अमर तुम्याहाङ
सबैलाई आफूले 'नारायण' भनेको छु ।
माझमा तिनैको 'बेवारिसे' बनेको छु । (पेज १)
नारायण अरूका मात्र नारायण होइनन् । सबै अरू पनि नारायणका नारायणहरू हुन् । आपद पर्दा नारायण । साथ खोज्दा नारायण । विश्वासको वैतरणी तर्दा नारायण । सबैको बिचमा भएर पनि छुन र देख्न नसकिने नारायण वारिसविनाको नारायण अर्थात् गजलको प्याला पलपल घुट्काउने नारायण ।
यिनै नारायण मृग सावकझैँ चञ्चले ठिटो हुँदा अम्बिटारको थुम्कोमा सुसेल्थे त सुकेटारको सिरेटोमा गीत गाउँथे । फुङलिङको कोलाहलले सताएको बेला तोक्मे डाँडोको सल्लेरी वनमा सुस्ताउन पुग्थे । शान्त वेगमा बगेको तमोरसँग मितेरी साइनो गाँसेका नारायण मुकुम्लुङमा पाथीभरा मनभरि सिरानी लाएर कञ्चनजङ्घा र फक्ताङलुङसँग अँगालो मारेर निदाउँथे, स्वप्निल संसारमा । देउरालीको लालीगुराँस आँखामा सजाएर उराठिलो हाङ्देवा पहिरोको किनारमा बसेर आफ्नो अज्ञात भविष्यको चित्र कोर्थे जहाँ उनी थिए, उनको समय थियो, मन थियो, मनलाई टाल्ने आशा थियो, उनको तिमीलाई माया गर्ने मुटु थियो, यस्तै धेरै धेरै कुरा थिए, त्यहाँ । तर अब उनी सपना देखेको ठाउँमा छैनन् । सपनाको संसारमा छन्, सपना देख्दै समवेदनाका प्यालाहरू घुटकाउँदै हामीलाई अनि यो संसारलाई सांसारिक सुख र दुःखलाई, आँसु र हाँसोलाई, प्रेम र घृणालाई मित्रता र शत्रुतालाई मानवता र दानवतालाई प्यालामा दिएर पिउन साउती गर्दै चियर्स भन्दैछन् । उनको छुट्टै संसार छ, भावनाको संसार जुन सिमलको भुवाभन्दा कोमल, हलुका छ । त्यसैले वर्तमान जस्तो कठोर बजारमा छैनन् उनी अर्थात् उनी कसैलाई वारिस राखेर लाचार यो दुनियाँमा हाँस्न चाहँदैनन् बरु एक्लै एक क्षण भए पनि उन्मुक्तिको आकाशमा उडान भर्न चाहन्छन्– स्वतन्त्रताको उडान, यसरीः
देउ मलाई अलिकति खुला खुला आकाशहरू ।
उन्मुक्तमा उड्न देउ मानवताका बतासहरू । (पेज २१)
सपनाका खेती लाउने नेताहरूले जनताको बस्तीमा आगो सल्काएको देखेर उनको मन रोएको छ । मान्छेको रगतमा होली खेल्ने ती नमान्छेहरूको सामु 'मान्छेको बली खाने मान्छेको यो बस्तीमा । बाँचेको नै कहाँ छ ? मात्र एक मुठी सास छ ।' भनेर वर्तमान नेपाली जनताको आवाज बुलन्द पारेका छन् । लिलिपुट नियति बाँचेर आफ्ना दसा सुध्रिने सपना साँच्दै राणा शासन, पञ्चायत आदि खेपेका जनताहरू बारम्बार ठगिएको, शोषित भएको मात्र होइन अस्तित्व समेत खतरामा परेको अनुभव यसरी व्यक्त गर्दछन् :
