साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ
– धनहाङ सुब्बा, कथाकार
तपाईंका कथाहरूको विषयवस्तु खासगरी के हुने गर्दछ ?
मेरो कथाको विषयवस्तु मेरो विगतका अनुभवहरू नै हुन् । मैले घुमेका पूर्वी एसिया, दक्षिण एसिया र युरोपका मुलुकहरूमा डुल्दा घुम्दाका देखेका विविध कुराहरू, भोगेका सुखदुःखहरू नै मेरा कथाका विषय वस्तुहरू हुन् । योबाहेक तत्कालीन मेरा पत्रमित्रहरूले पत्रमार्फत् पठटाएका जानकारीमूलक घटनाहरू मलाई कथा लेख्नमा सहयोग पु¥याएका छन् । मेरो कथाहरू सैनिक जीवनसँग बढी नजिक छन् । म लाहुरे भएर हङकङबाट ब्रुनाई गए्ँ, ब्रुनाईबाट सिङ्गापुर आएँ । तत्कालीन मलाया अर्थात् अहिलेको मलेसिया पुगेँ । मलाई मलाया शब्दले सानो छँदा ज्यादै प्रभाव पारेको थियो । त्यसैले म मलेसियाको जनजीवन, रहनसहन, संस्कृति आदिले ज्यादै प्रभावित भएँ । मेरा कथाहरूमा पनि यिनै कुरा बढी मात्रामा भएका हुन् कि जस्तो लाग्छ ।
'सलामत जलान' मलेसियाको एउटी केटीको बारेमा छ । 'हसिमा' पनि यस्तै लेख हो । यी लेखहरू निकै पुराना हुन् । म १८/१९ वर्षको छँदा लेखिएका हुन् । भन्छन् नि बैंशमा स्याल पनि घोर्ले हुन्छ । म घोर्ले छँदै रचिएका हुन् ती रचनाहरू ।
त्यसो भए ‘हसिमा’ र ‘सलामत जलान’का पात्रहरू तपाईंका पूर्व प्रेमीहरू हुन् ?
आब्बुई, त्यसो त होइन । हुन त मान्छेको मन हो, कुनै पट्ठो युवकको मन कुनै जवान युवतीमाथि र कुनै युवतीको मन कुनै युवकमाथि आकर्षित नहुने त कुरै भएन । तर भावनात्मक आकर्षण नै प्रेम कदापि हैन । यद्यपि उनीहरूको व्यवहार, शीलस्वभावले म सारै भ्रवावित भएँ । यतिसम्म कि नलेखी मेरो मनै मानेन ।
अनि प्रेम गर्नु भनेको आलिङ्गन, यौन तृप्ति मात्र होइन नि ! उनीहरू मेरा धेरै पत्रमित्रहरूमध्येका पत्रमित्रहरू पनि थिए । नेपालबाट श्यामप्रसाद शर्मा, स्वास्ती मान्छेको सम्पादिका शशिकला शर्मासँग पनि मेरो पत्रमित्रता थियो । अनि मैले कथा लेख्दा नेपाल र भारतको रहनहसहन, धर्म, संस्कृतिको बारेमा पनि कथाहरू लेखेँ । त्यति मात्र होइन, मैले मेरै पल्टने साथीहरूको जीवनमा आधारित भएर पनि कथा लेखेँ । उदाहरणको रूपमा ‘रहर पुग्यो’ भन्ने कथा पश्चिमबाट आएको हर्कबहादुर भन्ने साथीको चिन्तन र जीवनमा आधारित कथा हो । ऊ पल्टन आउनुमा ठूलो पदमा पुग्नु, नाम कमाउनु, धेरै सम्मति कमाउन वा अरु केही गर्न आएको थिएनन् । उनी त फगत लाहुरे हुन आएका थिए ।
त्योभन्दा बाहेक उनको केही गर्ने प्रयत्न पनि गरेनन् र उनी कहिल्यै केहीमा सफल पनि भएनन् । टीबी लागेर उनी सिपाहीको सिपाही मेडिकल पेन्सन आए । उनी भन्थे, "नम्बरी, म त लाहुरे भएँ । मेरो जहानलाई लाहुरेनी भन्छन्, छोरालाई लाहुरेको छोरा भन्छन्, छोरीलाई लाहुरेको छोरी भन्छन् । मलाई यति भए पुग्यो । नम्बरी, तपाईं लप्टन कप्टन भएर आउनु है ।" त्यो मान्छे गजबको थियो । पढाइमा कहिल्यै पास हुन भएन । म क्लर्कमा थिएँ । ऊ पास होस् भनेर जाँचअघि प्रश्नहरू सुटुक्क ल्याएर दिन्थेँ । तर अहँ ऊ कहिल्यै पडाइमा पास भएन । केही मान्छे हर्कबहादुर जस्तै उद्देश्यहीन र सन्तोकी पनि हुँदारहेछन् ।
पछि म सिभिल लाइफमा धुन्चे र हेटौडातिर पनि नोकरी गरेँ । त्यहाँको आञ्चलिकता पनि मेरो रचनाहरूमा छन् ।
त्यसो भए तपाईंको कथाहरू कथिएका कथा नभएर यथार्थ घटनाहरू हुन् ?
