Thursday, April 23, 2020

याक्थुङ बालसाहित्य

अमर तुम्याहाङ

लेख सार

लामो लेख्य परम्परा भएका नेपालका भाषाहरुमध्ये लिम्बू एक हो । मुन्धुमी शास्त्रीय साहित्यसमेत भएको लिम्बू साहित्य अन्तरदेशीय अर्थात् नेपाल, तत्कालीन सिक्किम र भारत (वर्तमानमा नेपाल र भारत) मा बोलिने भाषा भएकाले नेपालमा राजनैतिक प्रतिकूलताका बाबजुद यस भाषाको साहित्यले छिमेकी मुलुकमा मौलाउने अवसर पायो । नेपालमा २००७ सात सालको क्रान्तिपछिको खुला प्रजातान्त्रिक कालमा यसले अङ्कुराउने अवसर पायो भने २०४६ सालको प्रजातन्त्रको पुनरुदयपछि यसले मौलाउने अवसर पायो । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि मुलुक गणतन्त्रात्मक युगमा प्रवेश गरेपछि अन्य भाषाका साहित्यजस्तै लिम्बू साहित्यले खुला आकाशमा कावा खाने अवसर प्राप्त ग¥यो । नेपाली साहित्य दार्जिलिङबाट फक्रिए फुलेजस्तै लिम्बू साहित्य लेखन कालेम्पुङबाट आरम्भ भयो, सिक्किममा यसले झाँगिने अवसर पायो र नेपालमा फक्रिन पुग्यो । लिम्बू साहित्य प्रायः सबै विधाहरुमा उपलब्ध छ । यस कार्यपत्रमा मूलतः लिम्बू साहित्यअन्तर्गत बालसाहित्यको लेखाजोखा गरिने छ । लिम्बू बालसाहित्यअन्तर्गत मुन्धुमदेखि वर्तमानसम्मको सामान्य इतिहास, मुन्धुमी कथा, लोक कथा, गीतजस्ता लिम्बू बालसाहित्यका प्रकारहरु, कथा, कविता, निबन्ध, नाटकजस्ता बालसाहित्यका विधाहरु, लिम्बू बालसाहित्य प्रकाशनमा भएका प्रयासहरु, सञ्चारमाध्यममा लिम्बू बालसाहित्यको प्रयोगको अवस्था, लिम्बू बालसाहित्य लेखनमा समर्पित बालसाहित्यकारहरु आदि बारेमा यस कार्यपत्रमा  सामान्य सर्वेक्षण गरिने छ । यसका साथै लिम्बू बालसाहित्य विकासका सम्भावना र चुनौतीबारेमा पनि यस कार्यपत्रमा चर्चा गरिने छ ।

विषय प्रवेश

मुन्धुम अनुसार उत्तरमा साया मुदेÞन (चीन—तिब्बत), दक्षिणमा तेमेÞन वलङ (भारतवर्ष), पूर्वमा सुम्रोती उम्रोती (ब्रहमपुत्र) र पश्चिममा थोसु वरुम्मा परुम्मा ओनु योसु पारामावा ककामावा (माथि अरुन बरुनदेखि तल कोसी) (तुम्याहाङ, २०१४ क) भित्र रहेको याक्थुङ लाजे अर्थात् लिम्बुवानमा बसोबास गर्ने लिम्बू जातिको मुन्धुम मूलतः साप्पोक चोमेन (कोख पूजा) र मुन्धुम कथाहरु लिम्बू बालसाहित्यको मूल स्रोत हुन् । लोककथाहरु पनि लिम्बू बालसाहित्यको अर्को आयामको रुपमा लिन सकिन्छ । लिम्बू वर्णमालाहरु निर्माण भई छापिन थालेपछि लिम्बू बालसाहित्यले लिखित रुप लिन थाल्यो । कालेबुङमा लिम्बू भाषा पठनपाठनका लागि सन् १९३८ मा चुम्लुङ निसामहिम खुलेपछि अनि सन् १९६८ मा तत्कालीन सिक्किमका राजा छोग्यालको राजआज्ञाले लिम्बू भाषा प्राथमिक विद्यालहरुमा पठनपाठन गर्ने अनुमति सिक्किम सरकाले दिएपछि सिर्जनात्मक एवम् आधुनिक लिम्बू बालसाहित्य लेखन र पठनको सिलसिला आरम्भ भयो ।

