Monday, May 25, 2020

'रिक्सा' देखि 'यू–की'सम्मको यात्रा ! सिङ्गापुरका प्र.म. लि क्वान यू – "गुड–मर्निङ" भन्थे ! –के.बी. खोयाहाङ

'रिक्सा' देखि 'यू–की'सम्मको यात्रा ! सिङ्गापुरका प्र.म. लि क्वान यू – "गुड–मर्निङ" भन्थे !
–के.बी. खोयाहाङ

के.बी. खोयाहाङ अर्थात् खड्ग बहादुर खोयाहाङ । २०१५ असार १९ मा जन्म । जन्मस्थान हो डुम्रिसे–४, सेक्रे, ताप्लेजुङ । पाको नाम पदमधोज खोयाहाङ लिम्बू र माको नाम  हाङमा खोयाहाङ (काम्बाङ) लिम्बू । २०२२ देखि डुम्रिसे प्रा.वि.मा  शिक्षा आरम्भ । २०३२ मा सिङ्गापुर पुलिसमा जागिर प्रवेश र त्यहीं उच्चशिक्षा अध्ययन । छ वर्षपछि सिङ्गापुर पुलिस सेवाबाट अवकाश । बहरेनमा २ वर्ष सेक्युरिटी गार्डको जागिरे जीवन । ४ वर्ष जापानमा व्यतित । २०४६ देखि Subba Shree K.B. Trade Concern नामक संस्था मार्फत व्यापार व्यवसायमा प्रवेश गरी २०४९ मा Nepal East-West Travel को स्थापना । २०५१ मा Subba Nepal Trading Pvt. Ltd.  को स्थापना । सन् १९८८ देखि १९९८ सम्म जर्मनमा व्यापार । सन् १९९८ देखि नेपाली उत्पादनको Show Room क्यानाडामा सञ्चालन । बागमती गेष्ट हाउस मार्फत् होटल व्यवसायको अनुभव मात्र होइन जीवन बाँच्न एक समयमा रिक्सा चालकसम्म भएका खोयाहाङ हाल नेपालमै सबभन्दा बढी नुडल्स उत्पादन क्षमता भएको Kanchenjunga Processed Foods Pvt. Ltd. स्थापना गरी यू–की तयारी चाउचाउ बजारमा ल्याउन सफल हुनुभएको छ । किरात याक्थुङ चुम्लुङ र किरात धर्म तथा साहित्य उत्थान सङ्घका आजीवन सदस्य रहनुभएको र जीवनको छोटो समयमा ज्यादै उकाली ओराली खेप्दै एक उदीयमान उद्योगपतिको रुपमा अगाडि बढिरहनुभएका के.बी. सुब्बासँग तान्छोप्पा साप्ताहिकका लागि अमर तुम्याहाङ र अइन्द्रसुन्दर नेम्बाङले लिनुभएको अन्तर्वाताको सार सङ्क्षेप ।

ता– चाउचाउको ज्यादै प्रतिस्पर्धाको वर्तमान बजारमा यू–की तयारी चाउचाउ ल्याउनुभएको छ । उपभोक्ता बीचमा यू–कीलाई कसरी स्थापित गर्ने योजना बनाउनुभएको छ ?
के.बी.– नेपालमा तपाईंले भनेजस्तै नुडल्सको बजारमा ज्यादै प्रतिस्पर्धा छ किनभने नेपालमा निक्कै सङ्ख्यामा नुडल्स उद्योगहरू स्थापना भएका छन् र हुँदै पनि छन् । यही नुडल्सको भिडमा यू–की चाउचाउ लिएर कञ्चन्जङ्घा नुडल्स उद्योग उपभोक्ताहरू माझमा आएको छ । तर हामी प्रतिस्पर्धामा खरो उत्रिने कुरामा विश्वस्त भएर आएका छौँ । हामीले यु–की चाउचाउ उत्पादन गर्नु अघि बजारको लामो अध्ययन समयसम्म गरेका छौँ । यो अध्ययनबाट चाउचाउको बजारमा गुणात्मक चाउचाउको अभाव देख्यौँ । त्यही गुणात्मक चाउचाउको अभावलाई पूर्ति गर्ने हाम्रो प्रथम लक्ष्य हो । जब हामी गुणात्मक चाउचाउ उपभोक्ताहरूलाई दिन्छौँ तब हामी स्थापित नहुने त कुरै छैन । यू–की गुणात्मक चाउचाउको एउट उत्तम नमूना हो । यही कुरा उपभमेक्ताहरूलाई महसुस गराउँछौँ । थप कुरा यु–की चाउचाउ नेपाली नुडल्स उद्योगमा पहिलो पटक मेटालिक ¥यापरमा आएको छ ।
Image source: Google.com


