Saturday, April 25, 2020

डुवर्स चुम्लुङ युप्पा तङ्बेको नाम्धिङ्गो सम्झनाहरू

अमर तुम्याहाङ

२०१८ फेब्रुअरी १२ तारिखका दिन लिम्बू/सुब्बा विकास समिति रजत जयन्ती समारोह एवम् युमा माङहिमको नवौँ स्थापना दिवस आयोजक समितिका अध्यक्ष श्री जेठा सुब्बा र सचिव श्री गणेश बहादुर लिम्बूको हस्ताक्षरमा निम्न विवरणको पत्र प्राप्त भयो, इ–हुलाक मार्फत ।

"सेवामा, 
प्राज्ञ अमर तुम्याहाङ ।
सेवारो !

अपार हर्षको साथ हजुरलाई यो विदित् गराउन चाहन्छौं २४ र २५ फरवरी २०१८, तदानुसार वि.सं. २०७४ फाल्गुन १२ र १३ गते, भारतको डुवर्स क्षेत्रमा छरिएर बसेका लिम्बू/सुब्बाहरूलाई संगठित गरी, लिम्बूहरूको जातीय उत्थान औ सांस्कृतिक जगेरा हेतु जन्मिएको माउ संगठन लिम्बू/सुब्बा विकास समितिको रजत जयन्ती साथै, लुकसान, डुवर्स (भारत) मा स्थापित ‘युमा माङहिम’को ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न हुने भएकोले उक्त २ दिवसीय समारोहमा हजुरको उपस्थितिले कार्यक्रमको गरिमामा थप बृद्धि हुने थियो भनी ठूलो आकांक्षा राख्दै हजुरलाई समारोह आयोजक समिति हार्दिक निमन्त्रणा जनाउँद छौँ ।"

इ–हुलाक मार्फत आएको चिठीलाई पछ्याउँदै लिम्बू/सुब्बा विकास समितिका अध्यक्ष जेठा सुब्बाज्यूले फोन गर्नु भयो र संस्थाको रजत जयन्तीमा उपस्थितिको निम्तो सस्वर गम्भीरतापूर्वक दोहो¥याउनु भयो ।

यो जिन्दगी खोइ के जिन्दगी ? भन्नै गारो छ । रुटिङबद्ध जिन्दगी । यान्त्रिक जिन्दगी । सायद मृत्युअघि सम्म पनि यस्तै हुने छ । फुसर्दका सवालमा । कार्यक्रममा सहज सहभागिताको सवालमा ।

तान्छोप्पा पत्रिकाका कार्यकारी सम्पादक भूपेन्द्र खुदाङसँग कुराकानी भयो । निम्तो मान्न । सुब्बा विकास समितिको रजत जयन्तीको अवसरको । अब अर्को जयन्तीमा हामी आमन्त्रित कहाँ पुगौँला ? निमन्त्रणा गर्ने कहाँ पुग्नु होला ? सोचाइको तालमेल होला नहोला ? त्यो समयको कल्पना पनि गर्न सकिन्न । किन कि जीवनको कुनै ठेगान छैन । यो त कर्कलाको पानी जस्तै छ । कुनै पनि पलमा खसेर सून्यतामा बिलाउन सक्छ । केही गर्नु छ भने अहिले गर्नुपर्छ । आफैले गर्नुपर्छ । यसर्थ हामीले टुङ्गो ग¥यौँ । सबै रुटिनलाई थाँती राख्ने । रजत जयन्ती समारोहमा सहभागी हुने । जेठा सुब्बाज्यू र उहाँको संस्थाको निमन्त्रणालाई शिरोधार्य गर्ने ।
फागुन ११ गते सखारै सिन्धुली बर्दिबासको बाटो हुँदै बिर्तामोड हुइँकियौँ । अनि १२ गते बिहान मेचीपुल पारि पानी ट्याङकी बस पार्क पुगियो । इमाहाङजीसँग जङ्गे पिलरको र भैयाको ठट्टा गर्दै दर्जनौ पटक यो पुल वारिपारि गरेका छौँ । त्यसैले यहाँ पुग्नेवितिकै इमाहाङजी विना प्रङ्ग मेरो सम्झनामा आइहाल्छन् । उनलाई सम्झँदै गर्दा मेची पुलनेर भेटिए– लिम्बू पुस्तकहरू भारत नेपाल वारिपारि गराउने हुलाकी खेलराज यङयाङ । अब हाम्रो हुद्दा भयो ४ जनाको । खेलराज यङयाङ, सुबास खुदाङ र काठमाडौँबाट हानिएका हामी दुई जना ।

