Thursday, November 27, 2014

याक्थुङ जातिको राष्ट्रिय चाड चासोक तङ्नाम

याक्थुङ जातिको राष्ट्रिय चाड चासोक तङ्नाम

प्राज्ञ अमर तुम्याहाङ

विषय प्रवेश 

शुष्कतामा पारिलो घामको न्यानोपन । अन्नबाली भित्राइएको याम । पल्लो किरात लिम्बुवानका साथै पूरै महाभारत पर्वतश्रृङ्खला अर्थात् पहाडी गाउँका बारीमा पैयौँ ढकमक फुलेको मनोरमता । चराचुरुङ्गीहरू औलतिर लागेका र तितेमाछादेखि अन्य जलपायी प्राणीहरू यसअघि नै आफ्नो अनुकूल तापक्रम भएको दक्षिणी जलक्षेत्रतिर झरिसकेको अवस्था । यही ऋतु परिवर्तन अर्थात् सूर्यको दक्षिणायनसँगसँगै मनाइने चाड हो किरात चाड चासोक तङ्नाम । 

दुई शताब्दी बढी एकात्मक राज्यसत्ताको ठिहीले नराम्ररी कठाङ्ग्रिएको किरात चाड तासोक तङ्नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उषा–उदयपछि तङ्ग्रिँदै छ । यसै क्रममा किरात चाड चसोक तङ्नामले मूलत किरात लिम्बूहरू गुलजार रहेको पूर्वी नेपाल लिम्बुवानको गाउँघर, उनीहरू बसाइँसराइ गरी बसेका सहरबजारमात्र होइन प्रवास समेत किरात चाड तासोकमय हुने गरेको छ । त्यही अवसर पुनः एक वर्षको समय चक्र पूरा गरी हाम्रो सामु टुप्लुक्क आइपुगेको छ । 

किरात लिम्बू जाति स्वपहिचान भएको पृथक समुदाय हो । याक्खाहरूले ‘चोसोवा’, सुनुवारहरूले ‘शाँदर’, राईहरूले ‘सेमुना साकेन्वा’, हायुले ‘कागुनी न्वागी’, जिरेलले ‘न्वागी चास्या’ माने पुरकारेजस्तै किरात लिम्बू समुदायले किरात चाडलाई चासोक तङ्नाम भनी मान्ने गर्दछन् । 

आदिवासी जनजातिको स्वपहिचान गर्ने आत्मनिर्णयको आधारमा किरात लिम्बू जातिले मान्ने चाड किरात चाड चासोक तङ्नाम हो भनी मान्ने गरेका छन् । आराध्यदेव, प्रकृति तथा पितृ पुजक किरात लिम्बू जातिले मान्ने यो चाड मुन्धुममा आधारित छ ।   

मुन्धुम र किरात चाड

किरात वंश भित्रका याक्खा सुनुवार, लिम्बू, राई, हायु, जिरेल, सुरेल, धिमाल जातिको बसोबास पृथक भूगोल, फरकफरक भाषा आदिको कारणले किरात चाडको नाम, मुन्धुमी प्रसङ्गहरू, पूजा गर्ने देवीदेवता, पूजा विधि, पुजारीका नाम आदि पनि फरकफरक रहेको पाइन्छ । हुन पनि मुन्धुममा ‘किरात चाड’ शब्द कतै भेटिँदैन । ‘किरात’ र ‘चाड’ शब्द अन्य भाषाबाट किरात समुदायमा आएको आगन्तुक शब्द हुन् । 

याक्खा जातिले मान्ने चाड ‘चोसोवा’, सुनुवार जातिले मान्ने चाड ‘शाँदार’, लिम्बु जातिले मान्ने चाड ‘चासोक तङ्नाम’ र राई जातिले मान्ने चाड ‘साकेन्वा’ वा ‘साकेला’ भन्ने शब्दहरू लोकप्रचलित छन् । 

याक्खा र सुनुवार जातिले पाकेको नयाँ अन्न पितृलाई चढाउँने गर्दछन् । लिम्बू जातिको विश्वासअनुसार सर्वशक्तिमान माङ तागेरानिङ्वाफुमाले यम्भामी पोरोक्मिलाई सारा सृष्टि गर्न लगाउनुका साथै मानव आहाराको लागि अन्नपातको बीउबिजन दिएकाले पाकेको नयाँ अन्न उनैलाई चढाउँने गर्दछन् । उनीहरूको थप विश्वास यो पनि छ कि बीउहरू याम मिलाएर रोप्न, गोडमेल गर्न, फलाउन र आगोमा पकाइतुल्याई खान सिकाउने कार्य सावा येहाङ (आदिम मानव) की चेली सिबेरा एक्थुम्मा सिबेरा येभुङ्गेक्माले सिकाइन् । त्यसैले लिम्बू जातिले यिनै पात्रलाई मूलरूपमा पूजा गर्ने वा नयाँ अन्न चढाउँने गर्दछन् । यी बाहेक पनि लिम्बूहरूले युमा, थेबा, काप्पोबा, थुङधाङबा, आदि घरभित्र पुजिने देवताहरूलाई न्वाँगी चढाउँने गर्दछन् । शुभकार्यमा बिघ्नबाँधा ल्याउने मिसेक, कुइकुदापको पनि पूजा गरिन्छ । राई जातिले भने आफ्नो आदि पुर्खा पारुहाङ र सुम्निमाको प्रतीक सेतो र कालो शिला गाडी पूजा गर्नेगर्दछन् । पूजापछि जङ्गलमा सिकार खेल्ने, भस्मे या खोरिया फाँड्ने, बस्ती बसाउने, अन्नबालीको बीउ पत्ता लगाउने, खेती गर्नेजस्ता सीपहरू नृत्यको माध्यमबाट राईहरू प्रस्तुत गर्ने गर्दछन् । 

यी सबै आख्यान तथा विधिविधानहरू मुन्धुमसँग जोडिएका छन् । यी विधिविधानहरू सजातीय पूजारीहरू जस्तै फेदाङ्मा (लिम्बू), नाक्छोङ (राई), ना?सो (सुनुवार), फोम्बो (जिरेल), फोचो (हायु) द्वारा पम्पादन गरिन्छ । 

प्रकृति पूजाको रूपमा किरात चाड

तागेरानिङ्वाफुमा माङ, निनाम्मा जस्ता सर्वशक्तिमान ईश्वरको पूजा मात्र होइन, किरात चाड । पृथ्वी (भूमि), आकास, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपक्षी, वनस्पती आदिको पूजा अर्चना पनि हो किरात चाड । मानव समुदायले आफ्नो प्राण धान्नका लागि खाने सबै प्रकारका अन्नबाली, फलफूल उत्पादनमा यी तत्वहरूको भूमिका अपरिहार्य रहेको हुन्छ । खेतीपातीमा उपरोक्त तत्वहरूको त्यही अहम् भूमिकालाई मनन गर्नु र आभारी हुनु किरात जातिको जातीय विशेषता हो र त्यही विशेषताको अभिव्यक्ति किरात चाडमा हुने गर्दछ । 

राई जातिले सुम्निमा र पारुहाङलाई आफ्नो आदिम पुर्खा मात्रै होइन धरती र आकाशको प्रतीकको रूपमा पूजा गर्दछन् । याक्खाहरूले चोसोवालाई भूमि पूजाको रूपमा पनि मान्ने गर्दछन् । भूमिको उर्वरतामा उम्री फलेको बालीनाली आफूले खानुभन्दा पहिला स्वयम् अन्नदाता भूमिलाई नै चढाई आभार व्यक्त गर्ने चाड हो किरात चाड । 

किरात वंशको एउटा शाखा लिम्बू जातिले पनि बालीनाली लगाउनुपूर्व यक्वा सेवा (वैशाखे पूर्णिमाको दिन गरिने पूजा) गर्दछ । सोही दिन रोपिएको नयाँ बीउ बिजन राम्रो उम्रियोस्, बढोस्, चरामुसा नलागोस्, फुलोस्, फलोस् भनेर प्रकृति र आफूले मानीपूजी ल्याएका देवताहरूसँग भाकल गर्ने प्रचलन छ । यही भाकल अनुसार अन्नबाली पाकेपछि सकुसल अन्नबाली फल्न, पाक्न सहयोग पु¥याउने प्रकृति, पशुपक्षी आदिलाई धन्यवाद ज्ञापन गर्ने अवसरको रूपमा लिम्बूहरू किरात चाड चासोक तङ्नाम पर्वलाई लिने गर्दछन् । 

चसोक तङ्नामको सामाजिक महत्व 

किरात चाड चासोक तङ्नाममा किरात लिम्बू जातिहरू पूजापाठ गर्नुका साथै एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, परम्परागत नाचगान गर्ने, मौलिक भेषभूषा लगाउने र आफन्तजनसँग सजातीय मीठामीठा खानपीनका परिकारहरू खाने गर्दछन् । 

राई जातिमा सासुबुहारी, बाबुछोरादेखि नातिनातिनासम्म एकै ठाउँमा भेला भई सेमुना साकेन्वा धक फुकाएर नाच्ने गर्दछन् । यसरी नै सुनुवार जातिमा पनि शाँदार पूजाआजा सकिएपछि ढोल र झ्याम्टा बजाएर विभिन्न सिलिहरू नाच्दै मनोरञ्जन गर्दछन् । यता लिम्बूहरू भने उनीहरूको जातिको आदिम खेलाडी पोरोक्मी यम्भामीलाई स्मरण गर्दै पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्दछन् । यही अवसरमा तरुनी तन्नेरीहरूको फुङ्वा चाङ्मा (जीवनरूपी फूल जगाउने) मुन्धुमी कर्म पनि सम्पादन गर्दछन् । किशोर किशोरीहरू परिपक्व उमेरमा प्रवेश गरेको सङ्केतको रूपमा चाङ्वान् लेक्मा (विशेष विधिविधानका साथ वश्त्र अर्थात् तागाबा, मेख्ली, गरगहना लगाइदिने) सुअवसरको रूपमा पनि यो चाडलाई लिम्बूहरूले लिने गर्दछन् । के लाःङ (च्याब्रुङ नाच), या? लाःङ (धान नाच) पनि यो पर्वका थप आकर्षण हुन् । 

