Saturday, May 12, 2018

सिरिजङगा लिपि र त्येअङ्सी सिरिजङ्गाः सङ्क्षिप्त अध्ययन

अमर तुम्याहाङ

लेखसार 
यो आलेख दुई वटा खण्डमा विभाजन गरिएको छः लिपि खण्ड र त्येअङ्सी सिरिजङ्गा खण्ड ।लिपि खण्डमा संसारमा प्रचलित प्राचीन लिपिहरूको चर्चा गर्दै किरात सिरिजङ्गा लिपि पनि भनिने सिरिजङ्गा लिपिको विकास र दोस्रो खण्डमा त्येअङ्सी सिरिजङ्गाको परिचय, योगदान र उनको स्मरणमा गरिएका कार्यहरूको चर्चा गरिएको छ ।

प्रस्थान
केही व्यवहारिक प्रश्नहरू जो सधैँ सामना गरिरहनु पर्दछन् र धेरैजसो मानिस त्यहीँ रुमलिरहेका हुन्छन् । यिनै कुराबाट विषय प्रवेश गरौँ :

प्रश्न नं. (१)
क्याम्पसमा अध्यापन गर्ने भएकोले विद्यार्थीको परीक्षामा पनि प्रायः बसिने नै भयो । यसै क्रममा स्नातक तहदेखि स्नातकोत्तर तहका विद्यार्थीमा थोरै अपवादलाई छोडेर सबै विद्यार्थीले गर्ने एउटै र समान गल्ती हो— स्क्रिप्ट अर्थात् लिपि लेख्नु पर्ने कोलममा खस नेपाली भाषामा लेख्नेले नेपाली र अङ्ग्रेजी भाषामा लेख्नेले अङ्ग्रेजी लेख्छन्, सम्झाए पनि उनीहरू भन्छन्— आजसम्म यही लेख्दै आएको हो । अब कुनै सवाल जवाफ बाँकी रहेन ।

प्रश्न नं. २
किरात लिपिको नामको सन्दर्भमा बौद्धिकदेखि सर्वसाधारणसम्म धेरैजसोसँगको कुराकानीमा यो लिपिको नाम के हो भनी प्रसङ्ग उठेमा उनीहरूको उत्तर हुन्छः लिम्बु लिपि, सिरिजङ्गा लिपि, किरात सिरिजङ्गा लिपि ।

प्रश्न नं. ३
किरात लिपि कसरी विकास भयो भन्ने प्रसङ्गमा लिम्बु सर्वसाधारण र केही विद्वान कहलिएकाले दिने उत्तर हुन्छः सिरिजङ्गा हाङले आविस्कार गरेको ।

यी प्रसङ्गले निम्न गम्भीर प्रश्नहरू उठ्ने गर्दछन्ः
(क) किन मानिसहरू लिपि र भाषा छुटाउन चाहँदैनन् या सक्दैनन् ?
(ख) लिपि र भाषाका नाम एउटै हुन् त ?
(ग) के लिपि साँच्चै आविस्कार हुन्छ ?

लिपि के हो ?
लिपि भनेको अक्षर लेख्ने प्रणाली (नेपाली बृहत् शब्दकोशः २०५८ः१११३) हो । अक्षरचाहिँ व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह (ऐ. २०५८ः५) हो । अङ्ग्रेजी भाषामा खसनेपालीको लिपि शब्दको साम्य शब्द script को अर्थ a set of letters in which a language is written (Oxford dictionary, 2010: 1274) भनी उही साम्य अर्थ बोक्ने गरी लेखिएको पाइन्छ ।हुन पनि लिपि भन्नु भाषालार्ई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिन्हहरू हुन् भन्दा फरक परोइन ।

लिपिको विकास
लिपिको आरम्भ पेलियोलिथिक अर्थात ढुङ्गे युगको आरम्भतिरका मानिसले ओढारमा गरेको पेन्टिङबाट सुरु भएको मानिन्छ । फ्रान्सको लस्काउस (Lascaux) मा भेटिएको यस प्रकारको पेन्टिङ (चित्र नं. १) आजसम्मको सबैभन्दा पुरानो मानिन्छ जुन १०,००० देखि ८,००० बिसी अर्थात् इसापूर्वको हो भन्ने प्रमाणित भएको छ (क्राइग, मिति नखुलेको) ।

(चित्र नं. १, फ्रान्सको लस्काउसमा भेटिएको आदिम पेन्टिङ)

ढुङ्गामा कपिएका आदिम चित्र पेट्रोग्लिफ (petroglyph), ढुङ्गामा रङ्गाइएको वा कोरिएको चित्र पेट्रोग्राम (petrogram), सङ्केत चित्र पिक्टोग्राम (pictogram), सङ्केतहरूका माध्यमबाट भाषा वैज्ञानिक तत्वहरू अभिव्यक्त गरिने फोनोग्राफी (phonography) हुँदै आधुनिक लिपिको विकास भएको मानिन्छ । संसारमा प्रयोगमा रहेका र पहिचान गरिएका प्रायः जसो लिपिहरूको विकास क्रम चित्र नं. २ मा देख्न सकिन्छ ।


(चित्र नं. २, स्रोतः Gelb, 1952: xi)
आई.जे. गेल्ब (१९५२ः ६०) का अनुसार मानव सभ्यता निर्माणका क्रममा निम्नअनुसारका समयावधिमा लिपिको विकास भएका थिएः

