नेपाली मातृभाषामा लेखिएका नेपाली साहित्यः एक सिंहावलोकन
- प्राज्ञ अमर तुम्याहाङपृष्ठभूमि
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक (धारा ३, नेपालको अन्तरिम संविधान, २०६३, छैटौँ संशोधन) मुलुक हो तर नेपाल राष्ट्रको यसप्रकारको पहिचानलाई दमित गरी राखियो । नेपाल एकीकरणको अभियानले लिच्छवि र मल्ल कालमा समृद्ध भएको नेपाल भाषालाई मात्र दबाएन खम्बुवान, लिम्बुवानमा भएका लिखित कागजातहरू सबै आगो लगाउने र लेखपढ गर्न नै प्रतिबन्ध लगाउने काम भयो । यो प्रक्रिया तत्कालीन अन्य राज्यरजौटाहरूमा पनि लागू भयो । वि.सं. १९०३ मा राणाशासन आरम्भ भएपछि यसले अझ चर्को रूप लियो । हिन्दू धर्म राज्यधर्म, हिन्दू संस्कृति राज्यको संस्कृतिको रूपमा जबर्जस्त लाद्ने काम भयो । आफ्नो मौलिक धर्म, संस्कृति, भाषा, साहित्यको पक्षमा काम गर्नेहरूले जेलनेल मात्र भोग्नु परेन कतिले त ज्यान नै गुमाउनु प¥यो ।जहानीय निरङ्कुश राणा शासन विरुद्ध भएको वि.सं. २००७ सात सालको क्रान्तिसँगै विराटनगरबाट आरम्भ भएको रेडियो नेपालमा खस नेपाली र नेपाल भाषामा समाचार प्रसारण भए पनि प्रजातन्त्रको अपहरण भई निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्था लागू भएपछि वि.सं. २०२२ सालदेखि नेपाल भाषामा प्रसारित हुने समाचार, कार्यक्रम र विज्ञापन समेत प्रसारण गर्न राजा महेन्द्रले प्रतिबन्ध लगाए (प्रा. माणिकलाल श्रेष्ठसँगको कुराकानीमा आधारित) । त्यसपछि पञ्चायती राष्ट्रवादले हिन्दीलाई सञ्चार माध्यममा प्रचारप्रसार गर्ने तर मुलुकका भाषाहरूलाई बन्देज लगाउने कुकृत्य ग¥यो । यसको परिणाम स्वरूप सन् १९६० को दशकपछि एक जात, एक भाषा र एक धर्मको नारा चर्को पारियो र आदिवासी जनजाति, मधेसी, अल्पसङ्ख्यकहरूको अस्तित्व र पहिचानको आन्दोलनलाई नकारात्मक रूपमा साम्प्रदायिक र विखण्डनकारीको आरोप लाग्नथालेपछि उनीहरूको भाषा, लिपि लेखपढ गर्ने, पत्रपत्रिका छाप्नेजस्ता काम पूर्ण रूपमा रोकियो । राज्यको यस प्रकारको एकात्मक दलनमलनले गर्दा मधेसी, आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक, गैरहिन्दूहरू निर्मम विभेदको शिकार भए । यसबाट मुक्ति पाउनको लागि भएको २०४६ सालको जनआन्दोलनले नेपालमा प्रजातन्त्रको पुनःस्थापना ग¥यो । वि.सं. २०४६ को जनआन्दोलनपछि २०४७ मा जारी गरिएको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक राष्ट्रका रूपमा अङ्गीकार गर्न सकेन, देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा र मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू राष्ट्रिय भाषा (धारा ६, उपधारा १ र २, नेपाल अधिराज्यको संविधान, २०४७) भनी पहिलाको एकभाषा नीतिको दाँजोमा अलि प्रगतिशील देखिए पनि विभेद कायमै राख्यो । यसो भए पनि जनआन्दोलनपछि मैथिली, नेवारी र हिन्दीमा समाचार रेडियो नेपालबाट प्रसारण गर्न थालियो ।
यसैबीच वि.सं. २०५० जेठ १४ गते गठित राष्ट्रियभाषा नीति सुझाव आयोगले विभिन्न राष्ट्रियभाषाहरूमा टेलिभिजनको माध्यमद्वारा समाचार आदि कार्यक्रमहरू क्रमशः प्रसारित गर्दै जानुपर्ने, रोडियो तथा टेलिभिजनबाट विभिन्न विषयसँग सम्बन्धित सूचना, विज्ञापन आदि विषयहरूलाई राष्ट्रिय भाषाहरूमा प्रसारण गर्ने व्यवस्था गर्नु पर्नेछ, विभिन्न राष्ट्रियभाषाहरूमा पत्रपत्रिका र अन्य पाठ्यसामग्रीहरूको प्रकाशनतर्फ विशेष ध्यान दिनु आवश्यक छ (राष्ट्रियभाषा नीति सुझाव आयेगको प्रतिवेदन, २०५०, पृ. ३१) भनी सुझाव दिएपछि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रमार्फत् केही भाषाहरूमा समाचार र कार्यक्रमहरू प्रसारण आरम्भ भए पनि सरकारी पत्रिकाको हकमा यो सुझाव कार्यन्वयन हुन सकेन (तुम्याहाङ र सलामः २०११) ।
