Tuesday, May 26, 2020

काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिका रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून् - खेलराज योङहाङ

काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिका रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून् 

- खेलराज योङहाङ


शिरमा ढाका टोपी, जिउमा कालो कोटको आवरण, गोडामा कालो पेन्ट अनि यी सबैलाई थाम्ने कालो जुत्ता । पुड्कोपुड्को कद । पिठ्युँमा निकै ठूलो खकने झोला । यी महानुभाव कुनै नाटकका सजिसजाउ पात्र होइनन् । उनी त हुन् नेपालका विभिन्न गाउँहरू, दार्जिलिङ, घुम, कालेबुङ, डुबर्स, सिक्किमको माङसिला, नामची, गेजिङ, उत्तरे, गान्तोकलगायत विभिन्न गाउँ र सहरहरू डुलिरहने व्यक्ति हुन् – खेलराज योङहाङ । उनी त्यो ठूलो झोलामा कुनै लत्ताकपडा, बालबच्चाका लागि काबुलीवालाजस्तै खेलौना वा अन्य कुनै अलौकिक वस्तुहरू बोकेर हिँडिरेका हुँदैनन् । त्यो झोलामा त अक्षरका मोती छापिएका ज्ञानका पुस्तकहरू उरुङ चाङ लागेका हुन्छन् । त्यहाँ त किरात सिरिजङ्गा लिपिका कितावहरू, मुन्धुमका ठेलीहरू, किरात इतिहास र संस्कृतिका ग्रन्थहरू, राई भाषा भाषीका पुस्तकहरू, गुरुङ भाषाका कृतिहरू, मगर भाषाका रचनावलीहरू, जातीय चेतनाबोधले परिपूर्ण पत्रपत्रिकाहरू खातकाखात हुन्छन् जसले सुस्ताएकाहरूलाई ब्युझाउँछ, व्युँझिएकाहरूलाई उठाउँछ र उठेकाहरूलाई गति प्रदान गर्दछ । चेतनाको उज्यालो जुनकिरीजस्तै कति पनि झञ्जट नमानी बाँडिहिँड्ने खेलराज योङहाङको यो काम गर्दाका प्रेरणा सोत या उर्जा दिने व्यक्तित्वहरूमा त्येअङ्सी सिरिजङ्गा, लालसोर सेन्दाङ र इमानसिंह चेम्जङ हुन् । यही काम गर्दागर्दै आफ्नो शिरको ढाका टोपीजस्तै आफ्नो उमेर आधाउदी ढल्केको पनि पत्तै पाएका छैनन् ।

नागी–६, चित्यक पान्थरमा २०१३ साल माघ १७ गते बुधबारका दिन हर्कजङ योङहाङका जेठा सन्तानका रूपमा पदममाया थुपुको थेबेको गर्भबाट जन्मिएका खेलराज योङहाङका कलकलाउँदा ४ भाइको मृत्य भएपछि विरहको पोको पुन्तुरो बोकेर आमाबाबु झापाको शिवगञ्जमा झरेपछि उनी पनि आफ्नो आमाबाबाको फेरो समाएर मधेसिए । २०२७ साल पुस ५ गतेको त्यो बसाइ हिँडाइले खेलराजलाई शिवगञ्जको घना जङ्गलमा पु¥यायो जहाँ खेतीपाती बचाउन सधैं बाँदरसँग घम्साघम्सी गर्नुपथ्र्यो । सुकुम्बासी बस्तीछेउको वनजङ्गलका बाँदरसँगको लुकामारीले तकिम्बा नागीको गणेश प्रा.वि.(हालको गणेश मा.वि.)को कक्षा ५ सम्मको पढाइ सदालाई पूर्णविराम लाग्न पुग्यो । तत्कालीन पञ्चयती शासकहरूले सुकुमवासी वस्तीमा हात्ती लगाएर घरहरू लडाएको, आगो लगाएर बस्ती सखाप पारेको घटनाले उनमा विद्रोहको आगो सल्कायो जस्ले गर्दा तत्कालीन नेकपा मालेको भातृ सङ्गठन अखिल नेपाल किसान सङ्घको सदस्य भएर २०३६ तिर राजनीतिमा प्रवेश गरे । पछि उनी सो पार्टीको लागि बालुवाडी गाउँ कमिटीको सदस्यको रूपमा २०३९ साल देखि २०४९ सम्म काम पनि गरे । ४६ सालपछिका राजनैतिक पार्टीका नेताहरूको खस्कँदो छविले अरुहरूलाई जस्तै उनलाई पनि पार्टी राजनीतिप्रति वितृष्णा जगायो र औपचारिक रूपमा पार्टीबाट राजीनामा दिएर ह्वात्तै हामफाले उनी जाति, भाषा, लिपि, साहित्य र सांस्कृतिक योद्धाको रूपमा समाजसेवातिर । 

