Friday, June 5, 2020

हङकङ चुम्लुङको एक मात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बूभाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो – अविचन्द्र इङनाम लिम्बू

हङकङ चुम्लुङको एक मात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बूभाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो 

– अविचन्द्र इङनाम लिम्बू, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ, हङकङ
  

अविचन्द्र इङनाम लिम्बू पानुदिङ दलधोज र मानुदिङ जगमाया को सन्तानको रूपमा ०१६ साल पौष ७ गते तेह्रथुम जिल्ला इवा गाविसको यावनमा जन्मनुभएको हो । ०२७ देखि घरछेउको धुले स्कुलमा कखरा सुरु गरेका उहाँले त्रि–मोहन मा.वि. सङ्क्रान्ति बजारबाट ०३५ सालमा एसएलसी उतीर्ण गर्नुभएको हो । गाउँमा कुटोकोदालो गर्दै पढेका अविचन्द्रले एसएलसी पास गर्नु लगतै ताप्लेजुङको ओलाङचुङगोला याङमा प्रा.वि.मा पढाउन र चुहानडाडा क्याम्पस तेह्रथुममा पढ्ने एकै समयमा सुरु गरे । तर दाल–भात–डुकुको लागि सङ्घर्षमा होमिएका उहाँले नियमित रूपमा क्याम्पस पढ्न पाउनुभएन । पछि गएर उहाँले महेन्द्र क्याम्पस धरानबाट प्राइवेट परीक्षा लेखेर आईए उतीर्ण गर्नुभयो । यही क्रममा आफ्नो गाउँ शिक्षाबाट वञ्चित भएको देखेर उहाँले आफ्नो पहलमा श्री केलिङ प्रा.वि. पनि स्थापना गर्नुभयो –त्यसको संस्थापक प्र.अ. भएर । ०४६ सालसम्म लगातार त्यही केलिङ प्रा.वि.मा अध्यापन गर्नुभएका उहाँले ०४६ देखि ०५२ सम्म श्री जलसिंह प्रा.वि. ह्वाकुमा अध्यापन पनि गर्नुभयो । यसपछि ०५२ मै हङकङतिर लाग्नुभएका उहाँ हाल इन्टरनेस्नल नेदरल्यान्ड ग्रुपमा कार्यरत हुनुहुन्छ । ०५७ देखि कियाचु हङकङको अध्यक्ष हुनुभएका अविचन्द्र इङनाम गत २००२ मार्च १७ को चुम्लुङ अधिवेशनबाट पुनः अध्यक्षमा चुनिनुभएको छ । हालसालै उहाँ हङकङबाट नेपाल आउनुभएको समयमा तान्छोप्पाका लागि लिइएको अन्तरवार्ताको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ । 

तपाइँ स्थायी शिक्षक कसरी विदेशिन पुग्नुभयो ? 
– हो मैले निक्कै स्कुलहरूमा लामो समयसम्म अध्यापन गरेँ । २०४५  सालमा स्थायी पनि भएँ । तर मैले शिक्षण पेशा छोडेर विदेशिन पुगेँ ।

म विदेशिनुमा २०४६ सालपछिको राजनैतिक परिवर्तनले ल्याएको नकरात्मक पक्ष जिम्मेवार छ । हामी स्वभावैले देश र जनताको विकास र संवृद्धिको लागि काम गर्न चाहन्छौँ । म पनि आफ्नो देश र समाज भनेपछि हुरुक्कै हुने मानिस हुँ । तर नेपालमा बहुदलीय व्यवस्था आएपछि राजनैतिक पार्टीहरूले यसलाई गलत ढङ्गले प्रयोग गरे ।

बहुदल आएपछि इच्छा अनुसारको पार्टीमा लाग्ने स्वतन्त्रता त जरुर हुन्छ । तर खासमा यसमा नकारात्मक कुराहरू बढी देखिए । एमालेमा लागेको मान्छे, काङ्ग्रेसमा लाग्ने मान्छेसँग नबोल्ने, काङ्गे्रसमा लागेको मान्छे एमालेमा लाग्ने मान्छेसँग नबोल्ने, असहयोग गर्ने, हिजोका आफन्तहरू टाढिँदै जाने आदि जस्ता प्रवृत्तिहरू बढ्दै गयो । हुँदा हुँदा काटमार गर्नेसम्मका घटनाहरू पनि घट्न थाले । यो देखेर मलाई साह्रै दुःख लाग्यो । मेरो मन गाउँघरमा अडिएन । अनि म मन बहलाउन देशपरदेश घुम्न निस्केको हुँ ।

कसरी तपाइँं हङकङ नै पुग्नुभयो त ? हङकङको बसाइ कतिको सन्तोषजनक छ त ? 
–  म एक पटक हङकङ घुमफिरको लागि गएको थिएँ । त्यसपछि मलाई त्यो ठाउँमा पुनः जान मन लाग्यो । अनि चाहिँ आई.डी.को प्रक्रिया मिलाई सपरिवार म त्यहाँ पुगेँ । यहाँ पहाडमा बसेको मानिस हङकङमा गएर बाँच्न गाह्रो होला जस्तो लागेको थियो । तर सहज रूपमा त्यहाँको वातावरणमा घुलमिल हुन सकियो । छोटो समयको लागि गएको भए पनि आज–आज, भोलि–भोलि भन्दै हङकङ बसाइ निक्कै लामो भएकोछ । तर जे भए पनि हङकङ बसाइ प्रति मेरो कुनै पश्चात्ताप छैन । किनभने म त्यहाँ पनि नेपालमा जतिकै सामाजिक सेवामा नेपाली दाजुभाइहरूको सेवामा जुट्ने अवसर पाएको छु जसले गर्दा म छुट्टै देशमा छु जस्तो लाग्दैन ।

