Friday, June 5, 2020

हङकङ चुम्लुङको एक मात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बूभाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो – अविचन्द्र इङनाम लिम्बू

हङकङ चुम्लुङको एक मात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बूभाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो 

– अविचन्द्र इङनाम लिम्बू, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ, हङकङ
  

अविचन्द्र इङनाम लिम्बू पानुदिङ दलधोज र मानुदिङ जगमाया को सन्तानको रूपमा ०१६ साल पौष ७ गते तेह्रथुम जिल्ला इवा गाविसको यावनमा जन्मनुभएको हो । ०२७ देखि घरछेउको धुले स्कुलमा कखरा सुरु गरेका उहाँले त्रि–मोहन मा.वि. सङ्क्रान्ति बजारबाट ०३५ सालमा एसएलसी उतीर्ण गर्नुभएको हो । गाउँमा कुटोकोदालो गर्दै पढेका अविचन्द्रले एसएलसी पास गर्नु लगतै ताप्लेजुङको ओलाङचुङगोला याङमा प्रा.वि.मा पढाउन र चुहानडाडा क्याम्पस तेह्रथुममा पढ्ने एकै समयमा सुरु गरे । तर दाल–भात–डुकुको लागि सङ्घर्षमा होमिएका उहाँले नियमित रूपमा क्याम्पस पढ्न पाउनुभएन । पछि गएर उहाँले महेन्द्र क्याम्पस धरानबाट प्राइवेट परीक्षा लेखेर आईए उतीर्ण गर्नुभयो । यही क्रममा आफ्नो गाउँ शिक्षाबाट वञ्चित भएको देखेर उहाँले आफ्नो पहलमा श्री केलिङ प्रा.वि. पनि स्थापना गर्नुभयो –त्यसको संस्थापक प्र.अ. भएर । ०४६ सालसम्म लगातार त्यही केलिङ प्रा.वि.मा अध्यापन गर्नुभएका उहाँले ०४६ देखि ०५२ सम्म श्री जलसिंह प्रा.वि. ह्वाकुमा अध्यापन पनि गर्नुभयो । यसपछि ०५२ मै हङकङतिर लाग्नुभएका उहाँ हाल इन्टरनेस्नल नेदरल्यान्ड ग्रुपमा कार्यरत हुनुहुन्छ । ०५७ देखि कियाचु हङकङको अध्यक्ष हुनुभएका अविचन्द्र इङनाम गत २००२ मार्च १७ को चुम्लुङ अधिवेशनबाट पुनः अध्यक्षमा चुनिनुभएको छ । हालसालै उहाँ हङकङबाट नेपाल आउनुभएको समयमा तान्छोप्पाका लागि लिइएको अन्तरवार्ताको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ । 

तपाइँ स्थायी शिक्षक कसरी विदेशिन पुग्नुभयो ? 
– हो मैले निक्कै स्कुलहरूमा लामो समयसम्म अध्यापन गरेँ । २०४५  सालमा स्थायी पनि भएँ । तर मैले शिक्षण पेशा छोडेर विदेशिन पुगेँ ।

म विदेशिनुमा २०४६ सालपछिको राजनैतिक परिवर्तनले ल्याएको नकरात्मक पक्ष जिम्मेवार छ । हामी स्वभावैले देश र जनताको विकास र संवृद्धिको लागि काम गर्न चाहन्छौँ । म पनि आफ्नो देश र समाज भनेपछि हुरुक्कै हुने मानिस हुँ । तर नेपालमा बहुदलीय व्यवस्था आएपछि राजनैतिक पार्टीहरूले यसलाई गलत ढङ्गले प्रयोग गरे ।

बहुदल आएपछि इच्छा अनुसारको पार्टीमा लाग्ने स्वतन्त्रता त जरुर हुन्छ । तर खासमा यसमा नकारात्मक कुराहरू बढी देखिए । एमालेमा लागेको मान्छे, काङ्ग्रेसमा लाग्ने मान्छेसँग नबोल्ने, काङ्गे्रसमा लागेको मान्छे एमालेमा लाग्ने मान्छेसँग नबोल्ने, असहयोग गर्ने, हिजोका आफन्तहरू टाढिँदै जाने आदि जस्ता प्रवृत्तिहरू बढ्दै गयो । हुँदा हुँदा काटमार गर्नेसम्मका घटनाहरू पनि घट्न थाले । यो देखेर मलाई साह्रै दुःख लाग्यो । मेरो मन गाउँघरमा अडिएन । अनि म मन बहलाउन देशपरदेश घुम्न निस्केको हुँ ।

