Thursday, May 21, 2020

लिम्बु लोक बाजा तथा लोकभाकाहरू

– अमर तुम्याहाङ/भीमा खजुम 'मुसुम'  

१. विषय प्रवेश

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक (नेपालको अन्तरिम संविधान, २०६३ः २) मुलुक हो । राष्ट्रिय जनगणना २०५८ आनुसार ९२ भाषा बोल्ने १०३ जातजाति (SY Book of Nepal 2009: 25-34) बसोबास गरेबाट नेपाल मुलुक आकारमा सानो भए पनि वैविध्यताले विशाल तर एकताको भावनात्मक सुन्दर मालामा गाँसिएर हिमाल, पहाड र तराई–मधेसको भौगोलिक तरेलीमा शोभायमान छ । हरेक जातिको आआफ्नै रहनसहन, पहिरन, गहनापात, लोकविश्वास, लोकबाजा, लोकसाहित्य, लोकगीत, लोकभाका, परम्परा, संस्कृति, धर्म आदि रहेका छन् । ती जातिहरूमध्ये विभिन्न सांस्कृतिक सम्पदाले सम्पन्न लिम्बू जाति एक हो ।

लिम्बु समामा विविधअवसरमा बजाइने, गाइने, नाचिने विभिन्न प्रकारका लोकबाजा, लोकगीत र लोकभाकाका साथै लोकनृत्यले लिम्बु सामाजिक जीवन मनोरञ्जनपूर्ण बनाएको छ भने लिम्बू समाजमा विद्यमान धार्मिक, सांस्कृति तथा अनुष्ठानिक महत्व बोकेको मुन्धुमले त लिम्बू जातिको गहन दार्शनिकता अभिव्यञ्जित गरेको छ ।

यस कायपत्रमा किरात र लिम्बू जातिको सम्बन्ध, लिम्बू जाति, लिम्बू संस्कृति, लिम्बुलोक बाजा, लिम्बू लोकभाका सङ्क्षिप्त छलफल गरिनुका साथै लोकबाजा तथा भाकाहरूको सम्भावना र चुनौतिबारेमा चर्चा गरिने छ ।

२ किरात जाति

ऋगवेद, अजुर्वेद, महाभारत र प्राचीन ग्रिक इतिहास (किर्हदायी/किर्हादी) मा उल्लेख भएको किरात विश्वका प्राचीनतम जातिहरूमा एक हो (काइँला, २०६०ः १८)। गोपालराज वंशावलीअनुसार ३२ पुस्ता (गोपालराजवंशावली, पृ.३२), कर्कपेट्रिकका अनुसार २७ पुस्ता (कर्कपेट्रिक, १८११ः २५९–२६०), भेन्सिटार्ट (Vansittart, 1906: 21) र राइटका अनुसार २९ पुस्ता (वालचन्द्र शर्मा २०३३ः ६४), प्रेमबहादुर माबोहाङका अनुसार ३३ पुस्ता (सुब्बा र ढुङ्गेल, २०४७ः ४८ र ७५) किरात राजाहरूले नेपाल उपत्यकामा शासन गरेका थिए (तुम्याहाङ, २०१०ः २३१) । लिच्छविहरूबाट पराजित भएपछि किरातहरू यत्रतत्र लागे । नेपाल खाल्डोबाट विस्थापनपछि पूर्वी पहाडै पहाड लागेका किरातीहरू मध्ये लिम्बू जाति एक हो । इतिहासको पछिल्लो कालखण्डको किरात प्रदेश बारेमा नारायणप्रसाद सङ्ग्रौला डा. चैतन्य सुब्बालाई उधृत गदै लेख्छन्, ‘काठमाडौँ पूर्वमा किरातहरू बसोबास गरेको क्षेत्रलाई काठमाडौँ उपत्यका पूर्व बनेपादेखि लिखु खोलासम्मको सम्पूर्ण पहाडी क्षेत्रलाई ‘वल्लो किरात’, लिखुखोलादेखि अरुण नदीसम्मको भागलाई ‘माझ किरात’ र अरुणनदीदेखि मेची नदी एवम् सिंगिलिला पर्वतको पश्चिमी पानी ढलोसम्मको भागलाई ‘पल्लो किरात’ भनिन्छ (सङ्ग्रौला, २०६७ : ११) ।’ किरात जातिअन्र्तगत वल्लो किरातमा कोँइत या सुनुवाुर, हायु, जिरेल, सुरेल आदिको बसोबास रहेको छ भने, माझ किरातमा विभिन्न खम्बु राईहरूको बसोबास रहेको छ अनि पल्लो किरातमा भने लिम्बू र याक्खाहरूको बसोबास रहेको छ ।

३ लिम्बू जाति 

भूगोलको आधारमा अरुणपूर्व आदिमकालदेखि बसोबास गर्ने भूमिपुत्रहरू नै लिम्बू जाति हुन् । लिम्बू जातिहरूले आफूलाई याक्थुङ् र आफू बसोबास गरेको भूमिलाई याक्थुङ लाजे (याक्थुङ देश) भनेको पाइन्छ । भवानी बराल र कमल तिगेला लिम्बू जातिको उदयको बारेमा लेख्छन् – ‘...लालमोहर र लिखित कागजातहरूमा शाही राजतन्त्र र तिनका भारदारहरूले लिम्बू र राई लेख्न सुरु गरे । विस्तारै अरुणपूर्वका किरातहरूले आफू याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताउँदै राय वा राई लेख्न छोडेर सबैले लिम्बू लेख्न थाले फलस्वरुप लिम्बू जातिको रुपमा उदय भयो (बराल र तिगेला, २०६४ः २७) ।’ २०५८ को राष्ट्रिय जनगणना अनुसार लिम्बूहरूको जनसङ्ख्या ३,५९,३७९ रहेको छ भने मुलुकको समग्र जनसङ्ख्यामा यसले १.५८% ओघट्दछ । समग्र लिम्बू जनसङ्ख्याको ३,३३,६३३ अर्थात् ९३.५७% प्रतिशतले आफ्नो मातृभाषा बोल्ने तत्याङ्ख रहेको छ ।