हो, मेरा कथाहरू कल्पनाको आधारमा कथिएका छैन । धेरै जसो कथाहरू यथार्थ घटनामा आधारित छन् । ती घटनाहरूको साँची म आफैं हुँ ।
त्यसो भए तपाईं आफूलाई यथार्थवादी कथाकार भन्नुहुन्छ ?
"कतिपय समीक्षकहरूले कथाका पात्र लेखक स्वयम् हुन कि ?" पनि भनेका छन् । हो, मेरा कथाहरू बढी यथार्थ हुन् । योबाहेक केही कथाहरू संस्मरण प्रधान पनि छन् । तर फगत कल्पनामा लेखिएको कथा चाहिँ एउटा पनि छैन । अब आयो म यथार्थवादी कथाकार हुँ कि होइन ? यसबारेमा म आफैंलाई त के भन्नु ? यो त अरूले नै भन्नु पर्ने कुरो हो । होइन र ?
तपाईं लामो विश्रामपछि पुनः साहित्य रचनामा लागिरहनु भएको छ । यति लामो शून्यता के कारणले भयो ?
मैले सन् १९५९ मा ‘हसिमा’ प्रकाशित गरेँ । त्यसपछि सैनिक जीवन त छँदै थियो । म पछि लामो समयसम्म प्रोजेक्टमा काम गरेँ । तर लेखनको दृष्टिले त्यो शून्यता एक युगको शून्यता हो । ‘सलामत जलान’ २००४ मा मात्र प्रकाशित गरेँ । यो बीचमा म ४५ वर्ष सुतेर रहेछु, कलम थन्क्याएर बसेछु । किन भन्ने प्रश्नको जवाफ मसँग पनि छैन । मलाई कसले अल्छी बनायो ? केले निश्क्रिय तुल्यायो ? थाहा नै छैन । अहिले यसबारेमा सम्झिन्छु र आफैं छक्कै पर्छु । पछि आएर लेख्न त थालेँ तर ग्याप भएपछि ट्रयाकमा आउन नै गाह्रो हुँदोरहेछ । जे होस् अहिले आएर खरायोको गतिमा दौडिरहेको छु । म ४५ वर्षे शून्यताप्रति मलाई पश्चताप छ ।
‘सलामत जलान’ २००१ देखि २००४ सम्ममा पूर्व प्रकाशित र नयाँ कथाहरू सङ्कलन गरी प्रकाशनमा ल्याएको हुँ ।
अहिले कुन कथा लेखिरहनु भएको छ ?