त्यसपछि उनको यो समाजसेवाको यात्रा निरन्तर अगाडि बढ्दो छ । उनको भनाइमा "मेरो जीउलाई यी मेरा दुई गोडाले डो¥याउञ्जेल म यो भाषा, लिपि प्रचारको अभियानमा लागिरहनेछु ।" उनी अरुले लेखे, छापेका पुस्तक र पत्रपत्रिका मात्र प्रचारप्रसार गर्दैनन् । उनी आफैले पनि २०५२ सालमा लिम्बू भाषाको शब्दकोश सङ्कलन, सम्पादन र प्रकाशन गरी प्रचारप्रसार गरेका छन् । उनी आफै एक गायकी भएका र लिम्बू गीत सङ्गीतको राम्रो भेउ पाएका सङ्गीत मर्मज्ञ पनि हुन् । उनले २०३६ सालदेखि नै लिम्बू भाषामा गीत गाइहिँडेका थिए त्यो जमानामा नेकपा मालेको राजनीतिक क्रान्तिको ज्वाला दन्काउने सिलसिलामा । यसकै सवल प्रतिफलको रूपमा उनले २०५४ सालमा ‘मुक्कुम्बा इक्ला’ नामक लिम्बू गीति क्यासेट निकाली त्यो समयमा ठूलै तहल्का मच्चाएका थिए । २०४९ सालमा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला कार्य समितिका सदस्य बनेर उनले औपचारिक रूपमै आफ्नो कामलाई अगाडि बनाएका थिए । उनी आफ्नो मातृभाषा भने पछि हुरुक्कै हुन्छन् । उहाँ आफ्नो अभियानकै क्रममा काठमाडौँ आउनुहुँदा के.बी. चेम्जङ र अमर तुम्याहाङले संयुक्त रूपमा विविभन्न विषयमा २०६२ साल जेठ २१ गते शनिवार यो अन्तरवार्ता लिइएको थियो । उहाँको अन्तरवार्ता उहाँको इच्छाबमोजिम लिम्बू भाषामै लिइको थियो । तर पाठकीय अवस्थालाई ध्यानमा राखी लिम्बू भाषामै लिइएको उहाँको लामो अन्तरवार्ताको सारसङ्क्षेप खसभाषामा अनुवाद गरी पाठकहरूसमक्ष प्रस्तुत गरिएको छ ।

किरात समुदायसँग सम्बन्धित पुस्तकदेखि लिएर पत्रपत्रिकाहरूका प्रचारप्रसारमा तपाई निरन्तर लागिपर्नु भएको छ । यो काम गर्नुको सहस्य के छ ? 
– पहिला त लिम्बूहरू जग्गा जमीनका मालिकहरू हुन् । तर सरकारको लिम्बूहरूप्रतिको कुदृष्टिले गर्दा हिजोका ती जग्गा जमीनका मालिकहरू आज आएर सुकुम्बासी सोसरह भएका छन् । उनीहरूको आर्थिक अवस्था नाजुक छ । घुम्दाफिर्दा मैले लिम्बूलगायत अन्य किरात समुदायका अन्य जातिका मानिसहरूको पनि उही हालत देखेको छु। यसरी हामी पछाडि पर्नुको कारण के हो ? भनेर विचार मन्थन गर्दा अशिक्षा नै एक हो भन्ने निस्कर्षमा म पुगेँ । अनि अशिक्षाबाट उनीहरूलाई शिक्षाको उज्यालोतिर डो¥याउने माध्यमको काम पत्रपत्रिका र अन्य कितावहरूले गर्नेछ भन्ने सोचले यो काम गरिरहेको छु । योबाहेक नेपाल, सिक्किम, कालेबुङ, दार्जिलिङ, डुवर्स, भूटानलगायतस स्थानमा बस्ने किरात समुदायभित्रका जातिहरू राई, लिम्बू, याक्खा वा देवान र सुनुवारहरूबीच अनुभव आदानप्रदान होस् भनेर पनि यता प्रकाशित भएका पुस्तक र पत्रपत्रिकाहरू उत्ता लैजाने र उत्ता प्रकाशित भएका यता ल्याउने काम गरिरहेको छु।