४. लिम्बू संकृति

‘कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टि’ (नेपाली वृहत् शब्दकोश, २०६७ः १२०९) नै संस्कृति हो । यस अर्थमा संस्कृतिको अर्थ ब्यापक रहेको प्रतीत हुन्छ । ब्राउन र हुडका अनुसार संस्कृति ‘विशिष्ठ मानव समुदायमा रहेका प्रतीकहरूको प्रणाली, अर्थ र विश्वदृष्टि हो (culture refers to the systems of signs, meanings and worldviews of particular groups of human beings), (2005: 183)। यसप्रकार संस्कृति भनेको समाजमा प्रचलित प्रणाली जसबाट मानव समुदाय दिशानिर्देशित हुने विषयवस्तुहरू हुन् भन्ने बुझिन्छ । हारालम्बसले राल्फलाई उधृत गरेअनुसार ‘सामुहिक जीवन पद्दति हो जुन सामुहिक रुपमा सिकिन्छ, आदान प्रदान गरिन्छ र एकपुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिन्छ (The culture of a society is the way of life of its members; the collections of ideas and habits which they learn, share and transmit from generation to generation)' (2010: 3)। संस्कृति स्थिर होइन, स्थानान्तरणीय हुन्छ । यी भनाइबाट संस्कृति क्षेत्रगत हिसाबले व्यापक, सामुहिक, मूर्त र अमूर्त (tangible and intangible) दुवै प्रकारका हुन्छन् । लिम्बु सांस्कृतिक विषयले पनि यसबाटा पार्थक्य राख्दैन । लिम्बू जातिको कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन, खानपान, लवाइखुवाइ, जीवन पद्दति, लोक विश्वास, लोकनृत्य, लोकसाहित्य, लोकबाजा, लोकगीत आदि नै लिम्बू संस्कृति हो भनी बुझ्नु सान्दर्भिक नै हुन्छ । यसो भए पनि यस पत्रमा लिम्बू समाजमा प्रचलनमा रहेका लोकबाजा र लोकगीतहरूको बारे मात्रै सङ्क्षिप्त चर्चा गरिने प्रयास गरिनेछ ।

५. लिम्बू सामाज पाइने लोकबाजाहरू

लिम्बु समाजमा पाइने लोकबाजाहरूमा च्याब्रुङ्, बिनायो, मुर्चुङ्गा, नगरा, थाल, बाँसुरी, मुरली, पातबाजा, झ्याम्टा, एकतारे, घन्टी, घँगला आदि हुन् (वैरागी, २०६०ः १४) । येहाङ लाओतीका अनुसार लिम्बू बाजाहरूमा के÷च्याब्रुङ, चेत्थ्या (थाल), कोम (बिनायो), मुफ्रो (मुरली), मेःप्प्राङ (बासुरी) र यलम्बर मुङ्ला (यलम्बर बाजा) आदि हुन् (२०६२ ः९०)। यस प्रकार लिम्बू लोक बाजाहरूमा च्याब्रुङ (के), ताङ्के या नेग्रा (नगरा), चेत्थ्या (थाल), पङ्गे, ताः, तुङ्गे, किङ्ना, कोम (बिनायो र मुर्चुङ्गा), मुफ्रो (मुरली), मेफ्राङ् (बासुरी), फेदुङ्ना (यलम्बर बाजा), तेत्लाभेक्वा, आदि रहेको पाइन्छ । यी बाजाको छोटो जानकारी निम्न अनुसार प्रस्तुत गरिएको छ । 

५.१ च्याब्रुङ (के)

‘के’को शाब्दिक अर्थ बाघ हो । आख्यानको आधारमा हङसिङ (खमारी रुख) को गिँडको बीच भाग खोली दुवैतिर बाघको छालाले मोरेर बनाइने एक प्रकारको बाजा हो । यसको आवाज सुरिलो बनाउनका लागि च्याब्रुङ काठको बीचमा सानो प्वाल पारी बेत या मलिबाँस खिपेको सानो सुइरो (पछिल्लो समयमा फलामको तार) घुसारेर त्यसको टुप्पामा पाङ्ग्रो अडाइएको हुन्छ जसलाई ‘लाइक्पा’ भनिन्छ । च्याब्रुङको एकापट्टि पञ्जाखोली हातले र अर्कोतिर पङ्गे (मसिना चाँप आकारको घन्टी भुन्डाइएको) काठको टुक्रा या गजोले बजाइने भएकाले च्याब्रुङ भित्रको राखिएको पाङ्ग्रोले पञ्चाले बजाउने पट्टि छुवाएर राखिन्छ र त्यसले आवाजमा परिर्वतन् ल्याउँछ । ‘के’लाई यसबाट निस्किने आवाजको अनुकरणत्मक शब्द ‘च्याङ्’ र ‘भुङ या भ्रुङ’ को संयोजनबाट च्याब्रुङ पनि भनिन्छ ।
Image source: google.com

मुन्धुम अनुसार तिगेन्जोङ्नाका छोराहरू नाम्सामी (मानव) केसामी (बाघ) बीच भएको युद्ध र केसामीको पराजय तथा मृत्युपछि उसको छालाबाट च्याब्रुङ बनाइएको आख्यान मुन्धुममा पाइन्छ । अर्को मुन्धुमी कथाअनुसार सोधुङ्गेन लेप्मुहाङका छोरा पाजाइबाले प्रथम घर बनाएपछि घुन लागी भत्कन थाल्यो र त्यो समस्या समाधानका लागि च्याब्रुङ बनाइएको (हाङ्वासाङ याक्थुम्बा, २०५८) हो । च्याब्रुङ्को उत्पत्ति ‘केदेम’ थरी लिम्बू जातिको उत्पत्तिसँग पनि जोडिएको पाइन्छ (पूर्ववत) ।

च्याब्रुङ धार्मिक कार्य जस्तै येबा–येमा, साम्बाको गुरुपूजा या याग्राङ्सिङ गाडेर गरिने अनुष्ठानहरूमा च्याब्रुङ याग्राङसिङमा अनिवार्य झन्ड्याई सुरुमा बजाउने गरिन्छ । कार्यहरू जस्तै घरपैँचो, विबाह, स्वागत्सत्कार आदिमा मात्र हुनेगर्दछ । च्याब्रुङ महिला र पुरुष दुवैले नाच्ने गर्दछन् ।

५.२ ताङ्के या नेग्रा (नगरा)

यो ‘ताङ्के’ (नगरा) तामाको भाँडामा गोरुको छालाको बनाइन्छ । नगरा तुङ्दुङ्गे साम्माङ (लिम्बु कुलदेवतामध्ये एक देवता) गर्दा बजाइन्छ । यसलाई अवस्था अनुसार एउटा गजो वा दुइटा गजोले बजाउने गरिन्छ । येहाङ लाओतीका अनुसार यो बाजा पहिलेपहिले ‘युद्ध घोषणा गर्दा र युद्ध समाप्त भएको घोषणा गर्दा सङ्केतस्वरुप बजाइने गरिन्थ्यो ।’ उहाँ उल्लेख गर्नुहुन्छ – यो पूर्णतः राजकीय बाजा हु“दा सेन राजा, शाह राजा र सिक्किमका भोटे राजाले पनि यो नगरा ‘राख्नु र बजाउनु’ भनी नेपाल र सिक्किमका लिम्बूहरूलाई पटकपटक लालमोहर र रूक्का गरिदिए (२०५८ः ९१–९२)। बिबि मुरिङ्ला (कुराकानी, २७ अक्टोबर २०११) को भनाइ अनुसार ‘दिमतेन तेसहाङ’ भन्ने लिम्बु अगुवाले सन् १८६० मा मनोरञ्जनात्मक नगरा बजाइको थप विकास गरेका थिए र त्यसलाई उनकै नामबाट ‘दिमतेन् तेसहाङ’ तालको नामले चिनिन्छ । लिम्बु समुदायमा धार्मिक कार्य, माङ्हिम (मन्दिर) को पूजापाटमा, विवाह (मूलतः सिक्किम)मा र मृत्युमा पनि नगरा बजाइन्छ । तर शुभ काम र अशुभ काममा बजाइने नगरको तालमा फरक पर्दछ ।

