अमर तुम्याहाङ
माघ १ गते, मार्गचित्र साप्ताहिक पत्रिकाको लागि वरिष्ठ साहित्यकार जनकप्रसाद हुमागाईंज्यूसँग अन्तर्वार्ता लिने अइन्द्रजीसँग सल्लाह भयो लामदिक अर्थात् हाइकिङ कार्यक्रममा । अनि उहाँको ०१–६२२४३३० नम्बरको सी. डी. एम्. ए. फोन डायल गरेपछि उताबाट आवाज आयो :
– हेल्लो, को बोल्नुभएको ?
– म ... ... बोल्दैछु दाइ ! स्वास्थ्य कस्तो छ ?
– (कम्पित स्वरमा) ठीकै भन्नु प¥यो ।
– पत्रिकाको लागि कुराकानी गरौँ कि भनेर ... । भोलि कुन समयमा भेटौँ, दाइ ?
– भोलि एन्. टी. भी.बाट पनि आउँदै हुनुहुन्छ । भोलि नै त सक्दिनँ होला ! पर्सि अस्पतालमा बोलाएका छन् । आजै भेट्ने कि !
– (विवशता व्यक्त गरेँ) आज त हामी कार्यक्रममा छौँ दाइ !
– अस्पतालमा धेरै बस्दिनँ । त्यसो भए अस्पतालबाट फिरेपछि भेटौँला ।
माघ २९ गते टी.भी.बाट तस्बीरसहित समाचार प्रसारण भयो, "वरिष्ठ साहित्यकार जनकप्रसाद हुमागाईंको निधन ... ।" एउटा सिलसिलाको दुःखद पटाक्षेप भयो ।
***
जनक प्रसाद हुमागाईं (१९९४ असोज २८ - २०६३ माघ २८) |
"धेरैको हितमा सघाउ पु¥याउन असल मान्छेको असली कर्तव्य हो । अन्यायसँग सम्झौता नर्गनु असल मान्छेको असल जीवन दर्शन हो ।"
अध्याँरोको बिरुद्ध र उज्यालोको पक्षमा जीवन पर्यन्त सङ्घर्षरत बालसाहित्य, मूलत प्रगतिशील आख्यान क्षेत्रका शिखर कथाकार व्यक्तित्व जनकप्रसाद हुमागाईंको जीवनप्रतिको मान्याताको सार थियो, यो कथन । माता पवित्रदेवी र पिता दुर्गाप्रसाद हुमागाईंको सुपुत्रको रूपमा विक्रम सम्बत १९९४ असोज २८ गते काभ्रे वल्थलीमा जन्मनुभएका साहित्यकार जनकप्रसाद हुमागाईं, "मान्छेले मान्छेलाई नै मार्ने, मान्छेदेखि मान्छे डराउने, तर्सने, मान्छेले मान्छेलाई दुःख दिनेजस्ता कुरा जति देख्दै गएँ उति यस्ता कुरीतिविरुद्ध कलममार्फत नवजागरण ल्याउने प्रयासमा लागेँ, जसले मलाई लेखन क्षेत्रमा डो¥यायो ।" साहित्य लेखनको प्रेरणा स्रोतबारेमा प्रष्ट्याउनुहुन्थ्यो ।
लेखनको प्रेरणास्रोत समाजमा रहेका विद्यमान अन्याय र असमानतालाई मान्ने हुमागाईं राणा शासनविरुद्धमा पुराणमण्डलीमार्फत जेहाद छेड्ने मुरलीधर भट्टराईलाई आफ्नो लेखनको फूलवारीको माली ठान्नुहुन्थ्यो । उहाँबाट किताबका बडाबडा ठेलीहरू पनि मानिसले नै लेख्दा रहेछन् भन्ने सत्यतथ्य थाहा पाए र धमाधम कपीका पानाहरूमा किसानका दुःखव्याथाहरू अनि दुःखी गरीबका कथाहरू छताछुल्ल पोख्न थाले – रोशी र लड्कुको सुसाइसँगै ।