बालसाहित्यको परिचय

बालसाहित्य के हो भन्ने विषयमा विभिन्न बालसाहित्यकार र विद्वान्हरुले आआफ्नै किसिमले अथ्याएको पाइन्छ । बालसाहित्य शब्दावलीलाई अवलोकन गर्दा बालबालिकाले रुचाएर सुत्ने श्रब्य साहित्य र पढ्ने साहित्यलाई नै बालसाहित्य हो भनी बुझ्न सकिन्छ ।

लिम्बू बालसाहित्यको इतिहासः मुन्धुमदेखि वर्तमानसम्म

लिम्बू बालसाहित्य पनि अङ्ग्रेजी बालसाहित्य fables, parables, legends, folk tales, fairy tales, moral stories, rhymes (Awasti et al, 2011:100) बाट सुरु भएजस्तै मुन्धुम कथा, लोककथा, लोरी, लोक गायन आदिबाट सुरु भएको हो ।

लिम्बू बालबालिकाले सबैभन्दा पहिला सुन्ने कथा र गीत बच्चा आमाको गर्भमा हुँदा उसको कुसल मङ्गलका लागि गरिने साप्पोक चोमेन अर्थात् कोख पूजामा पतुरिने सिरिङ्मा, तेन्छामा, खन्जमा, वजमा, तक्सङ्बा, युमासाम, हिम साम्माङ, थेबासाम, आप्चारा पक्चाना, वागङ्मा, माङ्गेन्ना (काइँला, २०४८) आदिको पूजा गर्दा गरिने स्तुति र पुकारका क्रममा आउने कथानक नै हुनुपर्छ ।

यसरी नै लिम्बू बालकले सबैभन्दा पहिला सुन्ने गीत र गीतिलय साप्पोक चोमेनकै अवसरमा माङ्गेन्ना गर्दा फेदाङ्माले स्तुति गर्दा गाउने निम्न हरफहरु हुनुपर्छः
अ) थाङ फुरु फुरु 
        थाङ वेच्छे वेच्छे । (स्फुर्तिका साथ चङ्गा भएर माथि माथि उठ...लेखकीय अनुवाद)
आ) थक् वाःन्दे वाःन्दे 
चु वाःन्दे वाःन्दे चु फुरु फरु
थाःङ्थाःङ् फोङ्सुरो
येप्पित् फोङ्सुरो । शरीर हल्लाउँदै, मर्काउँदै शिर ठाडोबा पारेर उभ्याइदिऊँ । शिर ठाडो पारेर उभिन सकोस् (काइँला, २०४८ः २१—२२)

यसरी नै विश्व ब्रहमाण्डको सृष्टि, माङ्साम्माङ् (देवीदेवता)को सृष्टि, मानव सृष्टि, फेदाङ्मा, येबा/येमा, साम्बाहरुको उत्पत्ति कथा, संस्कारहरु विकाससँग सम्बन्धित मुन्धुमहरु, मानवीय जीवन भोगाइ र अनुभवका आधारमा विकास भएका लोककथाहरु बालबालिकाका मन बहलाउन सुनाइने कथाहरु याक्थुङ बालकथाहरु हुन आउँछन् । नानी सुताउँदा गाइने लोरी अर्को स्रुति लिम्बू बालसाहित्य हो । यसरी नै हाङहरु येत्हाङ (आठ राजा) र थिबोङ्हाङ (दस राजाहरु)को कथा, लिम्बू अङ्सी (सांस्कृतिक विभूति) हरुको कथाहरु पनि लिम्बू बालकथाहरु हुन् जो मौखिक रुपमा बालबाकिलालाई सुत्ने समयमा आमाबुबाले सुनाउने गर्दछन् या हजुरबा हजुरआमाले बालबालिकाहरुलाई आफ्नो वरिपरि भेला गरी सुनाउने गर्दछन् । यसरी बालसाहित्यको क्षेत्रमा लामो समयसम्म श्रुतिपरम्पराको एकछत्र आधिपत्य कायम भयो । पछिल्लो समयमा बालसाहित्य लेखनको परम्परा थालनी भएको छ ।

