Monday, April 20, 2020

नियति र जी. बी. याक्थुम्बा

अमर तुम्याहाङ 
आमा, त्यो आउँछ र ? 
"हो, बा, त्यो आउँछ । 
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।"

हो, राणाशाही शासनको अत्याचारले पिसिएका अनि प्रजातन्त्रको न्यानो घाम ताप्न नपाएका सात सालअघिका जनताहरू यसरी नेपाल आमालाई पुकारा प्रश्न गर्थे । अनि ढाडस र आश्वासनको मुद्रामा मातृभूमि भन्थिन् "त्यो" अर्थात् "प्रजातन्त्र" भव्य रूपमा सवार भएर आउँछ । त्यो लुसुक्कै होइन बिहानको सुनौलो घाम भएर झ्याली पिट्दै आउँछ । त्यो उज्यालो मात्र होइन न्यानो पनि लिएर आउँछ, खुसीको अबिर छर्दै आउँछ, अँध्यारोमा राज गर्नेहरूलाई धूलो चटाउँदै आउँछ । नभन्दै सात सालको वसन्तागमनसँगै प्रजातन्त्र भव्य सवारी चलाएर आयो, लावालस्कर लिएर आयो, सताब्दीऔँ कलेँटी परेका सबैका ओठहरूमा विपूल यश र वैभव लिएर आयो । यो सवारी चलाउने थुप्रै अगुवाहरू थिए । ती अगुवाहरूमध्ये जी.बी. याक्थुम्बा एक हुनुहुन्थ्यो ।

कालरात्रीको अन्त्य र प्रजातन्त्रको उदयको महाअभियानको नायकहरूका नायक ज्ञानबहादुर सुब्बा अर्थात् जी. बी. याक्थुम्बा हुनुहुन्थ्यो । उहाँ सात सालको क्रान्तिको युद्ध मैदानका एक मात्र अविजित नायक हुनुहुन्थ्यो जसको नेतृत्वमा २००७ सालको क्रान्ति सफल भएको थियो, १०४ वर्षे राणाशाही जहानीय निरङ्कुश शासनको कालरात्री सदाका लागि ढलेको थियो र प्रजातन्त्रको नयाँ बिहानी उदाएको थियो । इतिहासको यो निर्णायक घडीका प्रमुख नायकहरूमध्ये युद्धमैदानका सर्वथा उच्च नायक ज्ञानबहादुर हुनुहुन्थ्यो भन्ने कुरा "याक्थुम्बा असाद्दे मन पर्ने, बढो साहसी किसिमको मानिस थियो" भन्ने बी.पी.को यो भनाइबाट पनि प्रमाणित हुन्छ । हो रणमैदानमा एकछत्र विजय हासिल गर्दै अगाडि बढ्न समर्थ ज्ञानबहादुर सुब्बा वास्तवमा नायक मात्र होइन आदर्श नायक हुनुहुन्थ्यो । ज्ञानबहादुर याक्थुम्बा लिम्बू कुलमा जन्मिएका एक होनहार व्यक्तित्व मात्र हुनुहुन्थेन उहाँ त नेपाल आमाकै अद्वितीय सपूत हुनुहुन्थ्यो ।

सात सालको क्रान्तिको बेला जनमुक्ति सेनाका क्रान्ति गीत वा कवाज गीत वा राष्ट्रिय गीत जे भनौँ त्यसको रचना ज्ञानबहादुर सुब्बा आफैले नै गर्नुभएको थियो । त्यसको अन्तिम श्लोक यस्तो छ :
तिम्रै नै नित्य गुण गाउँला 
तब शान्ति जीवन पाउँला 
पुग्ला मनको आशा 
सूर्य बनिकन जगत्मा झुल्कून्
नेपाल नाम सुभाग 
जय होस्, जय होस्, जय होस्
जय, जय, जय, जय होस् 
जय मातृभूमि जननी जय होस् । 