यद्यपि २०४७ सालको संविधान निर्माणपछि तत्कालीन सरकारले रेडियो नेपालबाट मातृभाषामा समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन, तत्कालीन नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठानले मातृभाषा साहित्यको लागि गरेको प्रयास, राष्ट्रिय जनजाति विकास समिति (हालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान) को स्थापना, २०५४ देखि पाठ्यक्रम विकास केन्द्रले विभिन्न मातृभाषा ऐच्छिक विषयका रूपमा प्राथमिक तहका पाठ्यपुस्तकहरूको लेखन तथा प्रकाशनको थालनीले मातृभाषा साहित्य सृजनाको पूर्वाधार खडा ग¥यो । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि मुलुक गणतान्त्रिक युगमा प्रवेश गरेपछि सरकारी सञ्चार माध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, मुलकभरि खुलेका एफ.एम.हरू, आधुनिक विज्ञान र प्रविधिले सञ्चार क्षेत्रमा भित्राएको माध्यम (वेभसाइट, ब्लग स्पट, स्काइप आदि) हरू, स्वतस्फूर्त रूपमा विभिन्न भाषिक समुदायको पहल र प्रयत्नमा सञ्चालित पत्रपत्रिका आदिका कारण नेपाली मातृभाषाहरूको नेपाली साहित्य रचनाको नवीन क्षितिज खुल्यो ।
यही परिप्रेक्ष्यमा यहाँ नेपालमा बोलिने मातृभाषाहरूमा लेखिएको साहित्यको विहङ्गम चर्चा गरिने छ । यहाँ नेपाली साहित्य भन्नाले नेपाल उद्भवका भाषाहरूमा लेखिएको साहित्य भन्ने अर्थमा चर्चा गरिएको छ । यसरी चर्चा गर्दा मूलतः २०६८ को जनगणनाको आधारमा मुलुकको भौगोलिक परिवेश हिमाल, पहाड र तराईमा बोलिने भाषा समूहको आधारमा चर्चा गरिने जमर्को गरिएको छ ।
नेपालको जनगणनाहरू र भाषा सङ्ख्याहरू
नेपालमा जनगणनाको सुरुवात वि.सं. १९६८ (ई.सं. १९११) मा सुरु भई आठौँ जनगणना २०६८ मा सम्पन्न भएको छ । उक्त जनगणनामा उल्लेख भएका भाषाहरूको विवरण निम्न अनुसार रहेका छन् ।नेपालमा बोलिने भाषाका भाषा परिवार र वक्ता प्रतिशत
२०६८ को जनगणना अनुसार नेपालमा बोलिने भाषाहरू पाँच भाषा परिवारमा समेटिएका छन् । ती भाषा परिवार र वक्ता प्रतिशत निम्न अनुसार रहेका छन् ।भौगोलिक आधारमा भाषाहरू
भौगोलिक आधारमा कतिपय भाषाहरूलाई बाँध्नु गाह्रो देखिन्छ । तर पनि बहुसङ्ख्यक वक्ताहरूको बसोबासको आधारमा यहाँ भाषाहरूलाई विभाजन गर्ने जमर्को गरिएको छ । मूलतः खसनेपाली भाषा सबै भौगोलिक क्षेत्रमा बोलिने भाषामा पर्दछ । यसरी नै साङ्केतिक भाषालाई पनि भौगोलिक आधारमा बाँध्न सकिन्न । २०६८ को जनगणनाको आधारमा अन्य भाषाको भौगोलिक वितरण निम्न अनुसार रहेको छ ।नेपालमा प्रयोगमा रहेका केही लिपिहरूको विवरण निम्न अनुसार रहेका छन् ।
मातृभाषामा सहित्यको विकास
नेपाली मातृभाषा साहित्यको विकासलाई यहाँ निम्न समय सीमाको आधारमा विभाजन गरिएको छः (क) २०४६ साल पूर्व (ख) २०४६ देखि २०६१ सम्म र (ग) २०६२/६३ पछि ।(क) २०४६ साल पूर्व मातृभाषा साहित्यको अवस्था