अङ्ग्रेजी बालसाहित्यको इतिहासमा जोहन विस (Johann Wyss) ले पहिलो पटक सन् १८१२ मा द स्वीस फेमिली रबिन्सन (The Swiss Family Robinson) लेखे पनि १८६५ मा लेविस कारोल (Lewis Carroll) ले लेखेको (Alice's Adventures in Wonderland) पहिलो वास्तविक बालसाहित्यको कृति मानिन्छ । लिम्बू भाषामा लिखित बालसाहित्य कुन हो भनी किटान गर्न गाह्रो छ । यद्यपि बाजवीर थलङ्ले ‘तुम् याक्थुङ निङ्वाफु साप्ला’ याक्थुङ भाषाको वर्णमाला लेख्दा समावेश गरेका रचनाहरुलाई मान्न सकिन्छ ।

पल्लिो समयमा लिम्बू बालसाहित्यका विधाहरुमध्ये बालकविताहरु बढी लेखिएका पाइन्छन् । कथा, नाटक पनि केही सङ्ख्यामा लेखिएका छन् ।

लिम्बू वालसाहित्यका प्रकार
लिम्बू बालसाहित्यलाई सामान्य रुपमा मुन्धुम कथा, लोक (कथा, लोरी, गीत, खेल, गाउँखाने कथा), आधुनिक साहित्यक बाल साहित्यका विधाहरुमा विभाजन गरी हेर्न सकिन्छ ।

क) मुन्धुम बालकथाहरु

मुन्धुमी बालकथाहरु इमानसिंह चेम्जोङले सङ्कलन एवम् सम्पादन गरी प्रकाशित गरेका ‘किरात मुन्धुम (किरातको वेद) (२०१८/२०६१)’, ‘किरात दर्शनको सारांश’ (२०२६/२०५९), ‘किरात मुन्धुम खाहुन’ (सन् १९६५/२००३), ‘किराती दन्त्य—कथा’ (२०२१/२०५९) पुस्तकहरुका साथै धनहाङ सुब्बाले सङ्कलन गरी प्रकाशित गरेको ‘लिम्बुवानका लोककथा’ (२०६५) पुस्तकभित्र ‘मुन्धुमको कथा’ खण्डमा चार वटा कथाहरु रहेका छन् । यसरी नै शिवकुमार श्रेष्ठले सङ्कलन एवम् सम्पादन गरी प्रकाशनमा आएका ‘किराती लोककथाहरु’ (२०४७), किराती लोककथा सँगालो (२०५१) र 'Kirati Folk-Tales' (1999), Melanie Pappadis को 'Limbu Folklore' लक्ष्मी सेर्मा सङ्कलिन ‘किराँत लोककथा’, भाग—१ (२०४८) र ‘याक्थुङ पाङ्खेदा?, लक् थिक (२०५५) लोककथा सङ्ग्रह, वैरागी काइँला सम्पादित ‘सयपत्री’ (पूर्णङ्क १२ स.२०५७) लिम्बू लोककथा विशेषाङ्कमा पनि लिम्बू मुन्धुमी कथाहरु रहेका छन् भने दुर्गाप्रसाद फोपाहाङ सङ्कलित तथा मञ्जुल याक्थुम्बा सम्पादिन ‘मुन्धम र मिथकहरु’ पुस्तकमा धेरै मुन्धुमी कथाहरु रहेका छन् ।

ख) लोक कथाहरु

इमानसिंह चेम्जोङ, धनहाङ सुब्बा, शिवकुमार श्रेष्ठ, लक्ष्मी सेर्मा, वैरागी काइँला, दुर्गाप्रसाद फोपाहाङ, मेलानी पापाडिज आदि सङ्कलित एवम् सम्पादिन माथि उल्लेखित पुस्तकहरुमा धेरै याक्थुङ लोककथाहरु परेका छन् ।

ग) लिजेन्डस्इ

मानसिंह चेम्जोङ सङ्कलित एवम् सम्पादिन ‘किरात मुन्धुम खाहुन’ (सन् १९६५/२००३) मा माबोहाङ, सिरिजङ्गा, योङ्जङ्गा आदि लिजेन्डस्का बारेमा उल्लेख भएका छन् । यसरी नै बी.बी. मुरिङला सङ्कलित एवम् सम्पादिन ‘सोधुङ्गेÞम्बाहा?रेÞ सिवादिङ् खाहुन्हा?’ (१९८९) मा येहाङ, सोधुङ्गेÞन् लेप्मुहाङ, कान्देÞन्हाङ, माबोहाङ, सिरिजङ्गाहाङ, योङ्जङ्गा, त्येÞअङ्सि सिरिजङ्गा (अवतारी सिरिजङ्गा), महागुरु फाल्गुनन्द, इमानसिंह चेम्जोङ जस्ता याक्थुङ भिवभूतिहरुको प्रेरणदायी जीवनीहरु उल्लेख गरिएका छन् ।