५.३ चेत्थ्या (थाल)

यो कुनै विशेष प्रकारको बाजा होइन । तर पनि लिम्बू समुदायका पुरोहितहरूमध्येका येबा (पुरुष बिजुवा)–येमा (महिला बिजुवा), साम्बा आदिले अनुष्ठान गर्दा बजाउनका लागि पातलो एक प्रकारको काँशको थाल प्रयोग गर्दछन् । काँशको थालको बीटमा सानो प्वाल पारी त्यसमा धागोले उनेर बाँधी त्यो धागो मूलतः चोरी औलामा सिउरिएर थालको अग्रभाग हत्केलामा पर्ने गरी झुन्डाइ बजाउने गरिन्छ । थाल बजाउनको लागि चारपाटे सानो काठको गजो बनाइ त्यसको टुप्पामा रङ्गी विरङ्गी धाजोको फुर्का झुन्डाइएको हुन्छ । यसको प्रयोगको आरम्भ येबा–येमा वा साम्बाको उत्पत्तिसँगै भएको मानिन्छ । तन्त्रमन्त्र गर्दा प्रयोग हुने बाजा हो तथापि आजकल कतिपयअवस्थामा गीत गाउँदा पनि सहायक बाजाको रुपमा प्रयोग गरिएको पाइन्छ ।

५.४ पङ्गे (घन्टी)

पङ्गेको सम्बन्ध पनि येबा–येमासँग नै रहेको छ । येबा–येमाले मालाको रुपमा यो पङ्गे लगाउने गर्दछन् । यी पङ्गेहरूको मूल पङ्गे भने येबा–येमा अन्तिम् तिम्सिङ्मा (येबा–येमा या साम्बा निस्किएको अन्तिम घोषणा समारोह) कार्यक्रममा गुरुले पारोबाट झारेर दिएको पङ्गे हुने विश्वास गरिन्छ । पूजापाठ गर्दा अनि गीत गाउँदा पनि सहायक बाजाको रुपमा पङ्गेको झुप्पा बजाउने गरिन्छ । पङ्गे मूलतः भित्री खोक्रो भएको गोलाकार स्वर्ण रङ्गको धातुभित्र आवाज निकाल्ने गोलो वस्तु राखिएको बनावटको हुन्छ । पङ्गेका श्रेणीहरू भिवन्न छन्ः करङ पःङ्गे, सिरिपःङ्गे, सिरिङ्पःङ्गे, घङ्घङ्ला पङ्गे (ठूलो आवाज दिने आकारमा पनि ठूलो घन्टी) आदि ।

५.५ ताः

ताः भनेको झ्याम्टा या झ्याली हो । ताःलाई लिम्बूहरूले यसबाट निस्कने आवाजको अनुकरणबाट ‘छेरेङमुक्’ र ‘साप्फङ्गा’ भनेर पनि नाम राखेको पाइन्छ । यो बाजा युमामाङको बाजाको रुपमा विश्वास गरिन्छ । ‘ताः’ च्याब्रुङ् नाच, हाङ्साम्लाःङ् र ‘माङ्लाःङ्’मा च्याब्रुङ अथवा ताङ्के (नगरा) का साथमा बजाएको पाइन्छ भने माङहिम्मा पूजा गर्दा पनि यसको प्रयोगमा भएको पाइन्छ ।

५.६ तुङ्गे

यो बाजा एकतारेजस्तै तर सानो आकारको हुन्छ । यो बाजा पनि युमासामको बाजाको रुपमा विश्वास गरिन्छ । यसको प्रयोग सत्यहाङ्मा पन्थीले बढी प्रयोग गरेको पाइन्छ । भजन गीतहरूमा यसको धून या सङ्गीत प्रयोग भएका छन् ।

५.७ किङ्ना

किङ्ना एक प्रकारको घन्टी नै भने पनि हुन्छ । यसको नामाकरण आवाजको आधारमा भएको देखिन्छ । यो फलम, काँश वा तामाको पातालाई गोलो आकार दिएर कुनै एक छेउमा प्वाल पारी झुन्डाएर गजोले बजाउने गरिन्छ । यो मूलतः सन्देश प्रवाह गर्न प्रयोग गरिने गरिन्थ्यो भन्ने भनाइ छ भने व्यवहारमा नगरासँग तालमा ताल मिलाएर बजाउने गरिन्छ । हाल आएर यसको बढी प्रयोग सिक्किमको लिम्बु समुदायमा रहेको पाइन्छ । शुभकार्य वा दुःखान्त दुवै अवस्थामा यसको प्रयोग भएको पाइन्छ तर बजाउने तरिकामा भने फरक हुने गर्दछ ।

५.८ कोम (बिनायो)

कोम अर्थात् विनायो लिम्बु जातिमा मालिङ्गोबाट बनाउने चलन रहेको छ । त्यसैले मालिङ्गोबाट बनेको कोमलाइ बिनायोको रुपमा फलामबाट बनेको कोमलाई भने लिम्बुहरूले मुर्चुङ्गाको रुपमा लिने गरेको पाइन्छ । पहिला पहिलाका तरुनी तन्नेरीले फुर्केदार डोरीको सहायताले तुनामा बाँधरे विनायो झुन्डाएर राख्ने गर्दथे । यसको बनावट र प्रयोगको बारेमा येहाङ् लाओती यसप्रकार उल्लेख गर्दछन् – भाटा (मालिङ्गोको फब्लेटो) को बीच भागलाई विशेष किसिमले खोपेर निकाली फेदपट्टि हातले समाउने र चुल्ठोमा बाँधिएको धागोलाई तान्दै दुई ओठबीचमा राखी ओठ र जिभ्रोको चालले विभिन्न आवाज निकाल्दै बजाइने किरात क्षेत्रमा प्रसिद्धि पाएको एक प्रकारको मुख बाजा हो । 

५.९ मुःप्फ्रो र मेःप्फ्राङ्

लिम्बू समाजमा मुःप्फ्रो (मुरली) र मेःप्फ्रा (बासुरी) निकै चलनमा रहेको बाजा हो । यी बाजाहरू विशेष युवा पुस्तका केटाहरूले आफू चाहेअनुसारको मुरली र बासुरी मूलतः गोपे बाँसबाट बनाएर बजाउने गर्दछन् । पाँचवटा मुरलीहरू लाइनै जोडेर बजाइने ‘काम्मुःप्फ्रो’ बाजा पनि लिम्बु समाज रहेको छ ।