कसरी तपाइँं हङकङ नै पुग्नुभयो त ? हङकङको बसाइ कतिको सन्तोषजनक छ त ? 
–  म एक पटक हङकङ घुमफिरको लागि गएको थिएँ । त्यसपछि मलाई त्यो ठाउँमा पुनः जान मन लाग्यो । अनि चाहिँ आई.डी.को प्रक्रिया मिलाई सपरिवार म त्यहाँ पुगेँ । यहाँ पहाडमा बसेको मानिस हङकङमा गएर बाँच्न गाह्रो होला जस्तो लागेको थियो । तर सहज रूपमा त्यहाँको वातावरणमा घुलमिल हुन सकियो । छोटो समयको लागि गएको भए पनि आज–आज, भोलि–भोलि भन्दै हङकङ बसाइ निक्कै लामो भएकोछ । तर जे भए पनि हङकङ बसाइ प्रति मेरो कुनै पश्चात्ताप छैन । किनभने म त्यहाँ पनि नेपालमा जतिकै सामाजिक सेवामा नेपाली दाजुभाइहरूको सेवामा जुट्ने अवसर पाएको छु जसले गर्दा म छुट्टै देशमा छु जस्तो लाग्दैन ।

हङकङ चुम्लुङको नेतृत्व तहमा कसरी पुग्नुभयो त ? 
–  म नेपालमै रहँदा पनि सामाजिक सेवामा बढी नै रुचि राख्ने गरेको थिएँ । क्लबहरू स्थापना गर्नेदेखि स्कुल खोल्नेसम्म काम पनि गरेको थिएँ । यो पक्षले पनि हङकङ चुम्लुङमा प्रवेश गर्नको लागि मानसिक आधार तयार पारेको थियो । हङकङ बसाइ क्रममा नेपालबाट जानुभएका  थुप्रै याक्थुङबा साथीहरूसँग पनि सम्पर्क भैरहने नै भयो । यही क्रममा भगत सुब्बा लगायतका साथीहरूले हङकङ चुम्लुङमा मैले काम गर्नै पर्ने प्रस्ताव राख्नुभयो । सुरुमा त मैले इन्कार गरेँ । किनभने हङकङको लागि म नयाँ थिएँ । तर उहाँहरूले साह्रै जोड गर्नुभयो । पछि मैले उहाँहरूको प्रस्तावलाई स्वीकारेँ । र चुम्लुङको अध्यक्ष भएँ ।

हङकङका लिम्बू दाजुभाइहरू बीचमा हङकङ चुम्लुङको उपस्थिति कस्तो रहेको छ ? हङकङ चुम्लुङको इतिहास पनि संक्षेपमा बताइदिनुहोस्  न । 
–  हङकङ चुम्लुङ हङकङमा दर्ता भएको लिम्बूहरूको आधिकारिक संस्था हो । यसले हङकङमा रहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरूलाई एकापसमा भेटघाट गर्ने, दुःखसुख बाँड्ने एउटा मञ्च प्रदान गरेकोछ ।यसका साथै लिम्बू भाषा, साहित्य, संस्कृतिको संरक्षण,विकास आदि काममा लाग्ने अवसर पनि प्रदान गरेकोछ । हङकङ चुम्लुङले । वास्तवमा हङकङका लिम्बूहरूलाई एकै ठाउँमा ल्याउने काम हङकङ चुम्लुङले गरेको छ र नेपाल र हङकङका लिम्बूहंरू बीच पु्लको काम गरेकोछ । हङकङ चुम्लुङले हङकङमा रहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरू मात्र हैन अन्य नेपालीहरूको लागि पनि उत्तिक्कै सहयोगी भूमिका निभाएकोछ । सारमा हङकङ चुम्लुङको उपस्थिति हङकङमा बसोबास गर्ने लिम्बूहरूको बीचमा ज्यादै सौहाद्र्र एवम् सघन छ । चुम्लुङ याक्थुम्बा दाजुभाइहरूको परदेशको अभिभावककै  रूपमा स्थापित भएकोछ ।