१. मेसोपोटामियाको सुमेरियन, ३१०० बिसी —७५ एडी (Sumerian in Mesopotamia, 3100 B.C.- A.D. 75)
२. इलामको प्रोटो—इलामाइट, ३००० बिसी —२२०० बिसी (Proto-Elamite in Elam, 3000 B.C.- 2200 B.C.)
३. इन्डस उपत्यकाको प्रोटो—इन्डिक, लगभग २२०० बिसी (Proto-Indic in Indus Valley, around 2200 B.C.)
४. चीनको चाइनिज, १३०० बिसी (Chinese in China,1300 B.C.)
५. इजिप्टको इजिप्सीयन, ३००० बिसी — एडी ४०० (Egyptian in Egypt, 3000 B.C.- A.D. 400 B.C.)
६. क्रेट र ग्रीसको क्रेटन, २००० बिसी —१२०० बिसी (Cretan in Crete and Greece, 2000 B.C.- 1200 B.C.)
७. आनातोलिया र सिरियाको हाटाइट, १५०० बिसी —७०० बिसी (Hittite in Anatolia and Syria, 1500 B.C.- 700 B.C.)

मध्ये मेक्सिकोको आज्टेक्स् र माया सभ्यताको अमेरिन्डियन (Amerindian of Aztecs and Mayas) अन्तरगत पाइएका लेखनलाई माथि उल्लिखित ७ वटा लिपिहरूजस्तो विकसित नभएको कुरा पनि गेल्ब (ऐ. पृ.६१) ले उल्लेख गरेका छन् ।

सम्भवत प्रोटो इलामाइट लिपिबाट विकास भएको मानिएको इन्डस लिपि मेहेन्जोदारो र हरप्पाको सभ्यताको पूर्वाद्ध कालको अन्त्यतिरको अवधि करिब २८०० — २६०० बिसीमा विकास भएको थियो । महेश र सिन्हा (२००९ः ८—३१) का अनुसार यही इन्डिक लिपिको आधारमा पछि ब्राम्ही लिपि ३०० बिसीतिर विकास भयो । यही ब्राम्ही लिपिबाट उत्तर भारतीय लिपिहरू देवनागरी, बङ्गाली, उरिया, गुजराती र गुरुमुखी साथै दक्षिण भारतीय लिपि अर्थात् द्रबेडियन लिपिहरू तमिल, तेलगु, कन्नाडा र मलयालम विकास भए । तिब्बतीयन लिपि पनि यही ब्राम्ही लिपिको आधारमा विकास भयो जसलाई सम्भोटा भनिन्छ । संस्कृत भाषा लेखनका लागि ब्राम्ही लिपिबाट नागरी वा देवानागरी लिपि इस्वी सन्को ९ औँदेखि १२ औँ शताब्दीमा विकास गरिएको मानिन्छ ।

प्रोटो सुमेरियन पिक्टोग्राफबाट इजिप्सियन पिक्टोग्राफ, इजिप्सियन पिक्टोग्राफबाट प्रोटो सिमेटिक सिलेबरी, प्रोटो सिमेटिक सिलेबरीबाट प्रोटो फोनेसियन सिलेबरी, प्रोटो फोनेसियन सिलेबरीबाट फोनेसियन सिलेबरी, फोनेसियन सिलेबरीबाट ग्रीक अल्फाबेटको विकास भयो । ग्रीकवासीले फोनेसियन वर्ण ९०० बिसी वा इसापूर्वमा अङ्गीकार गरे र ग्रीक लिपिको विकास भयो । ८०० बिसीतिर ग्रीकहरूले चलाइआएको वर्णमा स्वर वर्ण थपे र आधुनिक वर्णको विकास गरे । ८५० बिसीमा इट्रुस्कानहरू ९भ्तचगकअबलक० ले इटलीमा स्वराज्य खडा गरे र ग्रीक लिपि अङ्गीकार गरे । पछि ५०९ बिसीमा रोमनहरूले इट्रुस्कानहरूमाथि विजय प्राप्त गरे र तिनीहरूले प्रयोग गरिरहेको अल्फाबेटहरू अङ्गीकार गरे र थप व्यञ्जन वर्णहरू थपे । अनि यो लिपिको नाम पनि रोमन भनी चिनियो । यही समयदेखि रोमन लिपिले साम्राज्यवादी शक्तिको आड पायो र बेरोकटोक विस्तार हुने अवसर पायो । पछि गएर बेलायतले विश्वमा आफ्नो साम्राज्य फैलायो र त्यो साम्राज्यसँग रोमन लिपि र अङ्ग्रेजी भाषा विश्वभरि छरियो । अहिले अमेरिकी महाशक्तिको बलमा यसले निरन्तरता पाइरहेको छ । यसर्थ अङ्ग्रेजी भाषा लेखिने रोमन लिपि अङ्ग्रेजी लिपि होइन, अङ्ग्रेजी आलेखनका लागि रोमन लिपि (Roman Script) प्रयोग भएको हो ।

