Wednesday, April 1, 2020

याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्यः एक सिंहावलोकन

याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्यः एक सिंहावलोकन

- प्राज्ञ अमर तुम्याहाङ

लेख सार


यस लेखले याक्थुङ लिम्बू भाषा शिक्षाको समग्र इतिहासलाई सङ्क्षेपमा समेट्ने प्रयास गरेकाले लिम्बू भाषाको शिक्षा अध्ययन अध्यापन हुने सम्पूर्ण मुलुकको अवस्थालाई समेट्ने प्रयास गरेको भए पनि बढी मात्रामा नेपालको अवस्थालाई ध्यानमा राखिएको छ । मूलतः लेखकको अवलोकन अनुभव र पुस्तकालय सामग्रीमा आधारित भएर तयारको यस लेखले लिम्बू भाषा शिक्षा परम्पराको इतिहास मूलतः फेदाङ्मा शिक्षण प्रणालीमा आधारित रहेको कुरा गवेषण गरेको छ । लिम्बु हाङ र अङ्सीहरुको अगुवाइमा चलेको शिक्षण प्रणाली पनि लिम्बू शिक्षा इतिहासको महत्त्वपूर्ण पक्ष हो । सन् १९३८ मा कालेबुङ डुङ्ग्रा बस्तीमा औपचारिक रुपमा स्थापित 'निसाम्–हिम्' पछि लिम्बू शिक्षाले औपचारिक शिक्षाको आरम्भ भयो भने यससँगसँगै अनौपचारिक लिम्बू भाषा शिक्षा पनि चलिआएको पूर्व साहित्य समीक्षाको क्रममा र व्यवहारमा देखिएको छ । यस लेखमा लिम्बू भाषा शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाका बारेमा पनि चर्चा गरिएको छ ।

मुख्य शब्दावलीहरु


फेदाङ्मा शिक्षा प्रणाली, हाइरोफेनी, थियोफेनी, निसाम्–हिम्, मातृभाषा शिक्षा, बहुभाषिक शिक्षा, औपचारिक शिक्षा, अनौपचारिक शिक्षा ।

विषय  प्रवेश : सरस्वती बन्दनाबाट 
नीसाम् माङ् ए सेवारो
ए नीङ्वा नूबा चोगेÞओ
हारा माङ् इत्छीःङेÞओ
नीसाम् माङ् ए सेवारो
नूबा सक्सक् नागूम्बेÞरो
सक्सक् मेÞन्ने मेÞगीगेÞरो
नीसाम् माङ् ए सेवारो ।।

हे विद्याकी देवी प्रणाम
मन पवित्र बनाउ है
ए देवी शीघ्र कल्पिनु है
हे विद्याकी देवी प्रणाम
असल विद्या माग्छौँ है
विद्याबिना मासिन्छौँ है
हे विद्याकी देवी प्रणाम ।।

(१९३८ मा स्थापित जम्बुक मेमोरियल चुम्लुङ स्कुलमा हरेक विहान विद्यार्थीले गाउने प्रार्थना गीत)

लिम्बूभाषा शिक्षा परम्पराको आधार फेदाङ्मा शिक्षण प्रणाली 

लिम्बूभाषा शिक्षाको परम्परा फेÞदाङ्मा शिक्षण सिकाइ प्रणालीको मुन्धुमी शिक्षाबाट आरम्भ भएको र आजतक प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसको प्रभाव लिम्बू जीवनपद्धतिमा कायम रहेको छ । सुब्बा (२०१२) का अनुसार फेÞदाङ्मा शिक्षण सिकाइ परम्परा सामानिजमबाट आरम्भ भई हाइरोफेनी (hierophany)* चरणमा विकसित भएको हो । यसले धर्मको रूप लिएपछि हाइरोफेनीबाट थियोफेनी (theophany)# चरणमा प्रवेश हुन गएको छ । तथापि फेदाङ्मा शिक्षण सिकाइ परम्परा प्रभावकारी रूपमा कायमै रहेको छ ।

लिम्बू हाङ तथा अङ्सीहरूको अगुवाइमा चलेको शिक्षा परम्परा

फेÞÞदाङ्मा शिक्षण सिकाइ परम्पराका साथै लिम्बू हाङहरू र अङ्सीहरूको अगुवाइमा पनि लिम्बू भाषा शिक्षाले विस्तार हुने अवर पायो । यस क्षेत्रका केही अगुवाहरू निम्नअनुसार रहेका छन्ः

माराङ हाङ (Marang Raja)  

भेन्सिटार्ट (१९०६) का अनुसार तिब्बतीमूलका स्रिसोभा वंशका माराङ हाङले लिम्बुवानमा शासन गरे (पृ. १०५) । उनका अनुसार माराङ राजा जननिर्वाचित राजा थिए । माराङ राजाले लेखनकलाका लागि जनसमक्ष लिपि चलाए । यही कुरालाई सुबेदार बाजबीर सुब्बाले सन् १९२८ सालमा प्रकाशन गरेको ‘तुम याकथुङ निङ्वाफु सापला’ को भूमिकाको पहिलो वाक्यमा नै यसरी उल्लेख गरेका छन्—  श्री किरांत याकथुङ अक्षर सात सै साल मा मारांग राजा द्वारा बनिये को हो ।

सिरिजङ्गा हाङ

भेन्सिटार्ट (१९०६) ले "करिब नवौँ सताब्दीमा प्रसिद्ध सिरिजङ्गा लिम्बू नायकको रूपमा उदाए । उनले एक प्रकारको लिपि निर्माण गरी लिम्बूहरूलाई लेखनकला सिकाए (... probably in the ninth centurary appeared the famous Srijanga, the deified (made divine) hero of the Limbus. Srijanga taught the Limbus the art of writing by inventing a kind of character)" (पृ. १०५) भनी उल्लेख गरेका छन् ।

किरात इतिहासकार चेम्जोङ (२००३/२०५९) का अनुसार मकवान–स्यान राजापछि राजा भएका श्रीजङ्गा हाङ तिब्बत गई सतसङ्गत गरी सन्तहरूबाट विद्या प्राप्त गरी आफ्नो देशमा आई उनले आफ्ना सारा राज्यमा पाठशाला खोली विद्या प्रचार गरे (पृ. २५) भनी उल्लेख गरेका छन् । तर श्रीजङ्गाहाङले तत्कालीन समयमा खोलेको विद्यालय कस्तो थियो, कस्तो पुस्तकहरू पढाइन्थ्यो, कस्ता शिक्षक शिक्षिका थिए भन्ने प्रमाण हामीसँग वर्तमानमा उपलब्ध छैन । चेम्जोङ (२००३/२०५९) ले नै श्रीजङ्गाहाङको समयमा ‘श्रीजङ्गा मुन्धुम साप्ला’ र ‘साम्लो साप्ला’ प्रकाशित भएको उल्लेख गरेका छन् । सायद ती पुस्तकहरू नै श्रीजङ्गाहाङले खोलेका पाठशालाहरूमा पढाइए होला भनी अनुमान गर्न सकिन्छ । दिक्पालका (२०६७) अनुसार श्रीजङ्गाहाङले सन् ८८० देखि ९१५ सम्म शासन गरेका थिए ।