'बहुजन हिताय बहुजन सुखाय' बुद्ध वचनका पक्षपाती जनकप्रसाद हुमागाईं वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मालाई आफ्नो माक्र्सवादी गुरु मान्नुहुन्थ्यो । काम र कुरो अर्थात् व्यवहार र आफूले फलाक्ने दर्शनमा अनिवार्य तालमेल हुनुपर्ने कुरामा जोड दिँदै राणाहरूले आफ्नो कारिन्दा उत्पादन गर्न नेपालमा शिक्षा भित्र्याएकोले त्यस्तो शिक्षाबाट माथि उठ्न नसकेको अनि नेपालको मेसिनरूपी शिक्षा प्रणालीबाट देश र जनतालाई माया गर्ने स्वतन्त्र र विवेकी नागरिक हैन मात्र दासहरू र भान्साखोरहरू उत्पादन भइरहेको उहाँको निष्कर्ष थियो । यही परम्परावादी शिक्षा प्रणाली र त्यसअनुरूप लेखिएका सामग्रीहरूका सट्टामा यर्थाथवादी वैज्ञानिक अनि देश र जनतालाई माया गर्ने स्वतन्त्र र स्वावलम्वी नागरिक उत्पादन गर्ने खालका बालउपयोगी साहित्य रचना गर्नु आफ्नो रचनाधर्मिता भएको कुरा गौरवका साथ उहाँ बताउनुहुन्थ्यो । 'गोकुलकी आमा कसरी निको भइन् ?' (२०३६), गुनिला पाँच बालकथा (२०४१), बा–आमाको माया (२०४३), दिदी भाइको माया (२०४७), चम्पा र मायालु काका (२०५०), मालतीको यात्रा वर्णन (२०५१), भाइ बहिनीको कथा (२०५३), लहरे पीपलको कथा (२०५९), असल मित्र (२०६०), विकृत ढोका (२०६१), यदुवंशी (२०६३) लगायतका कयौँ बालकथा सङ्ग्रहहरू जनकप्रसाद हुमागाईंले नेपाली साहित्य भण्डारलाई समर्पण गर्नुभएको छ । प्रमोद प्रधानले भन्नु भएजस्तै उहाँका कथाहरू मौलिक मात्र होइन बिछट्टै बालसुलभ र रोचक पनि छन् । उहाँका कथाका पात्रहरू मानव र मानवेतर दुवै खालका छन् । तर मानवेतरमा पनि प्राणीहरू, वनस्पतिहरू र निर्जीव वस्तुहरू साह«ै स्वाभाविक रूपमा प्रस्तुत भएका छन् । यसको ज्वलन्त उदाहरण 'लहरे पीपलको कथा', 'साँढेको घाउ', 'मुसो', आदिलाई लिन सकिन्छ । उहाँको कथाको भाषा ज्यादै सरल, सन्तुलित, लयात्मक अनि बाल जिब्रोमा छपक्कै बस्ने खालको ।
यति धेरै कथा लेखे पनि उहाँका साहित्यिक यात्रा कविताबाट नै सुरु भएको हो । किसानको गीत (खण्डकाव्य २०१६), एउटै नारा लाउनु छ अब (लघुकाव्य २०१६), नेपाल आमाको सय वचन (लघुकाव्य २०१७), पसिना (कवितासङ्ग्रह २०१९), दुःखी गरीवको सवाई (खण्डकाव्य २०२१), खोलो–साँघु (लघुकाव्य २०२५), गोरे घर्तीको सवाई (खण्डकाव्य २०३२), नानी पढ्छ (बाल गीत/कविता सङ्ग्रह २०६०) लगायतका काव्यकृतिहरू पनि उहाँले सृजना गर्नुभएको थियो । उहाँका कविताहरू परिवर्तनमुखी छन् र त्यसमा पसिना बगाए पनि भोकै र नाङ्गै जीवन बाँच्न विवश नेपालीहरूको यर्थाथ चित्रण पाइन्छ । बढी भावुकतामा काव्यहरू रचित भए पनि विद्रोहको आवाज प्रत्यक्ष र परोक्ष रूपमा उठेकै छन् । उनका काव्यहरू शासकहरूलाई साह«ै बिजाउने र निद्रा हरण गर्नें खालका छन् । उनका कविता पढेर पाठकहरू सामाजिक परिवर्तनका चेतना पाउँछन् भने शासकहरू आफ्नो यशको महल भत्किने दृश्य देख्छन् । अनि उहाँको कलमलाई कैद गर्नु आफ्नो अनिवार्य कर्तव्य ठान्छन् । यसको दसीको रूपमा गोरे घर्तीको सवाई लेखेवापतको उहाँको छ महिने जेल यात्रालाई लिन सकिन्छ ।