यस्ता राष्ट्रिय गीतको रचना गरेर ज्ञानबहादुर सुब्बाले तत्कालीन जनमुक्ति योद्धाहरूलाई प्रोत्साहित मात्र गर्नुभएन उहाँले त नेपाल आमाप्रतिको अगाध आस्था पनि जाहेर गर्नुभएको थियो ।

साहस, शौर्य, रणकौशल, कुसल रणनीति, उत्प्रेरणा, बहादुरी मात्र होइन दुरदर्शिताजस्ता गुणहरू पनि जी.बी. याक्थुम्बामा विपूल मात्रमा थिए । यिनै गुणहरूका कारण ज्ञानबहादुर सुब्बा क्रान्तिको मैदानमा  कुसलतापूर्वक नेतृत्व गरी प्रजातन्त्रवादीहरूलाई विजयश्री पहिराउन र निरङ्कुश राणा शासनलाई धूलो चटाउन सफल हुनुभयो ।

राणाशाही निरङ्कुश शासनको अन्त्यको लागि गठित जनसैनिक दललाई 'जनमुक्ति सेना' भनी नामकरण गर्ने व्यक्ति पनि ज्ञानबहादुर सुब्बा नै हुनुहुन्थ्यो । वास्तवमा जनमुक्ति सेनाको सङ्गठन गर्ने, जनमुक्ति योद्धाहरूलाई प्रशिक्षण दिने र मातृभूमिको मुक्तिका निम्ति प्रेरित गर्ने जस्ता कार्यमा उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

जनमुक्ति सेनामा जी.बी. याक्थुम्बाको स्थान, जिम्मेवारी र भूमिकाको बारेमा श्यामबहादुर तामाङ लेख्छन्, "जी.बी. याक्थुम्बा २००७ सालको क्रान्तिमा जनमुक्ति सेनका प्रमुख कमाण्डर थिए । त्यसबेला उनी मुख्यतया बीरगञ्ज, ठोरी, उपरदाङगढी र विराटनगरका मोर्चाहरूमा सक्रिय रहे तापनि उनलाई देशभरि क्रान्तिको योजना बनाउने, क्रान्ति सञ्चालन गर्ने र त्यसको रेखदेख गर्ने गहन जिम्मेवारी सुम्पिएको थियो । विरगञ्ज, ठोरी, उपरदाङ्गढी, विराटनगर आदि क्षेत्रमा नेपाली काङ्ग्रेसको नियन्त्रण कायम गर्नमा उनको प्रमुख भूमिका रहेको थियो ।"

सात सालमा धनकुटा कब्जा भएपछि गठित सामयिक सरकारका तत्कालीन स्थानीय स्वशासन मन्त्री गुञ्जमान सुब्बाले ज्ञानबहादुर सुब्बाको वैभवशाली व्यक्तित्व अझै झलझली स्मरण गरिरहेका छन् ।

तर सतीले सरापेको देशमा देश र जनताको भलो चाहने सपुत वा नायकले कहिलै उचित स्थान र सम्मान पाएको घटना नेपालमा छैन । यही नियतिको बज्र जी.बी. याक्थुम्बाको जीवनमा धेरै पटक बज्रियो । क्रान्ति सफल भएलगदै जी.बी. याक्थुम्बालाई उचित सम्मान र स्थान दिनुको बदला उहाँलाई राणा–काङ्ग्रेस सरकारले बडाहाकिम बनाई इलाम पठायो, सायद उहाँको तेजोबध गर्न । तर सिर्जनशील एवम् उत्साही उहाँ इलाममा रहँदा विद्यालयहरू खोल्ने र विभिन्न खेलकुदहरूलाई इलाममा स्थापित गराउने कामसँगसँगै समाज सेवामा त्यतिकै मात्रामा समर्पित हुनुभयो । इलाम बसाइक्रममा उहाँको व्यक्तित्वले नयाँ उचाइ पायो ।