बालसाहित्यका विधाहरु

याक्थुङ बालसाहित्यमा अन्य भाषाका बालिसाहित्यका विधाहरु जस्तै कविता, कथा, गीत (गीति क्यासेट समेत), निबन्ध, नाटक आदि रहेका छन् ।

क) कविता

याक्थुङ बालसाहित्यका विभिन्न विधाहरुमध्ये कविता विधा अलि बढी लेखिएको देखिन्छ । बालकविताहरु फुटकर रुपमा निकै धेरै नै लेखिएको पाइन्छ । कविता कृतिकै रुपमा अमर तुम्याहाङको बालकविता सङ्ग्रह ‘सेवारो’ (२०५८) र भवानी तावाको ‘लाबे पम्बम्’ (२०६७) प्रकाशित छन् । नेपाल र सिक्किमका सरकारी विद्यालयमा पडढाइने पाठ्यपुस्तकहरुमा पनि प्रसस्तै बालकविताहरु समावेश गरिएका पाइन्छन् ।

ख) गीत तथा भजन

याक्थुङ बालगीतहरु तथा प्रार्थनाहरु वर्णमाला, विद्यालका पाठ्यपुस्तक, बालसन्दर्भ सामग्री, पत्रपत्रिकाहरुमा प्रकाशित भएका पाइन्छन् । सन् १९३८ मा कालेबुङमा चुम्लुङ स्कुल नाममा स्थापना गरिएको र हाल जम्बुक मेमोरियल स्कुल नामले चिनिने विद्यालयमा स्थापनाकालदेखि हरेक विहान विद्यार्थीले गाउने प्रार्थना गीत सम्भवतः याक्थुङ भाषाको सबैभन्दा धेरै गाइएको प्रार्थना गीत हुनुपर्छ, जुन निम्न अनुसार रहेको छः

नीसाम् माङ् ए सेवारो 
ए नीङ्वा नूबा चोगेÞओ 
हारा माङ् इत्छीःङेÞओ 
नीसाम् माङ् ए सेवारो 
नूबा सक्सक् नागूम्बेÞरो 
सक्सक् मेÞन्ने मेÞगीगेÞरो 
नीसाम् माङ् ए सेवारो ।।

हे विद्याकी देवी प्रणाम
मन पवित्र बनाउ है
ए देवी शीघ्र कल्पिनु है
हे विद्याकी देवी प्रणाम
असल विद्या माग्छौँ है
विद्याबिना मासिन्छौँ है 
हे विद्याकी देवी प्रणाम ।।

नुनुथुङ नामको बालगीति क्यासेट टेकराज तिगेलाको प्रस्तुतिमा एउटै मात्र बजारमा आएको पाइएको छ । यसमा रहेका बालगीतहरु सुनिता सुब्बा, सुशीला सावादेन र डेनी सुब्बाको स्वरमा रहेका छन् ।

ग) बालनिबन्ध

याक्थुङ भाषाका बालनिबन्धहरु मूलतः नेपाल र सिक्किमका सरकारी पाठशालामा पठनपाठन हुने पुस्तकहरुमा छापिएका पाइन्छन् । यसका साथै अमर तुम्याहाङको सम्पादनमा पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको बालसन्दर्भ सामग्रीहरु, भवानी तागाको सम्पादनमा भाषा विकास केन्द्र नेपालले प्रकाशित गरेको ‘हिन्जा?पित्छु’ नामक त्रेभाषिक बालसाहित्य सँगालोमा पनि प्रकाशित रहेका छन् ।

घ) बालकथा

याक्थुङ बालकथाहरु पाठ्यपुस्तक, सन्दर्भ सामग्रीहरु, केही पत्रपत्रिकाहरुमा प्रकाशित रहेका छन् । सिक्किमको सरकारी विद्यालयमा पढाइने कक्षा ७ का लागि ‘खेदा?सुङ’ र कक्षा ८ का लागि ’चक् खेदाÞ’ बाहेक छुट्टै बालकथा सङ्ग्रह प्रकाशित भएको पाइएको छैन । यसरी नै याक्थुङ भाषामा बालउपन्यास पनि प्रकाशित भएको पाइएको छैन ।

