Friday, April 17, 2020

छ्योज्यप अर्थात् निर्माणाधीन समर्पणको प्रतिमूर्ति

अमर तुम्याहाङ

नामकै गन्थन 

"तपाइँको नाम 'छेजाप' शब्दको अर्थ के हो ?" भन्ने प्रश्नको जवाफमा ‘छेजाप’जीले आफ्नो नामको इतिहासको पुन्तुरा खोल्नुभयो । उहाँको नाम राख्ने बेलामा लामाहरूबीच विवाद भयो रे - यो नाम राख्ने कि त्यो नाम राख्ने भनेर । अन्त्यमा मूल लामाले नाम राखिदिए रे - छ्योज्यप । खस नेपालीमा छ्योज्यपको अर्थ अर्पण अथवा सर्मपण हुन्छ रे । उहाँ अहिले ल्होमी समाजको सेवा मार्फत सिङ्गो मुलुकको सेवा अर्थात् मानव समुदायको सेवामा समर्पित हुनुभएको छ र छ्योज्यप अर्थात् छेजाप शब्दको भाव उहाँको कर्मबाट जाज्वल्यमान भइरहेको प्रतीत हुन्छ ।
Chhejap Thikepa Lho


टार्नै नसकिएको विस्तारवादी राज्यसेपको कुरा 

यहाँ 'छेजाप ल्होमी'को सामान्य कखरा चिनारी लेख्ने क्रममा उहाँकै नामको थप प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक हुन्छ जुन निकै रोचक पनि छ । छ्योज्यप शब्द खस नेपाली बोल्ने जनजिब्रोले छेजाप उच्चारण गर्दो हो । त्यसैले उहाँ विद्यालयमा पढ्न जाँदा उहाँका गुरु गुरुआमाले 'छ्योज्यप' नाम उच्चारण गर्न जानेन् र भनिदिए 'छेजाप' र कालान्तरमा उहाँको नाम बन्यो 'छेजाप' । थरको कुरामा पनि गजबकै प्रसङ्ग छ- धेरैजसो नेपाली आदिवासी जनजाति वा खस इतर जातिको सन्दर्भमा । जस्तो लिम्बु कै कुरा गरौँ कि लिम्बुहरूले आफूलाई आफ्नो लिम्बु भाषामा आफूलाई 'लिम्बु' कहिल्यै भन्दैनन्— याक्थुङ भन्छन्, सुनुवारले 'कोँइच' भनेजस्तै । यस्तै यस्तै उदाहरणहरू बर्गेल्ती छन् । यही दशा बेहो¥यो 'ल्होकेत' जाति जनाउने शब्दले पनि र बन्यो खस भाषीहरूको जिब्राले उच्चारण गर्न मिल्ने 'ल्होकेत'ले रूप फे¥यो 'ल्होमी' बनेर । नागरिकता लिने क्रममा अर्को लफडा सुरु भयो थर वा जातिको नाम लेख्ने कुरामा । जब छ्योज्यप ल्होकेत जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन पुग्नुभयो अनि त्यहाँ बसेका मठाधीशले खस जिब्रो अनुसार नयाँ रूप धारण गरेको उहाँको ल्होमी जात जनाउने शब्दले पनि ठाउँ पाएन र बन्यो भोटे । यस्तै राज्यको छेपुवामा परेर 'छ्योज्यप ल्होकेत' बने 'छेजाप भोटे' । तर उहाँले आफ्नो स्वतन्त्रतालाई उपयोग गर्दै साहित्यिक नाममा चाहिँ बाध्यता र स्वतन्त्रता दुवैको संयोजन गरेर 'छेजाप तिकेपा ल्होमी' बनाउनु भयो ।

आमा ल्हानाङ् ल्होमी नुप्पा र पापा जोम्ब ल्होमी थिकेपाका सुपुत्र छेजापको जन्म २०३२ असार १५ गते सङ्खुवासभा जिल्ला, हटिया गाविस वडा नम्बर ३ पाङ्दोक गाउँमा भएको हो ।
Pangdok Lungba, Pangdok valley