यसको इतिहासको सन्दर्भमा कुरा गर्दा सन् १९९६ मा इमानहाङ दाइ र उहाँका समकालीन लिम्बू दाजुभाइहरूले हङकङ चुम्लुङको अवधारणा अघि सार्दै किरात याक्थुङ चुम्लुङ हङकङको गठन गर्नुभएको रहेछ । इमानहाङ दाइलाई त्यसबेला सहयोग गर्नेहरूमा पदम चेम्जोङ, अम्बर कुरुम्बाङ, गणेश इजम आदि अग्रजहरू हुनुहुन्थ्यो । इमानहाङ दाइपछि भक्त मादेन अध्यक्ष भएर चुम्लुङ हाँक्नु भएको हो । उहाँ पछि त म नै २०५७ पुसदेखि निरन्तर चुम्लुङको अध्यक्ष रहिआएको छु ।

हङकङ चुम्लुङले के कस्ता कामहरू गरेकोछ ? त्यसबारेमा केही बताइदिनुहुन्छ कि ? 
–  हङकङ चुम्लुङले लिम्बूहरू को हुन ? उनीहरूको परिचय के हो ? भन्ने कुरा अरुलाई चिनाउने काममा जोड दिएकोछ । लिम्बूहरूको संस्कृति के हो ? गीत सङ्गीत कस्तो छ ? उनीहरूको भेषभुषा कस्तो छ ? बाजागाजा कस्तो छ ? आदि विषयबारे जानकारी गराउने उद्देश्यले किरात याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । हाम्रा लोकबाजा कोम, के, गरगहनाहरू साम्याङफुङ, चन्द्रहार आदि नेपालबाटभ झिकाई प्रदर्शन गर्ने काम पनि भएको छ । चुम्लुङको पहलमा या?लाङ, केलाङ आदि कार्यक्रम विभिन्न अवसरमा प्रदर्शन गर्ने काम भएकोछ । यस्ता कार्यक्रमहरू प्रदर्शन गर्नुमा हाम्रा दुईवटा उद्देश्यहरू रहेका छन् । एउटा हो– अन्य जातजातिहरूको माझमा लिम्बू र लिम्बूहरूको भाषा, संस्कृतिलाई चिनाउने र दोस्रो हो– हङकङमा बस्ने लिम्बू समुदायकै नयाँ पुस्ता जसले लिम्बू संस्कृति देख्न पाएको हुँदैन । उनीहरूलाई देखाउने मात्र हैन ती संस्कृतिहरूलाई उनीहरूमा हस्तान्तरण गर्नु ।

हामीले यसरी लिम्बू संस्कृति सम्बन्धी कार्यक्रमहरू प्रस्तुत गरेपछि हङकङमा बस्ने अन्य जातिका नेपालीहरू जसले मन पराएर चुम्लुङमा पत्र लेखी निमन्त्रणा गरी कार्यक्रमहरू देखाउन अनुरोध भैआएका छन् । त्यसैगरी स्थानीय हङकङका संस्थाहरू मात्र हैन हङकङ सरकारले समेत चुम्लुङलाई आमन्त्रण गरी लिम्बू संस्कृति  देखाउने अवसर प्रदान गर्दै आएकाछन् । यस्तो कुराले हङकङ चुम्लुङ ज्यादै उत्साहित भएको छ ।

यस बाहेक लिम्बू भाषा साहित्यको उत्थानकोलागि पनि हामीले त्यत्तिक्कै ध्यान दिएका छौँ । चुम्लुङ गतिविधि सार्वजनिक गर्ने र लिम्बू भाषा साहित्य विकासमा टेवा पु¥याउन सेक्मुरी प्रकाशित गर्दै आएकाछौँ ।

हङकङ चुम्लुङको आगामी कार्यक्रमहरू के के छन् ? 
– लिम्बू विभूतिहरूको जन्म जयन्ती मनाउने याक्थुम्बा तङनामहरू मनाउने लिम्बू सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने, लिम्बू भाषामा साहित्यिक गोष्ठीहरू सञ्चालन गर्ने, चुम्लुङ दिवस मनाउने आदि कार्यक्रमहरू हङकङ चुम्लुङले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत समावेश गरेकोछ । यिनै कार्यक्रमहरू नै चुम्लुङका आगामी कार्यक्रमहरू हुन् ।