यस चाडको पावन अवसरमा याक्खा याक्खामाहरू एक ठाउँमा भेला भई केवलाक, चावकलाक गर्ने विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्ने गर्दछन् । 

यसरी नै शाँदारले सामाजिक तथा सांस्कृतिक रूपमा मानवीय एकता, शान्ति, सद्भाव र समन्वय स्थापित गर्दछ भन्ने सुनुवारहरूको विश्वास रहेको छ । रिसइबी छाडेर व्यक्तिगत हितभन्दा माथि उठेर ‘हामी भावना’ले ओतप्रोत भई सामुहिक हितका लागि ऐक्यवद्धता जनाउने यस चाडको महत्वपूर्ण पक्ष भनेको सहभागितामूलक समन्वय ठान्दछन् सुनुवारहरू । 

सरकारको नजरमा किरात चाड चासोक तङ्नाम

नेपाली जनताले २००७ साल पहिलेदेखि हाससम्म पटक पटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष र जनआन्दोलनको परिणामस्वरूप अहिले मुलुक धर्मरिपेक्ष भएको छ । मुलुकका सम्पूर्ण जातजातिले मान्ने चाडपर्वहरू संवैधानिक नैसर्गिकताको हिसाबले समतुल्य भएका छन् । तर पनि व्यवहारमा यो मुखरित हुन नसकेको यथार्थ पनि सबैको सामु जगजाहेर नै छ । हुन त यो अवस्थामा पुग्न पनि लामो सङ्घर्षको बाटो तय भएको छ । रिदामा र रामलीहाङजस्ता किराती सांस्कृतिक अगुवाहरू त्यही किरात चाडको पक्षमा काम गर्दा सहादत प्राप्त गर्नु परेको इतिहास पनि हाम्रो सामु छँदै छ । यद्यपि खुशीको कुरो के छ भने नेपालका विभिन्न धर्मावलम्बीहरूले मान्ने चाडपर्वहरूसँगै किरात धर्मावलम्बीहरूले मान्ने किरात चाड चासोक तङ्नामलाई पनि नेपाल सरकारको २०६४ फागुन १८ गते निर्णय गरी राष्ट्रिय पर्वको मान्यता दिएको छ । किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको संयुक्त पहलमा २०५८ मङ्सिर ६ गते माग गरेबमोजिम तत्कालीन सरकारले सम्बन्धित जातिका कर्मचारीका लागि मात्र भनेर किरात चाडलाई मान्यता दिने निर्णय सोही साल चैत्र २६ गते गरेको कुरा पनि यहाँ स्मरणीय छ ।

विगतका शासकहरूको बक्रदृष्टिमा परेको किरात चाड चासोक तङ्नाम भर्खरै ब्यूँतिएको अवस्थामा छ । यही कारणले पनि किरात चाड चासोक तङ्नाम लोकजीवनमा पूर्ण रूपमा स्थापित हुन सकेको छैन, एकरूपता र भव्यताका हिसाबले । यसले पूर्णता पाउन अझै धेरै लामो समय लाग्ने देखिन्छ । राज्यकै नीतिका कारण किरात चाड चासोक तङ्नामले यस्तो हविगत भोग्नु परेकाले अब यसलाई पूर्णता प्रदान गर्न पनि राज्यले नै विशेष ध्यान दिनुपर्दछ भने अन्य समुदायको पनि सौहाद्र्धता त्यतिनै अपेक्षित छ । यसै बीच अर्को खुशीको विषय यो पनि छ कि प्रवासमा रहेका किरात लिम्बू समुदायले हरेक वर्षको चासोक तङ्नाम मनाउनका लागि नेपालमा जस्तै ‘चासोक तङ्नाम मूल आयोजक समिति’ गठन गरी भव्य रूपमा मनाउने परम्परा विगत एकदशकदेखि सुरु भएको छ । यसरी मूल आयोजक समिति गठन गरी मनाउनेमा हङ्कङ, युके, अमेरिका, क्यानडा, युएई, कतार, ब्रुनाई, आदि मुलुकहरू पर्दछन् जहाँ किरात याक्थुङ चुम्लुङ सक्रिय रहेको छ । 

किरात चाड चासोक तङ्नाम कसरी मनाइन्छ ? 

किरात लिम्बू समुदायमा यक्वा सेवा अर्थात् उभौली पूजा सामूहिक रूपमा मान्ने चलन रहेको पाइन्छ । तुलनात्मक रूपमा पहिला पहिला चासोक तङ्नाम अर्थात् उधौली पूजा भने बढी पारिवारिक परिवेशमा मनाउने चलन थियो । पछिल्लो समयमा आएपछि मूलतः किरात याक्थुङ चुम्लुङको गठनपछि भने किरात चाड चासोक तङ्नामलाई सामूहिक रूपमा मनाउने परम्परा बढी नै मुखरित भएको पाइन्छ । पहिला परिवार तहमा गरिने चासोक पूजा अब आएर सिङ्गो समुदाय एकै ठाउँमा भेला भएर माङसाम्माङ (देवीदेवता) को पूजा गर्ने, प्रकृतिको पूजा गर्ने, मनोरञ्जन, खेलकुद गर्ने, मेला लगाउने जस्ता कार्यक्रमहरू हुने गरेका छन् । पछिल्लो समयमा आएर स्थानीय पर्यटन प्रवद्र्धनका रुमा पनि चासोक मेला आयोजना हुन थालेको पाइन्छ । परम्परागत रूपमा चासोकमा एकराते तङ्सिङ राख्ने परम्परा पनि पालन हुँदै आएको छ । 

चासोक चाड कसले मान्ने हो ? 

संसारमा चलेका सबै प्रकारका चाडपर्वहरू आरम्भमा निश्चित समुदाय वा जातिले मान्ने गरेको इतिहास पाइन्छ । क्रमशः ती चाडपर्वहरू एकपछि अर्को समुदायमा फैलँदै जाने गरेको पाइन्छ, समाज विकासको प्रवृतिलाई केलाएर हेर्दा । नेपालमा गणतन्त्रपछि छट पर्व तीब्रतर गतिमा फैलँदै गएको पाइन्छ । यसको प्रभाव गैह्रतराई–मधेसी समुदायमा पनि फैलँदै गएको वा अरूले आत्मसाथ गर्दै गएको पाइन्छ । किरात चाड चासोक तङ्नामको सवालमा पनि यही कुरा लागू हुन्छ । 

किरात चाड चासोक तङ्नाममा नयाँ पाकेको अन्नबाली आफूले मानेको देवी–देवता, पितृ, प्रकृति आदिलाई चढाइने भएकाले यो एउटा निश्चित जाति वा समुदायमा केन्द्रित हुनु पर्ने कुनै कारण छैन । यसको लागि परापूर्व कालदेखि किरात चाड चासोक मनाउने जातिहरू पनि खुला हुनु पर्छ । दसैँ हिन्दूहरू मात्रको महान् चाड भनेजस्तो किरात चाड चासोक तङ्नाम किरात लिम्बूहरूको मात्र महान् चाड भनिनुको सट्टा सम्पूर्ण नेपालीको चाड भनी सोही अनुसार अुनष्ठान एवम् आचारव्यवहार विकास गर्नु आवश्यक छ । 

मुलुक सङ्घीय गणतन्त्रात्मक युगमा प्रवेश गरेपछि हामी जाति राष्ट्रको अवधारणाबाट अघि बढिरहेका छौँ । यसर्थ एउटा जाति राष्ट्रले अर्को जाति राष्ट्र र उसले पालन गर्ने आचारव्यवहार र आदर्शलाई समान जाति राष्ट्रको हैसियतले मान्छौ, सम्मान गछौँ, विगतमा जस्तो एउटाले दमन गर्ने र अर्कोले सधैँ आलोचना गर्ने, घृणा गर्ने परम्पराबाट हामी मुक्त हुन प्रयासरत छौँ र हुनु पनि पर्छ । यसर्थ जुनसुकै नेपाली समुदायले मान्ने चाड पर्व नेपाली चाडपर्व हो, नेपाली सभ्यताको अभिन्न अङ्ग हो, सम्पूर्ण नेपालीको पहिचान हो । सबै नेपाली चाडपर्वलाई हामी सबै नेपालीले मान्नु पर्छ । कुनै पनि नेपाली चाड कुनै जाति वा समुदायको मात्र विराशत होइन, त्यो त सिङ्गै मुलुक र समग्र नेपालीको परिचायक हो । 

टुङ्ग्याउनी

हामी नयाँ नेपाल निर्माणको ऐतिहासिक युगबाट गुज्रिरहेका छौँ । यो अवसरमा किरात चाड चासोक तङ्नाम फगत चाडको रूपमा मात्र नभएर सङ्घीय राज्य निर्माण अभियानसँग जोडेर लिम्बुवान प्राप्तिको ऐतिहासिक पर्वका रूपमा मान्नुपर्ने युगीन दायित्व आज हाम्रो काँधमा आएको छ । यस पावन पर्वलाई मानव एकता, शान्ति, सद्भाव र समन्वय गर्ने अवसर मात्र होइन समावेशी सङ्घीय गणतान्त्रिक संविधान निर्माण र जातीय स्वायत्ततता सहितको राज्यपुनर्संरचनाको सार्थक प्रयाससँग जोडेर मनाउनु वाञ्छनीय हुन्छ । 