किरात लिपिको अनकन्टार विकास यात्रा 
आजभोलि सुक्खिममा लिम्बु लिपि र नेपालमा किरात सिरिजङ्गा लिपि भनिने किरात लिपिको विकास बारेमा गम्भीर अध्ययन अनुसन्धान हुन सकेको छैन । यसको इतिहास वास्तवमा धामीको जोखाना सरह नै बनेको छ जसको कुनै तर्कपूर्ण आधार छैन । यस लेखमा पनि गम्भीर अध्ययन भन्दा पनि यस पूर्व किरात लिपिका बारेमा विभिन्न विद्वानले लेखेका प्रसङ्ग मध्ये केहीलाई आधारमा मानेर सङ्क्षेपमा चर्चा गर्ने जमर्को गरिएको मात्र छ । यहाँ किरात लिपिबारेमा केही विद्वानहरूको भनाइ नजर गरौँ—

मदनमणि दीक्षित— किरात लिपि पैशाची भाषाको लिपिसित मिल्दो हो अथवा प्राचीनतम कालमा ती दुवै एउटै लिपि रहेका पनि हुन सक्छन् । लुप्त हुँदै गएको पैशाची लिपिलाई त्यो सिरिजङ्गाले किरात लिपिको रूपमा सन् ९०० तिर उद्धार गरेका हुन् कि ? (२०५९ः ९)

हर्षनाथ शर्मा भट्टराई— ... प्राचीन समयमा पनि सभ्यता, संस्कृति आदिले सुसम्पन्न किराँती राज्यमा लिपिको निर्माण अवश्य नै थियो होला । तर कुन किसिमको वा कस्तो लिपि थियो भन्न सकिँदैन (२०५१ः ११—१२)।
गोपीकृष्ण अधिकारी— किराँत लिम्बु लिपि ब्राह्मी लिपिबाट उत्पन्न भएको हो भन्ने लिपि विशेषज्ञ र पुरातन लिपिका ज्ञाताहरूको विश्वास छ (२०५९ः ४९) ।

अमृत योञ्जन काशीनाथ तमोटलाई उदृत गर्दै लिपि र भाषाका बारेमा आफ्नो विचार यसरी राख्छन्— लिपि र भाषा दुबै जीवन्त वस्तु हुन् । लिपि पनि जन्मन्छन् र मर्छन् । कैयौँ प्राचीन लिपिहरू तथा भाषाहरू मरेर गएको इतिहास छ ।जिउँदो भाषाबाट भाषिकहरू निस्के जस्तै एउटा मूल लिपिबाट अरू लिपिहरूविकास भएका छन् । ब्राम्हीबाट कैयौँ भारतीय लिपिहरू विकास भए भने काशीनाथ तमोटको विचारमा तिब्बती लिपिबाट रोङ लिपि र किरात लिपिको विकास भएको हो (२००६ः ४९) । योञ्जनका अनुसार ब्राम्हीबाट गुप्ता लिपि, गुप्ता लिपिबाट कुटिला लिपि, कुटिला लिपिबाट तिब्बती वा सम्भोटा लिपि र सम्भोटा लिपिबाट किराती र रोङ लिपिको विकास भएको हो ।

किरातोलोजिस्ट इमानसिंह चेम्जोङ आफ्नो किरात साहित्यको इतिहास किताबमा लिपि सम्बन्धी निम्न कुराहरू उल्लेख गरेका छन्— (क) कर्णेल मेन्वेरिङ भन्छन्— किरात अक्षरमा कुनै बेबिलोनका अक्षर मिश्रित छन् (पृ. २) । (ख) इसाको सातसय सालपछि उत्तर बर्माका नामगाम र मोक्वान गाउँहरूबाट ताईवंशी चिनियाहरू मोक्वान—सान नाउँ लिएर मुङमावरोङ राजाको नेतृत्वमा आसाम आए । आसामबाट बङ्गाल भई पूर्वी नेपालको पहाडमा बसाइँ गए । यस राजालाई मोरोङ राजा पनि भन्दछन् । उनले एक प्रकारको लिपि बनाई किरातीहरूलाई सिकाए.(पृ.३) ।

भेन्सिटार्ट आफ्नो गर्खाज पुस्तकमा लेख्छन्— ... probably in the ninth century appeared the famous Srijanga, the deified hero of the Limbus. Srijanga taught the Limbus the art of writing by inventing a kind of character. उनी थप लेख्छन् :
"Tradition says that Marang Raja was the first man who introduced writing among them, which, however owing to the long-prevailing anarchy fell into disuse till revived by Srijanga." (p. 105)

किरात लिपिसम्बन्धी यी भनाइ र बुझाइहरू हेर्दा लाग्छ कुनै व्यक्ति जब भविष्यको यात्रा गर्न निस्कन्छ त्यस बेला ऊ एउटा यस्तो बाटोहरूको दोबाटो भनौ या चौबाटो अथवा दसौँ बाटो भेट हुने जक्सनमा उभिन पुग्छ र कहाँ जाने भनेर ऊ निर्णय नै लिन सक्दैन् । यी कुराहरू हेर्दा एक अध्येताको हिसाबले जो कोही पनि अन्योलको भुमरिमा फसेको पाउँछ । जे भए पनि केही जोखाना त अवश्य हेर्नै पर्छ । कस्तो जोखाना आउँछ यी पूर्व अध्येताले लडाएका अक्षेताहरू हेर्दा ?

