीतमा ९ अक्षर भएका हरफ, १० अक्षरका हरफ, ११ अक्षरका हरफ र कतिपयमा १२ अक्षरसम्मका हरफ वा सोभन्दा बढी अक्षर भएका हरफहरू पनि प्रसस्त प्रयोग भएको पाइएका छन् । तर मूलतः लयमा भने एकरूपता भएको पाइन्छ केही स्थानीय स्वादसहित । 

(आ) शास्त्रार्थ र आशीर्वचनका रूपमा हाक्पारेः हाक्पारे साम्लोमा मूलतः मुन्धुमी ज्ञानका कुराहरू सवाल जवाफको रूपमा तुम्म्याङ्हाङहरू बीचमा या साम्बा येबा/येमाबीचमा गाइने गरिन्छ । यसर्थ हाक्पारे शास्त्रार्थको रूपमा पनि लिन सकिन्छ । यसका साथै हाक्पारे सामुइ नाःक्मा, फुङ्वा चाङ्मा र आशीर्वाद (याक्थुङ्बा, २०५८ः ८६) दिन पनि प्रयोग गरिन्छ । 

६. ख्याली, पालाम र हाक्पारेको प्रयोगको अवस्था
व्यवहारिक रूपमा याक्थुङ तरुनी तन्नेरीहरू धाननाच्नुअघि साइनो लाग्छ कि लाग्दैन भनेर साइनो केलाउन ख्यालीको प्रयोग गर्ने गरेको देखिन्छ । यसका साथै ख्याल ठट्टाका लागि पनि ख्याली प्रयोग हुने गर्दछ ।
धाननाच नाच्दा नै पालामको मौलिक एवम् व्यवहारिक रूपमा प्रयोग हुने गर्दछ ।
सामुइ नाक्मा, फुङ्वा चाङ्मा, सान्त्वना दिन या आशीर्वाद दिन हाक्पारेको व्यवहारिक प्रयोग भएको पाइन्छ ।
यसका अलावा गायक गायिकाहरूले व्यवसायिक रूपमा गाएर क्यासेट, सिडीमा निकाल्ने या छायाङ्कन गर्ने या चलचित्रहरूमा ख्याली, पालाम र हाक्पारे प्रयोग गरेको पाइन्छ ।

७. ख्याली, पालाम र हाक्पारेको प्रयोगको उपादेयता
पछिल्लो समयमा ख्याली, पालाम र हाक्पारे अन्य लोक भाकाहरूजस्ते सङ्कटमा परेका छन् । यी सङ्कटमा पर्नुका निम्न कारणहरू रहेका छन्ः
- याक्थुङहरूको बस्तीमा अरु जातिको प्रवेशले भाषा, संस्कृतिमा ल्याएको अन्तरघुलनका क्रममा याक्थुङहरूले नै आफ्नो लोक संस्कृतिलाई भन्दा आगन्तुक संस्कृतिलाई प्राथमिकता दिने, अरुको अनुसरण गर्ने र आफ्नोलाई बेवास्ता गर्दै छोड्दै जाने ।
- लोक संस्कृतिको महत्व बुझाएर बचाउने प्रयास गर्नुको साटो अङ्ग्रेजी वा हिन्दी संस्कृतिलाई बढावा दिने राज्यको शैक्षिक एवम् सांस्कृतिक नीतिको मारमा पर्नु ।
- आफ्नो स्वजातीय संस्कृतिप्रति मूलतः खसबहुन संस्कृति पालन गर्नेले गर्ने गरेको खिसीट्युरीबाट बच्न आफ्नो संस्कृति छोड्नु  आदि ।
- राजनैतिक परिघटनाहरूको मारः जस्तो कि १० वर्षे जनयुद्धका कारण हाटबजार बन्द हुने, सदियौँदेखि गरिआएका आफ्नो परम्पराहरू पालन गर्न नपाउने जस्ता कारणले यस्ता लोक संस्कृति विस्थापन हुनु ।

८. ख्याली, पालाम र हाक्पारेको प्रयोगको उपादेयता
परापूर्वकालदेखि जेजसरी ख्याली, पालाम र हाक्पारे प्रयोग भइआएका थिए र प्रयोग भइआएका छन् त्यसरी नै भविष्यमा पनि प्रयोग हुनु यी तिनै विधाको सार्थकता हो जसबाट यिनको मौलिकता बचाउन सकिन्छ । यसका साथै सिर्जनात्मक हिसाबले पनि यी विधाको प्रयोग गरिनुपर्छ जस्तो कि साहित्य रचना गर्न, चलचित्रमा तिनको साहित्य, धून, गायकीको उपयोग गर्न सकिन्छ र याक्थुङ सभ्याताको विरासत नयाँ पुस्तामा सकुसल हस्तान्तरण गर्न पनि सकिन्छ ।

