Friday, June 5, 2020

हङकङ चुम्लुङको एक मात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बूभाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो – अविचन्द्र इङनाम लिम्बू

हङकङ चुम्लुङको एक मात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बूभाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो 

– अविचन्द्र इङनाम लिम्बू, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ, हङकङ
  

अविचन्द्र इङनाम लिम्बू पानुदिङ दलधोज र मानुदिङ जगमाया को सन्तानको रूपमा ०१६ साल पौष ७ गते तेह्रथुम जिल्ला इवा गाविसको यावनमा जन्मनुभएको हो । ०२७ देखि घरछेउको धुले स्कुलमा कखरा सुरु गरेका उहाँले त्रि–मोहन मा.वि. सङ्क्रान्ति बजारबाट ०३५ सालमा एसएलसी उतीर्ण गर्नुभएको हो । गाउँमा कुटोकोदालो गर्दै पढेका अविचन्द्रले एसएलसी पास गर्नु लगतै ताप्लेजुङको ओलाङचुङगोला याङमा प्रा.वि.मा पढाउन र चुहानडाडा क्याम्पस तेह्रथुममा पढ्ने एकै समयमा सुरु गरे । तर दाल–भात–डुकुको लागि सङ्घर्षमा होमिएका उहाँले नियमित रूपमा क्याम्पस पढ्न पाउनुभएन । पछि गएर उहाँले महेन्द्र क्याम्पस धरानबाट प्राइवेट परीक्षा लेखेर आईए उतीर्ण गर्नुभयो । यही क्रममा आफ्नो गाउँ शिक्षाबाट वञ्चित भएको देखेर उहाँले आफ्नो पहलमा श्री केलिङ प्रा.वि. पनि स्थापना गर्नुभयो –त्यसको संस्थापक प्र.अ. भएर । ०४६ सालसम्म लगातार त्यही केलिङ प्रा.वि.मा अध्यापन गर्नुभएका उहाँले ०४६ देखि ०५२ सम्म श्री जलसिंह प्रा.वि. ह्वाकुमा अध्यापन पनि गर्नुभयो । यसपछि ०५२ मै हङकङतिर लाग्नुभएका उहाँ हाल इन्टरनेस्नल नेदरल्यान्ड ग्रुपमा कार्यरत हुनुहुन्छ । ०५७ देखि कियाचु हङकङको अध्यक्ष हुनुभएका अविचन्द्र इङनाम गत २००२ मार्च १७ को चुम्लुङ अधिवेशनबाट पुनः अध्यक्षमा चुनिनुभएको छ । हालसालै उहाँ हङकङबाट नेपाल आउनुभएको समयमा तान्छोप्पाका लागि लिइएको अन्तरवार्ताको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ । 

तपाइँ स्थायी शिक्षक कसरी विदेशिन पुग्नुभयो ? 
– हो मैले निक्कै स्कुलहरूमा लामो समयसम्म अध्यापन गरेँ । २०४५  सालमा स्थायी पनि भएँ । तर मैले शिक्षण पेशा छोडेर विदेशिन पुगेँ ।

म विदेशिनुमा २०४६ सालपछिको राजनैतिक परिवर्तनले ल्याएको नकरात्मक पक्ष जिम्मेवार छ । हामी स्वभावैले देश र जनताको विकास र संवृद्धिको लागि काम गर्न चाहन्छौँ । म पनि आफ्नो देश र समाज भनेपछि हुरुक्कै हुने मानिस हुँ । तर नेपालमा बहुदलीय व्यवस्था आएपछि राजनैतिक पार्टीहरूले यसलाई गलत ढङ्गले प्रयोग गरे ।

बहुदल आएपछि इच्छा अनुसारको पार्टीमा लाग्ने स्वतन्त्रता त जरुर हुन्छ । तर खासमा यसमा नकारात्मक कुराहरू बढी देखिए । एमालेमा लागेको मान्छे, काङ्ग्रेसमा लाग्ने मान्छेसँग नबोल्ने, काङ्गे्रसमा लागेको मान्छे एमालेमा लाग्ने मान्छेसँग नबोल्ने, असहयोग गर्ने, हिजोका आफन्तहरू टाढिँदै जाने आदि जस्ता प्रवृत्तिहरू बढ्दै गयो । हुँदा हुँदा काटमार गर्नेसम्मका घटनाहरू पनि घट्न थाले । यो देखेर मलाई साह्रै दुःख लाग्यो । मेरो मन गाउँघरमा अडिएन । अनि म मन बहलाउन देशपरदेश घुम्न निस्केको हुँ ।

कसरी तपाइँं हङकङ नै पुग्नुभयो त ? हङकङको बसाइ कतिको सन्तोषजनक छ त ? 
–  म एक पटक हङकङ घुमफिरको लागि गएको थिएँ । त्यसपछि मलाई त्यो ठाउँमा पुनः जान मन लाग्यो । अनि चाहिँ आई.डी.को प्रक्रिया मिलाई सपरिवार म त्यहाँ पुगेँ । यहाँ पहाडमा बसेको मानिस हङकङमा गएर बाँच्न गाह्रो होला जस्तो लागेको थियो । तर सहज रूपमा त्यहाँको वातावरणमा घुलमिल हुन सकियो । छोटो समयको लागि गएको भए पनि आज–आज, भोलि–भोलि भन्दै हङकङ बसाइ निक्कै लामो भएकोछ । तर जे भए पनि हङकङ बसाइ प्रति मेरो कुनै पश्चात्ताप छैन । किनभने म त्यहाँ पनि नेपालमा जतिकै सामाजिक सेवामा नेपाली दाजुभाइहरूको सेवामा जुट्ने अवसर पाएको छु जसले गर्दा म छुट्टै देशमा छु जस्तो लाग्दैन ।

हङकङ चुम्लुङको नेतृत्व तहमा कसरी पुग्नुभयो त ? 
–  म नेपालमै रहँदा पनि सामाजिक सेवामा बढी नै रुचि राख्ने गरेको थिएँ । क्लबहरू स्थापना गर्नेदेखि स्कुल खोल्नेसम्म काम पनि गरेको थिएँ । यो पक्षले पनि हङकङ चुम्लुङमा प्रवेश गर्नको लागि मानसिक आधार तयार पारेको थियो । हङकङ बसाइ क्रममा नेपालबाट जानुभएका  थुप्रै याक्थुङबा साथीहरूसँग पनि सम्पर्क भैरहने नै भयो । यही क्रममा भगत सुब्बा लगायतका साथीहरूले हङकङ चुम्लुङमा मैले काम गर्नै पर्ने प्रस्ताव राख्नुभयो । सुरुमा त मैले इन्कार गरेँ । किनभने हङकङको लागि म नयाँ थिएँ । तर उहाँहरूले साह्रै जोड गर्नुभयो । पछि मैले उहाँहरूको प्रस्तावलाई स्वीकारेँ । र चुम्लुङको अध्यक्ष भएँ ।

हङकङका लिम्बू दाजुभाइहरू बीचमा हङकङ चुम्लुङको उपस्थिति कस्तो रहेको छ ? हङकङ चुम्लुङको इतिहास पनि संक्षेपमा बताइदिनुहोस्  न । 
–  हङकङ चुम्लुङ हङकङमा दर्ता भएको लिम्बूहरूको आधिकारिक संस्था हो । यसले हङकङमा रहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरूलाई एकापसमा भेटघाट गर्ने, दुःखसुख बाँड्ने एउटा मञ्च प्रदान गरेकोछ ।यसका साथै लिम्बू भाषा, साहित्य, संस्कृतिको संरक्षण,विकास आदि काममा लाग्ने अवसर पनि प्रदान गरेकोछ । हङकङ चुम्लुङले । वास्तवमा हङकङका लिम्बूहरूलाई एकै ठाउँमा ल्याउने काम हङकङ चुम्लुङले गरेको छ र नेपाल र हङकङका लिम्बूहंरू बीच पु्लको काम गरेकोछ । हङकङ चुम्लुङले हङकङमा रहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरू मात्र हैन अन्य नेपालीहरूको लागि पनि उत्तिक्कै सहयोगी भूमिका निभाएकोछ । सारमा हङकङ चुम्लुङको उपस्थिति हङकङमा बसोबास गर्ने लिम्बूहरूको बीचमा ज्यादै सौहाद्र्र एवम् सघन छ । चुम्लुङ याक्थुम्बा दाजुभाइहरूको परदेशको अभिभावककै  रूपमा स्थापित भएकोछ ।

यसको इतिहासको सन्दर्भमा कुरा गर्दा सन् १९९६ मा इमानहाङ दाइ र उहाँका समकालीन लिम्बू दाजुभाइहरूले हङकङ चुम्लुङको अवधारणा अघि सार्दै किरात याक्थुङ चुम्लुङ हङकङको गठन गर्नुभएको रहेछ । इमानहाङ दाइलाई त्यसबेला सहयोग गर्नेहरूमा पदम चेम्जोङ, अम्बर कुरुम्बाङ, गणेश इजम आदि अग्रजहरू हुनुहुन्थ्यो । इमानहाङ दाइपछि भक्त मादेन अध्यक्ष भएर चुम्लुङ हाँक्नु भएको हो । उहाँ पछि त म नै २०५७ पुसदेखि निरन्तर चुम्लुङको अध्यक्ष रहिआएको छु ।

हङकङ चुम्लुङले के कस्ता कामहरू गरेकोछ ? त्यसबारेमा केही बताइदिनुहुन्छ कि ? 
–  हङकङ चुम्लुङले लिम्बूहरू को हुन ? उनीहरूको परिचय के हो ? भन्ने कुरा अरुलाई चिनाउने काममा जोड दिएकोछ । लिम्बूहरूको संस्कृति के हो ? गीत सङ्गीत कस्तो छ ? उनीहरूको भेषभुषा कस्तो छ ? बाजागाजा कस्तो छ ? आदि विषयबारे जानकारी गराउने उद्देश्यले किरात याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । हाम्रा लोकबाजा कोम, के, गरगहनाहरू साम्याङफुङ, चन्द्रहार आदि नेपालबाटभ झिकाई प्रदर्शन गर्ने काम पनि भएको छ । चुम्लुङको पहलमा या?लाङ, केलाङ आदि कार्यक्रम विभिन्न अवसरमा प्रदर्शन गर्ने काम भएकोछ । यस्ता कार्यक्रमहरू प्रदर्शन गर्नुमा हाम्रा दुईवटा उद्देश्यहरू रहेका छन् । एउटा हो– अन्य जातजातिहरूको माझमा लिम्बू र लिम्बूहरूको भाषा, संस्कृतिलाई चिनाउने र दोस्रो हो– हङकङमा बस्ने लिम्बू समुदायकै नयाँ पुस्ता जसले लिम्बू संस्कृति देख्न पाएको हुँदैन । उनीहरूलाई देखाउने मात्र हैन ती संस्कृतिहरूलाई उनीहरूमा हस्तान्तरण गर्नु ।

हामीले यसरी लिम्बू संस्कृति सम्बन्धी कार्यक्रमहरू प्रस्तुत गरेपछि हङकङमा बस्ने अन्य जातिका नेपालीहरू जसले मन पराएर चुम्लुङमा पत्र लेखी निमन्त्रणा गरी कार्यक्रमहरू देखाउन अनुरोध भैआएका छन् । त्यसैगरी स्थानीय हङकङका संस्थाहरू मात्र हैन हङकङ सरकारले समेत चुम्लुङलाई आमन्त्रण गरी लिम्बू संस्कृति  देखाउने अवसर प्रदान गर्दै आएकाछन् । यस्तो कुराले हङकङ चुम्लुङ ज्यादै उत्साहित भएको छ ।

यस बाहेक लिम्बू भाषा साहित्यको उत्थानकोलागि पनि हामीले त्यत्तिक्कै ध्यान दिएका छौँ । चुम्लुङ गतिविधि सार्वजनिक गर्ने र लिम्बू भाषा साहित्य विकासमा टेवा पु¥याउन सेक्मुरी प्रकाशित गर्दै आएकाछौँ ।

हङकङ चुम्लुङको आगामी कार्यक्रमहरू के के छन् ? 
– लिम्बू विभूतिहरूको जन्म जयन्ती मनाउने याक्थुम्बा तङनामहरू मनाउने लिम्बू सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने, लिम्बू भाषामा साहित्यिक गोष्ठीहरू सञ्चालन गर्ने, चुम्लुङ दिवस मनाउने आदि कार्यक्रमहरू हङकङ चुम्लुङले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत समावेश गरेकोछ । यिनै कार्यक्रमहरू नै चुम्लुङका आगामी कार्यक्रमहरू हुन् ।

गत मार्च १७ को चुम्लुङ अधिवेशनबाट पुनः तपाइँं चुम्लुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । चुम्लुङलाई अगाडि बढाउन के के योजना बनाउनुभएकोछ ? 
– मेरो त्यस्तो व्यक्तिगत योजना छैन । किनभने हङकङ चुम्लुङ सामुहिक नेतृत्वमा चलेको संस्था हो । त्यसैले हामीले सामुहिक रूपमै योजनाहरू बनाएका छौँ । यी कुराहरू हङकङ चुम्लुङको कार्यक्रमहरूमा  उल्लेख भएकै छन् । यस भन्दा बढी हामीले हङकङ चुम्लुङलाई अझ संस्थागत र विस्तार गर्ने योजना बनाएकाछौँ ।

यसै गरी हङकङमा रहेका लिम्बू दाजुभाइ दिदीबैनीहरूको तथ्याङ्क संकलन गर्ने, उनीहरूको शैक्षिक एवम् अन्य विवरण तयार गर्ने योजना पनि बनाएका छौँ । सबैभन्दा महत्वपूर्ण कुरा हामीले हङकङ चुम्लुङ र नेपाल चुम्लुङ बीचको सम्बन्धलाई प्रगाढ बनाउने हाम्रो योजना रहेको छ । कतिपय साझा सवालमा हामी दुवै संस्थाहरू सामुहिक रूपमा काम गर्ने हाम्रो चाहना छ । यही सन्दर्भमा गत जेठ २५ गते किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय सचिवालयका पदाधिकारीहरूसँग बैठक सम्पन्न भई विभिन्न सहमतिहरू भएकाछन् । यी सहमतिहरू नेपाल चुम्लुङ र हङकङ चुम्लुङले कार्यान्वयनमा ल्याउन थालेपछि हामीले गुणात्मक फड्को मार्न सक्छौँ भन्ने आशा गरेकाछुैं ।

हङकङ चुम्लुङले स्थापना गर्न लागेको लिम्बू शिक्षा संस्कृति तथा कला विषयमा हङहङ चुम्लुङले स्थापना गर्न लागेको पुरस्कार बारेमा बताइदिनुहुन्छ कि ? 
हङकङ चुम्लुङको एकमात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बू भाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो । हामी यही कुराबाट अभिप्रेरित भएर लिम्बू शिक्षा संस्कृति तथा कलाका विषयमा काम गर्ने लिम्बू साधक साधिकाहरूलाई सम्मान गर्ने र यस्ता प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ यो पुरस्कारको लागि अक्षयकोष खडा गर्ने योजना हङकङ चुम्लुङले बनाएको हो । यो पुरस्कर  सञ्चालनमा किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ  हङकङ बीच संयुक्त रूपमा काम गर्ने भए पनि अक्षयकोष हङकङ चुम्लुङले नै स्थापना गर्न लागेको हो । यसले लिम्बू भाषा मात्र हैन त्यस्ता कार्यमा लाग्ने लिम्बू प्रतिभाहरू प्रोत्साहित हुने आशा गरेकाछौँ ।

नेपाल बाहिरबाट हेर्दा किरात याक्थुङ चुम्लुङ नेपालको गतिविधिलाई के कस्तो पाउनुभएको छ ?
– किरात याक्थुङ चुम्लुङ नेपाल उसका ऐतिहासिक कामहरूको कारणले लिम्बू समुदाय बीचमा एक निर्विकल्प संस्थाको रूपमा स्थापित भएको पाएको छु । यसले भाषा साहित्यको विकासको लागि र लिम्बूहरू बीच सम्बन्ध कायम गर्न तान्छोप्पा साप्ताहिक निरन्तर प्रकाशन गर्दै आएकोमा अब आएर अङ्ग्रेजीमा चुम्लुङ बुलेटीन पनि प्रकाशन गर्न थालेको रहेछ । भाषा साहित्यको विकासको लागि विभिन्न अवसरमा साहित्यिक गोष्ठी र कार्यक्रमहरू पनि गरिरहेको जानकारी पाइरहेको छु । कक्षा पाँच सम्मको लिम्बू भाषाको पाठ्यपुस्तक आनीपान प्रकाशन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । हालसालै उच्च शिक्षामा पनि लिम्बू भाषा पठनपाठनका लागि पाठ्यक्रम विकास गर्न चुम्लुङले पहल गर्दै गरेको कुरा सुनेर म ज्यादै हर्षित भएकोछु । काठमाडौँ र पूर्वाञ्चलमा एफ.एम. कार्यक्रम सञ्चालन चुम्लुङले गर्ने कुरा पनि मैले सुनेको छु । यी बाहेक लिम्बू संस्कृति,कला,परम्परा आदि विकास गर्न पनि चुम्लुङले त्यतिकै काम गर्दै आएको हामीले पाएकाछौँ । किरात याक्थुङ चुम्लुङ नेपालका यी सबै कामहरूले नै नेपाल चुम्लुङको सशक्तता प्रष्ट पारेको छ । हामीले नेपाल चुम्लुङलाई स्वदेशी र विदेशी लिम्बूहरूको लागि आस्थाको केन्द्र भएको पाएको छौँ ।

हङकङमा बसेर अवलोकन गर्दा लिम्बू भाषा र साहित्यको विकास के कति भएको पाउनुभएको छ ? 
– लिम्बू् भाषा श्रुति परम्परामा अत्यन्त सम्वृद्ध भाषा हो । करिब दुई सय वर्षदेखि यी श्रुतिपरम्पराका सामग्रीहरू अर्थात् मुन्धुम पालाम आदिलाई लेख्य परम्परामा ढाल्ने मात्र हैन आधुनिक साहित्य लेखन पनि त्यतिकै भएकोछ । लिम्बू साहित्यले त्यअङसी सिरिजंगा,लालसोर सेन्दाङ, इमानसिंह चेम्जोङ जस्ता ऐतिहासिक पुरुषहरू जन्माएको थियो र वर्तमान अवस्थामा पनि प्राज्ञ वैरागी काइँला, काजीमान  कन्दङवा, येहाङ लाओती, बी.बी. मुरिङला आदि प्रतिभाहरू जन्माएको छ । यिनै साहित्यकारहरूले सृजना गरेको साहित्यले लिम्बू साहित्य भण्डार परिपूर्ण भएको छ । लिम्बू साहित्य विकास तीब्र गतिमा भैरहेको छ । लिम्बू साहित्यकारहरूबाट हुनुपर्ने साहित्यिक काममा कुनै कमी छैन, सोचे भन्दा बढी नै भएको छ । लिम्बू लगायत अन्य जनजाति भाषा तथा साहित्यको विकास सङ्घ उत्थानमा सरकारले अपेक्षित सहयोग गरेको देखिन्न । सरकारले सबै भाषाभाषीलाई विकास गर्न नेपाली भाषा सोसरह मान्यता दिइनुपर्छ । लिम्बू साहित्य को सन्दर्भमा भन्नुपर्दा गलत सरकारी नीतिका बावजुद उत्साहजनक प्रगति गरेकोछ ।

भाषाभाषी तथा तिनको साहित्यको विकासको लागि सरकारले ती भाषाभाषी माथि कुदृष्टि राख्नुभएन । भाषाभाषीको लिपि तथा साहित्यलाई मान्यता दिइनुपर्दछ । ती भाषाभाषी पढ्ने लेख्ने मानिसलाई अवसर प्रदान गरिनुपर्छ । यसकोलागि सबै भाषाभाषीका मानिसहरू सामुहिक रूपमा दबाव दिनुपर्छ । यसरी सरकार र सम्बन्धित भाषा बोल्नेहरूले सामुहिक रूपमा प्रयास गरेमा मात्र भाषा तथा साहित्यको पूर्ण विकास हुनसक्नेछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? 
– अन्त्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरूलाई लिम्बू भाषा, साहित्य, धर्म, संस्कृति, परम्परा,कला आदिको संरक्षण र विकास गरौँ र हाम्रा भावी पुस्तालाई हाम्रा पूर्खाहरूले हामीलाई हस्तान्तरण गरे जस्तै सकुशल हाम्रा पूर्खाका विरासत हस्तान्तरण गरौँ भन्ने कुरा अनुरोध गर्न चाहन्छु ।

तान्छोप्पा, वर्ष ७, अङ्क ७,  बिहिबार, २ साउन २०५९ ।  (25 July 2002) । 

हाम्रो मौलिकता बचाई राख्नको लागि व्यक्ति, परिवार र समाज नै सचेत हुनुपर्छ - चन्द्र लक्सम्बा

हाम्रो मौलिकता बचाई राख्नको लागि व्यक्ति, परिवार र समाज नै सचेत हुनुपर्छ 

- चन्द्र लक्सम्बा  


चन्द्र लक्सम्बा आशवहादुर लक्सम्बा र मक्सु काङभा बक्खिम्माका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको जन्म  कन्जारी, सिकैचामा भएको हो । कञ्जारीको स्थानीय स्कुल तत्कालीन सरस्वती प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएको थियो । उहाँ सो प्रा.वि. स्थापना हुँदादेखिको प्रथम ब्याचको विद्याथी हुनुहुन्थ्यो र अहिले पनि उहाँले चित्राले छाएको र चित्राले नै बारेको पिङडाँडाको वरमुनिको स्कुल झल्झली सम्झिरहनुभएको छ । उहाँले कक्षा ६ भने तिरिङ्गेको कालिका नि.मा.वि.मा पढ्नु भयो भने कक्षा ७ देखि कक्षा १० सम्म भानु मा.वि. अम्बिटारमा पढ्नुभयो । उहाँले २०३३ सालमा एस.एल.सी. उत्तीर्ण गर्नुभएपछि अमृत साइन्स क्याम्पसमा आई.एस.सी. गर्नुभयो र बी.एस.सी.अध्ययन गर्दागर्दै ब्टििस मिलिटरी हस्पिटलमा करीब २ वर्ष (२०३८–४० सम्म) काम गर्नुभयो । यसअघि उहाँले एस.एल.सी. गरे लगतै २०३३ तिर उहाँले कुञ्जारी स्कुुलमै अध्यापन पनि गर्नुभयो । ब्रिटिश मिलिटरी हस्पिटलमा काम गर्दागर्दै उहाँ ब्रिटिस आर्मीको क्लर्कमा जागीरमा भती भई लाहुरे जीवन शुरु गर्नुभयो । ९ वर्षको क्लर्क जीवनपछ उहाँ साधारण वा जनरल ड्युटिजमा सरुवा भई गत साल पेन्सनमा निस्कनु भएको हो । जागिर खाने क्रममै उहाँले पश्चिमी दर्शन (Western Philosophy) विषयमा बी.ए. गर्नुभयो । यसरी नै पब्लिकि पलिसी एण्ड मेनेजमेन्ट विषयमा सोआस युनिभर्सिटी अफ लन्डन (School of Oriental & African Studies, University of London) मा मास्टर डिग्री गर्नुभएको छ । हाल उहाँ The Relationship Between the Education Policy and Practice of Lifelong Learning in Nepal विषयमा सरे विश्वविद्यालय युकेबाट पी.एच.डी. गर्दैहुनुहुन्छ । हालसालै नेपाल आउनुभएको वेला उहाँसँग विविध विषयमा गरिएको कुराकानीको महत्वपूर्ण अंशहरू पाठकहरूसमक्ष प्रस्तुत गरिएको छ ।