पैशाची लिपिको इतिहास र यसको नमुना यो कलमीले पढ्न र देख्न नपाएकालेअहिले नै यसै भनिहाल्ने स्थिति रहेन । चेम्जोङले उल्लेख गरेको कर्णेल मेन्वेरिङको भनाइलाई मान्ने हो भने किरात लिपि सुमेरियन पिक्टोग्राफ, बेबिलोनियन क्युनिफर्म, अस्सुरियन क्युनिफर्म (चित्र नं. ३ हेर्नोस्) हुँदै विकास भएको मान्न सकिन्छ । चेम्जोङले नै उल्लेख गरेको अर्को मुङमावरोङ राजा अर्थात् मोरोङ राजा र भेन्सिटार्टले उल्लेख गरेको माराङ राजाले चलाएको लिपिलाई आधार मान्ने हो भने प्रोटो सुमेरियन, प्रोटो इलामाइट, प्रोटो इन्डिक, चाइनिज हुँदै मोरोङ लिपि, नवौँ सताब्दीमा सिरिजङ्गा हाङले पुनरउत्थान गरेको लिपि हुँदै किरात लिपिको विकास भयो भन्न सकिन्छ ।

(चित्र नं. ३ बेबिलोनियन र अस्सिरियन लिपिका नमुना)

ब्राम्ही लिपिबाट किरात लिपि विकास भएको कुरामा धेरै तर्क गरिरहनु परेन किन भने धेरैले यस कुरालाई अगाडि सारिरहेका छन् तर तिनको तथ्यगत तर्कहरू त्यती धेरै सुन्न र हेर्न पाइएको छैन । यो हिमवत खण्डमा ठूलो प्रभाव पार्ने लिपि ब्राम्ही लिपि भएकाले यसैको आधारमा किरात लिपि पनि यसै लिपिबाट विकास भएको भनेर सहजै अनुमान गरेका हुन सक्छन् यस खेमाका विद्वानहरूले ।

अन्तमा यो निष्कर्षमा पुग्न सकिन्छ कि किरात लिपिको विकास कहिलेबाट कसरी भयो भनी टुङ्गोमा पुग्न संसारमा पाइएका पुराना र चलिरहेका पछिल्लो कालखण्डका लिपिहरूको इतिहास खोतल्नुका साथै तिनीहरू बीचमा तुलनात्मक अध्ययन गर्नुपर्छ । किरात जातीय उद्भवको इतिहास र किरात जाति र तिनको सभ्यतामाथि प्रभाव पार्ने तत्कालीन जाति र तिनको सभ्यतालाई पनि ध्यानमा राखिनुपर्छ किरात लिपिको अध्ययन गर्नेक्रममा ।

त्येअङ्सी सिरिजङ्गाको परिचय
सिरिजङ्गा याङ्वारक थुमको सिनाम–तेल्लकको कुदिङटार (हाल कुचिङटार भनिन्छ) मा सन् १७०४ अर्थात् वि.सं. १७६१ को मङ्सिरे पूर्णिमाको दिन जन्मिएको विश्वास गरिएको छ ।जेआर सुब्बाका अनुसार (२००४ः ४) त्यअङ्सी सिरिजङ्गाको पिताको नाम इसिरिहाङ सिङथेबेआमाको नाम सिमाङ थियो । हरिचङबाङले क्याप्टेन गोपीलाल लिङ्देनलाई उदृत गर्दै त्येअङ्सी सिरिजङ्गाको बुबाको नाम पारुहाङ र आमाको नाम पुधाङ्मा (२०७१ः १) भनी उल्लेख गरेका छन् । उनको दाजुको नाम भने सिभको थियो । त्येअङ्सीका सिरिजङ्गाको सिरिझुम र सिरिगुम (साथमै सिक्किम लगेको मानिएका) दुई छोराहरू थिए ।

उनको नामसँग जोडिएर आउने उपनामहरूमा सिरिजङ्गा, सिरिजङ्गाबा, सिरिचाङ्गाबा, श्री चोम(ङ), श्री स्रिलि जाङ्गाहाङ, श्री याक्थुङहाङ, श्री स्रिजङ्गा (हज्सन सामग्री, ब्रिटिस लाइब्रेरी भोल्युम ७३, पत्र १५५–१५६, भोल्युम ८८, पत्र १, १६ आदि) र रूपीहाङ राय (ऐ. हज्सन सामग्री भोल्युम ८८) जयप्रकाश मल्ल (१७३७–१७६८) सँग जोडिएको कुरा प्राध्यापक डा. रमेश ढुङ्गेलले आफ्ना विभिन्न लेखमा उल्लेख गरेका छन् ।

किन गए त्येÞअङ्सीसिरिजङ्गा सुक्किममा ?
त्येअङ्सी सिरिजङ्गा किरात जातिको भाषा, लिपि, साहित्यका पुनरउत्थापक र प्रचारक मात्र थिएनन् । उनी किरात याक्थुङ जातिको धर्म संस्कृतिको संरक्षण र संवर्धनमा पनि उतिकै दत्त चित्त भएर लाग्ने सन्त थिए । उनी तत्कालीन लिम्बुवान देशको विभिन्न गाउँ ठाउँमा पुगेर किरात लिपिको प्राचार प्रसार, याक्थुङको धर्म संस्कृतिको प्रचार प्रसार र त्यसमा जागरण ल्याउने काममा समर्पित भएका थिए । त्येअङ्सी सिरिजङ्गाको उदय र उनले किरात याक्थुङ समाजमा जागरणका लागि गरेको कामका बारेमा किरात इतिहासकार चेम्जोङ (२०१३, २०५९ः ७) लेख्छन्— याङ्रोकवासी किराती पण्डितले आफै सिरिजङ्गाको औतारी हुँ भनी गाउँगाउँ प्रचार गर्दै सिक्किम देशका किराती गाउँहरूमा पुगे ।