Tuesday, November 25, 2014

लिम्बू भाषा साहित्यको अनुवाद : स्थिति र सम्भावना

लिम्बू भाषा साहित्यको अनुवाद : स्थिति र सम्भावना

प्राज्ञ अमर तुम्याहाङ


थालनी

लिम्बू भाषा लेख्य परम्परा भएका भाषाहरू (रा.भा. नीति सु.आ. प्रतिवेदन, २०५०) मध्येको एक हो । तर एकीकरणको क्रममा पृथ्वीनारायण शाहबाट वि.सं. १८३१ श्रावण २२ गते (६ अगस्ट १७७४ ई.) का दिन ... लिम्बू राजाहरूलाई सम्झौता गर्न राजी तुल्याएपछि विजयपुर दरबारमा नुन—पानीको कसम खाएर भाइचार ९द्यचयतजभचजययम० को सन्धि (संग्रौलाः२०६७, पृ.४८) गरेर पृथ्वीनारायण शाहको लिम्बुवानका राजाहरूलाई नेपालका राजाको भारदारको उपाधि र लिम्बुवानलाई सहराज्यको मार्यादा (नेम्बाङः २०१० ई., पृ.१७) दियाइपछि केही कालसम्म अनुकूल रहे तापनि पछिबाट लिम्बू भाषा लेखपढमा प्रतिकुलता रहयो । मुलुकका जनताजनार्दनका लागि पढ्नु अपराध मानिने राणाशासन कालमा लिम्बू भाषामा पढ्न पाउनु कल्पनाभन्दा बाहिरको कुरा थियो । पञ्चायत कालमा पनि स्वभाषा र लिपिमा लेखपढ गर्नु लिम्बूहरूको लागि प्रतिबन्धित नै थियो र लिम्बू भाषामा लेखपढ गर्नेहरूले जेलनेल भोग्नु प¥यो भने कतिले आजीवन निर्वासन भोग्नु प¥यो, मातृभूमिमा आफ्नो प्राण त्याग्ने अवसरबाट पनि वञ्चित हुनु प¥यो । यस्तो दुर्नियती भोग्दै आएको लिम्बू भाषाले समृद्धि पाउनु अकल्पनीय नै हुन्छ । तर लो–मेन–चोङ सुम (भोटे–लाप्चे–लिम्बूको त्रिपक्षीय धर्मपत्र) सम्झौता (काइँलाः २०४९, पृ.२४) पछि आदिम लिम्बुवान भूमिको केही अंश र लेप्चा भूमि मिलाएर निर्माण भएको तत्कालीन सिक्किम राज्यमा लिम्बू भाषा साहित्यले मौलाउने अवसर पायो जसले यसलाई त्राण दिने काम ग¥यो ।

यसर्थ मुलुकमा लिम्बू भाषा, साहित्य र शिक्षाले मौलाउने उचित अवसर नपाए तापनि तत्कालीन सिक्किम राज्यका राजा छोग्यालको राज्यकालमा सन् १९६८ देखि नै लिम्बू भाषाको औपचारिक शिक्षा आरम्भ हुन पुग्यो । यसले लिम्बू भाषा साहित्यको विकासमा ठूलो टेवा पु¥यायो । यसरी करिब आधा शताब्दी लामो औपचारिक शिक्षाको इतिहास भएको लिम्बू भाषाले नेपालमा भने यहाँको राजनैतिक प्रतिकूलताले गर्दा अपेक्षाकृत विकास गर्न सकेन । २०४६ सालको जनआन्दोलनपछि प्राप्त प्रजातान्त्रिक कालमा लिम्बू भाषा साहित्यले टुसाउने र पौलो हाल्ने अवसर पायो । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा भने नेपालका सबै भाषाहरू राष्ट्रभाषाको संवैधानिक मान्यता पाएपछि मुलुकका सबै मातृभाषाहरूसँग लिम्बू भाषाले पनि स्वतन्त्रताको खुला आकास (जहाँ केही कालो बादलका टुक्राहरू यद्यपि देखिन्छन्) मा कावा खाने सुअवसर पाएको छ । इतिहासको विभिन्न कालखण्डमा पहिचानहीन भाषा, अराष्ट्रिय भाषा, राष्ट्रिय भाषा (२०४७ को संविधान) को दोस्रो दर्जामा कैदी लिम्बू भाषा अब राष्ट्र भाषा (नेपालको अन्तरिम संविधान २०६३) मा रूपान्तरित भएपछि लिम्बू नेपाली भाषाको रूपमा दरिएको छ । यसैक्रममा परिस्थिति अनुसार लिम्बू भाषा साहित्यले कहिले हण्डर ठक्कर खाँदै कहिले मौलाउने अवसरको उपयोग गर्दै भए पनि मुलुकमा लेख्य परम्परा भएका भाषाहरू (खस नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधि) मध्ये लिम्बू भाषा लोख्य साहित्य भएको चौथो भाषा क्रममा पर्न आउँछ ।

लेख्य परम्परा भएको भाषा भएर पनि लिम्बू भाषाले समग्र विधामा विपुल मात्रामा विकास गर्न सकेको छैन । यद्यपि सबै विधामा लिम्बू साहित्यले पाइला हालिसकेको छ । अनुवाद साहित्यमा पनि लिम्बू साहित्य विद्यमान रहेको छ । भाषिक हिसाबले एक भाषाबाट अर्को भाषामा पूर्णरूपेण अनुवाद सम्भव नभए पनि अनुवाद परम्परा संसारका विभिन्न भाषामा प्राचीन कालदेखि नै चलिआएको पाइन्छ । यसबाट लिम्बू साहित्य अछुतो रहने कुरै भएन । लिम्बू भाषा मूलरूपमा नेपाली, अङ्ग्रेजी, हिन्दी, लेप्चा, टिबिटेन भाषामा (प्रस्तोताका जानकारी अनुसार) भाषान्तर वा अनुवाद हुँदै आएको पाइएको छ । कर्कप्याट्रि (सन् १८११) ले अङ्ग्रेजी शब्दका आधारमा सङ्कलन गरेको पर्बते (Purbutti), वर्तमान खस नेपाली भाषा), नेवार (Newars), मगर (Mungur) र लिम्बू (Limboo) को शब्दावली सङ्कलनबाट लिम्बू भाषाको अनुवाद परम्परा आरम्भ भएको मान्न सकिन्छ । इमानसिंह चेम्जोङको समयमा आएर यसले निकै बृहत् रूप लिएको पाइन्छ । यसरी नै काजीमान कन्दङवा, वैरागी काइँला, बी.बी. मुरिङ्ला आधुनिक साहित्य अनुवादका अगुवाका रूपमा लिन सकिन्छ ।

यहाँ लिम्बू साहित्यका विभिन्न विधाहरू तथा भाषासँग सम्बन्धित विभिन्न साहित्येत्तर विधामा भएका अनुवादहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

लिम्बू भाषा साहित्य अनुवाद स्थिति

लिम्बू साहित्यको अनुवाद विधागत रूपमा कविता, आख्यान, नाटक, निबन्ध आदिको आधारमा तालिकीकरण गर्ने जमर्को गरिएको छ भने साहित्येत्तर विधा अन्तर्गत, कोश, व्याकरण, शैक्षिक सामग्री, जनचेतना जगाउने ऐनकानुनसँग सम्बन्धित सामग्रीहरूलाई समेटिएको छ । यी क्रमशः निम्नअनुसार प्रस्तुत गरिएको छ ।

कविता/काव्य

लिम्बू भाषाको कविता काव्यलाई शास्त्रीय काव्य मुन्धुम र आधुनिक फुटकर कविताहरू तथा काव्यकृतिहरू मूलतः खण्डकाव्यहरूमा विभाजन गर्न सकिन्छ । लिम्बू नेपाली भाषाबाट खस नेपाली भाषामा अनुवाद भएका काव्यकृतिहरू तथा खस नेपाली भाषाबाट लिम्बू भाषामा अनुवाद भएका कविाता काव्यहरू र फुटकर कविताहरू यहाँ प्रस्तुत गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने कविता पत्रिकामा २०४७ पछि अन्य भाषाका कविताहरूसँगै लिम्बू भाषाका कविताहरू पनि प्रकाशित भएका छन् । यसरी प्रकाशित भएका कविताहरूमा किराँत जागरण गीत (सुब्बा खड्गबहादुर नेम्बाङ, किराँत मिक्–हऽन साम्लो, अनु. वैरागी काइँला, कविता, संयुक्ताङ्क ३३ र ३४, २०४७), बोध (विरही काइँला तादीङ् यो, अनु. पूर्ववत्) र दुःखी जीवन (फुरुम्बो मोहनप्रसाद सुब्बा, तुक्खेवा हिङ्मन्, अनु. पूर्ववत्, कविता, संयुक्ताङ्क ३५ र ३६, २०४७), परदेशमा (फुरुम्बो मोहनप्रसाद सुब्बा, अनु. पूर्ववत्) र लाहुरेको जीवन (के. एस्. सुब्बा, अनु. पूर्ववत्, कविता, अङ्क ३८, २०४८), यो मन (कविता, पूर्णाङ्क ४३, २०४९), शोक, सुर्ता र दुःख उब्ज्यो तथा फूलमाथि फूलकी रानी (तेज बहादुर मेन्याङ्बो लिम्बू, इनुगेÞन् पोगेÞ र फुङ्साम्दाङ् फुङ्हाङ्मा, कविता, पूर्णाङ्क ४९, २०५१), गृष्म (हिमादेवी पख्खिम, हाङ्वाम्मा, कविता, पूर्णाङ्क ५०) रहेका छन् । सोही पत्रिकामा नै प्रकाशित अन्य कविताहरूमा तिमीसँग मेरो माग (गणेश इजम, आदाङ्मानु आनाःक्चोइङ, अनुं कवि स्वयम्) एक्लै बाँच्न चाहान्छु (विष्णुमाया सेत्लिङ, आएःक् हिङ्मा कोःत्ता, अनु. वैरागी काइँला) तथा नयाँ वर्ष (येहाङ लाओती, कुसङ् तङ्बे, अनु. पूर्ववत्, कविता, पूर्णाङ्क ५२, २०५२), मन तथा हजुर माइली (बी.बी. मुरिङला, निङ्वा? सेरेÞरो र हाङ्सरुम्मेÞन्, अनु. वैरागी, कविता, पूर्णाङ्क ५३, २०५२), वातावरण (येहाङ लाओती, वायाम् सेÞःप्तुम्, अनु. पूर्ववत्, कविता, पूर्णाङ्क ५४, २०५२) प्रकाशित भएका थिए भने कविता पूर्णाङ्क ५५, २०५२ मा टङ्क चङ्बाङ्को चाँपको फूल (कःक्फेक्वा, अनु. स्वयम्), दिलेन्द्र कुरुम्बाङ्को ज्वाला (मिराक्, अनु. वैरागी काइँला), नरबहादर यङ्हाङ्का अपील (पाःन्जाङ्, अनु. पूर्ववत्), भीम यङहाङ्को जीवन मात्र लास भएको छ (हिङ्वेÞत्तिन् चेरक् पोखेÞआङ वा?, अनु. पूर्ववत्), रच्चु नेम्बाङको मैले उसलाई भेटेको (खुनेÞ? आङ्ग? तुमुङ्बा, अनु. पूर्ववत्), येहाङ लाओतीको माला (पोना, अनु. पूर्ववत्) प्रकाशित छन् । सोही पत्रिकामा लिम्बू कविता प्रकाशनको निरन्तरताका क्रममा बुधिलाल खाम्धाःक्को समय फलजस्तो पाक्नेछ– पर्खिरहेछु (येÞम्मिन् तुम्मिभाङ् हाङ्घुङ्ल वा?आ, अनु. वैरागी काइँला), सुश्री विष्णुमाया सेत्लिङको यात्रा (लाम्दिःक्, अनु. पूर्ववत्, कविता, पूर्णाङ्क ५६, २०५३), येहाङ लाओतीको प्रकाश (खासाःङ्, अनु. पूर्ववत्, कविता, पूर्णाङ्क ५७, २०५३), बी.बी. मुरिङ्लाको यात्री (लाम्बुबे... लाङ्गाम् फोसेÞओ, अनु. पूर्ववत्, कविता पूर्णाङ्क ५८, २०५३), बी.बी. मुरिङ्लाकै भाग्य (तक्यानिल्लेÞ, अनु. पूर्ववत्) र येमप्रसाद याक्थुङको जीवन (हिङ्मन्, अनु. पूर्ववत्, कविता, पूर्णाङ्क ५९, २०५३) प्रकाशित भएका छन् । 