तपाईंको पी.एच.डी.को शोधपत्रले तपाईंलाई प्रमाणपत्र त दिन्छ तर यसले देश र समाजलाई के दिन्छ ?
- अहिलेको विश्व व्यापीकरण (Globalization) ले नेपालमा राम्रो कुरा पनि ल्याउन सक्छ, नराम्रो कुरा पनि ल्याउन सक्छ । राम्रो कुराको राम्रो प्रभाव हुन्छ तर नराम्रो कुराको नराम्रो असर हुन्छ । नेपाल विश्व व्यापार संगठन (World Trade Organization /WTO) को सदस्य भइसक्यो । नेपाल अब विश्वव्यापीकरणको प्रभावबाट मुक्त रहन सक्दैन । त्यसमा पनि नेपाल गरिब मुलुक भएकाले विश्वाव्यापीकरणको राम्रोभन्दा नराम्रो कुराले बढी चलखेल गर्नेछ । तर त्यो नकरात्मक पक्षको सामना कसरी गर्ने भन्नेबारेमा सरकारले पनि सोचेको छैन । विश्व व्यापार संगठनमा प्रवेश गर्दा सरकारले मुलुकका धनी व्यापारी र इकोनोमिस्टहरूलाई मात्रै ध्यान दिएको छ, अन्य पक्षलाई वास्ता गरेको छैन । मुलुकको परम्परा र संस्कृतिको बारेमा ध्यान दिइएको छैन जुन वास्तवमै अमूल्य सम्पति हुन् । अव विदेशी संस्कृतिले बेरोकटोक प्रवेश गर्ने छ । जस्तो कि म नेपाल ईस्वी सन्को नयाँवर्ष र क्रिस्मस धुमधामसँग मनाइएको पाएँ, सञ्चारमाध्यमले पनि त्यतिकै प्रसारण गरेको पाएँ । यसले हाम्रो साल सम्बतहरू, चाडपर्वहरू छायामा पार्दै जाने र अन्त्यमा समाप्त पार्ने छ । अन्य परम्परा र संस्कृति जस्तै लिम्बू परम्परा, संस्कृति र धर्ममा पनि त्यस्तै अवस्था आजको विश्वव्यापीकरणले ल्याउने छ ।

त्यस्तो खतराबाट हाम्रो मौलिकता बचाई राख्नको लागि व्यक्ति, परिवार र समाज सचेत हुनपर्छ । तर यस्तो सचेतनता अहिले प्रयोगमा भएको औपचारिक र अनौपचारिक शिक्षाले मात्र पूरा गर्न सक्दैन । त्यसैले औपचारिक (formal), आनैपचारिक (non-formal), अनुपचारिक (informal) र अनुभव लागाएर समाजलाई सचेत पारियो भने हाम्रो जातिगत मौलिक परम्परागत तथा सांस्कृतिक निधिहरूलाई विश्व व्यापीकरणबाट बचाउन सकिन्छ । यही अनुसार मुलुक अगाडि बढ्नुपर्छ । यही कुरा नै मेरो शोधपत्रको मुख्य योगदान  हुने छ मुलुक वा समाजलाई । मैले यो शोधपत्रमार्फत अगाडि सारेको सिद्धान्तलाई 'जीवन पर्यन्त शिक्षा' (Lifelong Learning) भनिन्छ।

विश्वव्यापीकरणले नेपालको कुनकुन कुरालाई सारै हानी पु¥याउँछ ? यसको परिणम कस्तो होला ? 
- विश्वव्यापीकरणले मुलुकको आर्थिक पक्षलाई त असर गर्छगर्छ, यहाँका इकोनोमिस्ट वा सरकारी अधिकारीहरू जेसुकै गरे पनि उनीहरूको केही लाग्ने छैन । यसबाहेक मुलुकको परम्परा, संस्कृति जगायत सबै पक्षमा यसले असर गर्छ । तर हाम्रो मुलुकको शासकहरूले पैसा मात्र सबै कुरा हो भन्ने भ्रम पालेका छन् र त्यतैतिर मात्र उनीहरूको ध्यान गएको छ । तर देशको सम्पति भनेको पूँजी (Capital), परम्परा (Tradition), संस्कृति (Culture) र धर्म (Religion) हो । शासकहरूले पछिल्ला तीनवटा कुरालाई वास्ता गरेका छैनन् । यी तीनवटा कुराहरू चहिँ पैसा वा पूँजीभन्दा अमूल्य चीजहरू हुन् । त्यसैले विकासको कुरा गर्दा यी चारै पक्षको समानान्तर विकासलाई बुझ्नपर्छ र सोहीअनुसार योजना बनाउने र कार्यान्वयन गर्ने गर्नुपर्छ । तर मुलुकका जिम्मेवार पक्षहरू यसबारेमा अनभिज्ञ देखिन्छन् । त्यसैले हाम्रो मुलुकको आर्थिक संरचना त स्वतः बाहिरिया प्रभावमा पर्ने नै छ । योभन्दा बढी हाम्रो धर्म, संस्कृति र परम्परा तहसनहस हुने खतरा छ । कालान्तरमा हाम्रो समाज नैतिक चरित्रहीन, यता न उताको हुनेछ । मानिस भीडमा पनि नितान्त एक्लो हुनेछ । छरछिमेकी, नातागोताको त के कुरा श्रीमान्, श्रीमतीको सम्बन्ध पनि पैसामा आधारित हुनेछ, मानवता समाप्त हुनेछ । पाश्चात्य मुलुकमा देखिएका घटनाहरूलाई उदाहरणको रुपमा लिन सकिन्छ । जस्तो कि बाबु सिकिस्त विरामी भएर अस्पतालमा राखिएको हुन्छ र मर्ने अवस्थामा छ तर छोरा वा छोरीले अस्पताल वा नर्सिङहोममा फोन गरेर भन्छ, "राती केही भयो भने मध्यरातमा फोन गरेर डिस्टर्व नगर्नु होला ।" हो यस्तो संस्कृति चाहिँ हाम्रो समाजमा नआवस् । तर विश्वव्यापीकरणले यही कुरा ल्याउने छ किनभने विश्वव्यापीकरणले राम्राभन्दा नराम्रा कुरा बढी मात्रामा हाम्रो जस्तो गरीव मुलुकमा ल्याउने छ र हाम्रो अगुवाहरूको पैसालाई मात्र ध्यान दिने र संस्कार, संस्कृतिलाई वास्ता नगर्ने व्यवहारले यसलाई मलजल गरेको छ ।

तर हाम्रो दायित्व हाम्रो समाजलाई यो भड्खालोमा जानबाट रोक्नुपर्छ । यसको लागि जीवनपर्यन्त शिक्षा (Lifelong Learning) प्रयोग गर्नुपर्छ । यो शिक्षाले चरम व्यक्तिवादीकरणलाई रोक्छ । विकसित देशहरूले जीवनपर्यन्त शिक्षालाई विश्वव्यापीकरणसँग बौद्धिक पूँजी (Knowledge Economy) को विकासमा बढी जोड दिएका छन् । यसपछि सञ्चार प्रविधि (Information Technology) को विकासमा जीवनपर्यन्त शिक्षाको प्रयोग गरेका छन । तर हाम्रो जस्तो विकासोन्मुख मुलुक जहाँ १२५ भाषा बोलिन्छ , ६१/६२ आदिवासी जनजातिहरू वसोवास गर्ने देशमा थुप्रै भाषा, धर्म, संस्कृतिहरू छन् । तिनीहरूको संरक्षण गर्न हामीले जीवनपर्यन्त शिक्षाको प्रयोग गर्नुपर्छ । जीवनपर्यन्त शिक्षा अर्थात् औपचारिक, अनौपचारिक, अनुपचारिक र अनुभवको समग्रताले मात्र हामी विश्वव्यापीकरणबाट आउने नकरात्मक कुराहरू रोक्दै हाम्रो मौलिक भाषा, साहित्यm धर्म, संस्कृति, परम्परालाई बचाउन सक्छौं । तर यसतर्फ सरकारको ध्यान गएको छैन ।

तपाईंले अगाडि सानुृभएको सिद्धान्तले हामीलाई कसरी पद्दत गर्छ ? 
– हाम्रो सन्दर्भमा लिम्बू भाषाको पठनपाठन औपचारिक र अनौपचारिक दुबै तरिकाले भइरहेको छ । यसबारेमा अझै सिङ्गै समुदायलाई सचेत गराई औपचारिक शिक्षा स्कुल÷क्याम्पसमा औपचारिक वा प्रौढ शिक्षाको माध्यमबाट र अनुपचारिक वा व्यवहारिक प्रयोग गरी हाम्रो भाषाको संरक्षण गर्न सक्छौं । भाषाशास्त्रीहरूका अनुसार हाम्रा मातृभाषाहरूको संरक्षण नगरेमा सन् २०५० सम्ममा अमेरिकी अंग्रेजी, स्पेनिस, चाइनिजमा म्यान्डरिनको मात्र वर्चश्व रहने छ र अन्य मातृभाषाहरू लोप हुनेछन् । भाषा संरक्षण गर्नको लागि स्कुल वा क्याम्पसमा पढाएर मात्र हुँदैन किनभने सबै जनताहरू स्कुल वा कलेज जाँदैनन् । त्यसैले औपचारिक, अनौपचारिक र अनुपचारिक माध्यमबाट भाषा सिक्ने सिकाउने गर्नुपर्छ । यसको लागि सिङ्गै समाज सचेत बनाउनुपर्छ अनि सकारात्मक अनुभवलाई प्रसार गर्ने गर्नुपछ । अर्को कुरा हामीले हाम्रो मौलिकतालाई बचाउनुपर्छ र विकासक्रममा अगाडि पनि बढ्नै पर्छ । उदाहरणको लागि विकसित भइयो भन्दैमा हामी केही माग्नेक्रममा सुर्केपुङ लगाउन जाँदा हामीले चुन्दाराले बनाएको काठको चौठोमा घरमै पारेको रक्सी नै लानुपर्छ, हामीसँग सिलप्याक गरेको स्कच हुस्की छ भन्दैमा त्यो लानु हुन्न । हामीलाई विश्वव्यापीकरण (Globalization) ले चौठोमा घरेलु रक्सी बोक्नुको सट्टा सिलप्याक हुस्की बोक्न उत्प्रेपिरत गर्छ । यसबाट बच्नु नै मैले अगाडि सारेको जीवनपर्यन्त शिक्षाको उद्देश्य हो ।

नेपाल डब्लुटीओको सदस्य भइसकेको अवस्थामा लिम्बूहरूले प्रयोग गर्ने मर्चा लगायतका मौलिक वस्तुहरूको पेटेन्ट राइट लिनुपर्छ भन्ने कुरा उठिरहेका छ । यसबारेमा तपाईका के विचार छ ? 
– सर्पगन्धा, निम, हलेदो जस्ता वस्तुहरूको जेनेटिक मोडिफिकेसन गरी अमेरिकाले पेटेन्सी लिइसक्यो । त्यसरी नै मर्चाको पनि फर्मेशनको कुरा आउँछ, केमिकलको कुरा आउँछ । त्यसैले मर्चाको बनाउने विधिलाई आफ्नो अनुकूल बनाएर त्यसको पेटेन्सी लिन पनि अमेरिकाले बेर लिन लाउँदैन । यसको लागि  हामीले बिना ढिलाई काम गर्नुपर्छ । यसको लागि आफ्नो सामानमाथिको आफ्नो अधिकार कायम गर्नका लागि चेतनाको विकास गर्नुपर्छ । एकजना व्यक्तिमा मात्र हैन सिङ्गै समाज मै यस्तो चेतनाको विकास हुनुपर्छ ।

तपाईंको सिद्धान्त कसले लागू गरिदिन्छ ? सरकारले, संघसंस्था वा व्यक्तिले ? 
– अँ, यसमा समस्या छ । तर पनि जीवनपर्यन्त शिक्षालाई ध्यानमा राखेर सामुदायिक सिकाइ (Community Learning Centre/CLC) केन्द्रहरू २०५ निर्वाचन क्षेत्रहरूमा खोल्दै छ । सरकारको लक्ष्य अनौपचारिक शिक्षण संस्थाहरूले सम्बोधन गर्न नसकेको पक्षहरू स्थानीयकरण (Contextualize) गरी कार्यान्वयन गर्ने रहेको छ । सामुदायिक सिकाइ केन्द्रको अवधारणा अगाडि सार्ने व्यक्ति प्रोफेसर जाविस हुन् । अहिले नेपालमा निर्वाचन क्षेत्रको आधारमा खोल्न लागिएको सामुदायिक सिकाइ केन्द्रहरूले कुनै खास योगदान पु¥यालान जस्तो लाग्दैन किनभने एउटा निर्वाचन क्षेत्रको एउटा मात्र खोलिन लागेको त्यो कार्यक्रम लागू गरेर के परिवर्तन आउला र ? उदाहरणको लागि ताप्लेजुङको क्षेत्र नं. १ मा एउटा सामुदायिक सिकाइ केन्द्र खोल्ने तर कहाँ खोल्ने ? थेचम्बूमा खोलियो भने मामाङ्खे या याम्फुदेनका मानिसहरू सहभागी हुन सक्लान अथवा खेवाङ वा सुरुङखिममा खोलेमा नाङ्खोल्याङ वा हाङदेवाका सहभागी हुन सक्छन् ? नीतिगत रुपमा सामुदायिक सिकाइ केन्द्र लागू गर्ने कुरा राम्रो छ तर व्यवहारिक रुपमा गएर हेर्ने हो भने यसले कुनै राम्रो परिणाम दिने छाँटकाँट देखिँदैन । यो कार्यक्रममा युनेस्को लागिरहेको छ तर त्यो कार्यक्रमले समस्यालाई सम्बोधन गर्न सक्दैसक्दैन ।

यसलाई व्यवहारिक बनाउने कुरामा सम्बन्धित पक्षहरूलाई सुझाव दिनुभएको छ ? 
– युनेस्कोको सहायक निर्देशक जोन डेनललाई मैले सेमिनारमा भेट्दा यसबारेमा छलफल भएको थियो र उहाँले मलाई सामुदायिक सिकाइ केन्द्र (सीएलसी) नेपालमा लागू हुन लागेको कुरा सुनाउनुभयो तव मैले माथि भनेकै कुरा सुनाएँ कि भौगोलिक दृष्टिले १ निर्वाचन क्षेत्रमा एउटा सीएलसी कार्यक्रम हात्तीको मुखमा जीरा मात्र हुन्छ । तर उहाँले नेपाल सरकारको शिक्षा मन्त्रालयले निर्वाचन क्षेत्रको आधारमा नै उपउक्त छ भनी पठाएको छ भनी मलाई बताउनुभयो । समस्या बुझेपछि उहाँ चकित पर्नुभयो । यही कुरा त्रिभूवन विश्वविद्यालयका प्रोफेसरहरू, अनौपचारिक शिक्षाका निर्देशकहरूलाई बारम्बारको भेटमा भनेको छु कि, “तपाईंहरूले कार्यक्रममा सुधार ल्याउनु भएन भने नयाँ शिक्षा असफल भए जस्तै यो कार्यक्रम पनि असफल हुनेछ ।” वास्तवमा नेपालको शिक्षा नीति र त्यसको व्यवहारिक पक्षको सम्बन्धमा कुनै तालमेल छैन ।

नेपालमा शिक्षासम्बन्धी नीति बन्छ तर कार्यान्वयन छैन । उदाहरणको लागि युनेस्कोले आआफ्नो मातृभाषामा प्राथमिक शिक्षा उपलब्ध गराउने भनेको छ । तर व्यवहारमा नेपाल सरकारले यसलाई कार्यान्वयन गरेको छैन । यसबारेमा मैले शिक्षा सचिवलाई पनि भनेको छु । म मेरो अध्ययनको एउटा क्षेत्र कुञ्जारीकै कुरा गरौं । कुञ्जारीमा ८८ लिम्बू घर छन्, ३ घर बाहुन, २ घर क्षेत्री र २÷३ घर कामी दमाईहरूको घर छ । त्यहाँ लिम्बू भाषाको पढाइ भइसक्नु पनेै हो तर अहिलेसम्म भएको छैन । शिक्षक कोटा छैन, भाषा शिक्षक छैनन्, शैक्षिक सामग्रीको उपलब्धता पनि छैन ।

विद्यालय शिक्षा भनेको निर्धारित प्रारुप (Structure) मा आधारित शिक्षा हो । यसमा सेन्सर हुने हुनाले यदि लिम्बू भाषा पढाइ भए पनि मातृभाषा सम्बन्धी सबै ज्ञान पाउन सक्दैनौ । त्यसैले अनुभवलाई समेत समेटेर जीवनपर्यन्त शिक्षा हाम्रो समाजमा लागू गर्नै पर्छ । यसको लागि समाजमा जानै पर्छ । हाम्रो लक्षित क्षेत्र हाम्रो समाज हुनुपर्छ ।

विचारधाराको हिसावले तपाई क्रान्तिकारी कि यथास्थितिवादी ? 
– म दक्षिणपन्थी वा यथास्थितिवादी हैन रेडिकल हुँ । यो मेरो पूर्व राजनीतिक संलग्नताको विराशत हो । तर म अहिले कुनै राजनीतिक पार्टीको सदस्य छुइन र हुने पक्षमा पनि छैन । अव म प्राज्ञिक भएर तर क्रान्तिकारी प्राज्ञिक भएर रहन चाहान्छु ।

३५/३६ सालतिर सक्रिय रुपमा राजनीतिमा लागियो । त्यसवेला आमूल परिवर्तन (Complete Change) को पक्षमा थिएँ । तर अहिले धेरै अनुभवहरू सँगालेर यो अवस्थामा आउँदा सबै विषयमा सबै क्षेत्रमा समान रुपमा आमूल परिवर्तन राम्रो हुँदैन, कतिपय कुरामा उद्विकासको बाटो पनि आवश्यक छ र कतिपय पक्ष संरक्षण र सम्बद्र्धन गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिनु आवश्यक हुन्छ । समाजमा भएका कुरितिहरू पक्कै उखेल्नु पर्छ, त्यसमा मोलाहिजा गर्नु जरुरी छैन । तर पुरानो कुरा सबै नराम्रा हुँदैनन् र नयाँ कुरा सबै राम्रा हुँदैनन् । हाम्रो धर्म, संस्कृति, परम्परा जुन व्यक्ति र समाजका लागि सहायकसिद्ध छ र हुन्छ तिनीहरूलाई कुनै राजनीतिक पूर्वाग्रहविना संरक्षित गरिनुपर्छ।

अहिले किरात धर्ममा बहुलता आएको छ, विभाजन र विवाद आएको छ । यसको प्राकृतिक कारण छ । हरेक ठूला शक्ति वा वस्तुले साना वस्तुले आफ्नो वरिपरिका शक्ति वा वस्तुहरूलाई प्रभाव पार्दछ । त्यही कुरा किरात धर्ममा पनि लागू हुन्छ अर्थात् ज्यादै धेरैमात्रमा हिन्दू धर्मले किरात धर्मलाई प्रभाव पारेको छ । विवादको केन्द्र पनि त्यही विषयमा रहेको छ जस्तो लाग्छ । जे होस् म पहिला जस्तो पूर्ण परिवर्तनको पक्षमा म सशंकित छु । ७० वर्षपछि फेरि पनि धर्मकर्म व्युँतिएर आयो । सिङ्गै एक पुस्ताको समाप्तिपछि पनि आएको यो परिणाम सोच्नै पर्ने खालको छ । कम्बोडियामा राजतन्त्र नै पुनःस्थापित भयो । चाइनामा विस्तारै यो पक्ष विकास हुँदै गइरहेको छ । त्यसले हामीले निश्चित कुराहरू पूर्ण रुपले ध्वंश गरी नयाँ निर्माण गर्नुपर्छ तर केही त्यस्ता चीजहरू पनि हुन्छन् जसलाई हामीले संरक्षण गर्नुपर्छ जस्तो कि धर्म, संस्कार, परम्परा, आदि । तर त्यसमा भएका अन्धविश्वास र रुढीहरूलाई पनि संरक्षण गरिनुपर्छ, यो चाहिँ म भन्दिन । हामीले बीचको बाटो अपनाउनु पर्छ । दायाँतिर गयो भने विश्वव्यापीकरणले हामीलाई ध्वस्तै बनाउँछ अनि वायाँतिर जाँदा आमूल परिवर्तनको कुरा आउँछ, त्यसले पनि समाजमा स्थायित्व आउँदैन ।

वर्तमानको संकटग्रस्त राजनीतिक अवस्था के कारणले आयो होला ? 
– नेताहरू हिजो सिद्धान्त र व्यवहार दुबै रुपले राम्रा थिए । आज पनि उनीहरू सिद्धान्तको कुरा गर्दछन् तर व्यवहार साह्रै खतम छ । उनीहरूको लोभी लालची व्यवहारले आजको अवस्था आएको हो । बिद्रोह गर्ने जमातमा पनि दीर्घकालीन सोचभन्दा पनि यही अन्याय, अत्याचार, गास, वास, कपास, बिकृति, विसंगतिको कारणले उठेको विद्रोहो ज्वाला हो जस्तो लाग्छ । यसमा प्रत्यक्ष अप्रत्यक्ष सबै नेताहरूको हात रहेको छ र दोषको भागीदार छन् ।