२०४६ साल पूर्व मातृभाषा साहित्यको क्षेत्रमा भएका कामको अवस्थालाई पनि विभिन्न कालखण्डमा विभाजन गरी हेर्न सकिन्छ । लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल, प्रजातन्त्रकाल र पञ्चायत कालमा भएका मातृभाषा साहित्य विकासका कामहरूको पनि अवलोकन गर्न सकिन्छ । तर यी कालावधिमा थोरै भाषाहरूमा मात्र साहित्य लेखनको काम भएको थियो । वर्तमान अवस्थामा राष्ट्र भाषाअन्तर्गत मातृभाषाका रूपमा लिइने भाषाहरू जस्तै नेवारी, मैथिली, लिम्बू, भोजपुरी, अवधी आदि सीमित भाषामा उसबेला साहित्य लेखनका काम भएका थिए । भौगोलि आधारमा सो भाषाहरूमा भएको साहित्यको जानकारी निम्न अनुसार छन् :पहाडी भाषा समूह
नेवारी वा नेपाल भाषाको साहित्य
पहाडी भाषा समूह अन्तर्गत मूलतः नोवरी अर्थात् नेपाल भाषामा लेखिएको साहित्यको प्रसङ्ग आउँछ । लिच्छवीकाल र मल्ल कालमा नै साहित्यमा समृद्धि हासिल गरेको नेवारी भाषा खासमा त्यसबेला राज्य भाषा थियो । प्रेम शान्ति तुलाधरका अनुसार नेपाल भाषा साहित्यको कालविभाजन अनुसार प्राथमिक काल (१५०५—१८४७ ई.सं.) मा नै कथा, काव्य, नाटक लेखिएका थिए भने माध्यामिक काल (ई.सं. १८४८—१९४०) कै अवधिमा नेवारी भाषाका महाकवि सिद्धिदास अमात्यले ४४ भन्दा बढी पुस्तक कृतिहरू लेखेका थिए । नेवारी साहित्यको आधुनिक काल सन् १९४१ मा सुरु भएको मानिन्छ । त्यसपछि विभिन्न विधामा सयौँ कृति नेपाल भाषामा प्रकाशित भएका छन् ।लिम्बू साहित्य
लिम्बू भाषा साहित्यको काल विभाजन प्रथमिक काल (ई.सं. १७०४—१९२४), माध्यमिक काल (ई.सं. १९२५—१९५५) र ई.सं. १९५६ देखि आधुनिक काल (काइँला र तुम्याहाङः २०६४) रहेको पाइन्छ । प्राथमिक, माध्यमिक र आधुनिक कालको पूर्वाद्धमा नेपालको प्रतिकूल राजनैतिक अवस्थाका कारण लिम्बू साहित्य नेपालमा भन्दा पनि सिक्किम र पश्चिम वङ्गालतिर मौलाउने अवसर पायो । प्रजातन्त्र स्थापना भएको २००७ को दशकमा लिम्बू भाषामा सिर्जनात्मक साहित्य रचनामा इमानसिंह चेम्जोङ, काजीमान कन्दङ्वा आदिको मत्वपूर्ण योगदान गरेको थियो । ई.सं. १९३८ मा कालेबुङमा लिम्बू पाठशाला निसाम—हिम औपचारिक रूपमा स्थापना भएपछि लिम्बू भाषामा विभिन्न विधागत साहित्यको रचना गर्न थालनी भयो भने ई.सं. १९६८ तत्कालीन सिक्किम मुलुकमा लिम्बू भाषा प्राथमिक शिक्षामा पठनपाठन सुरु भएपछि यसले अझ तीब्र गति लियो ।जिरेल साहित्य
वि.सं. २०२९ सालमा सुमनकृष्ण जिरेलको जिरेल भाषामा ‘बाँकी दुक’ शीर्षकमा कविता रच्नु भएको थियो । यो कविता दोलखा चरिकोटबाट इन्द्रबहादुरको सम्पादकत्वमा प्रकाशित च्योर्दुङ पत्रिकामा प्रकाशित भएको थियो ।तराई भाषा समूह
मैथिली साहित्य
तराईमा सबैभन्दा लामो साहित्यिक परम्परा भएको भाषामा मैथिली भाषा पर्दछ जुन राज्य भाषा भई कुलीन भाषाको रूपमा रहेको थियो । डा. गङ्गाप्रसाद अकेला (२०६४) का अनुसार मैथिली साहित्य इतिहासको कालविभाजनको प्राथमिक काल ई.सं. ७०० मा सुरु भई १३२५ मा अन्त हुन्छ र मध्यकाल १३२५ मा सुरु भई १८६० मा अन्त हुन्छ । यसरी नै मैथिली साहित्यको आधुनिक काल १८६० ई.सं.मा नै सुरु भएको मानिन्छ । ज्योतिरीश्वर ठाकुर, कवि कोकिल महाकवि विद्यापति जस्ता विराट कवि व्यक्तित्वहरू मैथिल साहित्याकाशका ध्रुवतारा हुन् । मैथिली साहित्यले तत्कालीन काठमाडौँ उपत्यका भित्रका तिन वटै राज्यहरूमा राम्रो प्रभाव पारेको थियो ।थारु साहित्य
महेश चौधरी (२०६४) का अनुसार थारु भाषा साहित्य विकासको आरम्भ वि.सं. २०२८ मा भएको हो । वि.सं. २०११ मा जीवराज आचार्यको काव्य ‘हम्र ओ हमार बन्न’, २०१६ मा रूपलाल महतोको ‘दङ्गीशरण कथा, बरकिमार ओ गुरुबाबाकि जमौती’, २०१९ मा रामप्रसाद रायको गीति नाटक ‘बहुवा ओर बहुरिया’ प्रकाशन भएका थिए भने २०३९ मा महेश चौधरी र सीताराम चौधरीको महाकाव्य ‘बर्किमार’ र सोही साल महेश चौधरीकै महाकाव्य ‘गुरु बाबक् जलमौती’ प्रकाशन भएको पाइन्छ ।अवधी साहित्य