५.१० फेदुङ्ना

लिम्बु सामाजमा प्रयोगमा रहेको अर्को बाजाको नाम हो ‘फेदुङ्ना’ । विशेष गरी हिउँदको समयमा भालुबाँसको लामो आँख्ला दुबैतिर आँखा पर्ने गरी काटेर दुई आँखाबीच तासेर बीचमा पर्ने गरी आयातकार प्वाल पारिन्छ भने तासेको दुई किनाराबाट दुइटा सानासाना केस्रा उठाई दुईतिर फेसाले उठाएर तान्काइन्छ । त्यसपछि बाँसको चोइटो राम्ररी खिपेर आयातकार प्वालको ठीक माथि क्रस हुने गरी राखिन्छ र बजाइन्छ । आवश्यकता फेदुङ्नामा रङ्ग या झिर आदिले रेखा कोरेर बुट्टेदार बनाई सजाइन्छ पनि । यसै बाजालाई यलम्बर बाजा पनि भनेको पाइन्छ ।

५.११ फेक्वामुङ (पातबाजा)

रुखपात पाउलो फेरेको बेलामा पाउलो पात बजाई विभिन्न आवाज निकालिन्छ । त्यसैलाई लिम्बु समाजमा फेक्वामुङ भनिन्छ । यसका साथै गहुँको डाँठबाट मुरलीजस्तै पिपिरि आवाज निकालिने गरिन्छ ।

६. लिम्बू समाजमा प्रचलित भाका तथा गीतहरू 

लिम्बू जाति प्रकृति पुजक हुन् । ‘विश्व व्रहमाण्ड तथा जलचर÷थलचर, किटपतङ्ग, चराचर सम्पूर्ण तागेरानिङ्वाफुमाङकै सृष्टि भएको र उन्नति÷अवनति गर्ने पनि तागेरानिङ्वाफुमाङ नै भएको हुँदा किरात – लिम्बू जातिहरूले तागेरानिङ्वाफुमाङ्को नाममा प्रकृतिलाई पुज्दै÷मान्दै आएका हुन् । लिम्बु जातिको जीवन सार मुन्धुम हो (लक्ष्मी सेर्माद्वारा तेजबहादुर मेन्याङ्बोलाई उधृत २०५८ः १)।’ यसको मतलब लिम्बू नाति प्रकृतिपुजक हुँदाहुँदै पनि उनीहरूसँग मुन्धुम शास्त्र पनि छ । मुन्धुममा उल्लेख भए अनुसार लिम्बू समाजमा गीत गाउने परम्पराको थालनी गर्ने आदिपुरुष सामकेलो–केलो केवाफुङवालाई मान्ने गरिन्छ ।

लिम्बू समाजमा प्रकृतिपुजनका तौरतरिका, भाखा, लय, मुन्धुम वाचनको छन्द र भाका पनि रहेकै हुन्छ । जनकलाल शर्माका अनुसार लिम्बूहरू ‘धार्मिक र तान्त्रिक कृत्यमा विश्वास राख्दछन् । जन्मदेखि मृत्युसम्मका धार्मिक कृत्य गराउने पुरोहितलाई उनीहरू ‘फेदाङ्मा’ भन्दछन् । ... फेदाङ्मा बाहेक ‘साम्बा’ ‘माङ्बा’ ‘येबा’ र ‘येमा’ पनि लिम्बू समुदायहरूको आफ्नै समुदायमा पुरोहित हुन्छन् जसले धार्मिक कृत्यबाहेकका तान्त्रिक कृत्य गराउँछन् । ... लिम्बूहरूका अरु देव, देवी, हंस, आत्मा र पुरोहितका सृष्टि कर्ता पनि ‘तागेरानिङ्वाफुमा’ नै मानिन्छन् (२०५८ः २७३)।’ यस्ता धार्मिक तथा तान्त्रिक कृत्य सम्पादन गर्ने क्रममा पुरोहितहरू विभिन्न भाकाहरू प्रयोग गर्दछन् । यस अर्थमा ती उल्लेखिन पुरोहितहरू पनि लिम्बू समाजमा रहेका भाखाहरूका प्रवर्तक हुन् । यसका साथै लिम्बू जाति ‘कृषिमा आधारित जीवनशैली अपनाउने जाति’ (अर्जुन लिम्बू र अन्य, २०५९ः १५) हो । यसर्थ कृषिजन्य मनोरञ्जनात्मक ङविभिन्न पर्व, उत्सवहरूका क्रममा हुने गायनमा पनि भाखाहरू आउने नै भए । लिम्बु समाजमा प्रचलनमा रहेका विभिन्न परिवेश र अवस्थामा प्रयोगमा आउने भाकाहरूमा माङ्घ, मुन्धुम्, तुवा, खाहुन्, नुवाप्मा, पालाम, ख्याली, हाक्पारे, पाङ्साम्लो, केसाम्, लालिङगे÷नामलिङ्गे, हामलाक्वा रहेका छन् । उल्लेखित भाखाहरूको प्रयोगात्मक विशेषताको आधारमा शास्त्रीय भाखा, लोक भाका, पर्वविशेषको भाका, वियोगान्त भाकाको रुपमा विभाजन गरी हेर्न सकिन्छ ।

६.१ शास्त्रीय भाका

शास्त्रीय भाका अन्तर्गत माङ्घ, मुन्धुम, तुवा, खाहुन आदि पर्दछन् ।

६.१.१ माङ्घ भाका

माङ्घ भन्नाले लिम्बू जातिले घरभित्र पुज्ने १५ वटा र घरबाहिर पुज्ने ३९ वटा विभिन्न माङ साम्माङ या देवीदेवता (काइँला, २०११ः १२) लाई पूजापाठ, सेवा अर्चना गर्नका लागि प्रयोग हुने लय वा भाका हो । यस्तो भाका देवताअनुसार फरकफरक हुन्छन् । यसरी नै सेवा अर्चनाको उठान, मध्य र वैठानमा लय या भाकाहरू पनि फरकफरक हुन्छन् । तर पनि यसको छन्दमा सामान्यतय फरक पर्दैन । माङ्घ छन्दको हरेक हरपमा ४ मात्राका हुन्छन् । जस्तै युमामाङ (बुढीबोज्यू) को आराधना गर्दा प्रयोग हुने भाकाको छन्दको नमुना ः
...सिजोराग
केÞइङ्मे सान्
पेलि थाङाङ्
पाःन्जाङ् थाङाङ् ...।। (अकिञ्चन, तिम्रो दूत, विन्ति विन्ति गर्न आएँ ।)

६.१.२ मुन्धुम भाका

Image source: google.com
मुन्धुम भनेको श्रुति परम्परामा आधारित धर्म शास्त्र हो । यहाँ मुन्धुम भाकाको प्रसङ्ग त्यही शास्त्र वाचन गर्दा प्रयोग हुने लय वा भाकासँग सम्बन्धित छ । थाम्सुहाङ पुष्प सुब्बा लेख्छन् – मुन्धुमको अनुप्रासयुक्त वाचन, लय आदिले गर्दा मुन्धुमले छन्दोवद्ध रुपमा लिम्बू लोक वाङमयको नेतृत्व गर्दै ल्याएको छ (२०५८ः २५)। मुन्धुम र यसको वाचन भाकाको प्रवर्तन मानवजातिको उत्पत्तिपछि बढ्दै गएको असभ्यता र पशुत्वपनलाई निराकरण गर्न येहाङले थुङसाप (वाच्यशास्त्र) र पेसाप मुन्धुम (लेख्य शास्त्र) प्रवर्तन गरेसँगै भएको विश्वास गरिन्छ । तीनराते देखि सात रातेसम्मको तङ्सिङ (अनुष्ठान) गर्दा निरन्तर मुन्धुम वाचन गरिने लय या भाकाको छन्द ५ अक्षरको हुने गर्दछ । सृष्टिसम्बन्धी मुन्धुममा आउने प्रसङ्ग यहाँ मुन्धुम भाखाको छन्द नमुनाको रुपमा प्रस्तुत छः 
...ताङ्साङ्ङाङ् होःप्तेÞ
इक्साआङ् होःप्तेÞ 
मुहङ्लिङ् नेÞस्सेÞ
खेÞहङ्लिङ् नेÞस्सेÞ ...।। 
(...आकास थिएन, धरती थिएन, तल शून्य थियो, माथि पनि शून्य थियो ।)