त्येÞत्यअङ्सी सिरिजङ्गा


लिम्बू (२०५५) अनुसार त्येÞअङ्सी सिरिजङ्गा (सन् १७०४–१७४१) लिम्बू समुदायका राष्ट्रिय विभूती हुन् (पृ. १५) । लिम्बुवानमा शिक्षाको प्रचारप्रसारमा निर्लिप्त त्येÞअङ्सी सिरिजङ्गाले तत्कालीन सुक्खिम राज्यमा रहेका लिम्बूहरूलाई साङ्गाछोलिङ् गुम्बामा तिब्बती लिपिमा लेखिएको बुद्धधर्म पढ्न लगाउने, लिम्बू समाजलाई बुद्धधर्म अनुसरण गर्न लगाउने र लिम्बू धर्म परम्परा छोड्न लगाउने राज्यले अभियान चलाएको थाहा पाए । त्यसपछि स्वधर्म, संस्कृति, भाषा, लिपि, साहित्य संरक्षण गरी याक्थुङ सभ्यता बचाउनका लागि उनी आफ्ना आठजना शिष्यहरूसहित गए । त्येÞङ्सी सिरिजङ्गा सन् १७३४ मा सिक्किम प्रवेश गरी मार्तामका पोदोक कङ्लिबा इजमसँगको भेट गरेको तथ्य पाइन्छ । त्यसपछि तिब्बती लिपि र बुद्धधर्मको विरोद्ध अभियान, लिम्बू भाषा साहित्य र किरात लिपि साथै लिम्बू धर्म संस्कारको प्रचार गर्नलागे । लिम्बू समुदायमा यसको व्यापक प्रभाव प¥यो र ठूलो पुनर्जागरणको अभियान चल्यो । लिम्बूहरू साङ्छोलिङ गुम्बा पढ्न जान छाडे । तर राज्यभने उनीसँग सशङ्कित भयो । राज्यको साँठगाँठमा ठाछाङ लामाहरूले श्रृङ्खलाबद्ध बैठकपछि सिरिजङ्गाविरुद्ध षडयन्त्र रची राब्देन्छीका प्रशासक टाम्डिङ ग्याल्पोलाई भने र उनको आदेशअनुसार गुम्बाका ठासाङ लामाहरूले उनलाई पक्रे । पक्रेपछि त्येÞङ्सीले "मलाई काटे पनि मर्दिन, भालाले घोचे पनि मर्दिनँ" (इमानसिं) लामाहरूलाई भनेपछि मार्तामस्थित कालेज र रेशीखोलाको दोभानमा रुखमा उनलाई बाँधी गोपे बाँसका विषालु बाणले हानी उनको हत्या गरे । यसरी सिरिजङ्गाहाङको शासनकालको करिब ८०० वर्षपछि लिम्बू भाषा, लिपि, साहित्य, शिक्षा, धर्म, संस्कृतिमा आएको व्यापक पुनर्जागरण र विकासको अभियानमा ठूलो ठेष लाग्यो त्येÞअङ्सी सिरिजङ्गाको सहादतपश्चात् । तर उनको अभियानले सिक्किम राज्यले साङ्गाछोलिङ् गुम्बाबाट याक्थुङ भाषा, संस्कृति, शिक्षामाथिको संस्थागत अतिक्रमणलाई रोकी आफ्नो मौलिक बाटोमा डो¥याउने कार्यको माइलखुट्टी निर्माण ग¥यो ।

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देÞन

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन (१९४२–२००५) ले किरात लिपिको प्रचार र प्रयोग, मुन्धुमको आलेखन र प्रचार, किरातीहरूमा शिक्षाको प्रचार (राई २०६६) मा विशेष योगदान गरेका छन् । राई (२०६१) फाल्गुनन्दको शैक्षिक योगदानबारेमा लेख्छन्— किरात लिपिको प्रयोग गरेर लिम्बू भाषाको प्रचार–प्रसार मात्र गर्नु भएन, बरु यसैको माध्यमबाट सामान्य शिक्षादेखि आध्यात्मिक शिक्षाको जग उठाउनुभयो । अपठितहरू पठित भए, पठितहरू शिक्षित भए र उनीहरू समाजका उत्प्रेरक भएर गाउँगाउँमा स्थापित भए (पृ.७५) । आफ्नो जीवनकालमा बनेका काबेली माङ्हिम्, मारुङपारुङतेम्बे माङ्हिम्, चिल्लिङसे माङ्हिम्, सिलौती माङ्हिम्, सत्रथुम गोश्वारा माङ्हिम्, चुक्चिनाम्बा माङ्हिम्, आठजिल्ला माङ्हिम्, जितपुर माङ्हिम्, भोटाङ सिब्सु माङ्हिम्, सत्यहाङ्मा माङ्हिम् भुटान (मेन्याङ्बो २०६६) जस्ता माङ्हिम्मा लिम्बू भाषामा शिक्षा प्रदान गर्ने कार्य महागुरु फाल्गुनन्दबाट भयो ।

लालासोर सेन्दाङ

नाङ्गे साधुका रूपमा चिनिने लालसोर सेन्दाङ (वि.सं. १९००/१०/२ – १९८६/१०/१७) ताप्लेजुङको छेन्ताङ आसपासमा मानिसहरूलाई आफ्ना चेला बनाइ याक्थुङ भाषा, लिपि, संस्कार संस्कृतिको प्रचार गरे र शिक्षाको ज्योति फैलाउने काम गरे । मेन्याङ्बो (२०६२) का अनुसार वि.सं. १९७२ को भदौ महिनामा पूर्व लिम्बुवानको छेन्ताङ गाउँमा लालसोर नाम गरेका व्यक्तिले साधुको रूप लिएर गोर्खा भाषाको विरुद्धमा थुप्रै चेलाहरू बनाएर लिम्बु भाषा, लिपि, साहित्य र धर्म प्रचारप्रसार गर्दै सिकाउने काम गर्दै छ भनी धनकुटा गौँडामा उजुरी परेपछि मनबहादुर थलङ सहित २४ जना चेलाहरूसहित वि.सं. १९७२÷६÷२१ गते लिम्बुवान मुलुक छोडी याङ्रूप, च्याङ्थापु हुँदै फालेलुङ नागी पश्चिम सिक्किम थाम्बोङ दाराम्देन पुगे (पृ.१२) र दाराम्देन सेरेफेरोमा भाषा, लिपि, साहित्य, धर्म संस्कृतिको प्रचारको काम गरे ।

आधुनिक लिम्बूभाषा शिक्षा परम्परा 

नेपालमा पहिला वैदिक शिक्षा वा गुम्बा शिक्षा, जातीय समुदायमा प्रचलित परम्परागत शिक्षा चलिआएका थिए । जङ्गबहादुर राणा युरोप भ्रमणपछि नेपाल फर्केर आएपछि पारिवारिक शिक्षाका लागि उनले अङ्ग्रेजी शिक्षा माध्यमको विद्यालय खोले जसलाई पछि दरबार स्कुलका रूपमा चिनियो ले नेपालमा नयाँ शिक्षा वा आधुनिक शिक्षाको विजारोपण गरेको मान्न सकिन्छ ।

आधुनिक शिक्षा परम्परा भन्नाले मन्दिर वा चर्चबाट अलग गरिएको र विशुद्ध शिक्षा आर्जनका लागि खोलिएका शिक्षालयबाट दिइने शिक्षा भनी बुझिन्छ । Guiness Book of World Records ले सबैभन्दा लामो समयदेखि निरन्तर सञ्चालित विश्वविद्यालयको मान्यता दिएको अल–काराउनिन विश्वविद्यालय (University of Al-Karaunine) सन् ८५९ मा मोरक्कोमा स्थापित भएको थियो । आजको विश्वमा सबैभन्दा नामी मानिएका विश्वविद्यालयहरू अक्सफोर्ड र क्याम्ब्रिज क्रमशः सन् १०९६ र सन् १२०९ मा स्थापित (www.google.com.np) भएका थिए भने नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय वि.सं. २०१६ मा स्थापित भएको थियो ।