हिजो तपाईं पनि विद्यार्थी नेता भएको कारणले आजको विद्यार्थी राजनीतिलाई कसरी हेर्नुभएको छ? 
– युवा विद्यार्थीहरू राजनीतिक पार्टीका गोटी हुने काम हिजो भयो र आज पनि भइरहेको छ । यसले सिङ्गै पुस्तालाई खतम पार्छ । राजनीतिक पार्टीहरू गाउँमा आफ्नो गतिविधि लान सक्देनन् अनि युवा विद्यार्थीहरूलाई आन्दोलनमा उतार्छन । ३६ सालमा पनि त्यही भयो अनि ४६ साल र हाल पनि त्यही भइरहेको छ, यसबारेमा नेता र विद्यार्थी दुवैले सोच्नुपर्छ । राजनीति जनतामा जनतासँग गर्ने हो विद्यार्थीहरुमा हैन ।

लिम्बू जातिको विकास कसरी सम्भव छ ? 
– अगुवा लिम्बूहरू जुनसुकै विचार धाराका होऊन्, जुनसुकै पार्टीमा काम गरुन् वा जुनसुकै स्थान, क्षेत्र वा मुलुकमा काम गरुन् तर सद्भाव भने कयम हुनुपर्छ । आआफ्ना क्षेत्रका अनुभवहरू चुम्लुङमा पूँजीकृत गर्नुपर्छ, लिम्बू समुदायमा केन्द्रिकृत गर्नुपर्छ, लिम्बू जातिको उत्थानमा लगाउनुपर्छ । आफ्नो विचार चुम्लुङ वा लिम्बू समुदायमा लाद्ने मनसाय कसैले लिनुहुन्न, बरु आफूले निस्वार्थ आफूले सकेको योगदान गर्नुपर्छ । अवस्य पनि लिम्बू समुदाय अगाडि बढ्छ । यस्तो सापेक्षतावादी व्यवहार र विचार आजभोलि केही मात्रामा देखिन थालेको छ । यो सकरात्मक हो ।

तान्छोप्पा, वर्ष ९, अङ्क २,   बिहिबार, ७ फागुन २०६० (19 February 2004) ।

Saturday, May 30, 2020

धनकुटादरवार विशाल थियो, त्यही दरबारभित्र मन्त्रालयहरू चलायौँ – गुञ्जमान सुब्बा

धनकुटादरवार विशाल थियो, त्यही दरबारभित्र मन्त्रालयहरू चलायौँ

– गुञ्जमान सुब्बा, समाजसेवी


वसन्त यामको उत्तराद्र्ध, झापामा या तराईमा गर्मी निक्कै तरुनो थियो । अघिल्लो दिनको सल्लाहअनुसार करीव विहानको ७ वजे सोध्दैखोज्दै गुञ्जमान सुब्बाज्यूको डेरामा पुगेँ र ढोका ढकढकाएँ । ढोका खोल्नुभयो, ‘सेवारो’ भनेँ, शिष्टाचार आदानप्रदान भयो । उहाँ सेतो धोती, सेतै गञ्जी अनि तीलचामले कपाल र दारीको परिधानमा हुनुहुन्थ्यो । कोठा सारै सामान्य । घरको आकार पनि खै कस्तो हो ? पश्चिमोत्तरमा एउटा झ्याल जहाँबाट टाढाको क्षितिज, क्षितिजभित्र पातलो वस्ती, अनि वस्तीभित्र जहाँतही शिरिशका फूल, नरिवल र सुपारीका झ्याङ, ठाउँठाउँमा गाईगोठहरू । पूर्वोत्तरको झ्यालको दृष्य छिमेकी घरको भित्तामा टुँगिएको । अँ, गुञ्जमान जो आदरणीय व्यक्तित्व, दाइ भनेर बोलाउन मन लाग्छ, उहाँ सामान तह लगाउने काममा व्यस्त । दुई बेड, भूइँमा टिनका बाकस, बेडमाथि तह लगाएर राखिएका पुस्तकहरू, तख्ताले बारेको कोठाभरि भारतीय पत्रपत्रिकाले टालिएको तर धेरै उप्किएर बिफर झैँ टाटाटुटी मात्र बाँकी । यो साधारण वातावरणमा ज्ञानगुणका भव्य सन्त व्यक्तित्व गुञ्जमान । 



भित्री सेतो गञ्जीमाथि सेतो सर्ट थप्दै हुनुहुन्थ्यो र यतिकैमा कुराकानी सुरु ग¥यो – तपाईंको जन्म...? मेवा दोभान प्राइमरी स्कूलमा कखरा होइन एबीसीडीबाट पढाइ आरम्भ गर्नुभएका उहाँले भन्नुभयो – म अमाली सुब्बा लोकबहादुर आङबाहाङकी जेठी पत्नी धनलक्ष्मी तुम्बाहाम्फेको माइलो सन्तान हुँ र घर हाङपाङ हो । मिडिल स्कूल तेरथुम (हालको सिंहवाहिनी मा.वि.)मा पढ्दापढ्दै प्रजातान्त्रिक आन्दोलनमा सामेल उहाँले सातसालको क्रान्तिताका धनकुटामा बनेको सरकारमा सहायक स्वास्थ्य (स्थानीय स्वशासन मन्त्री) पनि हुनुभयो । ७ देखि ९ सालसम्म भानु मिडिल स्कूल (हालको भानु मा.वि.) अम्बिटारमा शिक्षण पेशा र नेपाली काङ्ग्रेसको जिल्ला सचिवको नाताले राजनीति पनि समानान्तर रूपमा अगाडि बढाउनुभयो । 

तत्कालीन नेपाली काङ्ग्रेसको महासमिति सदस्य समेत हुनुभएका उहाँले धरान पब्लिक हाइस्कूलबाट एसएलसी (२०१३) र महेन्द्र कलेज (हालको महेन्द्र बहुमुखी क्याम्पस) धरानमा उच्चशिक्षाको सुरुवात गर्दै २०१६ देखि तत्कालीन निर्वाचित सरकारका उपमन्त्री पे्रमराज आङदेम्बेको अनुर।ेधमा कृषिविभाग सिंहदरबारमा जागिरे जीवन सुरु गर्नुभयो । स्वछन्दपूर्वक बाँच्न चाहने उहाँको स्वभावले गर्दा शाखाअधिकृतको जागिरे पेनसन त्यागेर उहाँले स्वव्यवसाय अपनाउँदै हाल उहाँ जनजाति साहित्य त्यसमा पनि लिम्बु साहित्यको सेवाको यज्ञशाला सञ्चालनार्थ सुब्बा इम्पोरियम खोलेर विर्तामोडमा २०४० सालदेखि नयाँ पुस्ताका लागि भाषा साहित्यको नयाँ विर्ता निमाणर््ा गर्न अहोरात्र लागिरहनु भएको छ । 

विभिन्न कार्यक्रमहरूमा प्रमुख अतिथि र अतिथि हुनु नियमित रुटिङ जस्तै छ उहाँको । जिबी याक्थुम्बादेखि बिपी कोइरालासम्मका राजनैतिक व्यक्तित्व अनि इमानसिंह चेम्जोङदेखि वालकृष्ण समसम्मका साहित्यिक व्यक्तित्वसँगको भेटघाट र सरसङ्गतका रोमाञ्चक अनुभूतिका क्षणहरू र कहानीहरू छन् उहाँसँग । उहाँसँग समाज बनाउने, देश बनाउने, भाषा साहित्यको विकास गर्ने, साराका सारा विचार छ, व्यवहार छ तर उहाँ एउटै कुराबाट ठगिनुभएको छ – त्यो हो उहाँको आफ्नो पारिवारिक संसारको अन्त्य । आफ्नो प्राणजतिकै प्यारी जीवन सङ्गिनी र फूलजस्ता दुई छोरी नियतिले एकैसाथ उहाँबाट खोसेर लग्यो । दोस्रो पटकको वैबाहिक जीवन पनि दुर्भाग्यको डढेलोले स्वाहा पा¥यो । अव उहाँका साथीहरू केवल कितावका ठेलीहरू छन्– पसलमा, झोलामा, ओछ्यानमा अनि...। 

जीवनका उकाली र ओराली अनि घाम र छाया धेरै सङ्गालेका गुञ्जमान सुब्बा मूलतः समाज सेवीको रूपमा चिनिनुहुन्छ र त्यतिकै मात्रामा भाषा, संस्कृति, साहित्य सेवीको रूपमा पनि प्रख्यात हुनुहुन्छ । उहाँको योगदानलाई कदर गर्दै किरात याक्थुङ चुम्लुङ, याक्थुङ कलाकार सङ्घ, मगर सङ्घ नेपाल, सिरिजङ्गा शालिक निर्माण समिति आदि सङ्घसंस्थाले सम्मान एवम् अभिनन्दन गरिसकेका छन् भने तत्कालीन राजा श्री ५ वीरेन्द्रको राज्यभिषेकमा पुरस्कृत पनि हुनुभएको छ । यिनै उदाहरणीय र बहुआयामिक व्यक्तित्वका धनी गुञ्जमान सुब्बासँग गरिएको कुराकानी पाठकहरूसमक्ष प्रस्तुत छ ।

राणा शासन विरुद्धको आन्दोलनमा कसरी सरिक हुनभयो ?
–तेरथुम मिडिल स्कूलमा म पढ्दा त्यहाँ पढाउने धेरै जसो शिक्षकहरू काङ्ग्रेस पार्टीका समर्थकहरू थिए । उनीहरूले पढाउने क्रममा एकतन्त्रीय हुकुमी राणा शासनको कारणले देशमा आर्थिक, सामाजिक, शैक्षिक विकास नएको, मौलिक अधिकार हरू खोसिएको कुरा सुनाउनुहुन्थ्यो । यसले राणा शासन बेठीक रहेछ भन्ने मलाई लाग्यो र म राणशासन विरुद्धको आन्दोलनमा लागेँ ।

७ सालको जनआन्दोलनको सेरो फेरोमा काजी मान कन्दङवा, प्रेम बहादुर तुम्बाहाम्फे लगायतका हामीलाई तत्कालीन शासकहरूले शान्ति सुरक्षा कायम गर्न अनुरोध गरेर हामी गाउँगाउँमा गयौँ । यही समयमा जनताहरू मूलतः ब्रिटिस सेनामा कार्यरत बहालवाला र भूपू सैनिकहरू राणा शासनसँग ज्यादै रुष्ट पायौँ किनभने उनीहरूलाई सुबेदारभन्दा माथिको पदमा बढुवा नगर्न भनी ब्रिटिस शासकलाई राणाहरूले अनुरोध गरी चिठी लेखेका रहेछन् । त्यसैले हामीले शान्ति सुरक्षको लागि उनीहरूलाई अनुरोध गर्दा तपाईहरूले भनेको सबै मान्छौँ तर राणाहरूको विरुद्धमा हामी आन्दोलन गर्छौँगर्छौँ, हामी मार्न र मर्न तयार छौँ भनी उनीहरूले भने । यही क्रममा विभिन्न ठाउँमा नाराजुलुश र सभाहरू हुन थाल्यो । म पनि यही माहोलमा स्वतः सामेल भएँ ।

तत्कालीन नेपाली काङ्ग्रेस पार्टी ताप्लेजुङ जिल्ला कमिटिमा कसरी सचिव हुनुभयो ? 
– पछि त म पार्टीमा सम्मिलित भइहालेँ । पार्टीको आमसभामा भाषण गर्दै र गाउँगाउँमा सङ्गठन गर्दै हिंड्न थालेँ । त्यही बेला धनकुटाका बडाहाकिम प्रकाश समशेरले शान्ति कायम गर्न पार्टीका मानिसहरूसँग सहयोग मागे । तेरथुममा काजीमान कन्दङवा र ताप्लेजुङमा म खटिएँ । त्यो समयमा तत्कालीन ताप्लेजुङ अदालतका हाकिम हर्कजंग मादेनसँग चिनजान भयो र उहाँले ताप्लेजुङ बस्न अनुरोध गर्नुभयो अनि प्रकाश समशेरलाई पनि अनुरोध गर्नुभयो मेरो बसाइ ताप्लेजुङमा होस् भनेर । उहाँले भानु स्कुल अम्बिटारमा शिक्षक जागिर पनि दिलाउनुभयो । शिक्षण पेशासँगै काङ्ग्रेस पार्टीको जिल्ला कमिटि गठन गरियो र म सचिव भएँ । पछि म काङ्ग्रेस महासमितिको सदस्य पनि भएँ ।

ताप्लेजुङमा तत्कालीन समयमा काङ्ग्रेसबाट बढी लुटपाट भयो भन्ने आजभोलि पनि सुनिन्छ नि ? 
–त्यस्तो होइन । यसको कहानी छ । चार सालमा राणाहरूले गठन गरेको पञ्चायतमा आठराईका सिटौला, विमलीहरू पदाधिकारी भए । लिम्बूहरू चाहिँ पुरानो थीतिरीतिमा आँच आउँछ भनेर पञ्चायतमा वस्न स्वीकार गरेनन् । कुमाईंहरू मात्र गाउँको पदाधिकारी भएपछि लिम्बूहरूलाई तह लगाउनुपर्छ भनेर योजना बनाई उनीहरूको गोठाला खेतालाहरूलाई लिम्बूहरूको विरुद्धमा फर्जी उजुरी गर्न लाउँदै लिम्बूहरूलाई ठिङ्गुरोमा ठोक्न थाले । यसको साथै त्यसवेलाका कुमाईहरू विशेष गरी सिटौँला, विमली, मैनालीहरूले षडयन्त्र गरी लिम्बूहरूलाई तह लगाउन एक हुनु पर्ने गोप्यपत्र जारी गरे । त्यो पत्र खाम्लालुङका अमाली सुब्बा पूर्णहाङ लिम्बूले हात पारे । त्यसमा हामी काङ्ग्रेसमा लाग्नुपर्छ र लिम्बूहरूलाई तह लगाउनुपर्छ भन्ने कुरा थियो । पूर्णहाङले त्यो पत्र धनकुटाका सहायक बडाहाकिम लोचन समशेर थापालाई बुझायो अनि लोचन समशेरले त्यो पत्र छापेर लिम्बूवान भरि छरिदिए । त्यसले कुमाईहरूको गोप्य षडयन्त्रको पर्दाफास ग¥यो र लिम्बूहरूमा ठूलो उत्तेजना सिर्जना ग¥यो । त्यही समयमा कुमाईहरूले ४५ जना लिम्बूरूको विरुद्धमा डाका मुद्दा हाले । त्यसवेला ताप्लेजुङमा मायानाथ लप्टन भन्ने हाकिम थियो । कुमाईहरूले त्यो हाकिमलाई घुस खुवाई गाउँमा सरजिमिन गराए र लिम्बूहरूले डाका गरेकै हो भनेर मुद्दा हराए । एकातिर धनकुटे बडाहाकिमको उचालाइ अर्कोतिर कुमाईको षडयन्त्र । यसले गर्दा ती डाका मुद्दामा आरोपित युवाहरू आक्रोसित भए । त्यसवेला तेरथुमको आठराई सङ्क्रान्तिमा महिना महिना दिनमा ठूलो बजार लाग्ने गथ्र्यो । त्यहाँ कुमाईहरूले ठूलाठूला पसल थापेर बसेका थिए । ती लिम्बू युवाहरूले नगरेको कामको दोष कुमाईहरूले लगाई हाले अब यिनीहरूलाई यहाँबाट लेखेट्नुपर्छ भन्ने निर्णय गरेर दिन दाहाडै सङ्क्रान्ति बजार लुटपाट मच्चाए, पसल तोडफोड गरे । उनीहरू गाउँमा पसे र घरघरबाट कुमाईहरूलाई लखेटे । तर उनीहरूले लुटेको सम्पत्ति स्थानीय गरीवहरूलाई बाँडिदिए । सबै कुमाई विस्थापित भए । पछि ती सबै युवाहरू काङ्ग्रेसमा पसे ।

धनकुटामा गठित तत्कालिन जनसरकारको मन्त्रीमण्डलको सदस्य कसरी बन्नुभयो ? 
– जिबी याक्थुम्बा तत्कालीन जनक्रान्तिका पूर्वाञ्चल कमान्डर थिए । उहाँलाई जीओसी (जनरल अफिसर कमान्डिङ) भनिन्थ्यो । त्यतिखेर उहाँलाई जिबी सुब्बा भनेर चिनिनु हुन्थ्यो । पछि उहाँले सुब्बाको ठाउँमा याक्थुम्बा बनाउनुभयो । उनले राई, लिम्बूको भूपू सैनिकहरू हातमा लिएर जनमुक्ति सेना गठन गरी पहिला विराटनगर कव्जा गरे । विराटनगरमा उत्तमविक्रम बडाहाकिम थियो । त्यसबेलामा धनकुटामा खेम समशेर बडाहाकिम थिए । ललितबहादुर तुम्बाहाम्फे क्याप्टेन बाबुको छोराको नाताले राणहरूसँग नजिक थिए र उनीबाट राजनीतिक सल्लाह लिनु भनी केन्द्रबाटै धनकुटे बडाहाकिमलाई निर्देशन थियो । ललितबहादुर पनि तत्कालीन राजनीतिक स्थिति बुझ्न काठमाडौँ जाने तयारी गर्दै थिए । त्यही बेला गृहमन्त्रालयले धनकुटे बडाहाकिम खेम समशेरलाई ललितबहादुर तुम्बाहाम्फेसँग राजनैतिक सल्लाह लिई काम गर्नु भनी वायरलेस आयो । त्यो तार जिबी याक्थुम्बाले क्याच गरे । जिबी त्यसवेला विराटनगर कब्जा गरिसकेपछि धनकुटा हान्न धरान बस्दै थिए । ललितबहादुरको बारेमा वायरलेसबाट थाहा पाएपछि यो व्यक्ति को रहेछ भनेर जिबीले सीआईडी छोडेर ललितवहादुर काठमाडौँ जाँदै गर्दा बाटैमा पक्डिए । त्यसपछि जिबीले ललितबहादुरलाई भने – तपाईं दुई वटा विकल्प छ, कि तपाईंले धनकुटा क्याप्चर गर्न सहयोग गर्नुहोस् कि त गोली खान तयार हुनुहोस् । अन्त्यमा ललितवहादुरले म कसै न कसैको मारमा पर्ने नै भएँ त्यसैले म काङ्ग्रेसमा लागेर सहिद हुन तयार छु । यी सबै कुरा मलाई जिबीले भनेका हुन् ।

त्यतिखेर धनकुटामा साडे तीन सय भूपू सैनिकका पल्टन ललितबहादुरले नै खडा गरेका थिए । ललितवहादुर नै बडाहाकिमका सल्लाहकार पनि । त्यसपछि जिबी याक्थुम्बाले ललिबहादुरलाई भने – तपाईंले बिना हिंसा धनकुटा कब्जा गर्नु, म जनसेनाको एक टुकडी दिएर पठाउँछु । त्यसपछि उनी धनकुटातिर लागे, खबर पनि सेना र बडाहाकिमलाई पठाए, म काङ्ग्रेस भएर आउँदैछु, आत्मसमर्पण गर भनेर । त्यसबेला वडाहाकिमको भारतीय ज्वाइँलगायत अन्य नातेदारहरू करीव २२÷२३ जना धनकुटा दरबारमा आएका रहेछन् । फेरि विराटनगरको बडाहाकिमको छोरा, नातेदारहरू लगायत पाहुनाहरू पनि मरेको घटना पनि ताजै थियो । आफूलगायत पाहुनाहरू सबै मारिने छन् भन्ने डरका कारणले बडाहाकिमले अत्मसमर्पण ग¥यो । त्यसैले काङ्ग्रेसले विना हिंसा धनकुटा कब्जा ग¥यो ।

त्यसको लगतै धनकुटाको दरबारमा जिबी याक्थुम्बालाई भित्र्याइयो । भोलिपल्ट टुँडीखेलमा आमसभा भयो । त्यही आमसभामा अन्तरिम सामयिक सरकारको घोषणा जिबी याक्थुम्बाले गर्नुभयो । त्यसको प्रमुखमा ललितवहादुर तुम्बाहाम्फे घोषित हुनुभयो । काजीमान कन्दङवा र म तेरथुम र ताप्लेजुङमै थियौँ । तर हाम्रो नाम १२ जनाभित्र राखिएको थियो । यसरी हामी नेपालको जनक्रान्तिको क्रममा प्रथम जनसरकारको मन्त्रीमण्डलमा सामेल भयौँ ।

मन्त्री हुँदाको अनुभव कस्तो छ ? 
–बहुत आश्चर्य लाग्दो छ, त्यो जीवनको रोमाञ्चक क्षण थियो । धनकुटा दरवार विशाल थियो । त्यही दरबारभित्र मन्त्रालयहरू चलाएका थियौँ । स्टापहरू थिए । छापसाप काट्ने काम हुन्थ्यो । धनकुटा बजारमा तलमाथि हिँड्दा सडकका दुबैछेउबाट सलोट मार्थे, जनताहरू । त्यो सरकार स्वतन्त्र सरकार थियो । नोट जारी गर्ने तयारी भैरहेको थियो । त्यही समयमा केन्द्रीय सत्ता परिवर्तन भयो । समयपछि फेरि जिबी याक्थुम्बा आउनुभयो र केन्द्रीय सत्ता कब्जा भएकाले हाम्रो सरकार विघटन गर्नु पर्ने सल्लाह दिनुभयो । अनि त्यो सरकार विघटित भयो ।

तपाईं जागिरे पनि हुनुभयो । कहाँको नागरिक सरकारको मन्त्री कहाँको जागिरे व्यक्ति ? यो बेमेल भएन र ? 
–त्यसवेलाका पार्टीका साथीहरू विशेष गरी प्रेमराज आङदेम्बेको अनुरोध अनि हातमुख जोर्ने समस्याले जागीर खनुप¥यो । तर मभित्रको स्वाभिमानले पोलिरहयो, सिंहदरवारभित्र जागिर खाए पनि । त्यसैले मैले पेनसन पाके पनि पेनसन नखाने, कर्मचारीको विल्ला नभिर्ने निर्णय गरेर म जागिरबाट वाहिरिएँ ।