हङकङ चुम्लुङको नेतृत्व तहमा कसरी पुग्नुभयो त ? 
–  म नेपालमै रहँदा पनि सामाजिक सेवामा बढी नै रुचि राख्ने गरेको थिएँ । क्लबहरू स्थापना गर्नेदेखि स्कुल खोल्नेसम्म काम पनि गरेको थिएँ । यो पक्षले पनि हङकङ चुम्लुङमा प्रवेश गर्नको लागि मानसिक आधार तयार पारेको थियो । हङकङ बसाइ क्रममा नेपालबाट जानुभएका  थुप्रै याक्थुङबा साथीहरूसँग पनि सम्पर्क भैरहने नै भयो । यही क्रममा भगत सुब्बा लगायतका साथीहरूले हङकङ चुम्लुङमा मैले काम गर्नै पर्ने प्रस्ताव राख्नुभयो । सुरुमा त मैले इन्कार गरेँ । किनभने हङकङको लागि म नयाँ थिएँ । तर उहाँहरूले साह्रै जोड गर्नुभयो । पछि मैले उहाँहरूको प्रस्तावलाई स्वीकारेँ । र चुम्लुङको अध्यक्ष भएँ ।

हङकङका लिम्बू दाजुभाइहरू बीचमा हङकङ चुम्लुङको उपस्थिति कस्तो रहेको छ ? हङकङ चुम्लुङको इतिहास पनि संक्षेपमा बताइदिनुहोस्  न । 
–  हङकङ चुम्लुङ हङकङमा दर्ता भएको लिम्बूहरूको आधिकारिक संस्था हो । यसले हङकङमा रहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरूलाई एकापसमा भेटघाट गर्ने, दुःखसुख बाँड्ने एउटा मञ्च प्रदान गरेकोछ ।यसका साथै लिम्बू भाषा, साहित्य, संस्कृतिको संरक्षण,विकास आदि काममा लाग्ने अवसर पनि प्रदान गरेकोछ । हङकङ चुम्लुङले । वास्तवमा हङकङका लिम्बूहरूलाई एकै ठाउँमा ल्याउने काम हङकङ चुम्लुङले गरेको छ र नेपाल र हङकङका लिम्बूहंरू बीच पु्लको काम गरेकोछ । हङकङ चुम्लुङले हङकङमा रहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरू मात्र हैन अन्य नेपालीहरूको लागि पनि उत्तिक्कै सहयोगी भूमिका निभाएकोछ । सारमा हङकङ चुम्लुङको उपस्थिति हङकङमा बसोबास गर्ने लिम्बूहरूको बीचमा ज्यादै सौहाद्र्र एवम् सघन छ । चुम्लुङ याक्थुम्बा दाजुभाइहरूको परदेशको अभिभावककै  रूपमा स्थापित भएकोछ ।

यसको इतिहासको सन्दर्भमा कुरा गर्दा सन् १९९६ मा इमानहाङ दाइ र उहाँका समकालीन लिम्बू दाजुभाइहरूले हङकङ चुम्लुङको अवधारणा अघि सार्दै किरात याक्थुङ चुम्लुङ हङकङको गठन गर्नुभएको रहेछ । इमानहाङ दाइलाई त्यसबेला सहयोग गर्नेहरूमा पदम चेम्जोङ, अम्बर कुरुम्बाङ, गणेश इजम आदि अग्रजहरू हुनुहुन्थ्यो । इमानहाङ दाइपछि भक्त मादेन अध्यक्ष भएर चुम्लुङ हाँक्नु भएको हो । उहाँ पछि त म नै २०५७ पुसदेखि निरन्तर चुम्लुङको अध्यक्ष रहिआएको छु ।

हङकङ चुम्लुङले के कस्ता कामहरू गरेकोछ ? त्यसबारेमा केही बताइदिनुहुन्छ कि ? 
–  हङकङ चुम्लुङले लिम्बूहरू को हुन ? उनीहरूको परिचय के हो ? भन्ने कुरा अरुलाई चिनाउने काममा जोड दिएकोछ । लिम्बूहरूको संस्कृति के हो ? गीत सङ्गीत कस्तो छ ? उनीहरूको भेषभुषा कस्तो छ ? बाजागाजा कस्तो छ ? आदि विषयबारे जानकारी गराउने उद्देश्यले किरात याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । हाम्रा लोकबाजा कोम, के, गरगहनाहरू साम्याङफुङ, चन्द्रहार आदि नेपालबाटभ झिकाई प्रदर्शन गर्ने काम पनि भएको छ । चुम्लुङको पहलमा या?लाङ, केलाङ आदि कार्यक्रम विभिन्न अवसरमा प्रदर्शन गर्ने काम भएकोछ । यस्ता कार्यक्रमहरू प्रदर्शन गर्नुमा हाम्रा दुईवटा उद्देश्यहरू रहेका छन् । एउटा हो– अन्य जातजातिहरूको माझमा लिम्बू र लिम्बूहरूको भाषा, संस्कृतिलाई चिनाउने र दोस्रो हो– हङकङमा बस्ने लिम्बू समुदायकै नयाँ पुस्ता जसले लिम्बू संस्कृति देख्न पाएको हुँदैन । उनीहरूलाई देखाउने मात्र हैन ती संस्कृतिहरूलाई उनीहरूमा हस्तान्तरण गर्नु ।

हामीले यसरी लिम्बू संस्कृति सम्बन्धी कार्यक्रमहरू प्रस्तुत गरेपछि हङकङमा बस्ने अन्य जातिका नेपालीहरू जसले मन पराएर चुम्लुङमा पत्र लेखी निमन्त्रणा गरी कार्यक्रमहरू देखाउन अनुरोध भैआएका छन् । त्यसैगरी स्थानीय हङकङका संस्थाहरू मात्र हैन हङकङ सरकारले समेत चुम्लुङलाई आमन्त्रण गरी लिम्बू संस्कृति  देखाउने अवसर प्रदान गर्दै आएकाछन् । यस्तो कुराले हङकङ चुम्लुङ ज्यादै उत्साहित भएको छ ।

यस बाहेक लिम्बू भाषा साहित्यको उत्थानकोलागि पनि हामीले त्यत्तिक्कै ध्यान दिएका छौँ । चुम्लुङ गतिविधि सार्वजनिक गर्ने र लिम्बू भाषा साहित्य विकासमा टेवा पु¥याउन सेक्मुरी प्रकाशित गर्दै आएकाछौँ ।