किराँत मिक्–हऽन साम्लो (सुब्बा खड्गबहादुर नेम्बाङ, अनु. वैरागी काइँला, वि.सं. २०३८), महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थका भजनमाला (फाल्गुनन्द, पूर्ववत् अनु. वि.सं. २०४७) पालाम् (नरबहादुर यङ्हाङ, अनु. स्वयम्, वि.सं. २०५२), बलिहाङ् तङ्नाम लारिङ्गेक (पूर्ववत्, वि.सं. २०५३) सेम्मुई (वीर नेम्बाङ, अनु. अमर तुम्याहाङ, वि.सं. २०६८) लिम्बू नेपाली भाषाबाट खस नेपाली भाषामा अनुवाद गरिएका खण्डकाव्यहरू हुन् ।

मृत्यु कविता (मञ्जुल, अनु. अमर तुम्याहाङ, वि.सं. २०५८), मेरी सानी (श्यामप्रसाद शर्मा, अनु. वीर बहादुर लिम्बू, वि.सं. २०५९), सुम्निमा पारुहाङ (विक्रम सुब्बा, अनु. अमर तुम्याहाङ र स्वप्नील स्मृति, वि.सं. २०६७) कृतिहरू खस नेपालीबाट लिम्बू नेपाली भाषामा अनुवाद गरिएका काव्यहरू हुन् । मुनामदन (रणबहादुर मेन्याङ्बो, साझा प्रकाशन, वि.सं. २०७६) र  झर्लाङ्गी (कोल्भिङ लावती, ई. २०१९) खण्डकाव्यहरु अनुवाद भई प्रकाशन भएका छन् ।


विरही काइँला लिखित लिम्बू भाषा र साहित्यको संक्षिप्त परिचय पुस्तकमा ईश्वर–वन्दना (महागुरु फाल्गुनन्द, अनु. वैरागी काइँला), प्रार्थना (सुबेदार बाजवीर थलङ, अनु. पूर्ववत्), फूलले के भन्छ ? (येहाङ लावती, अनु. पूर्ववत्), अव्यक्त प्रेम (वीर नेम्बाङ, अनु. पूर्ववत्), इतिहास र हामी (पुष्प थाम्सुहाङ, अनु. पूर्ववत्), आँखाभित्र (बी.बी. मुरिङ्ला, अनु. पूर्ववत्), दुःखी जीवन (फुरुम्बो मोहन प्रसाद सुब्बा, अनु. पूर्ववत्), बोध (विरही काइँला, अनु. पूर्ववत्), निद्राबाट बिउँझनु (ऐतमान सुब्बा, अनु. पूर्ववत्), लाहुरेको जीवन (के.एस. सुब्बा, अनु. पूर्ववत्), स्वागत गीत (चन्द्र माङयुङ, अनु. पूर्ववत्) आदि कविताहरू नेपालीमा अनुवाद भई प्रकाशित भएका छन् । 

मोहन कोइराला सम्पादित तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं. २०५० मा प्रकाशित गरेको राष्ट्रिय भाषाका कविताहरू पुस्तकमा तेअङ्सी सिरिजङ्गाको बुझ्नुपर्ने कुरा (कुसिङ निप्मा), महागुरु फाल्गुनन्दको ईश्वर–वन्दना (माङ सेवा चोक्मा सेवा) र खड्गबहादुर नेम्बाङको किराँत जागरण गीत (किराँत मिक्–हन् साम्लो) अनुवाद सहित छाप्ने काम भएको थियो ।

यसरी नै वि.संं. २०५६ मा राष्ट्रिय जनजाति विकास समितिले राष्ट्रिय भाषाका कविता सङ्गालोमा गणेश इजमको तिमीसँग मेरो माग र बाटो (आदाङ्मा नु आनाःक्चइङ र लाम्); टङ्क चङबाङको चाँप फूल (कःक्फेÞक्वा); तेज बहादुर मेन्याङ्बोको फूलमाथि फूलकी रानी (फुङसम्दाङ् फुङ्हाङमा); थाम्सुहाङ पुष्प सुब्बाको राष्ट्रको कुरा गरौँ (याक्पङ्गेÞन् सिगाङ्बा ता?जेÞङ्हा?); मेन्याङ्बो रणबहादुरको अब त एक हौँ (आल्ल फुङ्ङासि); नरबहादुर यङ्हाङको अपील (पाःन्जाःङ्); लाओती येहाङको प्रकाश र मलाई कुकुर हँसाइ देखाउनु पर्दैन (खासाःङ् र ख्याबा ए?माःत् उसेःन् आन्धाक्तÞेन्नेÞ?); दिलेन्द्र कुरुम्बाङको ज्वाला (मिराक्); बालकृष्ण माबुहाङको लट्टिएकी केटी (थःत्थामा); रच्चु नेम्बाङको मैले उसलाई भेटेको (खुनेÞ? आङ्गा? तुमुङ्बा); वैरागी काइँलाको सम्झनाको खरायो र जीवन बोघ (फुम् नु फःत्ता र हिङ्मन्रेÞ थाना); विरही काइँलाको ... इत्यदि (वगेÞरा) तथा हरि चोङबाङ (सेन्छेन्हाङ) लिम्बूको इत्हाङ्माको विन्ती (इत्हाङ्मारेÞन् पेलि)लगायत १३ जना कवि कवयित्रीका १६ वटा लिम्बू भाषाका कविताहरू अनुवादसहित प्रकाशित भएका थिए । यी कविताहरूमध्ये टङ्क चङ्बाङ र बालकृष्ण माबुहाङका कविताहरू स्वयम्ले अनुवाद गरेका हुन् भने बाँकी सबै कविता कवि वैरागी काइँलाले अनुवाद गरेका हुन् ।

मातृभाषाका कविताहरूको प्रकाशनलाई निरन्तरता दिँदै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०६० मा प्रकाशित गरेको राष्ट्रिय भाषाका कविता सङ्गालोमा सेसेहाङ फियाकको बिदाइ (सेÞम्मुइ), अइन्द्रसुृन्दर नेम्बाङको खाम्बुत्रे कान्छो (खाम्बुत्रे फोःक्वान्), यासेली योङहाङको मसँग (इङ्गा?नु), अमर तुम्याहाङको मेरी आमा पो रैछिन् (आम्मानिरेÞत्छ) र स्वप्नील स्मृतिको लुङा ज्यू (लुङा ए) कविताहरू परेका छन् । यी कविताहरूको अनुवादक स्वयम् कविहरू रहेका छन् ।