पाठकहरूको चासो कस्तो पाउनुभो त ?
नेपालका विभिन्न जिल्ला र गाउँघरमा पत्रपत्रिका र कितावहरू लिएर डुल्ने गरेको छु । यसरी नै दार्जिलिङ, घुम, कालेबुङ, डुवर्स, सिक्किम विभिन्न गाउँठाउँहरू र भूटानसम्म घुम्ने गरेको छु । आफ्नो जाति, भाषासँग सम्बन्धित पत्रपत्रिका र प्रकाशित भएका अन्य पुस्तकहरूप्रति पाठकहरूको धेरै चासो रहेको पाएको छु । तर प्रकाशन संस्थाहरूले प्रकाशन गरेका पत्रपत्रिका र कितावहरू ती पाठकहरूसम्म नपुगेको पाइयो । पाठक र लेखक– प्रकाशक बीचमा यस्तो सम्बन्धको खाल्डो परेको अवस्थामा आफूले हल्काराको रूपमा काम गरेको छुजस्तो लागेको छ ।

लिम्बू संस्कृति प्रवासमा कस्तो पाउनुभयो ?  
केलाङ, या?लाङ, ताम्केलाङहरू सिक्किम, दार्जिलिङतिर घुम्दा विभिन्न कार्यक्रमहरूमा देख्ने अवसर पाएँ । त्यतातिरका गाइनेहरूले पनि हाक्पारे, पालामहरू गाएको पाएको छु । यी घटनाहरूले हाम्रो संस्कृति जिउँदै छ भन्ने लागेको छ । बरु यता नेपालमा पो द्वन्द्व सुरु भएपछि हाटबजारहरू बन्द भए, ती हाटबजाहरूसँगै यस्ता धान नाच, केलाङ आदि लोप हुँदै  गएका छन् ।

पहिला पनि दार्जिलिङ सिक्किमतिर घुम्नुभयो? 
म राजनीतिक क्रियाकलापमा संलग्न भएको वेला पञ्चायतकालमा त्यतातिर घुमेको थिएँ । त्यही समयमा सिक्किममा लिम्बू भाषा स्कूलमा पठनपाठन भएको देखेको थिएँ । त्यसले मलाई हाम्रो भाषा लिपिप्रति काम गर्ने प्रेरणा दियो । त्यो समयमा नेपालमा लिम्बू भाषा र लिपिमा लेखपढ गर्न सरकारले अनुमति दिँदैनथ्यो । त्यो समयमा नेपालका लिम्बू लगायतका जात जातिले पनि आफ्नो  भाषा लिपिमा पढ्न पाउनुपर्छ भन्ने लाग्यो र त्यही सोचअनुसार आफ्नो क्षमताले भ्याएसम्म भाषा लिपिका कितावहरू प्रचारप्रसार गर्न थालेको हुँ ।