हङकङ चुम्लुङको आगामी कार्यक्रमहरू के के छन् ? 
– लिम्बू विभूतिहरूको जन्म जयन्ती मनाउने याक्थुम्बा तङनामहरू मनाउने लिम्बू सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने, लिम्बू भाषामा साहित्यिक गोष्ठीहरू सञ्चालन गर्ने, चुम्लुङ दिवस मनाउने आदि कार्यक्रमहरू हङकङ चुम्लुङले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत समावेश गरेकोछ । यिनै कार्यक्रमहरू नै चुम्लुङका आगामी कार्यक्रमहरू हुन् ।

गत मार्च १७ को चुम्लुङ अधिवेशनबाट पुनः तपाइँं चुम्लुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । चुम्लुङलाई अगाडि बढाउन के के योजना बनाउनुभएकोछ ? 
– मेरो त्यस्तो व्यक्तिगत योजना छैन । किनभने हङकङ चुम्लुङ सामुहिक नेतृत्वमा चलेको संस्था हो । त्यसैले हामीले सामुहिक रूपमै योजनाहरू बनाएका छौँ । यी कुराहरू हङकङ चुम्लुङको कार्यक्रमहरूमा  उल्लेख भएकै छन् । यस भन्दा बढी हामीले हङकङ चुम्लुङलाई अझ संस्थागत र विस्तार गर्ने योजना बनाएकाछौँ ।

यसै गरी हङकङमा रहेका लिम्बू दाजुभाइ दिदीबैनीहरूको तथ्याङ्क संकलन गर्ने, उनीहरूको शैक्षिक एवम् अन्य विवरण तयार गर्ने योजना पनि बनाएका छौँ । सबैभन्दा महत्वपूर्ण कुरा हामीले हङकङ चुम्लुङ र नेपाल चुम्लुङ बीचको सम्बन्धलाई प्रगाढ बनाउने हाम्रो योजना रहेको छ । कतिपय साझा सवालमा हामी दुवै संस्थाहरू सामुहिक रूपमा काम गर्ने हाम्रो चाहना छ । यही सन्दर्भमा गत जेठ २५ गते किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय सचिवालयका पदाधिकारीहरूसँग बैठक सम्पन्न भई विभिन्न सहमतिहरू भएकाछन् । यी सहमतिहरू नेपाल चुम्लुङ र हङकङ चुम्लुङले कार्यान्वयनमा ल्याउन थालेपछि हामीले गुणात्मक फड्को मार्न सक्छौँ भन्ने आशा गरेकाछुैं ।

हङकङ चुम्लुङले स्थापना गर्न लागेको लिम्बू शिक्षा संस्कृति तथा कला विषयमा हङहङ चुम्लुङले स्थापना गर्न लागेको पुरस्कार बारेमा बताइदिनुहुन्छ कि ? 
हङकङ चुम्लुङको एकमात्र स्वार्थ लिम्बूहरूको संवृद्धि, लिम्बू भाषा, साहित्य, कला र संस्कृतिको प्रगति हो । हामी यही कुराबाट अभिप्रेरित भएर लिम्बू शिक्षा संस्कृति तथा कलाका विषयमा काम गर्ने लिम्बू साधक साधिकाहरूलाई सम्मान गर्ने र यस्ता प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ यो पुरस्कारको लागि अक्षयकोष खडा गर्ने योजना हङकङ चुम्लुङले बनाएको हो । यो पुरस्कर  सञ्चालनमा किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ  हङकङ बीच संयुक्त रूपमा काम गर्ने भए पनि अक्षयकोष हङकङ चुम्लुङले नै स्थापना गर्न लागेको हो । यसले लिम्बू भाषा मात्र हैन त्यस्ता कार्यमा लाग्ने लिम्बू प्रतिभाहरू प्रोत्साहित हुने आशा गरेकाछौँ ।

नेपाल बाहिरबाट हेर्दा किरात याक्थुङ चुम्लुङ नेपालको गतिविधिलाई के कस्तो पाउनुभएको छ ?
– किरात याक्थुङ चुम्लुङ नेपाल उसका ऐतिहासिक कामहरूको कारणले लिम्बू समुदाय बीचमा एक निर्विकल्प संस्थाको रूपमा स्थापित भएको पाएको छु । यसले भाषा साहित्यको विकासको लागि र लिम्बूहरू बीच सम्बन्ध कायम गर्न तान्छोप्पा साप्ताहिक निरन्तर प्रकाशन गर्दै आएकोमा अब आएर अङ्ग्रेजीमा चुम्लुङ बुलेटीन पनि प्रकाशन गर्न थालेको रहेछ । भाषा साहित्यको विकासको लागि विभिन्न अवसरमा साहित्यिक गोष्ठी र कार्यक्रमहरू पनि गरिरहेको जानकारी पाइरहेको छु । कक्षा पाँच सम्मको लिम्बू भाषाको पाठ्यपुस्तक आनीपान प्रकाशन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । हालसालै उच्च शिक्षामा पनि लिम्बू भाषा पठनपाठनका लागि पाठ्यक्रम विकास गर्न चुम्लुङले पहल गर्दै गरेको कुरा सुनेर म ज्यादै हर्षित भएकोछु । काठमाडौँ र पूर्वाञ्चलमा एफ.एम. कार्यक्रम सञ्चालन चुम्लुङले गर्ने कुरा पनि मैले सुनेको छु । यी बाहेक लिम्बू संस्कृति,कला,परम्परा आदि विकास गर्न पनि चुम्लुङले त्यतिकै काम गर्दै आएको हामीले पाएकाछौँ । किरात याक्थुङ चुम्लुङ नेपालका यी सबै कामहरूले नै नेपाल चुम्लुङको सशक्तता प्रष्ट पारेको छ । हामीले नेपाल चुम्लुङलाई स्वदेशी र विदेशी लिम्बूहरूको लागि आस्थाको केन्द्र भएको पाएको छौँ ।