६.१.३ तुवा भाका

तुवा भनेको प्रार्थना हो । लिम्बू समाजमा तुवाको आरम्भ मुन्धुमको प्रथम मन्त्रद्रष्टा महात्मा येहाङको पालामा तागेरानिङ्वाफुमा माङको प्रार्थना गरेपछि सुरु गरेको विश्वास गरिन्छ । यसलाई निरन्तरता दिने महापुरुषहरूमा सोधुङ्गेन लेःप्मुहाङ, कान्देन्हाङ, माबोहाङ, सिरिजङ्गाहाङ, योङजङ्गाहाङ, त्यअङ्सी सिरिजङ्गा, फाल्गुनन्द आदिलाई लिने गरिन्छ । तुवा भाका १०÷१० मात्राको ३ हरप र ५ मात्राको १ हरप हुने गर्दछ । नमुनाको रुपमा येहाङको तुवा मानिएको यहा नमुनाका लागि प्रस्तुत छः
ओ ... सेसे माङ् साङ्साङ् माङ् तागेÞरा माङ् 
हिङ्सिगत् केजोःक्मा निङ्वाफु माङ् 
सिवादाङ्मा सिक्कुम् निङ्वा माङ्ङे
निङ्वा आबिरो ।।  
(सर्व पवित्र भगवान्, सृष्टिकर्ता तथा संहारक निङ्वाफुमाङ् सद्बुद्धि देऊ)।

६.१.४ खाहुन भाका

महात्मा येहाङ, लेप्मुहाङ, कान्देन्हाङ, माबोहाङ आदिले आफ्ना शिष्य र सकल मनुष्यहरूलाई उपदेश दिनेगर्दथे । त्यसरी उपदेश दिँदा सबैले ७ वर्णमात्रिक सूत्रमा आबद्ध भाकामा दिने गरिको पाइन्छ । यस प्रकारको अर्ती तथा दिव्योपदेशलाई नै यहाँ खाहुन भनिएको हो । येहाङ खाहुनको रुपमा विश्वास गरिएको खाहुन भाकाको वणमात्रिक छन्द नमुनाको रुपमा प्रस्तुत छः
खुःम्मा नाप्मा मेÞनु?नेÞन्
खेमा नाःप्मा मेÞनु?नेÞन् ।।
इल्लेÞक् चोःक्मा मेÞनु?नेÞन् 
आङ्दिङ् ल?मा मेÞनु?नेÞन् ।। 
(चोर्नु खोस्नु हुँदैन, बाझ्नु झुज्नु हुँदैन, मिथ्या बोल्नु हुँदैन, अहम गर्नु सुहाउँदैन ।)

६.२ लोकभाका

लोक भाकाहरूमा नुवाःप्मा, पालाम, ख्याली, हाक्पारे, सेसाम, पाङ्साम्लो आदिलाई राख्न सकिन्छ । यिनीहरूको बारेमा सङ्क्षिप्त विवरण निम्नअनुसार छन्ः

६.२.१ नुवाःप्मा भाका

नुवाःप्मा लिम्बु समाजमा शिशुलाई आमाले काखमा लिएर वा कोक्रोमा सुताएर नानीको निद्रा आओस् भनेर लिम्बू भाषामा गाइने लोरी गीत हो । यसको आफ्नै प्रकारको भाका हुन्छ । नुवाःप्मा लोक अर्थात् सर्वसाधारणले अधिक व्यवहार गर्ने भए पनि लिम्बु समाजमा यसको शास्त्रीय रुप पनि चिरस्थापित रहेको छ । साप्पोक् चोमेन् (कोक पूजा) र ससिक मुन्धुम (मोच मार्ने मुन्धुम) मा यसको प्रयोग हुने गर्दछ । नुवाःप्मा भाका ६ अक्षर वा वर्णमात्रिक सूत्रमा बाँधिएको हुन्छ । यसको नमुनाः
आओ मामु आओ
सुसु मिक्यु नाओ
नुनु लाजा मिक्को  
लाबा खेसे थारो ।। 
(आओ नानी आओ, निद चढ्यो मुहारमा, निदरी यो आँखामा, ताराजून साथमा ।)

६.२.२ पालाम भाका

Image source:google.com

युवायुवीहरू धाननाच नाच्दा गाउँने गीतलाई पालाम भनिन्छ र सो गीत गाउँदा गाइने पालामको भाकालाई भालामको भाका भनिन्छ । लिम्बू लोकगीत परम्परामा सबैभन्दै धेरै भाका भएको गीत पालाम नै हो । पालाम गीति भाकासँग सम्बन्ध राख्ने धाननाचको उत्पत्ति कृषि युगमा भएको विषण अनिकालका कारण धानको विउ सखाप भएपछि माक्चेरेपु (भँगेरी चरी) र अनिकाल पीडित मानवबीच भएको बाचा (पाकेको अन्नबाली भँगेराका भावी सन्तानले खाएमा मानिसबाट लखेट्न, मार्न नपाइने) पछि सुरुभएको मानिन्छ । भँगेरा अधिकमात्रामा बढेपछि भँगेराबाट मानिसहरूले या? (धान) को रक्षा गर्न धान बीचमा थुपारी वरिपरिबाट पङ्क्तिवद्ध भई माड्दै हाऽऽ हाऽऽ भनी भँगेरा धपाउने विधि कालान्तरमा धाननाचमा परिणत भएको लोकोक्ति रहेको छ । भँगेराबाट धानको बचाउको लागि सुरुभएको यो नाच र गायन हाल आएर प्रेमी प्रेमिकाबीचको पे्रमिल संवादको रुपमा विकास भएको छ । साइनो नलाग्ने युवायुवतीबीच मात्रै पालाम्को विभिन्न भाकामा धाननाच नाच्ने चलन छ । पालाम् भाकाको छन्दात्मक सूत्र प्रत्येक श्लोकमा ९ वर्ण वा अक्षरमा बाँधिएको हुन्छ । उदाहरणार्थः
सेÞन्छे्रÞङ्लालाग चादुमेÞल्लेÞ 
साङ्साङ्बा तेÞन्नो आदुमेÞल्लेÞ
तुम्मुइ इबिप्पा हेÞना रो
हुक्सोगेÞन्चिभाक्काङ सेÞवा रो ।। 
(मङ्सिरै महिना सहकाल, पवित्र थलमा भेटघाट, मिलनको खुशी अवसर, करकमल जोडी नमस्कार ।)