विश्वनाथ पाठक तथा विक्रममणि त्रिपाठी (२०६४) का अनुसार अवधि साहित्यको इतिहास चार कालमा विभाजन गर्न सकिन्छ । ती यस प्रकार छन् : (क) वीर गाथा काल (वि.सं. ८२६—१४७५), (ख) भक्ति काल (वि.सं. १४७५—१७००), (ग) शृङ्गार काल (वि.सं. १७००—१९००) र आधुनिक काल (वि.सं. १९००—आजसम्म) । यस प्रकारका काल विभाजनले अवधी साहित्यको लेखन परम्परा पनि लामै रहेको देखिन्छ ।(ख) २०४६ देखि २०६१ सम्म
यस अवधिमा हिमाली क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ःवि.सं. २०५० मा मोहन कोइरालाले सम्पादन गरेको नेपाल राजकीय प्रज्ञा—प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘राष्ट्रिय भाषाका कविताहरू’ पुस्तकमा हिमाली भाषाहरू मध्ये शेर्पा, खालिङ, थुलुङ भाषाका कविताहरू परेका छन् ।
वि.सं. २०५६ मा वैरागी काइँला र अमृत योञ्जनले सम्पादन गरेका राष्ट्रिय जनजाति विकास समितिले प्रकाशन गरेको राष्ट्रिय भाषाका कविता सङ्गालोमा हिमाली भाषाहरूमा शेर्पा, थामी, जिरेल, थुलुङ, ह्योल्मो भाषाका कविताहरू प्रकाशित रहेका छन् ।
वि.संं. २०६० मा बमकुमारी बुढामगर र रामकुमार मादेनले सम्पादन तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरेको राष्ट्रिय भाषाका कविता सङ्गालोमा हिमाली भाषाहरूमा थामी, कुमाल, कुलुङ, ह्योल्मो र डोल्पाली (डोल्पो) भाषाका कविताहरू प्रकाशित भएका छन् ।
यस समयावधिमा पहाडी क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०५० मा मोहन कोइरालाले सम्पादन गरेको पूर्व उल्लिखित पुस्तकमा पहाडी भाषाहरू तामाङ, नेवार, मगर, वान्तावा, गुरुङ, लिम्बू भाषाका कविताहरू प्रकाशित भएका छन् ।
वि.सं. २०५६ मा वैरागी काइँला र अमृत योञ्जनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा पहाडका गुरुङ, तामाङ, नेवार, मगर, मगर खाम, वान्तावा, लिम्बू, चाम्लिङ, सुनुवार, याक्खा, थकाली, छन्त्याल, वाम्बुले, कोयी (कोयु), दुरा भाषाका कविताहरू परेका छन् ।
वि.संं. २०६० मा बमकुमारी बुढामगर र रामकुमार मादेनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा पहाडका चेपाङ, लिम्बू, नाछिरिङ, तामाङ, चाम्लिङ, वान्तावा, मगर, याक्खा, अथार मगर, माझी, दुरा, सुनुवार, गुरुङ, नेवार, वाम्बुले, कोयी (कोयु) भाषाका कविताहरू प्रकाशित भएका छन् ।
यस समयावधिमा तराई क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०५० मा मोहन कोइरालाले सम्पादन गरेको पूर्व उल्लिखित कविता सङ्ग्रहमा तराई भाषाहरू थारु, भोजपुरी, मैथिली भाषाका कविताहरू समेटिएका छन् ।
वि.सं. २०५६ मा वैरागी काइँला र अमृत योञ्जनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा तराईका थारु, धिमाल, राजवंशी, सन्थाल भाषाका कविताहरू प्रकाशित भएका छन् ।
वि.संं. २०६० मा बमकुमारी बुढामगर र रामकुमार मादेनले सम्पादन गरेका पूर्व उल्लिखित कविता सङ्गालोमा तराईका थारु, राजवंशी, बोटे र सन्थाल भाषाका कविताहरू प्रकाशित भएका छन् ।
(ग) २०६२/६३ पछि
यस अवधिमा हिमाली क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ःवि.सं. २०६८ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा नेपाल प्रज्ञा—प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘मातृभाषा दिवस—२०११, सङ्गोष्ठी पत्र तथा मातृभाषा कविता सँगालो’ पुस्तकमा हिमाली भाषाहरू मध्ये थामी, जिरेल, शेर्पा, डोल्पो भाषाका कविताहरू परेका छन् ।