नेपाली काङ्ग्रेसले तपाईंजस्तो इतिहास बोकेको व्यक्तिलाई उपेक्षा गरे जस्तो लाग्दैन ? पहिला र अहिलेको काङ्ग्रेसमा के भिन्नता छ ? 
– बिपी ज्यादै दूरदर्शि, प्र्रभावशाली र उदार नेता थिए र उनीसँग मेरो सम्बन्ध राम्रो थियो । मेरो चिनजान मातृकासँग पनि त्यतिकै राम्रो थियो । अहिले गिरिजामा ती कुरा पाइदैनन् । पछि काङ्ग्रेस पार्टी नेताहरूको कारणले बाहुनवादी, परिवारवादी बन्दै गयो । जनजातिहरू उपेक्षित हुँदै गए । म त आफ्नो जातिप्रति मरिमेट्ने मान्छे । जेको लागि काङ्ग्रेसमा लागेँ त्यो त्यहाँ नपाएपछि मैले त्यो पार्टी छोडेँ । काङ्ग्रेसले मलाई होइन वास्तविक देश अथवा जानजातिहरू र उनीहरूको समस्यालाई उपेक्षा र तिरस्कार गरेको मैले पाएको छु । यसले काङ्ग्रेसलाई नै घाटा पार्छ । मेरो यही ठहरले गर्दा बहुदलपछि जनमुक्ति पार्टीमा लागेँ र राष्ट्रिय परिषद सदस्य पनि छु ।

जनजाति पुस्तक पत्रपत्रिकाको पसल कसरी सुरु गर्नुभयो ? 
–म विद्यार्थी हुँदादेखि नै जनजातिका अधिकार, भाषा, साहित्यबारेमा चासो राख्ने व्यक्ति थिएँ । धरानमा पढ्दाखेरी मेरा साथीभाइ बाहुन क्षेत्रीमात्र थिए । तर उनीहरूले मलाई जहिले पनि भन्ने गर्थे – तिमी लिम्बूहरूको मात्र वकालत गर्छौ तिमी लम्बूवादी छौ । म स्वतः जातिय प्रेम र जातिय स्वभिमान राख्ने स्वभाव थियो । यो प्रेरणा मैले ललितबहादुर तुम्बाहाम्फेबाट पाएको हँु र मेरो विशेषता पनि यही हो । त्यसले पछि गएर जनजातिय साहित्यको प्रवद्र्धन गर्ने निर्णय गरेँ र यतातिर लागेँ । यसवाट किरातलगायत अन्य जनजातिय सहित्यको सेवा र मेवा दुवै मिल्ने विचार गरी यो व्यवसाय अपनाएँ ।

सुरुमा मैले पसल खोल्दा र वर्तमान अवस्थामा व्यापक भिन्नता छ । जनजातिहरू अहिले आफ्नो भाषा, संस्कृति, इतिहासबारेमा धेरै सचेत छन् र भाषा साहित्यको विकास र संरक्षणमा व्यापक रूपले लागेका छन् । दिनानुदिन नयाँनयाँ जनजातिय पत्रपत्रिका र पुस्तकहरू प्रकाशित भैरहेका छन् । किन्ने र पढ्ने प्रवृति पनि निक्कै बढेको छ ।

पुरानो पुस्ताका लिम्बू साहित्यकारहरू कोकोसँग तपाईको सङ्गत थियो ? 
–लिम्बू साहित्यकारहरूमा प्रेमबहादुर माबुहाङ, जिबी याक्थुम्बा, रणधीर सुब्बा, इमानसिह चेम्जोङ अनि खस नेपाली साहित्यकारहरूमा वालकृष्ण सम, लेखनाथ पौडेल, शिद्धिचरण श्रेष्ठ, धमभक्त यमी, ताना शर्मा, बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल लगायतका लिम्बू र नेपाली साहित्यकार हरूसँग मेरो राम्रो संगत थियो ।

त्यसमा पनि इमानसिंहसँग काठमाडौँ वस्दा धेरै उठवस भयो । उहाँबाट धेरै कुरा सिक्ने अवसर पनि पाएँ । किरात साहित्यमा सबैभन्दा बढी चासो इमानसिंहमा थियो ।

उहाँ युमाका भक्त हुनुहुन्थ्यो । जव उहाँलाई केही चिन्ता हुन्थ्यो, कुनै किसिमको अपसोस हुन्थ्यो तव उहाँ बसेर युमाको उपासना गर्न थालिहाल्नु हुन्थ्यो । धार्मिक पो हुनुहुन्थ्यो इमानसिंह त !

उहाँसँग खुलमखुल्ला कुराकानी हुन्थ्यो । म उहाँलाई गुरु भन्थेँ । होइन गुरु, तपाईलाई त क्रिस्चियन पनि भन्दो रहेछन् नि त मलाई प्रष्ट भन्नोस् न हाउ भन्ने प्रश्न राखे एक दिन । उहाँले – “मेरो बाबु क्रिस्चियन, तर कसरी भने कलकत्तामा पढ्दाखेरी सारो विमारी हुनुभएछ, विमारी हु“दा त्यहाँ वंगाली साथीहरूसँग सहयोग माग्नु भएछ, विद्यार्थी जीवनमा । उहाँका पढ्ने साथीहरू क्रिस्चियनमा लागेको थिए । आपद पर्दा क्रिस्चियन भएर मेट्रिक पास गरेर आउनु भएछ । पछि आएर मेरो बुबा इतिहासकार पनि हुनुहुन्थ्यो । बाध्य भएर त्रिश्चियनमा लागेको थियो । तिमीहरू क्रिस्चियनमा नलाग्नू है । इतिहास खोज्नु, पहिला किरातहरू सभ्य थिए । धरान विजयपुरमा किरात राजाहरूको दरवार थियो । त्यहाँ हात्तीसार छ । त्यहाँ किरातहरू हात्ती पाल्थे र इतिहास खोज । तिमीले अरु होइन पहिला किरात इतिहास खोज र क्रिस्चियन नहुनु भन्ने बाबुको आदेश थियो मलाई ।” भनेर इमानसिंहले सुनाउनुभयो । त्यसैले म क्रिस्चियन बाबुको छोरा हुँ तर आफू क्रिस्चियन होइन भन्नुभयो । मत युमाको भक्त हुँ युमालाई मान्छु भन्नुहुन्थ्यो र जहिले भेट्दा पनि युमाकै कुरा गर्नुहुन्थ्यो ।

अरु केही भन्न चाहानुहुन्छ कि ?
–बैरागी काइलाले एकजना अङ्ग्रेज विद्वान्को भनाइ सुनाएका थिए । त्यो के भने नेपालमा अत्यन्त प्राचीन, अत्यन्त धनी र अत्यन्त सुन्दर एउटा भाषा मर्दैजादैं छ, त्यो लिम्बू भाषा हो, त्यो बचाउनु पर्छ भनेका थिए रे, ती विद्वान्ले । इमानसिंह पनि लिम्बू भाषाको बारेमा त्यसै भन्नुहुन्थ्यो । म यो भनाइसँग सहमत छु । त्यसले गर्दा हाम्रो समाजलाई यही मुन्धुम साहित्यबाट अगाडि बढाउनुपर्छ । यही साहित्यको आधारमा राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, वैज्ञानिक सबै कुरा मुन्धुममा खोज्नुपर्छ, अनुसुन्धान गर्नुपर्छ, विश्लेषण गर्नुपर्छ र आलेखन गर्नुपर्छ । यही कुरामा हाम्रो जाति समाजको विकास हुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।

तान्छोप्पा, वर्ष ८, अंक ६ विहिवार, ५ असार २०६०  (19 June 2003) ।

Friday, May 29, 2020

साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ – धनहाङ सुब्बा

साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ

– धनहाङ सुब्बा, कथाकार



कथाकार धनहाङ सुब्बा, कलाकार धनहाङ सुब्बा, मलायान लाहुरे धनहाङ सुब्बा, प्रशासकीय अधिकृत धनहाङ सुब्बा, समाजसेबी धनहाङ सुब्बा, धेरै अनुहारयुक्त धनहाङ सुब्बा । यी सबै परिचयभन्दा हँसिलो, फुर्तिलो, सबैका साथी धनहाङ सुब्बा सर्वप्रिय धनहाङ सुब्बा हुन् । १९३५ मा दार्जिलिङको छोटा पूर्बोङ चिया कमानमा जन्मिएका धनहाङ सुब्बाको स्वभावमा दार्जिलिङको प्राकृतिक सौन्दर्यको प्रतिविम्ब स्पष्टतः देख्न सकिन्छ । पुख्र्यौली थलो ताप्लेजुङ भए पनि जन्म थलो दार्जिलिङ भएका धनहाङ धनकुटाको डाँडागाउँ र दार्जिलिङको घुमसम्म आजतक जीवनको तान लाइरहेका छन् । लाहुरे भएर मलाया, सिङ्गापुर, हङकङ, बोर्नियो, सारावक, ब्रुनाई, मकाउ, अमेरिका लाहुरे भएर घुम्दा अनि यसभन्दा बढी बेलायती सहयोगबाट परिचालित कोशी पहाडी ग्रामीण क्षेत्र विकास परियोजनामा प्रशासकीय अधिकृतको रूपमा काम गर्दा पूर्वाञ्चलको १६ जिल्ला, मध्यामाञ्चलका १९ जिल्ला र पश्चि, मध्यपश्चिम र सुदुर पश्चिम घुम्दाका रोचक प्रसङ्गहरू दार्जिलिङे बोल्यशैलीमा उनी एक स्वासमा भनिसिध्याउँछन् । "आफू त माता हर्कमाया खापुङ र पिता रत्नधोज मुदेनछङ सावाँको कान्छो छोरा परियो हो" भन्ने धनहाङ सुब्बा धनभन्दा विद्यासँग रमाउन आनन्द मान्नु हुन्छ । र त उहाँले ‘हसिमा’ र ‘सलामत जलान’जस्ता निबन्ध एवम् कथाहरू तपाईं हाम्रोसामु प्रस्तुत गरेका छन् उनको अनुपम उपहारको रूपमा । तर बीचमा ४५ वर्षसम्म कलमसँगको साइनो चटक्कै छुट्टिएकोमा आज उनी साह्रै पश्चताप गर्दछन् र भन्छन्, "के भयो, के भयो ? ४५ वर्षसम्म म कसरी सुतेर रहेँ ?" तर अब त्यो रचनाकालको शून्यता पूरा गर्ने अटोटका साथ भन्छन्, "तर अब म कछुवाको होइन खरायोको गतिमा अगाडि बढिरहेको छु ।" जनरल सर्भिस मेडल, दियालो पुरस्कारलगायतका आधा दर्जन बढी पुरस्कारको शान बोकेर यस पटक धनहाङ सुब्बा काठमाडौँमा सिर्जनशील अराजकताको साहित्यिक पाहुना हुन आएका थिए अनि ‘एउटा कथा’ चलचित्रका कलाकार बन्न पनि भ्याएका थिए । किरात याक्थुङ चुम्लुङका आजीवन सदस्यसमेत रहेका धनहाङ सुब्बासँग काठमाडौँ बसाइको यही मेलोमेसोको क्रममा ललितपुरको उहाँको अस्थाइ निवासमा पुगेर अमर तुम्याहाङ र इमाहाङ सेत्लिङले उहाँसँग गरेको अन्तरङ्ग कुराकानीको सार सङ्क्षेप ।

तपाईंका कथाहरूको विषयवस्तु खासगरी के हुने गर्दछ ?
मेरो कथाको विषयवस्तु मेरो विगतका अनुभवहरू नै हुन् । मैले घुमेका पूर्वी एसिया, दक्षिण एसिया र युरोपका मुलुकहरूमा डुल्दा घुम्दाका देखेका विविध कुराहरू, भोगेका सुखदुःखहरू नै मेरा कथाका विषय वस्तुहरू हुन् । योबाहेक तत्कालीन मेरा पत्रमित्रहरूले पत्रमार्फत् पठटाएका जानकारीमूलक घटनाहरू  मलाई कथा लेख्नमा सहयोग पु¥याएका छन् । मेरो कथाहरू सैनिक जीवनसँग बढी नजिक छन् । म लाहुरे भएर हङकङबाट ब्रुनाई गए्ँ, ब्रुनाईबाट सिङ्गापुर आएँ । तत्कालीन मलाया अर्थात् अहिलेको मलेसिया पुगेँ । मलाई मलाया शब्दले सानो छँदा ज्यादै प्रभाव पारेको थियो । त्यसैले म मलेसियाको जनजीवन, रहनसहन, संस्कृति आदिले ज्यादै प्रभावित भएँ । मेरा कथाहरूमा पनि यिनै कुरा बढी मात्रामा भएका हुन् कि जस्तो लाग्छ ।

'सलामत जलान' मलेसियाको एउटी केटीको बारेमा छ । 'हसिमा' पनि यस्तै लेख हो । यी लेखहरू निकै पुराना हुन् । म १८/१९ वर्षको छँदा लेखिएका हुन् । भन्छन् नि बैंशमा स्याल पनि घोर्ले हुन्छ । म घोर्ले छँदै रचिएका हुन् ती रचनाहरू ।

त्यसो भए ‘हसिमा’ र ‘सलामत जलान’का पात्रहरू तपाईंका पूर्व प्रेमीहरू हुन् ?
आब्बुई, त्यसो त होइन । हुन त मान्छेको मन हो, कुनै पट्ठो युवकको मन कुनै जवान युवतीमाथि र कुनै युवतीको मन कुनै  युवकमाथि आकर्षित नहुने त कुरै भएन । तर भावनात्मक आकर्षण नै प्रेम कदापि हैन । यद्यपि उनीहरूको व्यवहार, शीलस्वभावले म सारै भ्रवावित भएँ । यतिसम्म कि नलेखी मेरो मनै मानेन ।

अनि प्रेम गर्नु भनेको आलिङ्गन, यौन तृप्ति मात्र होइन नि ! उनीहरू मेरा धेरै पत्रमित्रहरूमध्येका पत्रमित्रहरू पनि थिए । नेपालबाट श्यामप्रसाद शर्मा, स्वास्ती मान्छेको सम्पादिका शशिकला शर्मासँग पनि मेरो पत्रमित्रता थियो । अनि मैले कथा लेख्दा नेपाल र भारतको रहनहसहन, धर्म, संस्कृतिको बारेमा पनि कथाहरू लेखेँ । त्यति मात्र होइन, मैले मेरै पल्टने साथीहरूको जीवनमा आधारित भएर पनि कथा लेखेँ  । उदाहरणको रूपमा ‘रहर पुग्यो’ भन्ने कथा पश्चिमबाट आएको हर्कबहादुर भन्ने साथीको चिन्तन र जीवनमा आधारित कथा हो । ऊ पल्टन आउनुमा ठूलो पदमा पुग्नु, नाम कमाउनु, धेरै सम्मति कमाउन वा अरु केही गर्न आएको थिएनन् । उनी त फगत लाहुरे हुन आएका थिए ।

त्योभन्दा बाहेक उनको केही गर्ने प्रयत्न पनि गरेनन् र उनी कहिल्यै केहीमा सफल पनि भएनन् । टीबी लागेर उनी सिपाहीको सिपाही मेडिकल पेन्सन आए । उनी भन्थे, "नम्बरी, म त लाहुरे भएँ । मेरो जहानलाई लाहुरेनी भन्छन्, छोरालाई लाहुरेको छोरा भन्छन्, छोरीलाई लाहुरेको छोरी भन्छन् । मलाई यति भए पुग्यो । नम्बरी, तपाईं लप्टन कप्टन भएर आउनु है ।" त्यो मान्छे गजबको थियो । पढाइमा कहिल्यै पास हुन भएन । म क्लर्कमा थिएँ । ऊ पास होस् भनेर जाँचअघि प्रश्नहरू सुटुक्क ल्याएर दिन्थेँ । तर अहँ ऊ कहिल्यै पडाइमा पास भएन । केही मान्छे हर्कबहादुर जस्तै उद्देश्यहीन र सन्तोकी पनि हुँदारहेछन् ।

पछि म सिभिल लाइफमा धुन्चे र हेटौडातिर पनि नोकरी गरेँ । त्यहाँको आञ्चलिकता पनि मेरो रचनाहरूमा छन् ।
त्यसो भए तपाईंको कथाहरू कथिएका कथा नभएर यथार्थ घटनाहरू हुन् ? 
हो, मेरा कथाहरू कल्पनाको आधारमा कथिएका छैन । धेरै जसो कथाहरू यथार्थ घटनामा आधारित छन् । ती घटनाहरूको साँची म आफैं हुँ ।

त्यसो भए तपाईं आफूलाई यथार्थवादी कथाकार भन्नुहुन्छ ? 
"कतिपय समीक्षकहरूले कथाका पात्र लेखक स्वयम् हुन कि ?" पनि भनेका छन् । हो, मेरा कथाहरू बढी यथार्थ हुन् । योबाहेक केही कथाहरू संस्मरण प्रधान पनि छन् । तर फगत कल्पनामा लेखिएको कथा चाहिँ एउटा पनि छैन । अब आयो म यथार्थवादी कथाकार हुँ कि होइन ? यसबारेमा म आफैंलाई त के भन्नु ? यो त अरूले नै भन्नु पर्ने कुरो हो । होइन र ?

तपाईं लामो विश्रामपछि पुनः साहित्य रचनामा लागिरहनु भएको छ । यति लामो शून्यता के कारणले भयो ?
मैले सन् १९५९ मा ‘हसिमा’ प्रकाशित गरेँ । त्यसपछि सैनिक जीवन त छँदै थियो । म पछि लामो समयसम्म प्रोजेक्टमा काम गरेँ । तर लेखनको दृष्टिले त्यो शून्यता एक युगको शून्यता हो । ‘सलामत जलान’ २००४ मा मात्र प्रकाशित गरेँ । यो बीचमा म ४५ वर्ष सुतेर रहेछु, कलम थन्क्याएर बसेछु । किन भन्ने प्रश्नको जवाफ मसँग पनि छैन । मलाई कसले अल्छी बनायो ? केले निश्क्रिय तुल्यायो ? थाहा नै छैन । अहिले यसबारेमा सम्झिन्छु र आफैं छक्कै पर्छु । पछि आएर लेख्न त थालेँ तर ग्याप भएपछि ट्रयाकमा आउन नै गाह्रो हुँदोरहेछ । जे होस् अहिले आएर खरायोको गतिमा दौडिरहेको छु । म ४५ वर्षे शून्यताप्रति मलाई पश्चताप छ ।

‘सलामत जलान’ २००१ देखि २००४ सम्ममा पूर्व प्रकाशित र नयाँ कथाहरू सङ्कलन गरी प्रकाशनमा ल्याएको हुँ ।

अहिले कुन कथा लेखिरहनु भएको छ ? 
अहिले म कथा लेख्ने सुरमा छुइन । अहिले त म लिम्बू लोक कथाहरूको सङकलनमा पो लागिरहेको छु । मैले १८ भन्दा बढी लिम्बू लोक कथाहरूको नयाँ शिर्षकहरू पाएको छु । ती लोक कथाहरू कति पान्थरका छन्, कति छथरका छन् त कति तेहथुम र ताप्लेजुङका छन् । ती लोक कथाहरूलाई सम्बन्धित ठाउँमा गएर खोजेर प्रमाणित गरेर सङ्कलन एवम् प्रकाशन गर्ने योजनाका साथ काममा लागिपरेको छु । यो काम पूरा गर्न मलाई लामो समय लाग्ने छ । अहिलेको अवस्था पनि राम्रो छैन । त्यसैले गर्दा स्वतन्त्र रूपले घुमफिर गर्न पनि सकिन्न । तर पनि यी लोक कथाहरूलाई सङ्कलन गर्ने दृढ सङ्कल्पका साथ अगाडि बढिरहेको छु ।

अहिले नवराज वर्तमानले सङ्कलन गरेका लोक कथाहरू, शिवकुमार श्रेष्ठले सङ्कलन गरेका लोक कथाहरू, इमानसिंह चेम्जोङका लोक कथाहरू पनि सङ्कलन गरी म अध्ययन गरी रहेको छु । लोक कथाहरूमा पनि लिम्बू जातिसँग सम्बन्धित पौराणिक कथाहरू, मुन्धुमसँग सम्बन्धित कथाहरू, ठाउँहरूसँग सम्बन्धित लोक कथाहरूमाथि मेरो बढी चासो छ जस्तै छथरको साम्लो लुङ, तेरथुमको छाते ढुङ्गा, ताप्लेजुङको पावरुङ मावरुङ फक्कु आदि ।

यी लोक कथाहरू भावी सन्ततिहरूका लागि हो । ती लोक कथाहरू क्रमशः विर्सिँदै जाँदैछन् । दार्जिलिङतिरका बच्चाहरू लिम्बू भाषा जान्दैनन् । ती लोक कथाहरू त झन उनीहरूले सुनेकै छैनन् । त्यसैले उनीहरूका लागि ती अन्जान सन्तानहरूको लागि यी लोक कथाहरू सङ्कलन गर्न लागेको हुँ । यसका साथै ती लोक कथाहरूले हाम्रो समाजको विविध पक्षहरूमाथि पनि अध्ययन गर्न मद्दत गर्दछ।

तपाईंले सङ्कलन गर्न लाग्नुभएको लोक कथाहरू विलकुलै नयाँ हुन् त ? 
मैले सङ्कलन गर्ने लोक कथाहरू शिवकुमार श्रेष्ठ, नवराज वर्तमान, इमानसिंह चेम्जोङले नदेखेको, नसुनेको, नलेखेको र नयाँ हुनु नै प¥यो । यसको अर्थ लोक कथाहरू नै नयाँ बनाउने भन्ने होइन । यसको आसय सङ्कलित नभएका कथाहरू, नछापिएका कथाहरू मैले सङ्कलन गर्ने भन्ने हो । फेरि शिवकुमार, इमानसिंह र नवराजहरूले सङ्कलन गरेका लोक कथाहरू मैले सङ्कलन गरेर मेरो सङ्कलनका कथाहरूले त पहिचान पाउँदैनन् । पहिचान पाउनको लागि नयाँ हुनुप¥यो, फरक हुनुप¥यो।

मैले करिव १८ वटा शीर्षकहरू पाइसकेको छु । त्यसमध्ये ६/७ वटा लोक कथाहरू सङ्कलन गरी लेखिसकेको छु । तर पनि पुस्तकाकारमा आउन निकै समय लाग्छ नै ।

साहित्यमा कसरी लाग्नुभयो ? 
म स्कूल पढ्दा धेरै साहित्यिक पत्रिकाहरू पढ्थेँ । 'साहित्य', 'स्वास्नी मान्छे' पढ्थेँ । स्वास्नी मान्छे पत्रिका बेलायतमा छापिने वुमन पत्रिका जतिकै स्तरीय छ भनी शशिकलालाई पत्र लेखेको थिएँ । हुन पनि त्यो पत्रिका समयअनुसार स्तरीय नै थियो । त्यो मेरो पत्र सम्बन्धित पत्रिकामा छापिएको पनि थियो । त्यो वेला साहित्य र स्वास्नी मान्छे कमल पोखरीको साहित्य सदन ठेगानामा प्रकाशित हुन्थ्यो । ती पत्रिकाहरू बाइन्ड गरी राखेको छु । 'भारती', 'हाम्रो कथा', लैनसिंह वाङदेलको 'प्रभात', 'साथी', 'गोर्खा', कासीबाट 'उदय' जस्ता पत्रिकाहरू छापिने गर्थे । यही पत्रिकाहरूमा छापिएका कृतिहरूले नै मलाई लेख्न अभिप्ररित गरे । उदय पत्रिकामा महाकवि देवकोटा, वालकृष्ण सम, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्टहरूको रचनाहरू छापिन्थे।