ता– कञ्चन्जङ्घाको यु–की चाउचाउको उत्पादन प्रविधि कुन देशको हो ?
के.बी.– मेसिनहरू जापान र चीनबाट आयात गरिएका हुन् । प्रविधि चाहिँ नेपाली नै भन्दा अत्तियुक्ति नहोला किन भने हामीले प्रविधिको लागि कुनै देशको उद्योगको सहयोग लिएका छैनौँ तर संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा तोकिएको गुणस्तर कायम गरेका छौँ । कच्चा पदार्थ र श्रमशक्ति सबै नेपाली हो । नेपाली प्रविधिलाई कायम राख्न हामीले ध्यान दिएका छौँ । यसको लागि कम्पनीको मेसिनहरू नेपाली प्रविधि अनुसार बदल्न (modification) कम्पनीको प्रबन्धक रमेश घिमिरेजी चीन जानुभएको थियो । हाम्रो कम्पनीको मेसिन नेपाली नुडल्स उद्योगको सबैभन्दा बढी उत्पादन क्षमता भएको मेसिन पनि हो ।

ता– हिजो–आज नेपालका उद्योगहरू धमाधम बन्द भइरहेका छन् । यस अवस्थामा तपाईंको नयाँ कञ्चन्जङ्घा नुडल्स उद्योग कसरी टिकाउनु हुन्छ ?
के.बी.– देशको वर्तमान राजनीतिक स्थितिलाई हेर्दा यो प्रश्न ज्यादै स्वाभाविक छ । देशमा हिजो जुन किसिमको राजनीतिको स्थिति सिर्जना भएको थियो आज त्यो स्थिति छैन । अर्थात् सुध्रिएको छ जस्तो लाग्छ । तर सत्य कुरा के हो भने देशको राजनीतिक कारणले कतिपय उद्योग बन्द भए, हुँदैछन् र हुनेछन् । तर कञ्चन्जङ्घा नुडल्स उद्योग गुणमा विश्वास गर्छ । यसो भएकोले उपभोक्ताहरूले युकी चाउचाउको गुणको सही मूल्याङ्कन गरिदिनुभयो भने हामी सफल हुने कुरामा कुनै शंका छैन । मेरो भनाइको अर्थ हो हाम्रो उद्योगको भविष्य उपभोक्ताको हातमा छ । अन्य कारणले चाहिँ यो उद्योग बन्द हुँदैन ।

ता– लिम्बूहरू विदेश या लाहुर गएर पैसा कमाउने तर उद्योगधन्दामा नलाग्ने सामान्य चलन विपरित तपाईं कसरी यतातिर लाग्नु भयो ?
के.बी.– शुरुमा तपाईले भनेजस्तै म पनि लाहुर नै गएको हुँ । तर पछि हाम्रो जातिको सामान्य ट्रेन्ड विपरित म यतातिर लागेँ । यसको प्रथम कारण साथीहरूको कारणले भन्नुपर्ला । दोस्रो चाहिँ अवसरले पनि हो । म जुन बेला जर्मनमा थिएँ त्यसबेला एउटा जर्मनी कम्पनीबाट मखमली (velvet) टुरिस्ट क्यापको असीमित सङ्ख्याको अर्डर पाएँ । त्यसमा उत्साहजनक फाइदा भयो । त्यसले अगाडि बढ्न ठूलो उत्साह दियो ।

