Sunday, July 5, 2020

ख्यालीको मुखापृष्ठमा पालाम र हाक्पारे प्रयोगको अवस्था र उपादेयता

ख्यालीको मुखापृष्ठमा पालाम र हाक्पारे प्रयोगको अवस्था र उपादेयता*

— प्राज्ञ अमर तुम्याहाङ

१. लेखसार 

याक्थुङ जाति आफ्नो मौलिक भाषा, संस्कृति, जीवनदर्शन, जीवन बाँच्ने पृथक पद्धति भएको जाति हो । यस जातिमा मौलिक लोक भाका र गायकी पनि युगौँदेखि प्रयोग भइआएका छन् । यिनको प्राचीनता याक्थुङहरूको शास्त्र मुन्धुम, कृषियुग, सिकारी युगआदिसँग जोडिने गरेको पाइन्छ । यस्तै धेरै लोक भाका परम्परामध्ये ख्याली, पालाम र हाक्पारेका बारेमा यस पत्रमा चर्चा गरिएको छ । ख्याली, पालाम र हाक्पारेको आफ्नै प्रकारको प्राकृतिक वृत्त रहेको छ । यहाँ यी तीन विधाको शब्दगत बनावट, तिनको अर्थ र प्रयोग हुने परिवेश, इतिहासको आँकलन, तिनको रूप, तिनको अवस्था र उपादेयताबारेमा चर्चा गरिने छ ।

२. याक्थुङ परिचय (काव्यिक कोणबाट) 

याक्थुङ युवा युवतीहरू ख्यालीमा चिनारी गर्छन्, पालामा पिरती गाँस्छन् र हाक्पारेमा भद्रता प्रदर्शन गर्छन् । तरुनीको हात समातेर धान ननाचेको तन्नेरी या तन्नेरीको हात समाएर धान ननाचेको तरुनी याक्थुङ समाजमा अकल्पनीय छ । ख्याली, पालाम, हाक्पारे कुनै बनिबनाउ गायन नभएर तत्क्षण परिवेश अनुसार प्रस्तुत गरिने भावावेगयुक्त काव्यिक परिसंवाद् या मनोद्वेगीय अभिव्यक्ति हो जसमा साम्भाङ (छन्द)को लयमा कवित्व छङ्छङिएको हुन्छ, हेÞत्लुङ वाधामजस्तै । नबास्ने भाले र नचिर्विराउने चरी नभएजस्तै मुखमुखै पालाम नरच्ने र नगाउने याक्थुङ तरुनी तन्नेरी विरलै हुन्छन् । यसर्थ सबै याक्थुङ तरुनी तन्नेरी सबै कवि कवयित्री हुन् र सबै गायक गायिका पनि हुन् । ख्याल ठट्टा, प्रेमिल अनुभूति र प्रेमाभाव सञ्चार र गम्भीर चिन्तन मननका माध्यमका रूपमा ख्याली, पालाम र हाक्पारे प्रयुक्त हुन्छन् जहाँ सृष्टिको सिर्जनशीलता र मानवीय प्रेमाभाव प्रस्फुटित हुन्छ, त्यही अपरिमित सर्जकको रूप याक्थुङहरूको परिचय हो । यो सबैले अनुभूत गरेको मात्र होइन जीवन बचाइको अभिभाज्य याक्थुङ लिम्बु परिचय पनि हो । 

यस पत्रमा याक्थुङ परिचयका अभिन्न विशेषताका रूपमा रहेका ख्याली, पालाम र हाक्पारेका बारेमा सामान्य चर्चा गरिने छ ।
Image source: Google.com

३. ख्याली 

ख्यालीको चर्चा गर्ने क्रममा ख्यालीको शब्दको बनावट वा उत्भव र यसका रूपका बारेमा चर्चा गरौँ ।

क) ख्याली शब्दको बनावट 

याक्थुङ शब्द निर्माण पद्धतिलाई विश्लेषण गरेर हेर्दा एकभन्दा बढी शब्दहरू मिलेर एकल शब्दहरूजस्तै शब्दहरू बन्ने गरेको देखिन्छ जस्तै नाःङ् केÞनेÞबा कोःक्मारेÞ कुजङ = नाःङ्जङ्, पाङ् (हिम्) फेÞसिङ्बा = पाङ्फेÞ (पाङ्फे), नाम् केÞदक्पा = नाम्दक्, माङ्ङिल्लेÞ कुदःक् = माङ्दःक्, निङ्लेÞ कुघुरी = निङ्घुरी आदि । यस्तै प्रकारले नै के? (ख्याल/ठट्टा) पाःन् पेःल्ली = क्याली  > ख्याली या खे? (आलङ्कारिक)पाःन् पेःल्ली  = ख्याली बनेको हुन सक्छ । अथवा यदृच्छित शब्द निर्माण प्रक्रियाबाट सोझै ख्याली शब्द बनेको कुरालाई पनि नकार्न सकिन्न । खस नेपालीमा खेल मूल शब्दबाट ख्याल शब्दको उत्पत्ति (पराजुली : २९७) भएको मानिए पनि लिम्बु परिवेशमा यस बारेमा फरक बुझाइ, प्रयोग र प्रयोगको परिवेश रहेको पाइन्छ, खेलबाट ख्याल हुँदै ख्याली शब्द खस नेपाली भाषाबाट याक्थुङ लिम्बु भाषामा आगन्तुक भएर आएको होइन । 