नेपालमा व्यवसायिक शिक्षकबाट पठनपाठन गर्ने गरी विद्यालय वि.सं. १९१० तिरै स्थापना भए पनि जनसाधारणका लागि यस्ता विद्यालयमा पहुँचको विस्तार २००७ सालको क्रान्तिपछि मात्र सम्भव भयो । सुरुमा विभिन्न भाषाका पाठ्यपुस्तकहरू प्रयोग गरी नेपालका विभिन्न स्थानमा विद्यालयहरू च्याउसरि उम्रिए तर सरदार रुद्रराज पाण्डेको सभापतित्वा २०१० मा बनेको राष्ट्रिय शिक्षा योजना आयोगले २०११ मा प्रतिवेदन पेश गरेपछि एकभाषिक नीति लागू भयो । यसपछि मुलुकका कतिपय विद्यालयहरूमा चलिरहेका मातृभाषा शिक्षा कार्यक्रमहरू रोकिन पुगे । यसको एउटा उदाहरणको रूपमा आङसाराङ थुम्बुङ गाउँमा रहेको श्री जयनारायण आदर्श आधार हाइस्कुलमा इमानसिंह चेम्जोङले पढाइरहनु भएको लिम्बू भाषा विषयको स्थगनलाई लिन सकिन्छ । 

लिम्बूभाषामा औपचारिक शिक्षा परम्पराको थालनी  

साङ्गाछोलिङ गुम्बामा लाप्चाहरूसँगै लिम्बूहरूलाई बुद्ध धर्मको धार्मिक शिक्षा दिइएको शिक्षणसिकाइको घटना लिम्बूजातिको शैक्षिक इतिहासको पछिल्लो कालको धार्मिक भए पनि संस्थागत प्रयास थियो तर यसको नियत लिम्बूहरूको जेनोसाइड गर्नु थियो ।

लिम्बूभाषा शिक्षा प्रदान गर्ने प्रथम विद्यालय कालेबुङको 'निसाम–हिम' 


साङ्गाछोलिङ गुम्बामा बौद्ध धार्मिक शिक्षा दिइएको घटनाका करिब २०० वर्षपछि सन् १९३८ मा लिम्बूहरूको आफ्नै पहलमा पहिलो लिम्बूभाषा पाठशाला 'निसाम–हिम' कालेबुङको डुङ्ग्रा बस्तीमा स्थापना (वनेमफागो, १९९८) भएको थियो । यो विद्यालय दूरदर्शी तथा शिक्षासेवी सरदार मैतसिंह सुब्बा र अवकास प्राप्त प्रहरी इन्स्पेक्टर लालसिंह सुब्बाको पहलमा स्थापना भएको थियो । लिम्बू भाषा र लिपि पठनपाठन गराउनका लागि लाख बहादुर सुब्बा (आङ्देम्बे) शिक्षक नियुक्त भएका थिए । लिम्बू शिक्षाको आधुनिक इतिहासका उनी नै प्रथम शिक्षक हुन् । प्रारम्भिक चरणमा लिम्बू समाजका दाताहरूको दानदातव्यबाट आर्थिक स्रोत जुटाइएको थियो भने स्कुल व्यवस्थापन समितिले नै यो स्कुल सञ्चालन गरेको थियो । तत्कालिन समयमा यस पाठशालालाई 'जम्बुक मेमोरियल चुम्लुङ स्कुल' (Zambuk Memorial Choomloong School) भनेर पनि चिनिन्थ्यो । यो पाठशाला सरकारी स्वामित्वमा अझै पनि अस्तित्वमा रहेको छ भने हाल यस विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुन्छ । हाल यसको नाम Jambuk Junior Basic School रहेको छ । हाल आएर यस पाठशालामा लिम्बू भाषा भने पठनपाठन नभएर अन्य विषयहरू पाठनपाठन हुन्छ । यसो भए पनि स्थापना कालदेखिको लिम्बू भाषाका प्रार्थना भने अझसम्म पनि सबै विद्यार्थीले हरेक दिन गाउने गर्दछन् (माथि उल्लेखित निसाम् माङ् सेवा) ।

सम्भवत त्यस समयमा सुबेदार बाजबिर सुब्बा (थलङ) लिखित तुम् याक्थुङ निङवाफु साप्ला (१९२८) पुस्तक पढाइन्थ्यो ।

सिक्किममा लिम्बूभाषाको औपचारिक शिक्षा 

लिम्बू जातिको मागअनुसार सन् १९६६ मा सिक्किमका तत्कालीन बारौँ छोग्याल अर्थात् राजा पाल्देन थेन्डुप नाम्ग्यालले चोङ (लिम्बू) आरक्षित सिटको घोषणा (खाम्धाक, २०१३) गरेपछि सन् १९६७ को आमचुनावमा उक्त सिटमा हर्कधोज माङयुङ निर्विरोध निर्वाचित (सुब्बा, २००५) भए । उनले लिम्बू भाषामा औपचारिक शिक्षा आरम्भ हुनुपर्ने माग सदनमा उठाए र सो मागलाई छोग्यालले ११ मार्च १९६७ स्वीकृत गरे । यसपछि सन् १९६८ देखि सिक्किमका विद्यालयहरूमा लिम्बू भाषामा कक्षा २ सम्म पठनपान हुन थाल्यो । उक्त कक्षाहरूमा सन् १९५१ मा इमानसिंह चेम्जोङ, पदमसिंह सुब्बा, मनबहादुर खाम्धाक र अमिरण चेम्जोङले तयार पारेको तुम् याक्थुङ साप्ला र निसिगेक् साप्ला पुस्तकहरू पाठ्यपुस्तको रूपमा प्रयोग गरिएको थियो । लिम्बूभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक स्तरीकरण गर्नका सन् १९७२ मा तत्कालीन रानी होप कुक नाम्ग्यालकै अध्यक्षतामा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण समिति गठन भएको थियो । त्यस समितिको सदस्यमा पदमसिंह सुब्बा, मनबहादुर खाम्धाक र पृथ्वीराज खेवा थिए । सिक्किममा नियुक्त प्रथम लिम्बूभाषा शिक्षक भने इच्छापूर्णदास माङयुङ थिए ।

कालेबुङमा स्थापित निसाम–हिम जातीय सामाजिक प्रयासमा स्थापित लिम्बूभाषा विद्यालय थियो भने सिक्किममा आरम्भ भएको लिम्बूभाषा शिक्षा राजकीय स्वीकृतीबाट सुरु भएको थियो । सन् २०१६।१७ देखि सिक्किममा स्नातकोत्तर तहमा लिम्बू भाषा पठनपाठन आरम्भ भइसको छ ।   

नेपालामा लिम्बूभाषा शिक्षाको बिम्बप्रतिबिम्ब 

वि.सं. २०१३/१४ सालतिर इमानसिंह चेम्जोङले पान्थर आङसाराङ थुम्बुङ गाउँमा रहेको श्री जयनारायण आदर्श आधार हाइस्कुलमा अवैतनिक शिक्षक (लाओती, २०६१) का रूपमा पढाउनु भएको थियो । लाओती (२०६२) ले तत्कालीन सरकारबाट स्वीकृति लिई वि.सं. २०१२ देखि २०१३ सालसम्म कक्षा १, २, र ३ सम्म श्रद्धेय इमानसिंह चेम्जोङ भाषा शिक्षक भई लिम्बू भाषा र लिपि पठन–पाठन गराउनु भएको ऐतिहासिक तथ्य पाइन्छ (पृ. १३४) भनी उल्लेख गरेका छन् । यी भनाइका आधारमा नेपालको सरकारी पाठशालामा सबैभन्दा पहिला लिम्बूभाषा पठनपाठन भएको विद्यालय श्री जयनारायण आदर्श आधार हाइस्कुल र प्रथम शिक्षकको रूपमा इमानसिंह चेम्जोङलाई मान्न सकिन्छ । तर सरकारले २०११ सालको शिक्षा आयोगको प्रतिवेदनको सुझाव (भाषिक एकरूपताको नीति) कार्यान्वयन गरेपछि उक्त पाठशालामा लिम्बूभाषा पठनपाठन कार्य स्थगित भयो । यसको सहायक कारण इमानसिंह चेम्जोङले २०१५ सालको निर्वाचनमा उम्मेदवार हुनुलाई पनि लिन सकिन्छ ।