ता–तपाईंको शुरुको लगानी कति थियो ?
के.बी.– शुरुको लगानी २५/२६ लाख जति थियो ।

ता–सरकारले पर्यटन विकासको लागि विभिन्न सुविधाका प्याकेजहरू ल्याएको छ । सङ्कटकाल पनि यही समयमा घोषणा भएको छ । यी दुवैको प्रभाव पर्यटन व्यवसायमा कस्तो छ ?
के.बी.– सङ्कटकाल लाग्नु अघिभन्दा त्यसपछि केही पर्यटक समुहहरू फाटफुट आएका छन् । सरकारले पर्यटकहरूका लागि नयाँ हिमाल र क्षेत्रहरू खोल्नुका साथै सुविधाहरू दिने घोषणा गरेको छ । चाइना र भारतको लागि विशेष प्याकेज अगाडि सारिएको छ । तर आशातीत प्रगति हुन सकेको छैन ।

ता– सुब्बा के.बी. कन्सर्न र सुब्बा नेपाल ट्रेडिङ कम्पनीमा के फरक छ ?
के.बी.– सुब्बा श्री के.बी. कन्सर्न प्रोप्राइटरसीप संस्था हो जसबाट मैले मेरो व्यवसाय आरम्भ गरेँ । तर सुब्बा नेपाल ट्रेडिङ कम्पनी भनेँ फ्लोरिङ र फर्निसिङ निर्यात आयात गर्ने संस्था हो ।

ता– क्यानाडाको शो रुम कसरी चलेको  छ?
के.बी.– राम्ररी नै चलेको छ । यसले नेपाली उत्पादन विदेशमा पु¥याउने काम गरेको छ । नेपालको छवि व्यापारिक कोणबाट उठाएको छ । यसको सकारात्मक पक्ष के भने त्यहाँ पनि नेपालीहरूलाई नै कर्मचारीको रुपमा नियुक्त गरिएको र रोजगारी दिइएको छ ।

ता– सिङ्गापुर बसेको र पढेको कुरा गर्न‘भयो ? तपाईं त्यहाँ कसरी र किन जानुभयो ?
के.बी.– सिङ्गापुर पुलिस फोर्समा भर्ती भएर म सिङ्गापुर पुग्ने अवसर पाएको हुँ । म २०३२ सालमा सिङगापुर पुगेको थिएँ । त्यहाँ हामीले पुलिस ड्रेसमै ड्युटी गर्नुपथ्र्यो । यही मौकामा मैले त्यहाँको तत्कालीन प्रधानमन्त्री लि क्वान यूको घरमा पुरापुरी तीन वर्ष ड्युटी गरेँ । त्यसबेला मैले लि क्वान यु सारै स्थिर स्वभावको व्यक्तित्व पाएँ । मैले लि क्वान यु कहिल्यै हाँसेको पनि पाइनँ र कहिल्यै रिसाएको पनि पाइनँ । उहाँको त्यो स्वभाव देखेर अहिले पनि सम्झन्छु,– कस्तो आश्चर्य लाग्दो व्यक्तित्व होला भनेर । तर हामीले Good Morning भनेर सलोट गर्दा उहाँ पनि Good Morning चाहिँ भन्नुहुन्थ्यो । सिङ्गापुरे नागरिकहरू सिभिल ड्रेसका पुलिस हुन्थे तर नेपालीहरू चाहिँ डे«ससहित हुन्थे । तिनै नेपाली जो ड्रेसमा हुन्थे ती पुलिसहरूले लि क्वान यु सवारीमा ट्राफिक क्लियर गर्थे ।