वि.सं. २०६९ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा नेपाल प्रज्ञा—प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘मातृभाषा दिवस—२०१२, कविता सँगालो’ पुस्तकमा हिमाली भाषाहरू मध्ये शेर्पा, ल्होमी, खालिङ, कुलुङ, मेवाहाङ, थामीसहितका भाषाका कविताहरू प्रकाशित रहेका छन् ।
वि.संं. २०६९ मा डा. लाल—श्याँकारेलु रापचाको सम्पदकत्व तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशनमा आएको थुँगा (राष्ट्रिय भाषाका कविता सङ्गालो) मा हिमाली भाषाहरूमा शेर्पा, किराती थुलुङ, थामी, ल्होमी, लोहोरुङ, कुमाल भाषाका कविताहरू प्रकाशित भएका छन् ।
यस अवधिमा पहाडी क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०६८ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखिन कविता सँगालोमा गुरुङ, नेवार, राई वान्तावा, लिम्बू, वाम्बुले, सुनुवार (किरात कोइँच), तामाङ, मगर, कुमाल पहाडी भाषाका कविताहरू परेका छन् ।
वि.सं. २०६९ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सँगालोमा माझी, तामाङ, गुरुङ, अछामी, नेवार, बाहिङ, वान्तावा, वाम्बुले, दनुवार, लिम्बू पहाडी भाषाका कविताहरू प्रकाशित छन् ।
वि.संं. २०६९ मा डा. लाल—श्याँकारेलु रापचाको सम्पादकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सङ्गालोमा लिम्बू, गुरुङ, कोयी (कोयु), बाहिङ, खाम (मगर), पुमा, तामाङ, याक्खा, लाप्चा, वाम्बुले, बराम, मगर (ढूट), चाम्लिङ, नेवार, सुनुवार, दनुवार, वान्तावा पहाडी भाषाका कविताहरू प्रकाशित भएका छन् ।
यस अवधिमा तराई क्षेत्रका भाषामा रचिएका साथै प्रकाशित भएका साहित्यिक रचनाको अवस्था निम्न अनुसार रहेका छन्ः
वि.सं. २०६८ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखिन कविता सँगालोमा तराईका अवधी, भोजपरी, किसान, ताजपुरिया, राजवंशी, उराँव, थारु, सन्थाल, धिमाल, डोटेली, उर्दू, मैथिली भाषाका कविताहरू परेका छन् ।
वि.सं. २०६९ मा सुलोचना मानन्धरको प्रधान सम्पादकत्व तथा अमर तुम्याहाङ्को कार्यकारी सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सँगालोमा तराईका मैथिली, राजवंशी, खस (कर्णाली खस), ताजपुरिया, उराँव, भोजपरी, किसान, अवधी, थारु, बज्जिका, धिमाल भाषाका कविताहरू प्रकाशित रहेका छन् ।
वि.संं. २०६९ मा डा. लाल—श्याँकारेलु रापचाको सम्पदकत्वमा प्रकाशित पूर्व उल्लिखित कविता सङ्गालोमा तराईका उराँव, अवधी, धिमाल, ताजपुरिया, राजवंशी, थारु भाषाका कविताहरू प्रकाशित भएका छन् ।
जनगणनामा उल्लेख भएका तर साहित्य आप्राप्य भाषाहरू
जनगणनामा उल्लेख भएका सबै भाषाका साहित्य प्रकाशनमा आउन सकेको छैनन् । माथि उल्लेख भएका विवरणका आधारमा निम्न तालिकाले सो कुरा पुष्टि गर्दछ ।माथिको तालिकालाई हेर्दा १७ वटा हिमाली भाषामध्यै ११ वटाको साहित्य भएको देखिन्छ भने पहाडी क्षेत्रका ६१ भाषा मध्ये २५ वटा भाषाको मात्रै साहित्य प्रकाशित छ भने बाँकी ३६ वटा भाषाको साहित्यिक उपस्थिति देखिँदैन । यसरी नै जनगणनाका आधारमा तराई क्षेत्रमा देखिएका ४२ वटा भाषामध्ये १५ वटा भाषामा साहित्य भेटिए भने २७ वटा भाषाको साहित्य भेटिएनन् । समग्रमा १२३ भाषामध्ये ५१ भाषामा मात्रै साहित्य भएको देखिन आउँछ । पहाड र तराई क्षेत्रमा उल्लेख भएका कतिपय भाषाहरू छिमेकी मुलुक या अन्य मुलुकमा ठूला वक्ता सङ्ख्या भएका र साहित्य समेत भएको तर नेपालमा भने तिनको साहित्यिक गतिविधि नभएको देखिन्छ । यी भाषाहरू नेपाल उद्भवका नभएकाले यिनलाई अन्य भाषा समूहका रुपमा लिन सकिन्छ ।