त्यो समयमा दार्जिलिङ लेख्नको लागि मलिलो ठाउँ थियो । पारसमणि प्रधान, रामकृष्ण शर्मा, शिवकुमार राई, इन्द्रबहादुर राई, रुपनारायण सिंहलगायत थुप्रै राम्रा कवि तथा कथाकारहरू थिए । उनीहरू कै अभिप्रेरणाले पनि लेखियो ।

कविता पनि लेख्नुभयो कि ? 
कविता छन्दमा लेन्नुपर्छ भन्थे त्यो वेलाका भारतीका सम्पादक महोदय पारशमणि प्रधान । उनी भन्थे, "सिकारु कविले जहिल्यै पनि छन्दमा लेख्नु पर्छ ।" उनले समस्या पूति शीर्षक दिएर चार हरफ कविता छन्दमा लेख्न लगाउन पत्रिकामा सूचना प्रकाशित गर्थे । ताटक, मालिनी, शार्दुलविकृडित या अन्य जुनसुकै छन्दमा लेखे पनि हुन्छ तर झ्याउरे छन्दमा नलेख्नु भन्ने पारशमणि प्रधानको सल्लाह थियो । उनले एक पटक ‘कल्पना’ भन्ने विषय दिएको थियो र मैले १६, १२ को मात्रिक छन्दमा कविता लेखेँ । रातराजभरि प्रयास गरेर लेखेँ । त्यसरी लेखी पठाएको कविता छापियो पनि । तर त्यसपछि म कविता लेख्न सक्दिन रहेछु भन्ने लाग्यो र मैले कविता लेख्न छोडिदिएँ ।

तर पछि त जीवन नाम्दुङलगायत अन्य साथीहरूले उनीहरूको कविता सङ्ग्रह दिए । अनि यसो हेरेर सोधेँ, "भाइ हो, यो कुन छन्दमा लेखिएको हो ?" उनीहरूले भने, "दाइ, अचेल छन्दसन्द छैन ।" अनि पो म त खङ्ग्रङगै भएँ । भावना त पहिला पनि आउँथ्यो नि कविता लेख्नलाई, छन्द पो आउँदैनथ्यो त । अनि त मैले पनि छिटफुट कविता लेख्न थालेँ । मैले 'दार्जिलिङको पर्यटकलाई' र 'म भुल्ने थिएँ' लगायतका कविताहरू लेखेर दार्जिलिङ र सिक्किमका पत्रिकाहरूमा प्रकाशित गराएको छु । तर अब म अत्यन्तै ढिला भइसकेको छ ।

लाहुरमा साहित्यिक सङ्गत कस्तो थियो? 
राधिका राया, लक्ष्मीनाथ वस्नेत ‘पागल’ एबी गहतराज, मोहन थापालगायतका राम्रा साहित्यकारहरू मलायमा थिए । पर्वते पत्रिका पहिला रोमनमा निस्किन्थ्यिो । पछि त्यहाँ पनि देवनागरीमा छाप्न थाले । अनि क्रमशः मलायामा पनि साहित्य साधना र प्रकाशनको वातावरण बन्दै गयो ।

आधुनिक या उत्तरआधुनिक साहित्य भन्नाले के हो ? बताइदिनुहोस् न । 
साहित्य आधुनिक, उत्तरआधुनिक वा नयाँ पुरानो भन्ने कुरै भएन । साहित्य साहित्य हो । साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ । मोपासाको कथा ‘हिराको हार’, कहिल्यै पुरानो हुँदैन र भएन, जति पटक पढे पनि नयाँ नै लाग्छ । जर्ज वर्नाडसा कथाहरू, अस्कार वाइल्डका ‘ह्याप्पी प्रिन्स’, प्रेम चन्दको ‘बढी घरकी बेटी’ जस्ता कथाहरू सधै नयाँ लाग्छन् ।

आफ्नो साहित्यिक रचनाहरूबारेमा तपाईको के भनाइ छ ? 
साहित्य रचना गरिसकेपछि रचनाकारको हुँदैन, पाठकको सम्पत्ति  हुन्छ त्यो । त्यसको मूल्याङ्कन गर्ने, त्यसबारेमा केही भन्ने अधिकार त पाठकको हो, लेखकको होइन ।

कियाचुको आजीवन सदस्य पनि हुनुहुँदो रहेछ । लिम्बू साहित्य कस्तो पाउनुभएको छ ? 
म आफैले प्रत्यक्ष नापजोख त गरेको छुइन । तर मगर, राई, तामाङ साथीहरूको भनाइअनुसार लिम्बू साहित्यको अवस्था राम्रो छ । म पनि तान्छोप्पा, लुङा, नुमाफुङ, सेमि फक्ताङलुङ, तङसिङ पत्रिकाहरू हेर्छु । यी पत्रिकाहरू हेर्दा लिम्बू भाषा साहित्य निकै राम्ररी पस्टाएको पाएको छु । यो देखेर म ज्यादै हर्षित पनि छु । नव लेखक लेखिकाहरूलाई वधाई पनि दिन्छु ।

तपाईंको भोग्नुभएको कुनै अनुकरणीय घटना सुनाउनु होस् न । 
म सैनिकबाट अवकास लिएपछि बेलायती सहयोगमा चलेको कोशी पहाडी ग्रामीण क्षेत्र विकास परियोजनामा काम गर्दाको एउटा घटना छ । यो समय पालनासम्बन्धी घटना भन्दा हुन्छ होला अनि सौहार्दता वा कुनै पनि घटनालाई स्वभाविक रूपमा लिने बानी भन्दा पनि हुन्छ होला । एकदिनको कुरा हो । विराटनगरमा हाम्रो संस्थाको कार्यक्रम थियो । त्यहाँ तेरथुम, भोजपुर, सङ्खुवासभा लगायतका जेटिएहरूको भेला थियो र त्यहाँ हाम्रो संस्थाको सल्लाहकार जोनले लेक्चर दिने कार्यक्रम थियो । हाम्रो समय विहान ७ बजे  कार्यालयबाट हिँडिसक्नु पर्ने थियो । बिहान मेनेजर जोन उसको श्रीमती र म तयार भयौँ तर टोनी त आइपुगेन । ७ बज्यो । ऊ अझै आएन । जोनले ड्राइभरलाई भन्यो, "गाडी चलाऊ ।" गाडी अगाडि बढ्यो । गाडी भेडेटार, साँगुरीभञ्ज्याङ हुँदै अगाडि बढ्यो । म त छक्क परेँ। किनभने कार्यक्रममा सहभागीलाई पढाउने बताउने मान्छे नै छुट्यो । जोन वा मेनेजरले त त्यो कुरा जान्दैन । अब सहभागीहरूलाई कसरी पढाउने होला भनेर म छक्क परिरहेको थिए । उसले एकछिन पर्खौं पनि भनेन ।

हामी धरानको भानुचोकको गेटनिर पुगेका मात्र के थियौँ टोनी एउटा बाइक भाडामा लिएर हतारहतार आइपुगेछ, धुलोले मान्छे पनि नचिनिने भएर । मलाई लागिरहेको थियो, यी  दुवैजना एकआपसमा रिसाइरहेका होलान् । तर उनीहरू भेट हुने वितिकै "हेल्लो जोन ।" "हेल्लो टोनी ।" भनेर हाँसीखुसी सामान्य व्यवहार गरेको देखेर म छक्क परेँ ।

यसरी गोरेहरू समयलाई अति नै ख्याल गर्दारहेछन अनि त्यसरी ख्याल नगर्दा हुने त्यस्तो व्यवहारलाई सामान्य रूपमा लिँदा रहेछन् । हामी नेपाली भए "एकछिन पनि पर्खिन सक्दैनौ" भनेर कति रिसाइन्थ्यो होला, या झगडा गथ्यौँ होला । यो कुरा उनीहरूमा पाइन । ती गोरेहरू समय पालनसम्बन्धी बानी हामीले सिक्यौ भने राम्रो हुन्छ । राम्रो कुरा त जसको भए पनि त फाइदा नै गर्छ नि होइन र ?

तान्छोप्पा, वर्ष १०, अङ्क ९, विहिवार, ९ भदौ २०६२ ९द्दछ ब्गन द्दण्ण्छ० ।

Wednesday, May 27, 2020

जनजाति, मधेसी, दलित र महिलाबाट ५१ % प्रतिनिधि संविधानसभामा सिधै ल्याइनुपर्छ - भक्तराज कन्दङ्वा

जनजाति, मधेसी, दलित र महिलाबाट ५१ ५ प्रतिनिधि संविधानसभामा सिधै ल्याइनुपर्छ

- भक्तराज कन्दङ्वा 
संयोजक, दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति किरात राष्ट्रिय मुक्ति मोर्चा, नेपाल

"पहिले म कम्युनिस्ट भएर काम गर्दा जातीय कुरो ग¥यो कि साम्प्रादायिक भन्थे ।" यसरी नै पस्किए इतिहासको तीतो स्वाद किरात राष्ट्रिय मुक्ति मोर्चाका संयोजक भक्तराज कन्दङ्वाले । अहिलेको अन्तरिम शान्तिपूर्ण राजनीतिक वातावरणमा राजनीतिक भेटघाटमा व्यस्त रहेको बताउने उनी राजधानी, ललितपुरमा आफन्तको घरस्थित भेटिएका थिए । आमा असारमाया लिम्बू र बुबा कालिस्वर लिम्बूका जेठा छोराका रूपमा वि.सं.२००१ सालमा लिम्बूवान आठराई थुममा जन्मेका कन्दङ्वा माओवादी केन्द्रीय सल्लाहाकार समितिका सदस्यसमेत हुन् । माओवादी भाषामा भन्ने हो बी.ए.बी.एल्.सम्मको ‘बुर्जुवा शिक्षा’ हासिल गरेका उनी कुनैबेला स्वास्थ्य मन्त्रालयका अस्थायी जागिरे थिए । राजनीतिक जीवनमा धेरै उत्तारचढाव पार गरेका उनी कसरी माओवादी जनयुद्धसँग नजिकिए त ? प्रश्नमा बुढ्यौलीले छपक्कै छोपेर होला, बेलाबेला "बुढ्यौली बक्बक" प्रस्तुत गर्दै जातीय मुक्तिका लागि वि.सं.२०५५/५६ सालतिर सशस्त्र जनयुद्धमा सामेल भएको बताए । 


उनी आफ्ना राजनीति गुरुका रूपमा आठराईका पुराना वामपन्थी सी.एम्.कन्दङ्वा र सूर्य कन्दङ्वालाई मान्दा रहेछन् । जातीय चेतना भने काजीमान कन्दङ्वाबाट पाएको बताए । उनको अनुसार निरङ्कुश पञ्चायतकालमा नेकपा पूर्वकोशीमा  सङ्गठित भएर उनको भूमिगत राजनीतिक जीवन सुरू भयो । उनले वि. सं. २०२८ देखि २०३१ सम्म विराटनगरमा तीन वर्ष जेल यात्रासमेत गरे । ‘वर्गीय मुक्ति’ नै थियो उनको त्यतिखेरको स्वप्न र कम्युनिस्ट पार्टीमा संलग्नताको कारक । तर उनी वि.सं.२०४६ पछि भने केही वर्ष राजनीतिकरूपमा निष्क्रिय रहे । यसको एउटै कारण थियो– पार्टी संसोधनवादको दलदलमा भासियो र निष्कर्ष निकालिहाले– अब वर्गीय मुक्ति सम्भव छैन । 

अगाडि थपे, "तर म चुप लागेर बसिनँ । जातीय पुस्तकहरूको अध्ययन गर्न थालेँ । कसरी जातीय मुक्ति सम्भव छ ?" वर्गीय मुक्तिप्रतिको मोहभङ्गसँगै जातीय मुक्तितिर मोह गाढा हुँदै थियो उनमा । त्यहिबेला माओवादीले २०५१ सालको प्रथम राष्ट्रिय सम्मेलनमा शोषित, उत्पीडित आदिवासी जनजातिको मुक्तिका लागि जातीय स्वशासन र आत्मनिर्णयको अधिकारको प्रस्ताव पारित ग¥यो र जनयुद्ध सुरू भयो । यसले कम्युनिस्ट आन्दोलनप्रतिको उनको निराशालाई धेरै हद पुनर्जिवित गरायो र माओवादीप्रति सहानुभूति पलायो । माओवादीले तान्ने उनको एउटै कुरा थियो– जातीय स्वशासन र आत्मनिर्णयको अधिकार । यसैको फलस्वरूप २०५६ सालतिर धरानमा उनको संयोजकत्वमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको गठन भयो । यसको राजनीतिक लक्ष्य थियो– लिम्बूवान स्वायत्त राज्य । पछि यो मोर्चा माओवादीको जातीय मोर्चाको रूपमा माओवादीमा सामेल भयो । र फेरि उनको भूमिगत राजनीतिक जीवन सुरु भयो । यसले उनको टुटेको राजनीतिक कडीलाई त जोड्यो तर कतिपयले भने– सुब्बाहरूले राजदरबारमा किपटको अधिकार बुझाएझैँ भक्तराजले लिम्बूवानलाई माओवादी हेडक्वाटरमा लगेर बुझायो । हुन पनि वि.सं. २०५८ सालमा तत्कालीन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र खम्बुवान राष्ट्रिय मुक्ति मोर्चालाई मिलाएर माओवादीले किरात राष्ट्रिय मुक्ति मोर्चा बनायो र किरात स्वायत्त प्रदेशको अवधारणा अघि सार्दै गोपाल किरातीको नेतृत्वमा किरात जनसरकारको गठन ग¥यो । र, माओवादीमा लिम्बुवानको सवाल ओझेल पर्दै आयो । यदि मुलुक सङ्घीय संरचनामा गएर पनि लिम्बुवान प्राप्त भएन भने भक्तराजहरूलाई लिम्बू र लिम्बुवानको इतिहासले नधिकार्ला भन्न सकिन्न । 

१० वर्षे जनयुद्ध तथा २०६२/६३ को जनआन्दोलनको बलले मुलुक राजनीतिक सङ्क्रमणको घडीमा गुज्रिरहेको छ । सरकार र माओवादी वार्तामा छन् र समस्याको निकास संविधानसभालाई मानिएको छ । अढाइसय वर्षदेखि एकात्मक राज्यव्यवस्थाद्वारा शोषित उत्पीडित नेपालका आदिवासी लिम्बूहरू पनि अब हुने भनिएको संविधानसभामा आफ्नो सहभागिता, बन्ने नयाँ संविधानमा आफ्ना अधिकारको ग्यारेन्टी तथा राज्य पुनर्संरचनामा आफ्नो थातथलो ‘लिम्बूवान’ हुनुपर्ने आवाज उठाइरहेका छन् । लिम्बूहरूको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङलगायत विभिन्न सङ्घसंस्थाहरू सङ्घीय संरचनामा लिम्बूवान स्वायत्त राज्य हुनु पर्ने आवाज उठाइरहेका छन् । यसमा किरात राष्ट्रिय मुक्ति मोर्चाको धारणा के छ त ? संयोजक कन्दङ्वाले भने– “किरात राष्ट्रिय मुक्ति मोर्चाको लक्ष्य भनेको सम्पूर्ण किराती प्रजातिहरूलाई जाति, राष्ट्र, राज्यमा परिणत गर्नु हो । किरात स्वायत्तता प्राप्त गर्नु हो ।” प्रस्तुत छ, लिम्बूवान स्वायत्ततासँगै विभिन्न विषयमा तान्छोप्पा र उनीसित भएको कुराकानी :

तपाईंहरू अहिले किरात स्वायत्तता, किरात मोर्चा भनिरहनु भएको छ, ‘किरात’ अवधारणा बारे बताइदिनोस्न ।
- किरात एउटा ऐतिहासिक जातिको नाम हो । अहिले यो भावनामा मात्र छ । इतिहासमा पनि किरात जातिहरूले राज्य गरेको पाइन्छ । यो ऐतिहासिक कडी हो । कालान्तरमा आएर राई र लिम्बूलाई मात्र किरात भनियो । तर हामीले किरात मोर्चाको भावना उठाएपछि १०/११ वटा जाति किराती हौँ भनेर आइरहेका छन् । किरात एउटा ऐतिहासिक जाति हो भने राई, लिम्बू, थामी, हायू, लेप्चा, मेचे, सुनुवार, याक्खा, लिम्बू, धिमाल, यिनीहरू किराती प्रजाति हुन् ।  ५/७ हजार वर्षको अन्तरालमा यिनीहरूबीचमा भाषा, संस्कृति, लवाइ–खाइमा फरक हुनु स्वभाविकै हो । यी जातिहरूमा पनि अन्तिम समयसम्म ‘इन्ज्वाय’ गर्ने त लिम्बू नै हो । भाषाको रूपमा, लिपिको रूपमा, साहित्यको रूपमा, हरेक रूपमा हेर्दा अरू किराती प्रजातिभन्दा जातिको रूपमा अलिक विकसित भएको जाति पनि लिम्बू नै हो ।

तपाईंले नै भन्नु भयो, किरात जाति अब भावनामा मात्र बाँचेको छ, यो अवस्थामा किरात मोर्चाको आवश्यकता र सान्दर्भिकता कतिको देख्नुहुन्छ ?
- अहिले त २१ औँ शताब्दी हो । सो¥हौँ शताब्दीमा एउटा जातिले आफ्नो साम्राज्य फैलाएजस्तो होइन । जस्तो चीनमा एउटै जातिका ६/७ वटा सम्राट बने । त्यतिखेर सञ्चार तथा यातायातको असुविधाले संसार फराकिलो थियो । २१ औँ शताब्दीमा विश्व एउटा गाउँ बनेको छ । अमेरिकामा घटेको घटना २/४ घण्टामा हामी यहाँ थाहा पाउँछौँ । यो बेला एउटै जातिले मात्र लडेर जातीय मुक्ति मिल्ने सम्भावना म देख्दिनँ । लिम्बूले एक्लै लडेर, गुरुङले एक्लै लडेर, मगरले एक्लै लडेर, राईले एक्लै लडेर मुक्ति सम्भव छैन । अहिलेको विश्व राजनीतिक सन्तुलनमा अमेरिका साम्राज्य– वाद नै छ ‘टप’, विश्वलाई हल्लाउने, उसले जे भन्यो त्यही गर्नु पर्ने । अब यस्तो स्थितिमा कुनै एउटा देशको २/४ लाख जनसङ्ख्या भएको कुनै एउटा जातिले एक्लै लडेर मुक्ति पाउँछ त ? स्थानीय सत्तासँग जुद्धाजुद्धै अमेरिकी साम्राज्यवाद त्यहाँ घुसिहाल्छ । जस्तो अहिले नेपालमा के हुँदैछ, सबैले देखिरहेका छौँ । त्यसैले लिम्बूहरूले मात्र लडेर यो सम्भव हुँदैन जस्तो लाग्छ । किरात मोर्चा बनिनुपर्छ भन्ने पनि यही हो । किराती भावना भएका हामी जो हौँ, जम्मै एक भएर, लडौँ, सबैलाई समेटेर जाऔँ, यतिले मात्र पुग्दैन, यो देशका तमाम आदिवासी जनजाति एक भएर, त्यसको सङ्गठन बनाएर अमेरिकी साम्राज्यवादको विरोधमा जानुपर्छ भन्ने हो । हामी जति जातीय मुक्तिको सफलतातिर जान्छौँ, उति भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद हामीलाई पछि धकेल्न लागि पर्छ भन्ने हामीले जो अनुमान गरेका थियौँ, त्यो ‘जस्ट’ देखिरा’छ ।

जुन स्वायत्तताको कुरा छ । विश्वको अरू जातिको सन्दर्भमा, युरोपियन इतिहासहरू हेर्ने हो भने जङ्गली युगवाट जातिमा विकसित भइसकेर, जातिबाट राष्ट्रमा विकसित भइसकेर, राष्ट्रबाट राज्यमा विकसित भइसकेर स्वायत्त भएको पाइन्छ । सम्राट अलेक्जेन्डरको पालामा  तमाम युनानीहरू एक भएका थिए तर पछि फेरि टुक्रिए । यो एक्काइसौँ शताब्दी, अहिलेको राजनीतिक परिवेशमा सबै एक हुनुपर्छ भन्ने हो । नेपालको त विशिष्ट किसिमको विशेषता छ । यो अन्तर्राष्ट्रिय स्थितिसँग जोडेर कुरो मिल्दैन । किनभने यहाँ त कतिपय जाति, जातिको रूपमै विकसित हुन सकेको छैन । कविला अवस्थामै छन् । जस्तो आफूलाई जो किराती भन्छन्, उनीहरूभित्रै विभाजन छ । किराती प्रजातिभित्र अलिक विकसित भनेको लिम्बू मात्र हो । किरात राष्ट्रिय मुक्ति मोर्चाको लक्ष भनेको सम्पूर्ण किराती प्रजातिहरूलाई जाति, राष्ट्र, राज्यमा परिणत गर्नु हो । किरात स्वायत्तता प्राप्त गर्नु हो ।

किरात स्वायत्तताभित्र लिम्बूहरूले लिम्बूवान स्वायत्तता, खम्बूहरूले खम्बूवान स्वायत्तता पाउँछन् त ?
- किरात स्वायत्तता जो, हामी किरात हौँ भन्नेहरू छन् उनीहरूको भावनामा रहने कुरा हो । जस्तै लिम्बू किराती र मेचे किरातीमा, दुवैको अवस्था मिल्छ त ? मिल्दैन । लिम्बूहरू त मेचेको तुलनामा धेरै अगाडि छन् । त्यसैले लिम्बू र मेचेलाई एउटा स्वायत्तता दिँदा जनसङ्ख्याको आधारमा, अन्य जातीय पहिचानका आधारमा मेचे त पछाडि पर्ने भो । त्यसले गर्दा स्वायत्तता हामीले मेचेलाई दिनु परेन त ? लिम्बूले पाउँदैनन् त ? खम्बूले पाउँदैनन् त ? तपाईं आफैँ भन्नोस् । (हाँसो) । तर एउटै कुरो भोलि संविधानसभा भयो, स्वायत्तता पाइने भो भने हामी किरातीभित्रको यो विविधतालाई कसरी समेट्ने, कति ठूलो कति सानो दिने भन्ने चुनौती छ । जस्तै मेचेहरू झापाको दुईवटा गा.वि.स.मा छन् । तर लिम्बूहरू अन्ठाउन्न सालको जनगणनामा ३ लखा ५९ हजार छन् अहिले त चार (लाख) भन्दा’नि माथि गए होलान् । अब लिम्बूहरूको ‘टेरिटोरी’ कति ? अब हिजोको पृथ्वीनारायण शाहले लेखिदिएको लालमोहरमा जस्तो खोज्न थालियो भने त समाज पछाडि पर्ने भो । मोर्चाले चाहिँ के गर्छ भने समाजलाई अगाडि बढाउने हो । अग्रगमनमा लाने हो । पछाडि धकेल्ने होइन । तर त्यसोभन्दा पृथ्वीनारायण शाहले दे’को लालमोहरको कुरै नगर्ने ? लालमोहरको कुरा पनि गर्ने हो । त्यो इतिहासमा रहन्छ । इतिहासलाई मध्यनजर गरेर समाजलाई कसरी अग्रगमनको दिशामा लाने ? ‘मेन’ कुरो  त्यो हो नि त ।