सन् १९९४ मा अरूणोदय माध्यमिक विद्यालय चेपुवा—३, सङ्खुवासभाबाट एसएलसी गरेका छेजापले महेन्द्ररत्न क्याम्पस ताहाचलबाट १९९६ मा आइएड, धनकुटा बहुमुखी क्याम्पस धनकुटाबाट सन् २००१ मा स्नातक र पाटन बहुमुखी क्याम्पसबाट सन् २००५ मा सामाजशास्त्र मानवशास्त्रबाट स्नातकोत्तर गर्नुभएको छ ।

एसएलसी उतीर्ण गरे लगतै सरकारी जागिर खाने ज्वरो छेजापमा निकै चढे पनि आफूलाई सिफारिस गर्ने कोही नभएपछि कहिले शिक्षण पेशामा अलमलिए त कहिले सानातिना स्थानीय ग्रैह्रसरकारी संस्थाहरूमा संलग्न भएर काम गर्दै अगाडि बढे । गैह्रसरकारी संस्थाहरूमा काम गर्ने सिलसिलाले उहाँ सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदवारी, पर्सा, पोखराजस्ता मुलुकभित्रका विभिन्न ठाउँमा पुग्नुभयो, रहनुभयो, बस्नुभयो र नयाँ अनुभव आर्जन गर्नुभयो । यही समयमा मुलुकमा भएका उथलपुथलकारी आन्दोलनहरूले उहाँमा समाज परिवर्तनका लागि आफ्नो समय समर्पित गर्ने इच्छा जागृत भयो र ल्होमी जातिको भाषा, साहित्य, संस्कृति, शिक्षा आदि क्षेत्रमा स्वतस्फूर्त किसिमले काम गर्न थाल्नुभयो । आफ्नो जीवनको उर्वर समय समाजसेवामा समर्पित गरिरहनुभएका छेजाप ल्होमी (ल्होकेत)को व्यक्तित्वका केही आयामहरू बारेमा यहाँ उकेरा लगाउने प्रयास गरिएको छ ।

लेखकका रूपमा छेजाप ल्होकेत 

अहिलेसम्म बनेको छेजाप ल्होकेतको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व भनेको लेखक व्यक्तित्त्व हो । लेखनमा पनि मूलतः पाठ्यपुस्तक लेखनमा उनको सबैभन्दा लोभलाग्दो योगदान देखिएको छ । ल्होमी-खस नेपाली द्विभाषिक साक्षरता कार्यक्रम २०६६ मा सुरु भएपछि आवश्यक परेको आधारभूत साक्षरता पुस्तकहरू तयार गर्ने क्रममा छेजाप ल्होकेतले साक्षरता पुस्तकहरू लेख्न तथा सम्पादन गर्नथाल्नुभएको पाइन्छन् । यस प्रकारका पुस्तकहरूमा 'क ग आमे लोप्स धाङ्बु' (ल्होमी भाषामा अनौपचारिक प्रौढ शिक्षा किताब भाग १, २०६७) तथा 'क ग आमे लोप्स ङिब' (ल्होमी भाषामा अनौपचारिक प्रौढ शिक्षा किताब भाग २, २०६७) रहेका छन् । यिनै दुई वटा आधारभूत पुस्तकहरूको आधारमा अनौपचारिक शिक्षा हासिल गरेका विद्यार्थीहरूका लागि 'ल्होकेत्ल रुङ् धाङ् लु' भाग १, २ र ३ को लेखन, संयोजन र सम्पाद पनि छेजापले गर्नु भएको पाइन्छ जुन पुस्तकहरू नेपाल ल्होमी समाजले २०६७ मा प्रकाशित गरेको छ । यी पुस्कतहरू अनौपचारिक शिक्षाका लागि तयार भएका पाँच महिने प्याकेज सामग्रीहरू हुन् ।