यस बेला हामी व्यग्र खोजीमा थियौँ उर्फ चिरबिरे बाजे अर्थात् रामबहादुर खुदाङ बाजेको । उहाँ हामीलाई डुवर्ससम्म पु¥याउने हाम्रो गाइड हुनुहुन्थ्यो । तर हामी अघि । गाइड पछिको अवस्था बन्यो । सिमानामा फोनले निकै सास्ती दिँदो रहेछ । मोबाइलमा टावर देखिने तर फोन नै नलाग्ने । अन्ततः उहाँ आइपुग्नु भयो, पानी ट्याङ्की बस पार्कमा । र, हामी लाग्यौँ सिलिगढी, डुवर्स हुँदै विरपाडा जाने गाडी चढेर ।

करिब तिन घण्टाको निरन्तर पूर्व दिशाको यात्रापछि हामी लुक्सान पुग्यौँ । म सानो छँदा गाउँघरका हजुरबा हजुरआमा पुस्ताले फलानो फलानो नोक्सानी गएका छन् भनेर मुग्लानिएका गाउँलेहरूको बारेमा हामीलाई भनेको सुनेको थिएँ । मैले सुनेको नोक्सानी नाम त्यही लुक्सानको नाम तर मेरा गाउँका पूर्वजका जिब्रामा अपभ्रश भएर बनेको शब्द रहेछ भन्ने अहिले सम्झिरहेको छु । गाउँले हजुरबा हजुरआमाले नोक्सानी भनेर बोलाउने त्यो लुकसानले हामीलाई न्यायो स्वागत ग¥यो करिब मध्यान्हको समयमा । यसर्थ न्यानो कि तराई क्षेत्र भएर पनि पूरै सुपारीको जङ्गल । चिया बगानको विस्तार । प्राकृतिक जङ्गलको पहरेदारी । त्यसैले त्यो क्षेत्रमा गर्मीले राज गर्न नपाउँदो रहेछ ।

हाम्रो पाइला प¥यो कार्यक्रम स्थल नन्दलाल सुब्बा स्मृति नेपाली विद्यालयको भव्य प्राङ्गणमा । त्यहाँ हामी पुग्नु अघि नै सुक्खिमका पद्मश्रीले विभूषित बिबी मुरिङलाज्यू पुगेर प्रतीक्षालयमा हुनुहुँदो रहेछ । सशरीर भेट भयो, जेठा सुब्बाज्यू, गणेश बहादुर लिम्बूज्यू, तारा सुब्बाज्यू लगायतका आयोजकहरूसँग ।


कार्यक्रम स्थलको पूर्वी भागमा युमा माङ्हिम भव्य सजावटमा ठाँटिएको थियो । भारत वर्षमा बनेका दर्जनौँ युमा माङहिमहरू मध्ये सबै भन्दा भव्य मानिने रहेछ, लुक्सानको युमा माङहिम । पश्चिममा रहेको नन्दलाल सुब्बा स्मृति नेपाली विद्यालय र युमा माङहिम बिचमा करिब दक्षिणोत्तर फैलिएको पत्थाङ आकारको ठूलो चौरमा मञ्च बनेको थियो । त्यहाँ एकपछि अर्को गर्दै नेपाल, भुटान, भारत भित्रकै सिक्किम, आसाम, दार्जिलिङ, खरसाङ, कालिम्पोङ, सिलगढी तराई लगायतका लिम्बू पाहुना र प्रतिनिधिहरू आउन थाले । कार्यक्रम स्थल भरेली भयो । र, सुरु भयो औपचारिक कार्यक्रमको तङ्सिङ । सम्भाषणको तङ्सिङ ।
Chief Guest ND Limboo, first from the left, SR Khajum, BB Muringla and others

मेरा लागि लुक्सान या डुवर्स नयाँ ठाउँ । नयाँ ठाउँको कार्यक्रमको शैली एकदमै नयाँ । सबैभन्दा पहिला युमा माङहिममा पूजा अर्चनाबाट कार्यक्रम सुरु हुन्छ । श्रीमती तारा सुब्बाका अनुसार माङहिम परिक्रममा ९ पटक गर्नपुर्छ रे । फाउन्डेसन या लक्खुम परिसरबाट ३ पटक । आम्भो परिसरबाट ३ पटक । साङ्भेमा ३ पटक । अनि परिक्रमा गर्दा माङ्हिम या साङ्भेलाई बायाँ पारेर अर्थात एन्टि क्लकवाइज परिक्रमा गर्नुपर्छ रे । इतिहास तथा संस्कृतिविद मञ्जुल याक्थुम्बाको तर्क पनि यही थियो कि याक्थुङहरू प्रकृतिपुजक भएकाले लहराले हिँड्ने बाटो हिँड्छन् अर्थात् घुम्छन् । धान नाच्दा होस् या च्याब्रुङ नाच्दा अथवा माङ्हिम परिक्रमा गर्दा होस् । उनीहरू एन्टि क्लवाइजको बाटो भएर परिक्रममा गर्दछन् ।