६.२.३ ख्याली भाका

ए– फक्ताङ्लुङ् पयम् फयेÞम्बा हाङ्से
सेसेलुङ् चम्जम् चङ्धोबा फुङ्से ।।१।। 
(उतुङ् कुम्भकर्ण हिमालझैँ गोरा हजुरहरू, कञ्चनजङ्घा माथिका पवित्र फूलहरू ।।)
यी लोक प्रचिलत ख्यालिका पङ्तिहरू लिम्बू जातिमा पाहुनालाई भोजन गराउँदा गरिने हेना (सत्कार) मा भनिने ख्यालिको क्रममा सम्भोधन गरिने श्लोकको नमुना हो । ख्यालि पद्यात्मक वातचित (काइँला, २०५९ः ११४) अथवा चुड्के ओठे जवाफ (मिक्वा, २०५८ः ६७) हो ।। धाननाच नाच्नुभन्दा पहिला तरुनी तन्नेरीहरूले एकआपसमा साइनो लाग्छ लाग्दैन भनेर सम्बन्ध केलाउँदा पनि ख्याली कै प्रयोग हुन्छ । ख्यालीको सन्दर्भ र विषयवस्तुका बारेमा थाम्सुहाङ पुष्प यसप्रकार उल्लेख गर्दछन्– ‘अवसरवस जहाँ जुन कार्यक्रममा जुन प्रसङ्ग उठ्यो यसले त्यसैलाई महत्व दिएर त्यसैको सेरोफेरोको प्रवाहमा बग्ने गर्छ । त्यसर्थ ख्यालीबाट मुन्धुम, आख्यान, उपदेश, माया पीरति, उल्लास, हीनताबोध आदि अनेक विषय वस्तुहरू र विविध अङ्कार एवम् रसयुक्ता आदर, सत्कारका गम्भीर र सरल अर्थात्मक विचारहरू व्याक्त गर्न सकिन्छ (थाम्सुहाङ, पूर्ववत्)।’ क्यालि भाकाको छन्द विधान १० अक्षरमा बाँधिएको हुन्छ ।


हाक्पारे भाका
ओऽऽ रिल्लो
एऽऽ तुत्तुगेÞन्गर ए तुम्म्याङ्हाङ् सासे !
एऽऽ याक्लागेÞन्गर ए सुहाङ्मा सासे !
एऽऽ उन्छोःन्ग उःन्छोःन् ए उनाबा उन्छोःन् 
एऽऽ मुरेÞङ्मु नेÞस्सेÞ खेÞरेÞलक् नÞेस्सेÞमु 
ओऽऽ रिल्लो

भावार्थ
ओऽऽ रिल्लो
एऽऽ आदरणीय भद्र भलाद्मीहरू हो !
एऽऽ आदरणीय महामान्वरहरू हो !
एऽऽ उहिलेमा उहिले धेरै नै पहिले
एऽऽ केवल सुनसान मात्र थियो रे । 
ओऽऽ रिल्लो

यहाँ आएको ‘एऽऽ’ बाट सुरु भएका पङ्क्तिहरू हाक्पारेको सहभागी पक्ष (पक्ष क वा ख) को मुख्य व्यक्तिले भन्ने गर्दछ भने ‘ओरिलो’ सामुहिक रुपमा भनिन्छ । काक्पारे गीत दुईपक्षबीच लामो स्वर तानेर गाइने पिशेषतः विरह वा सृष्टिसित सम्बद्ध गीत हो ।  दुईपक्ष पुरुष–पुरुष, महिला–महिला या महिला–पुरुष हुन सक्छन् । तुङ्दुङ्गे माङ थेप्मा (तुङ्दुङ्गे देवाताको आराधना) को आख्यान (याक्थुङ्बा, २०५८ः ८१) का साथै सोधुङहाङ (सोधुङ्गेन लेप्मुहाङ) की कान्छी छोरी इरेरे इधुक्नामाको देहावसानपछि उनी आकुलव्याकुल भएर विलाप गरे तर प्रजाहरूले भने त्यसलाई आलङ्कारिक रुपमा हाङ  पारे (राजा वाणी आयो) भनी राजाको लयात्मक रोदनलाई गीति लयको रुपमा अनुसरण गरे र कालान्तरमा त्यही हाङ पारे अपभ्रङ्स भएर हाक्पारे भएको (आङ्बुहाङ २०५८ः ४) प्रसङ्ग हाक्पारेको उत्पत्तिसँग जोडिएर आउँछ । यसका साथै इको वा प्रतिध्वनि गुञ्जिने लिम्बुवानको हाक्पारा ठाउँसँग पनि हाक्पारे गीत र भाकाको उत्पत्तिसँग जोडिन आउने अर्को प्रसङ्ग लोकमा प्रचलित छ । सन्तान वरदानको आराधना, फुङ्व चाङ्मा (तरुनी तन्नेरीको सिर उठाउने), दुलहादुलहीप्रति आशीष प्रदान, तङ्सिङ् मुन्धुमको हरेक खण्डखण्डको मुन्धुम वाचनको अन्यान्त सङ्केत आदिमा हाक्पारे भाका प्रयोग गरी गाइन्छ ।

६.२.४ केसाम भाका 

केसाम भाका च्याब्रुङ नाच नाच्दा गाइने गीतको भाका हो । केसाम भाकामा प्रयोग हुने गीतको नमुनाः
केसाम्ले लाःङ्ङिन् केसुम्लो 
नावासिङ् मिङ्सो तक्तुम्लो सरलै सरऽऽ, सरलै सरऽऽ ।।
(केसामको नाच नाचौँ है, सृष्टिको रीत थामौ है, सरलै सरऽऽ, सरलै सरऽऽ ।)
यो केसाम भाकामा गीत गाउँदा सामान्यतय च्याबु्रङ् नाच नाच्ने समूहको नाइकेले सुरु गर्ने र अन्यले पछ्याउने चलन हुन्छ । केसाम भाकामा गाइने गीतको मूल अंश ८ अक्षरको हुन्छ भने ‘सरलै सर सरलै सर’ चाहिँ गीतको पछि गाइने स्थायी अंश हो । 

६.२.५ पाङ्साम्लो भाका

पाङ्साम्लो भाका लिम्बू समाजमा परापूर्व कालदेखि मेलापत, घाँस, दाउरा गर्दा आफ्ना मनका बह अभिव्यक्त गर्दै गीतहरू क्रममा विकास भाएको भाका हो । यो १६ अक्षरको हुने गर्दछ । यसको नमूना यस प्रकार छ (तावा २०५८ः १०७) :
तक्सङ् नु तेम्भो सेमेक्वा पुइन् साम्लोइ हाःप्ल वा 
खामिक्पेल्ले तेप्तु इक्सा नु खाम्बेक् केनारा आत्तन वा ? 
(नेहुली चरी विरह गाउँदै लेख र औल धाउँदछ; बादलले छोप्यो पृथ्वी सारा, अनुहार तिम्रो कता छ ?)