हङकङमा बसेर अवलोकन गर्दा लिम्बू भाषा र साहित्यको विकास के कति भएको पाउनुभएको छ ? 
– लिम्बू् भाषा श्रुति परम्परामा अत्यन्त सम्वृद्ध भाषा हो । करिब दुई सय वर्षदेखि यी श्रुतिपरम्पराका सामग्रीहरू अर्थात् मुन्धुम पालाम आदिलाई लेख्य परम्परामा ढाल्ने मात्र हैन आधुनिक साहित्य लेखन पनि त्यतिकै भएकोछ । लिम्बू साहित्यले त्यअङसी सिरिजंगा,लालसोर सेन्दाङ, इमानसिंह चेम्जोङ जस्ता ऐतिहासिक पुरुषहरू जन्माएको थियो र वर्तमान अवस्थामा पनि प्राज्ञ वैरागी काइँला, काजीमान  कन्दङवा, येहाङ लाओती, बी.बी. मुरिङला आदि प्रतिभाहरू जन्माएको छ । यिनै साहित्यकारहरूले सृजना गरेको साहित्यले लिम्बू साहित्य भण्डार परिपूर्ण भएको छ । लिम्बू साहित्य विकास तीब्र गतिमा भैरहेको छ । लिम्बू साहित्यकारहरूबाट हुनुपर्ने साहित्यिक काममा कुनै कमी छैन, सोचे भन्दा बढी नै भएको छ । लिम्बू लगायत अन्य जनजाति भाषा तथा साहित्यको विकास सङ्घ उत्थानमा सरकारले अपेक्षित सहयोग गरेको देखिन्न । सरकारले सबै भाषाभाषीलाई विकास गर्न नेपाली भाषा सोसरह मान्यता दिइनुपर्छ । लिम्बू साहित्य को सन्दर्भमा भन्नुपर्दा गलत सरकारी नीतिका बावजुद उत्साहजनक प्रगति गरेकोछ ।

भाषाभाषी तथा तिनको साहित्यको विकासको लागि सरकारले ती भाषाभाषी माथि कुदृष्टि राख्नुभएन । भाषाभाषीको लिपि तथा साहित्यलाई मान्यता दिइनुपर्दछ । ती भाषाभाषी पढ्ने लेख्ने मानिसलाई अवसर प्रदान गरिनुपर्छ । यसकोलागि सबै भाषाभाषीका मानिसहरू सामुहिक रूपमा दबाव दिनुपर्छ । यसरी सरकार र सम्बन्धित भाषा बोल्नेहरूले सामुहिक रूपमा प्रयास गरेमा मात्र भाषा तथा साहित्यको पूर्ण विकास हुनसक्नेछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? 
– अन्त्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदीबैनीहरूलाई लिम्बू भाषा, साहित्य, धर्म, संस्कृति, परम्परा,कला आदिको संरक्षण र विकास गरौँ र हाम्रा भावी पुस्तालाई हाम्रा पूर्खाहरूले हामीलाई हस्तान्तरण गरे जस्तै सकुशल हाम्रा पूर्खाका विरासत हस्तान्तरण गरौँ भन्ने कुरा अनुरोध गर्न चाहन्छु ।

तान्छोप्पा, वर्ष ७, अङ्क ७,  बिहिबार, २ साउन २०५९ ।  (25 July 2002) । 

हाम्रो मौलिकता बचाई राख्नको लागि व्यक्ति, परिवार र समाज नै सचेत हुनुपर्छ - चन्द्र लक्सम्बा

हाम्रो मौलिकता बचाई राख्नको लागि व्यक्ति, परिवार र समाज नै सचेत हुनुपर्छ 

- चन्द्र लक्सम्बा  


चन्द्र लक्सम्बा आशवहादुर लक्सम्बा र मक्सु काङभा बक्खिम्माका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको जन्म  कन्जारी, सिकैचामा भएको हो । कञ्जारीको स्थानीय स्कुल तत्कालीन सरस्वती प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएको थियो । उहाँ सो प्रा.वि. स्थापना हुँदादेखिको प्रथम ब्याचको विद्याथी हुनुहुन्थ्यो र अहिले पनि उहाँले चित्राले छाएको र चित्राले नै बारेको पिङडाँडाको वरमुनिको स्कुल झल्झली सम्झिरहनुभएको छ । उहाँले कक्षा ६ भने तिरिङ्गेको कालिका नि.मा.वि.मा पढ्नु भयो भने कक्षा ७ देखि कक्षा १० सम्म भानु मा.वि. अम्बिटारमा पढ्नुभयो । उहाँले २०३३ सालमा एस.एल.सी. उत्तीर्ण गर्नुभएपछि अमृत साइन्स क्याम्पसमा आई.एस.सी. गर्नुभयो र बी.एस.सी.अध्ययन गर्दागर्दै ब्टििस मिलिटरी हस्पिटलमा करीब २ वर्ष (२०३८–४० सम्म) काम गर्नुभयो । यसअघि उहाँले एस.एल.सी. गरे लगतै २०३३ तिर उहाँले कुञ्जारी स्कुुलमै अध्यापन पनि गर्नुभयो । ब्रिटिश मिलिटरी हस्पिटलमा काम गर्दागर्दै उहाँ ब्रिटिस आर्मीको क्लर्कमा जागीरमा भती भई लाहुरे जीवन शुरु गर्नुभयो । ९ वर्षको क्लर्क जीवनपछ उहाँ साधारण वा जनरल ड्युटिजमा सरुवा भई गत साल पेन्सनमा निस्कनु भएको हो । जागिर खाने क्रममै उहाँले पश्चिमी दर्शन (Western Philosophy) विषयमा बी.ए. गर्नुभयो । यसरी नै पब्लिकि पलिसी एण्ड मेनेजमेन्ट विषयमा सोआस युनिभर्सिटी अफ लन्डन (School of Oriental & African Studies, University of London) मा मास्टर डिग्री गर्नुभएको छ । हाल उहाँ The Relationship Between the Education Policy and Practice of Lifelong Learning in Nepal विषयमा सरे विश्वविद्यालय युकेबाट पी.एच.डी. गर्दैहुनुहुन्छ । हालसालै नेपाल आउनुभएको वेला उहाँसँग विविध विषयमा गरिएको कुराकानीको महत्वपूर्ण अंशहरू पाठकहरूसमक्ष प्रस्तुत गरिएको छ ।