ख) ख्यालीको अर्थ र प्रयोग परिवेश

गोबिन्दबहादुर तुम्बाहाङ (२०६८ः १६३)ले अमर तुम्याहाङ र भिमा खजुम (२०६८) लाई उदृत गर्दै लेखेका छन्, “काइँला (२०५९ः १४४) ले यसलाई ‘पद्यात्मक वातचित’ भन्दछन् भने मिक्वा (२०५८ः ६७) ले यसलाई ‘चुड्के ओठे जवाफ’ भनेका छन् ।”

येहाङ लाओती (२०६२) ले भनेजस्तै ख्यालीलाई याक्थुङ भाषामा सोरेÞक अर्थात् ठट्टा मात्र भनी सीमित गर्दा धेरै साँगुरिन पुगेको प्रतीत हुन्छ । ख्याली केही हदसम्म ठट्टा गर्नका लागि पनि प्रयुक्त हुन्छ । ख्याली धान नाच्नु पूर्व तरुनी तन्नेरीबीच साइनो केलाउन, किरिया कर्मको फराक्लो सकिएपछि पाहुनाको डेरा डेरामा गएर दुःखसुखका कुरा गर्न, हल्का ख्याल ठट्टा गर्न (तुम्याहाङ, २०७०ः २८) ख्यालीको प्रयोग हुने गर्दछ । ख्याली प्रयोगका बहुआयामहरू छन् भन्ने कुरा थाम्सुहाङ यलम्बर मिक्वाको यो भनाइले पुष्टि गर्दछ— “अवसरवश जहाँ — जुन कार्यक्रममा जुन प्रसङ्ग उठ्यो यसले त्यसैलाई महत्त्व दिएर त्यसको सेरोफेरोको प्रवाहमा बग्ने गर्छ । त्यसर्थ ख्यालीबाट मुन्धुम, आख्यान, उपदेश, माया पिरती, उल्लास, हीनताबोध आदि अनेक विषयवस्तु र विविध अलङ्कार एवम् रसयुक्त आदर, सत्कारका गम्भीर र सरल अर्थात्मक विचारहरू व्यक्त गर्न सकिन्छ” (२०५८ः ६९) ।

ग) ख्यालीको इतिहास 

ख्याली कति पुरानो हो भनेर साल संवत् नै किटान गर्ने अवस्था भने छैन । यसबारेमा यलम्बर मिक्वाले ख्याली “कृषि व्यवसायको आरम्भ कालदेखि चलिआएको ताम्के (ताम्अःक्के) लोक संस्कृतिबाटै कप्सा अन्तरगत विकास भएको (२०५८ः ६७) भनी बताएका छन् । यो कृषि युगमा सुरु भएको भन्ने कुरामा दुइमत छैन् । तर ताम्के अर्थात् तामअःक्के वा मकै गोड्दा कोदालो खन्नेक्रममा गाइने गीतबाट ख्यालीको सुरुवात भयो भनी विश्वास गर्न गाह्रो छ । यसको खाटी प्रयोग यालाङसँग भएकाले यसको प्रयोग खेतको खलाबाट माक्चेÞरेÞ पु धपाउने प्रचलन जब या?लाङमा परिणत भयो तब ख्यालीको पनि आरम्भ भयो भनी विश्वास गर्न सकिन्छ । 

घ) ख्यालीका रूप

ख्यालीको रूपलाई मूलतः दुई रूपमा अभिव्यक्त गर्न सकिन्छः (अ) साम्भाङ (छन्द) का रूपमा (आ) सम्बन्ध र विषयवस्तुको सूत्राधारका रूपमा ख्याली ।
(अ) साम्भाङ (छन्द)का रूपमा ख्यालीः याक्थुङ साहित्यमा प्रयोगमा रहेका तीन प्रकारका साम्भाङ (छन्द)हरू (१) शास्त्रीय साम्भाङ (छन्द), (२) लोक साम्भाङ (छन्द) र (३) मुक्त साम्भाङ (छन्द) हुन् । ख्याली यी तीनमध्ये लोक साम्भाङ (छन्द)मा पर्दछ । यस साम्भाङ (छन्द)को प्रयोग गरेर काव्य—कविता रचना गरिन्छ । ख्याली साम्भाङ १० अक्षरले बनेको हुन्छ भने हरेक श्लोकको अघि ए... काप्फेÞक्वा आउने गर्दछ । यस साम्भाङको एउटा नमुना निम्न अनुसार रहेको छ ।


ख्याली एक प्रकारको गायकी नै हो । यसर्थ कतिपय अवस्थामा ख्याली गाउने या भन्नेहरूले यसको लयलाई आधार मानेर कही ९ अक्षरमा पनि ख्याली भनेको पाइन्छ । इना क्यासेटको प्रस्तुति रहेको इमाहाङ सेत्लिङ र मनु नेम्बाङको स्वर रहेको ख्यालीको यो नमुना हेरौँ :