यसरी नै ल्होमी अनौपचारिक शिक्षाको तीन महिने बृजिङ पुस्तकहरू पनि उहाँले लेख्नु भएको छ । यस प्रकारका पुस्तकहरूमा 'सरल नेपाली शिक्षा' (द्विभाषिक ल्होमी नेपाली अनौपचारिक शिक्षा किताब, २०६७) र 'घोम्ब साम्ब' (नेपाली ल्होमी ब्रिजिङ प्राइमर, २०६७) रहेका छन् ।

छेजाप ल्होकेतकै संयोजन, सहलेखन, सम्पादन, व्यवस्थापनमा अनौपचारिक शिक्षाको एड्भान्स कोर्सका पुस्तकहरू पनि तयार भएका पाइन्छन् । यस प्रकारका पुस्तकहरूमा 'Beginner English' (Lhomi-Nepali Advance Literacy course, 2011), English For Beginner Extra Exercise (2012), 'सामाजिक, विज्ञान तथा स्वास्थ्य वातावरण' (एडभान्स साक्षरता कोर्स, २०६८), 'सरल गणित' (एडभान्स साक्षरता कोर्स, २०६८) र 'सरल नेपाली' (एडभान्स साक्षरता कोर्स, २०६८) रहेका छन् । यसरी नै छेजाप ल्होकेतले अनौपचारिक शिक्षामा आधारित बहुभाषिक पात्रो २०६७ देखि हालसम्म निरन्तर लेखन तथा सम्पादन गर्नुभएको पाइन्छ ।

ल्होमी भाषाको विकास तथा स्तरीकरणका लागि पनि उहाँले अनुसन्धान गरी पुस्तकहरू लेख्नु भएको पाइन्छ । यस प्रकारका पुस्तकमा 'ल्होमी अल्फाबेट चार्ट' (२०६९) लाई लिन सकिन्छ । लाम टाच्युङ र खेवा दोच्र्यीले लेख्नु भएको र उहाँकै संयोजन, सम्पादन र व्यवस्थापनमा तयार भएको अर्को ल्होमी वर्णमाला पुस्तक 'ल्होयीक क क आम' (२०६९) रहेको छ । उहाँले नै संयोजन, लेखन, सम्पादन रहेको अर्को ल्होमी भाषाको स्वास्थ्य शिक्षाको पुस्तक हो ‘घन्ड सगेन घन्ड मित्सगेन’ (२०६७) ।

छेजाप ल्होकेतले ल्होकेत समाजमा विद्यमान प्रयोगमा रहेका परम्परागत गीत, नाच, लोककथाहरू पनि सङ्कन एवम् लेखन गरी प्रकाशन गर्नुभएको छ । यस प्रकारका पुस्तकहरूमा ‘ल्होमी  ज्यीतगी लु धाङ स्यप्र’ (२०७०) र 'ल्होमी ज्यीतगी रुङ' (ल्होमी जातिको लोककथाहरू भाग १, २०६९) रहेका छन् ।

'विश्वव्यापी मानव अधिकार घोषणापत्र' सन् २०१३ मा ल्होमी भाषामा अनुवाद गरेर उहाँले अनुवादको क्षेत्रमा पनि हात हालेका छेजाप ल्होकेतका सम्पादनमा पनि निकै कृतिहरू प्रकाशित भएका पाइन्छन् । यस प्रकारका सामग्रीहरूमा 'भिज भिरुक्की रुङ' (ल्होमी बालकथा सङ्ग्रह, २०६९), 'ल्होमीगी लु धाङ रुङ घायेत' (ल्होमी गाउँका गीत र कथाहरू भाग १, २ र ३), 'ताम्गी पि ले दिम्ब मित' (ल्होमी भाषाका उखान टुक्काहरू, सङ्कलक जेम्स ज्युमिक ल्होमी, २०६७), 'किप्प दुक्प मिजिलः नेन्स्येत' (ल्होमी भाषाका कविता सङ्ग्रह, २०६७) रहेका छन् ।