जनगणनामा उल्लेख नभएका तर साहित्य भएका भाषाहरू
व्यवहारिक रूपमा भाािषक एवम् साहित्यिक अस्तित्वमा रहे पनि जनगणनामा उल्लेख नभएका पनि केही भाषाहरू रहेका छन् । यस्ता भाषामा मुगाली, भोटे लामा, केवरत, किराती दुमी र लोवा भाषा रहेका छन् ।मुगाली भाषा गोरखापत्र नयाँ नेपाल पृष्ठमा निकै वर्षसम्म प्रकाशन हुँदै आएकाले विभिन्न साहित्यक विधाका रचनाहरू पनि प्रकाशन भएका छन् । यस भाषामा कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तकहरू पनि पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशनमा आइसकेको र पठनपाठन भइरहेको अवस्था छ । यस भाषाका कविताहरू नेपाल प्रज्ञा—प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित भएका कविता सँगालोहरूमा पनि प्रकाशित भएका छन् ।
केवरत भाषामा कविता सङ्ग्रह प्रकाशित भइसकेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कविता पत्रिकाका साथै मातृभाषा दिवसका कविता सँगालोहरूमा पनि यस भाषाको फुटकर कविताहरू प्रकाशित भएका छन् ।
यसरी नै भोटे लामा भाषा पनि गोरखापत्र नयाँ नेपाल पृष्ठमा सृङ्खलाबद्ध रूपमा प्रकाशित भएकाले यस भाषामा पनि पर्याप्त मात्रामा साहित्य सृजना भएका छन् । नेपाल प्रज्ञा—प्रतिष्ठानबाट २०६९ मा प्रकाशित मातृभाषा दिवस कविता सँगालोमा पनि यस भाषाको कविता प्रकाशित भएको छ ।
किराती दुमी राई भाषाको साहित्यिक रचना डा. लाल—श्याँकारेलु रापचा सम्पादिन थुँगा कविता सँगालोमा प्रकाशित भएको छ । यसरी नै नवीन भाषा लोवाको पनि कविता यसै कविता सँगालोमा प्रकाशित भएको छ ।
गोरखापत्र नयाँ नेपाल पृष्ठमा प्रकाशित हुँदै आएका भाषाहरू
गोरपत्र संस्थानले गोरखापत्रमा समावेशीकरणको दिशामा एउटा फड्को नाराका साथ २०६४ साल साउन २४ गतेका दिन विश्व आदिवासी दिवसको अवसर पारेर विभिन्न भाषाको सामग्री प्रकाशन गर्न थाल्यो । सुरुमा नेवारी (नेपाल भाषा), लिम्बू, तामाङ, मैथिली र गुरुङ भाषामा प्रकाशन सुरु गरिएकोमा हाल आएर ३० वटा भाषाहरू निरन्तर रूपमा प्रकाशन हुँदै आएका छन् । ती भाषाहरू निम्न अनुसार रहेका छन्ः१. नेपाल भाषा, २. मगर ३. राई, ४. लिम्बू, ५. तामाङ ६. भोजपुरी
७. थारु ८. अवधी ९. सुनुवार १०. गुरुङ ११. बराम १२. उराँव
१३. धिमाल १४. माझी १५. थामी १६. मैथिली १७. उर्दू १८. जिरेल
१९. शेर्पा २०. ताजपुरिया २१. किसान २२. दनुवार २३. मारवाडी २४. बज्जिका
२५. हिमाली भोटे २६. राजवंशी २७. कुमाल २८. ल्होमी २९. दराई ३०. मुगाली
यस प्रकारको प्रकाशनले माथि उल्लेखित भाषाहरूमा अधिकतम साहित्य सिर्जना एवम् प्रकाशनको अवसर जुटाइदिएको छ ।
पाठ्यक्रम विकास केन्द्रबाट विभिन्न मातृभाषामा पाठ्यपुस्तकको प्रकाशन