असोसियट प्रोफेसर बल मुरिङलाको भनाइमा युमा माङहिममा तागेरा निङ्वाफु माङ्को बास हुन्छ रे । यसै बेला संस्कृतिविद चैतन्य सुब्बा, पीएचडीको प्रश्न पनि झल्यासै सम्झिएँ कि याक्थुङहरूले बनाएको माङहिममा को बस्छ ? युमा साम, थेबा साम त घरमा पो बस्छन् । निङ्वाफूमा सर्वव्यापी हुन् । अनि माङ्हिममा बस्ने कुन माङ ? मचाहिँ बिलबखन्दमा छु । यी दुईजना विद्वान्को भनाइमा कुनमा सहमत हुने ? प्रश्नमा कि जवाफमा ? जे होस् माङ्हिमको साङ्भेको परिक्रममा त गरियो, प्रमुख अतिथि र अन्य अतिथिहरूको साथमा लागेर । यस बेला अर्को पनि याद मनमा अटेस मटेस भएर आयो । यसरी युमा माङहिम परिक्रममा गर्दा मुकुमलुङ्मा, जसलाई हामी युमाको अर्को रूप मान्छौँ, त्यसको थानलाई परिक्रमा गर्दा जस्तै काँचो धागो टाँगेर तान बुनेको विश्वास गरिने चलन पनि यहाँ माङ्हिममा भएको भए ? अहा कस्तो हुँदो हो ? जे होस् माङहिमको साङ्भे परिक्रममा, भेटी अर्पणपछि फेदाङमाले मन्त्रले आशीर्वचन दिने र अर्को फेदाङ्माले फुङ लगाइदिने चलन रहेछ ।

Right Mr. Jagat Subba from Sikkim

यसपछि भारतीय राष्ट्रिय झण्डाको झन्डोतोलन र राष्ट्रगान हुन्छ । लगतै दीप प्रज्वल र विभूति त्येअङसी सिरिजङ्गाको तस्बिरमा माल्यार्पण । अब छुट्यो सम्भाषणको फोहरा ।

रजत जयन्ती कार्यक्रमका प्रमुख अतिथि पश्चिम बङ्गाल लिम्बू डेभलपमेन्ट बोर्डका अध्यक्ष क्याप्टेन नरधोज लिम्बूले "याक्थुङहरू सबै एक हुन् तर उनीहरू एकताबद्ध छैनन्" अर्थात् Yakthungs are one but not united भनेर गजबको अनुभव मन्तव्यमा व्यक्त गरे र अब एकताबद्ध हुनुपर्ने दिन आएको स्मरण गराए । उनले आफू बोर्डको अध्यक्ष भएपछि बोर्डको तर्फबाट पश्चिम बङ्गालको विभिन्न स्थानमा छरिएर रहेका लिम्बूहरूका लागि ५०० वटा घर निर्माण गराएको र यही साल ३८७ घर निर्माण गराउने योजना रहेको जानकारी पनि दिए  ।   

यता भारतीय लिम्बू भहासङ्घका सभापति एसआर खजुमले भने याक्थुङ लिम्बू जाति "एकता र एकरूपता" अर्थात् "Unity and Uniformity" को बाटोमा अगाडि बढिरहेको बताए । उता बल मुरिङलाले भने याक्थुङ जातिको मुन्धुम, धर्म, संस्कृति र साहित्यको बारेमा आफ्नो चिन्तन प्रस्तुत गरे । अनि पद्मश्री बिबी मुरिङलाले याक्थुङ भाषा, साहित्य र लिपिको इतिहास उधिने ।

