Wednesday, April 22, 2020

इमानसिंह, वर्तमान र शून्यसमय

अमर तुम्याहाङ
– हेल्लो ...! (सन्ध्या सन्नाटा चिर्दै आएको फोन घण्टी पछिको आवाज ।)
– हेल्लो, को बोल्दै हुनुहुन्छ ...?
– नमस्कार है सर ...!
– मैले त राम्रो ठम्याउन सकिनँ नि ...?
कवि नवराज वर्तमान*
– म 'वर्तमान' (हल्का हाँसो ।)
(प्रति उत्तरमा हाँसो ।) सरी है, चिन्न नसकेकोमा ! किन सम्झिनु भयो त ?
– होइन, एउटा विचारप्रधान आलेख लेख्नुप¥यो इमानसिंह चेम्जोङमाथि, माटोको लागि ...।
– ओ हो ! म असमर्थ छु सर, यस्तो लेख लेख्न ...। (मलाई लेख लेख्ने भन्ने वित्तिकै डर लाग्छ । त्यसमा पनि विचारप्रधान भनेपछि त सातै जान्छ ।)
– लेख्नै प¥यो, जसरी भए पनि । (उहाँको जोड ।)
– विचारप्रधान त होइन, केही शब्दहरू लेख्न प्रयास गरौँला ...। (कुरा सुरु गर्दै कुराकानी अन्त्य ।)
*** ***

आलिङ्गन अयोग्य
सहवास अयोग्य
निकम्मा पौरुष
वर्तमान
वर्तमानमा 
वर्तमानसामु 
आलिङ्गनमा मर्दको अभिनय गर्छ – हिजडा 
थुः वर्तमान 
(छिः वर्तमान ... गरिमा, पूर्णाङ्क २५२ मङ्सिर, २०६०)

वर्तमानजी ! तपाइँ वर्तमान, म वर्तमान वा विचारको खेती गर्ने जोकोही वर्तमान, मर्द होइन मर्दको अभिनय गर्ने हिजडा हौँ, फगत हिजडा, यथार्थ अभिनय र अभिनय यथार्थ हुने यो समयमा । अझ भनौँ विवेक संहारको वेदीमा शस्त्रास्त्रको राज्यमा विचारको बली दिएर रगतको टेथिस गासर सिर्जिएको यो बेला केको विचार, केको विवेक ? यी कुरा भालुलाई पुराण जस्ता हुन् कि जस्तो लाग्छ । रिकुटेहरूले लाएको अराजकता र बेथितिका बुटहरूको जाँतोले साधु र सज्जनहरू पिसेर मैदा बनाए पनि निर्सङ्स आदेशहरू मुल्तवी गर्ने रोबोटहरूले बोकेको बन्दुक–राइफलको ढिकीले निर्दोस र अवोधहरू कुटिए वा भुटिए पनि सङ्गीनले उनिए पनि यातनाका चेम्बरभित्र राखिएर बेपत्ता पारिएर थाहा छैन भनेर झ्याली पिटिए पनि विचारको खेती त लाउनै पर्छ, औँसी रातको जुनकिरीहरूले । तर वर्तमानजी, वर्तमानमा विचारको खेती मर्दको काम जस्तो नभएर “मर्दको अभिनय” जस्तो मात्र छ किन भने समयको वर्तमान डबली समयको भयानक शून्यतामा छ ।
*** ***