तपाईं राजनीतिमा कसरी लाग्नुभयो ? 
 हामी २०२७ सालमा मधेसतिर झ¥र्यौं । त्यो समयमा हामी जस्तै अन्य सुकुम्वासीहरूको वस्तीमा डीएफओहरू आउँथे । उनीहरूले हाम्रो वस्तीमा हात्ती ल्याएर घरहरू भत्काउन लगाए, हाम्रो घरहरू आगो लगाएर खरानी भए । यो देखेर मेरो चित्त सारै दुख्यो । रिस पनि सारै उठ्यो । यसको वदला लिन पाए त हुन्थ्यो भन्ने लाग्यो । पछि हामीलाई सरकारले नै शिवगञ्जबाट बालुबाडीमा सा¥यो । त्यहाँ पनि हामी सरकारी मानिसहरूबाट उतिकै पीडित भयौँ । त्यही क्रममा २०३५÷३६ सालतिर अखिल नेपाल किसान सङ्घको सदस्य भएर राजनीतिमा लागेको हुँ । हाम्रा दुःखहरू सकियून्, हाम्रा आवश्यकताहरू नयाँ बन्ने सरकारले पूरा गरोस्, हामीले लेख्न, पढ्न, बोल्न पाउने अवस्था नयाँ सरकारले ल्याओस् भनेर राजनीतिमा लागेको हो। तर प्रजातन्त्र आएपछि पनि हाम्रा सपनाहरू विपना भएनन् । हाम्रो अवस्थामा कुनै सुधार भएन । म राजनीतिमा लाग्दा तारा समयङया, रत्न इङनाम, नारयाणसिंह राजवंशी, अर्जुन राईलगायत थुप्रै चिनेजानेका साथीहरू थिए । तर प्रजातन्त्र आएपछि सांसद नेताहरूले आफ्नो दुनो सोझ्याउने, आफू र आफ्नो नातेदारहरूलाई बनाउने काम मात्र गरे । हामीजस्ता हजारौँ मानिसको त्याग, तवस्या र वलिदानले प्राप्त भएको प्रजातन्त्र “बाँदरको हातमा नरिवल” भयो । प्रजातन्त्रको लडाइँमा कतिका छोराछोरी टुहुराटुहुरी भए, कति विधुवा भए । सत्ता पाएपछि नेताहरूले ती सबै बिर्सिए । यो देखेर अरूजस्तै म पनि निरास भएँ । अनि पार्टीबाट राजीनामा दिएर यता आफ्नै जाति, भाषा, लिपि, संस्कृतिको काममा लागेँ ।

राजनीतिमा रहँदा विशेष के काम गरियो? 
त्यो समयमा मैले सांस्कृतिक फाँट सम्हालेको थिएँ । विभिन्न अवसरमा पार्टीको तर्फबाट सांस्कृतिक कार्यक्रमहरूको तयारी गर्ने, सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने, पार्टीको विचार र नीतिलाई गीत सङ्गीतको माध्यमबाट प्रचार गर्ने काममा म बढी लागेँ, विशेष गरेर आफ्नो क्षेत्रमा।

त्यो वेला पुलिस–प्रशासनले साह्रै दुःख दिन्थे। सांस्कृतिक कार्यक्रम गर्दा, पर्चापम्प्लेट टाँस्दा जुनसुकै अवस्थामा पनि मलगायतका साथीहरूको नाममा वारेन्ट काट्थे । पुलिसहरू भेष बदलीबदली आउँथे। हामी सधैं वनवास हुन्थ्यौँ । घरमा सञ्चले कहिल्यै बस्न पाइएन । तर खुशीको कुरा के भने म पुलिसको फन्दामा फस्नबाट सधैं बच्न सफल भएँ ।

तपाई आफ्नो जाति, भाषा, लिपि, संस्कृति र धर्मपति कसरी आकर्षित हुनुभयो ? 
राजनीति गर्ने सिलसिलामा नै हामीलाई लिम्बू भएकै कारणले धेरै अवसरबाट बञ्चित हुनुपरेको, अगुवा हौँ भन्ने छेत्रीबाहुनहरूले जानीजानी हामीलाई पछाडि पारेको कुराले मलाई चोट पु¥यायो । हामी लिम्बू भएर जन्मनु कुनै अपराध होइन । हामी पनि मान्छे नै हो । हामी पनि यो देशको नागरिक हौँ । यो देशमा उनीहरूको जति हक लाग्छ हाम्रो पनि उति नै हक लाग्छ । उनीहरूको मात्र होइन, हाम्रो पनि आफ्नै भाषा छ, लिपि छ, संस्कार छ, संस्कृति छ, धर्म छ, भेषभूषा छ । उनीहरूभन्दा हामी के कम ? हामीले आफ्नै भाषा, लिपि, सहित्य, संस्कार, संस्कृतिलाई अझ धनी बनाउनुपर्छ भन्ने सोच ममा आयो । आफू र आफ्नो कुरा हामी आफैंले गर्नुपर्छ भन्ने लाग्यो र नै म यतातिर ढल्किएँ। र, अझसम्म पनि म निरन्तर लागिरहेको छु ।