अनुसन्धानकर्ताका रूपमा छेजाप ल्होकेत

नेपाल प्रज्ञा प्रतिष्ठानको बहुभाषिक पत्रिका सयपत्री, नेपाल राष्ट्र व्याङ्कले प्रकाशित गर्ने साहित्यिक पत्रिका मिर्मिरे, गोरखापत्र दैनिक, कान्तिपुर दैनिक जस्ता पत्रपत्रिकामा ल्होमी जातिको चिनारी, भाषा, संस्कृति आदि विषयमा खोज तथा अनुसन्धानमूलक उनका लेख रचनाहरू प्रकाशित भएका पाइन्छन् ।

सामाजिक अभियन्ताको रूपमा छेजाप 

अहिलेको समाज दिनानुदिन व्यक्ति केन्द्रित हुँदै गइरहेको छ । समूहिकताभन्दा पनि व्यक्तिगत फाइदा, व्यक्तिगत हित, व्यक्तिगत विकास, व्यक्तिगत प्रगति, व्यक्तिगत उपलब्धि, व्यक्तिगत स्वार्थ जस्ता विषयमा धेरैजसो मानिसको ध्यान केन्द्रित भइरहेको छ र समाज एक किसमिले व्यक्ति केन्द्रित बनिरहेको छ । यो आजको करिब आम सामाजिक परिवेश हो । यस्तो परिवेशमा समाजसेवी मानिसहरू मरुधान जस्तै हुन्छन् । समाज सेवा अवश्यमेव अरूको भलाइका लागि निःशुल्क समर्पित हुने कर्म हो । यस्तै कर्ममा समर्पित सीमित पात्रहरूमध्ये ल्होकेत समाजका उदियामान समाजसेवीका रूपमा छेजाप ल्होकेतको व्यक्तित्व विकास भइरहेको छ; यसर्थ छेजाप ल्होकेतको व्यक्तित्वको एउटा उदियमान पाटो समाज सेवा पनि हो । छेजाप ल्होकेत आदिवासी जनजातिहरूको हक अधिकारका लागि पनि त्यतिकै समर्पित अभियन्ता हुनुहुन्छ ।

छेजाप ल्होकेत २०६३ मा स्थापित नेपाल ल्होमी समाजका संस्थापक महासचिव हुन् भने ल्होमी (शिङ्साबा) कल्याण केन्द्रको महासचिव (२०६७—२०७०) र २०७० देखि केन्द्रीय उपाध्यक्षका रूपमा रहेर शिङ्साबा समाजको सेवामा समर्पित रहेका छन् । यसरी नै ल्होमी (शिङ्साबा) सञ्चार सङ्घको संस्थापक अध्यक्षका साथै सगोल नेपाल संस्था पोखरा, द इस्ट पाउन्डेसन, नेपाली राष्ट्रिय भाषाहरू संरक्षण संस्था समेतको सदस्यहको रूपमा रहेर सम्बन्धित क्षेत्रमा आफ्नो सेवा प्रदान गरिरहनु भएको छ ।

ल्होकेत सञ्चार अधियाकर्ताको रूपमा छेजाप 

छेजाप ल्होकेतले २०६६ फागुनदेखि गोरखापत्र दैनिकमा प्रकाशित नयाँ नेपाल, ल्होमी भाषा पृष्ठको संयोजक रही सञ्चारकर्मीका रूपमा निरन्तर काम गरी आउनु भएको छ । ल्होमी भाषामा प्रकाशित हुने एकमात्र अर्धवार्षिक पत्रिका 'थोराङकाच्येन छाक्पर' को २०६८ बाट निरन्तर सम्पादन तथा प्रकाशन पनि उहाँले गरिआउनु भएको छ । उहाँले ल्होमी अर्थात् ल्होकेत समाजमा सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूलाई सङ्गठित गरी ल्होकेत सञ्चारको विकास गर्ने कार्यको पनि अगुवाइ गरिआउनु भएको छ । यस कार्यलाई संस्थागत गर्नका लागि उहाँकै अध्यक्षतामा ल्होमी (शिङ्साबा) सञ्चार सङ्घको गठन भएको छ ।