यसरी कतिपय अवस्थामा लयलाई पक्डिएर ९ अक्षर वा कहिँ कतै ११/१२ अक्षरसम्मका हरफहरू प्रयोग गरिए पनि धेरै अध्येता तथा विद्वानहरूको निष्कर्षमा ख्याली १० अक्षरको हुन्छ ।

(आ) सम्बन्ध र विषयवस्तुको सूत्रधारका रूपमा ख्यालीः ख्यालीले विषवस्तुलाई आलङ्कारिकता प्रयोग गरी काव्यिक रूपमा प्रस्तुत गर्न सहयोग गर्दछ । धाननाच नाच्नुअघि याक्थुङ तरुनी र तन्नेरीबीचमा सम्बन्ध केलाउँनका लागि सोझो संवादले पनि काम नहुने त होइन तर याक्थुङ तरुनी तन्नेरीहरू आलङ्कारिक शब्दचयन गरी लयात्मक रूपमा ख्यालीको प्रयोग गर्दछन् र संवाद गर्दछन् । यसरी नै मरोमराउ परेको घरमा गरिने बर्खन्तको फराक्लोपछि सुखदुःखको आदानप्रदान या हाक्पारे गाउनु पूर्व विषय प्रवेशका क्रममा ख्यालीको प्रयोग हुने गर्दछ । यसर्थ ख्याली एउटा त्यस्तो सूत्रधार हो जसले तरुनी तन्नेरी या भद्रभलाद्मीबीच प्रस्तुत हुने विषयवस्तु प्रस्तुतिको पूर्वाधार वा विषय प्रवेशको शालीन वातावरण निर्माण गर्दछ ।

४. पाःल्लाम

पालामको शाब्दिक बनोट वा उत्भव, इतिहास र यसको रूप निम्नअनुसार भएको देखिन्छ ।

क) पाःल्लाम् शब्दको बनावट र अर्थ

पालाम् शब्दको उच्चारण फरक फरक ढङ्गले गरेको पाइन्छ । कसैले पाःल्लाम्, कसैले पालाम, कसैले पालम, कसैले पात्लाम आदि भनेको पाइन्छ । काइँला (२०६७ः २७०) ले “पाःल्लाम् १. धाननाच नाच्दा गाइने गीतविशेष, २. मायाको गीत; प्रेमगीत” भनेका छन् भने पराजुली (२०४०ः ७७०) ले “पालम लिम्बु जातिले धाननाचमा जुहारीका रूपमा गाउने गीत” भनेका छन् ।

याक्थुङ भाषामा एकभन्दा बढी शब्दहरू मिलेर शब्द निर्माण हुँदा अघिल्लो वा पहिलो शब्दको अन्तिम ध्वनिको पछाडि जोडिन आउने अर्को शब्दको पहिलो ध्वनिले आफूभन्दा अगाडिको ध्वनिलाई आफूजस्तै रूपमा बदलिदिन्छ । याक्थुङ शब्द निर्माणको यही नियम अनुसार पाःन् + लाम् शब्द जोडिँदा पहिलो शब्द पाःनकोे न् दोस्रो शब्द लामकोे  सँग जोडिएर उच्चारण हुँदा न् ध्वनि लमा परिवर्तन भई पाःन्लाम > पाःल्लाम्  हुन गएको देखिन्छ । कतिपयले पाःत्—लाम् पनि भन्ने वा लेख्ने गरेको पाइन्छ । यहाँ पाःन् भन्नाले कुरालाम् भन्नाले बाटो हो अर्थात् पाःल्लाम् शब्दलाई शाब्दिक हिसाबले हेर्दा कुरा गर्ने बाटो अर्थात् कुरा गर्ने माध्यम भनी बुझ्न सकिन्छ ।

ख) पाःल्लाम् प्रयोगको परिवेश

पाःल्लाम्को प्रयोग मूल रूपमा धाननाच नाच्दा साइनो नलाग्ने तरुनी र तन्नेरीले आफ्नो सवाल जवाफ वा संवादका क्रममा प्रयोग गर्दछन् । यसको मौलिक प्रयोगको आधारमा भन्ने हो भने यो खाँटी प्रेम गीत हो जसमा प्रेमी र प्रेमिका सात दिन सात रातसम्म अविश्रान्त समर्पित भई उभिएर धाननाच नाच्दै पाःल्लाम् भन्छन् अर्थात् गाउँछन् । सौहार्दताका लागि सुरुमा समूह पनि धाननाच्दै पाःल्लाम्् भन्ने गरिए पनि सम्पूर्णतामा यसको पराकाष्टा युगल जोडीको धाननाचमा देखिन सकिन्छ । पाःल्लाम् र धाननाच सुन्ने र हेर्नेका लागिभन्दा पनि सहभागीहरूले सम्पूर्ण रूपमा मनोरञ्जन लिने दिने गायन र नाच हो ।