ङ) बालनाटक

याक्थुङ बालनाटकहरुमा बी.बी. मुरिङ्लाका ‘लाङ्भङ्गारेÞ पाङ्वाइला’ (१९७७, कक्षा ५ को लिम्बू पाठ्यपुस्तक) र ‘लेÞङ्हङ्’ (१९७८, कक्षा ६ को लिम्बू पाठ्यपुस्तक) रहेका छन् । यसरी नै अमर तुम्याहाङ र डिल्ली लिङ्दमले सहलेखन गरेको पाँच दृष्य रहेको ‘मिसेक्ना’ (तान्छोप्पा, वर्ष ७, अङ्क ५, जेठ र अङ्क ६, असार २०५९) रहेको छ ।

याक्थुङ बालसाहित्य प्रकाशनमा भएका प्रयासहरु

याक्थुङ बालसाहित्य प्रकाशनका लागि सरकारी र व्यक्तिगत प्रयास भएको पाइन्छ । याक्थुङ बालसाहित्य प्रकाशन व्यवसायिक हिसाबले हुन सकेको पाइँदैन ।

सरकारी तवरबाट भएका प्रयास अन्तरगत नेपालको पाठ्यक्रम विकास केन्द्रको पहलमा कक्षा १ देखि कक्षा ५ सम्मका लागिग आनि? पाःन् पाठ्यपुस्तक प्रकाशित भएका छन् । पाठ्यक्रम विकास केन्द्रले ‘माङ्गेन्नारेÞ कुबोक्’ भाग—१ (२०६३), केलाःङ् (साक्थिम नु साम्मलिा), भाग—२ (२०६३) र ‘आनि? चोवासाम्बाहा?’, भाग—३ (२०६३) प्रकाशित गरेको छ । यसरी नै भाषा विकास केन्द्र नेपालजस्तो गैह्रसरकारी संस्थाले पनि ‘हिन्जा?पित्छु’ नामक याक्थुङ बालसाहित्य सङ्ग्रह प्रकाशित गरेको छ ।




यसरी नै सिक्किम सरकारको शिक्षा विभागले प्राथमिक तहका पाठ्यपुस्तकहरु र सन्दर्भ सामग्रीहरु प्रकाशित गरेको छ ।

यसका साथै व्यक्तिगत पहलमा पनि बालसाहित्यका पुस्तकहरु प्रकाशित भइआएका छन् । यस्ता कितावहरुमा माथि उल्लेख भएका ‘सेवारो’ बालकविता सङ्ग्रह, ‘लाबे पम्बम्’का साथै रानीटारे साइँलाको कविता सङ्ग्रह ‘कुहोप्मिरेÞन् लाङ्गाङहा?’ (२०६९) मा प्रकाशित ‘पङ्वाःन्दुङ’ शीषर्कको कविता आदि पर्दछन् ।

सञ्चारमध्यममा लिम्बू बालसाहित्य

सञ्चार माध्यम भन्नाले रोडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट आदि पर्दछन् । यस प्रकारका सञ्चार माध्यमहरु मध्ये रेडियो, टेलिभिजन, इन्टरनेटजस्तो माध्यममा याक्थुङ बालसाहित्य प्रकाशित एवम् प्रशारित भएको पाइएको छैन । पत्रपत्रिकाहरुमध्ये तान्छोप्पा, गोरखापत्र नयाँ नेपाल लिम्बू भाषा पृष्ठ, भवानी तावा सम्पादित ‘हिन्जा?’ पत्रिका, मुक्साम लाओती सम्पादित ‘हिन्जा? फुङ्इक्’ आदि पत्रपत्रिकामा याक्थुङ बालसाहित्यका सामग्री प्रकाशित हुँदै आएका छन् ।

अनुवाद

याक्थुङ भाषामा अनुवादको काम निकै भएका छन् । तर बालसाहित्यको विषयमा भने अनुवादको काम त्यति हुन सकेको छैन । खस नेपाली भाषाबाट मेरी सानी (श्यामप्रसाद शर्मा, अनु. वीर बहादुर लिम्बू, वि.सं. २०५९) र अङ्ग्रेजीबाट लिम्बू भाषामा अनुदित कृति गुलिभर्रेÞ लाम्दिःक् (जोनाथन स्विप्mट, अनु. बी.बी. मुरिङला, सिक्किम) रहेको छ । यसरी नै अङ्ग्रेजीमा लेखिएको बाल उपन्यास ब्मखभलतगचभ या ब ल्भउबष् िँचयन (कनमणि दीक्षित, अनु. अमर तुम्याहाङ, वि.सं. २०५८) लिम्बू भाषामा अनुवाद भएको छ ।