तपाईंको पी.एच.डी.को शोधपत्रले तपाईंलाई प्रमाणपत्र त दिन्छ तर यसले देश र समाजलाई के दिन्छ ?
- अहिलेको विश्व व्यापीकरण (Globalization) ले नेपालमा राम्रो कुरा पनि ल्याउन सक्छ, नराम्रो कुरा पनि ल्याउन सक्छ । राम्रो कुराको राम्रो प्रभाव हुन्छ तर नराम्रो कुराको नराम्रो असर हुन्छ । नेपाल विश्व व्यापार संगठन (World Trade Organization /WTO) को सदस्य भइसक्यो । नेपाल अब विश्वव्यापीकरणको प्रभावबाट मुक्त रहन सक्दैन । त्यसमा पनि नेपाल गरिब मुलुक भएकाले विश्वाव्यापीकरणको राम्रोभन्दा नराम्रो कुराले बढी चलखेल गर्नेछ । तर त्यो नकरात्मक पक्षको सामना कसरी गर्ने भन्नेबारेमा सरकारले पनि सोचेको छैन । विश्व व्यापार संगठनमा प्रवेश गर्दा सरकारले मुलुकका धनी व्यापारी र इकोनोमिस्टहरूलाई मात्रै ध्यान दिएको छ, अन्य पक्षलाई वास्ता गरेको छैन । मुलुकको परम्परा र संस्कृतिको बारेमा ध्यान दिइएको छैन जुन वास्तवमै अमूल्य सम्पति हुन् । अव विदेशी संस्कृतिले बेरोकटोक प्रवेश गर्ने छ । जस्तो कि म नेपाल ईस्वी सन्को नयाँवर्ष र क्रिस्मस धुमधामसँग मनाइएको पाएँ, सञ्चारमाध्यमले पनि त्यतिकै प्रसारण गरेको पाएँ । यसले हाम्रो साल सम्बतहरू, चाडपर्वहरू छायामा पार्दै जाने र अन्त्यमा समाप्त पार्ने छ । अन्य परम्परा र संस्कृति जस्तै लिम्बू परम्परा, संस्कृति र धर्ममा पनि त्यस्तै अवस्था आजको विश्वव्यापीकरणले ल्याउने छ ।

त्यस्तो खतराबाट हाम्रो मौलिकता बचाई राख्नको लागि व्यक्ति, परिवार र समाज सचेत हुनपर्छ । तर यस्तो सचेतनता अहिले प्रयोगमा भएको औपचारिक र अनौपचारिक शिक्षाले मात्र पूरा गर्न सक्दैन । त्यसैले औपचारिक (formal), आनैपचारिक (non-formal), अनुपचारिक (informal) र अनुभव लागाएर समाजलाई सचेत पारियो भने हाम्रो जातिगत मौलिक परम्परागत तथा सांस्कृतिक निधिहरूलाई विश्व व्यापीकरणबाट बचाउन सकिन्छ । यही अनुसार मुलुक अगाडि बढ्नुपर्छ । यही कुरा नै मेरो शोधपत्रको मुख्य योगदान  हुने छ मुलुक वा समाजलाई । मैले यो शोधपत्रमार्फत अगाडि सारेको सिद्धान्तलाई 'जीवन पर्यन्त शिक्षा' (Lifelong Learning) भनिन्छ।

विश्वव्यापीकरणले नेपालको कुनकुन कुरालाई सारै हानी पु¥याउँछ ? यसको परिणम कस्तो होला ? 
- विश्वव्यापीकरणले मुलुकको आर्थिक पक्षलाई त असर गर्छगर्छ, यहाँका इकोनोमिस्ट वा सरकारी अधिकारीहरू जेसुकै गरे पनि उनीहरूको केही लाग्ने छैन । यसबाहेक मुलुकको परम्परा, संस्कृति जगायत सबै पक्षमा यसले असर गर्छ । तर हाम्रो मुलुकको शासकहरूले पैसा मात्र सबै कुरा हो भन्ने भ्रम पालेका छन् र त्यतैतिर मात्र उनीहरूको ध्यान गएको छ । तर देशको सम्पति भनेको पूँजी (Capital), परम्परा (Tradition), संस्कृति (Culture) र धर्म (Religion) हो । शासकहरूले पछिल्ला तीनवटा कुरालाई वास्ता गरेका छैनन् । यी तीनवटा कुराहरू चहिँ पैसा वा पूँजीभन्दा अमूल्य चीजहरू हुन् । त्यसैले विकासको कुरा गर्दा यी चारै पक्षको समानान्तर विकासलाई बुझ्नपर्छ र सोहीअनुसार योजना बनाउने र कार्यान्वयन गर्ने गर्नुपर्छ । तर मुलुकका जिम्मेवार पक्षहरू यसबारेमा अनभिज्ञ देखिन्छन् । त्यसैले हाम्रो मुलुकको आर्थिक संरचना त स्वतः बाहिरिया प्रभावमा पर्ने नै छ । योभन्दा बढी हाम्रो धर्म, संस्कृति र परम्परा तहसनहस हुने खतरा छ । कालान्तरमा हाम्रो समाज नैतिक चरित्रहीन, यता न उताको हुनेछ । मानिस भीडमा पनि नितान्त एक्लो हुनेछ । छरछिमेकी, नातागोताको त के कुरा श्रीमान्, श्रीमतीको सम्बन्ध पनि पैसामा आधारित हुनेछ, मानवता समाप्त हुनेछ । पाश्चात्य मुलुकमा देखिएका घटनाहरूलाई उदाहरणको रुपमा लिन सकिन्छ । जस्तो कि बाबु सिकिस्त विरामी भएर अस्पतालमा राखिएको हुन्छ र मर्ने अवस्थामा छ तर छोरा वा छोरीले अस्पताल वा नर्सिङहोममा फोन गरेर भन्छ, "राती केही भयो भने मध्यरातमा फोन गरेर डिस्टर्व नगर्नु होला ।" हो यस्तो संस्कृति चाहिँ हाम्रो समाजमा नआवस् । तर विश्वव्यापीकरणले यही कुरा ल्याउने छ किनभने विश्वव्यापीकरणले राम्राभन्दा नराम्रा कुरा बढी मात्रामा हाम्रो जस्तो गरीव मुलुकमा ल्याउने छ र हाम्रो अगुवाहरूको पैसालाई मात्र ध्यान दिने र संस्कार, संस्कृतिलाई वास्ता नगर्ने व्यवहारले यसलाई मलजल गरेको छ ।