एउटा विचारणीय पक्ष के रहयो भने खजुम बाहेकका वक्ताहरूका अभिव्यक्तिमा अल्पसङ्ख्यक हुनु, विभाजित हुनु लगायतका हिनताबोधका छायाँ कताकति परेको हो कि भन्ने प्रतीत हुन्थ्यो । आफ्नो जातिबारेमा स्वभाषीले प्रयोग गर्ने पदावली र गैरभाषीले प्रयोग गर्ने पदावली बारेमा अटोट बिच पनि बुझाइमा अझै निखारता आउनु अपेक्षित हो कि भन्ने लाग्थ्यो । विशेष विषय र विशेष पक्षलाई जोड दिँदा आफ्ना नागबेली भएर कहिँ धुमिल रूपमा घुम्ती भएर अगाडि बढेका स्वइतिहासका गहनतम पक्षहरू यसै उपेक्षित हुने सम्भाव्यता पनि उतिकै देखिन्छ । सन्तुलित चिन्तन, समग्रतामा उच्च तहको बुझाइ, सहज तर लालित्यपूर्ण र परिपक्व अभिव्यक्ति भएका अभिभावक व्यक्तित्व पदमसिंह मुरिङला अहिले भइदिएका भए ? यस्तो अवस्थामा यदि उनी हुँदा हुन् त आपदमा समुद्रमा जहाज चलाउने क्याप्टेनका लागि ध्रूव तारा सावित हुन्थे कि भन्ने मनको भित्री कुनामा धिपधिप गर्दै आशाको दिप बलिरहयो । 
 
सम्भाषणका क्रममा स्रोत व्यक्तिहरूलाई सोधनी गरिएका प्रश्नहरूमध्ये सिभिल इन्जिनियरका विद्यार्थी अमर सुब्बाको सोधनी प्राविधिक विषयमा केन्द्रित भए पनि निकैको ध्यान तान्यो । उहाँको प्रश्नको सार थियो– हामीले सरकारी फर्महरू भर्दा धर्मको महलमा युमा धर्म उल्लेख नहुनाले हिन्दू धर्मको महलमा भर्न बाध्य छौँ, युमा धर्मको महल खडा गर्न किन प्रयास भएन ? नेपालको सन्दर्भमा किरात धर्म विवादित भए पनि राष्ट्रिय जनगणनामा नै उल्लेख हुने भएकाले यसको अफिसियल मान्यताका लागि कुनै समस्या छैन । तर भारत वर्षमा याक्थुङ समुदायमा युमा धर्म बारेमा ठूलो चर्चा भए पनि यसले अफिसियल मान्यता पाउन सकेको छैन । यसैमा अमर सुब्बाको प्रश्न केन्द्रित थियो । यो प्रश्नको जवाफ धेरैले दिए तर फेरि पनि यो प्रश्न अनुत्तरित नै रहयो ।

लिम्बू/सुब्बा विकास समितिको रजत जयन्ती समारोह एवम् युमा माङहिमको नवौँ स्थापना दिवस कार्यक्रम भन्दा बढी भव्य मेलाजस्तो रहयो । पश्चिम बङ्गाल प्रान्तका प्रायः सबै गनेमानेका याक्थुङ अगुवाहरूको जमघट थियो । यस कार्यक्रमले मेरै जन्म गाउँ खेवाङ गाउँका तर कहिलै नभेटेका खेवाङ कान्छा अर्थात् राम प्रसाद साम्यू खेवाङ दाइ र माओवादी जनयुद्धको भेलले उछिट्याएका भीम इम्बुङ भाइसँग आकस्मिक रूपमा भेट्ने सौभाग्य पनि जुरायो ।

नेपाली भाषाका प्रोफेसर विक्रम खालिङ राईबाट पाएको एउटा जानकारीले भने निकै मन खिन्न बनायो । उनले सुनाए अनुसार श्री नन्दलाल सुब्बा मेमोरियल नेपाली विद्यालयको नाम पश्चिम बङ्गाल सरकारले परिवर्तन गरेर लुक्सान नेपाली विद्यालय बनाउँदै छ रे । विक्रम खालिङ नन्दलाल सुब्बा मेमोरियल नेपाली विद्यालयको पहिलो ब्याचको विद्यार्थी रहेछन् । लुक्सानमा बस्ती बसाउने श्रेय उनै नन्दलाल सुब्बालाई रहेछ । यही साल श्री नन्दलाल सुब्बा मेमोरियल नेपाली विद्यालयको रजत वर्ष पनि रहेछ । लुकसान सभ्यताको पिता नन्दलाल सुब्बाको विरासत बचोस् भन्ने कामना सहित सबैलाई "सेवा रो !" गरेर फिरियो उही कर्मभूमि काठमाडौँमा ।

तान्छोप्पा मासिक, वर्ष २३, अङ्क २, वि.सं. २०७४ फागुन (पे. ३) ।

No comments:

Post a Comment