यता जनक्रान्ति सफल भएपछि जनमुक्ति सेनालाई रक्षादलमा परिणत गरियो र त्यसको प्रमुखमा नरसमशेरलाई राखियो । तत्कालीन समयको राजनीतिक खिचातानीको बेला फेरि स्थिति काबुमा राख्न जी.बी. याक्थुम्बाकै आवश्यकता प¥यो । अनि प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले जी.बी. याक्थुम्बालाई इलामबाट बोलाई रक्षादलको डी.आई.जी.मा नियुक्त गरे । रक्षादल पछि गएर नेपाल प्रहरीमा परिणत भयो । यो कार्य जी.बी. याक्थुम्बा कै सक्रियतामा सम्पन्न भएको थियो । उहाँले तत्कालीन समयमा नेपाल प्रहरीलाई मुलुकमा शान्ति सुरक्षा स्थापित गर्ने शक्तिका रूपमा स्थापित गराउनुभयो । तत्कालीन नेपाल प्रहरीका आई.जी.पी. याक्थुम्बाले नेपाल प्रहरीलाई संस्थागत गर्ने र आधुनिकीकरण गर्ने अतुलनीय योगदान गर्नुभएको थियो ।

पछि उहाँ फेरि पजनीमा पर्नुभयो । यसको परिणाम स्वरूप जी.बी. याक्थुम्बा वर्माका आवाशीय राजदूत नियुक्त हुनुभयो । यही समयमा उहाँ दुक्षिण–पूर्वी एसियाली राष्ट्रहरूका कुटनैतिक प्रमुखहरूको डीन जस्तो गरिमामय पदमा पुग्न सफल हुनुभयो । यो याक्थुम्बाको कुटनैतिक क्षमताको परिचायक हो । ल्हासाको पनि उहाँ कन्सुलर जनरलको रुपमा कुटनीतिकज्ञ भइ कामन गर्नुभयो ।

यसरी जी.बी. याक्थुम्बा राजनीतिक, सैनिक, कुटनैतिक, साहित्यिक, सामाजिक आदि व्यक्तित्वका धनी हुनुहुन्थ्यो । तर पनि १०४ वर्षे राणाशाही निरङ्कुश शासनबाट देशलाई मुक्त गराउन उहाँले पु¥याउनु भएको योगदान अत्यन्त उच्च र चिरस्मरणीय छ । यिनै महान् व्यक्तिको जन्म सन् १९२० मार्च १७ मा वर्माको मचिना होरिलाइनमा भएको थियो ।

उहाँको पुख्र्यौली घरभने पान्थरको दोरम्बा अमरपुर हो । माता मोतीदेवी वनेम र पिता मकरजङ हेम्ब्या लिम्बूका एकलो छोरा हुनुहुन्थ्यो जी.बी. याक्थुम्बा ।

यी महान् क्रान्ति योद्धाको जन्म सन्दर्भमा राज्य, नेपाल प्रहरी वा नेपाली काङ्ग्रेस पार्टी अनि प्रजातन्त्रका हिमायती हौँ भन्नेहरूले उहाँलाई कति सम्झिएका छन् ? अहिले प्रजातन्त्र प्राप्तिको अर्को लडाइँ चलिरहेको छ । यस बेला लडाइँमा होमिएकाहरूले कति सम्झिएका छन् ? त्यो त उनीहरूको कुरा हो । एउटा कुरा सत्य हो कि उहाँले चाहनु भएको प्रजातन्त्र प्राप्त भएको भए आज फेरि प्रजातन्त्र प्राप्तिको लडाइँ लडिरहनु पर्दैनथ्यो होला भन्न सकिन्छ । उहाँको त्यो भावनाको कदर त भएन नै बरु नरसमशेरको निर्देशन र सुरबीरको नेतृत्वमा विद्रोह गराउने काम पनि भयो । उहाँको त्यो विचारलाई अन्त्य गर्न र उहाँको प्रभावलाई निस्तेज पार्न नसकेपछि षडयन्त्रपूर्वक विष सेवन गराउने काम पनि भयो ।

