अमर तुम्याहाङ
१. विषय प्रवेश
हामी थरिथरिका दैनिक, साप्ताकिह, पाक्षिक, मासिक आदि पत्रपत्रिका दिनानुदिन पढिरहेका हुन्छौं । ती पत्रिकाहरू लिम्बू, खस, नेवारी, मैथिल, भोजपुरी, अंग्रेजी आदि राष्ट्रिय वा अन्तर्राष्ट्रिय भाषामा प्रकाशित भइरहेको हामीलाई थाहा भएकै कुरा हो । यी पत्रिकाले हामीलाई केही न केही नयाँ खबर, समाचार, दृष्टिकोण र सूचना वा जानकारी, मनोरञ्जन प्रदान गरिरहेकै हुन्छन् । आर्को शब्दमा समाचार, दृष्टिकोण र सूचना वा जानकारी (News, Views and Information) मात्र हैन मनोरञ्जन पनि हामी पत्रपत्रिकामार्फत् पाइरहेका हुन्छौं । समयक्रमसँगै पत्रकारिता व्यवस्थित रुपमा अगाडि बढेको पाइन्छ । सञ्चारको एक अंगको रुपमा पत्रकारितालाई लिइन्छ । सञ्चार वर्तमान युगको मानिसको आवश्यताभित्र पर्छ । यसको विकास अनिवार्य र अपरिहार्य छ । पत्रकारिताको विकास र व्यवसायिकरण अन्य भाषाको पत्रकारितामा जस्तै लिम्बू भाषाको पत्रकारितामा पनि त्यतिकै आवश्यक छ । यहाँ लिम्बू भाषाको पत्रकारिता वा लिम्बू–नेपाली पत्रकारिताको इतिहास, विकासक्रम, उपलब्धि, समस्या आदि पक्षमा चर्चा गरिने छ ।
२. पत्रकारिताको पचिय
पत्रकारिताको अंग्रेजी पदावली Journalism हो । Journalism शब्द फ्रेन्च भाषाको डे जुर (De Jour) बाट आएको मानिन्छ । ‘डे. जुर’को अर्थ ‘दिनको’ अर्थात् ‘दिनभरको घटना’ हो । यही ‘डे जुर’ शब्दबाट व्यगचलब िवा पत्रपत्रिका र पत्रपत्रिका सम्बन्धी अध्ययन गर्ने विधालाई व्यगचलबष्किm वा पत्रकारिता हो भन्ने धारण रहेको पाइन्छ । पत्रकारिता सम्बन्धी केही परिभाषाहरूको अध्ययनले हामीलाई ‘पत्रकारिता’ शब्दबारे बुझ्न सहयोग गर्ने नै छ ।
‘पत्रकारिता’ नेपाली बृहत् शब्दकोशको आधारमा ‘...पत्रपत्रिका सम्बन्धी धन्दा वा क्रियाकलाप’ हो । पत्रकारिता बारेमा विजय चालिसे लेख्छन्, ‘पत्रपत्रिका भन्नाले आमसञ्चार माध्यमका समाचार(विचार संकलन, लेखन, संयोजन वा तयारी र सञ्चारका सूचना उत्पादन, संशोधन र प्रशोधन प्रक्रियासूग सम्बद्ध क्रियाकलाप मात्र बुझिन्छ ।’ आक्सफोर्ड डिक्सनरीमा पत्रकारिताबारे लेखिएको छ M Journalism... the
work of collecting, writting and publishing materials in newspaper and
magazines or on television and radio' यो परिभाषाले समाचार/सामग्रीको संकलन, लेखन र पत्रपत्रिकामा प्रकाशन वा टीभी र रेडियोमा प्रसारण गर्ने कार्य नै पत्रकारिता हो भन्ने बुझिन्छ।