ग) पाःल्लाम्को इतिहास 

पाःल्लाम् धाननाचसँग जोडिएर आउँने विशेष गीत हो । याक्थुङ जातिको विश्वास अनुसार धाननाचको उत्पत्ति कृषि युगमा भएको मानिन्छ । कृषि युगको एक कालखण्डमा अनिकालको महामारी मच्चियो । त्यस समयमा माक्चेÞरेÞ पु अर्थात् भँगेरी चरीले याक्थुङहरूलाई अनिकालबाट बचाउन धानको बीउ ल्याइदिने प्रतिज्ञा ग¥यो । तर उसले आफू र आफ्ना सन्ततिले उक्त धान खाँदा मान्छेले मार्न वा चोटपटक पुराउन नपाइने बाचाबन्धन गर्नु पर्ने कुरा उसले राख्यो अनि माक्चेÞरेÞ पु र याक्थुङ पुर्खाहरूबीच त्यही अनुसारको बाचाबन्धन भयो । सोही सम्झौता अनुसार माक्चेÞरेÞ पुले धानको बीउ ल्यायो । याक्थुङहरूले खेती गरे । धान पनि प्रसस्त फल्यो । धान पाकेपछि माक्चेÞरेÞ पु बथानका बथान आउन थाले । बाचा बन्धनअनुसार याक्थुङहरूले माक्चेÞरेÞ पुहरूलाई चोटपटक पुराउन वा मार्नु भएन । उनीहरूलाई ती चराबाट धान बचाउन हम्मे हम्मे प¥यो । एक जना याक्थुङको जुक्ति अनुसार सबै मिलेर धान खलामा जम्मा गरे र सबै मिलेर हातमा हात मिलाएर धानको थुप्रोलाई घेरेर हाऽऽऽ हाऽऽऽ भन्दै माक्चेÞरेÞ पुका बथानलाई भगाउन थाले । कालान्तरमा गएर यसरी चरा धपाएर धान बचाउने तरिका नै धाननाचको रूपमा विकास भयो । समाज विकास क्रममा पछि गएर साइनो नलाग्ने तरुनी तन्नेरीबीच धाननाच्ने चलनमा विकास भयो । अनि हाऽऽऽ हाऽऽऽ शब्द पाल्लामको पहिलो शब्द र लय बन्न पुग्यो । पछि गएर यो हाऽऽऽ हाऽऽऽ पाःल्लाम्को फुङ्फेÞक्वाको रूपमा प्रयोग हुन थाल्यो भने यसको अघि पाःल्लामको मूल भाग विकास भयो ।

घ) पाःल्लामका रूप

पाःल्लाम्को रूपलाई मूलतः दुई रूपमा अभिव्यक्त गर्न सकिन्छः (अ) साम्भाङ (छन्द) का रूपमा (आ) सम्बन्ध र विषयवस्तुको सूत्रधारका रूपमा । 

(अ) साम्भाङ (छन्द)का रूपमा पाःल्लाम्: पाःल्लाम् भन्नका लागि प्रयोग गरिने सम्भाङ (छन्द)लाई पाःल्लाम्् साम्भाङ (छन्द) भनिन्छ । पाःल्लाम्को हरेक हरफको मुख्य खण्ड नौ अक्षरले बनेको हुन्छ । पाःल्लाम् भन्दा पहिला सवाल राख्ने वा जवाफ दिने जसको पालो हो उसैले पाःल्लाम् उठाउँछ । त्यसपछि पुनः त्यसको पछिल्लो अंश आफै वा पाःल्लाम्ले सम्बोधन गरेको व्यक्तिले उठाउँछ र एक साथ हाऽऽऽ हाऽऽऽ हाऽऽऽ, हाऽऽऽ एऽऽऽ हाऽऽऽ, हाऽऽऽ हैऽऽऽ हाऽऽऽ या खोऽऽऽ खाइऽऽऽ खोऽऽऽ भनेर एउटा हरफ टुङ्ग्याउने गरिन्छ (तुम्याहाङ, २०७०ः ३०) । यसरी पाःल्लाम्को हरफको मुख्य भागपछि आउनेलाई फुङ्फेÞक्वा भनिन्छ । यसको नमुना निम्न अनुसार रहेको छ ।

सेÞन्छेÞ«ला लाग चादुमेÞल्लेÞ
चादुमेÞल्लेÞ हाऽऽऽ एऽऽऽ हाऽऽऽ
साङ्साङ्बा तेÞन्नो आदुमेÞल्लेÞ
आदुमेÞल्लेÞ हाऽऽऽ एऽऽऽ हाऽऽऽ
(तुम्बाहाङ, २०६८ः १६२)

(आ) प्रेम र ज्ञानको भूमिको रूपमा पाःल्लाम्ः पाःल्लाम् वास्तवमा मूलरूपमा प्रेमगीत नै हो । पाःल्लाम्को माध्यमबाट नै तरुनी तन्नेरी अर्थात् प्रेमी प्रेमिकाले प्रेमको प्रस्ताव राख्ने, प्रेमबारेमा संवाद गर्ने, प्रेमको महिमा गाउने, आजीवन सँगसँगै बाँच्न सँगसँगै मर्न प्रतिज्ञा गर्ने गर्दछन् । यसर्थ पाःल्लाम् प्रेम अङ्कुराउने, बढ्ने, कोपिला हाल्ने, फुल्ने र फल्ने उर्वर माध्यम भूमि हो । पाःल्लाम्मा माया पिरतीका कुरामात्र हुँदैनन् । यसमा चराचर सृष्टि र प्रकृतिका कुनै पनि विषयमा सवाल जवाफ हुने हुनाले यो याक्थुङ जीवनदर्शनका ज्ञान आर्जनको पाठशाला पनि हो भन्न सकिन्छ । 