२०१६ सालमा आफ्नै प्रयासमा किसानको गीत खण्डकाव्य छपाएका उहाँको रचनामध्ये ‘नयाँ घरजम’ शीर्षकको लोककथा २०१९ साल पौष १४ गतेको गोरखापत्रको शनिबारीय अङ्कमा भैरव अर्यालले छपाएपछि पत्रपत्रिकामा उहाँ सर्जकको रुपमा छाउन थाल्नु भएको हो । यहीँ सिलसिलामा धेरै लेख निबन्धहरू पनि लेख्ने र छपाउने कार्य उहाँबाट भएका थिए । उहाँले समाजमा देखिएका विकृति, विसङ्गति, विचलन आदिको तीव्र आलोचनात्मक टिप्पणी र विवेचनाहरू गर्र्दै लेख र निबन्धहरू लेख्नुभयो, जसमध्ये भाषा र भाषा (२०५८) नामक भाषिक निबन्ध सङ्ग्रहले झर्रोवादी भाषिक आन्दोलनलाई नयाँ उचाइ दिएको छ । उहाँद्वरा लिखित सात सालको परिवर्तन र हाम्रो भविष्य (विवेचना २०४२), एउटा इन्जिनियरको तालिमे भाषा (निबन्ध २०४९), नेपाली बाल साहित्य (विवेचना २०५६), शब्दज्ञान (बाल निबन्ध २०६०), मानवता र मुक्तिका कवि गोकुल जोशी (विवेचना २०६२) महत्वपूर्ण लेख निबन्धका सङ्ग्रहहरू हुन्, जहाँ उहाँको दार्शनिक दृष्टिकोण र व्यवहारिक अनुभवलाई घातलाग्दो किसिमले अनुभूत गर्न पाइन्छ ।
साहित्य र समाजलाई पानी र माछोको संज्ञा दिने उहाँको साहित्य समाजको लागि हुनुपर्ने तर समाजको लागि लेखिने साहित्य समाजले वचाउनु पर्ने मान्यता राख्नुहुन्थ्यो । "बिरुवा माटोमा रोप्नुअघि गिदीमा रोप्नुपर्छ" अर्थात् वनजङ्गल वा बोटबिरुवासम्बन्धी चेतनाविना वनजङ्गल वा बोटबिरुवाका कुरा गर्नु निरर्थक ठान्ने उहाँले बल्थालीको आफ्नो घरवारीमा फलफूलका बोटबिरुवाहरू हजारौँ सङ्ख्यमा हुर्काई नमुना वगैँचा निर्माण गर्नुभयो जसले काभ्रे–सिन्धु वनपरियोजनालाई हिस्स पा¥यो ।
वातावरण संरक्षणको अभियान मात्र होइन लड्कुखोला, डाँफेखोला, रोशीखोलामा उहाँको सक्रियतामा थापिएका झोलुङ्गे पुलहरू जो गाउँका कथित अगुवाहरूको विरोधमा औपचारिक उद्घाटनविना नै प्रयोगमा आइरहेकोले ती पुलहरूलाई उहाँ न्वारन हुन बाँकी सन्तानको रूपमा लिनुहुन्थ्यो । उहाँकै सक्रियतामा ०१९ सालमै अस्थाइ मा. वि.को स्वीकृति पाएको लङ्केश्वर प्रा.वि. गाउँले जालीझेलीहरूको कारणले प्रा. वि.को प्रा. वि. नै रहेकोमा साह«ै छुकछुकाउनुँहुन्थ्यो अनि आफू संलग्न भएकै कारणले माटोमा मिलाइएको लङ्केश्वर पुस्तकालय र वसन्त वाचनालय (२०१९) सम्झिएर उहाँ भावविव्हल हुनुहुन्थ्यो । यति हुँदाहुदै पनि उहाँको अभियानमा साथ दिने जनताप्रति अगाध आस्था र श्रद्धा थियो अनि २२ सालमै बल्नु पर्ने विजुली लामो सङ्घर्षपछि ०४७ सालमा बाल्न सफल भएर उहाँ खुशीले गद्गद् पनि हुनुहुन्थ्यो ।
पाठ्यक्रममा तपाईंद्धारा लिखित कथाहरू किन पारिँदैन भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्थ्यो– राज्य दास निर्माण गर्न चाहन्छ तर म स्वतन्त्र अनि देश र जनतालाईः माया गर्ने दर्शनले ओतप्रोत नागरिक निर्माण गर्न चाहन्छु । लक्ष्य नै विपरीत ध्रुवको भएपछि त्यस्तो भएको हो कि ?