बालसाहित्यकार

याक्थुङ बालसाहित्य लेखनमा समर्पित स्रष्टाहरुको सङ्ख्या निकै ठूलो रहेको छ । बालसाहित्यमा कलम चलाउने साहित्यकारहरुमा सबाजवीर थलङ, इमानसिंह चेम्जोङ, पदमसिंह मुरिङ्ला, बी.बी. मुरिङ्ला, येहाङ लाओती, अमर तुम्याहाङ, भवानी तावा, थाम्सुहाङ पुष्प सुब्बा, हाङ्वासाङ् याक्थुङ्बा, लक्ष्मी सेर्मा, सेमिक्लुङ लाओती, मलिसा याक्थुङ्बा लिम्बू, सेसेहाङ फियाक, सेसेमी सेरेङ लिम्बू, पापो कविराज सेर्मा, पुष्पहाङ लोवा फुङ्हाङ, यलम्बर मिक्वा, कुसुम हिक्की, राज माङ्लाक, विनोद कुगेनाम्बा, सेसेफुङ सेर्मा, नीरु एलन हाङ्सरुम्बा, हाङ्सेन सेर्मा, अनु लाओती र हरिराज लोवा रहेका छन् । यसरी नै अन्य याक्थुङ बालसाहित्यकारहरुमा राधिकार हुक्पा चङ्बाङ ‘नाम्फुङ’, लिला सिङ्गक, भीमा खजुम, फुङ्सा पन्धाक, विष्णु सेत्लिङ्, इमाहाङ सेत्लिङ, मोहन फुरुम्बो, रानीतारे साइँला, चन्द्र योङ्या, इन्दु फोम्बो, भित्रागी काइँला, केदेम सेरेङ कुमारी सुभा, श्याम चबेगु, सावन फुरुम्बो, तेन्जिङ तापेली, अइन्द्रसुन्दर नेम्बाङ, स्वप्नील स्मृति, विक्रम सुब्बा, डिल्ली लिङ्दम, कमला आङ्देम्बे, सूर्यमान सिरेङ, निशेष आङ्देम्बे, राजभक्त चेम्जोङ, रणबहादुर मेन्याङ्बो, वैरागी काइँला, भीमा खजुम ‘मुसुम’, दिलेन्द्र कुरुम्बाङ, खड्ग मेन्याङ्बो आदि रहेका छन् ।

निष्कर्ष 

याक्थुङ भाषामा बालसाहित्य लेखनको काम केही मात्रामा भएका छन् । यद्यपि कविता र कथाबाहेक अन्य विधामा कृतिहरु प्रकाशित भएका छैनन् । सञ्चार माध्यम मूललः रेडियो, टिभी आदिमा याक्थुङ बालसाहित्यको पहुँच पुग्न सकेको देखिँदैन । सरकारी निकायहरुले केही काम त अवश्य गरेका छन् तर त्यो प्रयाप्त देखिँदैन । बालसाहित्य स्रष्टाहरुको प्राथमिकताको विषय बनेको देखिँदैन । यसो भए पनि राज्य र सम्बन्धित भाषी स्रष्टाको ध्यान गएमा याक्थुङ बालसाहित्यको विकासको सम्भावना प्रसस्त रहेको छ ।

सन्दर्भ समग्री 

काइँला, वैरागी (२०४८), लिम्बू जातिमा कोख—पूजा, नेपाल राजीय प्रज्ञा—प्रतिष्ठान, कमलादी, काठमाडौँ । 
सुभा, बी.बी. मुरिङला नुगो तथा सुभा, मोहन फुरुम्बो (१९८९), सोधुङ्गेÞम्बाहा?रेÞ सिवादिङ खाहुन, शिक्षा विभाग, सिक्किम सरकार, सिक्किम । 
तुम्याहाङ, अमर (२०७०), लिम्बु साहित्य निर्माणको इतिहास, याक्थुङ् साप्सक आकादमी, शङ्खमूल तथा आदिवासी जनजाति उत्थान राष्टिÞय प्रतिष्ठान, जावलाखेल ।
तावा, भवानी (सं) (२०६९), हिन्जा?पित्छु, भाषा विकास केन्द्र, नेपाल । 
Awasthi, Jai Raj, Bhattarai, Govinda Raj and Khaniya, Tirtha Raj (Ed.) 2011. Explorations in English. Ratna Pustak Bhandar, Kathmandu. 

No comments:

Post a Comment