Saturday, April 18, 2020

युवराज, नफक्रिँदै झरेको फूल

— प्राज्ञ अमर तुम्याहाङ
हजार जुनीसम्म खोजी बसेँ तिमीलाई ... (गीत १)

आधीबाटो हिँडेपछि .... (गीत २)

भिज्यो शिरानी रातमा, उनको यादमा ... (गीत ३)

७ मार्च २०१३ मा युवराजले युटुबमा उदय र मनिला सोताङका यी गीतहरू हेरे सुनेपछि भौतिक जीवनको अन्तिम फेसबुक अप्डेटका अंशहरू हुन् माथिका गीति हरफहरू जसले उनको जीवनको उदय–अस्त अनि त्यसमा प्रक्षेपित घाम पानी, घाम छाया प्रतिविम्बित गर्दछ । हो, उनी आधीबाटो हिँडेपछि सबै आफन्तजन, मित्रहरूको सिरानी भिजाएर उनी बिदा भए, सधैँका लागि सबैका लागि ।
Image source: https://www.facebook.com/yubaraj.limbu


आफ्नो जीवनको छोटो समयमा जिम्मेवार सञ्चारकर्मीको रूपमा आफूलाई स्थापित गर्न सफल युवराज चङबाङ आमा छत्रमाया लिम्बू र बुबा पूर्णबहादुर फागो चङबाङको पुत्ररत्नका रूपमा २०३५ फागुन ८ गते इटहरा—५, मोरङमा जन्मिएका थिए भने २०६९ चैत्र १ गते इटहरी सुनसरीमा उनको देहावसान भएको थियो ।

एस.एल.सी.पछि २०५७/०५८ तिर उच्च शिक्षा हासिल गर्न उनी काठमाडौँ प्रवेश गरी रत्नराज्य क्याम्पसमा पत्रकारिता अध्ययन गरे । त्यहीबाट उनले पत्रकारिता विषयमा नै स्नातकोत्तर गरे ।

कर्म क्षेत्रप्रति समर्पण

नेपालका अधिकांश युवाहरू मात्र होइन प्रायः सबैजसो मानिसहरू एकभन्दा बढी डुङ्गामा खुटा राखेर आफ्नो जीवनको यात्रा गर्दछन् । एकप्रकारले Jack of all, master of non अर्थात् धेरै कुरा गरिटोपल्ने तर कुनै पनि विषयमा पोख्त नहुने नेपाली साझा विशेषता हो । तर युवराज चङबाङ आफ्नो कर्म क्षेत्र के हो र आफूले के गर्ने भन्ने कुरामा स्पष्ट थिए । उनले रोजेको कर्म क्षेत्र थियो— पत्रकारिता । पत्रकारिता पनि सामाजिक रूपान्तरणका लागि पत्रकारिता (विश्वकर्मा, २०६९), अरू किसिमको होइन । उनले आफ्नो सम्पूर्ण समय पत्रकारिता, मात्र पत्रकारितामा बिताए । उनको यो पत्रकारिता यात्रा भने २०५७ देखि श्रम बुलेटिन पत्रिकाबाट रिपोर्टरको रूपमा सुरु गरेका थिए । लिम्बू विद्यार्थी मञ्चको मुखपत्रको रूपमा उनको सम्पादकत्वमा प्रकाशित युक्फो पत्रिका उनको मिसन पत्रकारिताको सानो लेब्रोटरी थियो जहाँ उनले आफ्नो परिकल्पनाको परीक्षण गरेका थिए । युक्फोको शाब्दिक अर्थ सरकार हो तर उनको ब्याख्या थियो कि युक्फो भनेको राज्य हो; हिजो राज्य गुमाएकाहरूले राज्यकै आधारमा उभिएर गुमेको राज्य पुनः प्राप्त गर्नुपर्छ; यो उनमा अङ्कुराएको सचेत चिन्तन—दृष्टि थियो । एथ्निक मिडिया फाउन्डेसनबाट प्रकाशित एथ्निक भ्वाइस बुलेटिन मिसन पत्रकारिताको सामुहिक प्रयासलाई व्यबहारिक रूपमा रूपान्तरित गरी सीमान्तकृत समुदायको मुक्तिको आवाजलाई बुलन्द गर्ने सत्प्रयास थियो, समचेत मित्रहरूसँगको सहकार्यमा भएको समवेत कदम थियो । यी बाहेक उनका कर्मक्षेत्रका गर्खाहरूमा काठमाडौँ टुडे साप्ताहिक (रिपोर्टर), सनराइज पोस्ट साप्ताहिक (कार्यकारी सम्पादक), नेपाल पृष्ठभूमि साप्ताहिक (सम्पादक), लिम्बुवान जर्नल (सम्पादक), चुम्लुङहिम अभिलेख (सम्पादक), तान्छोप्पा मासिक (सम्पादक) आदि थिए । पछिल्लो समयमा उनले आफ्नो पूर्ण सम्पादक व्यक्तित्व द गोर्खाज राष्ट्रिय साप्ताहिकको कार्यकारी सम्पादक भएर प्रज्ज्वलित गरिरहेका थिए ।