यी परिभाषाहरूमध्ये अक्सफोर्ड डिक्सनरीको परिभाषा व्यापक भए पनि वेबस्टरको डिक्सनरीको परिभाषा बढी स्पष्ट छ । यसले समसामयिकता र मानवीय तृष्णागत इच्छालाई बढी जोड दिएको छ । पत्रकारिता भन्ने वित्तिकै अखबारसम्बन्धी काम मात्र नभई प्रसारण सम्बन्धी काम पनि पर्ने कुरा स्पष्ट छ ।
लिम्बू–नेपाली पत्रकारिताको सवालमा यहाू खबरपत्रिका वा मुद्रण पत्रकारिता, श्रव्यदृष्य वा प्रसारण पत्रकारिता र ई–पत्रकारिता विषयको अधारमा छलफल गरिने छ ।
३. लिम्बू–नेपली पत्रकारिताको इतिहास
लिम्बू–नेपाली पत्रकारितको इतिहासलाई पूर्वाधार र प्रामाणिक इतिहास गरी दुई भागमा विभाजन गरी प्रस्तुत गरिएको छ ।
३.१ पूर्वाधार : लिपिको आविष्कार पूर्व मानिसहरू खबर आदानप्रदान गर्न मानिस नै हुलाकी वा हल्काराको रुपमा प्रयोग हुन्थे । सभ्यताको विकासक्रममा लिपिको आविष्कार भयो । त्यसपछि त खवरसमाचार मूलतः सामन्त, राजा, महाराजाले ताडपत्र वा कपडा वा कागजमा लेखी हल्कारा वा चरा वा जनावरको माध्यमबाट पु¥याउने र ल्याउने गरिएको कथाकुथुङग्रीबाट थाहा हुन्छ । तुरुन्त खबर दिनको लागि झ्याली पिट्ने प्रचलन पूर्वीय मुलुकमा प्रचलित थियो ।
लिम्बू समुदायमा सञ्चार वा खबर आदानप्रदान गर्ने माध्यमको रुपमा नेग्रा बजाउने, बन्दुक पडकाउने, घरघरमा गएर खबर भन्ने वा सबैले देख्ने/सुन्ने ठाउँमा गई कराएर जानकारी दिने चलन मूलतः गाउँघरमा पहिलेदेखि चलिआएको र अद्यापि कायम रहेको छ ।
सामाजिक संरचना जटिल बन्दै गएपछि घटनापरिघटनाहरू पनि बढी नै घट्न थाले । त्यससम्बन्धी जानकारी सबैमा पु¥याउने उद्देश्यले नै पत्रकारिताको शुरुआत मुद्रणको विकास हुनुपूर्व नै हातले लेखेर आरम्भ भएको थियो भन्नुमा अत्तियुक्ति हुँदैन । तर पनि गटेनवर्गले सन् १४५४/५५ तिर आविष्कार गरेको छापाखानाको विकसित पछिल्लो पुस्ताको छापाखानाबाट सन् १६६५ मा पहिलो अंग्रेजी अखबारको रुपमा अक्सफोर्ड गजेटको प्रकाशनले पत्रकारिताको श्रीगणेश ग¥यो । नेपालको सन्दर्भमा राज्यबाट प्रकाशित गजेटहरू पत्रकारिताको माउ मान्न नसकिने हैन । तर पनि ‘गोरखा भारत जीवन’ पत्रिकाको प्रकाशनसँगै खस(नेपाली भाषाको पत्रकारिता आरम्भ भयो । यही खस–नेपाली पत्रकारितालाई पछ्याउँदै अन्य मातृभाषाको पत्रकारिता शुरु भएको मान्न सकिन्छ । तर खस–नेपाली भाषाको पत्रकारिताको इतिहास पनि त्यति लामो छैन । खस–भाषाको पत्रकारिता फस्टाउनुको कारण यो भाषाले राष्ट्रभाषाको मान्यता पाउनु र राष्ट्रभाषाको रुपमा सम्मानित हुनुले हो भने अन्य मातृभाषाहरू यो अवसरबाट वञ्चित हुनुले ती भाषामा पत्रकारिता विकास नभएको हो । तर समयक्रममा पत्रकारिता लिम्बू भाषा लगायत अन्य मातृभाषामा पनि पत्रपत्रिका प्रकाशित हुन थाले, पत्रकारहरू जन्मन थाले ।