६.३ पर्वविशेष भाका

पर्व विशेषमा गाइने भाकामा धेरै प्रचलित भाका लारिङ्गेक् नाम्लिङगेक (लालिङ्गेत नम्लिङ्गेत) हो । यो भाका विशेष गरी लिम्बु समुदायमा मानिने बलिहाङ तङ्नाम (बलिराजाको नाममा मानिने पर्व) सँग सम्बन्धित छ । यसमा बलि हाङ अर्थात् बलिराजा मृत्युको मुखबाट बचेको सन्देश देशवासीलाई सुनाउने सन्देशगीत गाउने भाका हो । यसको नमुना यस प्रकार छ ः
पासे मासे
नाम्लिङ्गेÞत्
तुम्म्याङ् हाङ्से
नाम्लिङ्गेÞत्, आदि ।।
(आमा–बाबा– नाम्लिङ्गेÞत्; सज्ज्न वृन्द– नाम्लिङ्गेÞत् आदि ।)
यस भाकाको मूल गायनमा आउने गीत ४ अक्षरको हुन्छ भने नाम्लिङ्गेÞत् या लागिरङ्गेÞत् स्थायी अन्तरा हो ।

६.४ घटना (वियोग) विशेष भाका

घटना (वियोग) विशेष भाकाको रुपमा हामलाक्वालाई लिन सकिन्छ । यो भाका वियोग वेदना अभिव्यक्त गर्ने भाका हो । लिम्बू समुदायमा कुनै पनि व्यक्तिको मृत्यु भएमा उसका आफन्छ (मूलतः महिला) ले सम्बन्धित मृतकसँग विभिन्न समयमा भएका अन्तरङ्ग कुराकानी, योजना भए पनि असामयिक मृत्यु आदिको प्रसङ्ग उल्लेख गर्दै रोदन गरिने भाका हो । यो वियोगान्त गीत गायनमा पनि प्रयोग हुने गर्दछ । आमाको देशवसान हुँदा अभिव्यक्त हुने हाम्लाक्वाको नमुना :
आमो मामो मामो आत्तान्नेÞ केÞबेबे।। एऽऽ एऽऽ एऽऽ ।।
आमो मामो ए पाःन्थिक्काङ् केब्बाःत्नेन्ने ।। एऽऽ एऽऽ एऽऽ ।। 
(आमा कता पो जानु भयो ? एक बात् पनि बोल्नु हुन्न नि ।)
हामलाक्वा भाका गाइने मूल गीतमा १२ अक्षर र रोधन अधिव्यक्त गर्ने तीन अक्षर स्थायीको रुपमा आउने गर्दछ ।

७ बाजा र भाकाहरूको सम्मिलन

लिम्बू लोक बाजासँग भाका वा भाकासँग बाजाको प्रयोग निम्नअनुसार हुने गरेको पाइन्छ ।
७.१ बाजासँग भाकाको प्रयोग

७.२ भाकासँग बाजाको प्रयोग



८ युगिन प्रतिध्वनि

लिम्बु समुदायमा प्रचलित यी बाजाहरूमध्ये कतिपय लिम्बू जातिको दर्शन मुन्धुमसँग सम्बन्धित रहेको देखिन्छ भने कतिपय विभिन्न संस्कारसँग सम्बन्धित देखिन्छन् अनि कतिपय भने लोकजीवनको उपजका रुपमा देखिन्छन् । यी लोक बाजाहरूको उत्पत्तिको खुट्याउन त्यति सहज भने देखिँदैन । यद्यपि यी लिम्बू जातिको सभ्यताका अभिन्न अङ्ग हुन भन्नुमा अतियुक्ति नहोला ।

९ सङ्कटापन्न वर्तमान 

लिम्बुवान नेपालको सहराज्य (नेम्बाङ, २०१०ः १६) भएर एकीरकणको क्रममा नेपालको अभिन्न भूभाग भएपछि लिम्बुवानका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिकलगायत यहाँका लोक बाजा र लोकभाकाहरू गोर्खाली नेतृत्वको केन्द्रीय सत्ताको हेजेमोनीमा प¥यो । राणाकालीन दोरुम्बे जाँतोले पिसेर बाँकी रहेको लिम्बू जातिको विभिन्न पक्षका साथैसाथै लोकबाजा र भाकाहरू राजा महेन्द्रले जारी गरेको मुलुकी ऐन, निर्दलीय पञ्चायती लौरी र माओवादी जनयुद्ध कालीन दोहोरो (राज्य र विद्रोही पक्ष) कोलमा पेलिएपछि अनि कथित पाश्चात्य आधुनिकताको सुनामीले बगाएपछि कतिपय यी अनमोल सम्पदाहरू करिब करिब व्यावहारबाट अदृष्य भएका छन् र स्मृतिमामात्र कैद भएका छन् । सङ्कटापन्न यी मूर्त र अमूर्त सम्पदाहरू जो लिम्बू जातिको मात्र होइन सिङ्गै मानव समुदायको सम्पदा हो, लाई बचाउने कुनै उपाय होला ? यो हामीसामू खडा भएको गम्भीर सवाल हो ।

१० धुमिल भविष्यमा उज्यालो आउला त ? 

एउटा सभ्याताको जीवन दर्शन बोकेको लिम्बु समुदायमा रहेका लोकबाजा र लोकभाकाको भविष्य शनैः शनैःका लागि धुमिल र अध्यारो हो त ? प्रयास भएमा अँध्यारो बादललाई फटाउन सकिन्छ । यसका लागि सम्बन्धित समुदायमात्र लागेर हुन्न । न त राज्य मात्र जिम्मेवार भएर हुन्छ । राज्य र समुदाय वा समुदाय र राज्य समानान्तरमा अगाडि बढेभने अवश्यमेवः यस्ता सम्पदाहरू जिवन्त राख्न सकिन्छ ।