यात्री होइन यात्रा–लक्ष्य हो युवराज

मानव समाजमा सधैँ दुइटा खालका मानिसहरू हुने गर्दछन्ः अरूलाई नेतृत्व गर्ने वा अरूको नेतृत्वमा हिँड्ने; लक्ष्यको पहिचान गर्ने वा अगुवाले पहिचान गरेको लक्ष्यमा पुग्नलाई लाम लाग्ने, सपना देख्ने वा सपनालाई मूर्त रूप दिन समर्पित हुने, आगो फुक्ने वा आगो ताप्ने; बाटो पहिल्याएर बाटो खन्ने वा अरूले खनेको बाटोमा हिँड्ने बटुवा । अघिल्लो प्रवृतिका मानिसहरू समाजमा ज्यादै थोरै हुन्छन् र अधिकांश मानिस पछिल्लो प्रवृतिको हुने गर्दछ । समाजमा हुने ती थोरै मानिसहरूको जमातमा युवराज चङबाङ पर्छछन्, अरूलाई नेतृत्व गरेर लक्ष्य वा गन्तव्यमा पु¥याउने अगुवाको कोटीमा उनी पर्दछन् । नेलसन मन्डेलाले "There are so many men and women who hold no distinctive position but whose contribution toward the development of the society has been enormous. Some of them are not known even in their own countries, but when you come across them you are very impressed. Those are heroes or heroines we must never forget." अर्थात् "धेरै मानिस उच्च ओहदामा नपुगे पनि समाज विकासमा तिनको ठूलो योगदान हुन्छ । तिनलाई उनीहरूकै समाजले चिन्दैनन् तर जब त्यस्ता व्यक्तिलाई भेट्नु हुन्छ तब तपाई प्रभावित नभइ रहनसक्नु हुन्न । यस्ता नायक नायिकालाई सधैँ सम्झनु पर्छ ।" भनी उल्लेख गरेका पात्रहरूको समूहमा युबराज चङबाङ पर्दछन्, लिम्बू समाजका लागि मात्र होइन सिङ्गै नेपाली समाजका लागि । ती युवराज जसले ठूलो परिवर्तका लागि साना साना कुरामा परिवर्तन आउनुपर्छ भनेर चिन्तनन मनन गर्थे, त्यसका लागि समर्पित हुन्थे र त्यसका लागि अरूलाई नजानिदो तरिकाले अगुवाइ गर्थे । यो उनको वास्तविक नृतेत्व व्यक्तित्व थियो । यसबाहेक केही सादृश्य रूपमा पनि उनले नेतृत्व गरेका थिए— अनिज ललितपुरको सचिव भएर, लिम्बू विद्यार्थी मञ्चको केन्द्रीय सदस्य भएर, एथ्निक मिडिया फाउन्डेसनको संस्थापक भएर, इन्क्लुसिभ मिडिया फाउन्डेसनको संस्थापक भएर अनि लिम्बू पत्रकार सङ्घको प्रथम निर्वाचित केन्द्रीय अध्यक्ष भएर ।
 