त्येअङ्सी सिरिजङ्गा समग्रमा याक्थुङ लाजे लिम्बुवान देशका देशवासी जनताका भाषा, लिपि, साहित्य, धर्म, संस्कृतिको संरक्षण र विकासमा आफ्ना चेलाहरूसहित लागिरहेको समयमा तत्कालीन सुक्खिम देशका बासिन्दा याक्थुङहरूमाथि त्यहाँको सरकारले थिचोमिचो गरेको, किरात लिपिको सट्टामा तिब्बतीयन लिपिमा बौद्ध धर्म ग्रन्थ पढाएको र धर्म परिवर्तन गराइरहेको खबर थाहा पाए । यो कुरा थाहा पाएपछि उनी सुक्खिममा पुगेर याक्थुङ भाषा, लिपि, धर्म संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे ।

हुन पनि लो—मेन्—चङ सुम अर्थात् भुटिया—लाप्चा—लिम्बुको त्रिपक्षीय सन्धिबाट स्थापित भएको सुक्खिम देशकोभुटिया सरकारले लाप्चा र लिम्बु सहकर्मी जातिहरूमाथि धोका दिई बुद्ध धर्मलाई राज्य धर्मको रूपमा घोषणा गरी लिम्बु र लाप्चाहरूलाई तिब्बती लिपिमा लेखिएको बौद्ध धर्मग्रन्थ पढाउन सन् १६९७ मा साङ्गाछोलिङ गुम्बा नै स्थापनाग¥यो । भुटियाहरूलाई पढाउनका लागि पेमियोन्छी गुम्बा स्थापना गरियो । यसपछि जबरजस्त लिम्बुहरूलाई उक्त साङ्गाछोलिङ् गुम्बामा बौद्ध धर्म पढ्नै पर्ने र बौद्ध धर्म अङ्गाल्नै पर्ने बाध्यात्मक अवस्थामा पुराएको थियो । यही कुरा एक कान दुई कान हुँदै त्येअङ्सी सिरिजङ्गाको जानकारीमा पुगेको थियो । यसपछि उनी आफ्ना आठजना शिष्यहरूलाई साथमा लिएर आपदमा परेका याक्थुङहरूमा जनचेतना जगाउन सन् १७३४ मा सुक्खि प्रवेश गरे । उनी त्यहाँ पुगेपछि हिबर्मेक, मार्ताम आदि ठाउँका लिम्बु समाजमा किरात लिपिमा लेख्न पढ्न, याक्थुङ धर्म संस्कृति पालन गर्न गराउन प्रेरित गरे । यस कारणले लिम्बुहरू साङ्गाछोलिङ गुम्बामा पढ्न जान छाडे ।

त्येअङ्सी रिजङ्गा सुक्खिममा पुगेकै साल सन् १७३४ मा सुक्खिमका चौथा राजा ग्युरमेड नाम्ग्याल (सन् १७१७—१७३४) को देहवशान भयो । उनी मर्नुभन्दा एक वर्षअघि सन् १७३३ मा साङ्गाछोलिङ गुम्बाको एकजना लाप्चा भिक्षुणीबाट उनको सन्तानका रूपमा नाम्गे पिन्चो (नाम्ग्याल फुन्छोग) को जन्म भएको थियो । तत्कालीन सुक्खिम राज्यमा लोपा (भोटे), मेन्पा (लाप्ता) र चोङ् (याक्थुङ) जातिबाट एकएक जना मन्त्री हुने प्रचलन अनुसार त्यस समयमा टाम्डिङ ग्याल्पो भुटिया मन्त्री, छाङ्जत कारबाङ लाप्चा मन्त्री र तारापदेव याक्थुङ मन्त्री थिए । राजा ग्युरमेड नाम्ग्यालको मृत्यु भएपछि भुटिया मन्त्री टाम्डिङ ग्याल्पो (जसले १७३४ देखि १७३८ सम्म शासन गरे) र लाप्चा मन्त्री छाङ्जत कारबाङबीच द्वन्द्व बढ्यो । तर पछि टाम्डिङ ग्याल्पो तिब्बतमा सरण लिन गए । यही समयमा त्येअङ्सी सिरिजङ्गा र उनका शिष्यहरूले सुक्खिम मुलुकका याक्थुङ समाजमा स्वधर्म, भाषा र लिपिका बारेमा सामाजिक जागरण ल्याए ।