२०१७ सालपछि निर्दलीय पञ्चायती व्यवस्था लागू भएपछि "एकभाषा एक भेष"को नीति मुलुकमा लागू भयो । यसरी राज्यको नीति भाषा बचाउनेतर्फ नभई विपरीततर्फ सञ्चालन भएकाले सम्बन्धित पक्षबाट पनि संरक्षण नभएमा लिम्बू भाषा संस्कृति साथसाथै जाति नै विलुप्त हुने सम्भावना भएकोले लिम्बू भाषा र संस्कृति संरक्षण गर्न निरन्तर आवश्यक महसुस गरी ७ मार्च १९७६ तदनुसार २४ फागुन २०३२ सालमा पान्थरको याम्बोङमा वीर नेम्बाङको सभापतित्वमा एक सभा बस्यो । सो सभामा लिम्बू भाषा, संस्कृति लोप हुने क्रम बढेकाले सो लोप भएमा जाति नै लोप हुने सम्भावना हुँदा लिम्बू भाषा र लिपि पठन–पाठन गराउने सर्वसम्मत निर्णय भयो र सो प्रयोजनका लागि 'फक्ताङलुङ निसामहिम' नामक विद्यालय याम्बोङमै स्थापना गरियो । तत्पश्चात् सो विद्यालयमा इच्छुक विद्यार्थीहरूलाई लिम्बू भाषा र लिपिमा पठन–पाठन गराउनुका साथै लिम्बू भाषाबाट नाट्य, सांस्कृतिक कार्यक्रम र अन्तरक्रिया पनि गराउने काम सुरु भयो । लिम्बू भाषा, लिपि पठन–पाठन गराउने विद्यालय स्थापना भएको प्रचार भएपछि सो विद्यालयमा अध्ययन गर्न विद्यालयका आसपासका मात्र नभई टाढा–टाढाका विद्यार्थीहरू पनि लिम्बू भाषा र लिपि अध्ययन गर्न आउने क्रम पढ्दै गयो (लाओती, २०१३) । उक्त विद्यालयमा तत्कालीन सिक्किमका सरकारी पाठशालाहरूमा पठनपाठन भइरहेका कक्षा १ र २ का 'सिरिजङ्गा सक्सक्', 'हु?सिङ् साप्पन्' जस्ता लिम्बू भाषाका पाठ्यपुस्तकहरू पठनपाठन गराइन्थ्यो ।

फक्ताङलुङ निसामहिम र यसले ल्याएको सकारात्मक उभारप्रति आहासिर गर्ने र प्रतिशोध गर्नेहरू पनि समाज हुने नै भए । हुन त फक्ताङलुङ निसामहिमा लिम्बू भाषाका साथै खसनेपाली र अङ्ग्रेजी भाषाका सामग्री पनि पठनपाठन (वीर नेम्बाङसँगका कुराकानी) हुन्थे तर विरोधीहरूले "राजालाई मान्नु हुँदैन, देवनागरी लिपि र नेपाली भाषा पढ्नु, पढाउनु हुँदैन, लिम्बू लिपि तथा भाषा मात्र पढ्नु–पढाउनु पर्छ भनी अराष्ट्रिय गतिविधि हुँदैछ" भनी तत्कालीन पान्थरका प्रमुख जिल्ला अधिकारी डम्बरबल्लभ भट्टराईसमक्ष उजुरी प¥यो र उक्त शैक्षिक कार्यक्रमका अभियन्ता वीर नेम्बाङसहित फक्ताङलुङ निसाहिमका सञ्चालक समितिका सदस्यहरूका साथै सम्पूर्ण शिक्षकहरू गरी १८ जनालाई प्रशासनले प्रक्राउ गरी थुन्यो भने १८ मे १९७७ तदनुसार ५ जेठ २०३४ सालमा उक्त विद्यालय पनि बन्द गरायो । यसका साथै ताप्लेजुङ जिल्लाका तिरिङ्गे गा.पं.अन्तर्गत श्रीजङ्गा युन्छो निसामहिम (रात्री पाठशाला) का शिक्षक रामकुमार इजमसहित विद्यालय सञ्चालक समितिका सदस्यहरू र विद्यार्थीहरू समेत १२ जनालाई गिरफ्तार गर्न वारेन्ट जारी गरियो भने पान्थर जिल्लाकै काफलबोटे गा.पं. अन्तर्गत शिवाखोला र रानीटार गा.पं.अन्तर्गत माक्लुम्बाको पाठशालाहरूलाई पान्थरका प्रमुख जिल्ला अधिकारीले सो विद्यालयहरू बन्द गर्ने आदेश दिई ०३९ साल माघ १९ गतेबाट पान्थरका ती सबै विद्यालयहरू बन्द भए । जर्ज अर्वेल (George Orwell) ले आफ्नो एनिमल फाःम मा प्रयोग गरेको शब्द सापटी लिएर भन्ने हो भने पञ्चायतकालीन पहाडी खसआर्य शासकहरूले आफूलाई अधिक समान (super equal) ठानेर खसआर्य भाषा, धर्म र संस्कृतिविपर्य समुदायलाई सबै समान हुन्, तर केही अरूभन्दा बढी समान हुन् (All ... are equal, but some ... are more equal than others) भन्ने भनाइलाई पर्यविपर्य (vice versa) रूपमा प्रयोग गरी काठमाडौँ उपत्यकामा नेवारी भाषा पठनपाठन भइरहेको बेला पूर्वमा लिम्बू भाषा पठनपाठनमा प्रतिबन्ध लागएर लिम्बूहरूलाई तत्कालीन शासकले बी मात्र होइन सी ग्रेडका सौतापट्टिका सन्तानलाईजस्तो व्यवहार गरे ।

लिम्बूभाषा शिक्षाको वर्तमान अवस्था

नेपालमा लिम्बू भाषाको पठनपाठन औपचारिक रूपमा कक्षा ५ सम्म भइरहेको छ, त्यो पनि समुदायको भरथेग र सक्रियतामा । बहुभाषिक शिक्षाका रूपमा लिम्बू भाषालाई माध्यमका रूपमा अपनाउन सकिने संवैधानिक तथा कानुनी व्यवस्था भए पनि व्यवस्थित रूपमा यो कार्यान्वयन हुन सकिरहेको छैन । उच्च मा.वि.का तहमा केही विद्यालयहरूमा लिम्बू भाषा पठनपाठन भए पनि यसले सरकारी मान्यता पाएको छैन । त्यसैले यो आनौपचारिक शिक्षाको रूपमा रहेको छ । २०६९ मङ्सिर ५ गते नेपाल संस्कृत विश्व विद्यालयद्वारा गठित वार्ता समिति र सङ्घीय विद्यार्थी युनियन, लिम्बुवान तथा लिम्बू विद्यार्थी मञ्चबीच धरानको पिण्डेश्वर विद्यापीठमा सम्पन्न सम्झौता अनुसार आगामी शैक्षिक सत्रदेखि लिम्बू भाषा पठनपाठन हुने भनिए तापनि त्यसको तयारी हुन सकिरहेको छैन । नेपालमा लिम्बू भाषा शिक्षाको दुरावस्था भए पनि सिक्किममा भने यसअघि नै स्नातक तहसम्म लिम्बू भाषा अध्ययन अध्यापन भइरहेकोमा सन् २०१२ जुलाइ महिनादेखि तीनवर्षे अनर्स तहको अध्ययन अध्यापन आरम्भ भएको छ । नेपालको लिम्बू भाषा शिक्षालाई निम्न उपशीर्षकमा उल्लेख गर्न सकिन्छ ।