अहिले म कथा लेख्ने सुरमा छुइन । अहिले त म लिम्बू लोक कथाहरूको सङकलनमा पो लागिरहेको छु । मैले १८ भन्दा बढी लिम्बू लोक कथाहरूको नयाँ शिर्षकहरू पाएको छु । ती लोक कथाहरू कति पान्थरका छन्, कति छथरका छन् त कति तेहथुम र ताप्लेजुङका छन् । ती लोक कथाहरूलाई सम्बन्धित ठाउँमा गएर खोजेर प्रमाणित गरेर सङ्कलन एवम् प्रकाशन गर्ने योजनाका साथ काममा लागिपरेको छु । यो काम पूरा गर्न मलाई लामो समय लाग्ने छ । अहिलेको अवस्था पनि राम्रो छैन । त्यसैले गर्दा स्वतन्त्र रूपले घुमफिर गर्न पनि सकिन्न । तर पनि यी लोक कथाहरूलाई सङ्कलन गर्ने दृढ सङ्कल्पका साथ अगाडि बढिरहेको छु ।
अहिले नवराज वर्तमानले सङ्कलन गरेका लोक कथाहरू, शिवकुमार श्रेष्ठले सङ्कलन गरेका लोक कथाहरू, इमानसिंह चेम्जोङका लोक कथाहरू पनि सङ्कलन गरी म अध्ययन गरी रहेको छु । लोक कथाहरूमा पनि लिम्बू जातिसँग सम्बन्धित पौराणिक कथाहरू, मुन्धुमसँग सम्बन्धित कथाहरू, ठाउँहरूसँग सम्बन्धित लोक कथाहरूमाथि मेरो बढी चासो छ जस्तै छथरको साम्लो लुङ, तेरथुमको छाते ढुङ्गा, ताप्लेजुङको पावरुङ मावरुङ फक्कु आदि ।
यी लोक कथाहरू भावी सन्ततिहरूका लागि हो । ती लोक कथाहरू क्रमशः विर्सिँदै जाँदैछन् । दार्जिलिङतिरका बच्चाहरू लिम्बू भाषा जान्दैनन् । ती लोक कथाहरू त झन उनीहरूले सुनेकै छैनन् । त्यसैले उनीहरूका लागि ती अन्जान सन्तानहरूको लागि यी लोक कथाहरू सङ्कलन गर्न लागेको हुँ । यसका साथै ती लोक कथाहरूले हाम्रो समाजको विविध पक्षहरूमाथि पनि अध्ययन गर्न मद्दत गर्दछ।
तपाईंले सङ्कलन गर्न लाग्नुभएको लोक कथाहरू विलकुलै नयाँ हुन् त ?
मैले सङ्कलन गर्ने लोक कथाहरू शिवकुमार श्रेष्ठ, नवराज वर्तमान, इमानसिंह चेम्जोङले नदेखेको, नसुनेको, नलेखेको र नयाँ हुनु नै प¥यो । यसको अर्थ लोक कथाहरू नै नयाँ बनाउने भन्ने होइन । यसको आसय सङ्कलित नभएका कथाहरू, नछापिएका कथाहरू मैले सङ्कलन गर्ने भन्ने हो । फेरि शिवकुमार, इमानसिंह र नवराजहरूले सङ्कलन गरेका लोक कथाहरू मैले सङ्कलन गरेर मेरो सङ्कलनका कथाहरूले त पहिचान पाउँदैनन् । पहिचान पाउनको लागि नयाँ हुनुप¥यो, फरक हुनुप¥यो।
मैले करिव १८ वटा शीर्षकहरू पाइसकेको छु । त्यसमध्ये ६/७ वटा लोक कथाहरू सङ्कलन गरी लेखिसकेको छु । तर पनि पुस्तकाकारमा आउन निकै समय लाग्छ नै ।
साहित्यमा कसरी लाग्नुभयो ?
म स्कूल पढ्दा धेरै साहित्यिक पत्रिकाहरू पढ्थेँ । 'साहित्य', 'स्वास्नी मान्छे' पढ्थेँ । स्वास्नी मान्छे पत्रिका बेलायतमा छापिने वुमन पत्रिका जतिकै स्तरीय छ भनी शशिकलालाई पत्र लेखेको थिएँ । हुन पनि त्यो पत्रिका समयअनुसार स्तरीय नै थियो । त्यो मेरो पत्र सम्बन्धित पत्रिकामा छापिएको पनि थियो । त्यो वेला साहित्य र स्वास्नी मान्छे कमल पोखरीको साहित्य सदन ठेगानामा प्रकाशित हुन्थ्यो । ती पत्रिकाहरू बाइन्ड गरी राखेको छु । 'भारती', 'हाम्रो कथा', लैनसिंह वाङदेलको 'प्रभात', 'साथी', 'गोर्खा', कासीबाट 'उदय' जस्ता पत्रिकाहरू छापिने गर्थे । यही पत्रिकाहरूमा छापिएका कृतिहरूले नै मलाई लेख्न अभिप्ररित गरे । उदय पत्रिकामा महाकवि देवकोटा, वालकृष्ण सम, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्टहरूको रचनाहरू छापिन्थे।
त्यो समयमा दार्जिलिङ लेख्नको लागि मलिलो ठाउँ थियो । पारसमणि प्रधान, रामकृष्ण शर्मा, शिवकुमार राई, इन्द्रबहादुर राई, रुपनारायण सिंहलगायत थुप्रै राम्रा कवि तथा कथाकारहरू थिए । उनीहरू कै अभिप्रेरणाले पनि लेखियो ।
कविता पनि लेख्नुभयो कि ?