तर हाम्रो दायित्व हाम्रो समाजलाई यो भड्खालोमा जानबाट रोक्नुपर्छ । यसको लागि जीवनपर्यन्त शिक्षा (Lifelong Learning) प्रयोग गर्नुपर्छ । यो शिक्षाले चरम व्यक्तिवादीकरणलाई रोक्छ । विकसित देशहरूले जीवनपर्यन्त शिक्षालाई विश्वव्यापीकरणसँग बौद्धिक पूँजी (Knowledge Economy) को विकासमा बढी जोड दिएका छन् । यसपछि सञ्चार प्रविधि (Information Technology) को विकासमा जीवनपर्यन्त शिक्षाको प्रयोग गरेका छन । तर हाम्रो जस्तो विकासोन्मुख मुलुक जहाँ १२५ भाषा बोलिन्छ , ६१/६२ आदिवासी जनजातिहरू वसोवास गर्ने देशमा थुप्रै भाषा, धर्म, संस्कृतिहरू छन् । तिनीहरूको संरक्षण गर्न हामीले जीवनपर्यन्त शिक्षाको प्रयोग गर्नुपर्छ । जीवनपर्यन्त शिक्षा अर्थात् औपचारिक, अनौपचारिक, अनुपचारिक र अनुभवको समग्रताले मात्र हामी विश्वव्यापीकरणबाट आउने नकरात्मक कुराहरू रोक्दै हाम्रो मौलिक भाषा, साहित्यm धर्म, संस्कृति, परम्परालाई बचाउन सक्छौं । तर यसतर्फ सरकारको ध्यान गएको छैन ।

तपाईंले अगाडि सानुृभएको सिद्धान्तले हामीलाई कसरी पद्दत गर्छ ? 
– हाम्रो सन्दर्भमा लिम्बू भाषाको पठनपाठन औपचारिक र अनौपचारिक दुबै तरिकाले भइरहेको छ । यसबारेमा अझै सिङ्गै समुदायलाई सचेत गराई औपचारिक शिक्षा स्कुल÷क्याम्पसमा औपचारिक वा प्रौढ शिक्षाको माध्यमबाट र अनुपचारिक वा व्यवहारिक प्रयोग गरी हाम्रो भाषाको संरक्षण गर्न सक्छौं । भाषाशास्त्रीहरूका अनुसार हाम्रा मातृभाषाहरूको संरक्षण नगरेमा सन् २०५० सम्ममा अमेरिकी अंग्रेजी, स्पेनिस, चाइनिजमा म्यान्डरिनको मात्र वर्चश्व रहने छ र अन्य मातृभाषाहरू लोप हुनेछन् । भाषा संरक्षण गर्नको लागि स्कुल वा क्याम्पसमा पढाएर मात्र हुँदैन किनभने सबै जनताहरू स्कुल वा कलेज जाँदैनन् । त्यसैले औपचारिक, अनौपचारिक र अनुपचारिक माध्यमबाट भाषा सिक्ने सिकाउने गर्नुपर्छ । यसको लागि सिङ्गै समाज सचेत बनाउनुपर्छ अनि सकारात्मक अनुभवलाई प्रसार गर्ने गर्नुपछ । अर्को कुरा हामीले हाम्रो मौलिकतालाई बचाउनुपर्छ र विकासक्रममा अगाडि पनि बढ्नै पर्छ । उदाहरणको लागि विकसित भइयो भन्दैमा हामी केही माग्नेक्रममा सुर्केपुङ लगाउन जाँदा हामीले चुन्दाराले बनाएको काठको चौठोमा घरमै पारेको रक्सी नै लानुपर्छ, हामीसँग सिलप्याक गरेको स्कच हुस्की छ भन्दैमा त्यो लानु हुन्न । हामीलाई विश्वव्यापीकरण (Globalization) ले चौठोमा घरेलु रक्सी बोक्नुको सट्टा सिलप्याक हुस्की बोक्न उत्प्रेपिरत गर्छ । यसबाट बच्नु नै मैले अगाडि सारेको जीवनपर्यन्त शिक्षाको उद्देश्य हो ।

नेपाल डब्लुटीओको सदस्य भइसकेको अवस्थामा लिम्बूहरूले प्रयोग गर्ने मर्चा लगायतका मौलिक वस्तुहरूको पेटेन्ट राइट लिनुपर्छ भन्ने कुरा उठिरहेका छ । यसबारेमा तपाईका के विचार छ ? 
– सर्पगन्धा, निम, हलेदो जस्ता वस्तुहरूको जेनेटिक मोडिफिकेसन गरी अमेरिकाले पेटेन्सी लिइसक्यो । त्यसरी नै मर्चाको पनि फर्मेशनको कुरा आउँछ, केमिकलको कुरा आउँछ । त्यसैले मर्चाको बनाउने विधिलाई आफ्नो अनुकूल बनाएर त्यसको पेटेन्सी लिन पनि अमेरिकाले बेर लिन लाउँदैन । यसको लागि  हामीले बिना ढिलाई काम गर्नुपर्छ । यसको लागि आफ्नो सामानमाथिको आफ्नो अधिकार कायम गर्नका लागि चेतनाको विकास गर्नुपर्छ । एकजना व्यक्तिमा मात्र हैन सिङ्गै समाज मै यस्तो चेतनाको विकास हुनुपर्छ ।