३.२ प्रामाणिक इतिहास
लिम्बू भाषाको पत्रकारिता अर्थात् लिम्बू–नेपाली पत्रकारिताको प्रामाणिक इतिहासको चर्चा गर्दा यसलाई मुद्रण माध्यमको पत्रकारिता, प्रसारण माध्यमको पत्रकारिता र ई(माध्यमको पत्रकारिता गरी तीन खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ ।
३.२.१ मुद्रणमाध्यमको पत्रकारिता (Journalism of Print Media)
खस–नेपाली भाषाको पत्रकारिता सन् १८६८ मा ‘गोरखा भारत जीवन’ पत्रिकाबाट शुरु भएको मानिन्छ । भुवन केसीको मतमा बि.सं. १९५५ को ‘सुधासागर’को प्रकाशनबाट खस–नेपाली पत्रकारिता शुरु भएको भए पनि वि.सं. १९५८ देखि नेपालभित्र ‘गोरखापत्र’को प्रकाशन शुरु भएपछि खासमा खस (नेपाली पत्रकारिताको भरपर्दो शुरुवात भएको मान्न सकिन्छ ।
लिम्बू–नेपालीको पत्रकारिता भने खस–नेपाली पत्रकारिताभन्दा एक शताव्दी कान्छो देखिएको छ । सन् १९६७ मा विरही काइँलाले प्रकाशित गरेको ‘कोम’ नामको हस्तलिखित पत्रिकालाई लिम्बू भाषाको पत्रकारिताको शुरुआत विन्दू मानिन्छ । तर लिम्बू–नेपाली पत्रकार एवम् साहित्यकार पुष्प थाम्सुहाङ ‘कोम’लाई प्रथम लिम्बू पत्रिका मान्न तयार छैनन् । यसलाई समयले पुष्टि एवम् पुनःपुष्टि गर्ने नै छ । यसरी नै वि.सं. २०२६ मा आसमान सुब्बाको सम्पादकत्वमा काठामाडौंबाट प्रकाशित ‘सकइङघङ’, सन् १९७२ देखि दार्जिलिङबाट पुष्प थाम्सुहाङले निकालेको ‘सिरिजंगा’ (१८अंक), सिक्किम लिङचोमबाट सन् १९७४ मा बीबी मुरिङला र चन्द्र माङयुङले निकाल्लेको ‘तुमदुमदो. हेना’, वि.सं. २०३० देखि रणबहादुर मेयाङबो र देवेन्द्र कन्दङवाले सम्पादन गरेको ‘थोक्ला’ हुूदै लिम्बू पत्रकारिताको विकासक्रम अगाडि बढेको छ ।
‘नोबा इङघङ’ (सन् १९७८), सेक्मारी (सन् १९८०), पेली (सन् १९८१), लिङनामफुङ (१९८१), सिरिजंगा (सन् १९८२), आनी लक्खुम (१९८२), साक्थिमसुङ (सन् १९८३), मारोतीफुङ(१९८३), फुङइक (१९८३), तोःजी (१९८३), सुम्बुगेन् हुक्वा (सन् १९८४), तिजो (१९८४), चुक्सादिङ सेवा (१९८४), तानाम (सन् १९८५), नादङ (सन् १९८६), इङत्नासुङ (सन् १९८७), मुइनाम(१९८७), निङसाङ (१९८७), तुम्मुई(१९८७), मेरिङ (सन् १९८८), उवाउन्निङ (१९८८), लामधान (१९८८), फुङवानाम्बा (१९८८), नाम्साङ (१९८८), फुङइक (१९८८), आनी फुङइक (१९८८), सिक्किम हेराल्ड (सन् १९८९), याक्थुङ सक्पेवा (सन् १९९०), सङसेमी (१९९१), हिमालयन आदि लिम्बू पत्रिकाहरूको पनि लिम्बू पत्रकारिताको विकासमा ठूलो योगदान छ । यी पत्रिकाहरूको लिम्बू–नेपाली पत्रकारिताकोे विकासमा ठूलो योगदान छ । उल्लेखित पत्रिकाहरू सिरिजंगा (सन् १९८२) र हिमालयन पश्चिम वंगाल अर्थात् दार्जिलिङबाट प्रकाशित भएका हुन् भने बाँकी सबै सिक्किमबाट प्रकाशित भएका हुन् ।
सिरिजंगा(वि.सं. २०५१), याक्थुङ साप्सक नु साक्थिम (२०५१), तान्छोप्पा (वि.सं. २०५२), सुम्हात्लुङ(वि.सं. २०५६), लाम (वि.सं. २०५७), सेहोनाम्लाङ (२०५७), लराङसेरी (२०५७), किरात चेली(वि.सं. २०५८), चुम्लुङ बुलेटिन (वि.सं. २०५९), सेमी फक्ताङलुङ (वि.सं. २०६०), याक्थुङवा, थाङसाङ, हिन्जा, मुन्धुम, तङसिङ, लुङा आदि पत्रिका नेपालबाट प्रकाशित पत्रिकाहरू हुन् भने सेक्मारी/सेक्मुरी (कियाचु हङकङ) हङकङबाट प्रकाशित लिम्बू (नेपाली पत्रिका हो ।
यी पत्रिकाहरूमध्ये याक्थुङबा, सिक्किम हेराल्ड, हिन्जा(बालपत्रिका), थाङसाङ(साहित्यिक) फुङ पूर्ण रुपमा लिम्बू भाषामा प्रकाशित पत्रिकाहरू हुन् । दर्ताको हिसावले तान्छोप्पा साप्ताहिक प्रथम दर्ता (ल.पु.जि.प्र.का.द.नं. १५०/२०५३/५४) भएको पत्रिका हो भने यसपछि लाम ( ल.पु.जि.प्र.का.द.नं. १९५/२०५६/५७), सिक्किम हेराल्ड दर्ता (Regd. No. WB/SKM/1/2000) र याक्थुङबा (दर्ता मिति अज्ञात) भई प्रकाशित भएका पत्रिका हुन् । तान्छोप्पा, सिक्किम हेराल्ड, चुम्लुङ बुलेटिन(अंग्रेजी), थाङसाङ, सुम्हालुङ, लुङा, हिमालयन मात्र निरन्तर रुपमा प्रकाशित भइरहेको पाइएका छन्।
२०६४ साल साउन २४ गते विश्व आदिवासी दिवसको उपलक्ष्यमा गोरखापत्रद्वारा पहिलो पटक बहुभाषिक पेज प्रकाशन गरेको थियो र पछि २०६४ असोज १ गतेदेखि ‘समावेशीकरणका दिशामा एउटा फड्को’ नारासहित गोरखापत्र नयाँ नेपाल याक्थुङ पाःन् (लिम्बु भाषा) पृष्ठ आजतक निरन्तर प्रकाशन भइआएको छ । यसरी नै २०६८ देखि वार्षिक रुपमा फक्ताङलुङ साहित्यिक पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिआएको छ ।
३.२.२ प्रसारण माध्यमको पत्रकारिता (Journalism of Broadcast Medium)
रेडियो र दुरदर्शन या टेलिभिजनबाट संकेतहरू पठाएर समाचार(सामग्री सम्प्रेषण गरी गरिने पत्रकारिताको कार्यव्यवहारलाई प्रसारण माध्यमको पत्रकारिता भनिन्छ । ३ अप्रिल १९८३ देखि आकाशवाणीको गान्तोक केन्द्रले हप्तामा दुई पटक लिम्बू भाषामा कार्यक्रम प्रसारण गर्न थालेपछि औपचारिक रुपमा लिम्बू भाषामा प्रसारण माध्यमको पत्रकारिता आरम्भ भयो । वि.