ङ) पाःल्लामका प्रकार

पाःल्लाम् धाननाचको प्रकारका आधारमा निम्न प्रकारका हुने मानिन्छन् तर यिनको छन्दविधान कुनै फरक हुँदैन ।
(अ) सिर्धाम्बे पाःल्लाम्
(आ) केÞङ्जोली/केÞङ्जोरी पाःल्लाम्
(इ) कसरक्पा पाःल्लाम्
(ई) ताम्म्राङ्ग्या पाःल्लाम्

यीमध्ये कसरक्पा सबैभन्दा पुरानो र आधारभूत पाःल्लाम् गीत मानिन्छ भने बाँकी आञ्चलिक नाचका आधारमा राखिएका नाम हुन् ।

५. हाक्पारे

हाक्पारे शब्दको शाब्दिक बनोट वा उत्भव, इतिहास र यसको रूप निम्नअनुसार भएको पाउन सकिन्छ ।

क) हाक्पारे शब्दको बनावट र अर्थ

हाक्पारे साम्लो अर्थात् हाक्पारे गीतका बारेमा काइँला (२०६७ः ५३६) लेख्छन्, “लामो स्वर तानेर गाइने लिम्बुजातिको एक प्रकारको गीतविशेष (विशेषतः विरह र सृष्टिसित सम्वद्ध)” । यसको आधारमा हाक्पारे गीतलाई विरही भाव अभिव्यक्त गर्ने याक्थुङ विशेषता सहितको गीत भएको बुझ्न सकिन्छ । यसका साथै हाक्पारे मुन्धुम सम्प्रेसित गर्ने गीति माध्यम पनि हो भन्ने माथिको भनाइबाट स्पष्ट हुन्छ । याक्थुङ जातिको बोली र गतिमा देखिने सुस्तता वास्वविक रूपमा सुस्तता होइन, यो त सौम्यता हो जुन हाक्पारेले निर्देश गरेको हुन्छ ।
हाक्पारे शब्द कसरी उद्भव भयो भन्ने विषयमा याक्थुङ लाजे लिम्बुवानको दुई फरक फरक भूगोलमा रहेको दुईवटा आख्यानहरू निम्नअनुसार रहेका छन् ।
Image source: Google.com

आख्यान—१ः तुम्याहाङ र खजुम (२०६८) लेख्छन्ः तुङ्दुङ्गे माङ थेÞप्मा (तुङ्दुङ्गे देवताको पूजा आराधना) को आख्यान (याक्थुङ्बा, २०५८ः ८१) का साथै सोधुङहाङ (सोधुङ्गेÞन लेÞप्मुहाङ) की कान्छी छोरी इरेÞरेÞ इधुक्नामाको देहावसानपछि उनी आकुलव्याकुल भएर विलाप गरे तर प्रजाहरूले भने त्यसलाई आलङ्कारिक रूपमा हाङ पारेÞ (राजवाणी आयो) भनी राजाको लयात्मक रोदनलाई गीति लयको रूपमा अनुसरण गरे र कालान्तरमा त्यही हाङ पारेÞ शब्द अपभ्रङ्स भएर हाक्पारे भएको (आङ्बुहाङ २०५८ः ४) प्रसङ्ग हाक्पारेको उत्पत्तिसँग जोडिएर आउँछ ।

आख्यान—२ः मुन्धुमसाबा तथा साम्बा खाम्धाक रूपलाल याक्थुङ मेरिङ (२०१४) ले उल्लेख गर्नुभएको आख्यान यस प्रकार रहेको छः मानव जीवन सागरको मालिक फुङ्बोःक्को फुङ्दिवाबाको जीवनसङ्गिनी साम्केÞलो साम्लोदिवामा दोजिया भइन् र १० महिना पुग्नु चार दिनअघि एक नाबालकलाई जन्म दिइन् । न्वारान गर्ने चौथोदिनको बिहान भालेको डाकअघि चोसाप्लुङ्मा इमेःत्नामा आएर त्यो नाबालकको निधारमा उनको भाग्यजोग्य लेखिदिइन्— तिमी ९ वर्ष पुग्दा तिम्रो आधा शरीर पक्षघात हुन्छ । शिशु त देउता जस्तै हो । उसले यो कुरा थाहा पायो । उसले यो कुरा थाहा पाएपछि दुःखी भएर रातोदिन रुन थाल्यो । उसको रुवाइले गाउँ वस्ती, डाँडाकाँडा सबै गुन्जायमान भयो । त्यो बालकको रुवाइ यम्भामी पोरोक्मी लोक हुँदै तागेÞरा निङ्वाफु माङ्को आसनसम्म गुन्जिन पुग्यो । अनि तागेÞरा निङ्वाफु माङ्ले भाग्यकी देवी चोसाप्लुङ्मा इमेःत्नामालाई बोलाएर आसिगो सिया पाङ्भे? इक्सा खाम्बेःक्मेÞयो अर्थात् मत्र्य लोकमा के भयो ? एउटा नवजात शिशुले संसार थर्कमान हुने गरी रोइरहेको छ, गएर हेर्नुहोस् भनी निङ्वाफुमाले इमेःत्नामालाई भन्नुभयो । इमेःत्नामा मत्र्यलोकमा आएर हेर्दा त उनले भाग्य लेखिदिएको त्यही नवजात शिशु पो आफ्नो भाग्यका बारेमा थाहा पाएर रोइरहेको पाइन् । नवजात शिशु र सुत्केरी आमाको कुरुवा बसेका मानिसहरू र सुत्केरी आमा इमेःत्नामाको शक्तिले सबै मस्त निद्रामा परे । शिशुभने रोई नै रहेको थियो । इमेःत्नामाले त्यो बालकलाई याङ्दाङ अर्थात् कोक्रोमा हल्लाउँदै निम्न लोरी गाउँदै सुताउन थाल्नुभयोः