तपाईंको सिद्धान्त कसले लागू गरिदिन्छ ? सरकारले, संघसंस्था वा व्यक्तिले ? 
– अँ, यसमा समस्या छ । तर पनि जीवनपर्यन्त शिक्षालाई ध्यानमा राखेर सामुदायिक सिकाइ (Community Learning Centre/CLC) केन्द्रहरू २०५ निर्वाचन क्षेत्रहरूमा खोल्दै छ । सरकारको लक्ष्य अनौपचारिक शिक्षण संस्थाहरूले सम्बोधन गर्न नसकेको पक्षहरू स्थानीयकरण (Contextualize) गरी कार्यान्वयन गर्ने रहेको छ । सामुदायिक सिकाइ केन्द्रको अवधारणा अगाडि सार्ने व्यक्ति प्रोफेसर जाविस हुन् । अहिले नेपालमा निर्वाचन क्षेत्रको आधारमा खोल्न लागिएको सामुदायिक सिकाइ केन्द्रहरूले कुनै खास योगदान पु¥यालान जस्तो लाग्दैन किनभने एउटा निर्वाचन क्षेत्रको एउटा मात्र खोलिन लागेको त्यो कार्यक्रम लागू गरेर के परिवर्तन आउला र ? उदाहरणको लागि ताप्लेजुङको क्षेत्र नं. १ मा एउटा सामुदायिक सिकाइ केन्द्र खोल्ने तर कहाँ खोल्ने ? थेचम्बूमा खोलियो भने मामाङ्खे या याम्फुदेनका मानिसहरू सहभागी हुन सक्लान अथवा खेवाङ वा सुरुङखिममा खोलेमा नाङ्खोल्याङ वा हाङदेवाका सहभागी हुन सक्छन् ? नीतिगत रुपमा सामुदायिक सिकाइ केन्द्र लागू गर्ने कुरा राम्रो छ तर व्यवहारिक रुपमा गएर हेर्ने हो भने यसले कुनै राम्रो परिणाम दिने छाँटकाँट देखिँदैन । यो कार्यक्रममा युनेस्को लागिरहेको छ तर त्यो कार्यक्रमले समस्यालाई सम्बोधन गर्न सक्दैसक्दैन ।

यसलाई व्यवहारिक बनाउने कुरामा सम्बन्धित पक्षहरूलाई सुझाव दिनुभएको छ ? 
– युनेस्कोको सहायक निर्देशक जोन डेनललाई मैले सेमिनारमा भेट्दा यसबारेमा छलफल भएको थियो र उहाँले मलाई सामुदायिक सिकाइ केन्द्र (सीएलसी) नेपालमा लागू हुन लागेको कुरा सुनाउनुभयो तव मैले माथि भनेकै कुरा सुनाएँ कि भौगोलिक दृष्टिले १ निर्वाचन क्षेत्रमा एउटा सीएलसी कार्यक्रम हात्तीको मुखमा जीरा मात्र हुन्छ । तर उहाँले नेपाल सरकारको शिक्षा मन्त्रालयले निर्वाचन क्षेत्रको आधारमा नै उपउक्त छ भनी पठाएको छ भनी मलाई बताउनुभयो । समस्या बुझेपछि उहाँ चकित पर्नुभयो । यही कुरा त्रिभूवन विश्वविद्यालयका प्रोफेसरहरू, अनौपचारिक शिक्षाका निर्देशकहरूलाई बारम्बारको भेटमा भनेको छु कि, “तपाईंहरूले कार्यक्रममा सुधार ल्याउनु भएन भने नयाँ शिक्षा असफल भए जस्तै यो कार्यक्रम पनि असफल हुनेछ ।” वास्तवमा नेपालको शिक्षा नीति र त्यसको व्यवहारिक पक्षको सम्बन्धमा कुनै तालमेल छैन ।

नेपालमा शिक्षासम्बन्धी नीति बन्छ तर कार्यान्वयन छैन । उदाहरणको लागि युनेस्कोले आआफ्नो मातृभाषामा प्राथमिक शिक्षा उपलब्ध गराउने भनेको छ । तर व्यवहारमा नेपाल सरकारले यसलाई कार्यान्वयन गरेको छैन । यसबारेमा मैले शिक्षा सचिवलाई पनि भनेको छु । म मेरो अध्ययनको एउटा क्षेत्र कुञ्जारीकै कुरा गरौं । कुञ्जारीमा ८८ लिम्बू घर छन्, ३ घर बाहुन, २ घर क्षेत्री र २÷३ घर कामी दमाईहरूको घर छ । त्यहाँ लिम्बू भाषाको पढाइ भइसक्नु पनेै हो तर अहिलेसम्म भएको छैन । शिक्षक कोटा छैन, भाषा शिक्षक छैनन्, शैक्षिक सामग्रीको उपलब्धता पनि छैन ।

विद्यालय शिक्षा भनेको निर्धारित प्रारुप (Structure) मा आधारित शिक्षा हो । यसमा सेन्सर हुने हुनाले यदि लिम्बू भाषा पढाइ भए पनि मातृभाषा सम्बन्धी सबै ज्ञान पाउन सक्दैनौ । त्यसैले अनुभवलाई समेत समेटेर जीवनपर्यन्त शिक्षा हाम्रो समाजमा लागू गर्नै पर्छ । यसको लागि समाजमा जानै पर्छ । हाम्रो लक्षित क्षेत्र हाम्रो समाज हुनुपर्छ ।

विचारधाराको हिसावले तपाई क्रान्तिकारी कि यथास्थितिवादी ? 
– म दक्षिणपन्थी वा यथास्थितिवादी हैन रेडिकल हुँ । यो मेरो पूर्व राजनीतिक संलग्नताको विराशत हो । तर म अहिले कुनै राजनीतिक पार्टीको सदस्य छुइन र हुने पक्षमा पनि छैन । अव म प्राज्ञिक भएर तर क्रान्तिकारी प्राज्ञिक भएर रहन चाहान्छु ।