अन्त्यमा केही सीप नलागेपछि पजनीमार्फत् किनारा लगाउने मात्र होइन अन्ततः उहाँलाई राष्ट्र सेवा गरेवापत अनिवार्य रूपमा पाउनुपर्ने कुनै वृत्ति पनि दिइएन । अनि मृत्युको बेला प्रजातन्त्रका हिमायती हौँ भन्ने नेताहरूले समवेदनाको औपचारिकता निभाउने काममा समेत दरिद्रता देखाए । हो, यस बेला सायद मातृभूमिलाई पश्चताप लाग्ला र भन्लिन्, "म किन बाँझी भइनँ सपुत सेचन र जन्माउने योगमा ?" तर हामी राष्ट्र, जनता अनि प्रजातन्त्र (लोकतन्त्र)को लागि आफ्नो जीवन बाजी लाएर लड्ने जी.बी. याक्थुम्बाको जन्मदिन मार्च १७ को उपलक्ष्यमा श्रद्धासुमन चढाउन उचित ठान्छौँ किन कि उहाँको योगदानको आधार भूमि प्रजातन्त्रको प्राप्ति, राष्ट्रको उन्नति र जनताको समुनति थियो, आफ्नो व्यक्तिगत सुखी जीवन र यशको लागि थिएन । अनि उहाँसँगै सात सालको क्रान्तिमा होमिएका सुश्री इन्द्रकुमारी सुब्बा, सुश्री रेणु सुब्बा, जसमान लिम्बु, अबिरजङ लिम्बु, बलबहादुर लिम्बु, नरबहादुर लिम्बु, सुश्री जमुना राई, छत्रबहादुर राई, दिलबहादुर राई, कप्तान मानबहादुर राई लगायत सम्पूर्ण मुक्ति योद्धाहरूको त्याग र बलिदानप्रति पनि श्रद्धा एवम् सम्मान ।

र, अन्त्यमा उहाँलाई सम्झनु पर्नेहरूको नसम्झने प्रवृत्तिगत नियतलाई कवि विक्रम सुब्बाको ‘इतिहास’ कविताबाट सम्बोधन गरौँ किन कि कुर्सीमा बस्नुमात्र शासन गर्नु होइन, आफ्नो समयमा बाँच्नु र बचाइसँगै कार्यक्रिया गर्नु/नगर्नु पनि उही समसनातन हो । कविता :
उहिले उहिले 
यहाँ
चोरहरू 
शासन गर्दैनथे । 

सन्दर्भ सामग्रीहरू 

  • गोपालप्रसाद रिमाल, आमाको सपना, पाँचौँ संस्करण । 
  • जनमुक्ति सेना, एउटा नलेखिएको इतिहास, श्याम प्रसाद तामाङ, एकता प्रकाशन, थापाथली काठमाडौँ, पहिलो संस्करण, २०५६ ।
  • विक्रम सुब्बा, विक्रम सुब्बाका कविताहरू, २०६० ।
  • विश्वेश्वर प्रसाद कोइराला, आत्मवृतान्त, वि.सं. २०५५, जगदम्बा प्रकाशन ।
  • श्यामकुमार तामाङ, जी.बी. याक्थुम्बा : एक रत्न जो इतिहासको खण्डहरमा, तान्छोप्पा, वर्ष–८, अङ्क ७, १ साउन २०६० । 
  • गुञ्जमान सुब्बा, अन्तरवार्ता, तान्छोप्पा, वर्ष–८, अङ्क – ८, साउन २०६० । 
  • काठमाडौँ चुम्लुङ स्मारिका २९५८/५९, जिल्ला कार्यसमिति, काठमाडौँ । 
  • Sekmuri, Vol. 2, No. - 3, December, 2002. 
  • सेमि फक्ताङलुङ, वर्ष २, अङ्क १, वैशाख २०६१, पेज १४–१७ । 


तस्बिर स्रोत : https://www.nepalpolice.gov.np/index.php/about-us/history

No comments:

Post a Comment