आलोलो आलोलो लइ ... ...
फुङ्बोना साए केवाःप्मा साए
युन्छोरेÞ चिगेÞ तान्छोरेÞ नेÞगेÞ
पाःप्मेÞन्लो माङ्ङे फिक्मेÞन्लो हाङ्ङे ।।

आलोलो आलोलो लइ ... ...
सिदिरेÞ याङ्दाङ् मादिरेÞ याङ्दाङ्
इप्सुगेÞ इमा? नेÞस्सेÞओ माङ्ङे
तान्दिगेÞन् सेÞप्माङ् लोःक्खेÞओ हाङ्ङे ।।


आलोलो आलोलो लइ ... ...
ताःन्छो ताःत्तिल्लेÞ नाम्साङ् थाङ्ङिल्लेÞ 
इप्लुङ् सोरेÞना इमालाम् सोरेÞना
केÞमिक्फुङ् फाःक्खेÞना चिदा?दा? पोरेÞना ।।

यसरी लोरी गाउँदै इमेःत्नामाले बालकलाई सुताउन थालेपछि विस्तारै त्यो बालक पनि निदायो । निदाएको शिशुको आमा र कुरुवाहरूले तन्द्रामा इमेःत्नमाको मधुरो विरह लाग्दो लोरी कता कता सुनेजसरी उनीहरूको कानमा थुरिन पुग्यो । बालक मस्त सुतिसकेपछि सबै बिउँझिए । उनीहरू बिउँझिँदा उज्यालो हुन लागिसकेको थियो । तर चोसाप्पि माङ् इमेःत्नामाको लोरी गीतले उनीहरू सबैको मन विरहले छपक्कै छोपेको थियो । यही विरहमा उनीहरूले सोधासोध गरे— आन्देÞन अङेÞक्वानु साम्लोनु हात् पारेÞ अर्थात् अघि बालकसँग गीत गाउँदै कसले कुरा ग¥यो । यही “हात् पारेÞ” शब्द कालान्तरमा अपभ्रंश भएर “हाक्पारे” भयो ।

यी दुई आक्ख्यान अनुसार हाक्पारे शब्द “हाङ् पारेÞ” र “हात् पारेÞ” शब्दहरूको संयोजन भएर बनेको हो ।

ख) हाक्पारे प्रयोगको परिवेश

तुम्याहाङ र खजुम (२०६८) अनुसार “सन्तान वरदानको आराधना, फुङ्वाचाङ्मा (तरुनी तन्नेरीको शिर उठाउने), दुलहा दुलहीप्रति आशीष प्रदान, तङ्सिङ् मुन्धुमको हरेक खण्ड–खण्डको मुन्धुम वाचनको अन्त्यको सङ्केत आदिमा हाक्पारे भाका प्रयोग गरी गाइन्छ ।” खाम्धाक (२०१४) अनुसार “(१) नवजात शिशुको न्वारान गर्दा या शिशुलाई कोक्रोमा सुताएर उपदेशात्मक लोरी गाउँदै कोक्रो हल्लाउँदा, (२) साम्सामा गर्ने फेÞदाङ्मा नहुँदा हाक्पारे गाउँदै साम्सामा गर्न र (३) विहाबारीमा फुङ्वाचाङ्मा या फूल जगाउन” हाक्पारेको प्रयोग गरिन्छ ।

ग) हाक्पारेको इतिहास 

माथि उल्लिखित हाक्पारे शब्द उत्पत्तिको दुई वटा आख्यानलाई आधार मान्ने हो भने हाक्पारेको इतिहास मुन्धुमी युगमा अर्थात् हजारौँ वर्षअघि भएको हो भनी अनुमान गर्न सकिन्छ ।

घ) हाक्पारेका रूप

हाक्पारेलाई दुई रूपमा अभिव्यक्त गर्न सकिन्छः (अ) साम्भाङ (छन्द) का रूपमा (आ) शास्त्रार्थ र आशीर्वचनका रूपमा ।