मातृभाषा शिक्षा इच्छाधीन विषयका रूपमा

तत्कालनीन नेपाल अधिराज्यको संविधान, २०४७ को भाग ३ मौलिक हकअन्तर्गत धारा १८(२) ले 'प्रत्येक समुदायले बालबालिकालाई प्राथमिक तहसम्म आफ्नो मातृभाषामा शिक्षा दिने गरी विद्यालय सञ्चालन गर्न पाउने छ' भनी गरेको संवैधानिक व्यवस्थाका साथै शिक्षा ऐन, २०२८ सातौँ संशोधनको दफा ७ (१) ले विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा हुनेछ तर प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ’ भनी व्यवस्था ग¥यो । यिनै संवैधानिक तथा ऐनमा मातृभाषा पठनपाठनको लागि भएको व्यवस्था साथै तिलविक्रम नेम्बाङ (वैरागी काइँला) को संयोजकत्वमा बनेको राष्ट्रियभाषा नीति सुझा आयोगको प्रतिवेदन २०५० को सुझावपछि प्राथमिक शिक्षा पठ्यक्रम २०४९ मा व्यवस्था गरिए अनुसार इच्छाधीन लिम्बू भाषा विषयको पाठ्यक्रम निर्माण कार्य २०५२ बाट सुरु गरी २०५४ पाठ्यक्रम निर्माण सम्पन्न भयो र त्यसपछि कक्षा १ को पाठ्यपुस्तक आनिपाःन् निर्माण भई २०५५ मा प्रकाशित भयो । पठ्यक्रम अनुवाद तथा समायोजन गर्ने विद्वान्हरूमा गणेश इजम, दिलेन्द्र कुरुम्बाङ, राजेन्द्र जबेगू, तारामान मादेन, डिल्ली लिङ्दम र रणबहादुर लिम्बू थिए भने वैरागी काइँलाको संयोजकत्वमा अजुर्न लिम्बू, रणबहादुर मेन्याङ्बो, दिलेन्द्रकुमार सुब्बा र डिल्लीराम सुब्बाले कक्षा १ को आनि? पाःन् किताबको लेखन गरेका थिए । कक्षा ५ सम्मको आनि? पाःन् पाठ्यपुस्तक २०५९ मा तयार भएपछि त्यो भन्दा माथिल्लो कक्षाका लागि ताकेता गेर पनि आनि? पाःन् पाठ्यपुस्तक नबनेको पनि एक दशक नै भइसकेको छ ।

मातृभाषा शिक्षा बहुभाषिक शिक्षाको रूपमा 

२०६२/६३ को ऐतिहासिक जनअन्दोलनपछि बनेको नेपालको अन्तरिम संविधान, २०६३ को भाग ३ को मौलिक हकको शिक्षा तथा संस्कृति सम्बन्धी हक (धारा १७.१) मा "प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुने छ" भनी व्यवस्था भएको छ । यसरी नै शिक्षा ऐन २०२८ (संशोधन २०६३) को दफा ७.२ (ख) मा "प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिने छ" भनी उल्लेख भएको छ । यसका साथै स्थानीय स्वायत्तशासन ऐन २०५५ को नियमावली २०५६, राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०६३), सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना नेपाल (२००१ – २०१५), तीन वर्षे अन्तरिम योजना (२०६४/६५ – २०६६/६७) मा बहुभाषिक शिक्षासम्बन्धी राष्ट्रिय तहमा नीति नियमहरू निर्माण भई जारी भएर कार्यान्वयनमा रहेका छन् ।

विश्वव्यापी मानवअधिकार घोषणापत्र (१९४८), अन्तर्राष्ट्रिय श्रम सङ्गठन सहासन्धि सङ्ख्या (१६९), बाल अधिकारसम्बन्धी अनुबन्ध (१९८९) लगायत अन्तर्राष्ट्रिय स्तरका सन्धि सम्झौता नेपाल सरकारले गरेको र तिनको कार्यान्वयनमा प्रतिबद्धताहरू जाहेर गरेको छ । यिनले पनि नेपालमा मातृभाषामा शिक्षा प्रदान गर्ने विषयमा सुनिश्चता प्रदान गरेको छ । यिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियम र प्रतिबद्धताअनुरूप वि.सं. २०६४ सालदेखि २०६६ सम्म फिनल्यान्ड सरकारको सहयोगमा ६ जिल्ला (कञ्चनपुर, पाल्पा, सरुवा, धनकुटा, सुनसरी र झापा) का आठ भाषा (राना थारु, पाल्पा मगर, रसुवा तामाङ, आठपहरिया राई, पूर्वेली थारु र उराउ, राजवंशी र सन्थाल) र सात वटा विद्यालयहरूमा पाइलट परीक्षण गरी बहुभाषिक शिक्षा लागू गर्ने उद्देश्यका साथ नेपाल सरकारले बहुभाषिक शिक्षा निर्देशिका २०६६ जारी गरिसकेको छ । सन् २०१५ सम्म ७५०० विद्यालयमा बहुभाषिक शिक्षा लागू गर्ने योजनासमेत नेपाल सरकारबाट बनेर कार्यान्वयन भएको भए पनि लिम्बू भाषामा बहुभाषिक शिक्षाको कार्यक्रम लागू हुन सकेको छैन । २०६८ मा पूर्वाञ्चलका सबै जिल्लाहरूकाट लिम्बू भाषा शिक्षकहरूले बहुभाषिक शिक्षाका लागि शिक्षक तालिम लिएका थिए र अहिले पनि दोस्रो चरणको तामिल इटहरीको शिक्षक तालिम केन्द्रमा २०६९ फागुन १३ देखि चैत्र ३ समम चलेको थियो ।

बहुभाषिक शिक्षाले (क) अनौपरिक शिक्षा र (ख) औपचारिक शिक्षा दुवैलाई समेट्दछ । औपचारिक शिक्षामा पनि (अ) विषयको रुपमा मातृभाषा र (आ) शिक्षाको माध्यमको रुपमा मातृभाषाको रूपमा भाषा विषयहरूबाहेक सबै विषय पठनपाठन गर्ने कानुनी व्यवस्था भएको छ । बहुभाषिक शिक्षाले शिक्षाको माध्यमको रुपमा मातृभाषालाई प्राथमिकता दिएको छ । तर मातृभाषी विद्यार्थी तथा समुदायका लागि निकै प्रगतिशील बुहभाषिक शिक्षा नीति तथा कार्यक्रम निम्न कुराको शिकार भएको छः

  • मातृभाषी समुदायले बहुभाषिक शिक्षाको मर्म र महत्व बुझ्न नसक्नु । 
  • बहुभाषिक शिक्षा इतरकाहरू जसरी पनि यसलाई विफल बनाउन लाग्नु । 
  • सरकार केन्द्रीकृत हुनु र प्रतिबद्धता जनाए पनि प्रतिवद्धता कार्यान्वयन नहुनु । 
  • पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण साथै शिक्षक नियुक्ती र तालिम दिने विषयमा स्पष्ट व्यवस्था नहुनु अर्थात् यी विषयले सरकारको नियमित कार्यक्रमको रूप नलिनु ।