पौने शताब्दीअघि इमानसिंह चेम्जोङले पुनः परिकल्पना गरेको लिम्बुवान राज्य, त्यहाँको स्वायत्त–स्वतन्त्र शासन व्यवस्था, प्रत्येक मातृभाषामा शिक्षा, दबाइएका/डढाइएका इतिहास र ती इतिहास वर्तमानमा ब्युँझाउने कुरा यतिखेर कति सम्भव वा असम्भव छन् ? यी अनुमानका विषय हुन्, स्वार्थसिद्धिको यो जमानामा । 'किरात इतिहास' लेखी प्रकाशन गरेबापत सिक्किम सरकारबाट क्वारन्टिनमा परेका इमानसिंह, संस्कृति जगेर्ना र समाज सुधारको अभियन्ता जो त्यस वेला ढोकाबाहिर बसेर खाना खान विवस इमानसिंह, स्वधर्मको कुरा गर्दा क्रिस्चियन भनी तिरस्कृत युमाभक्त इमानसिंह, भाषा विकास र जगेर्नाको अनुनय गर्दा गैहमातृभाषी आरोपित इमानसिंह, जाति सेवामा होमिएर स्वजनबाट बहिष्कृत इमानसिंह । कुन इमानसिंहको कुरा लेखौँ ? कुन इमानसिंहको चर्चा गरौँ ? इमानसिंहको कुन विचारको कुरा गरौँ ? तथ्यहरू पस्किँदा प्रत्येक खलपात्रका सहस्र चोर औँलाहरू ठडिनेछन्, चुनौति बनेर । हो यतिखेर उहाँले उठाएका खास्साका सिद्धान्तहरू शासकलाई पच्दैन अनि उहाँका दुःखका गाथा गाए उहाँविरुद्धका तत्कालीन खलनायकहरूलाई सहय हुँदैन किनभने अहिले तिनै पात्रहरू उहाँका खाँटी प्रशंसक, तिनै उहाँका नामको पुच्छर समाएर वैतरणी तर्ने आत्महरू । प्रशंसाको लेप लगाएर कसैलाई समधुर बनाउनु, गुणगानको छोइछिटो हालेर कसैलाई पवित्र पार्नु इमानसिंहमाथिको बेइमानसिंह हुनु झन दुःखद हुनेछ, वर्तमानजी ! त्यसैले कुराले उहाँको विचार बक्नुभन्दा कलमले उहाँको सिद्धान्तको पुनःलेखन गर्नुभन्दा उहाँको बाटोमा मौनमौन हिँड्नु बढी आनन्ददायक हुनेछ जसरी तपाइँ अनुभूतिमा हिँजो हिँड्नुभयो, अनि माटो टेकेर मुन्धुमका आदिम गरा गर्खाहरूमा पाइला राख्दै आज पारुहाङ र सुम्निमाको बस्तीतिर लम्किरहनु भएको छ ।

यतिखेर तपाइँको आग्रह पूरा भयो वा भएन । त्यो त मलाई थाहा छैन । इमानसिंह चेम्जोङलाई सम्मान गर्न आफ्नो अनुभूति होइन अरूका शब्द–सम्झनाहरू सापटी लिन जायज छ, मेरो ब्रह्म–मननमा, यसरी : ह्याट तोपीको भाकामा नोवलकिशोरको आँखामा इमानसिंह किरात साहित्यका चस्मा हुन्, बैरागीको आयाममा इमानसिंह किरात साहित्यका भानुभक्त र इतिहासकार बाबुराम हुन्, अनि सुयोसीको जापानी आँखामा इमानसिंह मातृभाषा शिक्षाका जन्मदाता र प्रेरणाका अथाह खानी हुन् । पदमसिंहको हेराइमा इमानसिंह हिमवत् खण्डका किरात सभ्यताका अन्वेषक–कोलम्बस हुन्, बी.बी.को विचारमा उनी जनजाति साहित्य, इतिहास, धर्म, संस्कृति, राजनीति–चिन्तन, सिद्धान्तकार सबैसबै हुन् ।

वर्तमानजी ! विचारशून्य समयको विचारशून्य पात्र म अर्थात् मैले विचारप्रधान होइन 'इमानसिंह, वर्तमान र शून्यसमय' (मेरो लागि मात्र) पस्केँ, बेढङ्ग र बेकाइदासँग, माफ गर्नुहोला ।

तस्बिर सौजन्य : गणेश वाम्बुले राई । 

स्रोत : माटो, विचार र संस्कृति प्रधान मासिक, वर्ष १, अङ्क ३, २०६० मङ्सिर –पुस, पेज २८ । 

No comments:

Post a Comment