मुन्धुम तथा मुन्धुम केन्द्रित पुस्तकहरू

मुन्धुम लिम्बू साहित्यको अपार भण्डार हो । मुन्धुम् मौखिक परम्परामा हस्तान्तरित हुँदै आएको छ । पछिल्लो समयमा आएर यसलाई लिप्याङ्णकन गर्ने कार्य पनि आरम्भ भएको छ । यसरी मुन्धुमको लेखन गर्दा धेरैजसो मुन्धुम पुस्तकहरू लिम्बू भाषामा नै लेखिने गरेको पाइन्छ । यसो भए पनि केही मुन्धुमसम्बन्धी पुस्तकहरू खस नेपाली वा अङ्ग्ेजी अनुवाद सहित पनि प्रकाशित हुने गरेका छन् । यसै क्रममा अनुवाद सहित प्रकाशित भएका केही मुन्धुमसम्बन्धी पुस्तकहरूमा किरात मुन्धुम शिक्षा (इमानसिंह चेम्जोङ, किरात मुन्धुम खाहुन, प्रथम संस्करण, ई. १९६५, दो. संस्करण ई. २००३), किरात वेद (इमानसिंह चेम्जोङ, किरात मुन्धुम, प्रथम संस्करण ई. १९६१, तेस्रो संस्करण सन् २००३), किरात दर्शनको सारांश (इमानसिंह चेम्जोङ, याक्थुङ चुक्मुक् साम्जिक मुन्धुम, पहिलो संस्करण ई. १९६९, दो. संस्करण ई. २००३), लिम्बु जातिमा कोख–पूजा (वैरागी काइँला, साप्पोक चोमेन मुन्धुम, सङ्कलन, सम्पादन तथा अनु. वि.सं. २०४८), ईष्र्या र आँखीडाहीको आख्यान (वैरागी काइँला, नाहेÞन मुन्धुम, सङ्कलन सम्पादन तथा अनु. वि.स. २०५१), प्रेतात्माको आख्यान र अनुष्ठान (वैरागी काइँला, साम्सोघा मुन्धुम, सङ्कलन, सम्पादन तथा अनु. वि.स. २०५१), मोच मार्ने आख्यान र अनुष्ठान (वैरागी काइँला, ससिक् मुन्धुम, सङ्कलन, सम्पादन तथा अनु. वि.स. २०५२), तङ्सिङ तक्मा मुन्धुम – आख्यान र अनुष्ठान (वैरागी काइँला, तङ्सिङ तक्मा मुन्धुम, सङ्कलन तथा अनु. वि.स. २०५२), सृष्टि वर्णन (वैरागी काइँला, चइत् मुन्धुम, सङ्कलन, सम्पादन तथा अनु. वि.स. २०६०), चम्जिक मुन्धुम (प्रधान सम्पादक थाकु श्री नायमहाङ कैलासी नेम्बाङ, प्रथम संस्करण वि.सं. २०५०, दोस्रो संस्करण २०५९) जस्ता येबा, साम्बा आदिबाट सुनेर मुन्धुम सङ्कलन, सम्पादन तथा अनुवाद सहित प्रकाशित गरिएका केही महत्वपूर्ण काव्य कृतिहरू हुन् । किराँत धर्म र कर्म संस्कार (आसमान सुब्बा, किराँत साम्यो नु येत्छाम् थिम, २०४५) पुस्तकमा विभिन्न मुन्धुम तथा पूजाआजामा वाचन गरिने मन्त्र लिम्बूबाट खस नेपाली भाषामा अनुवाद गरेको पाइन्छ । लिम्बू मृत संस्कारहरू (तुम्याहाङ लक्ष्मण मेन्याङ्बो, प्रथम संस्करण २०६१ लिम्बु), सावा येÞत्हाङ मुन्धुम (तेज बहादुर फागो पन्धाक, वि.सं.२०६०), सृष्टिको आख्यान (दुर्गाप्रसाद फोपाहाङ, नावा चइःत् मुन्धुम, वि.सं. २०५१), सिभाक याप्मि मुन्धुम (सङ्कलन, सम्पादन तथा अनु. ध्रुबकुमार मेन्याङ्बो, अर्जुन माबुहाङ, वि.सं.२०६६), धर्म, सृष्टि र संस्कृति (तेबबहादुर मेन्याङ्बो लिम्बू, वि.सं. २०५५) सृष्टि गीतिमाला (तेब बहादुर मेन्याङ्बो लिम्बू, सावाला कुबे मुन्धुम, प्र. संस्करण वि.सं. २०४८), लिम्बू जनजातिका जीवनपछिका जीवन धारणा तथा अन्त्यष्टि अनुष्ठानहरू (जसराज लिम्बू पन्धाक, Concept of Life After Life and Funeral Practices in Yuma SamyoTradition, अनु. टी.बी. चन्द्र सुब्बा, हरिश मुक्तान र अमर तुम्याहाङ, प्रथम संस्करण, ई. २००६) आदि यस प्रकारका अनुदित थम मुन्धुम कृतिहरू हुन् । 

यसरी नै मुन्धुमसम्बन्धी लेखहरूमा तङ्सिङ् मुन्धुम्मा सृष्टिवर्णन–१ (वैरागी काइँला, तङ्सिङ् मुन्धुम्मो चइःत् मुन्धुम्–१, सयपत्री, वर्ष २, संयुक्ताङ्क २–३, भदौ–चैत्र, २०५३) र तङ्सिङ् मुन्धुम्मा सृष्टिवर्णन–२ (वैरागी काइँला, तङ्सिङ् मुन्धुम्मो चइःत् मुन्धुम्–२, सयपत्री, वर्ष ३, संयुक्ताङ्क १–२, वैशाख–मङ्सिर, २०५४) पनि पर्नआउँछन् । 

आख्यान विधा

यहाँ आख्यान भन्नाले आधुनिक तथा लोककथाका साथै उपन्यास विधालाई लिइएको छ । लिम्बू भाषामा लेखिएका आख्यान कृतिहरू खस नेपाली र खस नेपाली तथा अङ्ग्रेजीमा लिखित कृतिहरू लिम्बू नेपाली भाषामा अनुवाद भएको पाइन्छन् ।

लिम्बू नेपाली भाषामा लेखिएका आधुनिक कथाबाट खस नेपाली भाषामा अनुवाद गरिएका कथाहरूमा कारबार कि घरबार (काजीमान कन्दङ्वा, अनु. वैरागी काइँला, समकालीन साहित्य, पूर्णाङ्क ७, २०४९) र चुराले बाँधेको मायाँ (बी.बी. सुब्बा, अनु. वैरागी काइँला, वि.सं. २०४९) पाठक समक्ष पस्किइसकेका छन् । यसरी नै स्व.स्वप्नील स्ृमतिले अमर तुम्याहाङको लेÞमÞेबा नसान लिम्बू नेपाली कथा तिरोहित विश्वास खस नेपालीमा अनुवाद (वि.सं. २०६८) गरेका छन् । बी.बी. मुरिङ्लाले परालको आगो ...

कथाको हकमा आधुनिक कथाहरू भन्दा पनि धेरै लिम्बू लोककथाहरूले नेपाली तथा अङ्ग्रेजीमा अनुवाद हुने अवसर पाएका छन् ।सयपत्री (पूर्णङ्क १२ स.२०५७) मा नागराज (सं. इमानसिंह चेम्जोङ, योबादाङ्बा), उत्तिस किन पहिरो गएको जग्गामा मात्र उम्रिन्छ ? (सं. काजीमान कन्दङ्वा, वसो?मेÞन् थेआङ् थुक्वाओ लिङ् ?), चुक्चिबा र लाधिप्पा (सं. वैरागी काइँला, चुक्चिबा नु लाधिप्पा), च्याब्रुङबाजा र नाचको उत्पत्ति तथा कोदो (सं. बी.बी. सुभा, के पोःक्मा मुन्धुम् तथा माङ्दःक्), घर निर्माणको आख्यान (सं. मोहन इजम, हिम् चोःक्मा मुन्धुम्), गिद्धदेवको कथा (सं. बाल्हाङ सुभा र मोहन सुभा, मुया साम्माङलेÞ मुन्धुम्), धाननाचको उत्पत्तिको आख्यान (एन्.बी. ताम्लिङ्, या?राःक्मा मुन्धुम्), लाटो त मारिन्छ है (हर्कबहादुर खाम्धाक्, अ?दङ्ग आसिरो), शिर उठाउने पूजाको जन्म (सं. येमप्रसाद सुभा, माङ्गेÞन्ना चोःक्मा थिम्), सूर्यमुखी फूल (सं. अमर नेम्बाङ, नाम्दःक् फुङ), बिरालो (पदमसिङ इजम, मियङ), तन्नेरी रोज्ने ढुङ्गा (विरही काइँला, तरे सेःक् लुङ्), न्याउली चरी र मर्चा (सं. शिवकुमार श्रेष्ठ, सेल्लोःक्वा पु तथा खेसुङ), देवदेवताहरूको उत्पत्ति र अन्त्यमा निर्धन पनि धनवान् भयो (दुर्गाप्रसाद फोपाहाङ, आक्खेरिक साम्माङ मेÞबोःक्खेÞ मेलिङ्ङेÞ ? तथा याङ्केसा?बेÞन्  ताःन्दिग केÞगप्पा केÞजाबा पोःक्खेÞ ), तार्घाःक्पा (सं. येहाङ लाओती, तार्घाःक्पा), तमोर र माईखोला तथा माङमाङलुङ (सं. लक्ष्मीकुमार सेर्मा, याम्धाङ्वा नु कोइक् तथा माङ्माङलुङ), देवता र मान्छेको सम्बन्धविच्छेद (सं. सङ्ग्रामबहादुर तुम्बाहाङ्फे, कात्ताःक्वा मिक् थेःक्थेःक्), बराहक्षेत्र (सं. भुपाल खजुम, फाक्किन् खजुम्हा?रेÞ मेÞजेÞप्तु), आरिसे दिदी र गरिब बहिनी (सं. दिलेन्द्र पान्थरे लुङा, कुनागेÞहेÞम्बा कुन्नेÞ? नु याङ्गेÞसा?मा कुन्सा?), मुक्कुहाङ नु अजरक्पा (सं. बुधहाङ नेम्बाङ, मुक्कुहाङ नु अजरक्पा), बालक एरेहाङको बुद्धिमानी (सं. हाङयुक अज्ञात, चुक्पा एरेÞहाङ्लेÞन् मुहिःक्), सुबिउ चरी ((सं. टङ्क चङ्बाङ् ‘निङ्वाचोःक्वाहाङ चङ्बाङ्’, सेÞमेःक्वा), येÞजुली येमा (सं. सुजन सेलिङ), चिजिलिङ् माङ्वारक् (सं. घनश्याम साउदेन), पुत्तुःक्के पु (सं. श्याम सुहाङ चङ्बाङ्), येजुली येमा (सं. सुजन सेत्लिङ, येजुली येमा), चिजिलिङ् माङ्वारक् (सं. घनश्याम साउदेन, चिजिलिङ् माङ्वारक्), ढुकुर (सं. श्याम सुहाङ चङ्बाङ्, पुत्तुःक्के पु), छट्टु बाँदर (सं. डिल्ली लिङ्दम, सारिक् केÞघुम्बा सबा), थाःङ्साःङ् खोला (सं. हाङ्वासाःङ् याक्थुङ्बा, थाःङ्साःङ्) र सतधुल चरी (सं. थाङ्सुहाङ् पुष्प सुब्बा, साक्थुन्धुन् पु) लगायत २७ जनाले सङ्कन गरेका ३३ वटा लोककथाहरू प्रकाशित भएका छन् ।