किरात स्वायत्तताभित्र लिम्बुवान, खम्बुवान या अन्य प्रजातिहरूलाई उपस्वायत्तता दिने हो मोर्चाको धारणा ?
होइन । यसलाई छलफलमा लैजाऔँ न । उपस्वायत्तता हो कि पूर्ण स्वायत्तता हो । कति जनसङ्ख्या भएकोलाई स्वायत्तता पाउने कति जनसङ्ख्या भएकोलाई उपस्वायत्तता पाउने, यो कुरा अगाडि बोलिदिएर भोलि जनताले मानेन भने हामी त ‘फेल’ हुन्छौँ । हामी जनताले जे निर्णय गर्छ, त्यसरी नै चल्ने हो ।

राज्यसँग किरात स्वायत्तताको ‘बार्गेनिङ’ कुन आधारमा गर्ने ? जाति, भाषिक, ऐतिहासिक, सांस्कृतिक, क्षेत्रीय...कुन आधारमा ?
- त्यो त सम्पूर्ण किरातीहरू बसेर गर्ने हो । कुन आधारमा जाने ? हामी यही हुनुपर्छ भन्ने पक्षमा छैनौँ ।

पहिला खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा बेग्लाबेग्लै थिए । पछि किरात राष्ट्रिय मुक्ति मोर्चा बन्यो । यो तपाईंहरूको मातृ पार्टी (माओवादी) को कार्यक्रम हो कि ? दुई मोर्चालाई नै किरात मोर्चा हुनुपर्छ भन्ने महसुस भएर निर्माण भएको हो ?
- उनीहरूले ल्याएको कार्यक्रम त नभनौँ । माओवादीको २०५१ सालको प्रथम राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेजमा नेपालका शोषित, उत्पीडित आदिवासी जनजातिको मुक्तिको लागि जातीय स्वशासन र आत्मनिर्णयको अधिकार दिने कुरा प्रष्टसँग आएको छ । यो कुरो अरू पार्टीमा त छैन ।

जातीय मोर्चाको रूपमा छुट्टाछुट्टै रहेका दुई मोर्चालाई मिलाएर २०५८ सालमा मेरो अध्यक्षतामा किरात राष्ट्रिय मुक्ति मोर्चाको गठन भएको हो ।

खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चालाई मिलाएर किरात राष्ट्रिय मुक्ति मोर्चा बनाउन लामो समय लागेको तथा  लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाको सुरक्षित मत धेरै थिए भन्ने छ । के थिए तिनीहरू ?
- लिम्बुवान मुक्तिमोर्चाका सुरक्षित मतहरू अहिले किरात याक्थुङ चुम्लुङले जेजे उठाएका छन् तिनै कुराहरू नै हुन् ।

कुनै फरक भाषामा सम्बोधन गर्नु भएको थियो होला नि ! 
- होइन, तिनै हुन् ।

फरक मत हुँदाहुँदै कसरी सहमत हुनु भयो त ?
- अहिले विश्व परिस्थिति ‘चेन्ज’ भएको छ । हामी त्यसमा ‘कन्भिन्स’ भयौँ । अब हिजोको जस्तो स्थिति छैन वन । अघि नै भनेँ नि, यो एक्काइसौँ शताब्दीमा विकासले, सञ्चारले  विश्व एउटा गाउँमा परिणत भइसकेको छ । विश्वको शक्तिशाली भनेको अहिले अमेरिकी साम्राज्यवाद छ । जुनसुकै सानातिना घरेलु झगडाहरूमा उसले हात हालिरहेको छ । यसले गर्दाखेरि छुट्टाछुट्टै भएर जानुभन्दा भोलि ऊसँग जुध्नको लागि एक भएर जानुपर्छ भन्ने भयो । तलबाट हेर्ने हो भने जातीय कुरो भो, माथिबाट हेर्ने हो भने सर्वहारा वर्ग, यो वर्ग र जाति जोड्दै लगेर ऊसँग हामी जुध्नको लागि एक हुनुपर्छ भनेर पार्टीका नेताहरूले पनि हामीलाई ‘कन्भिन्स’ गराए, हाम्रो अडान हुँदाहुँदै हामी पनि कन्भिन्स भयौँ ।

ती मतहरू अहिले पनि सुरक्षित नै छन् त ?
- सुरक्षित छन् ।


अहिले चुम्लुङले बोकेर हिँडेको लिम्बूवान स्वायत्तता र किरात राष्ट्रिय मुक्ति मोर्चाको किरात स्वायत्ततालाई परस्पर अन्तर्विरोधी ठान्नुहन्छ कि ?
- छैन, त्यस्तो ठानेका छैनौँ ।

गोपाल खम्बूका धेरै प्रतिक्रियाहरू बजारमा आइरहेका छन् नि ?
- त्यो उहाँको व्यक्तिगत कुरा होला । त्यो गोपाल भाइले नै जानून् । उहाँ कसरी लिनु हुन्छ । तर मेरो त्यो होइन ।

याक्थुङ चुम्लुङले र जनसाधारणले पनि लिम्बूवान छुट्टै हुनुपर्छ भनिरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?
- हामीले मान्नु पर्ने जनताको आवाज हो । हामी जो किराती हौँ भन्छौँ । हामी त्यसमा गौरव मान्छौँ । सबै किरात प्रजातिहरूको ‘स्टाटस’ एकै खालको छैन । उच्च विकास भएको किरात प्रजाति र त्यति विकसित नभएको किरात प्रजाति एकै ठाउँमा मिसायो भने त एउटा अन्यायमा पर्छ । यसलाई कसरी ‘एडजस्ट’ गरेर लाने भन्ने छलफल गरिनु पर्छ ।

अहिले तपाईंहरू किरात स्वायत्त सरकार भनेर जनसरकार लागू गरिरहनु भएको छ । क्षेत्रगत हिसाबले किरात क्षेत्र कहाँदेखि कहाँसम्म, लिम्बूवान कहाँदेखि कहाँसम्म हो सीमाङ्कन गर्नुभएको छ ?
- किरात जनसरकार भन्ने युद्धकालीन अवस्थामा भएको हो, जनतालाई जनयुद्धमा आकर्षण गर्न । भावनात्मक रूपमा परिवर्तन गर्न ल्याइएको कार्यनीति हो । कहाँदेखि कहाँसम्म किरात क्षेत्र, याक्खालाई यति, लिम्बूलाई त्यति भन्ने त भोलि छुट्टिएला ।

किरात क्षेत्रमा बसोबास गर्ने गैरकिराती क्षेत्रीबाहुनलाई चाहिँ कुटेर खेदाउने त ? उनीहरूलाई रैती बनाउने त ? त्यसो पनि होइन । उनीहरूलाई पनि सबै अधिकार दिनुपर्छ । यसलाई कसरी मिलाउने ? यो त ‘इन्टेलेक्च्युल’हरूको काम हो । तपाईंहरूबाट विचार आउनु प¥यो ।

तपाईं त युद्धकालीन अवस्थामा धेरै घुम्नु भयो होला । घुमाइमा यहाँदेखि यहाँसम्म लिम्बुवान उपयुक्त हुन्छ भन्ने कस्तो ‘चित्र’ आएको छ ?
- वर्तमान स्थितिमा लिम्बूहरूको बसोबासलाई हेर्ने हो भने अरूण नदीसम्म त नभनौँ सङ्खुवासभाको बा¥हविसेसम्म छ । तर तिनीहरू आफूलाई राई भन्दा रहेछन् । के थरीको  घर हौ भनेर सोध्दा राईको अरे, के राई हौ भन्दा चोङ्बाङ राई रे, वनेम राई रे । (हाँसो) । अव चोङ्बाङ, वनेम भनेपछि त लिम्बू हो भन्ने बुझ्नु प¥यो । त्यहाँदेखि उता त लोहोरुङहरू छन् । उनीहरू त आफूलाई राई पनि होइनौँ लिम्बू पनि होइनौँ भन्छन्, तर किराती हौँ भन्छन् । त्यहाँदेखि उता याम्फूहरू छन् उनीहरू पनि राई, लिम्बू होइन, किरातीचाहिँ हामी हौँ भन्छन् । त्यहाँदेखि झन् उता भोजपुर र सङ्खुवासभाको सीमानामा मेवाहाङहरू छन्, उनीहरू पनि त्यही भन्छन्, हामी राई पनि होइनौँ, लिम्बू पनि होइनौँ । तर किरातीचाहिँ हौँ ।

दक्षिण क्षेत्रमा चाहिँ कहाँसम्म लिम्बूहरूले दावी गर्न सक्लान् ?
- अस्ति चुम्लुङ (किरात याक्थुङ) को छैटौँ महाधिवेशनमा दमकमा चुम्लुङका साथीहरूले यो त लिम्बूको क्षेत्र भनेर भाषण गरेछन् । एउटा धिमाल साथीले “मलाई त रिस उठ्यो, यो लिम्बूको क्षेत्र हो भने धिमालको क्षेत्रचाहिँ कहाँ ?” भनेर मलाई सोध्यो । “के भक्तराजले यसो भन्यो ? भन्दा भक्तराजले होइन अरूले” भन्दै थिए । मैले यो तपाईंहरूकै क्षेत्र हो, साथीहरूले आक्कलझुक्कल भने होला भनेर भन्दिएँ ।

राज्य पुनर्संरचनाको हिसाबले तपाईंहरूले ९ वटा क्षेत्र प्रस्तावित गर्नु भएको छ, सङ्घीय संरचनामा त्यसको शक्ति र अधिकार क्षेत्र कति हो ?
- त्यो त युद्धको अवधिमा गठन भएको हो । जनजातिहरूलाई ज्यादा जनयुद्धमा आकर्षित गर्नका लागि, उनीहरूको ‘सेन्टिमेन्स’लाई अभिव्यक्त गरिएको हो । ९ वटै हुनुपर्छ भन्ने छैन । कतिवटा बनाउँदा उपयुक्त हुन्छ त्यो त छलफलको विषय हो ।

कतै माओवादीले जनजातिलाई प्रयोग मात्र गरेको त होइन ?
- होइन, होइन । कहाँ त्यसरी मान्छौँ । हामी अहिलेसम्म केको निम्ति लड्यौँ त ? पार्टीको अध्यक्ष हुन त लडेको होइन । जातीय मुक्तिका निम्ति लडेका हौँ । अब त्यो सबै ‘कट अप’ भयो भने त किन लड्ने ? जनजातिले किन रगत बगाउनु ?

ठूला राजनीतिक पार्टीहरूमा बाहुनहरूकै हालीमुहाली छ । उनीहरू व्यक्तिगत हिसाबले, पार्टीगत हिसाबले जातीय प्रश्नमा सङ्कुचित देखिन्छन् । माओवादी पार्टीमा के छ स्थिति ? 
- पार्टीगत हिसाबले जातीय सवालमा माओवादीमात्र प्रष्ट पार्टी हो । अब व्यक्तिगत हिसाबले माओवादीका केन्द्रीय तहका नेताहरू के छन् कसो छन्, त्यो त मलाई थाहा हुन्न । म त सल्लाहाकार समतिको मान्छे, के रे त्यो, राजाको राजसभा स्थायी समितिको सदस्यजस्तो । तिनीहरूले त भत्ता पनि पाउँथे तर यता त भत्ता पनि हुँदैन । केन्द्रीय समितिमा बैठक भागलिन पाउने कुरै भएन  । तर म पूर्वी कमान्डको बारेमा जान्दछु । त्यहाँ त्यस्ता मान्छे छैनन् । हामी जातीय मोर्चामा रहेकाहरूले आफ्ना कुरा पार्टीमा राख्दछौँ । त्यसको विरोध हुँदैन ।

नीति निर्माण तहमा बाहुन क्षेत्रीहरू नै अगाडि सर्न खोज्छन्, नेकपा (माओवादी) भित्र नीति निर्माणका कुरामा आदिवासी जनजातिको सहभागिता कस्तो रहेको छ ?
- अब समग्र त मलाई थाहा छैन । पूर्वी कमान्डमा चाहिँ हामी हाम्रा कुराहरू पार्टीमा राख्दै आएका छौँ । जातीय कुराहरू हामी नै ज्यादा उठाउँछौँ । हामीले लगेका कुराहरू उनीहरूले स्वीकार्नु पर्दछ । जातीय समस्या के छ, बाबुराम, प्रचण्डलाई के थाहा ? किरातीहरू कहाँ शोषित, उत्पीडित छन् भन्ने उनीहरूलाई त थाहा हुँदैन । अब यो कुरो त हामी मोर्चाकाले लगेर राख्नु पर्दछ ।

१० वर्षको जनयुद्धको दौरानमा मूलतः पश्चिममा तुलनात्मक रूपमा जनजातिहरू बढी मारमा पर्नुको कारण के होलाजस्तो लाग्छ तपाईंलाई ?
- अब यसलाई पार्टीले कसरी लिन्छ ? मलाई सिर्फ किरात प्रदेशको मात्र ज्ञान छ । पश्चिममा बढी मारमा परे भन्ने पनि छ । त्यसमा मगर, गुरुङ, थारूहरू बढी परेका छन् अन्यका तुलनामा । हुन त जनयुद्ध सुरू भएको पनि पश्चिमबाटै हो । यसले पनि होला ।

प्रचण्डपथले आदिवासी जनजाति महिला, मधेसीहरूको सवाललाई कसरी सम्बोधन गरेको छ ?
- आदिवासी जनजाति, महिला, मधेसीका सवाललाई २०५१ सालको सम्मेलनबाट पारित दस्तावेजले नै समेटेको छ । म पनि लेखहरू लेख्दा नेपालको सन्दर्भमा चाहिँ प्रचण्डपथले प्रतिपादन गरेको हो भनेर लेख्नेगर्छु । विश्वको सन्दर्भमा चाहिँ जातीय स्वशासन र आत्मनिर्णयको अधिकार सन् १९१७ को अक्टुबर क्रान्तिपछि रुसमा पहिलोपटक लागू भएको हो । नेपालमा पनि कम्युनिस्ट पार्टीहरू नभएका होइनन् तर जातीय प्रश्नलाई माओवादीले जसरी सम्बोधन गरेका छैनन् ।

पहिले म कम्युनिस्ट भएर काम गर्दा जातीय कुरो ग¥यो कि साम्प्रदायिक भन्थे कमल कोइरालाहरू तर अहिले बुझ्दा त साम्प्रदायिक नभइने र’छ । आफ्ना पीर मार्काहरू व्यक्त गर्न त पाइने र’छ ।

नेपालको सन्दर्भमा आदिवासी जनजाति हरेक हिसाबले बेग्लै शक्ति हो, यसलाई बेग्लै हिसाबले परिचालन गरेर मुक्ति आउन सक्दैन ? कि अरूले नै सम्बोधन गरेका पथमा हिँड्दा मात्र हुन्छ ?
उत्पीडनमा परेका, शोषणमा परेका जुन वर्ग, अथवा आदिवासी जनजातिहरू यो देशका शक्ति हुन् । यो सही हो । माओवादी पार्टीको विश्लेषण पनि त्यही हो । यो शक्तिलाई परिचालन गरिएन भने यहाँ हुने केही पनि छैन । जब उनीहरूको चेतना खुल्यो, अहिले देखियो नि त, देखिँदै छ । २००७ सालभन्दा उताको स्थिति, २००७ सालपछि या २०४६ साल अघिको स्थिति नै हेरौँ, राजा महेन्द्रको पञ्चायती व्यवस्था ३० वर्षसम्म गयो । यो वर्गको चेतना नखुलेको भए माघ १९ को ज्ञानेन्द्रको कदम पनि जान्थ्यो होला २०÷३० वर्ष । माओवादी पार्टीले पनि आदिवासी जनजातिहरू शक्ति हुन् भनेर नै प्रथम सम्मेलनमा जातीय मुक्तिको प्रस्ताव पास गरे होला ।

संविधानसभामा आदिवासी जनजातिलाई प्रतिनिधित्व गराउने सवालमा माओवादी पार्टीको कस्तो कार्यक्रम छ ?
अन्य संसदीय पार्टीहरू जातीय मुक्तिको पक्षमा छन् जस्तो मलाई चाहिँ लाग्दैन । एउटा रणनीतिको रूपमा पार्टीमा दस्तावेजमै पास गरेर ल्याउने त माओवादी पार्टी नै हो । अब यससम्बन्धी कसरी जानुपर्छ र भोलिको संविधानसभामा के हुनुपर्छ भन्नेचाहिँ पार्टीले माथि के निर्णय गरेको छ, त्यो मलाई थाहा छैन । हामीले मोर्चाबाट एउटा धारणाचाहिँ बनाएका छौँ, त्यो सुझावको रूपमा अन्तरिम विधान मस्यौदा समितिमा पनि बुझाएका छौँ ।

संविधानसभाको ‘सिट’ तोक्दा पुरानै संसदीय निर्वाचन क्षेत्रलाई आधार बनाइयो भने हाम्रो मोर्चालाई त्यो मान्य हुँदैन, किनभने त्यहाँ त तिनै जल्दोबल्दो, टाठाबाठा आइहाल्छन् नि । संविधानसभाको सदस्यहरूको जो क्षेत्र हुन्छ नि, त्यो भूगोलको आधारमा मात्र गरिनु भएन । अब जाति नै क्षेत्र हो । जस्तै लिम्बू एउटा क्षेत्र, राई अर्को क्षेत्र त्यस्तै, सुनुवार, महिला, दलित, मधेसी । अबचाहिं उत्पीडित वर्ग जोजो छन्, जस्तो आदिवासी, जनजाति, महिला, दलित, मधेसी, यिनीहरूलाई संविधानसभाको निर्वाचन क्षेत्र मानिनु पर्छ र यसबाट ५१ प्रतिशत प्रतिनिधि सिधै संविधानसभामा ल्याइनु पर्छ, एउटा सुचिकृत, समानुपातिक प्रतिनिधित्व प्रणालीद्वारा भन्ने हाम्रो मोर्चाको धारणा हो । अनि ४९ प्रतिशतचाहिं भूगोलमा क्षेत्र कटाऊ चुनाव लडाऊ, बहुमतीय आधारमा ल्याऊ, भन्ने हो ।

१० वर्षको जनयुद्धको दौरानमा तपाईंहरूले सघन या समान्यरूपमा स्थानीय स्तरमा जनसरकारको अभ्यास गर्नुभयो । त्यसले के परिवर्तन ल्यायो ? जो जनजातिहरू छन् उनीहरूले त बजार लाउने, पालाम गाउने, च्याब्रुङ बजाउने, बन्दुक पड्काउने संस्कृति विस्थापित भयो भनिरहेका छन् (बिच्चमा रोक्तै) यसो, यसो.... के हुँदो रहेछ भने नि, युद्धको अवधिमा विकास–सिकास हुँदैहुँदैन । त्यो नारा मात्र हो । जनसरकार पनि नारा मात्रै हो, त्यो कामयावी हुँदैन । हामीले भोगेकै कुरा हो । युद्धको ‘टाइम’मा युद्धलाई असर गर्ने कुराहरू ‘कन्ट्रोल’ नै गर्नुपर्दो रहेछ । अब त्यो हामीले चाहेर पनि होइन, नचाहेर पनि होइन, त्यो युद्धको नियम हो । अब बन्दुक नियन्त्रण गरिएन भने शत्रुले पड्काएको हो कि जनताले पड्काएको हो ? पड्केको आवाज त बेग्लै हुँदैन । त्यसैले बन्दुक त खोस्नै प¥यो । नत्र आफैँ बाँचिदैन, नबाँचेपछि के को युद्ध ? अब त्यहाँ धाननाच्दै छ, त्यहाँ दुस्मन धाननाच्न पनि आउँछ, पेस्तोल लुकाएर । अब धानननाच है त भन्नै प¥यो । 

अहिले त युद्धविराम छ, के अब फेरि त्यो पुनस्र्थापित हुन्छ त ?
- हुन्छ, हुन्छ । अहिले गाउँमा बन्दुक पड्काइरहेका छन् ।

जनसरकार गठनपछि भएका सकारात्म प्रभाव र नकारात्मक असरबारे बताइदिनोस्न ।
- म पनि ८–९ महिना अघिसम्म जनसरकारमै थिएँ । म मुद्दा मामिलाका कुरा हेर्थेँ । मेरो अनुभवमा, उता श्री ५ को सरकारमा मुद्दा गयो भने सानो मुद्दा मात्र भए पनि ५–१० हजार चाहिने, धाउनु पर्ने सदरमुकाम, यता हामीलाई भने एक रूपैयाँको टिकट पनि टाँस्नु नपर्ने, निवेदन पनि लेख्नु नपर्ने, मौखिक उजुरी ग¥यो, दुई पक्षलाई भेला ग¥यो, कसको के होचो अर्घेलो हो, छुट्ट्यायो, अलिकति अन्याय परेको छ भने जनता राखेर न्याय अन्याय छुट्ट््याएर लु यति भरपुर गर्, गरिनस् भने आउँछन् नि माओवादी सेना भनेर डर देखायो, भरपुर गरिहाल्छ । पैसा नि नलाग्ने, छिटो छरितो । एकैदिनमा सिद्धिने । पैसा पनि नलाग्ने । सही न्याय निसाफ पनि हुने । उता सरकारी अदालत धायो भयो भने २÷३ वर्ष लाग्ने, सही न्याय निसाफ पनि नहुने  । जनताले जनअदालतबाट धेरै राहत पाएका छन् ।