कविता छन्दमा लेन्नुपर्छ भन्थे त्यो वेलाका भारतीका सम्पादक महोदय पारशमणि प्रधान । उनी भन्थे, "सिकारु कविले जहिल्यै पनि छन्दमा लेख्नु पर्छ ।" उनले समस्या पूति शीर्षक दिएर चार हरफ कविता छन्दमा लेख्न लगाउन पत्रिकामा सूचना प्रकाशित गर्थे । ताटक, मालिनी, शार्दुलविकृडित या अन्य जुनसुकै छन्दमा लेखे पनि हुन्छ तर झ्याउरे छन्दमा नलेख्नु भन्ने पारशमणि प्रधानको सल्लाह थियो । उनले एक पटक ‘कल्पना’ भन्ने विषय दिएको थियो र मैले १६, १२ को मात्रिक छन्दमा कविता लेखेँ । रातराजभरि प्रयास गरेर लेखेँ । त्यसरी लेखी पठाएको कविता छापियो पनि । तर त्यसपछि म कविता लेख्न सक्दिन रहेछु भन्ने लाग्यो र मैले कविता लेख्न छोडिदिएँ ।
तर पछि त जीवन नाम्दुङलगायत अन्य साथीहरूले उनीहरूको कविता सङ्ग्रह दिए । अनि यसो हेरेर सोधेँ, "भाइ हो, यो कुन छन्दमा लेखिएको हो ?" उनीहरूले भने, "दाइ, अचेल छन्दसन्द छैन ।" अनि पो म त खङ्ग्रङगै भएँ । भावना त पहिला पनि आउँथ्यो नि कविता लेख्नलाई, छन्द पो आउँदैनथ्यो त । अनि त मैले पनि छिटफुट कविता लेख्न थालेँ । मैले 'दार्जिलिङको पर्यटकलाई' र 'म भुल्ने थिएँ' लगायतका कविताहरू लेखेर दार्जिलिङ र सिक्किमका पत्रिकाहरूमा प्रकाशित गराएको छु । तर अब म अत्यन्तै ढिला भइसकेको छ ।
लाहुरमा साहित्यिक सङ्गत कस्तो थियो?
राधिका राया, लक्ष्मीनाथ वस्नेत ‘पागल’ एबी गहतराज, मोहन थापालगायतका राम्रा साहित्यकारहरू मलायमा थिए । पर्वते पत्रिका पहिला रोमनमा निस्किन्थ्यिो । पछि त्यहाँ पनि देवनागरीमा छाप्न थाले । अनि क्रमशः मलायामा पनि साहित्य साधना र प्रकाशनको वातावरण बन्दै गयो ।
आधुनिक या उत्तरआधुनिक साहित्य भन्नाले के हो ? बताइदिनुहोस् न ।
साहित्य आधुनिक, उत्तरआधुनिक वा नयाँ पुरानो भन्ने कुरै भएन । साहित्य साहित्य हो । साहित्य कहिल्यै पुरानो हुँदैन, साहित्य सदावहार हुन्छ । मोपासाको कथा ‘हिराको हार’, कहिल्यै पुरानो हुँदैन र भएन, जति पटक पढे पनि नयाँ नै लाग्छ । जर्ज वर्नाडसा कथाहरू, अस्कार वाइल्डका ‘ह्याप्पी प्रिन्स’, प्रेम चन्दको ‘बढी घरकी बेटी’ जस्ता कथाहरू सधै नयाँ लाग्छन् ।
आफ्नो साहित्यिक रचनाहरूबारेमा तपाईको के भनाइ छ ?