पढाइको सम्बन्धमा त्यहाँ हामीले ड्युटीपछि एक दिन छुट्टी पाउँथ्यौँ । त्यही छुट्टीमा पढ्न चाहनेहरू पढ्न जान पाउने नियम थियो । यसैले गर्दा मैले पनि पढ्ने मौका पाएँ । गोरखा क्याम्पमा पनि पढ्न पाइन्थ्यो । तर मैले चाहिँ बाहिर पढेँ । यही पढाइकै क्रममा स्पोर्टस्तिर पनि ष्लतभचभकत दिएँ । यही क्रममा म संलग्न भएको समुहले भलिबल, बास्केट बल र रस्सी तान्नेमा पुरस्कार पाएको थियो । यसमा भलिबल र रस्सी तान्नेमा प्रथम र बास्केटबलमा दोस्रो भएको थियो । यिनै खेलमा पाएका कप र प्रमाणपत्रहरू सिङ्गापुरको सक्झनाको रुपमा सजाएर राख्ने गरेको छु ।

ता– किन तपाईं छ वर्षमै सिङ्गापुरबाट फर्किनुभयो ? यसमा तपाईंलाई दुःख लागेको छ कि ?
के.बी.– शुरुको कुरा भनौँ कि समस्या भनौँ, त्यो सामान्य थियो । सेवा गरेपछि प्रोमोशनको कुरा हुन्छ । प्रोमोशन सिनियरिटीको आधारमा हुन्छ । तर प्रोमोशन भएन भने निवेदन दिन पाउने नियम छैन । तर एक पटक मेरो पल्टनमा यस्तै घटना घट्यो । यो नेपालको पूर्व र पश्चिमको क्षेत्रीय कुराले भएको थियो । पूर्वको एक जना साथी सिनियर थियो । दुःखको कुरा पश्चिमको जुनियर साथीको प्रोमोशन भयो । यसमा प्रोमोशनमा नपरेको पुर्वको साथीले असन्तोष प्रकट गर्दै निवेदन दियो । पुर्वको भनेपछि म लगायत ८६ जना थियौँ । यही सन्दर्भमा एक दिन ड्युटी गइएन । ड्युटी नगएपछि सिङ्गापुर पुलिस फोर्सको नियम के छ भने ड्युटी नजानेले राजीनामा दिनुपर्छ र युनिटबाट डिस्चार्ज हुनुपर्छ । यही प्रक्रियाम हामी प¥यौँ । तर मलाई यो घट्नामा कुनै दुःख छैन । यसपछि मैले धेरै सङ्घर्ष गरेको छु र यो अवस्थामा आइपुगेको छु ।

ता– जीवन बाँच्न धरानमा रिक्सा पनि चलाउनु भयो भन्छन् नि ?
के.बी.– जीवन बाँच्ने क्रममा मैले सामान्य नागरिकले जे जे काम गर्छन् ती सबै काम गरेको छु । ताप्लेजुङ जिल्लाको डुम्रिसेको सेक्रे भन्ने दुर्गम ठाउँमा जन्मेको मैले के गरिन र ? हलो जोतिन कि, घाँस–दाउरा गरिन कि ? भारी बोकिन पो कि ? म १३ वर्ष छँदाको कुरो हो । त्यतिबेला गोपेटारको सडक बनेको थिएन । त्यस बेला नुन तेल लिन बिजनबारी या दार्जीलिङ जाने चलन थियो । म पनि गाउँलेहरूको साथ लागेर बिजनबारी नुन बोक्न हिडेँ । ४० के.जी. नुन बोकेको थिएँ । १३ वर्षको बिचरो ठिटो न परेँ । नुनको भारी लिएर आउँदा आउँदै फालेलुङमा हिउँ पर्न‘का साथै हावा पनि चल्न थाल्यो । म त रुन थालेछु । जाडोले रोएपछि साथीहरूले जिस्काए अनि रुन छोडेँ । तर त्यो घट्ना मेरो दिमागमा कहिल्यै नमेटिने गरी बसेको छ । यसपछि सिङ्गापुर गएँ । सिङ्गापुरपछि  बहराइन र जापान गएर फर्केपछि रेष्टुराँ चलाएँ । तर भविष्य नदेखेर छोडेँ । त्यसपछि शुरु भयो रिक्सासँगको जीवनयात्रा । मैले पाँचवटा रिक्सा किनेँ । अरुलाई पनि चलाउन दिएँ र आफैले पनि चलाएँ । त्यस बेला धरानमा रिक्सा चलाउने सबै मेरा साथी थिए । अहिले पनि धरान जाँदा उनीहरू पुरानो कुरा झिकेर मलाई जिस्काउँछन् । मलाई कस्तो आनन्द लाग्छ भने म त्यो आनन्द शब्दमा व्यक्त गर्न सक्दिन । छुट्टिने बेलामा उनीहरू मलाई भन्छन्–तपाईं त साहुजी हुनुभयो हामी चाहिँ रिक्साको टायरसँगै खिइरहेका छौँ ।