पाठ्यक्रम विकास केन्द्रले २०५४ सालदेखि विभिन्न मातृभाषाहरूमा कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक लेखन तथा प्रकाशन गर्दै आएको छ । थैमिली, भोजपुरी, अवधी, तामाङ, लिम्बू, बान्तावा राई, चाम्लिङ राई, शेर्पा, गुरुङ, मगर, सुनुवार, राजवंशी र याक्खा भाषामा कक्षा कक्षा १ देखि कक्षा ५ सम्मका पुस्तकहरू प्रकाशित भइसकेका छन् भने मुगाली भाषामा कक्षा १ देखि ४ सम्म, तामाङ सम्भोटा लिपि, धिमाल र मगर (अथार मगरात) मा कक्षा १ देखि ३ सम्मका पुस्तकहरू प्रकाशित भइसकेका छन् । यसरी नै कुलुङ र बज्जिका भाषामा पनि कक्षा १ का किताबहरू प्रकाशन भएका छन् ।यसरी नै प्रत्येक भाषामा कथा, जीवनी र संस्कृति विधाका ३/३ वटा बालसन्दर्भ सामग्रीहरू निर्माण गर्ने काम पनि पाठ्यक्रम विकास केन्द्रबाट भएका छन् । मैथिली, भोजपुरी, लिम्बू, थारु, अवधी, मगर, नेवार (नेपाल भाषा), डोटेली, थकाली, चाम्लिङ, गुरुङ, शेर्पा, बान्तावा राई, उर्दू र संस्कृतमा यस प्रकारका काम भएका छन् ।
यी भाषामा भएका यस प्रकारका पुस्तक लेखन तथा प्रकाशनका कार्यले पनि ती भाषाहरूमा साहित्यका विभिन्न विधामा साहित्य रचना गर्ने अवसर प्रदान गरेको छ ।
विभिन्न भाषामा लेखिएका प्रमुख विधागत कृतिहरू
नेपालको जनगणनाले १२३ वटा भाषा देखाए पनि ज्यादै थोरै भाषाहरूको मात्र सुदीर्घ साहित्यिक परम्परा रहेको विदितै छ । साहित्यिक परम्परा भएका भाषाहरूमा प्रचलित साहित्यका केही विधाहरूको अवस्था कस्तो रहेको छ भन्ने विषयमा सामान्य जानकारी तलको तालिकाले दिन्छ ।भाषागत रुपमा साहित्य विकास भएका मातृभाषाहरूको अवलोकन गर्दा या त सत्ता सन्निकट अर्थात् सत्तारुपी बत्तीमुनि भएको भाषा (नेवारी भाषाका साथै प्रजातन्त्र र लोकतन्त्र प्राप्तिपछि राजधानीवरिपरि बोलिने तामाङ भाषा) कि त मुलुकको सीमा क्षेत्रमा बोलिने सीमानाका भाषा (लिम्बू, मैथिली, थारु, भोजपुरी) हरूमा साहित्यको विकास भएको पाइन्छ ।
टुङ्ग्याउनी
नेपाल निरङ्कुशताको चपेटामा परेको अवस्थामा भन्दा स्वतन्त्रता र लोकतन्त्र वा गणतन्त्र अभ्यासको समयमा भाषाहरूको अस्तित्व उजागर भएको देखिन्छ । निरङ्कुतामा अधिकांश भाषाको साहित्यिक अवस्था दमित रहयो भने केही भाषाहरू कठाङ्ग्रिएर बाँचे, २०४६ को प्रजातान्त्रिक घाममा मातृभाषा साहित्यले झुल्ने साथै कोपिला हाल्ने थोरै मौका पायो भने २०६२÷६३ को गणतान्त्रिक युगमा मातृभाषा साहित्य निस्पिक्री फुल्ने र सुवासित हुने अवसर पाएको अनुभूत हुन्छ । तर अपेक्षाकृत सफलताको क्षितिज अझै दूर रहेको देखिन्छ ।‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन् ।’ भन्ने नेपालको आन्तरिम संविधानले गरेको संवैधानिक व्यवस्थाको मर्मबमोजिम सबै भाषालाई समान व्यवहार गरिनु पर्छ । नेपाली उद्भवका भाषाहरूको सही पहिचान गरी तिनको साहित्यको विकासको भाषिक सर्वेक्षण गरिनुपर्छ । मुलुकका सम्पूर्ण भाषा साहित्यको समुचित विकासका लागि छुट्टै भाषा साहित्य प्रतिष्ठान गठन गरिनुपर्छ । नेपालका भाषाहरू ती भाषा बोल्ने जाति वा समूहको मात्र सम्पत्ति होइनन्, ती त समग्र मुलुककै अमूल्य निधि हुन्, विश्व मानव सम्पदा हुन् । त्यसैले समग्र भाषा बचाउनु र ती सबै भाषामा साहित्य विकास गर्नु आम नेपालीको परम कर्तव्य हो ।
सन्दर्भ सामग्रीहरू
- अकेला, गङ्गाप्रसाद (२०६४), मैथिली भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १३३—१५०, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- काइँला, वैरागी र तुम्याहाङ, अमर (२०६४), लिम्बू भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ८५–९७, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- काइँला, वैरागी र योञ्जन, अमृत (सं.) (२०५६), राष्ट्रिय भाषाका कविता सङ्गालो, काठमाडौँः राष्ट्रिय जनजाति विकास समिति ।
- कोइराला, मोहन (सं.) (२०५०), राष्ट्रिय भाषाका कविताहरू, काठमाडौँः नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान ।