अन्वेषक व्यक्तित्व

लिम्बू समाज मात्र होइन नेपाली समाज नै यस्तो फन्टासी खालको छ कि कोही व्यक्तिले पढ्यो वा कुनै विषय जान्यो भने उसैले गाडी गुडाउँछ, हजाई जहाज उडाउँछ, बिमारी निको पार्ने डाक्टरी काम गर्छ अर्थात् ऊ सबै कुरा गर्न सक्ने अजीव व्यक्तिको रूपमा लिने गर्दछ र अड्डी लिने गर्दछ कि किन आफैले नगरेर अरूलाई गुहार्ने, आफ्नै जातकोले नगरेर अरू जातकोलाई गराउने ? तर युबराज चङबाङको पछिल्लो अनुभवले उनी यस विचारको विपर्य धारमा थिए । उनको बुझाइ थियोः ज्ञानका कुनै रङ्ग हुँदैन, ज्ञानको कुनै जात हुँदैन तर त्यो ज्ञान निर्माणमा आफ्नो आग्रह हुनुहुन्न । ज्ञान विशिष्टीकृत विषय व्यक्तित्वको उपज हो । यसर्थ उनीसँग कुरा गर्दा आफ्नो दखलभन्दा बाहिरको कुरामा बिरलै हात हाल्थे, बोल्थे । उनको अन्वेषणात्मक व्यक्तित्व उनी लामो सयमदेखि समर्पित पत्रकारिता विषयमा थियो र अझ गर्दै जाने उनको योजनाहरू दोहोरो संवादका क्रममा व्यक्त गर्थे । उनको अन्वेषणको एउटा उत्तम नमुनाका रूपमा ‘राजनीतिक जवाफदेहिता संविधान निर्माण प्रक्रियासम्बन्धी बृहत् सन्दर्भ’ पुस्तकमा २०६६ मा प्रकाशित भएको उनको ‘संविधान निर्माण र छापा माध्यम’ लघु शोधलाई लिन सकिन्छ ।

तीक्ष्ण दृष्टिकर्ता 

सामान्य लवाइ खुवाइ, सधैँ हाँसो ठट्टाको मुडमा देखिने भेटिने युवराज चङ्बाङ बाहिर देखिए जस्ता हल्का फुल्का र सतही सोच र बुझाइका व्यक्ति भन्दा पनि ज्यादै क्रिटिकल, सुक्ष्म विश्लेषक, तीक्ष्ण दृटिकोण, विविध समसामयिक विषयमा समान दृष्टि पु¥याउन सक्ने क्षमता भएका निडर व्यक्ति थिए भन्ने कुरा उनले आफ्नो फेसबुकमा अपलोड गरेका निम्न विचाहरूबाट अनुभूत गर्न सकिन्छ ।

एमाओवादी महाधिवेशनः सबैका लागि संशय बनेछ... ढुक्क हुनु पर्ने माओवादीले पहिचानसहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान कुनै हालतमा छाड्न सक्दैन... छाड्यो भने माओवादी हावामा कावा मात्र खान्छ... (फेब्रुअरी २, २०१३) ।

द्वन्द्वकालमा कुनै बेला माओवादी या सेना नमारिएको समाचार सुनिँदैन थियो, अहिले नेपाली महिलामाथि भएको हिंसाको खबर नआएको दिन छैन । द्वन्द्वकालमा धेरै मारिएपछि सङ्कटकाल घोषणा भएको थियो । अब महिला हिंसाविरुद्ध पनि राज्यले यस्तै सुरक्षा सङ्कटकाल सोच्ने हो कि ? (जनवरी ४, २०१३) ।

आज चासोक तङ्नाम मात्रै होइन त्येÞअङ्सी सिरिजङ्गाको जन्म दिन पनि हो... तर, राज्यले त बिर्सियो नै धेरै पढालेखा लिम्बू बौद्धिकवृत्तले पनि सिरिजङ्गालाई विर्सँदै छन्... (डिसेम्बर २८, २०१२) ।

भनिन्छ, प्रेम पनि मांसहारी र साकाहारी हुन्छ (सेप्टेम्बर १, २०१२) ।

मुतको न्यानो खोज्दै सिल्ली ओली दिल्लीमा... एमाले नेता ओली नेपालमा आफ्नो भविष्य नदेखेर भेटी चढाउन नयाँ दिल्ली गएछन्... उनको भेटीले प्रधानमन्त्रीको प्रसाद त झार्ला तर जनताको मन जित्न सक्ने छैनन्... (जुलाइ २९, २०१२) ।