(अ) साम्भाङ (छन्द) का रूपमा हाक्पारेः हाक्पारे मौखिक गायनमात्र होइन मुन्धुम गायनको एक आदर्श भाका र छन्द पनि हो । हाक्पारे छन्दको प्रभाव याक्थुङ लाजे अर्थात् लिम्बुवान लोक र आसपासमा पनि त्यतिकै धेरै रहेको छ अर्थात् पूर्वी नेपालको धेरै पहाडी जिल्लाहरूमा हाक्पारे प्रचलित रहेको छ । यो छन्द प्रचलित हुने क्रममा यसले आफ्नो शास्त्रीय छन्दको रूपमा केही बदलाब ल्याएको पाइन्छ तर यसको लयमा भने खासै बदलाब भएको पाइँदैन, कहीँ न कहीँ हाक्पारेको विशेषता टड्कारो रूपमा पाउन सकिन्छ । याक्थुङमा चलिआएको हाक्पारे साम्भाङ्को एउटा नमुनाः


यी हाक्पारे हरफहरूको आधारमा हाक्पारेमा ए भन्ने काप्फेÞक्वा र रोरिल्लो भन्ने स्वीकृतिवाचक फुङ्फÞेक्वा आउने गर्दछ । काप्फेÞक्वा र फुङ्फेक्वा बाहेक हरफको मूल खण्ड ११ अक्षरले बनेको हुन्छ ।

यसो भए पनि सिक्किमदेखि अरूण उपत्यकासम्म प्रयोग र प्रचलनमा रहेका हाक्पारे गीतमा ९ अक्षर भएका हरफ, १० अक्षरका हरफ, ११ अक्षरका हरफ र कतिपयमा १२ अक्षरसम्मका हरफ वा सोभन्दा बढी अक्षर भएका हरफहरू पनि प्रसस्त प्रयोग भएको पाइएका छन् । तर मूलतः लयमा भने एकरूपता भएको पाइन्छ केही स्थानीय स्वादसहित । 

(आ) शास्त्रार्थ र आशीर्वचनका रूपमा हाक्पारेः हाक्पारे साम्लोमा मूलतः मुन्धुमी ज्ञानका कुराहरू सवाल जवाफको रूपमा तुम्म्याङ्हाङहरू बीचमा या साम्बा येबा÷येमाबीचमा गाइने गरिन्छ । यसर्थ हाक्पारे शास्त्रार्थको रूपमा पनि लिन सकिन्छ । यसका साथै हाक्पारे सामुइ नाःक्मा, फुङ्वा चाङ्मा र आशीर्वाद (याक्थुङ्बा, २०५८ः ८६) दिन पनि प्रयोग गरिन्छ । 

६. ख्याली, पालाम र हाक्पारेको प्रयोगको अवस्था

व्यवहारिक रूपमा याक्थुङ तरुनी तन्नेरीहरू धाननाच नाच्नुअघि साइनो लाग्छ कि लाग्दैन भनेर साइनो केलाउन ख्यालीको प्रयोग गर्ने गरेको देखिन्छ । यसका साथै ख्याल ठट्टाका लागि पनि ख्याली प्रयोग हुने गर्दछ ।
धाननाच नाच्दा नै पालामको मौलिक एवम् व्यवहारिक रूपमा प्रयोग हुने गर्दछ ।
सामुइ नाक्मा, फुङ्वा चाङ्मा, सान्त्वना दिन या आशीर्वाद दिन हाक्पारेको व्यवहारिक प्रयोग भएको पाइन्छ ।
यसका अलावा गायक गायिकाहरूले व्यवसायिक रूपमा गाएर क्यासेट, सिडीमा निकाल्ने, स्टेजमा प्रदर्शन गर्ने या छायाङ्कन गर्ने या चलचित्रहरूमा ख्याली, पालाम र हाक्पारे प्रयोग गरेको पाइन्छ ।

७. ख्याली, पालाम र हाक्पारे सङ्कटमा पर्नुका कारणहरू

पछिल्लो समयमा ख्याली, पालाम र हाक्पारे अन्य लोक भाकाहरूजस्तै सङ्कटमा परेका छन् । यी सङ्कटमा पर्नुका निम्न कारणहरू रहेका छन्ः


  • याक्थुङहरूको बस्तीमा अरू जातिको प्रवेशले भाषा, संस्कृतिमा ल्याएको अन्तरघुलनका क्रममा याक्थुङहरूले नै आफ्नो लोक संस्कृतिलाई भन्दा आगन्तुक संस्कृतिलाई प्राथमिकता दिने, अरूको अनुसरण गर्ने र आफ्नो संस्कृतिलाई बेवास्ता गर्दै छोड्दै जाने । 
  • लोक संस्कृतिको महत्त्व बुझाएर बचाउने प्रयास गर्नुको साटो अङ्ग्रेजी वा हिन्दी संस्कृतिलाई बढावा दिने राज्यको शैक्षिक एवम् सांस्कृतिक नीतिको मारमा पर्नु । 
  • आफ्नो स्वजातीय संस्कृतिप्रति मूलतः खसबाहुन संस्कृति पालन गर्नेले गर्ने गरेको खिसीट्युरीबाट बच्न आफ्नो संस्कृति छोड्नु आदि । 
  • राजनैतिक परिघटनाहरूको मारः जस्तो कि १० वर्षे जनयुद्धका कारण हाटबजार बन्द हुने, सदियौँदेखि गरिआएका आफ्नो परम्पराहरू पालन गर्न नपाउने जस्ता कारणले यस्ता लोक संस्कृति विस्थापन हुनु । 