ता– त्यसो भए जीवनको त्यो मोडसँग तपाईंको भावुक सम्बन्ध रहेछ हैन ?
के.बी.– जीवनको त्यो मोडसँग इष्र्या लाग्छ । तर अब त्यो स्मृतिमा मात्र सजाउन र रमाउन सक्छु ।

ता– त्यस बेला अहिलेको अवस्थामा आइपुग्छु होला भनेर कहिल्यै सोच्नु भएको थियो ?
के.बी.– उद्योगपति नै हुन्छु भनेर चाहिँ मैले त्यस बेला सोचेको थिइनँ । तर ममा एउटा अहम् चाहिँ जहिल्यै पनि जागिरह्यो र जागिरहेकै छ । त्यो के भने ठूल्ठूलो सफलता पाउने व्यक्तिहरू अन्य ग्रहबाट आएका छैनन् । उनीहरू यही परिश्रम गरेर सफल भएका हुन् । शायद यो अहम्ले पनि मलाई यहाँ पु¥यायो होला । तर योभन्दा साथीहरूको सहयोग र आमा, बाबु अनि दाजुको आशीर्वादको बढी महत्व छ म यहाँ पुग्नुमा ।

ता– नेपाल बाहिर पनि यू–की चाउचाउ लाने तयारीमा हुनुहुन्छ ?
के.बी.– अँ, नेपाल बाहेक अन्य देशमा पनि यू–की चाउचाउ लाने तयारीमा छौँ । हामीले भारत, भुटान, बङगलादेश र हङकङमा बजार विस्तार गर्दैछौँ । यसपछि क्यानाडामा पनि बजार विस्तार गर्नेछौँ । यी देशहरूको बजार अध्ययन गरी आवश्यक तयारी गरिरहेका छौँ ।

ता– सरकारले उद्योगीहरूलाई के सहयोग गर्नुपर्छ ?
के.बी.– नेपालका उद्योगीहरूको उद्योग वाणिज्य सङ्घ छ । उद्योग वाणिज्य सङ्घ र सरकारको बीच सहयोगात्मक सम्बन्ध हुनुपर्छ । सरकारले नेपालको उद्योग क्षेत्रलाई आवश्यक सुविधा उपलब्ध गराउनुपर्छ ।

ता– हालसालै सरकारले सुरक्षा कर बढाएको छ । यसले उद्योग क्षेत्रमा कस्तो असर पारेको छ ?
के.बी.– यसले उद्योग क्षेत्रलाई नकारात्मक असर पारेको छ ।