दस नङ्ग्रा खियाउँदै रगत तिम्रै चुसिन्छ
भाग्य अरूको बनाउँदैमा भाग्य तिम्रै तुहिन्छ । (पेज २)
देशमा डढेलो लाएर वर्तमानका नेपाली निरोहरू बाँसुरी बजाएर मात्र नाचगान गर्दै समय बिताएका छैनन् । दनदन्ती बलेको ज्वालामा अवोध प्रह्लाद र ध्रूव छोराहरू हाम्रा युगका भृकुटी र सीता चेलीहरू, पार्वती र लक्ष्मी आमाहरू, सत्यम्, शिवम्, सुन्दरम्का परम अनुयायी जीवहरू अनि शान्तिका संवाहक बुद्धहरूलाई भकाभक धकेलेर लाउँदै जलाउँदै छन् । आफन्तका रगतले ढुङ्गा माटो रङ्गिएको छ । खोल्सा खोला पानी होइन रगत बगेको छ । जङ्गल खोँच लासले ढाकेको छ । देश आँसु सागरमा डुबेको छ । मानवता ताज त के सगरमाथा झुकेको छ भन्दै सभ्यतामा कालो पोतिएको यसरी व्यक्त गर्दछन् उनी :
वेदनामा यहाँ आकाश झुकेको छ ।
घाम नअस्ताउँदै आज रात परेको छ । (पेज ३६)
आइपुगे उनी विकृति मौलाउने एउटा सहर, अभाव तनावबीच सपना रोप्ने रहरमा गाउँघर साथी सङ्गी सबै मुलेर । अनि देखे उनले मानवीय संहार छिमेकी गुजरात र वामियान आसपासमा, युगोस्लाभिया र पेलिस्टाइनमा । घरभित्र मच्चिएको हत्या, लुट, बलात्कार, हिंसा अनि अशान्ति विश्वव्यापी रूपमा फैलिएको पाए उनले । कहीँ राजनीतिको अभिष्ठता पूरा गर्न, कहीँ जातीय अहमताको शिखर समिट गर्न, कहीँ कथित वैभवको छहारीमा अरूलाई ओताउन, कही धर्मको रक्षा गर्न अर्थात् एउटा न एउटा निहुँमा यो सभ्यताको चरम समयमा पनि मान्छेको बलि निरन्तर मान्छेले नै चढाएको सत्य घटना उनका नाङ्गा आँखेले देखे । हर धर्मले मात्र मानव रक्षा र विश्वमा शान्ति कायम गर्नुपर्ने तर ती धर्मका बाइबल, कुरान र वेद सिंहाप्रिय दानवहरूले जन्माउने मेसिन जस्तो देख्छन् । उनी तिनीहरू "मुखमा राम राम बगलीमा छुरा" लिएर हिँडेका पाउँछन् अनि भन्छन् :
बेद, बाइबल र कुरान पढ्ने कथित शान्तिका पूजारीहरू,
आफैँ आफैँमा आज क्रान्ति रोज्न थालेका छन् । (पेज १६)
'के पायौ पराइको लागि बहादुर भइ लड्दाखेरि ? के पायौ वर्मा, कार्गिल, कोसोभोमा ढल्दाखेरि ?' भनेर लाहुरेहरूलाई सम्झाउँदै उनी भन्छन् – टुहुरा र विधवा बनाई बेइमानीको ढाल बन्यौ । 'मान्छेहरू बाँचुञ्जेल सधैँ खुट्टा तान्छ यहाँ । मरेपछि शालिकमा फूलमालाले पुज्छ यहाँ' भन्दै वर्तमान मान्छेको छद्मभेषको धज्जी उडाएका छन् गजलकारले । पछाडि पारिएका, हेपिएका र दबाइएका आदिवासीहरूलाई इङ्गित नारायण लेख्छन्, 'भूमिपुत्र यही देशको आदिवासी थियौँ । बिडम्बना बुझ्नु प¥यो सुकुम्बासी भयौँ ।'