८. ख्याली, पालाम र हाक्पारेको प्रयोगको उपादेयता

परापूर्वकालदेखि जेजसरी ख्याली, पालाम र हाक्पारे प्रयोग भइआएका थिए र प्रयोग भइआएका छन् त्यसरी नै भविष्यमा पनि प्रयोग हुनु यी तिनै विधाको सार्थकता हो जसबाट यिनको मौलिकता बचाउन सकिन्छ । यसका साथै सिर्जनात्मक हिसाबले पनि यी विधाको प्रयोग गरिनुपर्छ जस्तो कि साहित्य रचना गर्न, चलचित्रमा तिनको साहित्य, धून, गायकीको उपयोग गर्न सकिन्छ र याक्थुङ सभ्याताको विरासत नयाँ पुस्तामा सकुसल हस्तान्तरण गर्न पनि सकिन्छ ।

९. निष्कर्ष 

ख्याली, पालाम र हाक्पारे याक्थुङ जातिको धेरै मौलिक सम्पदाहरू मध्येका सम्पदा हुन् जसले याक्थुङ जातिलाई टड्कारो रूपमा चिनाउँछ । पछिल्लो समयमा आएर यो विलोपको स्थितिमा पुगेको छ । यसलाई पहिलाको जस्तै परिवेशमा बचाउन सकिने अवस्था अब हाम्रो सामु रहेन । बदलिँदो परिवशेमा कसरी यसलाई बचाउन सकिन्छ र याक्थुङ सभ्याताका अवशेष सुरक्षित गर्न सकिन्छ त्यसबारेमा विसद छलफल बहस गरी नयाँ उपायहरू खोजिनु र अबलम्बन गरिनु वाञ्छनीय हुन्छ ।

 २०१४ अगस्ट १६ दतनुसार २०७१ भदौ ३१ गते भएको किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिको दसौँ परिषद् बैठकमा प्रस्तुत ‘ख्याली– पालाम–हाक्पारे प्रयोगको अवस्था र उपादेयता’ शीर्षको कार्यपत्रको सम्पादित रूप । २०१५ मे २२–२३ दतनुसार २०७२ वैशाख ८–९ गते फक्ताङलुङ सयङले मियङलुङ, तेरथुम लिम्बुवानमा आयोजना गरेको हाक्पारे–पालाम महोत्सव, २०७२ मा पनि यो कार्यपत्र प्रस्तुत गरिएको थियो ।


सन्दर्भ सामग्रीहरू

खस नेपाली खण्ड


  • आङबुङ, गोविन्द. याक्थुङहरूमा हाक्पारे साम्लो. तान्छोप्पा. वर्ष ६, अङ्क ६, भदौ २०५८, पृ. ४.
  • काइँला, वैरागी. (२०५९). लिम्बु–नेपाली–अङ्ग्रेजी शब्दकोश. काठमाडौँः नेपाल राजकीय प्रज्ञा–प्रितिष्ठान. 
  • तुम्बाहाङ, गोबिन्दबहादुर. (२०६८ वि.सं.). लिम्बु जातिको चिनारी. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा किरात याक्थुङ चुम्लुङ. 
  • तुम्याहाङ, अमर. (२०७० वि.सं.). लिम्बु साहित्य निर्माणको इतिहास. काठमाठौँः याक्थुङ् साप्सक अकादमी र आदिवासी जनजाति उत्थान प्रतिष्ठान.
  • तुम्याहाङ, अमर र खजुम, भीमा ‘मुसुम’. लिम्बु लोकबाजा तथा लोकभाकाहरू. २०६८ मा म्युजिक नेपालले पूर्वाञ्चलमा आयोजना गरेका लोकबाजा सम्बन्धी गोष्ठीमा प्रस्तुत कार्यपत्र.
  • पराजुली, कृष्णप्रसाद. (२०४० वि.सं.). नेपाली वृहत् शब्दकोश. काठमाडौँः नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान. 
  • याक्थुङ्बा, हाङ्वासाङ. (२०५८ वि.सं.). हाक्पा¥या (८१–८६). लिम्बु छन्दहरू. पान्थरः रूपनारायण लावती.
  • लाओती, येहाङ. (२०६५). आदिवासी लिम्बु जातिको संक्षिप्त परिचय. ललितपुरः दिलबहादुर लाओती.

अङ्ग्रेजी खण्ड  

Khamdhak, Ruplal Yakthung 'Mering'. Yakthung Suwanglen Hakpare Samlo nu Mundhum (Mundhum and Hakpare Song of Limboo Ethnic). Paper prented in Seminar on Limboo Folk Literature and a Cultural Meet, on the date of 23-24 February 2014, organized by Sahitya Ckademi North-East center for Oral Literature and, Agartala and in the manabement of Namchi Government College. 

स्रोत : लाइक जर्नल, वर्ष ८, अङ्क ५, वि.सं. २०७२ माघ (जनवरी, २०१६) ।