सं. २०५१ साल भदौ गतेदेखि रेडियो नेपाल सिंहदरवारबाट दैनिक समाचार प्रसारण हुन थालेपछि नेपालमा पनि यसका औपचारिक आरम्भ भएको हो । रेडियो नेपाल सिंहदरवारबाट समाचार प्रसारणको क्रम २०५३ साल चैत्र १९ गते सम्म कायम रहेको थियो । त्यसपछि लिम्बू भाषाको सो कार्यक्रम रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाबाट २०५३ साल चैत्र २० तगेदेखि प्रसार हुन थाल्यो तर समाचारमात्र प्रसारण हुूदै आएको थियो । २०५४ साल असार पहिलो हप्ताको विहिबारदेखि ‘नुनाम्फुङ’ नामक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुदै आएको छ । २०५९ साल असार ७ गतेदेखि किरात याक्थुङ चुम्लुङले काठमाडौं उपत्यकामा एचवीसी एफएम र असार १८ गते मंगलबारदेखि लिम्बूवानको इटहरीमा सप्तकोशी एफएमबाट लिम्बू भाषाको कार्यक्रम प्रसारण गरिहेको छ । दुःखको कुरो अझैसम्म टेलिभिजनमा लिम्बू पत्रकारिताको पहुँच पुग्न सकेको छैन ।
३.२.३ ईलेक्ट्रोनिक माध्यमको पत्रकारिता (Journalism of Electronic Medium)
वि.सं. २०५९ साल भदौ २६ गतेदेखि किरात याक्थुङ चुम्लुङले चुम्लुङसँग सम्बन्धित मूलतः समाचार सम्प्रेषणका लागि www.chumlung.org.np नामक वेभसाइट तयार गरी वरिष्ठ लिम्बू साहित्यकार पदमसिंह मुरिङलाबाट उद्घाटन गराइएको घटनालाई ई–पत्रकारितको औपचारिक शुरुवात मानिन्छ ।
खस–नेपाली भाषाको पत्रकारितामा लागेर व्यावसायिक रुपमा कार्यरत लिम्बू पत्रकारहरूमा हर्ष सुब्बा, सगुन लावती, रोशना सुब्बा, रम्यता लिम्बू, प्रदीप मेन्याङवो, राजकुमार दिक्पाल, रीता लिम्बू, भैरव आङला, अइन्द्रसुन्दर नेम्बाङ आदिको नाम लिन सकिन्छ । लिम्बू–नेपाली पत्रकारितामा व्यावसायिक रुपमा अगाडि आएका पत्रकारहरूको नाम किटेर भन्न गाह्रो छ । तर पनि एलएम सुब्बा, तिलविक्रम चेम्जोङ, भक्तशेर चेम्जोङ, सेसेमी सेरेङ, अमर तुम्याहाङ आदिको नाम लिनु अत्तिशयोक्ति हुन्न भन्ने लाग्छ । प्रथम लिम्बू पत्रकार को थियो ? यो प्रश्नको जवाफ त्यति सजिलो र सिधा छैन । तर पनि थप तथ्य र प्रमाणहरू उजागर नभएसम्म पत्रिका प्रकाशनको हिसावले लिम्बू पुरुषमा विरही काइँला (कोमका सम्पादक) र महिलामा विष्णु सेत्लिङ (माङ्गेन्ना सुङको सम्पादिका)लाई मान्न सकिन्छ।
४.उपलब्धिहरू
क. भाषा लिपिको प्रयोगमा विस्तार,
ख. लिम्बू समुदायलाई स्वभाषा, लिपि, धर्म, संस्कृति, भेषभूषा आदिवारेमा जानकारी दिनुका साथै तिनीहरूको संरक्षण, संमबद्र्धंन र विकासको लागि चेतनाको विकास,