पुस्तकाकार लोककथाहरूमा किराती लोककथाहरू (सं. शिव कुमार श्रेष्ठ, प्रथम संस्करण वि.सं. २०४७, तेस्रो संस्करण वि.सं. २०६८), किराँती लोककथा सँगालो (पूर्ववत्, प्रथम संस्करण वि.सं. २०५१, दोस्रो संस्करण वि.सं. २०६८), Kirati Folk Tales (सं. शिव कुमार श्रेष्ठ, अनु. निल बहादुर बस्नेत, सन् १९९९), किराती दन्त्यकथा (इमानसिंह चेम्जोङ, प्रथम संस्करण ई. १९६५, दो. संस्करण ई. २००३), किराँत लोककथा (सं. लक्ष्मी कुमार शेर्मा पापो, वि.सं. २०४८),Limbu Folklore (Melanie Pappadis, 2001) आदि रहेका छन् भने फाक् नु खजुम् (सं. छितिज सुब्बा, सयपत्री, अङ्क २२, वि.सं. २०६७) अनि तेङ्गो किन अल्गो, सेल्लो किन होचो ? (काजीमान कन्दङ्वा, तेÞङ्गोन् हेÞन्नाङ् यम्, सेÞल्लोन् हेÞन्नाङ चुक्, सयपत्री, वर्ष १, अङ्क २, भदौ–मङ्सिर, २०५२) फुटकर रूपमा प्रकाशित भएको छ ।

लिम्बु भाषाबाट लेखिएको थत्थामा (पदमसिंह सुब्बा अपतन, अनु. अमर तुम्याहाङ, २०६२, अप्रकाशित ने.प्र.प्र.) उपन्यास नेपाली भाषामा अनुवाद भएको छ भने अङ्ग्रेजीबाट लिम्बू भाषामा अनुदित कृति गुलिभर्रेÞ लाम्दिःक् (जोनाथन स्विप्mट, अनु. बी.बी. मुरिङला, सिक्किम) रहेको छ । यसरी नै अङ्ग्रेजीमा लेखिएको बाल उपन्यास ब्मखभलतगचभ या ब ल्भउबष् िँचयन (कनमणि दीक्षित, अनु. अमर तुम्याहाङ, वि.सं. २०५८) लिम्बू भाषामा अनुवाद भएको छ । 

नाटक विधा

लिम्बू भाषाबाट खस नेपाली भाषामा अनुवाद गरिएको नाटकमा बलिहाङ (बी.बी. मुरिङ्ला, अनु. वैरागी काइँला, ......) नाटक पर्दछ भने नेपाली भाषाबाट लिम्बू भाषामा अनुवाद गरी तत्कालीन राजकीय नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवमा प्रस्तुत भएका याम्नोङ (येहाङ लाओती र भक्त सिगू, २०५३), कुसङसेमी (सारदा सुब्बा, येहाङ लाओती र विरही काइँला, २०४९) रहेका छन् ।

निबन्ध विधा

लिम्बू भाषामा लेखिएका निबन्धहरूमध्ये यासोक–हाम्रो तीर्थस्थल (येहाङ लाओती, अनु. वैरागी काइँला), समयले पर्खदैन (मोहन इजम, अनु. वैरागी काइँला), याक्थुङ सङजुम्भो नु साक्थिम (लेखन तथा अनु. वैरागी काइँला, सयपत्री पूर्णाङ्क १८, वि.सं. २०६०), शाङ्सेन माङ्हिम् नाम्फुन्यकको व्यवस्थापन सम्बन्धी मुचुल्का–वि.सं. २०१५ (लेखक रणध्वज नेम्बाङ, किरातेश्वर सन्देश पत्रिकामा प्रस्तोता वैरागी काइँला) नेपाली भाषामा अनुवाद गरिएका छन् भने विश्वास दिप तिगेलाको पूर्वी टिमोरलाई पुनः जन्माउँदा (अनुवाद अमर तुम्याहाङ, नाम्गेÞत् तिमोरइन् याम्मो सावाम्नाल्लेÞ), मञ्जुल याक्थुम्बाको सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन्  (अनु. अमर तुम्याहाङ, सिरिजङ्गाहाङ किरात सक्सक्रेन् ताप्खोबा मेÞन्, याम्मो थोदिम् केÞजोक्पारक्) र अमर नेम्बाङको उमेरको चालीसौँ सिँढीमा आइपुग्दा (पूर्ववत् अनु., लिबोङ् सिगेक्पा योदङ्ङो केÞराङ्ङिले), छथरे बारे कुराकानी (गोबिन्द तुम्बाहाङ, सयपत्री, अङ्क २१, २०६७), आठपहरिया जातिका मानिसहरू (गोबिन्द तुम्बाहाङ, आठपहरिया सङ्बा नाप्मिघा सयपत्री, अङ्क २३, २०६८) नेपाली भाषाबाट लिम्बू भाषामा अनुवाद भएका निबन्धहरू हुन् । लिम्बू जातिमा ढोगभेट (वैरागी काइँला, याक्थुङ् स्वाममा थिम्, सयपत्री, वर्ष ५, अङ्क २, कात्तिक–चैत्र, २०५६) र लिम्बू जातिमा ढोगभेट (वैरागी काइँला, याक्थुङ् स्वाममा थिम्, सयपत्री, वर्ष ५, अङ्क २, कात्तिक–चैत्र, २०५६) सांस्कृतिक लेख पनि अनुदित भएर प्रकाशित भएको छ । 

साहित्येत्तर विधा

यसअन्तर्गत लिम्बू भाषामा लेखिएका शब्दकोश, वर्णमाला, व्याकरण, पाठ्यपुस्तक, ऐनकानुन तथा जनचेतना जगाउने सामग्रीसँग सम्बन्धित पुस्तक पुस्तिकाहरूलाई लिइएको छ । यी निम्न अनुसार छन् ।

क. शब्दकोश

लिम्बू भाषासम्बन्धी प्रायः सबै शब्दावली, कोश अथवा शब्दकोशहरू दुई भाषा वा तीन भाषामा रहेको पाइएको छ । कोश निर्माणमा प्रयोग भएका भाषाहरूमा लिम्बू नेपाली, खस नेपाली, अङ्ग्रेजी र हिन्दी रहेको पाइएको छ । लिपिको हकमा भने किरात लिपि, नागरी लिपि र रोमन लिपि प्रयोग भएको पाइएको छ । यसरी अनुवादसहित निर्माण भएका लिम्बू भाषाका शब्दकोशहरू यस प्रकार रहेका छन्ः ‘लिम्बू शब्दावली’ (डब्ल्यू जे कर्कप्याट्रिक २००७ः २४९–२५२ प्रथम संस्करन १८११), लिम्बू–अङ्ग्रेजी शब्दकोश (चार्लस् केम्बेल १९ औँ शताब्दीको मध्यकालमा), अ भोक्याब्युलरी अव् द लिम्बूू ल्याङगुइज् (एचडब्ल्युआर सेनिओर ई.१९०८ दोस्रो संस्करन ई.१९७७), लिम्बू हिज्जे शब्दकोश (दिलेन्द्र कुरुम्बाङ–सुब्बा वि.स. २०६२), लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश (इमान एस. चेम्जोङ स.२०१८), लिम्बू–इङलिस डिक्स्नरी अव् द मेवाखोला डायलेक्ट विथ इङलिस–लिम्बू इन्डेक्स (बोइड मिखाइलोभ्सी ई.२००२), हिन्दी–लिम्बू कोश (बज्रविहारी कुमार, पी.एस. सुब्बा र बी.बी. सुब्बा ई.१९८०), पर्यायवाची शब्दकोश (सङ्कलन सहयोगी इमानसिंह चेम्जोङ, नेपाल प्रज्ञा प्रतिष्ठान, वि.सं. २०३०), नेपाली – लिम्बू – अङ्ग्रेजी शब्दकोश (हस्तलाल साक्वादेन लिम्बू स.२०४९), मुन्धुमी शब्दकोशः किरात – नेपाली – अङ्ग्रेजी (माङमिङसोहाङ लिङ्देन सं.२०६० प्रथम संस्करन २०५९), अ लिम्बू–इङलिस ग्लोसरी (ई.१९६०), लिम्बू–नेपाली–अङग्रेजी शब्दकोश (बी.बी. सुब्बा ई.१९८०), सिरिजङगा लिपिमा केही शब्द (हरि चङबाङ स.२०५०), लिम्बू शब्दकोश (पान्डुलिपि, मणिशङ्कर सेरेङ–चोङबाङ), लिम्बू – नेपाली शब्दकोश (खेलराज यङहाङ स.२०५२), संक्षिप्त खस – लिम्बू शब्दकोश (नर यङहाङ स.२०४९), याक्थुङ मिङ्वान (नरबहादुर यङ्हाङ, वि.सं. २०५२) याक्थुङ चोःक्थिम (ऋषिकुमार सङबाहाङफे स.२०४९÷ई.१९९२), लिम्बू – नेपाली (पर्यायवाची र विपरितार्थक) शब्दकोश (तेजबहादुर फागो पन्धाक, २०६३), पहाडी बोलीचाली (अन्जु खड्का, केशरजङ्ग मगर र डा.विद्यानाथ कोइराला स.२०६३), नेपाली — लिम्बू — लिम्बू शब्दकोश (रणबहादुर मेन्याङ्बो आदि, २०६६), किराँत याक्थुङबा (मेखिम) फुङनावा साम्लो मुन्धुम (चन्द्रवीर नाल्बो लिम्बू, अनु. स्वयम्, पृ.८३–९५, वि.सं. २०५०), लिम्बू नेपाली शब्दकोश (त.ना.मु. कृष्णबहादुर लाओती, वि.सं. ....) आदि रहेका छन् ।

ख. वर्णमाला तथा व्याकरण (The Alphabets books and the Grammar)