- चौधरी, महेश (२०६४), थारु भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १६१—१८२, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- ठाकुर, गोपाल र गुप्ता, दिनेश (२०६४), भोजपुरी भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १५१—१६०, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- तुम्याहाङ, अमर (२०७०), लिम्बु साहित्य निर्माणको इतिहास, काठमाडौँः याक्थुङ साप्सक् अकादमी ।
- तुलाधर, प्रेमशान्ति (२०७०), नेपाल भाषा साहित्यको इतिहास, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
- थापा मगर, लोक बहादुर (२०६४), मगर भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ९८—१०३, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- पाठक, विश्वनाथ र त्रिपाठी, विक्रममणि (२०६४), अवधी भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १८३—१९१, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- प्रधान, नर्मदेश्वर (२०६४), नेपालभाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ७५–८४, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- बुढामगर, बमकुमारी र मादेन, राम (सं.) (२०६०), राष्ट्रिय भाषाका कविता सङ्गालो, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
- मानन्धर धिताल, सुलोचना र तुम्याहाङ, अमर (सं.) (२०६८), मातृभाषा दिवस — २०११ सङ्गोष्ठी पत्र तथा मातृभाषा कविता सँगालो, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
- मानन्धर धिताल, सुलोचना र तुम्याहाङ, अमर (सं.) (२०६९), मातृभाषा दिवस — २०११ कविता सँगालो, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
- यादव, योगेन्द्र प्रसाद (२०६९), नेपालमा बोलिने भाषाहरूः सन्दर्भ, सङ्कट र सम्भावना, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आयोजित अन्र्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा आयोजित ‘अन्र्राष्ट्रिय मातृभाषा सङ्गोष्ठी’मा प्रस्तुत कार्यपत्र ।
- योञ्जन तामाङ, अमृत (२०६४), तामाङ भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. १०४—१२३, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- योञ्जन¬ तामाङ, अमृत (२०६८), तामाङ साहित्यको इतिहास, काठमाडौँः नेपाल प्रज्ञा—प्रतिष्ठान ।
- रापचा, लाल—श्याकारेलु (सं.) (२०६९), थुँगा राष्ट्र मातृभाषाका कविता संगालो—३, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
- रापचा, लाल—श्याकारेलु, यालुङ्छा, बाग—आयाग्यामी र तुम्याहाङ, अमर (२०६५), इन्डो—नेपाल किराँती भाषाहरू विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू, काठमान्डूः किराँत विज्ञान अध्ययन संस्थान ।
- लेम गुरुङ, रत्नबहादुर (२०६४), गुरुङ भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी–२०६४, पृ. ७०–७४, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
- Eppele, M. John, Paul Lewis, Dan Raj Regmi and Yogendra P. Yadav (eds.). 2012. Ethnologue: Languages of Nepal, Kathmadndu: Central Department of Linguistics and SIL International.
- Central Bureau of Statistics. 2012. Natonal Population and Housing Census 2011 (Natonal Report), Kathmandu. Bureau of Statistics, National Planning Commission (NPC).