कदर तथा सम्मान 

छेजाप ल्होकेत (ल्होमी)ले मातृभाषा साहित्य, मातृभाषा शिक्षा, मातृभाषा सञ्चार, संस्कृति क्षेत्रमा गर्नुभएको योगदानका साथै समाज परिर्वतनका लागि उहाँको गर्नुभएको स्वयम् सेवाको करद गर्दै विभिन्न सङ्घ संस्थाहरूले उहाँलाई कदर तथा सम्मान गरेका छन् । विशेष गरी ल्होमी बहुभाषिक शिक्षामा काम गरेवापत भाषा विज्ञान समाज नेपालले सम्मान र एसिया बहुभाषिक नेटवर्क ग्रुप ब्याङ्कक थाइल्यान्डले प्रशंसापत्र प्रदान गरेर उहाँको योगदानको प्रशंसा गरेको छ । सङ्खुवासभा जिल्ला शिक्षा कार्यालयको सिफारिशमा २०६७ सालको राष्ट्रिया शिक्षा दिवसमा उहाँ नेपाल सरकारको शिक्षा मन्त्रालयबाट सम्मानित हुनुभएको छ । ल्होमी जातिको सामाजिक संस्था ल्होमी (शिङसाबा) कल्याण केन्द्रको २०६६ मा खाँदबारीमा सम्पन्न पहिलो राष्ट्रिय अधिवेशनमा उहाँ सम्मानित हुनु भएको छ । यस प्रकारका प्रशंसा, कदर र सम्मानहरूले समाज सेवामा समर्पित छेजाप ल्होकेल (ल्होमी) आफूलाई उर्जा प्रदान गर्ने र निरन्तर स्वजातीय भाषा, संस्कृति, शिक्षा, समाजसेवामा समर्पित हुने प्रेरणा प्राप्त हुने गरेको बताउनु हुन्छ ।

विकट पहरामा उम्रिएको पाखनवेदझैँ छ्योज्यप ल्होकेत

राज्यको आडमा रहेको ढ्याके भाषा, धर्म, संस्कृतिको एकलजातीय सेप, भौगोलिक दूरगमताको मार भाषिक, सामाजिक, सांस्कृतिक सङ्क्रमणको हैरानीको विकट पहरामा उम्रिएका नेपाली समाजको विकास र तन्दुरुस्तीका लागि ओखतीजन्य पाखनवेदझैँ लाग्छन् समावसेवी छ्योज्यप ल्होकेत अर्थात् छेजाप ल्होमी । हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ हरेक सङ्कट वा समस्यामा उज्ज्वल सम्भावनाहरू त्यतिकै मात्रमा हुने गर्दछन् र सोही सम्भावनाको गोरेटो भएर मानव समाज अगाडि बढ्छ । यस्ता सम्भावनाका संवाहकहरू त हुने नै गर्छन् । यस्तै नेपाली समाजका संवाहकहरूमध्ये ल्होमी समाजमात्र होइन सिङ्गै नेपाली समाजको रूपान्तरणका संवाहक हुन् सक्ने प्रसस्त सम्भावना छेजाप ल्होमीमा विद्यमान रहेको छ । आशा र कामना गरौँ कि छेजाप ल्होमीमा रहेको यो प्रतिभावान व्यक्तित्व हामीबिच फुलोस् र हाम्रो समाज सुवासित होओस् ।


No comments:

Post a Comment