नारायण ‘तिमी’ पात्रको ‘तिमी’ हो । ‘तिमी’ पात्र एकफेर जीवनको सन्ध्यासँगै शितल चन्द्र भएर उदाएको कुरा यसरी व्यक्त गर्दछन् – चन्द्र मुहार प्यारी तिमी जूनसँगै फुलेकिछ्यौ (पेज १८) । तर नियतीले ‘तिमी’ पात्रलाई नारायणबाट टाढा लग्यो, मायाहरू अँगालो भरि साट्नै नपाइ, पिरती छातीभरि टाँस्नै नपाइ अनि उनी ‘बेवारिसे’ भएर आँसु र पीडाको गीत यसरी गाउँछन्, 'पोख्नै नपाई रित्तियो आशु बनी मायाहरू । सताउँछ शूल बनी प्रतिपल तिम्रा यादहरू' (पेज २२) । ‘तिमी’सँगको वियोगले गजलकारलाई बेवारिसे बनाएको छ आँखाभरि आँशु, स्मृतिभरि पीडा दिएको छ । कलेजी छिया छिया पारेको छ तापनि जताततै ‘तिमी’लाई देख्छन् र मुटुभरि उनकै गीत लेख्छन्, 'यति ठूलो संसारमा फगत तिमी देखिरै’छु । कविता, गीत, गजल फगत तिमी लेखिरै’छु ।' (पेज ३२) । यही कारणले हाम्रा हातमा छ – मानवीय समवेदना !
यस्तै यस्तै कथा–व्यथा, आँशु–हाँसो बोकेका पैँसठी वटा गजल फूलहरू मानवीय सवमेदनाको फूलबारीमा फुलाएका छन् माली नारायणले । ‘दश नगङ्ग्रा’बाट सुरु भएर ‘अन्धकार छ’मा विश्राम छ । त्यसो भए गजल कस्तो छ ? प्रश्न आउन सक्छ । उत्तर छ – गजल गजलजस्तो छ । यी गजलहरू यसरी गजल हुन्, उसरी गजल हुन् भनेर बोल्नु पर्दैन । किनभने यी गजलहरू पीठो होइनन्, खाँटी र अब्बल दर्जाका चामल हुन् जहाँ कनिका र भुस राम्ररी केलाइएको छ । भन्नै पर्छ यी गजलहरू मतला, रदिफ, काफिया, तखल्लुस र मकता सबै अङ्गहरूले सुहाएकी भावना र संवेदनाको सुहाउँदिलो लाली पाउडर लाएकी मुसलस र गैह्रमुसलस दुवै वर्णकी प्रगीतात्मक विशेषताकी सुन्दरी भन्न सकिन्छ ।
अन्त्यमा तपाइँको गजल यात्रा सफलताको कञ्चनजङ्घा मात्र होइन सगरमाथा चढ्न सकोस् भन्ने कामना सहित तपाइँको सपना–
रातभरि सपनीमा सुन्दर शान्त नेपाल देखेँ ।
ब्यूँझी हेर्दा उज्यालोमा चारैतिर बेहाल देखेँ । (पेज ३८)
यसमा हाम्रो प्रार्थना छ कि सपना र विपना समान होस्, यसरी –
रातभरि सपनीमा सुन्दर शान्त नेपाल देखौँ ।
ब्यूँझी हेर्दा उज्यालोमा झन् समृद्ध नेपाल भेटौँ ।
स्रोतः श्रम बुलेटिन साप्ताहिक, ९ वैशाख, २०५९, पेज ६ ।
Borgata Hotel Casino & Spa - Mapyro
ReplyDeleteBorgata Hotel Casino & 과천 출장마사지 Spa is located in Atlantic 광명 출장샵 City, New Jersey, United States and is open daily 24 hours. The casino hotel 출장안마 has 6,100 충주 출장마사지 slot machines, Rating: 2.5 · 울산광역 출장샵 2,406 reviews