ता– तपाईं उद्योगपतिको नाताले सरकारलाई के सुझाव दिनुहुन्छ ?
के.बी.– नुडल्सकै सन्दर्भमा भन्ने हो भने कृषि उत्पादनमा भ्याट नलगाउने भन्ने थियो । अहिले आएर सरकारले अचानक कृषि उत्पादनमा पनि भ्याट लगाइदियो । यसले सरकारी नीतिको उल्लंघन त भयो नै । त्यति मात्र हैन, यसबाट कृषकहरू मात्र हैन कृषि उत्पादित कच्चा पदार्थमा आधारित उद्योगहरूलाई पनि मार परेको छ  त्यसैले यसमा सरकारले पुनः विचार गर्नु‘पर्छ ।

ता– तपाईंको कम्पनीबाट अन्य ब्राण्डका नुडल्सहरू पनि आउँदैछन् ?
के.बी.– अँ, आउँदैछन् । स्न्याक्समा "मिक्की स्न्याक्स" ५० ग्राम र ३५ ग्राम पनि आउँदैछ । अहिले चिकेन बेसमा यू–की आएको छ । अब यसलाई भेज बेसमा पनि ल्याउँदैछौँ ।

ता– यो सङ्कटकालको सन्दर्भमा सरकार र आतंककारी घोषित माओवादीहरूलाई के सुझाव छ ?
के.बी.– माओवादीको आतंक र सङ्कटकालले धेरथोर सबै नेपालीहरूलाई असर गरेको छ । यो पीडादायी अवस्थालाई सरकारले अन्त्य गर्नुपर्छ । जनता र उद्योगहरूको सुरक्षा प्रदान गर्नुपर्छ । माओवादीहरू शान्तिपूर्ण बाटोमा आउनुपर्छ । उद्योग व्यावसायीहरूले सुरक्षित महसुस गर्ने वातावरण तयार बनाउनु पर्छ । उद्योगहरू आक्रमणमा परेमा बेरोजगारी बढ्नेछ र देशको आर्थिक स्थिति नै डामाडोल हुन्छ । यतातिर सबैले ध्यान दिनुपर्छ ।

ता– तपाईंलाई ज्यादै दुःख लागेको र खुशी लागेको क्षण बताइदिनु हुन्छ कि ?
के.बी.– १७/१८ वर्ष अघिको कुरो हो ।  बहराइनबाट आएपछि बागमती पुल छेउमा बागमती गेष्ट हाउस चलाएर बसेको थिएँ । त्यस बेला मेरो एक जना साथीले ठूलो रकम फसाइदियो जसको कारण करिब म जिरो अवस्थामा पुगेँ । त्यस बेला म लोग्ने मान्छे भएर पनि सारै धेरै रोएको थिएँ । मन थाम्नै नसकेर धेरै दिन रोएँ । यो नै मेरो जीवनको दुःखद क्षण मानेको छु । अब खुशीको सन्दर्भमा चाहिँ सपरिवार बसेर गफगाफ गर्दै खानपान गर्दा जुन आनन्द र सन्तुष्टी पाउँछु त्यसको तुलना अन्य मेरा खुशीसँग हुन सक्दैन ।

ता– हामीले त धेरै प्रश्नहरू सोध्यौँ ।  तान्छोप्पा मार्फत्  तपाईंले भन्नै पर्ने केही  कुरा छुट्यो कि ?
के.बी.– यस पटक यू–की चाउचाउ बजारमा ल्याउँदा आयोजना गरिएको मोटरसाइकल ¥यालीको लागि किरात याक्थुङ चुम्लुङ काठमाडौँ र ललितपुर, किरात धर्म तथा साहित्य उत्थान सङ्घसँग सहयोग मागेका थियौँ । त्यो कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । यो सफलता उहाँहरूकै सहयोगबाट सम्भव भएको हो । यो उहाँहरूकै सफलता हो । उहाँहरूको यो सहयोगको लागि म आभार व्यक्त गर्दछु ।
तान्छोप्पा, वर्ष ७, अङ्क २,   बिहिबार, ९ फागुन २०५८ (21 Feb. 2001) पेज ५

No comments:

Post a Comment