कथाहरू धैरै व्यवहारको कसीमा जाँचेर, माझेर मात्र अन्तिम रूप दिने वा लेख्ने गरेकोले एउटा कथा लेख्न महिनौँ वा वर्षौँ पनि लाग्न सक्ने उहाँ बताउनुहुन्थ्यो । त्यसै कारणले होला उहाँको कथामा "सत्यम्, शिवम्, सुन्दरम्" जस्ता शास्वत पक्षहरू पाइन्छन् जसलाई साहित्यकार कृष्णप्रसाद पराजुलीले सीप सौन्दर्य, श्रम सौन्दर्य र शील सौन्दर्ययुक्त सृजनाको रुपमा व्याख्या गर्नुभएको छ ।
उहाँको ३२ वर्षे जागिरे जीवन मूलतः सामाजिक परिवर्तनको लागि पुरानो सत्ताभित्र बसेर कम्युनिस्ट बनाउने क्रममा बित्यो ।
यसरी उहाँ बहुआयामिक व्यक्तित्व भए पनि साहित्यक व्यक्तित्व प्रवल भएको उहाँले पाउनुभएको पुरस्कार र सम्मानले प्रमाणित गर्दछ । धादिङ जिल्लाव्यापी कविता सम्मेलन २०२३ मा प्रथम, उत्कृष्ठ बालसाहित्य पुरस्कार २०४१, बालहितकारी पुरस्कार २०४६, राष्ट्रिय प्रतिभा पुरस्कार २०५२, दानमाया प्रतिभा पुरस्कार २०५०, साझा बालसाहित्य पुरस्कार २०५८, बोटविरुवा तथा वातावरणमूलक उत्कृष्ट बालसाहित्य लेखन पुरस्कार २०५१, व्यथित सिन्धु प्रतिभा सम्मान, देवकुमारी थापा बालसाहित्य पुरस्कार, नूरगङ्गा पुरस्कार, जनसंस्कृति पुरस्कारलगायतका पुरस्कारहरू पाउनुभएको थियो । यसरी नै बालमञ्च नेपाल, पुष्पलाल स्मृति प्रतिष्ठान, मधुरीमा नेपाल, जनमत प्रकाशन बनेपा, बगर प्रकाशन काठमाडौंँ र दीपशिखा साहित्य समाजले उहाँलाई सम्मान गरेका छन् भने स्रष्टा सम्मान समारोह २०५२, साहित्य सन्ध्या वीरगञ्ज, प्रगतिशील समाज– नेपाल र दुलालेश्वर वातावरण समाज आदि संस्था र क्लवहरूले उहाँलाई अभिनन्दन पनि गरेका थिए ।
प्रगतिवादी खेमामा लागेर जस्तोसुकै प्रतिकुल अवस्थामा पनि निरन्तर रूपमा बालसाहित्य रचनामा आजीवन लाग्नुभएका जनकप्रसाद हुमागाईं नेपाली भाषाको बालसहित्यको स्तम्भ हुन् ।
***
हो, यिनै आफ्ना समयका 'जनक' सँग २०५६ साल असोज २२ गते शुक्रबार पहिलो पटक सशरीर भेट भएको थियो– प्रलेस कार्यालय माइतीघरमा वरिष्ठ प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्मामार्फत । त्यसपछि त मेरो अभिभावक नै हुनुभयो उहाँ । उहाँकै प्रेरणाले बालसाहित्यको कखरा सुरुभयो र निरन्तरताको यो बिन्दुमा पुग्यो । भाषाको झर्रोपनमा विश्वास, कुनै पनि काममा निरन्तरता र प्रगतिशील पक्षधरता उहाँबाट पाइएको शिक्षा हो ।
पुस २६ गते नर्विक अस्पतालको सी. सी. यू. को २१५ बेड नम्बरमा भेटेको थिएँ, उहाँलाई । त्यो समयमा करिब दुई घण्टाजति समसामयिक विषय, साहित्य र साहित्यकारहरू बारेमा चर्चा भएको थियो । त्यही समयमा उहाँद्वारा लिखित 'मानवता र मुक्तिका कवि गोकुल जोशी' पुस्तकको पृष्ठ १ मा "...सस्नेह उपहार" मन्तव्यसहित दिनुभयो । यो भेट सशरीर भएको अन्तिम भेट थियो भने माघ १ गते ३ बजेतिरको फोन वार्ता अन्तिम कुराकानी हुनपुग्यो । काठमाडौँको तालिकाबद्ध जीवनले उहाँसँग योभन्दा बढी भेट हुने अवसर जुरेन । तर उहाँको "धेरैको हितमा सघाउ पु¥याउन असल मान्छेको असली कर्तव्य हो । अन्यायसँग सम्झौता नर्गनु असल मान्छेको असल जीवन दर्शन हो ।" भन्ने शिक्षा हामी सबैको लागि ध्रुवतारा जस्तै चिरस्थायी मार्गदर्शक हुनेछ ।
Source: जनक प्रसाद हुमागाईंः स्रष्टा एक द्रष्टा अनेक (स्मृतिग्रन्थ, २०६७), पेज ४०–४४
No comments:
Post a Comment