लिम्बू भाषामा अनौपचारिक शिक्षा

किरात याक्थुङ चुम्लुङले तरङ् र चोत्लुङ (प्रथम संस्करण २०५४, विश्व शिक्षाको सहयोगमा) जस्ता अनौपचारिक शिक्षाका पुस्तकहरू निर्माण गरी लिम्बू भाषामा अनौपचारिक शिक्षा सञ्चालन गर्ने काम गरेको थियो । अनौपचारिक शिक्षा केन्द्र, सानोठिमीले २०६७ मा साङ्लाम् नामक अनौपचारिक शिक्षा आधारभूत साक्षरता पाठ्यपुस्तक तथा साङ्लाम् सहयोगी पुस्तक निर्माण भई तेह्रथुम लगायतका केही जिल्लाहरूमा पठनपाठन भइआएको छ ।

लिम्बू भाषा शिक्षाका लागि प्रयासरत संस्थाहरू

लिम्बू भाषा शिक्षाको पहल गर्ने प्रथम संस्था २६ जुलाइ १९२५ मा कालेबुङमा स्थापित याक्थुङ हाङ चुम्लुङ हो । यसरी नै नेपालमा लिम्बू भाषामा औपचारिक शिक्षा सञ्चालनका लागि पहल गर्ने लिम्बूजन्य संस्थामा किरात याक्थुङ चुम्लुङ (२०४७) पर्न आउँछ । यसरी नै चुम्लुङले लिम्बू भाषा इच्छाधीन विषयका रूपमा पठनपाठन गर्नका लगि पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक निर्माण, शिक्षक तालिम, पाठ्यपुस्तकहरूको व्यवस्थापन, स्थानीय विद्यालयहरूमा स्वयम्सेवी शिक्षकहरूलाई न्यूनतम पारिश्रमिक व्यवस्थापनका लागि पनि कार्य गरिआएको थियो । यसरी नै किरात याक्थुङ चुम्लुङले वैरागी काइँलाको संयोजकत्व तथा प्रा.डा. सुन्दरकृष्ण जोशीको अतिथि सदस्यतामा लिम्बू भाषाको आई.ए.को नमुना पाठ्यक्रम निर्माण गरी २०५९ साल असोज ७ गते मञ्जुल याक्थुम्बाको अगुवाइमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनमार्फत् त्रिभुवन विश्वविद्यालयमा पेश गर्ने काम ग¥यो । वि.सं. २०६२ साल वैशाख २८ गते लिम्बूसहित पाँच भाषा (तामाङ, शेर्पा, भोजपुरी र अवधि) मा आई.ए.मा पठनपाठनका लागि स्वीकृति दिए पनि पाठ्यक्रमले अन्तिम रूप नदिँदै आई.ए.तह फेज आउट भयो ।

पछिल्लो समयमा लिम्बू विद्यार्थी मञ्च (द. २०६२/६३) ले पनि लिम्बू भाषा शिक्षाका लागि पाठ्यक्रम विकास केन्द्रामा मागपत्र पेश गर्दै कक्षा ६ देखि १० सम्माको आनि?पाःन् पाठ्यपुस्तक निर्माण गरी लागू गर्नु पर्ने माग गरिआएको छ । यसरी नै कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठनका लागि उच्च माध्यामिक शिक्षा परिषद्मा मागपत्र पेशगर्ने र डेलिगेसन जाने काम पनि लिम्बू विद्यार्थी मञ्चले गरेको छ । लिम्बू विद्यार्थी मञ्चले कक्षा ६ देखि १२ सम्मको लिम्बू भाषाको पाठ्यक्रम निर्माणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्यमा २०६८ सालमा गोष्ठी आयोजना गरी प्रस्तावित पाठ्यक्रम बनाई छलफल समेत ग¥यो तर त्यसपछि भने यो विषयले प्राथमिकता पाएको छैन ।

यसरी नै बहुभाषिक शिक्षक सङ्गठन, नेपाल (स्था. २०६५) ले लिम्बुवानका सबै जिल्लाका विद्यालयहरूमा लिम्बू भाषामा बहुभाषिक शिक्षा अबिलम्ब सञ्चालन गर्नका लागि १९ बुँदे माग राखी तत्कालीन शिक्षामन्त्रीसमक्ष २०६८ मङ्सिर ५ गते मागपत्र पेश गरी विभिन्न समयमा ताकेता गरिरहेको छ । उक्त मागपत्रको स्थानीय विकास मन्त्रालय, हरिहरभवन; क्षेत्रीय शिक्षा निर्देशनालय, धनुटा; शिक्षा विभाग, सानोठिमी; शिक्षा कार्यालयहरू, सबै राजनैतिक दलहरू, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्ग, नेपाल पत्रकार महासङ्ग केन्द्रीय समिति लगायतलाई बोधार्थ दिइएको थियो ।

अबको बाटो

मुलुक सङ्घीयतामा नगएसम्म बहुभाषिक शिक्षा मातृभाषा शिक्षाका लागि सबैभन्दा उत्तम विकल्प हो । मुलुक सङ्घीयतामा गएपछि राज्यको कार्यालय भाषाका रूपमा लिम्बू भाषाले मान्यता पाएपछि स्वभाविक रूपमा अहिले देखिएका धेरै समस्याहरू हल हुने नै छन् जसरी सिक्किममा लिम्बूभाषा शिक्षाका समस्याहरू हल भएका छन् । हाम्रो लक्ष्य भनेको लिम्बू भाषाले खसनेपाली भाषाले लिएको हैसियत पाउनुपर्छ भन्ने नै हो, शिक्षामा होस् या प्रशासनिक प्रयोगमा होस् । तर वर्तमान अवस्थाका लागि भने हालसम्म प्राप्त भएको र झिनो भए पनि व्यवहारमा रहेको विकल्पमध्येका उत्तम विकल्प बहुभाषिक शिक्षा (माध्यमको रूपमा, विषयको रूपमा, अनौपचारिक शिक्षाको रूपमा) लाई भरपुर रूपमा प्रयोग गर्नु नै बुद्धिमानी हुने छ । यसका लागि राज्य र सामाजिक सङ्घ सङ्थाहरूले निश्चित दायित्व निर्वाह गर्नुपर्छ जसले गर्दा बहुभाषिक शिक्षाको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ ।
योञ्जन (२०६९) का अनुसार बहुभाषिक शिक्षा विस्तारका लागि राज्य तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जातीय–भाषिक सङ्घसंस्था र समुदायको दायित्य निम्न अनुसार हुन आउँछ । राज्यको दायित्वहरू निम्नअनुसार छन् :

(१) बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका २०६६ गत वर्षको चैत्र २०६६ मा जारी भएको हो । यो निर्देशिका कार्यान्वयनको लागि अब के कसरी गर्ने सबै (नेपाल सरकार र सरकारी निकायहरू, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासङ्घ, युनेस्को, युनिसेफ, दातृनिकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, मातृभाषी सङ्घसंस्था आदि) लाई समावेश गरेर कार्यान्वयनका लागि पहल गरिनु पर्दछ ।

(२) बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६६ अनुरूपका शिक्षा ऐन २०२८ (नियमावली २०६३ सहित) तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३, विद्यालयी शिक्षा पाठ्यक्रम आदि मरिमार्जन गर्न पहल गरिनु पर्दछ ।
(३) जिल्ला पाठ्यक्रम समन्वय समिति र स्रोतकेन्द्र व्यवस्थापन समितिलाई निर्देशिका अनुरूप गठन गर्न पहल गरिनु पर्दछ ।