साहित्य रचना गरिसकेपछि रचनाकारको हुँदैन, पाठकको सम्पत्ति हुन्छ त्यो । त्यसको मूल्याङ्कन गर्ने, त्यसबारेमा केही भन्ने अधिकार त पाठकको हो, लेखकको होइन ।
कियाचुको आजीवन सदस्य पनि हुनुहुँदो रहेछ । लिम्बू साहित्य कस्तो पाउनुभएको छ ?
म आफैले प्रत्यक्ष नापजोख त गरेको छुइन । तर मगर, राई, तामाङ साथीहरूको भनाइअनुसार लिम्बू साहित्यको अवस्था राम्रो छ । म पनि तान्छोप्पा, लुङा, नुमाफुङ, सेमि फक्ताङलुङ, तङसिङ पत्रिकाहरू हेर्छु । यी पत्रिकाहरू हेर्दा लिम्बू भाषा साहित्य निकै राम्ररी पस्टाएको पाएको छु । यो देखेर म ज्यादै हर्षित पनि छु । नव लेखक लेखिकाहरूलाई वधाई पनि दिन्छु ।
तपाईंको भोग्नुभएको कुनै अनुकरणीय घटना सुनाउनु होस् न ।
म सैनिकबाट अवकास लिएपछि बेलायती सहयोगमा चलेको कोशी पहाडी ग्रामीण क्षेत्र विकास परियोजनामा काम गर्दाको एउटा घटना छ । यो समय पालनासम्बन्धी घटना भन्दा हुन्छ होला अनि सौहार्दता वा कुनै पनि घटनालाई स्वभाविक रूपमा लिने बानी भन्दा पनि हुन्छ होला । एकदिनको कुरा हो । विराटनगरमा हाम्रो संस्थाको कार्यक्रम थियो । त्यहाँ तेरथुम, भोजपुर, सङ्खुवासभा लगायतका जेटिएहरूको भेला थियो र त्यहाँ हाम्रो संस्थाको सल्लाहकार जोनले लेक्चर दिने कार्यक्रम थियो । हाम्रो समय विहान ७ बजे कार्यालयबाट हिँडिसक्नु पर्ने थियो । बिहान मेनेजर जोन उसको श्रीमती र म तयार भयौँ तर टोनी त आइपुगेन । ७ बज्यो । ऊ अझै आएन । जोनले ड्राइभरलाई भन्यो, "गाडी चलाऊ ।" गाडी अगाडि बढ्यो । गाडी भेडेटार, साँगुरीभञ्ज्याङ हुँदै अगाडि बढ्यो । म त छक्क परेँ। किनभने कार्यक्रममा सहभागीलाई पढाउने बताउने मान्छे नै छुट्यो । जोन वा मेनेजरले त त्यो कुरा जान्दैन । अब सहभागीहरूलाई कसरी पढाउने होला भनेर म छक्क परिरहेको थिए । उसले एकछिन पर्खौं पनि भनेन ।
हामी धरानको भानुचोकको गेटनिर पुगेका मात्र के थियौँ टोनी एउटा बाइक भाडामा लिएर हतारहतार आइपुगेछ, धुलोले मान्छे पनि नचिनिने भएर । मलाई लागिरहेको थियो, यी दुवैजना एकआपसमा रिसाइरहेका होलान् । तर उनीहरू भेट हुने वितिकै "हेल्लो जोन ।" "हेल्लो टोनी ।" भनेर हाँसीखुसी सामान्य व्यवहार गरेको देखेर म छक्क परेँ ।
यसरी गोरेहरू समयलाई अति नै ख्याल गर्दारहेछन अनि त्यसरी ख्याल नगर्दा हुने त्यस्तो व्यवहारलाई सामान्य रूपमा लिँदा रहेछन् । हामी नेपाली भए "एकछिन पनि पर्खिन सक्दैनौ" भनेर कति रिसाइन्थ्यो होला, या झगडा गथ्यौँ होला । यो कुरा उनीहरूमा पाइन । ती गोरेहरू समय पालनसम्बन्धी बानी हामीले सिक्यौ भने राम्रो हुन्छ । राम्रो कुरा त जसको भए पनि त फाइदा नै गर्छ नि होइन र ?
तान्छोप्पा, वर्ष १०, अङ्क ९, विहिवार, ९ भदौ २०६२ ९द्दछ ब्गन द्दण्ण्छ० ।
No comments:
Post a Comment