म यतातिर लाग्नुमा हाम्रो जिउँदो जाग्दो इतिहासले पनि उक्सायो । कुनै जमानामा हाम्रा पुर्खाहरूले यो मुलुकमा शासन गरेको कुराले मलाई शक्ति दियो । हाम्रो पुर्खाले त त्यत्रो गरे भने हामीले किन गर्न सक्दैनौँ ? आफ्नो गच्छेअनुसारका समाजलाई हितकारी हुने काम भन्ने लाग्यो ।

तर यसको लागि हामीले हाम्रो अस्तित्व र पहिचान बुझ्नुपर्छ अनि हामी शिक्षित हुनुपर्छ । हामी अशिक्षित हुनु भनेको असक्षम हुनु हो । यसको लागि त हामीले आफ्नो बारेमा खोजअनुसन्धान गर्नुप¥यो, हामीले पढ्नु, लेख्नुप¥यो।

यही क्रममा मैले लिम्बू भाषाको शब्दकोश पनि सङ्कलन, सम्पादन र प्रकाशन गरेँ । शब्दकोश निकाल्नुको कारण हाम्रो भाषाको रेकर्ड राख्नु हो । शब्दकोश भएमा भाषा सिक्न पनि सहज हुन्छ । चाहिने शब्दहरू चाहिने वेलामा पाउन पनि सजिलो हुन्छ भन्ने पनि हो । यो शब्दकोशले राम्रै बजार पायो । निकालेको केही समयमा नै विक्री भई सकियो । अब यसको दोसो संस्करण निकाल्ने सोचमा छु । यसको दोस्रो संस्करणमा अङ्ग्रेजी भाषा सम्पादनको लागि दान खालिङ, लिम्बू र खस भाषाको सम्पादनको लागि तिलबिक्रम कन्दङवा लगायतका साथीहरूसँग मिलेर हामी काम गरिरहेका छौँ । मैले ‘मुक्कुम्बा इक्ला’ नामक गीति सङ्ग्रह पनि निकालेको थिएँ । यसले पनि सबै लिम्बू स्रोतहरूले मन पराइदिए ।

यो गीति सङ्ग्रह निकाल्नुमा हाम्रो समाजमा चेतना जगाउन र हाम्रो परम्परागत लयहरूलाई संरक्षण अनि प्रचार गर्न पनि हो ।

‘मुक्कुम्बा इक्ला’पछि अर्को गीति सङ्गालो निकाल्न सकिएन । हल्काफुल्का गीतहरू निकाल्यो भने त्यसले राम्रो सन्देश दिँदैन। मान्छेहरूले पनि मन पराउँदैनन् । फेरि म पछिल्लो समयमा हाम्रो भाषा, संस्कृतिसम्बन्धी पुस्तक पत्रपत्रिकाहरू झोलाझोलामा बोकेर प्रचारप्रसार गर्दै डुलाउँदै हिँडिरहेको छु । यसलाई मैले एउटा जनचेतना जगाउने अर्को अभियानको रूपमा लिएको छु । मेरो धेरै समय यसले खाएको छ ।

पाठकहरूले चाहिँ तपाईका कामलाई कसरी मूल्याङकन गरेका छन् ? 
समय यस्तो विकराल छ । घरबाहिर निस्केर हिँडिसक्नु छैन । सबैले बुझेकै कुरा हो । तर पनि म घर परिवार छोडेर यो काम गरिरहेको छु । यो काम गर्दाको व्यक्तिगत दुःखका कुराहरू त छँदैछन्। यसरी किताव पत्रपत्रिका बिक्रीवितरण गर्दै हिँड्दा बुझ्नेले त राम्रै मान्छन् । नबुझ्नेहरूले किताब बेचेर चयन गरेर हिँड्छ पनि भन्दा हुन् ।

तर पुस्तक वा पत्रपत्रिका प्रकाशक– हरूबाट किताव किन्यो, कितावहरू ढाड कटक्क खाँदै बोकेर हिँड्यो। यसरी बोकेर विक्रीवितरण गरेको पैसाले के हुन्छ र ? गाडी चढ्नै प¥यो, खाना खानै प¥यो । यसबाट मलाई पैसाको हिसावले फाइदा त केही हुन्न । तर पनि हाम्रो जाति, समाजको उत्थान हुन्छ कि भनेर अनेक दुःख खेप्दै यो काम गरिरहेको छु ।