अन्त्यमा, किरात राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट लिम्बूहरूलाई के सन्देश दिनुहुन्छ ?
किराती प्रजाति सबै लिम्बूहरू र हामी सबै किराती प्रजातिहरू एक भएर जाऔँ, कमसेकम हामी जातीय मुक्तिका लागि नयाँ बन्ने संविधानमा हाम्रा कुराहरू लेखिनु पर्छ । यसको लागि हामी सचेत हुनु प¥यो । आदिवासी जनजाति उत्पीडितहरूलाई सिधै संविधानसभामा लगिनु प¥यो, आरक्षणजस्तै । ५१ प्रतिशत ‘सिट’ संविधानसभामा उत्पीडित आदिवासी जनजातिलाई सिधै लगिनु प¥यो । कहाँ हामी शोषित पीडितहरू चुनाब लड्न सक्छौँ ? हाम्रो क्षेत्रमा भोलि पैसा हुनेले लाखौँ रूपैयाँ खर्च गरेर आदिवासी जनजातिलाई हरायो भने । हाम्रा किरातीहरूले ‘एक ट्वाक’ पाए भने एक भोट त हाली हाल्छन्, जानेकै हो । यसमा पनि परिवर्तन त आउनै पर्छ । हामी शोषित पीडित किरातहरूलाई नयाँ संविधानबाट विशेष अधिकार दिइनु पर्छ ।

तान्छोप्पा, वर्ष ११,   अङ्क ७,  साउन २०६३  (July/August 2006) ।

सफलताको शिखरमा पुगेको मान्छेले यात्रा सुरु गरेको फेदी भुल्नुहुन्न - फत्तेबहादुर लिम्बू

सफलताको शिखरमा पुगेको मान्छेले यात्रा सुरु गरेको फेदी भुल्नुहुन्न  

- फत्तेबहादुर लिम्बू, रथी(अप्रा) एवम् मानार्थ शाही पाश्र्ववर्ती


पूर्वनिर्धारित कार्यक्रमअनुसार मे. देउमान पक्खिम र म(अमर) काठमाडौँको विहानीको हुस्सुलाई चिर्दै झम्सीखेल पुग्यौँ, रथी(अप्रा) फत्तेबहादुर मेन्याङबो लिम्बूको निवासमा । आइडियल मोडेल स्कुलको हातासँगै रहेको उहाँको निवासमा पुग्दा हामीलाई लामलक्मा (स्वागत) गर्न बाहिर उभिइरहनुभएको थियो– ऊनीको टोपी, पाटे सर्टमाथि कालो झैँ लाग्ने गाढा नीलो ज्याकेट अनि ट्राउजर लाएको साधारण परिधानमा खाइलाग्दा जर्साप । हामी पस्यौँ, उहाँसँगै, उत्तरीभित्तामा ठूलो थाङ्का चित्र, दक्षिणीभित्तामा नवरङ्गी डाँफेको निक्कै ठूलो फ्रेमिङ फोटो र पूर्वीभित्तामा गाडीको बिकासक्रम झल्काउने तीन चारवटा चित्रहरू टाँसिएको अनि बेतका कुर्सीहरू राखिएको सामान्य देखिने तर सामान्यभित्र गहनताको पर्याप्त आभाष मिल्ने उहाँको कक्षमा । 

आफू जागिरमा प्रबेश गर्दाको रोचक संस्मरण जो उहाँले धेरै सुनाउने गर्नुहुन्छ  कि त्यसबेला कसैले, "लिम्बूहरू त मान्छे ख्यालख्यालमै चार इन्च काट्छन् रे, हो जिउदै मान्छे काट्छन् ?" भनेको र उहाँले त्यसको उत्तरमा  "हो  त नि काटेपछि मरेकोलाई काट्नु भएन ज्यूँदोलाई नै काट्ने हो नि ।" भनेको कुरा कुराकानीमा ठट्टा गर्दै सुनाउने उहाँ वि.सं. १९९६ कार्तिक १३ गते बाबा स्वर्गीय कप्तान देबवहादुर लिम्बू र आमा स्वर्गीय लक्षीमाया लिम्बूको माइलो सन्तानको रुपमा जन्मिनु भएको हो । 

उहाँले कप्पुरी क, पेतफारे ख ताप्लेजुङको सिगेजा जहाँ उहाँको जन्म भएको थियो त्यहाँ सुरु गर्नुभए पनि पछि उहाँ सिङ्गापुरमा ए लेवल अनि करीव ७ वर्षमा सिनियर क्यामम्ब्रीज गरेपछि सैनिक जीवन मै वातावरण शिक्षामा एम.एस्सी गर्नुभयो । १६ सालमा जागीर सुरु गरेका उहाँले तालिम एवम् शान्ति सेनाको क्रममा बेलायत, जर्मनी, भारत, लेवनान तथा औपचारिक भ्रमणको क्रममा स्वीडेन, हाइटी, अमेरिका, र हवाईमा भ्रमण गर्नुभएको छ । करीव ३८ वर्षे सैनिक जीवनबाट २०५४ कार्तिक १३ गते अबकास प्राप्त उहाँ श्री ५ महाराजाधिराज सरकारको शुभजन्मोत्सव(०५९ साउन २३) देखि मानार्थ पाश्र्ववर्ती हुनुहुन्छ । नेपालका आदिवासीहरूका तर्फबाट प्रथम मानार्थ पाश्र्ववर्ती पाउनु हुने उहाँ सुप्रवल गोरखा दक्षिणबाहु र विख्यात त्रिशक्ति पट्ट पदकबाट विभूषित हुनुहुन्छ । उहाँ आफ्नो आमालगायतका परिवारका सदस्यहरूलाई पहिरोले पुरेको घटनालाई सारै दुःखद क्षण मान्नु हुन्छ । लिम्बू, नेपाली, अङ्ग्रेजी, जर्मन, हिन्दी र मले भाषामा बोल्ने खुबी राख्ने उहाँ आफ्नो अवकाशपछिका दिन ट्रेकिङ, फोटोग्राफी, वातावरण संरक्षण जस्ता आफ्नो रुचिका विषयमा लागिरहनुभएको छ । यिनै वहुआयामिक व्यक्तित्वसँग लिईएको कुराकानीका महत्पूर्ण अंश तपाईंसमक्ष प्रस्तुत छ ।

तपाईले प्रारम्भिक शिक्षा कहाँ पाउनुभयो ? 
– कप्पुरी क पेटफारे ख पढ्न सिगेजामा नै सुरु गरेँ । तर पछि सिङ्गापुरमा गएर सिनियर क्याम्ब्रिजसम्म पढेँ । पछि बुबा पेनसन आउनुभयो । म पनि उहाँसँगै नेपाल आएँ ।

सेना जागिरमा कसरी प्रवेश गर्नुभयो ? 
–त्यसबेला गोरखापत्रमा सेनामा भर्ती हुने सूचना आएको थियो । त्यहीअनुसार म गएँ तर म सम्पर्कमा ढिलो गएँ । तर मलाई तत्कालिन अफिसरहरूले ढिलो भए पनि सेनाभित्रै बस्ने र अङ्ग्रेजी सिकाउनु भनेपछि केही महिना त्यहीँ काम गरेँ । मेरो अङ्ग्रेजी राम्रो भएकाले सुरुमा अङ्ग्रेजी शिक्षकको रुपमा काम गरेँ । अर्को पटक फेरि भर्ती खुलेपछि म सेनाको जागिरे भएँ ।

तपाईंले वातावरण शिक्षामा जागिर सुरु गरेपछि कि अघि नै एम.एस्सी गर्नुभएको हो ? 
– त्यो त जागिर खान थालेपछि त्यो पनि बढुवाको अङ्क बढी आउने भएकोले पढेको हुँ । पछि त यो विषय ज्यादै मन पनि प¥यो ।

त्यसवेला जागिर खानलाई गाह्रो परेन ? 
–अ हँ, त्यस्तो भएन । हामी जागिरमा लाग्ने बित्तिकै बेलायतमा तालिममा जानलाई मौका मिल्यो । त्यहाँ धेरै कुराहरू सिक्ने अवसर पाएँ । त्यसले मलाई जागिरमा एडजस्ट गर्न ज्यादै सजिलो बनायो । घरमै काम गरे जस्तै लाग्यो । त्यस्तो कठिन लागेन । कोर्सहरू गर्नुपथ्र्यो । तर पनि पहिलै मानसिक रुपले तयार भएको हुन्थेँ । सायद त्यसैले होला, सधैँ रमाइलै लाग्थ्यो ।

३८ वर्षे जागिरे जीवन तपाईंलाई पट्यार लागेन? 
– समयअवधि हेर्दा त त्यस्तै लाग्छ । तर अचम्म लाग्छ लिल्ट्रीमा जागिर खाँदा सारै छिटो समय जाँदोरहेछ । नियमित रुटिङमा साथीहरूसँग ड्युटी गर्दागर्दै समय बितेको पत्तै नहुँदोरहेछ । मिल्ट्री जीवनले छुट्टै आनन्द दिन्छ, छुट्टै रमाइलो हुन्छ । दुःखभन्दा पनि तालिकाबद्ध कामले छुट्टै मजा लाग्छ, खाली दिमाग र कामविना बस्नु पर्दैन ।

सैनिक अफिसरको रुपमा विदेश जाँदा कस्तो लाग्यो ? 
– ओहो ! त्यो त झन रमाइलो । बेग्ला बेग्लै भाषा, संस्कृति र परम्पराका मानिसहरू भेट हुँदा गजबै लाग्थ्यो । उनीहरूबाट नयाँ नयाँ कुरा सिक्न पाइन्थ्यो, आफ्नो अनुभव पनि बाँड्न पाइन्थ्यो ।

विदेशभ्रमणको क्रममा संगाल्नुभएको अविस्मरणीय अनुभवहरू केही छन् कि ? 
– धेरै छन् । त्यसमध्ये पनि बृटेनको यात्रा म बढी सम्झिने गर्छु । म सुरुमा जाँदा हाइपार्क र ग्रीनपार्कमा बृटिश साम्राज्यको जगजगी थियो । १५ वर्षपछि दोस्रोपटक जाँदा बृटिश साम्राज्यको प्रभाव सारै फिक्का भइसकेको थियो । त्यहाँ अन्य देश, जाति, भाषा र सं्रस्कृतिले टाउको उठाएको पाएँ । सूर्य नअस्ताउने देश भनेर गौरव गर्ने देशको त्यो अवस्था देखेर मैले सम्झे–सफलताको शिखर चढ्नेले तल ओर्लिनु पनि पर्दोरहेछ, शक्ति भनेको  सधैंको लागि नहुँदोरहेछ, सफल हुँदा हर्ष मान्ने र तल झर्दा दुःखी हुनु नहुँदोरहेछ ।

नेपालको चर्चित लिटिल एन्जेल्स स्कूल तपाईंको भन्छन् नि .....?
–नेपालमा मात्र हैन दार्जिलिङ सिक्किम जाँदा त्यहाँका मानिसहरूको मुखबाट अनि विदेशी च्यानलका टीभीहरूबाट प्रसारण र चर्चा भएबाट लिटिल एन्जेल स्कूलले ख्याति कमाएको रहेछ भन्ने मलाई पनि लागेको छ । तर खासमा यो स्कूललाई स्थापित गर्नै गराउनेमा मेरो केही पनि हात छैन । त्यो स्कूल स्थापना गर्ने हुर्काउने, ख्याति प्राप्त बनाउने सबै गर्नै मेरी श्रीमती विद्या लिम्बू र उमेश श्रेष्ठ हुन् । म त आर्मी मान्छे शिक्षामा मैले चासो र समय दिनै सकेको छैन । त्यसैले यो स्कूलको नाम र ख्याती मसँग जोड्नु सान्दर्भिक छैन भन्ने ठान्छु ।

तापनि यो स्कूल कसरी सफल भयो  बताइदिनुहोस् न । 
–अविभावकहरूको मागको कारणले यो स्कुलको सुरुआत भएको हो । नेपालमा पनि एउटा राम्रो र स्तरीय विद्यालयको खाँचो छ भन्ने कुरा चलेपछि यो स्कूलको सुरु भएको हो । यसको सफलताको कारण चाहिँ उमेश र विद्याले सिन्सियरली लाग्नु हो । उनीहरू आफ्नो सर्वस्व ठान्छन्–स्कुल र स्कुलका विद्यार्थीहरूलाई । उनीहरूले ब्याङ्कहरूबाट थुप्रै लोन लिएर चलाइएका छ र लोन पनि तिर्दै गरेको कुरा सुनाउछन् ।

त्यसो भए आइडियल मोडेलमा चाहिँ तपाईंको विशेष योगदान होला नि ?
–आइडियल मोडेल टिचरहरूको योजना हो । मैले त अघि नै भने नि शिक्षा क्षेत्रको म परिन, शिक्षाविद् पनि परिन, शिक्षा आवश्यक कुरा हो भन्ने चाहिँ ठानेको छु । तापनि मेरो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो यो । तर पनि शिक्षकहरूले भने जस्तै अत्यन्त आइडियल वा आदर्श  भएको स्कुलको रिजल्टले देखाउदै आएको छ । अँ म भन्दै थिएँ, शिक्षामा मेरो चासो कम छ । बरु मेरो रुचि ट्रेकिङ, फोटोग्राफीमा छ ।

रिटायर जीवन कसरी विताइरहनु भएको छ ?  
– कहिले ट्रेकिङ जाने गर्छु । प्राकृतिक दृष्यहरूको फोटो लिन्छु । प्राकृतिमा रमाउँछु । यसरी नै आनन्दसँग समय विताइरहेको छु ।

फोटोग्राफीको कुरा गर्नुभयो । प्रदर्शनी पनि गर्नुभएको छ ? 
– अहँ, मैले फोटो प्रदर्शनी गरेको छुइन । म अमेचर फोटोग्राफर हुँ, प्रोफेशनल होइन ।

तपाईं जनजातिबाट प्रथम पाश्र्ववती हुनुहुन्छ भन्ने सुनिन्छ नि ? 
–हो । तपाईले सुन्नुभएको ठीकै हो । श्री ५ महाराजाधिराज सरकारको शुभजन्मोत्सबको उपलक्ष्यमा साउन २३ गते मानार्थ शाही पाश्र्ववर्ती बक्स भएको हो । यो मेरो ख्यालमा जनजातितर्फमा प्रथम हो ।

अनि तपाईं पाश्र्ववर्तीमा छानिनुको आधार के होला ? यो कति अवधिको हो ? 
–शाही पाश्र्ववर्तीमा छानिने आधारको बारेमा त श्री ५ लाई नै विन्ती गर्नुपर्ला । यसको अवधि चाहिँ आजीवन हो । म लेप्टिनेन्ट जनरलमा रिटायर भएको हुँ । त्यही दर्जाको युनिफर्म र व्याचहरू लगाएर आजीवन स्टेट फङसनहरूमा भाग लिन सकिन्छ, कहिले सरकारलाई एकम्पनी गर्नुपर्छ, कहिले एम्बासडोरहरूलाई रिसिभ (स्वागत) गर्न जानुपर्छ ।

त्यसो भए यो गौरवको विषय हो ? 
–मलाई त्यस्तै लाग्छ । यो लिम्बू जातिको लागि मात्र गौरवको विषय हैन सबै जनजातिको लागि गौरवको विषय हो । यो मानार्थ शाही पाश्र्ववर्ती पद जनजातिहरूलाई प्राप्त पहिलो हो  ।

चुम्लुङले भाषा, लिपि, धर्म, संस्कृतिको विकास, संरक्षण लगायत लिम्बूहरूबाट खोसिएको किपटको क्षतिपूर्तिको कुरा उठाएको छ । यसबारेमा तपाईं के भन्नु भुन्छ ? 
–चुम्लुङले जायज कुरा उठाएको छ । पहिलाका शासकहरूले गरेको कामले लिम्बू लगायत अन्य जनजातिलाई बढी नै हानी गरेको छ, यसबाट बेफाइदा गरेको नै भयो । जनजातिहरूलाई स्टेटले हेरेन तर चुम्लुङले भने जस्तै स्टेटले क्षतिपूर्ति दिए राम्रै हुन्छ । यो भूमिपुत्रहरूको या कसैको हारजीतको विषय हैन । एकले अर्कोलाई स्वीकार्ने प्रक्रिया मात्र हुन् ।

भाषा, संस्कृतिको जगेर्नाका कुरा उठेका छन् । भाषा संस्कृति लोप हुने कुरा उठेको छ । के यस्तै अबस्था छ त ? 
–अहिले धेरै जाति जनजातिहरूको भाषा संस्कृति जोगाउने आन्दोलनमा लागेको देखिन्छ । उनीहरू सचेत भएको देखिन्छ । यो राम्रो कुरा हो । वास्तवमा भाषा संस्कृति लोप हुने कुरा विश्वव्यापी रुपमा आएको छ । अङ्ग्रेजीले सबै भाषालाई उतिकै मारमा पारेको छ । म हावाईमा एकपटक गएको वेलाको कुरा सम्झिरहन्छु । त्यसबेला एकजना अङ्ग्रेजी वोल्न नजान्ने रसियन अफिसर थिए । उनले आफ्नो दोभासेमार्फत् अङ्ग्रेजी बोल्न नजानेकोमा पश्चताप गरेका थिए । अनि आफ्नो देशमा गएर सरकारलाई अङ्ग्रेजी सिकाउन अनुरोध गर्ने कुरा गरेका थिए । अ्रग्रेजी भाषा महत्वपूर्ण भएको बताएको थियो । सबैमा यही मनोविज्ञानले काम गरेको छ । यसैले गर्दा अङ्ग्रेजी दिनदिनै विस्तार भइरहेको छ भने अन्य भाषा लोप हुँदै गइरहेका छन् । यो दुखदायी कुरा हो । यो प्रकोपबाट आआफ्नो भाषा, संस्कृति बचाउनु पर्छ । विविधता हुनु राम्रो कुरा हो । यसको संरक्षणमा लाग्नु राम्रो क्ुरा हो । 

चुम्लुङले लिम्बू भाषा आई.ए. कक्षा सञ्चालन गर्ने सम्भावना छ । चलायो भने के तपाईं सहयोग गर्न सक्नुहुन्छ ?
– आफ्नो भाषाको विकास हुनु, पढाइ हुनु राम्रो कुरा हो । भ्याएसम्म, सकेसम्म सहयोग त गरिन्छ नि । तर लिटिल एन्जेलस् स्कुलको आधारमा यो कुरा उठाउनुभएको हो भने त्यो त मेरो श्रीमतीले चलाएको कुरा प्रस्टाई सकेँ ।

तपाई सैनिक क्षेत्रमा सफल व्यक्तित्व हुनुहुन्छ । जीवन सफल बनाउन नया पुस्तालाई के सल्लाह दिनुहुन्छ ? 
– लगानशीलता नै यसको मुख्य कडी हो । समयलाई चिन्नु प¥यो । निरन्तर परिश्रम गर्नुप¥यो । भरसक निश्चित एउटा क्षेत्र रोजेर त्यसमा विशिष्टीकरण गरेर काम गर्नु राम्रो हुन्छ । महासागर बन्नलाई पनि थोपथोपा पानी चाहिन्छ । कुनै काममा सफल हुन  पनि सानोसानो कामको योगफल जोडिएर अन्तिम परिणाम देखिने हो । मान्छेले अन्तिम परिणाम मात्र हेर्दछन् तर त्यसअघिको लामो प्रक्रियालाई भुल्छन् । तर हामीले त्यसो गर्नु हुन्न । मेरो ताप्वर्य लगनशीलताको निरन्तरला र समयको उचित प्रयोग नै सफलताको आधार हुन् ।

अन्त्यमा तपाईंका शुभचिन्तक र पाठकहरूलाई के भन्न चाहानुहुन्छ ? 
–हामी शिक्षामा पछाडि छौँ । शिक्षामा बढी ध्यान दिनु प¥यो । पढाइमा बढी बल गर्नु प¥यो । हामीमा झोक भनौँ कि रिस भनौँ त्यो कताकता बढी भए जस्तो लाग्छ । भन्छन् नि, ‘रिस खा आफू बुद्धि खा अर्का ’ । त्यस्तै हामीले  जाँडरक्सी बढी खाए झै लाग्छ । त्यसले हाम्रो दिमागमा असर पु¥याइरहेको हुन्छ । सकेसम्म नखाने खाए पनि कम खाने । यसो गरेमा हामी हाम्रो क्षमतालाई प्रयोग गर्न सक्छौँ । मङ्गोलियन जाति जनजातिहरू जेन्टिल छन् , क्षमतावान छन् । तर जाँड रक्सीलाई असल नोकर बनाउनु प¥यो, खराब मालिक हैन । किनभने त्यो क्षमता र भद्रपनालाई कताकता रिस र जाँडरक्सीले खाएजस्तो लाग्छ । यसमा हामी चनाखो हुनुपर्छ । हामी सियो बनेर पस्नु प¥यो फाली बनेर निस्कनु प¥यो ।

तान्छोप्पा, वर्ष ८, अङ्क १, बिहिबार, २ माघ २०५९ (16 January 2003)  ।

Tuesday, May 26, 2020

काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिका रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून् - खेलराज योङहाङ

काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिका रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून् 

- खेलराज योङहाङ


शिरमा ढाका टोपी, जिउमा कालो कोटको आवरण, गोडामा कालो पेन्ट अनि यी सबैलाई थाम्ने कालो जुत्ता । पुड्कोपुड्को कद । पिठ्युँमा निकै ठूलो खकने झोला । यी महानुभाव कुनै नाटकका सजिसजाउ पात्र होइनन् । उनी त हुन् नेपालका विभिन्न गाउँहरू, दार्जिलिङ, घुम, कालेबुङ, डुबर्स, सिक्किमको माङसिला, नामची, गेजिङ, उत्तरे, गान्तोकलगायत विभिन्न गाउँ र सहरहरू डुलिरहने व्यक्ति हुन् – खेलराज योङहाङ । उनी त्यो ठूलो झोलामा कुनै लत्ताकपडा, बालबच्चाका लागि काबुलीवालाजस्तै खेलौना वा अन्य कुनै अलौकिक वस्तुहरू बोकेर हिँडिरेका हुँदैनन् । त्यो झोलामा त अक्षरका मोती छापिएका ज्ञानका पुस्तकहरू उरुङ चाङ लागेका हुन्छन् । त्यहाँ त किरात सिरिजङ्गा लिपिका कितावहरू, मुन्धुमका ठेलीहरू, किरात इतिहास र संस्कृतिका ग्रन्थहरू, राई भाषा भाषीका पुस्तकहरू, गुरुङ भाषाका कृतिहरू, मगर भाषाका रचनावलीहरू, जातीय चेतनाबोधले परिपूर्ण पत्रपत्रिकाहरू खातकाखात हुन्छन् जसले सुस्ताएकाहरूलाई ब्युझाउँछ, व्युँझिएकाहरूलाई उठाउँछ र उठेकाहरूलाई गति प्रदान गर्दछ । चेतनाको उज्यालो जुनकिरीजस्तै कति पनि झञ्जट नमानी बाँडिहिँड्ने खेलराज योङहाङको यो काम गर्दाका प्रेरणा सोत या उर्जा दिने व्यक्तित्वहरूमा त्येअङ्सी सिरिजङ्गा, लालसोर सेन्दाङ र इमानसिंह चेम्जङ हुन् । यही काम गर्दागर्दै आफ्नो शिरको ढाका टोपीजस्तै आफ्नो उमेर आधाउदी ढल्केको पनि पत्तै पाएका छैनन् ।