त्येअङ्सी सिरिजङ्गाको सहादत 
त्येअङ्सी सिरिजङ्गाले थालेको जागरण अभियानपछि साङ्गाछोलिङ् गुम्बा पढ्न जान छाडे । बौद्ध धर्म मान्न पनि छाडे । यी सारा घटनाहरू देखी राब्देन्छीका प्रशासकहरू र ठासाङ लामाहरू चिन्तित मात्र भएनन्, सिरिजङ्गासँग क्षुब्द भए । यसपछि राब्देन्छीका प्रशासकको निर्देशनमा राब्देन्छी गुम्बाका ठासाङ लामाहरूले त्येअङ्सी सिरिजङ्गा र उनका शिष्यहरूलाई दुःख दिन थाले । तर त्येअङ्सी सिरिजङ्गा लिम्बु भाषा र सिरिजङ्गा लिपिकृत साहित्यको विकास र विस्तार गर्न, युमा धर्म मुन्धुम र लिम्बु समाजमा जनचेतना ल्याउन आफ्नो जीवन उत्सर्ग गर्न (Teyongis Sirijunga was ready to sacrifice his life for development and spread of Limboo language and literature in Sirijunga script, spread of Yuma Samyo Mundhums and creating awareness amongst the Limboo community) तत्पर थिए (सुब्बा, २००४ः १३—१४) । यसर्थ उनी सुक्खिमे शासक र ठासाङ लामाहरूसँग झुकेनन् । यसैक्रममा १७४१ को एकदिन त्येअङ्सी सिरिजङ्गा र उनका शिष्यहरू सिरिजङ्गा फक्कुमा आश्रय लिएर बसिरहेका बेला ठासाङ लामाहरूले घेरी सिरिजङ्गालाई कालिज खोला र रेशीखोलाको दोभानमा रहेको मौवाको रुखमा बाँधी बिसालु गोपे बाँसको बाणले हानी हत्या गरे । उनका शिष्यहरूलाई पनि ठासाङ लामाहरूले सुक्खिमका विभिन्न ठाउँमा मारे भने कतिपय त्यहाँबाट ज्यान जोगाएर भागे ।

त्येअङ्सी सिरिजङ्गाको योगदान
कृष्णप्रकाश श्रेष्ठ लेख्छन्— किराँतहरूका माझ सिरिजङ्गा लिपिको प्रचलनको निम्ति मात्र नभई ज्ञानको प्रचारको निम्ति पनि किराँत जातिका प्रथम प्रबोधक ईश्वरभक्त सिंह थेबे (जन्मः ई.सं. १७०४) निकै प्रसिद्ध हुन पुगेका थिए । किराँतहरू उनलाई सम्मानपूर्वक देवांसी भन्दछन् र सिरिजङ्गाको अवतारको रूपमा मान्दछन् (२०५८ः ३०) ।

गोपीकृष्ण अधिकारीका मूल्याङ्कन यस प्रकार रहेको छ— वयस्क भएपछि आफूले आफैलाई सिरिजङ्गाको अवतार हुँ भनी झण्डै नौसय वर्ष अगाडिदेखि किराँती पूर्वजहरूले सुरक्षित राखेका राजा सिरिजङ्गले प्रयोगमा ल्याएका लिपि र साहित्यको खोज गरी त्यसको माध्यमबाट साहित्य रचना गरी पुनः किराँत लिम्बू समाजमा प्रचार गरे । तेअङ्सीको अद्वितीय काव्य रचना गर्ने क्षमता थियो । यिनले थुप्रै काव्य रचना गरे । ‘मुन्धुम साप्ला’ प्रमुख रहेको छ (२०५९ः ५०)।

जेआर सुब्बाका अनुसार त्येअङ्सी सिरिजङ्गा लिम्बु समाजका महान् समाज जागरणकर्ता हुन्ः (क) त्येअङ्सी सिरिजङ्गा लिम्बु भाषा र साहित्यका महान् पुनरजागरणकर्ता, (ख) युमा धर्मका महान् पुनरउत्थापक र (ग) लिम्बु संस्कृतिका महान् जागरणकर्ता (२००४ः २०)।

राष्ट्रिय विभूति त्येअङ्सी सिरिजङ्गा 
याक्थुङ समाज विकास तथासभ्यता निर्माणमा अदितीय योगदान गरेका धेरै महान् व्यक्तित्वहरूमध्ये त्येअङ्सी सिरिजङ्गा, समाजसुधारक फाल्गुनन्द र किरात इतिहासकार इमानसिंहलाई लिम्बु समाजले राष्ट्रिय बिभूतिका रूपमा मानिआएको थियो । यसै कुरालाई ध्यानमा राख्दै २०४९ मा लिम्बुवानको सुनसरी धरानमा सम्पन्न किरात याक्थुङ चुम्लुङको दोस्रो राष्ट्रिय महाधिवेशनले त्येअङ्सी सिरिजङ्गा, समाजसुधारक फाल्गुनन्द र किरात इतिहासकार इमानसिंह चेम्जोङलाईराष्ट्रिय विभूति मान्ने औपचारिक निर्णय गर्दै तिनैजना विभूतिको जन्मजयन्ती भव्यरूपमा मान्ने समेत निर्णय ग¥यो । लिम्बु समाजका यी तिनजना विभूतिहरूमध्ये समाजसुधारक फाल्गुनन्द लिङ्देनलाई नेपाल सरकारले २०६६ मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेको छ । उनी लिम्बु समाजबाट नेपाल सरकारका तर्फबाट राष्ट्रिय विभूति घोषित प्रथम विभूति हुन् पुगेका छन् ।