यो काम गर्दा सधैं म त्येअङ्सी सिरिजङ्गा, लालसोर सेन्दाङ, इमानसिंह चेम्जोङहरूको त्यागलाई सम्झिन्छु र चित्त बुझाउँछु अनि फेरि काममा जुट्छु । दुःख भए पनि हाम्रो जाति र समाजको उज्यालो भविष्यको आशाले त्यस्ता दुःख, थकान, घरीघरी हुने दुःखद घटनाहरूलाई विर्सने गर्दछु ।

लिम्बूहरू नेपालमा बसून् कि भूटानमा बसून् अथवा सिक्किममा बसून् कि संसारको कुनै ठाउँमा बसून् । हामी सबैको पुग्ने ठाउँ त उही हो – हामी शिक्षित बन्ने, सभ्य बन्ने, सुसंस्कृत हुने तर हाम्रो पहिचान कायम राखेर नै यी सब गर्ने हो अनि हाम्रो भाषा, साहित्य, संस्कृति र धर्मलाई युगौयुगसम्म बचाइराख्ने । यसमा मैले भेटे देखेका लिम्बूहरूमा एउटै विचार र व्यवहार पाएको छु।

लिम्बू साहित्यको बारेमा तपाईको कस्तो अनुभूति छ ? 
कालेबुङ, दार्जिलिङतिर मूलरूपमा सिक्किमतिर लिम्बू भाषा साहित्यको विकास पहिला भयो । नेपालमा २०४६ सालपछि मात्र यस्तो काम सुरु भयो । तर जता, जहिले, जसले, जसरी गरे पनि यी कामहरू राम्रोको लागि भएका हुन् । त्यसैले मलाई त भाषा, साहित्य, संस्कृतिमा भएका काम सबै राम्रा लाग्छन् ।


अहिले आएर भाषा, साहित्य मात्र होइन थुप्रै गीति सङ्गालोहरू निस्किरहेका छन् । तरेबा, थःत्थामा, मासेमी, लुङ्मा तुक्किल्ले, नुमाफुङलगायतका चलचित्रहरू लिम्बू भाषामा बनिरहेका छन् । यी सबै कामले लिम्बू सभ्यतालाई धनी बनाइराखेको छ ।

नयाँ पुस्तालाई तपाईको सुझाव के छ? 
यलम्बर हाङले नेपाल राज्य स्थापना गर्दाको दुःखलाई हाम्रा सन्तानहरूले सम्झून्, काङसोरेले हाम्रो जातीय अस्तित्व र मातृभूमिको रक्षाको लागि बगाएको रगतको मूल्य नयाँ पुस्ताले बुझून्, थाकथाकु माबुहाङका उपदेशलाई व्यवहारमा उतारून्, बाजाहाङको प्रजातन्त्र प्रेमलाई आत्मसाथ गरून्, त्येअङ्सी सिरिजङ्गा अनि इमानसिंह चेम्जोङको त्यागलाई नविर्सून् । नयाँ पुस्ता हाम्रा पुर्वजहरूले देखाएको बाटो हिँडून् ।

तपाईले धेरै त पढ्नु भएन छ नि ? 
मेरा चारजना भाइहरू पहाडमै मरे । म घरको जेठो, घरमा काम गर्ने भने कै म आफैं थिएँ । हाम्रो परिवार विरक्तिएर मधेसतिर झरेपछि पनि सानोमा म बाँदर रुँग्दै ठीक्क भयो । हामी जङ्गलको बीचमा बसेकाले स्कूल टाढा थियो । त्यसैले मले पढ्न सकिनँ । पहाडमा कक्षा ५ सम्म पुगेको मेरो पढाइ नै मेरो जीवनभरिको औपचारिक शिक्षाको अन्तिम खुड्किलो हुन पुग्यो ।

तान्छोप्पा, वर्ष १०, अङ्क ११, विहिवार, ९ कात्तिक २०६२ (26 Oct. 2005) ।

No comments:

Post a Comment