बाज वीर थलङले सन् १९२८ मा तुम् याक्थुङ निङ्वाफु साप्ला नामक वर्णमाला प्रकाशन गरेपछि दर्जनभन्दा बढी लिम्बु भाषासँग सम्बन्धित वर्णमाला पुस्तकहरू फरफरक लेखहरूले लेखी प्रकाशन गरिसकेका छन् । प्रायः सबै वर्णमाला पुस्तकहरू दुई भाषा वा तीन भाषामा लेखिएका छन् । त्यस्ता वर्णमालाहरूमा तुम् याक्थुङ निङ्वाफु साप्ला (ईमानसिंह चेम्जोङ, सन् १९७०), किराँत कुम्मा शक् किरात वर्णमाला (स्व. रणधोज नेम्माङले वि.सं. २०१५÷७ देखि २०१६÷१ सम्म तयार पारेको काठको ब्लकबाट तयार गरिएको, वि.सं. २०४८ मा प्रकाशित) याक्थुङ साप्सक् पोना (बी.बी. मुरिङला र मोहन फुरुम्बो, सिक्किम, सन् १९८७), लिम्बू अक्षर गाइड (बी.बी. सुब्बा, मु.नो., सन् १९९१), प्रारम्भिक किरात वर्णमाला (सङ्गीता थेÞबे, साम्जिरी सेमी र माङमिङसोहाङ स.२०६०), उपयोगी किरात वर्णमाला (सेर्मा साम्जीरी सेमी, वि.सं. २०६४),  लिम्बू वर्णमाला (दिलेन्द्र कुरुम्बाङ–सुब्बा ई.२००४), सक्सा पोना (हाङवासाःङ याक्थुङबा, वि.सं. २०५६) आदि रहेका छन् ।
लिम्बू व्याकरणको लेखन त्रैभाषिक (tri-lingual) पछि द्वयभाषिक (bi-lingual) हुँदै एक भाषिक (mono-lingual) चरणमा प्रवेश गरेको पाइन्छ । लिम्बू भाषाको पुस्तकाकार व्याकरण इमानसिंह चेम्जोङ लिखित किरात व्याकरण (ई. १९७०) लाई लिन सकिन्छ जुन लिम्बू भाषा, खस नेपाली भाषा र अङ्ग्रेजी भाषामा क्रमशः लेखिएको छ । कन्साइस् लिम्बू ग्रयामर यान्ड डिक्सनरी (अल्फोन्स् वेइडर्ट र विक्रम सुब्बा ई.१९८५), अ ग्रयामर अव् लिम्बू (जर्ज भ्यान ड्रिम १९८७), अङ्ग्रेजी र लिम्बू भाषामा लेखिएका छ । यसरी नै ओगाप्मिबा याक्थुङ हुप्पान् या प्रयोगिक लिम्बू व्याकरण (पदम माबो, वि.सं. २०६७) ले पनि यही द्वयभाषिक बाटोलाई पछ्याएको छ ।

ग. भाषा, शिक्षा र अन्य विविध

हज्सन (सन् १८४४) ले सङ्कलन गरी इन्डिया अफिस लाइब्रेरी लन्डनमा लगेर राखेको लिम्बू जाति, भाषा, संस्कार, संस्कृतिसँग सम्बन्धित विभिन्न सामग्रीहरू अनुवादसहित रहेको पाइएको छ । यसरी नै लिम्बू भाषा सिकौँ (याक्थुङ पाःन् हु?आसि, प्रथम संकसरण, वि.सं. २०५९, प्रकाशकः किरात याक्थुङ चुम्लुङ) र लिम्बू भाषा सिकौँ (डा. गोबिन्द सुब्बा र अमर तुम्याहाङ, याक्थुङ् पाःन् हु?आपि, साझा प्रकाशन, वि.सं. २०६६) पनि दुई भाषामा लेखिएका पुस्तकहरू हुन् ।

लिम्बू भाषामा अनुवाद गर्ने क्रममा विद्यालयका पाठ्यपुस्तहरू पनि अनुवाद भएका छन् । ती पुस्तकहरू अनुवाद भए पनि प्रकाशन भने हुन सकेका छैनन् । यसरी अनुवाद भएको पुस्तकहरूमा सामाजिक अध्ययन तथा सिर्जनात्मक अभिव्यक्तिशील कला शिक्षा (आनि? सःङ्जुम्मिबा सक्निःम् नु वाःन्दिबो हक्यादिम् चो निछाम्, कक्षा १, अनुः अमर तुम्याहाङ २०६३), गणित शिाक्षा (आनि? खानित् निछाप्, कक्षा १, पूर्ववत् अनुः वि.सं. २०६३), विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा (आनि? साप्चा, याम्जिक् नु थक्किन्जोक् निछाम्, कक्षा १, पूर्ववत् अनु, वि.सं. २०६३), मेरो गणित (आनि? खानित् निछाप्, कक्षा २ पूर्ववत् अनु. वि.सं. २०६५), मेरो सामाजिक तथा सिर्जनात्मक अभिव्यक्ति कला शिक्षा (आनि? सःङ्जुम्मिबा सक्निःत् नु वाःन्दिम्बो चो निछाम्, कक्षा २ पूर्ववत् अनु. वि.सं. २०६५) र विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा २ अनु. कमल थोक्लिहाङ, वि.सं. २०६४) रहेका छन् ।

जनचेतना जगाउने साथै विद्यार्थीहरूका लागि जानकारीमूलक विविध विषयवस्तुका पुस्तक एवम् पुस्तिकाहरू पनि अनुवाद भएका पाइन्छन् । आनि? नु आनि? सयङ् (सामाजिक शिक्षा, अज्ञात अनु. बी.बी. मुरिङला, सिक्किम), काक्वारे याङ्घन्  (कृषिः आलु खेती, अग्यात अनु. बी.बी. मुरिङला, सिक्किम), च्वाः याङ्निःम्ले कुबि  (सामाजिक शिक्षाः जलस्रोत, अज्ञात अनु. बी.बी. मुरिङला, सिक्किम), सक्वा हिङ्मा (कृषिः मौरीपालन, अज्ञात अनु. बी.बी. मुरिङला, सिक्किम), सेरिम्ले याङ्घन् (सुन्तलाको खेती, अज्ञात अनु. अज्ञात, सिक्किम), लाजे पोबेÞन् थिम्बे (शिक्षा विभाग, सिक्किम सरकार, अनु. बी.बी. मुरिङला, सिक्किम), अम्दु तुक्मा (स्वास्थ्य विभाग, सिक्किम सरकार, पूर्ववत् अनु.), तुक्मारे लाम् (अज्ञात, पूर्ववत् अनु.), फन् नु अदङ् (अज्ञात, पूर्ववत् अनु.), फार्साङ्ङिन् याम्धुम्ले लागि नुबा मेन् (अज्ञात, पूर्ववत् अनु.), सुखिम सुबेल्ला साक्लाम् केÞबोङबा खल्लेङवाबेन् (अज्ञात, पूर्ववत् अनु.), सेवान् साक्मा (परिवार नियोजन, अज्ञात, पूर्ववत् अनु.), याम्धुम्बारे लागि ताम्सिङवा (स्वास्थ्य र खेलकुद, अज्ञात पूर्ववत् अनु.) आदि रहेका छन् ।
यसरी नै बी.बी. मुरिङ्लाले भारतीय नेताहरूको जीवनी अनुवाद गरेको पाइन्छ । तिनमा चन्द्रसेखर आजाद (अज्ञात अनु. बी.बी. मुरिङला, सिक्किम), जवाहरलाल नेहरूरे खेदा (चित्रकथा, अज्ञात पूर्ववत् अनु.), देशवन्धु चित्तरन्जन दास (चित्रकथा, अज्ञात पूर्ववत् अनु.) रहेका छन् भने इमानसिंह चेम्जोङसँग (पदमसिंह मुरिङ्ला, अनु. वैरागी काइँला) आदि पनि यसै कोटीका अनुदित सामग्री हुन् । याक्थुङ मुक्पान सुम (सङ्कलन तथा अनु. नरबहादुर यङहाङ, वि.सं. २०६१) लिम्बू लोक विश्वासका लोक सुक्तिहरूको अनुवाद सहित प्रकाशित भएको छ ।

मानव अधिकार घोषणापत्र १९४८ (अनु. अमर तुम्याहाङ, प्रकाशकः कियाचु, वि.सं. २०५९), UN DRAFT DECLARATION ON THE RIGHTS OF INDIGENOUS PEOPLES (पूर्ववत् अनु. वि.सं. २०५९), आदिवासी जनजाति लिम्बूहरूको विकाससम्बन्धी एजेन्डा ( पूर्ववत् अनु., प्रकाशकः कियाचु, वि.सं. २०६१), अन्तरिम सविधान २०६३ (अनु. रणबहादुर मेन्याङ्बो, अमर तुम्याहाङ, यासेली योङ्हाङ, तिलविक्रम चेम्जोङ, आदि, वि.सं. २०६४), संविधानसभा विषयको जनाकारी २०६३ (अनु. अमर तुम्याहाङ, प्रकाशकः संविधान सभा सफलता सरोकार समूह, वि.सं. २०६३), नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको विस्तृत् शान्ति सम्झौता (पूर्ववत् अनु., प्रकाशकः राष्«िय मानवअधिकार अयोग, वि.सं. २०६३), संविधानसभा के हो ? (पूर्ववत् अनु., प्रकाशकः एनकार्ड, वि.सं. २०६४), The United Nations Convention on the Rights of the Child (रणबहादुर मेन्याङ्बो र खड्ग मेन्याङ्बो, प्रकाशकः कन्सर्न–नेपाल, सन् २००८) पिपल पुस्तक सिसिज (अनु. दिलेन्द् कुरुम्बाङ वि.सं.२०५८), संविधान, ऐन, कानुन तथा जनचेतनासँग सम्बन्धित पुस्तक, पुस्तिका तथा सामग्रीहरू अङ्ग्रेजी तथा नेपाली भाषाबाट लिम्बू भाषामा अनुवाद भई प्रकाशित भएका छन् ।

लिम्बू भाषा र देवनागरी लिपिमा आलेखन (लेखन तथा अनु. वैरागी काइँला, याक्थुङ् पाःन् नु देवनागरि (री) सक्सक्को कुसाप्पेÞन्, सयपत्री, वर्ष १, अङ्क १, वैशाख–श्रावण, २०५२) भाषासम्बन्धी लेख पनि प्रकाशित भई पाठकसमक्ष पुगिसकेकै छ । 