प्रा.डा.रमेश ढुङगेलले लन्डनको इन्डियन लाइब्रेरीमा रहेको हज्सन पेपरको अध्ययन गरेपछि त्यहाँ सङ्ग्रहित सामग्रीहरूका आधारमा त्येअङ्सी सिरिजङ्गाको अदितीय योगदान रहेको भन्दै राष्ट्रिय विभूतिका रूपमा एक अनुसन्धानात्मक लेख मार्फत् प्रस्ताव गरेका छन् । तर यसबारेमा नेपाल सरकारबाट कुने सुनुवाइ भएको पाइएको छैन ।

त्येअङ्सीको सिरिजङ्गाको स्मरणमा गरिएका कार्यहरू 
तत्कालीन लिम्बुवान देश वर्तमान नेपालको लिम्बुवानमा जन्मिए पनि आफ्नो जीवनको आहुती तत्कालीन सिक्किम राज्यमा दिएका किरात विभूति त्येअङ्सी सिरिजङ्गालाई नेपाल र सिक्किम दुवै देशमा समान श्रद्धाका साथ सम्झने, सम्मान गर्ने परम्परा रहिआएको छ । यसै क्रममा विभूति सिरिजङ्गाको नाममा नेपाल र सिक्किम भारतमा भएका कार्यहरू निम्न अनुसार रहेका छन् ।

नेपालमा भएका कार्यहरू
- वि.सं. २०४९ मा तत्कालीन श्री ५ को सरकारले राष्ट्रिय विभूति सिरिजङ्गाको चित्राङ्कित हुलाक टिकट प्रकाशित गरेको ।
- मोरङ बेलबारीमा २०३७ मा सिरिजङ्गा स्पोर्टिङ क्लबको स्थापना (हाल अस्तित्वमा नरहेको) (चङ्बाङ, २०७१ः १०८) ।
- मोरङको तत्कालीन बेलबारी— ६ हाल बेलबारी नगरपालिका—७ सैनिक बस्तीमा विभूति त्येअङ्सी सिरिजङ्गाकै नाममा सिरिजङ्गा प्राथमिक विद्यालय स्थापना । यो विद्यालय अद्यावदिक अस्तित्वमा रहेको छ ।
- मोरङ पथरी निवासी समाजसेवी किशोर नेम्बाङको अगुवाइमा पूर्ण कदको त्येअङ्सी सिरिजङ्गाको शालिक २०७२ वैशाख २६ गते स्थापना भई अनावरण भएको छ ।
- कियाचुले लिम्बू भाषा साहित्यको इतिहासको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गर्न वि.सं. २०५१ मा ‘किरात सिरिजङ्गा पुरस्कार’ स्थापना गरेको ।
- इलाम चुलाचुली हात्तीलेदा निवासी ज्ञानोदय लाओतीले आफ्नो निजी निवास परिसरमा किरात विभूति त्येअङ्सी सिरिजङ्गाको सालिक आफैले निर्माण गरी २०३९ फागुन शिवरात्रीमा स्थापना गरेको ।
- झापा जिल्ला सत्तासीधाम—८, हाल शिवसतासी नगरपालिका—९ सैनिक बस्तीमा सिरिजङ्गा प्राथमिक विद्यालय खोली सञ्चालनमा रहेको छ ।
 - झापा जिल्लाको तत्कालीन घैलाडुब्बा— १ हाल कन्काई नगरपालिका— ७ दुर्गापुरमा किरात याक्थुङ चुम्लुङ गाउँ समितिको पहलमा २०६३ मा त्येअङ्सी सिरिजङ्गाको अर्धकदको सालिक स्थापना ।
- झापा जिल्लाकै मेची नगरपालिका काँकडभिट्टामा क्याप्टेन गोपीलाल लिङ्देनको अगुवाइमा सिरिजङ्गाको अर्धकदको सालिक स्थापना ।
- कियाचुले पृथ्वीनगर झापामा त्येअङ्सी सिरिजङ्गाको अर्ध कदको सालिक २०६४ मा निर्माण ।
- कियाचु सुनसरीले धरान न.पा. तीनकुनेमा त्येअङ्सी सिरिजङ्गाको पूर्ण कदको सालिक वि.सं. २०५९ मा निर्माण ।
- पान्थर जिल्ला साराङ्डाँडा — १ स्याक्वामा सिरिजङ्गा प्राथमिक विद्यालय स्थापना भई सञ्चालन भइरहेको ।
- पूर्व मन्त्री पूर्णकुमार सेर्माको नेतृत्वमा सिरिजङ्गा ग्रामीण विकास केन्द्र पान्थर साराङ्डाँडामा स्थापना भई पहाडी क्षेत्रमा झोलुङ्गे पुल निर्माणलगायतका सामाजिक कार्य गरिआएको ।
- ताप्लेजुङ सिनाम डाँडागाउँमा सिरिजङ्गा मिङ्सो माङहिमको निर्माण ।