(४) निर्देशिका अनुरूपको राष्ट्रिय बहुभाषी शिक्षा निर्देशक समिति, जिल्ला पाठ्यक्रम समन्वय समिति र स्रोतकेन्द्र व्यवस्थापन समिति यथाशीघ्र गठन गरिनु आवश्यक छ ।

(५) बहुभाषिक शिक्षा अनुकुलका राष्ट्रिय भाषा नीति बनाउन यथाशीघ्र पहल गर्नुपर्दछ ।

(६) नेपालको संविधान, ऐन, कानुन तथा नीति तथा कार्यक्रम आइएलओ महासन्धी १६९ र युएनड्रिप अनुरूप बनाउन पहल गरिनु पर्दछ ।

(७) निर्देशिका अक्षरशः कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायहरूलाई उत्प्रेरित तथा प्रोत्साहित गरिनु पर्दछ ।

(८) राष्ट्रिय योजना आयोगको नयाँ तीन वर्षीय योजनामा बहुभाषिक शिक्षा कार्यान्वयन सुनिश्चिताका लागि आवश्यक पहल गरिनु आवश्यक छ ।

(९) बहुभाषिक शिक्षा प्रारम्भ गर्न मातृभाषा जान्ने स्थानीय शिक्षक नियुक्तिलाई प्राथमिकतामा राख्नु पर्छ ।

(१०) बहुभाषिक शिक्षाप्रति रहेको नकरात्मक धारणालाई फेरेर सकरात्मक धारणा बनाउन सबै तहमा एटिच्युड चेन्ज (व्यहार परिवर्तन) गर्ने तालिमको व्यवस्था गरिनु आवश्यक छ ।

(११) बहुभाषिक शिक्षा कार्यान्वयनको लागि सबै तहको स्टेकहोल्डर सहभागी हुने गरी यसै शैक्षिक वर्षभित्र राष्ट्रिय स्तरको परामर्श गोष्ठी गर्नु आवश्यक छ ।

(१२) निर्देशिकाले निर्देश गरेका कदमहरूबारे केन्द्रीय तथा जिल्ला तहमा छलफल कार्यक्रम गरिनु आवश्यक छ ।

बहुभाषिक शिक्षा विस्तारका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जातीय–भाषिक सङ्घसंस्था र समुदायको दायित्य
(१) नयाँ संविधानमा बहुभाषिक शिक्षालाई समेत मौलिक हकको रूपमा स्थापित गर्न पहल गरिनु पर्दछ ।

(२) बहुभाषिक शिक्षा नीति निर्माणमा युनेस्को, युनिसेफ, आइएलओ जस्ता राष्ट्रसङ्घीय संस्थाको भूमिका महत्वपूर्ण रहेकोले यसको कार्यान्वयनमा पनि ती सङ्घसंस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सक्रियता स्थानीय तहसम्म पुग्न आवश्यक छ ।

(३) नेपालको शैक्षिक प्रणालीको अभिन्न अङ्गको रूपमा बहुभाषिक शिक्षा रहेकोले यसको व्यापक कार्यान्वयनको लागि दातृनिकायहरूको भूमिका महत्वपूर्ण रहेकोले ती संस्थाहरूको यसतिर अर्थपूर्ण ढङ्गले उन्मुख हुन आवश्यक छ ।

(४) बहुभाषिक शिक्षाबारे जानकारी अभियानकै रूपमा सञ्चालन गरिनुपर्दछ । यसको लागि नेफडिनले सक्रिय पहल लिनु आवश्यक छ ।

(५) बहुभाषिक शिक्षालाई व्यापक बनाउन बहुभाषिक शिक्षा समाज, बहुभाषिक शिक्षा सञ्जाल जस्ता संस्था निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्नुका साथै सरकारी र गैरसरकारी र राष्ट्रसङ्घीय सङ्घसंस्थाको कार्यक्रम तथा कार्यान्वयन पक्षलाई वाचडकको रूपमा भूमिका निर्वाह गर्न आवश्यक छ ।

लिम्बू भाषा पठनपाठनलाई व्यवस्थित गर्नका लागि किरात याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्चजस्ता संस्थाहरू निरन्तर रूपमा लागिपर्नु पर्छ । कामका प्राथमिकताहरूमा कक्षा ६ देखि ८ को पाठ्यपुस्तक निर्माण, कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण र कार्यान्वयनका लागि समर्पित हुनुपर्छ । २०५९ सालदेखि स्थगित रहेको त्रिभुवन विश्व विद्यालय लिम्बू भाषा पठनपाठनको निम्ति गरिनुपर्ने प्रयासलाई पुनः आरम्भ गरिनुपर्छ । यस कार्यलाई संस्कृत विश्व विद्यालयजस्ता अन्य सरकारी विश्वविद्यालयमा लिम्बूभाषा पठपाठनका लागि प्रयास गरिनु पर्छ ।

निष्कर्ष 

औपचारिक लिम्बू भाषा शिक्षाका लागि विगत ८२ (सन् १९३८) वर्षदेखि निरन्तर प्रयासहरू भइआएका छन् । अवश्य पनि अपेक्षा गरेजस्तो उपलब्धि हासिल हुन सकेको छैन । यसो हुनुमा विभिन्न राजनैतिक परिवेश र सांस्कृतिक चेतना अभावको परिणामस्वरुप लिम्बू समुदाय निर्णय गर्ने तह (राजनीतिक तथा प्रशासनिक) मा पुग्न नसक्नु सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । यसमा सुधार ल्याउन प्रतिवद्धताका लागि शिक्षाविद् अमृत योञ्जनले भन्ने गरेको "मैले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? र यहा नगरे कहा गर्ने ?" भन्ने कथनलाई सामुहिकतामा विश्वास गर्ने लिम्बूहरूले यस्तो प्रतिवद्धता व्यक्त गरी व्यवहारमा उतार्नु नितान्त आवश्यक छ कि "हामीले हाम्रो भाषाको लागि काम नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ?" यसका लागि हाम्रा संस्थाका बरालिएका दैनिकीमा परिवर्तन हुनुपर्छ र निर्दिष्ट कामहरूमा शिक्षा पर्नु अनिवार्य छ । अरूले निर्माण गरेको प्रारुपमा काम गरेर हामी कहिल्यै विजयी हुन सक्दैनौ, अरूले खनेको बाटो हिँडेर हामी हाम्रो चोत्लुङमा पुग्न सक्दैनौ, हाम्रो विजययात्राका लागि हाम्रै भाषा शिक्षा चाहिन्छ । यो कुरा सम्बन्धित समुदायका अगुवाहरूले बुझ्नुपर्छ र सोहीअनुसार अघि बढ्नुपर्दछ भने राज्यले पनि यसका लागि मार्ग प्रसस्त गर्नुपर्दछ ।

नोट
* यो कार्यपत्रीय लेख लिम्बू विद्यार्थी मञ्चको १५ स्थापना दिवसको उपलक्ष्य ६ चैत्र २०६९ त्रि.वि. कृतिपुरमा आयोजित ‘लिम्बूभाषा शिक्षाको इतिहास र भाषिक आन्दोलन’ विषयक सेमिनारमा प्रस्तुत कार्यपत्र हो । यस कायपत्रमा समय सापेक्ष केही सुधार र सम्पादन गरिएको छ – लेखक।)
# प्राकृतिक तत्व वा वस्तुहरू जस्तो आकास, धरती, घाम, जून, आगो, पानी (खोला, नदी, पोखरी), बुटीवृक्ष आदिलाई दैवी शक्तिका रूपमा मानी पूजाआजा गर्ने पद्धतिलाई हाइरोफेनी भनिन्छ ।
३ भगवान् वा देवीदेवताको प्रतीकका रूपमा मूर्ति, माङ्हिम्, मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि स्थायी रूपमा पदस्थापन गरी पूजा अर्चना वा प्रार्थना गर्ने पद्धतिलाई थियोफेनी भनिन्छ ।