नागी–६, चित्यक पान्थरमा २०१३ साल माघ १७ गते बुधबारका दिन हर्कजङ योङहाङका जेठा सन्तानका रूपमा पदममाया थुपुको थेबेको गर्भबाट जन्मिएका खेलराज योङहाङका कलकलाउँदा ४ भाइको मृत्य भएपछि विरहको पोको पुन्तुरो बोकेर आमाबाबु झापाको शिवगञ्जमा झरेपछि उनी पनि आफ्नो आमाबाबाको फेरो समाएर मधेसिए । २०२७ साल पुस ५ गतेको त्यो बसाइ हिँडाइले खेलराजलाई शिवगञ्जको घना जङ्गलमा पु¥यायो जहाँ खेतीपाती बचाउन सधैं बाँदरसँग घम्साघम्सी गर्नुपथ्र्यो । सुकुम्बासी बस्तीछेउको वनजङ्गलका बाँदरसँगको लुकामारीले तकिम्बा नागीको गणेश प्रा.वि.(हालको गणेश मा.वि.)को कक्षा ५ सम्मको पढाइ सदालाई पूर्णविराम लाग्न पुग्यो । तत्कालीन पञ्चयती शासकहरूले सुकुमवासी वस्तीमा हात्ती लगाएर घरहरू लडाएको, आगो लगाएर बस्ती सखाप पारेको घटनाले उनमा विद्रोहको आगो सल्कायो जस्ले गर्दा तत्कालीन नेकपा मालेको भातृ सङ्गठन अखिल नेपाल किसान सङ्घको सदस्य भएर २०३६ तिर राजनीतिमा प्रवेश गरे । पछि उनी सो पार्टीको लागि बालुवाडी गाउँ कमिटीको सदस्यको रूपमा २०३९ साल देखि २०४९ सम्म काम पनि गरे । ४६ सालपछिका राजनैतिक पार्टीका नेताहरूको खस्कँदो छविले अरुहरूलाई जस्तै उनलाई पनि पार्टी राजनीतिप्रति वितृष्णा जगायो र औपचारिक रूपमा पार्टीबाट राजीनामा दिएर ह्वात्तै हामफाले उनी जाति, भाषा, लिपि, साहित्य र सांस्कृतिक योद्धाको रूपमा समाजसेवातिर । 

त्यसपछि उनको यो समाजसेवाको यात्रा निरन्तर अगाडि बढ्दो छ । उनको भनाइमा "मेरो जीउलाई यी मेरा दुई गोडाले डो¥याउञ्जेल म यो भाषा, लिपि प्रचारको अभियानमा लागिरहनेछु ।" उनी अरुले लेखे, छापेका पुस्तक र पत्रपत्रिका मात्र प्रचारप्रसार गर्दैनन् । उनी आफैले पनि २०५२ सालमा लिम्बू भाषाको शब्दकोश सङ्कलन, सम्पादन र प्रकाशन गरी प्रचारप्रसार गरेका छन् । उनी आफै एक गायकी भएका र लिम्बू गीत सङ्गीतको राम्रो भेउ पाएका सङ्गीत मर्मज्ञ पनि हुन् । उनले २०३६ सालदेखि नै लिम्बू भाषामा गीत गाइहिँडेका थिए त्यो जमानामा नेकपा मालेको राजनीतिक क्रान्तिको ज्वाला दन्काउने सिलसिलामा । यसकै सवल प्रतिफलको रूपमा उनले २०५४ सालमा ‘मुक्कुम्बा इक्ला’ नामक लिम्बू गीति क्यासेट निकाली त्यो समयमा ठूलै तहल्का मच्चाएका थिए । २०४९ सालमा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला कार्य समितिका सदस्य बनेर उनले औपचारिक रूपमै आफ्नो कामलाई अगाडि बनाएका थिए । उनी आफ्नो मातृभाषा भने पछि हुरुक्कै हुन्छन् । उहाँ आफ्नो अभियानकै क्रममा काठमाडौँ आउनुहुँदा के.बी. चेम्जङ र अमर तुम्याहाङले संयुक्त रूपमा विविभन्न विषयमा २०६२ साल जेठ २१ गते शनिवार यो अन्तरवार्ता लिइएको थियो । उहाँको अन्तरवार्ता उहाँको इच्छाबमोजिम लिम्बू भाषामै लिइको थियो । तर पाठकीय अवस्थालाई ध्यानमा राखी लिम्बू भाषामै लिइएको उहाँको लामो अन्तरवार्ताको सारसङ्क्षेप खसभाषामा अनुवाद गरी पाठकहरूसमक्ष प्रस्तुत गरिएको छ ।

किरात समुदायसँग सम्बन्धित पुस्तकदेखि लिएर पत्रपत्रिकाहरूका प्रचारप्रसारमा तपाई निरन्तर लागिपर्नु भएको छ । यो काम गर्नुको सहस्य के छ ? 
– पहिला त लिम्बूहरू जग्गा जमीनका मालिकहरू हुन् । तर सरकारको लिम्बूहरूप्रतिको कुदृष्टिले गर्दा हिजोका ती जग्गा जमीनका मालिकहरू आज आएर सुकुम्बासी सोसरह भएका छन् । उनीहरूको आर्थिक अवस्था नाजुक छ । घुम्दाफिर्दा मैले लिम्बूलगायत अन्य किरात समुदायका अन्य जातिका मानिसहरूको पनि उही हालत देखेको छु। यसरी हामी पछाडि पर्नुको कारण के हो ? भनेर विचार मन्थन गर्दा अशिक्षा नै एक हो भन्ने निस्कर्षमा म पुगेँ । अनि अशिक्षाबाट उनीहरूलाई शिक्षाको उज्यालोतिर डो¥याउने माध्यमको काम पत्रपत्रिका र अन्य कितावहरूले गर्नेछ भन्ने सोचले यो काम गरिरहेको छु । योबाहेक नेपाल, सिक्किम, कालेबुङ, दार्जिलिङ, डुवर्स, भूटानलगायतस स्थानमा बस्ने किरात समुदायभित्रका जातिहरू राई, लिम्बू, याक्खा वा देवान र सुनुवारहरूबीच अनुभव आदानप्रदान होस् भनेर पनि यता प्रकाशित भएका पुस्तक र पत्रपत्रिकाहरू उत्ता लैजाने र उत्ता प्रकाशित भएका यता ल्याउने काम गरिरहेको छु।

पाठकहरूको चासो कस्तो पाउनुभो त ?
नेपालका विभिन्न जिल्ला र गाउँघरमा पत्रपत्रिका र कितावहरू लिएर डुल्ने गरेको छु । यसरी नै दार्जिलिङ, घुम, कालेबुङ, डुवर्स, सिक्किम विभिन्न गाउँठाउँहरू र भूटानसम्म घुम्ने गरेको छु । आफ्नो जाति, भाषासँग सम्बन्धित पत्रपत्रिका र प्रकाशित भएका अन्य पुस्तकहरूप्रति पाठकहरूको धेरै चासो रहेको पाएको छु । तर प्रकाशन संस्थाहरूले प्रकाशन गरेका पत्रपत्रिका र कितावहरू ती पाठकहरूसम्म नपुगेको पाइयो । पाठक र लेखक– प्रकाशक बीचमा यस्तो सम्बन्धको खाल्डो परेको अवस्थामा आफूले हल्काराको रूपमा काम गरेको छुजस्तो लागेको छ ।

लिम्बू संस्कृति प्रवासमा कस्तो पाउनुभयो ?  
केलाङ, या?लाङ, ताम्केलाङहरू सिक्किम, दार्जिलिङतिर घुम्दा विभिन्न कार्यक्रमहरूमा देख्ने अवसर पाएँ । त्यतातिरका गाइनेहरूले पनि हाक्पारे, पालामहरू गाएको पाएको छु । यी घटनाहरूले हाम्रो संस्कृति जिउँदै छ भन्ने लागेको छ । बरु यता नेपालमा पो द्वन्द्व सुरु भएपछि हाटबजारहरू बन्द भए, ती हाटबजाहरूसँगै यस्ता धान नाच, केलाङ आदि लोप हुँदै  गएका छन् ।

पहिला पनि दार्जिलिङ सिक्किमतिर घुम्नुभयो? 
म राजनीतिक क्रियाकलापमा संलग्न भएको वेला पञ्चायतकालमा त्यतातिर घुमेको थिएँ । त्यही समयमा सिक्किममा लिम्बू भाषा स्कूलमा पठनपाठन भएको देखेको थिएँ । त्यसले मलाई हाम्रो भाषा लिपिप्रति काम गर्ने प्रेरणा दियो । त्यो समयमा नेपालमा लिम्बू भाषा र लिपिमा लेखपढ गर्न सरकारले अनुमति दिँदैनथ्यो । त्यो समयमा नेपालका लिम्बू लगायतका जात जातिले पनि आफ्नो  भाषा लिपिमा पढ्न पाउनुपर्छ भन्ने लाग्यो र त्यही सोचअनुसार आफ्नो क्षमताले भ्याएसम्म भाषा लिपिका कितावहरू प्रचारप्रसार गर्न थालेको हुँ ।

तपाईं राजनीतिमा कसरी लाग्नुभयो ? 
 हामी २०२७ सालमा मधेसतिर झ¥र्यौं । त्यो समयमा हामी जस्तै अन्य सुकुम्वासीहरूको वस्तीमा डीएफओहरू आउँथे । उनीहरूले हाम्रो वस्तीमा हात्ती ल्याएर घरहरू भत्काउन लगाए, हाम्रो घरहरू आगो लगाएर खरानी भए । यो देखेर मेरो चित्त सारै दुख्यो । रिस पनि सारै उठ्यो । यसको वदला लिन पाए त हुन्थ्यो भन्ने लाग्यो । पछि हामीलाई सरकारले नै शिवगञ्जबाट बालुबाडीमा सा¥यो । त्यहाँ पनि हामी सरकारी मानिसहरूबाट उतिकै पीडित भयौँ । त्यही क्रममा २०३५÷३६ सालतिर अखिल नेपाल किसान सङ्घको सदस्य भएर राजनीतिमा लागेको हुँ । हाम्रा दुःखहरू सकियून्, हाम्रा आवश्यकताहरू नयाँ बन्ने सरकारले पूरा गरोस्, हामीले लेख्न, पढ्न, बोल्न पाउने अवस्था नयाँ सरकारले ल्याओस् भनेर राजनीतिमा लागेको हो। तर प्रजातन्त्र आएपछि पनि हाम्रा सपनाहरू विपना भएनन् । हाम्रो अवस्थामा कुनै सुधार भएन । म राजनीतिमा लाग्दा तारा समयङया, रत्न इङनाम, नारयाणसिंह राजवंशी, अर्जुन राईलगायत थुप्रै चिनेजानेका साथीहरू थिए । तर प्रजातन्त्र आएपछि सांसद नेताहरूले आफ्नो दुनो सोझ्याउने, आफू र आफ्नो नातेदारहरूलाई बनाउने काम मात्र गरे । हामीजस्ता हजारौँ मानिसको त्याग, तवस्या र वलिदानले प्राप्त भएको प्रजातन्त्र “बाँदरको हातमा नरिवल” भयो । प्रजातन्त्रको लडाइँमा कतिका छोराछोरी टुहुराटुहुरी भए, कति विधुवा भए । सत्ता पाएपछि नेताहरूले ती सबै बिर्सिए । यो देखेर अरूजस्तै म पनि निरास भएँ । अनि पार्टीबाट राजीनामा दिएर यता आफ्नै जाति, भाषा, लिपि, संस्कृतिको काममा लागेँ ।

राजनीतिमा रहँदा विशेष के काम गरियो? 
त्यो समयमा मैले सांस्कृतिक फाँट सम्हालेको थिएँ । विभिन्न अवसरमा पार्टीको तर्फबाट सांस्कृतिक कार्यक्रमहरूको तयारी गर्ने, सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने, पार्टीको विचार र नीतिलाई गीत सङ्गीतको माध्यमबाट प्रचार गर्ने काममा म बढी लागेँ, विशेष गरेर आफ्नो क्षेत्रमा।

त्यो वेला पुलिस–प्रशासनले साह्रै दुःख दिन्थे। सांस्कृतिक कार्यक्रम गर्दा, पर्चापम्प्लेट टाँस्दा जुनसुकै अवस्थामा पनि मलगायतका साथीहरूको नाममा वारेन्ट काट्थे । पुलिसहरू भेष बदलीबदली आउँथे। हामी सधैं वनवास हुन्थ्यौँ । घरमा सञ्चले कहिल्यै बस्न पाइएन । तर खुशीको कुरा के भने म पुलिसको फन्दामा फस्नबाट सधैं बच्न सफल भएँ ।

तपाई आफ्नो जाति, भाषा, लिपि, संस्कृति र धर्मपति कसरी आकर्षित हुनुभयो ? 
राजनीति गर्ने सिलसिलामा नै हामीलाई लिम्बू भएकै कारणले धेरै अवसरबाट बञ्चित हुनुपरेको, अगुवा हौँ भन्ने छेत्रीबाहुनहरूले जानीजानी हामीलाई पछाडि पारेको कुराले मलाई चोट पु¥यायो । हामी लिम्बू भएर जन्मनु कुनै अपराध होइन । हामी पनि मान्छे नै हो । हामी पनि यो देशको नागरिक हौँ । यो देशमा उनीहरूको जति हक लाग्छ हाम्रो पनि उति नै हक लाग्छ । उनीहरूको मात्र होइन, हाम्रो पनि आफ्नै भाषा छ, लिपि छ, संस्कार छ, संस्कृति छ, धर्म छ, भेषभूषा छ । उनीहरूभन्दा हामी के कम ? हामीले आफ्नै भाषा, लिपि, सहित्य, संस्कार, संस्कृतिलाई अझ धनी बनाउनुपर्छ भन्ने सोच ममा आयो । आफू र आफ्नो कुरा हामी आफैंले गर्नुपर्छ भन्ने लाग्यो र नै म यतातिर ढल्किएँ। र, अझसम्म पनि म निरन्तर लागिरहेको छु ।

म यतातिर लाग्नुमा हाम्रो जिउँदो जाग्दो इतिहासले पनि उक्सायो । कुनै जमानामा हाम्रा पुर्खाहरूले यो मुलुकमा शासन गरेको कुराले मलाई शक्ति दियो । हाम्रो पुर्खाले त त्यत्रो गरे भने हामीले किन गर्न सक्दैनौँ ? आफ्नो गच्छेअनुसारका समाजलाई हितकारी हुने काम भन्ने लाग्यो ।

तर यसको लागि हामीले हाम्रो अस्तित्व र पहिचान बुझ्नुपर्छ अनि हामी शिक्षित हुनुपर्छ । हामी अशिक्षित हुनु भनेको असक्षम हुनु हो । यसको लागि त हामीले आफ्नो बारेमा खोजअनुसन्धान गर्नुप¥यो, हामीले पढ्नु, लेख्नुप¥यो।

यही क्रममा मैले लिम्बू भाषाको शब्दकोश पनि सङ्कलन, सम्पादन र प्रकाशन गरेँ । शब्दकोश निकाल्नुको कारण हाम्रो भाषाको रेकर्ड राख्नु हो । शब्दकोश भएमा भाषा सिक्न पनि सहज हुन्छ । चाहिने शब्दहरू चाहिने वेलामा पाउन पनि सजिलो हुन्छ भन्ने पनि हो । यो शब्दकोशले राम्रै बजार पायो । निकालेको केही समयमा नै विक्री भई सकियो । अब यसको दोसो संस्करण निकाल्ने सोचमा छु । यसको दोस्रो संस्करणमा अङ्ग्रेजी भाषा सम्पादनको लागि दान खालिङ, लिम्बू र खस भाषाको सम्पादनको लागि तिलबिक्रम कन्दङवा लगायतका साथीहरूसँग मिलेर हामी काम गरिरहेका छौँ । मैले ‘मुक्कुम्बा इक्ला’ नामक गीति सङ्ग्रह पनि निकालेको थिएँ । यसले पनि सबै लिम्बू स्रोतहरूले मन पराइदिए ।

यो गीति सङ्ग्रह निकाल्नुमा हाम्रो समाजमा चेतना जगाउन र हाम्रो परम्परागत लयहरूलाई संरक्षण अनि प्रचार गर्न पनि हो ।

‘मुक्कुम्बा इक्ला’पछि अर्को गीति सङ्गालो निकाल्न सकिएन । हल्काफुल्का गीतहरू निकाल्यो भने त्यसले राम्रो सन्देश दिँदैन। मान्छेहरूले पनि मन पराउँदैनन् । फेरि म पछिल्लो समयमा हाम्रो भाषा, संस्कृतिसम्बन्धी पुस्तक पत्रपत्रिकाहरू झोलाझोलामा बोकेर प्रचारप्रसार गर्दै डुलाउँदै हिँडिरहेको छु । यसलाई मैले एउटा जनचेतना जगाउने अर्को अभियानको रूपमा लिएको छु । मेरो धेरै समय यसले खाएको छ ।

पाठकहरूले चाहिँ तपाईका कामलाई कसरी मूल्याङकन गरेका छन् ? 
समय यस्तो विकराल छ । घरबाहिर निस्केर हिँडिसक्नु छैन । सबैले बुझेकै कुरा हो । तर पनि म घर परिवार छोडेर यो काम गरिरहेको छु । यो काम गर्दाको व्यक्तिगत दुःखका कुराहरू त छँदैछन्। यसरी किताव पत्रपत्रिका बिक्रीवितरण गर्दै हिँड्दा बुझ्नेले त राम्रै मान्छन् । नबुझ्नेहरूले किताब बेचेर चयन गरेर हिँड्छ पनि भन्दा हुन् ।

तर पुस्तक वा पत्रपत्रिका प्रकाशक– हरूबाट किताव किन्यो, कितावहरू ढाड कटक्क खाँदै बोकेर हिँड्यो। यसरी बोकेर विक्रीवितरण गरेको पैसाले के हुन्छ र ? गाडी चढ्नै प¥यो, खाना खानै प¥यो । यसबाट मलाई पैसाको हिसावले फाइदा त केही हुन्न । तर पनि हाम्रो जाति, समाजको उत्थान हुन्छ कि भनेर अनेक दुःख खेप्दै यो काम गरिरहेको छु ।

यो काम गर्दा सधैं म त्येअङ्सी सिरिजङ्गा, लालसोर सेन्दाङ, इमानसिंह चेम्जोङहरूको त्यागलाई सम्झिन्छु र चित्त बुझाउँछु अनि फेरि काममा जुट्छु । दुःख भए पनि हाम्रो जाति र समाजको उज्यालो भविष्यको आशाले त्यस्ता दुःख, थकान, घरीघरी हुने दुःखद घटनाहरूलाई विर्सने गर्दछु ।

लिम्बूहरू नेपालमा बसून् कि भूटानमा बसून् अथवा सिक्किममा बसून् कि संसारको कुनै ठाउँमा बसून् । हामी सबैको पुग्ने ठाउँ त उही हो – हामी शिक्षित बन्ने, सभ्य बन्ने, सुसंस्कृत हुने तर हाम्रो पहिचान कायम राखेर नै यी सब गर्ने हो अनि हाम्रो भाषा, साहित्य, संस्कृति र धर्मलाई युगौयुगसम्म बचाइराख्ने । यसमा मैले भेटे देखेका लिम्बूहरूमा एउटै विचार र व्यवहार पाएको छु।

लिम्बू साहित्यको बारेमा तपाईको कस्तो अनुभूति छ ? 
कालेबुङ, दार्जिलिङतिर मूलरूपमा सिक्किमतिर लिम्बू भाषा साहित्यको विकास पहिला भयो । नेपालमा २०४६ सालपछि मात्र यस्तो काम सुरु भयो । तर जता, जहिले, जसले, जसरी गरे पनि यी कामहरू राम्रोको लागि भएका हुन् । त्यसैले मलाई त भाषा, साहित्य, संस्कृतिमा भएका काम सबै राम्रा लाग्छन् ।


अहिले आएर भाषा, साहित्य मात्र होइन थुप्रै गीति सङ्गालोहरू निस्किरहेका छन् । तरेबा, थःत्थामा, मासेमी, लुङ्मा तुक्किल्ले, नुमाफुङलगायतका चलचित्रहरू लिम्बू भाषामा बनिरहेका छन् । यी सबै कामले लिम्बू सभ्यतालाई धनी बनाइराखेको छ ।

नयाँ पुस्तालाई तपाईको सुझाव के छ? 
यलम्बर हाङले नेपाल राज्य स्थापना गर्दाको दुःखलाई हाम्रा सन्तानहरूले सम्झून्, काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिको रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून्, थाकथाकु माबुहाङका उपदेशलाई व्यवहारमा उतारून्, बाजाहाङको प्रजातन्त्र प्रेमलाई आत्मसाथ गरून्, त्येअङ्सी सिरिजङ्गा अनि इमानसिंह चेम्जोङको त्यागलाई नविर्सून् । नयाँ पुस्ता हाम्रा पुर्वजहरूले देखाएको बाटो हिँडून् ।

तपाईले धेरै त पढ्नु भएन छ नि ? 
मेरा चारजना भाइहरू पहाडमै मरे । म घरको जेठो, घरमा काम गर्ने भने कै म आफैं थिएँ । हाम्रो परिवार विरक्तिएर मधेसतिर झरेपछि पनि सानोमा म बाँदर रुँग्दै ठीक्क भयो । हामी जङ्गलको बीचमा बसेकाले स्कूल टाढा थियो । त्यसैले मले पढ्न सकिनँ । पहाडमा कक्षा ५ सम्म पुगेको मेरो पढाइ नै मेरो जीवनभरिको औपचारिक शिक्षाको अन्तिम खुड्किलो हुन पुग्यो ।

तान्छोप्पा, वर्ष १०, अङ्क ११, विहिवार, ९ कात्तिक २०६२ (26 Oct. 2005) ।