३५/३६ सालतिर सक्रिय रुपमा राजनीतिमा लागियो । त्यसवेला आमूल परिवर्तन (Complete Change) को पक्षमा थिएँ । तर अहिले धेरै अनुभवहरू सँगालेर यो अवस्थामा आउँदा सबै विषयमा सबै क्षेत्रमा समान रुपमा आमूल परिवर्तन राम्रो हुँदैन, कतिपय कुरामा उद्विकासको बाटो पनि आवश्यक छ र कतिपय पक्ष संरक्षण र सम्बद्र्धन गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिनु आवश्यक हुन्छ । समाजमा भएका कुरितिहरू पक्कै उखेल्नु पर्छ, त्यसमा मोलाहिजा गर्नु जरुरी छैन । तर पुरानो कुरा सबै नराम्रा हुँदैनन् र नयाँ कुरा सबै राम्रा हुँदैनन् । हाम्रो धर्म, संस्कृति, परम्परा जुन व्यक्ति र समाजका लागि सहायकसिद्ध छ र हुन्छ तिनीहरूलाई कुनै राजनीतिक पूर्वाग्रहविना संरक्षित गरिनुपर्छ।

अहिले किरात धर्ममा बहुलता आएको छ, विभाजन र विवाद आएको छ । यसको प्राकृतिक कारण छ । हरेक ठूला शक्ति वा वस्तुले साना वस्तुले आफ्नो वरिपरिका शक्ति वा वस्तुहरूलाई प्रभाव पार्दछ । त्यही कुरा किरात धर्ममा पनि लागू हुन्छ अर्थात् ज्यादै धेरैमात्रमा हिन्दू धर्मले किरात धर्मलाई प्रभाव पारेको छ । विवादको केन्द्र पनि त्यही विषयमा रहेको छ जस्तो लाग्छ । जे होस् म पहिला जस्तो पूर्ण परिवर्तनको पक्षमा म सशंकित छु । ७० वर्षपछि फेरि पनि धर्मकर्म व्युँतिएर आयो । सिङ्गै एक पुस्ताको समाप्तिपछि पनि आएको यो परिणाम सोच्नै पर्ने खालको छ । कम्बोडियामा राजतन्त्र नै पुनःस्थापित भयो । चाइनामा विस्तारै यो पक्ष विकास हुँदै गइरहेको छ । त्यसले हामीले निश्चित कुराहरू पूर्ण रुपले ध्वंश गरी नयाँ निर्माण गर्नुपर्छ तर केही त्यस्ता चीजहरू पनि हुन्छन् जसलाई हामीले संरक्षण गर्नुपर्छ जस्तो कि धर्म, संस्कार, परम्परा, आदि । तर त्यसमा भएका अन्धविश्वास र रुढीहरूलाई पनि संरक्षण गरिनुपर्छ, यो चाहिँ म भन्दिन । हामीले बीचको बाटो अपनाउनु पर्छ । दायाँतिर गयो भने विश्वव्यापीकरणले हामीलाई ध्वस्तै बनाउँछ अनि वायाँतिर जाँदा आमूल परिवर्तनको कुरा आउँछ, त्यसले पनि समाजमा स्थायित्व आउँदैन ।

वर्तमानको संकटग्रस्त राजनीतिक अवस्था के कारणले आयो होला ? 
– नेताहरू हिजो सिद्धान्त र व्यवहार दुबै रुपले राम्रा थिए । आज पनि उनीहरू सिद्धान्तको कुरा गर्दछन् तर व्यवहार साह्रै खतम छ । उनीहरूको लोभी लालची व्यवहारले आजको अवस्था आएको हो । बिद्रोह गर्ने जमातमा पनि दीर्घकालीन सोचभन्दा पनि यही अन्याय, अत्याचार, गास, वास, कपास, बिकृति, विसंगतिको कारणले उठेको विद्रोहो ज्वाला हो जस्तो लाग्छ । यसमा प्रत्यक्ष अप्रत्यक्ष सबै नेताहरूको हात रहेको छ र दोषको भागीदार छन् ।

हिजो तपाईं पनि विद्यार्थी नेता भएको कारणले आजको विद्यार्थी राजनीतिलाई कसरी हेर्नुभएको छ? 
– युवा विद्यार्थीहरू राजनीतिक पार्टीका गोटी हुने काम हिजो भयो र आज पनि भइरहेको छ । यसले सिङ्गै पुस्तालाई खतम पार्छ । राजनीतिक पार्टीहरू गाउँमा आफ्नो गतिविधि लान सक्देनन् अनि युवा विद्यार्थीहरूलाई आन्दोलनमा उतार्छन । ३६ सालमा पनि त्यही भयो अनि ४६ साल र हाल पनि त्यही भइरहेको छ, यसबारेमा नेता र विद्यार्थी दुवैले सोच्नुपर्छ । राजनीति जनतामा जनतासँग गर्ने हो विद्यार्थीहरुमा हैन ।

लिम्बू जातिको विकास कसरी सम्भव छ ? 
– अगुवा लिम्बूहरू जुनसुकै विचार धाराका होऊन्, जुनसुकै पार्टीमा काम गरुन् वा जुनसुकै स्थान, क्षेत्र वा मुलुकमा काम गरुन् तर सद्भाव भने कयम हुनुपर्छ । आआफ्ना क्षेत्रका अनुभवहरू चुम्लुङमा पूँजीकृत गर्नुपर्छ, लिम्बू समुदायमा केन्द्रिकृत गर्नुपर्छ, लिम्बू जातिको उत्थानमा लगाउनुपर्छ । आफ्नो विचार चुम्लुङ वा लिम्बू समुदायमा लाद्ने मनसाय कसैले लिनुहुन्न, बरु आफूले निस्वार्थ आफूले सकेको योगदान गर्नुपर्छ । अवस्य पनि लिम्बू समुदाय अगाडि बढ्छ । यस्तो सापेक्षतावादी व्यवहार र विचार आजभोलि केही मात्रामा देखिन थालेको छ । यो सकरात्मक हो ।

तान्छोप्पा, वर्ष ९, अङ्क २,   बिहिबार, ७ फागुन २०६० (19 February 2004) ।