पहिचान विरोधी नेताहरूले पहिचानलाई जातीयता भनेर खुब पहिचानको अपब्यख्या गरे, केही जोर नचलेपछि एकल र बहुल पहिचानको रडाको मच्चाउँदै सडकमा पहिचानविरोधीलाई जातीयताको बिरोध गराइरहेका छन् । उनीहरूले बुझ्नुपर्छ समानतामा आधारित सामाजिक सद्भाव भनेको हिजोको जस्तो मुर्दा शान्तिको सद्भाव होइन... कोही पनि भड्किनु र उत्तेजित हुन जरुरी छैन... यो कुरा पहिचान विरोधीले बुझ्न जरुरी छ... (मे ११, २०१२) ।

पशुपति बनकाली क्षेत्रमा किरातीलाई शव समाधिस्थ, दहन गर्न नदिई दशनामीलाई मात्र दिने पशुपति क्षेत्र विकास कोषको निर्णय सच्याउनुपर्छ । सम्पदासूची भएकै आधारमा नदिने हो भने कसैको पनि शव समाधिस्थ गर्नु दिनु हुँदैन... (जनवरी ३०, २०११) ।

नेताबाहेक सबै नेपाली देशप्रति चिन्तित... (जुलाइ २६, २०१०) ।

नेपालीको जित भनेको जातीय सद्भाव हो । तर, आज यो जितमा हार सलबलाउन थालेको छ, सावधान (जुलाइ २८, २०१०) ।

अधुरा सपनाहरू

लिम्बूलगायत आदिवासी जनजातिको परम्परागत सञ्चार विधिको अध्ययन गरी त्यसलाई वैकल्पिक रूपमा होइन मूलधारको सैद्धान्तिक पक्षको रूपमा स्थापित गराउने युवराजको मूल सपना उनको भौतिक जीवनको अन्त्यसँगै अधुरो रही नयाँ समकालीन पुस्ताको काँधमा आएको छ । बी.बी. मुरिङ्ला जीवनी लेखन, लिम्बू पत्रकारिताबारेमा अनुसन्धान गर्नेजस्ता थालिएका कामहरूमात्र अधुरो भएनन् उनी स्वयम्ले परिकल्पना गरेको इतिहासकार जोभानसिंह फागो पुरस्कारलाई पनि पूर्णता दिन बाँकी रहेको छ । 

सम्झनाको सप्को 

युवराज चङबाङ आफ्नो जीवनको परिपक्वतातिर उन्मुख हुँदाहुँदै अर्थात् कोपिलाबाट फक्रिन लागेको अवस्थामा नियतीले चुडेर लग्यो । यसर्थ पनि युवराज नफक्रिँदै झरेको फूलको प्रतीक बन्न पुगे ।

युवराज चङबाङ पत्रकारिता गरेरै बाँच्ने औँलामा गन्न सकिने लिम्बू पत्रकारहरूमध्येका एक थिए । भावना नेम्बाङको जीवनसखा र निछाम्माका बुबा युवराज चङबाङ परिवारका लागि मात्र स्मरणीय व्यक्तिका रूपमा सीमित हुन सक्दैनन् । हामी सबैले उनको विचार, उनले सुरु गरेका अभियानहरूलाई निरन्तरता दिनु हामी जिवितहरूको परम कर्तव्य हो जसले पत्रकारिता क्षेत्रप्रति नयाँ पुस्तालाई निरन्तर प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्न सकिन्छ । उनको सुपुत्री निछाम्माको उज्ज्वल भविष्यको लागि चिन्तन मनन गरिनु पर्ने मात्र होइन उनले अमर विचार र महान् कार्यहरूको निरन्तर स्मरण गर्नका लागि यु्वराज चङ्बाङ स्मृति पुरस्कार कोष स्थापित गरिनुपर्छ । यसका लागि युवराज चङबाङ संलग्न रहेका संस्थाहरू सामुहिक रूपमा समर्पित हुनु वाञ्छनीय हुनजान्छ । युवराज चङ्बाङ आफैले डिसेम्बर १०, २००९ आफ्नो फेसबुकमा दोस्रोपटक अपलोड गरेको तलको भनाइबाट यो लेखको बिट मार्नु समुचित नै ठहर्ने छ— साथीहरू, सङ्घीय संविधान तोकिएकै समयमा बनाउन सक्दो दबाब दिउँ... मानसिक रूपमा अरू विकल्प पनि राख्न नभुलौँ ।


No comments:

Post a Comment