गत मार्च १७ को चुम्लुङ अधिवेशनबाट पुनः तपाइँं चुम्लुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । चुम्लुङलाई अगाडि बढाउन के के योजना बनाउनुभएकोछ ? 
– मेरो त्यस्तो व्यक्तिगत योजना छैन । किनभने हङकङ चुम्लुङ सामुहिक नेतृत्वमा चलेको संस्था हो । त्यसैले हामीले सामुहिक रूपमै योजनाहरू बनाएका छौँ । यी कुराहरू हङकङ चुम्लुङको कार्यक्रमहरूमा  उल्लेख भएकै छन् । यस भन्दा बढी हामीले हङकङ चुम्लुङलाई अझ संस्थागत र विस्तार गर्ने योजना बनाएकाछौँ ।

यसै गरी हङकङमा रहेका लिम्बू दाजुभाइ दिदीबैनीहरूको तथ्याङ्क संकलन गर्ने, उनीहरूको शैक्षिक एवम् अन्य विवरण तयार गर्ने योजना पनि बनाएका छौँ । सबैभन्दा महत्वपूर्ण कुरा हामीले हङकङ चुम्लुङ र नेपाल चुम्लुङ बीचको सम्बन्धलाई प्रगाढ बनाउने हाम्रो योजना रहेको छ । कतिपय साझा सवालमा हामी दुवै संस्थाहरू सामुहिक रूपमा काम गर्ने हाम्रो चाहना छ । यही सन्दर्भमा गत जेठ २५ गते किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय सचिवालयका पदाधिकारीहरूसँग बैठक सम्पन्न भई विभिन्न सहमतिहरू भएकाछन् । यी सहमतिहरू नेपाल चुम्लुङ र हङकङ चुम्लुङले कार्यान्वयनमा ल्याउन थालेपछि हामीले गुणात्मक फड्को मार्न सक्छौँ भन्ने आशा गरेकाछुैं ।

हङकङ चुम्लुङले स्थापना गर्न लागेको लिम्बू शिक्षा संस्कृति तथा कला विषयमा हङहङ चुम्लुङले स्थापना गर्न लागेको पुरस्कार बारेमा बताइदिनुहुन्छ कि ? 
हङकङ चुम्लुङको एकमात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बू भाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो । हामी यही कुराबाट अभिप्रेरित भएर लिम्बू शिक्षा संस्कृति तथा कलाका विषयमा काम गर्ने लिम्बू साधक साधिकाहरूलाई सम्मान गर्ने र यस्ता प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ यो पुरस्कारको लागि अक्षयकोष खडा गर्ने योजना हङकङ चुम्लुङले बनाएको हो । यो पुरस्कर  सञ्चालनमा किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ  हङकङ बीच संयुक्त रूपमा काम गर्ने भए पनि अक्षयकोष हङकङ चुम्लुङले नै स्थापना गर्न लागेको हो । यसले लिम्बू भाषा मात्र हैन त्यस्ता कार्यमा लाग्ने लिम्बू प्रतिभाहरू प्रोत्साहित हुने आशा गरेकाछौँ ।

नेपाल बाहिरबाट हेर्दा किरात याक्थुङ चुम्लुङ नेपालको गतिविधिलाई के कस्तो पाउनुभएको छ ?
– किरात याक्थुङ चुम्लुङ नेपाल उसका ऐतिहासिक कामहरूको कारणले लिम्बू समुदाय बीचमा एक निर्विकल्प संस्थाको रूपमा स्थापित भएको पाएको छु । यसले भाषा साहित्यको विकासको लागि र लिम्बूहरू बीच सम्बन्ध कायम गर्न तान्छोप्पा साप्ताहिक निरन्तर प्रकाशन गर्दै आएकोमा अब आएर अङ्ग्रेजीमा चुम्लुङ बुलेटीन पनि प्रकाशन गर्न थालेको रहेछ । भाषा साहित्यको विकासको लागि विभिन्न अवसरमा साहित्यिक गोष्ठी र कार्यक्रमहरू पनि गरिरहेको जानकारी पाइरहेको छु । कक्षा पाँच सम्मको लिम्बू भाषाको पाठ्यपुस्तक आनीपान प्रकाशन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । हालसालै उच्च शिक्षामा पनि लिम्बू भाषा पठनपाठनका लागि पाठ्यक्रम विकास गर्न चुम्लुङले पहल गर्दै गरेको कुरा सुनेर म ज्यादै हर्षित भएकोछु । काठमाडौँ र पूर्वाञ्चलमा एफ.एम. कार्यक्रम सञ्चालन चुम्लुङले गर्ने कुरा पनि मैले सुनेको छु । यी बाहेक लिम्बू संस्कृति,कला,परम्परा आदि विकास गर्न पनि चुम्लुङले त्यतिकै काम गर्दै आएको हामीले पाएकाछौँ । किरात याक्थुङ चुम्लुङ नेपालका यी सबै कामहरूले नै नेपाल चुम्लुङको सशक्तता प्रष्ट पारेको छ । हामीले नेपाल चुम्लुङलाई स्वदेशी र विदेशी लिम्बूहरूको लागि आस्थाको केन्द्र भएको पाएको छौँ ।