अनुवादको स्थिति अवलोकन

लिम्बू भाषा साहित्यमा भएको हालसम्मको अनुवाद परम्परालाई हेर्दा पञ्चायतकालमा मूलतः लोक साहित्यमा अनुवाद कार्य केन्द्रित भएको पाइन्छ । २०४६ को जनआन्दोलनपछि प्राप्त प्रजातान्त्रिक युगमा लोक साहित्य (मुन्धुम सहित) विधागत साहित्य अनुवाद गर्ने क्रम बढ्दै गएको देखिन्छ । यसै कालदेखि अधिकारमुखी सामग्रीहरू अनुवाद हुन थाल्यो र मुलुक गणतन्त्रमा प्रवेश गरेपछि यसले तीब्रता पाएको देखिन्छ । लिम्बू भाषा साहित्यको अनुवाद उत्प्रेरक संस्थाको रूपमा मूलतः तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, सिक्किम सरकारको शिक्षा विभाग रहेको देखिन्छ भने क्रियाशील अनुवादकहरूमा वैरागी काइँला, बी.बी. मुरिङ्ला आदि रहेका छन् । फुटकर साहित्यहरू र साहित्यिक पुस्तकहरू पनि फाटफुट अनुवाद भएको पाइएको छ । कोश, व्याकरण, वर्णमाला आदि विधा प्रायः अनुवादीय बाटोमा नै हिँडेको देखिन्छ । यसको मूल कारण भनेको सायद मातृभाषामा शिक्षा नभएको र पाठकहरू कि त खस नेपाली वा अङ्ग्रेजी माध्यम माषामा शिक्षित एवम् दीक्षित भएको कारणले हुन सक्तछ । लिम्बू भाषामा अनुवाद भए पनि धेरैजसो कृतिहरू प्रकाशित नभएको पाइएको छ । यसो हुनुको मूलतः दुई कारणहरू हुन सक्छन् ः बजारको अभार तथा प्रकाशकहरूको अभाव ।

लिम्बू भाषा साहित्य अनुवादको उपलब्धिहरू

लिम्बू भाषा–साहित्य अनुवादको उपलब्धिलाई निम्न अनुसार लिन सकिन्छ ः
(क) लिम्बू भाषा साहित्यको अवस्था बारेमा अन्य भाषी पाठकहरूलाई जानकारी हुनु ।
(ख) लिम्बू भाषा साहित्यमा रहेको मौलिकपन अन्य भाषाका पाठकले रस्वासादन गर्न पाउनु ।
(ग) अन्य भाषा साहित्यको आश्वादन आफ्नो मातृभाषामा लिम्बू पाठकहरूले प्राप्त गर्नु ।
(घ) समृद्ध साहित्यको उत्कृष्ट रचनाहरू लिम्बू भाषामा अनुवाद हुनुले लिम्बू साहित्यलाई अझ समृद्ध बनाउनु आदि ।

लिम्बू भाषा साहित्य अनुवादको सम्भावनाहरू

लिम्बू भाषा–साहित्य अनुवादको सम्भावना अवस्यमेव छ । त्यसलाई अझ प्रवल बनाउन निम्न सम्भावित परिवेशले थप अनुकूलता प्रदान गर्ने छ । 
(क) लिम्बू भाषा शिक्षाको माध्यम भाषाको रूपमा विद्यालय तथा उच्च तहको शिक्षामा प्रयोग भएमा ।
(ख) लिम्बू भाषा कार्यालयको कामकाजको भाषाको रूपमा व्यवहारिक रूपमा प्रयोग भएमा ।
(ग) लिम्बू समुदायले आफ्नो भाषालाई पहिचान र समृद्धिको रूपमा बुझी व्यवहारमा लिएमा । 
(घ) हालको संवैधिनक मान्यता व्यवहारतः कार्यान्वयन भई लिम्बू भाषाले व्यावहारमै राष्ट्र भाषाको मान्यता पाउने भएकाले आदि ।

केही सुझावहरू

लिम्बूलगायतका नेपालमा बोलिने मातृभाषाहरूको अनुवाद साहित्यले झेलिरहेको समस्यालाई माथि संक्षिप्तमा प्रस्तुत गरियो । अब यहॉ तिनको निराकरणका लागि केही सुझाहरू बु‘दागत रूपमा प्रस्तुत गरिन्छ
क. मातृभाषाको साहित्य (अनुवाद) विकासमा नेपाल सरकारले प्रष्ट नीति निर्माण गर्नुका साथै त्यसको कार्यान्वयन गर्नुपर्छ ।
ख. सरकारी एवम् निजीक्षेत्रबाट मातृभाषामा अनुदित कृतिहरू प्रकाशन हुने वातावरण तयार हुनुपर्ने ।
ग. प्रकाशित कृतिहरू लक्षित लिम्बू समुदायमा सहजै पुग्न सक्ने वितरणको सञ्जालको व्यवस्था गर्नुपर्छ ।
घ. लिम्बू अनुवाद साहित्यको विकासको लागि लिम्बू समुदायबाटै निजी रूपमा पनि लगानी  हुनुपर्छ ।
च. मातृभाषा साहित्य (अनुवाद) को प्रकाशनका लागि राज्यको तर्फबाट अनुदानको व्यवस्था हुनुपर्दछ ।
छ. मातृभाषामा शिक्षा र उच्चशिक्षामा पनि मातृभाषाको प्रयोग हुनु पर्दछ ।
ज. मातृभाषाहरूको प्रयोगविस्तार शिक्षामा र त्यसपछि संचारमाध्यमलगायतमा गर्दै लाने सरकारी नीति हुनु पर्दछ ।

निचोड

लिम्बूभाषा–साहित्यको प्रायः सबै विधाहरूमा धेरथोर अनुवाद कार्य भएका छन् र अनुदित कृतिहरू प्रायः प्रकाशित पनि भएका छन् । लिम्बू साहित्यमा अपेक्षाकृत अनुवादकहरू बढ्न नसके पनि खडेरी नै भने परेको छैन । अबको प्रयास साहित्येत्तर सामग्रीको अनुवादबाट साहित्यिक कृतिहरूको अनुवादमा केन्द्रित हुनुपर्छ । मातृभाषा साहित्य अनुवादका लागि राज्य उदार हुनुपर्छ भने स्वभाषीय समुदाय जागरुक र क्रियाशील हुनुपर्छ । मातृभाषा अनुवाद साहित्यले मुलुकका मातृभाषीहरूबीच एकआपसमा परिचित गराउनुका साथै आपसी सहसम्बन्धका लागि पुलको काम पनि गर्दछ, आत्मिक हातेमालोको वातावरण सृजना गर्छ अनि एउटा भाषामा रहेको साहित्यिक नीधिले अर्को भाषाको साहित्य आलोकित हुन सक्छ । अनुवाद साहित्य नेपाली समाजको नयाँ सम्बन्ध सेतुको रूपमा विकास गर्न सकिन्छ । यसप्रति सम्बन्धित सबै पक्षको ध्यान जान जरुरी छ । अब विगतको इतिहासको तिक्ततालाई विर्सिएर राज्यको होचो अर्घेलोमा परेका भाषा साहित्यले आफै फल्ने फुल्ने पुनीत कार्य तत् क्षण सुरु गर्ने साइत जुरेको छ भने राज्यले कसैप्रति सापेक्ष होइन निरपेक्ष अभिभावकको भूमिका निर्वाह गर्ने अपेक्षा गरिनु समीचन नै हुन्छ ।

सन्दर्भसूची


  • काइँला, विरही २०४९ लिम्बू भाषा र साहित्यको संक्षिप्त इतिहास, प्रकाशकः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
  • काइँला वैरागी (प्रस्तोता)   २०४३ किरातेश्वर सन्देश्व सन्देश, अङ्क २, सीतापुरी झापा वि.सं. २०४३, ।
  • काइँला वैरागी, तुम्याहाङ, अमर २०६४ राष्ट्रिय साहित्य सङ्गोष्ठी –२०६४ (लिम्बू भाषाको वर्तमान साहित्यक अवस्था र समस्या), प्रकाशकः नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
  • काइँला वैरागी, योञ्जन अमृत(सं.) २०५६ राष्ट्रिय भाषाका कविता सङ्गालो, प्रकाशकः राष्ट्रिय जनजाति विकास समिति, अनामनगर, काठमाडौँ ।
  • कोइराला, मोहन (सम्पादक) २०५० राष्ट्रिय भाषाका कविताहरू, प्रकाशक ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, कमलदी, काठमाडौँ ।
  • तुम्याहाङ, अमर (सं.) २०६४ तान्छोप्पा, वर्ष १२, अङ्क ७, साउन, पृ.७ र २, भदौ पृ. ७ र २, असोज पृ. ७ र २, कात्तिक ७ र ६, मंसिर ७ र २, वर्ष १३, अङ्क २, फागुन,
  • ............................ २००९ ई.सं. तान्छोप्पा, फेब्रुअरी पृ. २ र ५, अङ्क १ २००९, मार्च, २००९, अङ्क २, पृ. २,
  • अङ्क, ३, पृ. २, अप्रिल २००९, तान्छोप्पा, मे, पृ. २, २००९
  • नेम्बाङ, तिलविक्रम (संयोजक) २०५० राष्ट्रियभाषा नीति सुझाव अयोगको प्रतिवेदन, प्रकाशकः राष्ट्रियभाषा नीति सुझाव आयोग, कमलादी, काठमाडौँ ।
  • नेम्बाङ, वीर २०१० ई.सं. लिम्बुवान भूभाग अलपत्र, मकरधोज वनेम आदि ।
  • प्रसाई, गणेशबहादुर (सं.) २०५७ सयपत्री, लिम्बू भाषा लोक कथा अङ्क, वर्ष ६, पूर्णङ्क १२, कार्तिक–चैत्र, २०५७ ।
  • प्रसाई, गणेशबहादुर (सं.) २०६० सयपत्री, राष्ट्रिय भाषाका निबन्धहरू, वर्ष ६, पूर्णङ्क १८, कार्तिक–चैत्र, २०६० ।
  • बी.एच.हड्सन, १८४६ हज्सन पाण्डुलिपि, भो. ७८, पृ.८—१८, भो.८४ पृ२१३ — २५०,भो. ८५ पृ ६७—८०,   ब्रिटिस लाइब्रेरी, लन्डन
  • बुढा बमकुमारी, मादेन राम (सं.) २०६० राष्ट्रिय भाषाका कविता सङ्गालो, प्रकाशक ः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुर ।
  • रापचा, लाल–श्याँकारेलु, आदि २००८ ई.सं. इन्डो–नेपाल किराँती भाषाहरू, प्रकाशकः किराँतविज्ञान अध्ययन संस्थान, काठमान्डू, नेपाल ।
  • संग्रौला, डा. नारायण २०६७ पल्लो किरातको किपट व्यवस्था, प्रकाशकः श्रीमती अम्बिका देवी संग्रौला ।