ग. लिम्बूहरूको लागि रोजगारीको नयाँ क्षेत्रको निर्माण एवम् रोजगारीको अवसर,
घ. आफ्नो भाषा, लिपि, धर्म, संस्कृति, भेषभूषाको महत्व लिम्बू समुदायमा सञ्चारित हुनु र त्यसप्रति गौरव गर्ने परम्पराको विकास र
ङ. आफ्नो भाषा, लिपिमा खबरहरू सुन्ने, पढ्ने बानीको विकास ।
५. समस्याहरू
क. मातृभाषाको पत्रकारिताको विकासको लागि राज्यको कुनै नीति नहुनु
ख. राज्य वा सरकारी अनि गैह्र जनजातिय संघसंस्थाहरूले मातृभाषी पत्रपत्रिकालाई नकारात्मक दृष्टिले हेर्नु,
ग. सरकारी अनुदान वा विज्ञापन (निजी तथा सरकारी दुवै)बाट बञ्चित हुनु,
घ. लिम्बू खबर पत्रिकाहरू लक्षित समुदायमा नपुग्नु
ङ. रेडियो कार्यक्रमहरू गाउूघरमा राम्ररी नसुनिनु
च. वेभ(वेभपेज, वेभ पुस्तकालय) सम्बन्धी सामग्रीहरूबाट लिम्बू समुदायको दुईतिहाइभन्दा बढी भाग वञ्चित वा ती सामग्रीहरू उनीहरूको पहुच बाहिर हनु,
छ. लिम्बू भाषाको पत्रकारिताको व्यावसायिकरण नहुनु,
ज. लिम्बू भाषा र लिपिमा अनौपचारिक शिक्षाको अभावले पाठक संंख्यामा कमी
झ. निजी क्षेत्रबाट लिम्बू भाषाको पत्रकारितामा लगानीको अभाव
ञ. लिम्बूभाषी पत्रकारहरूले सोही पेशाबाट जीवन धान्न नसक्नु
ट. आजसम्म एउटा पनि लिम्बू प्रेस स्थापना नहुनु
ठ. लिम्बू पत्रपत्रिकाको बजार बिस्तार एवम् सञ्जाल निर्माण गर्न नसक्नु
ड. प्रकाशित पत्रपत्रिकाको निरन्तरता नहुनु
ढ. लिम्बू पत्रकारहरूले मातृभाषा र लिपिमाभन्दा बढी नेपाली भाषा र देवनागरी लिपिमा पत्रपत्रिका निकाल्नु वा लिम्बू भाषा लिपिमा प्रकाशित पत्रपत्रिका चल्ने कुरामा उनीहरूमा आत्मविश्वास नहुनु
ण. लिम्बू भाषा, लिपि जान्नेहरूको संख्यामा ह्रास हुँदै जानु
त. आफ्नो भाषा र लिपिप्रति गर्व नहुनु, प्रचारप्रसार नहुनु, चाख नहुनु ।
६. समाधान
क. मातृभाषामा पत्रकारिताको विकासको लागि श्री ५ को सरकारले नीति निर्माण गर्नुका साथै अनुदान दिनुपर्छ।
ख. सरकारी एवम् निजीक्षेत्रबाट मातृभाषामा प्रकाशित पत्रपत्रिकालाई विज्ञापन दिने नीति निर्माण गर्नुपर्छ
ग. प्रकाशित पत्रपत्रिका लक्षित लिम्बू समुदायमा सहजै पुग्न सक्ने व्यवस्था हुनुपर्छ
घ. लिम्बू पत्रकारिताको विकासको लागि निजी क्षेत्रवाट पनि ठूलो स्केलमा लगानि हुनुपर्छ
ङ. लिम्बू पत्रकारिताको व्यवसायिकरण गर्नुपर्छ
च. सबै राष्ट्रिय भाषाका पत्रपत्रिकाप्रति श्री ५ को सरकारको समानुपातिक विकासमा उदार नीति हुनुपर्छ
छ. हाम्रो काम हामी आफैंले गर्नुपर्छ, अरुले गरिदिंदैन । अतः लिम्बू युवा पीढीले यसतर्फ विशेष योगदान दिनुपर्छ ।
७. उपसंहार