सन्दर्भ सामग्री

क (१) खसनेपाली सामग्री खण्ड


  • चेम्जोङ, इमानसिंह (२००३÷२०५९, प्र.सं. सन् १९४८) किरात इतिहास, किरात याक्थुङ चुम्लुङ, केन्दीय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर । 
  • तान्छोप्पा, वर्ष १०, अङ्क १०, असोज २०६२, सम्पादकः अमर तुम्याहाङ, पृ. ३/८ ।
  • तुम्याहाङ, अमर र अन्य (वि.सं. २०६७) । साङ्लाम्, नेपल सरकार, शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्र, सानोठिमी, भक्तपुर । 
  • दिक्पाल, राजकुमार (वि.सं. २०६७) सिरिजङ्गा सम्बन्धमा केही नयाँ तथ्यहरू, लिम्बुवान जर्नल (पृ.५८–६४), लिम्बू विद्यार्थी मञ्च, केन्द्रीय समिति । 
  • नेम्बाङ, तिलविक्रम (वि.सं. २०५०) राष्ट्रियभाषा नीति सुझाव आयोगको प्रतिवेदन, राष्ट्रियभाषा नीति सुझाव आयोग, प्रज्ञाभवन, कमलादी, काठमाडौँ, नेपाल ।
  • मेन्याङ्बो, रणबहादुर (वि.सं. २०६६) किरात धर्मको ऐतिहासिक वैज्ञानिक पक्ष र मुहिगुम अङ्सीमाङ फाल्गुनन्द, महागुरु लिङ्देन फल्गुनन्दसँग सम्बिन्धत लेख रचनाहरूको सँगालो महागुरु फाल्गुनन्द (पृ. ११६–१२५) । 
  • योञ्जन, अमृत । नेपालमा बहुभाषिक शिक्षा ः अभ्यास र अनुभव । फागुन ९ गते नेपाल प्रज्ञा—प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०६९ को उपलक्ष्यमा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
  • राई, नोवलकिशोर (वि.सं. २०६६) किरात धर्म, मुहिगुम अङ्सीमाङ फाल्गुनन्द र रविको सेरोफेरो, महागुरु लिङ्देन फल्गुनन्दसँग सम्बिन्धत लेख रचनाहरूको सँगालो महागुरु फाल्गुनन्द (पृ. ११२–११५) । 
  • राई, नोवलकिशोर (वि.सं. २०६१) महागुरु फाल्गुनन्द व्यक्ति एक : आयाम अनेक, महागुरु फल्गुनन्द शालिक निर्माण समितिको स्मारिका (पृ. ७४–७७) । 
  • लाओती, देवेन्द्र (२०६१) इमानसिंह चेम्जोङः मेरो संस्मरणमा, इमानसिंह चेम्जोङ व्यक्तित्व र कृतित्व, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललिपुर (पृ. १४३–१४५) ।
  • लाओती, येहाङ (२०६५) आदिवासी लिम्बू जातिको संक्षिप्त परिचय । प्रकाशकः दिलबहादुर लाओती । 
  • लाओती, येहाङ (२०१३) सन्दर्भः फक्ताङलुङ निसामहिम, इमेत्नासुङ, अङ्क ३४, दाराप, पश्चिम सिक्किम (पृ. ३०८–३१३) ।
  • लाओती, येहाङ (२०६१) सम्झनाको फूलबारीमा इमानसिंह चेम्जोङ, इमानसिंह चेम्जोङ व्यक्तित्व र कृतित्व, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललिपुर (पृ. १३३–१४२) ।
  • लिम्बू, अर्जुन र अन्य (वि.सं. २०५५) स्मारिका, किरात याक्थुङ चुम्लुङ, चौथो राष्ट्रिय महाधिवेशन, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललितपुर । 
  • शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), (२०६१) । अध्यादेशसहित, बौद्धिक दर्पण प्रकाशन, काठमाडौँ । 
  • श्री ५ को सरकार नेपाल अधिराज्यको संविधान, २०४७ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, कानुन किताब व्यावस्था समिति, बबरमहल, काठमाडौँ । 


क (२) अन्य सामग्रीहरू


  • बहुभाषिक शिक्षक सङ्गठन, नेपालले २०६८ मङ्सिर ५ गते शिक्षामन्त्री समक्षा पेश गरेको ज्ञापनपत्र ।
  • नेपाल संस्कृत विश्वविद्यालयद्वारा गठित वार्ता समिति र सङ्घीय विद्यार्थी युनियन, लिम्बूवान, लिम्बू विद्यार्थी मञ्चबीच धरानको पिण्डेश्वर विद्यापीठमा २०६९/१०/५ मा भएको सम्झौता पत्र ।
  • वीर नेम्बाङद्वारा २०३९ चैत्र ९ गते सभापति, राजसभा स्थायी समितिसमक्ष पश्चिमाञ्चल क्षेत्रीय सभा पोखरामा पेश गरेको “संविधान र ऐन कानुन बमोजिम क्षेत्रीय भाषाहरूको अध्ययन निमित्त विद्यालयहरूमा संचालन गर्न स्वीकृतिको लागि सिफरिस पाउँ” शीर्षकको मागपत्र ।


ख. लिम्बू सामग्री


  • आनि? पाःन् (२०५४, २०५५) पाल सरकार, शिक्षा तथा खेलखुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर । 
  • तुम याक्थुङ निङ्वाफु साप्ला (१९२८) प्रकाशक: Mr. E. K. Bahadur Subba and Mr. Sibirai Sanwa. Dareeling Chumlung.
  • याक्थुक्ष् निछाम् निछाप्पोना (२०४९) याक्फा १ ओनु ५ तारिक, २०५४ । श्री ५ को सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, प्राथमिक पठ्यक्रम पाठ्यपुस्तक विकास केन्द्र एकाइ÷आधारभूत तथा प्राथमिक शिक्षा परियोजना, सानोठिमी, भक्तपुर । 


ग. अङ्ग्रेजी सामग्री


  • Khamdhak, Buddhi L. (2013) Struggle of Sikkimese Limboos for the Tribal Status and Seat Restoration in the Sikkim Legislative Assembly, in Harka Khamdhak Emeytnasung, (pp. 414-447), Darap, West Sikkim. 
  • Subba, J.R. (2012). Ethno-Religious Views of the Limboo Mundhums (Myths): An Analysis of Traditional Theories. Yakthung Mundhum Saplapp. Gangtok, Sikkim.
  • Subba, J.R. (2012). Yumaism, the Limboo Way of Life: A Philosophical Analysis. Yakthung Mundhum Saplappa. Gangtok, Sikkim.
  • Subba, P.S. (2006) Limbu Lekhya Bhasako Bikashbarey Aphailai Herda, in Tumyahang, Setling and Tigela Padam Sing Subba 'Apatan' Byaktitwa ra Krititwa Kirat Yakthung Chumlung, Limbu Bhasa Sahiya Pratisthan, Kathmandu. 
  • Vansittart, Eden (1991, First Pub. 1906) GURKHAS, Asian Education Services, New Delhi, Madras. 
  • Wanemfago, B.K. (1998). Diminishing Trend of Limboo Language and Remedial Measures, SOUVENIR Birth Anniversary of Teyongsi Sirijunga (p. 10-18)  Published by Sikkim Limboo Youth Association. 
  • www.google.com.np//oldest-universities-in-the-world-ancient-colleges, visited on 4 March 2013. 


No comments:

Post a Comment