हङकङमा बसेर अवलोकन गर्दा लिम्बू भाषा र साहित्यको विकास के कति भएको पाउनुभएको छ ? 
– लिम्बू् भाषा श्रुति परम्परामा अत्यन्त सम्वृद्ध भाषा हो । करिब दुई सय वर्षदेखि यी श्रुतिपरम्पराका सामग्रीहरू अर्थात् मुन्धुम पालाम आदिलाई लेख्य परम्परामा ढाल्ने मात्र हैन आधुनिक साहित्य लेखन पनि त्यतिकै भएकोछ । लिम्बू साहित्यले त्यअङसी सिरिजंगा,लालसोर सेन्दाङ, इमानसिंह चेम्जोङ जस्ता ऐतिहासिक पुरुषहरू जन्माएको थियो र वर्तमान अवस्थामा पनि प्राज्ञ वैरागी काइँला, काजीमान  कन्दङवा, येहाङ लाओती, बी.बी. मुरिङला आदि प्रतिभाहरू जन्माएको छ । यिनै साहित्यकारहरूले सृजना गरेको साहित्यले लिम्बू साहित्य भण्डार परिपूर्ण भएको छ । लिम्बू साहित्य विकास तीब्र गतिमा भैरहेको छ । लिम्बू साहित्यकारहरूबाट हुनुपर्ने साहित्यिक काममा कुनै कमी छैन, सोचे भन्दा बढी नै भएको छ । लिम्बू लगायत अन्य जनजाति भाषा तथा साहित्यको विकास सङ्घ उत्थानमा सरकारले अपेक्षित सहयोग गरेको देखिन्न । सरकारले सबै भाषाभाषीलाई विकास गर्न नेपाली भाषा सोसरह मान्यता दिइनुपर्छ । लिम्बू साहित्य को सन्दर्भमा भन्नुपर्दा गलत सरकारी नीतिका बावजुद उत्साहजनक प्रगति गरेकोछ ।

भाषाभाषी तथा तिनको साहित्यको विकासको लागि सरकारले ती भाषाभाषी माथि कुदृष्टि राख्नुभएन । भाषाभाषीको लिपि तथा साहित्यलाई मान्यता दिइनुपर्दछ । ती भाषाभाषी पढ्ने लेख्ने मानिसलाई अवसर प्रदान गरिनुपर्छ । यसकोलागि सबै भाषाभाषीका मानिसहरू सामुहिक रूपमा दबाव दिनुपर्छ । यसरी सरकार र सम्बन्धित भाषा बोल्नेहरूले सामुहिक रूपमा प्रयास गरेमा मात्र भाषा तथा साहित्यको पूर्ण विकास हुनसक्नेछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? 
– अन्त्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरूलाई लिम्बू भाषा, साहित्य, धर्म, संस्कृति, परम्परा,कला आदिको संरक्षण र विकास गरौँ र हाम्रा भावी पुस्तालाई हाम्रा पूर्खाहरूले हामीलाई हस्तान्तरण गरे जस्तै सकुशल हाम्रा पूर्खाका विरासत हस्तान्तरण गरौँ भन्ने कुरा अनुरोध गर्न चाहन्छु ।

तान्छोप्पा, वर्ष ७, अङ्क ७,  बिहिबार, २ साउन २०५९ ।  (25 July 2002) । 

No comments:

Post a Comment