९. निष्कर्ष 
ख्याली, पालाम र हाक्पारे याक्थुङ जातिको धेरै मौलिक विशेषताहरू मध्येका विशेषता हुन् जसले याक्थुङ जातिलाई टड्कारो रूपमा चिनाउँछ । पछिल्लो समयमा आएर यो विलोपको स्थितिमा पुगेको छ । यसलाई पहिलाको जस्तै परिवेशमा बचाउन सकिने अवस्था अव हाम्रो सामु रहेन । बदलिँदो परिवशेमा कसरी यसलाई बचाउन सकिन्छ र याक्थुङ सभ्याताका अवशेष सुरक्षित गर्न सकिन्छ त्यसबारेमा विसद छलफल बहस गरी नयाँ उपायहरू खोजिनु र अबलम्बन गरिनु वाञ्छनीय हुन्छ ।

----------------
* २०१४ अगस्ट १६ दतनुसार २०७१ भदौ ३१ गते भएको किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिको दसौँ परिषद् बैठकमा ‘’ख्याली – पालाम – हाक्पारे प्रयोगको अवस्था र उपादेयता’ शीर्षकमा साथै २०१५ मे २२–२३ दतनुसार २०७२ वैशाख ८–९ गते फक्ताङलुङ सयङले मियङलुङ, तेरथुममा आयोजना गरेको हाक्पारे–पालाम महोत्सवमा ‘ख्यालीको मृखापृष्ठमा पालाम र हाक्पारे प्रयोगको अवस्था र उपादेयता’ शीर्षकमा, २०७२ मा प्रस्तुत कार्यपत्र ।
लाइक जर्नल, वर्ष ८, अङ्क ५, वि.सं. २०७२ मा प्रकाशित ।

सन्दर्भ सामग्रीहरू

खस नेपाली खण्ड
आङबुङ, गोविन्द. याक्थुङहरूमा हाक्पारे साम्लो. तान्छोप्पा वर्ष ६, अङ्क ६, भदौ २०५८, पृ. ४.
काइँला, वैरागी. (२०५९). लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश. प्रकाशकः नेपाल राजकीय प्रज्ञा–प्रितिष्ठान, कमलादी, काठमाडौँ.
तुम्बाहाङ, गोबिन्दबहादुर. (२०६८ वि.सं.). लिम्बु जातिको चिनारी. प्रकाशकः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा किरात याक्थुङ चुम्लुङ.
तुम्याहाङ, अमर. (२०७० वि.सं.). लिम्बु साहित्य निर्माणको इतिहास. प्रकाशकः याक्थुङ् साप्सक अकादमी र आदिवासी जनजाति उत्थान प्रतिष्ठान.
तुम्याहाङ, अमर र खजुम, भीमा ‘मुसुम’. लिम्बू लोकबाजा तथा लोकभाकाहरू. २०६८ मा म्युजिक नेपालले पूर्वाञ्चलमा आयोजना गरेका लोकबाजा सम्बन्धी गोष्ठीमा प्रस्तुत कार्यपत्र.
पराजुली, कृष्णप्रसाद. (२०४० वि.सं.). नेपाली वृहत् शब्दकोश. नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान.
याक्थुङ्बा, हाङ्वासाङ. (२०५८ वि.सं.). हाक्पा¥या (८१–८६). लिम्बू छन्दहरू. प्रकाशकः रूपनारायण लावती.
लाओती, येहाङ. (२०६५). आदिवासी लिम्बू जातिको संक्षिप्त परिचय. प्रकाशकः दिलबहादुर लाओती.

अङ्ग्रेजी खण्ड  
Khamdhak, Ruplal Yakthung 'Mering'. Yakthung Suwanglen Hakpare Samlo nu Mundhum (Mundhum and Hakpare Song of Limboo Ethnic). Paper prented in Seminar on Limboo Folk Literature and a Cultural Meet, on the date of 23-24 February 2014, organized by Sahitya Ckademi North-East center for Oral Literature and, Agartala and in the manabement of Namchi Government College.