राज्यको विशेष संरक्षणमा हुर्किरहेको खसनेपाली पत्रकारिता पनि भरखरै मात्र व्यावसायिकतातर्फ प्रवेश गर्दै छ । लिम्बू–नेपाली पत्रकारितामा व्यावसायिकता आउन अझै समयका किनै प्रहरहरू बाँकी छन् । लिम्बू–नेपाली पत्रकारितामा पत्रिकाहरूको निरन्तर प्रकाशन नहुनु ठूलो समस्या भएको छ । मातृभाषा नेपाली पत्रकारिता विकासको लागि सरकारले नयाँ नीति ल्याउनु पर्ने मात्र हैन यस्ता पत्रिकामाथि सधैं शंकाले हेर्ने नकरात्मक दृष्टिकोणमा आमूल परिवर्तन हुनु नितान्त जरुरी छ, विज्ञापन नीतिमा परिवर्तन आउन आवश्यक छ, वहुभाषीय सञ्चारको सिद्धान्तलाई स्वीकार गरी खुला मनले व्यवहारमा लागू गर्न ढिलो भइसकेको छ । यसरी नै लिम्बू पत्रकारहरूमा देखिएको खस–नेपाली पत्रकारिता मोह र लिम्बू–नेपाली पत्रकारिता माथिको संकुचित वा अविश्वासको भावनामा अदलीबदली हुनुपर्छ । लिम्बू–नेपाली पत्रकारिताको यात्रा आरम्भ भइसकेको छ । लिम्बू–नेपाली पत्रकारिताको वर्तमान ज्यादै कठिन र समस्यायुक्त छ तर यसको सुदूरभविष्य उज्वल र सुखद छ ।
सन्दर्भ सामग्री
- काइँला, विरही : लिम्बू भाषा र साहित्यको संक्षिप्त इतिहास, प्रथम संस्करण (२०४९ भदौ, नेराप्रप्र, कमलादी, काठमाडौं ।
- काइँला, वैरागी : लिम्बू ग्रन्थ सूची, प्रथम संस्करण–२०४९ पौस, नेराप्रप्र, कमलादी, काठमाडौं ।
- केसी, भुवन : आमसञ्चारमा नयाू पुस्ता, राजधानी दैनिक, वर्ष ३, अंक ५७, विहिबार १५ साउन, २०६०।
- चालिसे, विजय : समाचार संकलन तथा सम्पादन, आमसञ्चारका विविध पक्ष, खण्ड ख, २०५७ माघ, सृष्टि प्रकाशन, चावहिल काठमाडौं।
- मेयसनीय, पौलदे : यो समाचार हो, रोडियो समाचार निर्देशिका, मोर्डन पब्लिसर्स एण्ड डिस्टिव्युटर्स(प्रा), काठमाडौं।
- नेपाली बृहत् शब्दकोश : पाँचौं संस्करण(२०५८, नेराप्रप्र, कमलादी, काठमाडौं ।
- लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश : परिवद्र्धित तथा परिमार्जित संस्करण–२०५९, नेराप्रप्र, कमलादी, काठमाडौं ।
- लिम्बू भाषामा सञ्चालित रेडियो कार्यक्रमहरू सुनौं(२०५९) : पर्चा, किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर ।
- Hornby, AS: Oxford Advanced Learners Dictionary, 5th edition, Oxforf University Press.
- Pandit, NC : Modern Journalism Principlses and Practice .
- Webster M Third International Dictionary.
ताःन्छोप्पा, वर्ष ९, अङ्क ७ विहिवार, १७ असार २०६१ ९ (1 July 2004) पेज ५ र ६ ।
No comments:
Post a Comment