सन्दर्भ सामग्री

खसनेपाली खण्ड

आङबुङ, गोविन्द । याक्थुङहरूमा हाक्पारे साम्लो । तान्छोप्पा वर्ष ६, अङ्क ६, भदौ २०५८, पृ. ४ ।
काइँला, वैरागी । २०५९ । लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश । प्रकाशक : नेपाल राजकीय प्रज्ञा–प्रितिष्ठान, कमलादी, काठमाडौँ । 
काइँला, वैरागी । लिम्बू सामाज र संस्कृति (१४०–१६३)। सयपत्री, पूर्णाङ्क १८, कात्तिक–चैत्र, २०६० । प्रकाशक : नेपाल राजकीय प्रज्ञा–प्रितिष्ठान, कमलादी, काठमाडौँ ।
तावा, भवानी । २०५८ वि.सं. । पाङ्साम्लो (१०५–१०९) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती ।
तुम्याहाङ, अमर । किरात येले संवत् कालगणना अध्ययन सन्दर्भ । किरात येले संवत् अभिलेख । प्रकाशक : किरात येले संवत् अध्ययन समन्वय समिति, काठमाडौँ । 
नेपालको अन्तरिम संविधान, २०६३  (छैटौँ संशोधन) । प्रकाशकः कानुन किताब व्यवस्था समिति, कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालय, नेपाल सरकार । 
नेम्बाङ्, वीर । सन् २०१० । लिम्बुवान भूभाग अलपत्र । मकरध्वज वनेमलगायत । 
बराल, भवानी र लिम्बू, कमल तिगेला । २०६४ । लिम्बुवानको राजनीति (इतिहास, वर्तमान र दस्तावेज) । प्रकाशकः भानेन्द्र कुमार लिम्बू, धरान । 
मिक्वा, थाम्सुहाङ यलम्बर । २०५८ वि.सं. । ख्याली (६७–७५) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती ।
याक्थुङ्बा, हाङ्वासाङ । २०५८ वि.सं. । हाक्पा¥या (८१–८६) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती । 
लाओती, येहाङ । २०६५ । आदिवासी लिम्बू जातिको संक्षिप्त परिचय । प्रकाशक दिलबहादुर लाओती । 
लिम्बू, अर्जुन तथा अन्य । वि.सं. २०५९ । किरात चाडः चासुवा, फोलष्याँदर, चासोक तङ्नाम र उधौली साकेला । किरात याक्थुङ चुम्लुङ । 
शर्मा, जनकलाल । २०५८ वि.सं. । हाम्रो समाजः एक अध्ययन, तेस्रो संस्करण । साझा प्रकाशन ।
ङ्ग्रौला, नारायणप्रसाद । २०६७ । पल्लो किरातको किपट व्यवस्था । प्रकाशक : श्रीमती अम्बिका देवी सङ्ग्रौला । काठमाडौँ ।
सुब्बा, थाम्सुहाङ पुष्प । २०५८ वि.सं. । मुन्धुम (२४–३५) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती । 
सेर्मा, लक्ष्मी । २०५८ वि.सं. । माङ्घ (१–१४) । लिम्बू छन्दहरू । प्रकाशकः रुपनारायण लावती । 

अङ्ग्रेजी खण्ड


Brown, Kristine and Hood, Susan. 2005. Academic Encounters, Life in Society. Cambridge University Press.
Haralambas, M and Heald, R M. 2010. Sociology Themes and Perspectives. Oxford University Press.
Kainla, Bairagi. Comparative Study of the Limbu Folk Deities. Jounal of Nepalese Literature, Art and Culture. Vol.6, N0. 2, 2011. Pub. Nepal Academy.
Statistical Year Book of Nepal, 2009. Cental Bureau of Statistics, Kathamandu.

5 comments:

  1. राम्रो छ सर । तपाईंको कामलाई मेरो समर्थन छ ।

    ReplyDelete
  2. याकथुङ (लोक)बाजाहरूलाई Anthropologically, Historically, Sociologically पनि Decode गर्न पर्छ । जस्तै: १) च्याब्रुङ छालाबाट र रुखको ढ्वाङबाट बनेको छ । तर त्यसपाई बनाउँदा छालाकै डोरी, रिट्ठाको दाना राख्ने सिन्का हड्याउँने प्वाल पर्नु पर्ने सबै हेर्दा सबैभन्दा पहिले याकथूङहरूले सिकार गरेको छाला, रुखको ढ्वाङहरू खिप्न त पक्कै पनि धातुबाट बनेको हतियार पनि चाहियो होला । यसबाट के बुझिन्छ? के याकथुङहरूको बाजा बनाएर बजाउँने प्रचलन फलामका हतियार-औजारको प्रचलन आएपछि मात्र सुरु भएको हो? कि पहिले हर्कै किसिमको छालाको बाजा थियो फलामको औजारको प्रचलन आएपछि झन Fine tune गरियो? २) याकथुङ बाजाहरू पात, यलम्बर बाजा, विनायो, मुरली, आदि प्रकृतिक सामग्रीहरू प्रयोग गरेर बनाई बजाएको देखिन्छ तर यलम्बर बाजा, विनायो, र मुरली बनाउँदा पनि बाँस ताछेर प्वाल पारेर बनाउवनु पर्छ । के त पात बाजा बाहेक अरु बाजाहरू पनि फलामा ताछ्ने, खिप्ने र प्वाल पार्ने धातुबाट बनेका औजारहरू बनेपछि मात्र बनाएर बजाउँन थालिएका हुन् त? ३) थाल र घण्टीहरू बजाउँने प्रचलन पनि के त धातुका सामग्री समाजमा बनेपछि मात्र बजाउँन थालियो त? कि प्रारम्भिक कालमा फरक विधीमा केही बजाईन्थ्यो तर धातुको सामान आएपछि त्यसलाई विस्तारै Integrate गर्दै लगियो? यी बाजाहरूले नै याकथुङ समाजमा फलाम युग या धातु युगको पनि manifestation देखिन्छ? तेस्तै, येबाहरूको पहिरनमा 'कौडा' 'घण्टी(धातु)हरूको माला'ले के जनाउँछ? कौडाको उपयोगले याकथुङ सभ्यता कुनै बेला समुद्रको किनारमा बिकास भएको संकेत गर्छ? कि यकथुङहरूको बसोबास भएको क्षेत्र कुनै युगमा समुद्री क्षेत्र थियो भन्ने संकेत गर्छ? अनि, याकथुङहरूको बजा बजाउँने विधी किन Monophonic छ? किन थरिथरिका बाजाहरू सँगसँगै (Polyphonic) बजाईँदैन? यिनका पनि कारण अवश्य होलान्? तेस्तै, याकथुङ भाका र गीतहरू पनि फरकफरक हुनुलाई कसरी Decode गर्ने? किन शास्त्रीय र परम्परागत र लोक भाकाहरू फरक फरक लय र भाकामा गाइन्छ? हाक्पारा भाका तेस्तै हुन गएको किन हो? ख्याली र पालाम गाउँने तरिका र लय फरक छन् किन फरक भएको? यस किसिमले पनि Decode गरे याकथुङ समाजलाई बुझ्न मद्दत पुग्नेछ । विवरणात्मक तहपछि अझ Etymological meaning पनि दिन सके झन फायदा हुनेछ ।

    ReplyDelete
    Replies
    1. तथ्यपरक सुझावका लागि हजुरलाई हार्दिक धन्यवाद । यसको पुनरलेखन गर्नु परेमा अवश्य हजुरले दिनु भएको सुझाव कार्यान्वयन गर्ने कुरा अनुरोध गर्दछु ।

      Delete
  3. च्याब्रुङको मुन्धुम अलि खोज पुगेन कि ! र लिम्बुलाई याक्थुङमा नजोडी दिनु भएको कि ? कि याक्थुङ जातिमा लिम्बू मिलि गए ?! किरात मानेरै जानुभएछ , डिबि आङ्बुङकै लाइनमा देखे मैले " हामी आएको 2500/3000 बर्ष पुगेको छैन " भनेको पो याद आयो ! त्यही मान्नुभएको भए याक्थुङ किन भन्नू ? मुन्धुम किन स्वीकार गर्नु ?!

    ReplyDelete