सिक्किम भारतमा भएका कार्यहरू
- पश्चिम सिक्किम हि–बर्मेकमा सिरिजङ्गा माङ्हिम निर्माण । सिरिजङ्गाले उपदेश दिने गरेको ढुङ्गामाथि अर्धकदको सालिक निर्माण ।
- पश्चिम सिक्किमकै मार्ताम लेक्सेप जोड्ने मार्गलाई सिक्किम सरकारबाट ‘त्येअङ्सी सिरिजङ्गा मार्ग’ नामकरण ।
- मङ्सिरे पूर्णिमा अर्थात् त्येअङ्सी सिरिजङ्गा जयन्तीको दिन सिक्किम सरकारले सरकारी बिदा घोषित गरेको छ ।
- सिक्किम कै युमाङ थेगुमा सबैभन्दा ठूलो र अग्लो (१३० फिट) सिरिजङ्गाको मूर्ति र मुन्धुम अध्ययन केन्द्रको निर्माण ।

त्येअङ्सी सिरिजङ्गा जन्मजयन्ती मनाउनुको तात्पर्य 
त्येअङ्सी सिरिजङ्गा जन्मजयन्ती मनाउनु भनेको त्येअङ्सीले बनाएको बाटोमा ठीक ढङ्गले आफू हिँड्ने र समाजलाई पनि हिँडाउने प्रतिज्ञा गर्नु र सोही बमोजिमको व्यहार प्रदर्शन गर्नु हो । कुखुरे छाती लिएर कोही पनि त्येअङ्सीका सच्चा अनुयायी हुन सक्दैनन् । उनको अनुयायी हुनका लागि सिंहको जस्तो विशाल छाती हुनुपर्छ जसले आफू मात्र होइन अरूलाई पनि सँगै लिएर हिँड्न सकोस् त्येअङ्सी सिरिजङ्गाले खनेको बाटोको विसौनीबाट नयाँ बाटो बनाउन सकोस् र उनको सपना अर्थात् उनले देखेको लक्ष्यमा पुग्न सकोस् साथमा सिङ्गो मानव समाजलाई डो¥याएर पु¥याउन सकोस् । यसका लागि याक्थुङ मुन्धुम जस्तै विश्वव्यापी रूपमा रोच्ने तर स्थानीय रूपमा काम गर्ने ९त्जष्लप नयिदबििथ, बअत यिअबििथ० क्षमता सिरिजङ्गाका अनुयायीमा हुनुपर्दछ । अहिलेको विश्वव्यापीकरणबाट आफ्नो मौलिकपन बचाएर सग्लो रूपमाशिर ठाडो राख्दै आफू, आफ्नो समाज र आउँदो सन्ततिलाई हस्तान्तरण गर्न सक्नु नै किरात विभूति त्येअङ्सी सिरिजङ्गाको सही मानेमा जन्म जयन्ती मनाउनु हो ।
किरात चाड (चासोक तङ्नाम, चासुवा, फोलस्याँदर र उधौली साकेला) ३७९४ (२०१५) ।

सन्दर्भ सामग्रीहरू
खस नेपाली खण्ड
अधिकारी, गोपीकृष्ण. (२०५८, असार). किराँत लिम्बू साहित्यको इतिहास. मधुपर्क, वर्ष ३५, अङ्क २, पूर्णाङ्क ३९७, ४९—५०.
कृष्णप्रसद पराजुली (सम्पादक). २०४०. नेपली बृहत् शब्दकोश. काठमाडौँः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान..
चेम्जोङ, इमानसिंह. (२०१३, २०५९). किरात साहित्यको इतिहास. ललितपुरः किरात याक्थुङ चुम्लुङ.
दीक्षित, मदनमणि. (२०५९, जेठ). किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुरा. मधुपर्क, वर्ष ३५, अङ्क १, पूर्णाङ्क ३९६, ८—१०.
भट्टराई, हर्षनाथ शर्मा. (२०५१, वैशाख). लिपिः मानव उद्भवदेखि वर्तमानसम्म. मधुपर्क, वर्ष २६, अङ्क १२, पूर्णङ्क २९९, ४—१२.
योञ्जन, अमृत. (२००६). तामाङ पहिचानका सन्दर्भहरू. काठमाडौँः डी. आर. पब्लिक हाउजिङ.
श्रेष्ठ, कृष्णप्रकाश. (२०५८, कात्तिक).(सम्पा. कपिल घिमिरे). किराँत जातिका किंंवदन्ती. मधुपर्क, वर्ष ३४, अङ्क ६, पूर्णाङ्क ३८६.
हुक्पा चङबाङ, हरि सेन्छेनहाङ. (२०७१). त्येअङ्सी शिरिजंगाको जीवनी एवं इतिहासको केही झलक. गोपेटार पान्थरः गजुरसिंह लिङ्देन.

अङ्ग्रेजी खण्ड
Craig, James. (n.d.). History of the Western European Alphabet.
Gelb, I.J. (1952). A Study of Writing. Phoenix Books, The University of Chicago Press.
Mahesh, R. & Sinha, K. (2009). A Journey from Indian Scripts Processing to Indian Languages Processing. IEE Annals of the History of Computing, IEEE Computer Siciety.
Oxford Advanced Learner's Dictionay. (2010). Oxford University Press, printed in India.
Subba, J. R. (2004). Mahatma Sirijunga Singthebe the great social awakner. Sikkim: Sikhim yakthung Mundhum Saplopa.
Vansitart, Eden. (1906). GURKHAS. New Delhi: Asian education services.
Websites
https://www.google.com.np/Ancient+Bbylonian+Script.
https://www.thinkingwithtype.com/misc/Judy_Ross_Alphabe